लौ न मुक्तिनाथ मन्दिर भत्‍कन लाग्यो


मुस्ताङ जिल्लामा पर्ने बौद्ध तथा हिन्दूहरुको पवित्र तीर्थस्थल मुक्तिनाथको मन्दिर भत्कने अवस्थामा पुगेको छ। दुईसय वर्षभन्दा पहिलाको यो मन्दिर जीर्ण हुँदै जानु तथा मन्दिर परिसरभित्रको भूमिगत जलप्रवाहलाई उचित व्यवस्थापन गर्न नसकेका कारण भत्कने खतरा बढ्दै गएको हो।

मन्दिरसँग जोडिएको पेटी पनि केही तल दबेको छ। भूमिगत जलप्रवाहकै कारण मन्दिरको पछाडिपट्टिको दुईवटा काठका खम्बाबाट गाह्रोले छोड्दै गएको छ।

मन्दिरभित्र पनि गाह्रोको भाग चर्किएको, भगवान विष्णुको मूर्ति राखिएको खण्ड पनि केही ढल्किएको र मन्दिरको पश्चिमपट्टि थोरै ढल्किएको बताइएको छ।

तर मन्दिरको भूमिगत जलप्रवाहलाई व्यवस्थित गर्नतर्फ मन्दिर व्यवस्थापन समितिले भने नाला निर्माण कार्य सुरु गरिसकेको जनाएको छ।

जिल्ला विकास समिति, मुस्ताङले २२ लाखको लागतमा मन्दिरअगाडि दुईवटा कुण्ड निर्माण गरेको थियो।

कुण्डअघिको पर्खालको जमिन नजानिँदो रुपमा भासिएको छ। कुण्डनजिकै एक हातभन्दा बढी जमिन तल दबेपछि असारको तेस्रो सातादेखि कुण्डमा पानी सुकाइएको पुजारी रिजालको भनाई छ।

‘मन्दिर भत्कने खतरा रहेकाले साउनको पहिलो सातादेखि नाला निर्माण कार्य गरिएको छ’– मुक्तिनाथ धार्मिक विकास समितिका अध्यक्ष एवम् मुस्ताङका प्रमुख जिल्ला अधिकारीले बताए। उनले नाला मन्दिरको पूर्व दक्षिणतर्फ बनाइने समेत बताएका छन्। अधिकारीको भनाइ छ–भूमिगत जलप्रवाहलाई निकास नदिए मन्दिर भत्कने प्रायः निश्चित छ।

नाला निर्माणका लागि पुरातत्व विभागले जिविस मुस्ताङलाई आठ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको जिल्ला बिकास समिति, मुस्ताङले जनाएको छ।

स्थानीयस्तरमा जिल्ला प्राविधिक कार्यालयले निर्माण कार्य एवम् संरक्षणको दायित्व लिएको जिल्ला विकास समितिले बताएको छ।

खानी तथा भूगर्वविद्हरुको अध्ययनले दुई मिटरसम्म जलप्रवाह रहेको देखाएको छ। ‘भूमिगत जलप्रवाहलाई मन्दिरको जगबाटै निकास दिनुपर्छ, त्यहीअनुरुप कार्य अगाडि बढाइएको छ।’

मन्दिरवरिपरि जताततै भूमिगत जलप्रवाह रहेको छ। मन्दिरको पछाडि १०८ गौमुखी धाराबाट बाह्रैमास पानी झर्छ। धारामा नुहाएर मन्दिरमा पूजाअर्चना गरे पुण्य कमाइने किंवदन्ती छ।

अध्ययन टोलीले कमजोर भूबनोट र भूस्खलनका कारणले बिरुवा रोप्दा जरा र उचाई कम भएको रोप्नु उपयुक्त हुने सुझाव दिइएको थियो।

मुक्तिनाथ मन्दिर वि.स. १८७१ मा बनेको बताइन्छ। करिब तीन हजार आठसय मिटरको उचाइको मन्दिरमा एक पुजारी र झन्डै २५ आनी (झुमा) छन्। गएको आर्थिक वर्षमा मात्र भक्तजनहरुबाट प्राप्त चन्दाबाट नौ लाख रुपैयाँ आम्दानी भएको समितिका कर्मचारी रुद्रनाथ शर्मा पौडेलले जानकारी दिए।

मुक्तिनाथ मन्दिरमा रामनवमी, चैत्राष्टमी, ऋषितर्पणी र बडादसैँजस्ता चाडपर्वहरुमा भक्तजनको भीड लाग्ने गर्छ। रासस