कथा यात्रा (भाग ४)

katha_yatra माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा सुरु भएको कथा यात्राको भाग ४ का लागि यो साता ३ वटा कथामात्रै पाठकहरुले लेखे। गत साताभन्दा यो ५० प्रतिशतले कम हो। मन्दिरा, बसन्त थापा र सुधीर ख्वबीले लेखेको कथामा ९० मतका साथ सुधीर ख्वबीको कथा यो साताका लागि पाठकहरुले छानेका छन्।

खासमा पाठकहरुको सहभागितामा कथा लेखनको प्रयोग हो यो। यसमा एउटा कथा राखिनेछ र जुन बिन्दुमा कथाकारले त्यसलाई टुङ्ग्याएका हुन्छन्, अर्को पाठकले त्यही बिन्दूबाट सुरु गरेर अर्को कथा लेख्‍नुपर्नेछ। उसले टुङ्ग्याएको बिन्दुबाट अर्को हप्‍ता फेरि अर्कै पाठकले कथालाई सुरु गर्नेछन्। एवंरितले धारावाहिक रुपमा हरेक हप्ता यो चल्दै जानेछ। के थाहा, सबैभन्दा धेरै लेखकले लेखेको कथाको कीर्तिमानै पो बन्ने हो कि यो। तर त्यसका लागि चाहिन्छ सिर्जनात्मक दिमाग भएका पाठकहरुको, जसले यो यात्रालाई हरेक हप्ता अघि बढाउनु पर्नेछ। तपाईँको मतले छानिएको कथा यात्राको चौथो भाग यस्तो छ।


कथा यात्राको पहिलो भाग पढ्नुस्
कथा यात्राको दोस्रो भाग पढ्नुस्
कथा यात्राको तेस्रो भाग पढ्नुस्

सुधीर ख्वबि

उ गम्भीर भएर भन्छ ” बिहे पछाडि हुनु पर्ने सम्बन्ध किन रेणुसंग मात्र भयो ? किन तिमीसंग चाहिँ भएन ? ”
सम्राटको कुरा सुनेर एक क्षणको लागी म स्तब्ध भएँ।
मैले उसलाई प्रतिप्रश्न गरें – ‘नेपालमा रेणू संग बाहेक अरु कति जना संग यस्तो सम्बन्ध कायम गरिसक्नु भयो ? अमेरिकाको चाहीं अहिले गन्ति नगरौं।’
मेरो कुरा सुनेर उ अकमकियो – ‘रेणुको कुरामा तिमीलाई किन टेन्सन ? , उनी ठीक केटी होइनन तिम्रो फ्रेन्डसीपको लायक कि छैनन !’- चियाको चुस्की लिंदै जवाफ दियो।
उसको कुरा सुनेर मेरो अनुहार राँकिन थाले। कस्तो मानिस संग मेरो भविष्य जोडिन गैरहेको रहेछ। रेणु त मेरी साथी हुन्। म राम्ररी चिन्द्छुं। सम्राट अहिले सम्मको लागि कोहि पनि होइन।
‘ रेणु तपाइसंग बिहे गर्न पाउने आशामा तपाई सित सम्बन्ध कायम गर्न पुगिन यसमा तपाइको पनि दोष छ, म त भन्छु , तपाईले रेणु सित नै बिहे गर्नु पर्छ
‘- मैले भने।
मेरो कुरा सुनेर सम्राट गंभिर भयो – ‘ म रेणु सित बिहे गर्न सक्दिन , जो केटी बिहे अगाडी नै शारीरिक सम्बन्ध राख्न सक्छे , त्यस्तो केटी संगपनि कसैले बिहे गर्छ र ? मलाई त भर्जिन चाहिन्छ। त्यसैको लागि त म बिहे गर्न नेपाल आएको। जो कोहि सित नै बिहे गर्ने भए अमेरिकामा केटीको कमी छैन नि।
रेणुको कुमारीत्व त तपाईले …? मेरो कुरा पुरा हुन नपाउँदै उसले प्रतिवादको शैलीमा जवाफ फर्काए – के थाहा रेणुको कतिजनासंग त्यस्तो सम्बन्ध रहेको छ भनेर …!
अनि … जो केटाले कैयौं संग सम्बन्ध राखिसकेको छ त्यो भर्जिन छ त …?l
म त पुरुष हुँ , पुरुषको भर्जिनिटीको खोजी कसले गर्छ र ? – उ निर्लज्ज पारामा उत्र्यो। मैले त तिमि सोझी सम्झेर तिम्रो जिन्दगि बनाई दिन्छुं भनेर सोचेको। म संग बिहे हुनुको मतलब थाहा छ ? अमेरिकामा शानदारको जीवन पाउनु।
‘के शानदार जिन्दगीको ठेक्का अमेरिकाले मात्र लिएको छ ?’ – मेरो मुखबाट अनायास निस्क्यो यो कुरा – ‘अनि आफ्नो आत्म सम्मानको कुनै अर्थ छैन ?
‘नारी भएर यस्तो अहंकार राख्नु राम्रो हुँदैन।’- उसले जवाफ फर्कायो।
‘अमेरिका भनेपछी केटीहरु हुरुक्कै हुन्छन् ,मेरो एउटा इशाराको पर्खाइमा बसेकाहरु कत्ति छन् कत्ति। तिमि चाहिने न चाहिने बखेडा गर्दैछ्यौ ‘- उ दिक्क माने झैं गरि बोले।
अहो! अमेरिकाको त्यत्रो धाक ? उसले म संग बिहे होइन दया गर्न लागेको रहेछ , मलाई यस्तै लाग्यो। के कुमारीत्वको मर्यादा नारीका लागि मात्र ? पुरुष यसमा बाँधिनु नपर्ने ? विदेसिनुको अर्थ नैतिकताको विचलन त होइन नि
| न त अरुको अस्मिता माथि खेलवाड गर्नु नै हो।
मेरो मन शशंकित हुन थाले। बेकारमा उसंग कुरा गरें जस्तो लाग्यो। नारी प्रतिको उसको दृष्टिकोण कुनै पनि कोणबाट पनि सही लागेन मलाई र म यो सोच्न बाध्य भएँ कि उ अमेरिकामा गर्छ के ? के उ इन्जिनियरिंग नै गर्दै हो त , धनी बाउको छोरो , अमेरिकामा पढ्नुको अलावा अरु के काम गर्छ … ! इन्जिनियरको मुखौता भित्रको वास्तविक अनुहार कस्तो छ त ? मलाई खुल्दुली लाग्न थाल्यो। सम्राट गहिरो नजरले मलाई हेर्दै थियो। सायद उ मेरो सहमतिको प्रतिक्षा गर्दै थियो। सम्राटको बास्तविकता , उसको सोच , उसले रेणुको बारेमा बोलेका कुराले नै उसलाई पर्दाबिहिन पारिसकेको थियो।यदि उ गलत चरित्र हो भने खाली हात अमेरिका फर्किनु पर्ने हुन्छ। तर उसको वास्तविकता पत्ता लगाउने पो कसरी ?
यतिकैमा सम्राटको मोबाईल बज्यो। उसलाई कल रिसिव गरूँ कि नगरूँ जस्तो भो। चार पांच रिंग आएपछि मात्र कल रिसिव गर्यो। मैले सुन्ला जस्तो गरि सानो स्वरले कुरा गरे -, ओके , हुन्छ हुन्छ म आधि घन्टामा आईपुग्छुं।’
‘ल त , म अहिले लाग्छुं ,तिमी छिटो जवाफ देउ है !’-भन्दै उ गयो। म फेरि सम्राटको बारेमा सोच्न थालें। मलाई त्यो मान्छे किन हो किन निको मान्छे जस्तो लाग्दै लागेन। क्रमश :….

अब तपाईँले यही बिन्दूबाट नयाँ कथा सुरु गर्नुपर्नेछ। गत हप्ता कथा अगाडि बढाएकाहरुले यस पटक फेरि त्यही कथालाई परिमार्जन गरी वा नगरी सहभागी हुन सक्नुहुनेछ। छनौट पाठकको हातमा छ।

नियमहरु-
-एउटा हप्ता जसको कथा छनौट भएको छ, उसैले अर्को हप्ताका लागि कथा लेख्‍न पाउँदैन। यो हप्ता सुधीरबाहेक सबैले कथालाई अगाडि बढाउन सक्नेछन्।
-धेरैले कथा लेखेमा पाठकको मतले कथा छानिनेछ। शुक्रबार राति ८ बजेसम्म जसको कथाले बढी मत पाउँछ, उसको कथा अर्को हप्ताका लागि छानिनेछ।
-कथा यति नै लामो हुनुपर्छ भन्ने छैन। तर सर्सर्ती पढ्दा त्यसले कथाको रुप लेओस्, लघुकथाको हैन।

4 Comments

  1. Good story Reejan ji but couldn’t vote you as I was not aware until today, please write little bit earlier

  2. सम्राट उठेर बाहिर निस्कनको लागि ढोकातिर लाग्यो। एकै छिनमा टक्क अडियो अनि मतिर फर्केर भन्न लाग्यो – “के हो पाहुनालाई बिदा गर्न बाहिरसम्म आउने चलन छैन की क्या हो ?” म केही नबोली उठें अनि उ भन्दा अगाडि गई ढोका खोलिदिए । हाम्रो भुईं तला मात्रको सानो घर भए पनि बुवाले जग्गा भने ठुलो जोडनु भएको छ । आगनमा हरियो दुबो रोपेर बीचमा हिड्नको लागि सानो बाटो छ । यो बाटोले हाम्रो मुल ढोका र गेटलाई जोडछ । बाटोभरी सेता मसिना ढुङ्गाहरू ओछयाइएका छन् । बाटोको दुबैतिर उत्रै साइजका काठका लौराहरू गाडेर पहेंला डोरी टाँगिएका छन् । ढोका बाहिर निस्की यही बाटो हुँदै गेट सम्म पुगी गेट पनि खोली दिएँ । “ल लागें” भन्दै उ अगाडि लाग्यो । म केही नबोली गेट बन्द गरी घरतिर फर्कें । यसो माथि हेरेको आकाशमा ठाउँ-ठाउँमा अझै बादल देखिन्थे । हिजो ८ बजेको समाचार सम्झने कोशिश गरें – भोलि दिन भर आकाश सफा रहनेछ भने जस्तो लाग्यो । यो एक हप्ता लगभग दिनदिनै जस्तो पानी परेको छ । “आज पनि दिन भर घाम र पानी को लुकामारी चल्ने भो ” – मैले मनमनै ठोकुवा गरें ।

    अली अगाडि बढें । मेरो आँखा बाटोको छेउमा ठड्याइ राखेको त्यही एउटा काठको लौरोमा गएर अड्कियो । ओहो त्यो ओस्सिएको काठको एउटा छेउबाट जंगली च्याउ पो उम्रिएको रहेछ । एकैछिन त्यही च्याउलाई हेर्दै टोलाएछु । बिस्तारै मनमा अनेक सोचहरू आए । “ओहो यो च्याउ, कति सरल छ है यसको जिन्दगी, त्यसै उम्र्यो, त्यसै बढ्यो आनि त्यसै मर्यो” -पहिले यस्तो सोचाइ आयो । तर छिन भरमै मन १८० डिग्रिमा बदलियो । “छ्या यो च्याउको जस्तो जिन्दगी पनि के जिन्दगी ! एकबार को जीवनमा परजिवी भएर के बाच्नु ? फेरी अग्लो ठाउँमा पलाएँ भन्दै यो नाथे अग्लो कहलिन्छ र ? यो जाबो च्याउ भन्दा त यी दुबोहरु नै राम्रा छन् नी ।” थाहै नपाई कुन बेला म ति च्याउलाई निमोठ्न पुगेछु ।

    आज मलाई उठेदेखी नै त्यसै त्यसै रिस मात्र उठी राखेको छ । एकदम मूड नै ठीक छैन । तर अर्कै को रिस बिचरा ती निर्दोश च्याउ माथि पोख्न पुगेछु । केही ग्लानी भो ।”तर म यो घमन्डी मान्छेलाई त्यसै कदापी छाड्ने छैन ” – मन मनै एउटा संकल्प गरें ।

    मैले आइ ए किलियर गरेपछी बुवाले मलाई एउटा कम्प्युटर गिफ्ट गर्नु भएको थियो । मोडेल केही पुरानो भए पनि मजाले काम दिदैछ । यसलाई मैले खाटमा नै बसी बसी चलाउन मिल्ने गरि राखेकी छु । कोठामा पस्ने बित्तिकै कम्प्युटर ओन गरें र एकै छिनमा फेसबुकमा लग-इन गरें । फेसबुकमा हाल सालै मात्र म सम्राट सँग साथी बनेकी थिएँ । मलाई त खासै केही चासो थिएन तर उसले रिक्वेस्ट पठाए पछी मैले नो भन्न सकिन । फटाफट सम्राट को पेजमा गएँ । उसको ११५२ जना साथी थिए । ती मध्ये अधिकांश केटी साथी नै थिए । अमेरिकन, जापानी, फिलिपिनो, आइरिस – सबै देशका थिए त्यहाँ, मानौ यो फेसबूक नभएर एउटा नमुना संसार थियो । एक-एक गरेर सबैको प्रोफाइल चेक गर्न मलाई फुर्सद पनि थिएन, रहर पनि भएन । शैलेश पराजुली – सम्राटको एक जना साथीको पेजमा पुगेर मेरा अौला अडियो । शैलेश र सम्राट एउटै कलेजमा पढेका रहेछन् अमेरिकामा – कन्सास कम्युनिटी कलेज । मैले शैलेश लाई फ्रेन्ड रिक्वेस्ट पठाएँ अनी चिया लिना भान्सातिर लागें ।

    चिया लिएर फेरी कोठामा फर्किएँ । फेसबूकको च्याटमा लग-इन गरेको त शैलेशले “हाइ” भन्यो, मानौ उ मेरै प्रतिक्षामा थियो । मैले “हाइ” फर्काएर अभिवादन गरें । उसले मेरो परिचय माग्यो अनि साथ-साथै आफ्नो कोही सरु नामको साथी नभएको स्पस्टीकरण पनि दियो । मैले आफुँलाई सम्राटको बेस्ट फ्रेन्ड भनेर चिनाएँ अनी सम्राटबाट धेरै पल्ट नाम सुनेकोले फ्रेन्ड रिक्वेस्ट पठाएको हो भन्ने सफेद झुट बोलें । “खै, सम्राटले त कहिले पनि तिम्रो बारेमा कुरा गरेन त, हामी रूम-मेट थियौं अली अगाडि सम्म । बिहे गर्न लाई नेपाल जान अगाडि कोठा सरेको हो । अब नेपालबाट बुढी ल्याउने रे । अँ साचै त्यसले केटी पायो ? ” ओहो मलाई ढुङ्गा खोज्दा देउता मिले झै भयो । सम्राट को बिगतको बारेमा थाहा पाउन शैलेश भन्दा अर्को कोहि उत्तम मान्छे हुनै सक्दैन । “अनी किन आफ्नो फोटो एउटा पनि नहालेको नी ?” शैलेशले प्रश्न गर्‍यो । एक छिन पख है भन्दै मैले त्यही कम्प्युटरमा सेभ गरिराखेको एउटा अली पहिला नै खिचेको फोटो अप-लोड गरिदिएँ, शैलेशलाई फकाएर अझै धेरै कुरा धुत्न जो थियो । “केटी हेर्दै छ, तर अझै कसै सँग पनि फिक्स भैसकेको छैन ।” मैले यसो भनेर टाईप गर्न नपाउदै शैलेशले अर्को प्रश्न तेर्सायो – “तिम्रो बोयँ- फ्रेन्ड छ की छैन नी ?” मैले प्रोफाइल हेर्न भनें । आनि कुरा घुमाउदै फेरी सम्राटमै लगें – “सम्राटको गर्ल फ्रेन्ड कति जना थिए त ?” “मैले थाहा पाए सम्म ४ वटा जति भए होला, ती मध्ये एउटा ओरेगोनकी केटी सँगचाही त्यसको लामो अफेयेर चल्यो । हाल-सालै नेपाल जान अगाडि मात्र ब्रेक अप भएको हो ।” -सम्राटको बारेमा सबै कुरा थाहा पाउन सकिन्छ भन्नेमा म अब ढुक्क भएँ । कतै शैलेशलाई काममा जान पर्ने पो हो की, कतै सम्राटको मात्र कुरा गर्दा उसलाई बोर पो भईराखेको पो छ की, म अली सजग भएँ । “तिम्रो गर्ल फ्रेन्ड छे की छैन त ?” – मैले मन नभए पनि शैलेश तिरे कुरा मोडें । “थियो अहिले छैन” – उसले सहज उत्तर दियो । “बिहे नेपालमा गर्ने की अमेरिकामा ?” मेरो यो प्रश्न को उत्तर येस्तो थियो – “आफुँ त एक्लो छोरो, बाउ -आमाले खोजेको रोजेको लाई नै भित्र्याइन्छ । ” “तिमीलाई पनि भर्जिन नै त चाहिने होला नी होईन, ईन्जिनियर साप लाई जस्तो” – मैले जानि जानि कुरा फेरी सम्राटतिर नै मोडें । “को ईन्जिनियर?” – शैलेश को प्रश्न ले म झस्याङ भएँ ।मुटु सिरिङ भयो, तर सम्हालिदै जवाफ फर्काएँ – “सम्राट” । “ए त्यो, त्यो त जनावरको ईन्जिनियर पो हो त, (पेट ईन्जिनियर) LOL …” जनावर को ईन्जिनियर ? के हो यो पेट ईन्जिनियर भनेको ? जनावर को डाक्टर भनेको सुनेकी थिएँ, तर जनावरको ईन्जिनियर ? म सम्राटको अर्को ठुलो रहस्यको नजिक पुगे जस्तो लाग्यो । अौलाहरू काम्न लागे, तर जसो तसो सम्हालिदै सोधें – “मैले बुझिन नी” ।

    पहिले त सम्राटले आफ्नो सानै देखिको बेस्ट फ्रेन्ड सँग पनि सबै कुरा लुकाइ राखेकोमा उसले आश्चर्य प्रकट गर्‍यो । तर बिहेको कुराले गर्दा सम्राटसँग त्यती भेट हुन नपाएको बताउदै मैले शैलेश लाई आश्वोस्त पार्न खोजें । “भन न प्लिज, आज तिम्रो र मेरो फेसबूकमा कुरा भएको थियो भनेर म कहीले पनि सम्राट लाई भन्ने छैन , प्रोमिस । ” – मैले शैलेशलाई कुरा खोल्न जिद्दी गरें । आखिर मेरो उदेश्य पनि त त्यही थियो, जति सक्दो सम्राट को बिगतको बारेमा थाहा पाउने अनि त्यही बिगतको रहस्यलाई हतियार बनाइ सम्राटको बर्तमानको घमन्डलाई चक्नाचुर पार्ने ।

    “सम्राट र म कम्युनिटी कलेजमा दुई बर्ष सम्म संगै पढ्यौं । त्यस पछी उ युनिभर्सिटीमा भर्ना भई कम्प्युटर ईन्जिनियर पढ्न थाल्यो । त्यति बेला उ ‘टाको वेल’ भन्ने फास्ट फुड मेक्सिकन रेस्टुराँ मा पार्ट टाईम काम गर्थ्यो । नेपालमा जति नै धनी भए पनि उसलाई यहाँ ट्युसन फी बुझाउन धौ-धौ पर्न थाल्यो । प्रतेक ३-३ महिनामा नेपालबाट ल्याएर यहाँ डलर मा तिर्न पनि सम्भव हुदैन । छात्रविर्तीको लागि पनि थुप्रै ठाउँमा फारम नभरेको होईन, तर कतै बाट पाएन । एकातिर खान, बास्न र फी तिर्न को लागि मरि-मरी काम गर्नु पार्ने बाध्यता, अर्को तीर पढ्न लाई सधैं कलेज पनि नगई नहुने । सो ही कुइट ।” म स्तब्ध भएँ – “आर यु सिरियस ?” शैलेशले लेख्दै गयो – “आजभोली उ वाल मार्ट को डग फुड बेच्ने सेक्सनमा सुपरवाइचर को काम गर्छ । त्येसैले पेट ईन्जिनियर भनेको हा हा …”

    आज किन को किन सम्राट देखेर मलाई दया लागेर आयो । यहाँको हुने खानेको एक्लो छोरा । उसको परिवारको कस्तो रवाफ छ । कुकुर मात्र ३-३ वटा पालेका छन् । एक पाइला हिंड्न परे गाडी निकाल्छन् । सधैं पार्टी । भित्तामा टाँस्न मिल्ने पातलो टि.भी रे , बिदेश बाट छोराले ल्याइदिएको आइ फोन । के उनीहरू लाई सम्राट को वास्तविकता बोध होला ? अनि सम्राट – खुब अमेरिकन लाईफको फुइँ लगाउथ्यो नी । ईन्जिनियरको धाक दिन्थ्यो । जो मान्छे स्कुल फी तिर्न नसकेर पढाई पुरा गर्दैन, उसलाई के धनी भन्ने । मलाई भित्र भित्र रिस उठ्यो । फेरी त्यस्तो पढ्नै मन भएको भए फर्केर आएको भए पनि त हुन्थ्यो । यहाँ त उसले भने जस्तो ठाउँमा पढ्न सक्थ्यो । म एक्लै फत्फताएछु । मलाई के कुरामा रिस उठिराखेको थियो म ठम्याउन कोशिश गर्दै थिए – सम्राट ले ईन्जिनियरिङ पुरा नगरेकोमा , उसको परिवारको रवाफमा या उसले झुट बोलेकोमा । सोच्दै जादाँ मनमनै सम्राटका अवगुणहरू को एउटा लिस्ट नै तयार भयो । “न केटी मान्छेसँग नै बोल्ने तमिज छ ” – येस्तो सोच्दै थिए कम्प्युटरको मनिटर मा आँखा पुगे । बिचरा शैलेश मेरो उत्तरको आशमा आफ्नै सुरले टाईप गर्दै बस्दै रहेछ । “तिमी अझै छौ त्यहाँ ?” – शैलेश को अन्तिम प्रश्न थियो त्यो । “छु तर अब जानु पर्छ ” भन्दै बिदा हुन खोजें । शैलेशले लगाएको गुनको ऋण तिर्नको लागि मात्र पनि शनिबार फेरी च्याटमा भेट्ने उस्को आग्रहलाई नकार्न सकिन ।

    चिया त्यसै गिलासमा नै सेलाई सकेको थियो । पर्दा उघारेर यसो झ्यालबाट बाहिर चिहाएको त बाहिर मज्जाले घाम पो लागेको रहेछ । घडी हेरेको बिहानको सवा नौ भएको रहेछ । “अब त मन्दिरबाट बुवा-आमा पनि आउने बेला हुन लाग्यो ” – यस्तै सोच्दै बाहिर निस्किएँ । टाईप गर्दा गर्दा थाकेका मेरा हातहरूलाई माथि लगेर बेस्सरी तन्काएँ । आकाशमा कहीं कतै एक टुक्रा बादल पनि थिएन । ओहो के अचम्म भो , हिजोको टि.भी ले दिएको मौसम सम्बन्धी जानकारी त ठ्याकै मिल्यो त । म अनायास एक्लै मुस्कुराएछु ।

  3. “ल त, म अहिले लाग्छु, तिमी छिटो जवाफ देऊ है ! भन्दै ऊ गयो”

    सम्राटसगँको यो दुई चरणको भेटमा भएका बातचीतबाट मैले अब ठोस निर्णय लिनै पर्छ । अब यो भन्दा बढी भेटेर त के फोनमा पनि उसलाई समय दिन म तयार छुइँन । कसैसँग खुलासा नगरेको मेरो प्रण भनेकै बरु प्राण त्याग गरौँला तर सम्राटसँग वैवाहिक बन्धनमा बाँधिने छैन भन्ने हो । यो नै मेरो पहिलो अनि अन्तिम निर्णय पनि । यो कुरा कसैलाई थाहा हुँदो हो त मलाई मात्र ! तर, एउटा नालायक र अझै पनि आफूसँग कुनै सम्बन्धनै नभएको व्यक्तिलाई जीवनबाट पन्छाउन नसकेर एक प्रबुद्ध नारीले आत्महत्या गर्ने कुरा ठीक त होइन नि ? भन्ने प्रश्नले पनि मेरो विचारको ठूलै हिस्सा ओगटेको छ । एकातिर सम्राट म सँग विवाह गर्न उसँग भएभरको सबै शक्ति खर्च गरेर लागिपरेको छ त अर्को तर्फ मेरो आफ्नै परिवारबाट ऊ सँग विवाह गर्न मलाई व्यापक दबाव परेको स्थितिमा मैले कौशलतापूर्वक समस्याको समाधान गर्न नसके परिस्थितिले खतरनाक मोड लिनसक्ने सम्भावना पनि म सजिलै नियाली रहेकीछु । अब सम्राटलाई मेरो जीवनबाट पन्छाउन पहिले मैले म पट्टीको पल्ला कसरी भारी बनाउने भन्नेबारेका योजना बनाउने समय म सँग धेरै छैन । सम्राटले मलाई अन्तिम निर्णय चाँडै देऊ भनेर भनिसकेको छ !

    सम्राटसँग भएका कुराहरू मेरो दिमागमा रेकर्ड गरेको क्यासेटलाई रिवाइण्ड गरेर पुनः बजाए जस्तै शृंखलाबद्ध रुपमा दोहोरिन थाले । यत्तिकैमा म भावनामा डुब्न पुगे । के छोरीलाई यो एक्काइसौ सताब्दिमा पनि आफ्नो भविष्यको बारेमा आत्मनिर्णय गर्ने अधिकार छैन ? मेरो हात सम्राटलाई सुम्पने निर्णय गर्नु भन्दा पहिले मेरा अभिभावकले एकपटक तेरो हृदयमा अरु कोही सजाएकी त छैनस नि तैँले भनेर मेरो राय बुझ्नु पर्छ वा पर्दैन ? भन्ने जस्ता अनेकौँ प्रश्नहरू मेरो मन भित्र मन्थन हुन थाले । आखिरी म सम्राटसँग विवाह गर्न तयार पटक्कै छैन, यो कुरा दिनको घाम झै छर्लङ्ग छ, तर पनि किन स्पष्टरुपमा सम्राटलाई मेरो अन्तिम निर्णय दिन सकिरहेकी छुइँन ? म किन सम्राटसँग पौठेजोरी खेल्दैछु , कतै यो मेरो कमजोरी त होइन ? मेरो जन्मै देखि की हितैसी साथी, रेणूको उसले अस्मिता लुटेको सम्राट आफैले स्वीकार गर्दा पनि म किन अनावश्यक रुपमा उसको अमेरिकी जीवन यापनको बारेमा जान्ने प्रयत्न गर्दैछु ? नजाने गाउँको बाटो सोधेर मलाई के फाइदा ? यसो गरेर मलाई कुन आत्मसन्तुष्टि मिल्छ ? यसरी सम्राटसँग भएका कुराहरू सम्झदै म आफ्नू आत्मसमिक्षाको पोखरीमा डुबुल्कीमार्न थालेको मलाई पत्तै भएन ।

    त्यत्तिकैमा भाइ आङतान्दै अगाडि आएर अर्कोपटिको सोफामा छचक्क बस्दै “कुन संसारमा डुल्दै हो” ? भन्यो ! भाइको प्रश्नले म झसङ्ग हुन्छु ! मलाई उसले केही क्षण अघिबाटनै नियाली रहेको हुनु पर्छ भन्ने अनुभूति गरेरै पनि, किन ? भनेर मैले उसलाई प्रतिप्रश्न गरेँ ! उसले हाँस्दै भन्यो “यो एकाबिहानै सोफामा गुँडुल्किएर पक्कै पनि ध्यान त गरेको होइन होला” ? ऊ सरासर सही थियो म ध्यानमा डुबेकी छँदै थिँइन बरु वेदनामा पो ! मैले उसलाई हिजो रातीको कलेजको डान्सपार्टी कस्तो भायो त, रमाइलो ? भन्ने प्रश्न गरेर कुरालाई अन्यत्र मोड्ने प्रयत्न गरेँ तर उसले राम्रै भयो भन्ने सटिक उत्तर दिएर पुनः मेरै प्रसङ्ग अगाडि सार्यो । अब भाइलाई सबै कुरा यथार्थ भनेर मनको भार अलिक कम गरौँ वा उसलाई अरुनै केही कुरा भनेर ढाँटौ ! म दुबिधामा परेँ ! अन्तत जे पर्ला पर्ला भनेर ऊ सँग मेरा मनका कुरा सबै खोलेँ तर सम्राटलाई मैले धृणा गर्नुको मुख्य तत्व उसले रेणूलाई जालमा पारेर विधिवत रुपमा वलत्कार गरेको खुलाउन मेरो नैतिकताले दिएन । यसो गर्नु रेणूको म माथिको विश्वास धात गर्नु थियो । सम्राट मलाई मन नपर्नुको मुख्य कारण चै के हो त भनेर यो कुराप्रति भाइले थप उत्सुकता जनायो । मैले उसलाई सम्राटको नारीहरूलाई हेर्ने दृष्टिकोण खराब भएको कारण बताएँ । भाइको अनुहारमा गम्भिरता छायो र ऊ त्यत्तिकै उठेर किचनतिर लाग्यो ।

    म सोफामै बसेर तिनै कुराहरू सोच्दै थिए बाहिरबाट बुबा आमा पनि आउनु भयो । सदा झै मन्दिरको पर्साद लिएर ! आमाले मलाई टिका लगाउन हात अगाडि लम्काउँदै गर्दा यदि सम्राट अझै यहीँनै भएको भए यी हात पहिले उसको निधारतिर लम्कने थिए होला भन्ने भान मलाई पर्योह ! आमाले मलाई सम्राटको हातमा सुम्पनका लगि खेलेको भूमिकाले कुनै पनि हालतमा म वाहाँप्रति सकारात्मक छँदै थिइँन । अरु त छोडौँ नारी मुक्तिका गहकिला कुरा गरेर राजनीति गर्ने बुबाले पनि आफ्नै छोरीको आत्मनिर्णयको अधिकार सुनिश्चित गर्न नसके त्यो कति न्यायपूर्ण हुन्छ ? मन मनै अफू बहकिन थालेको अनुभव भयो तर यो त निश्चय पनि यथार्थनै हो भन्ने सोचले बिजय प्राप्त गर्‍यो । र, मैले बुबा आमासँग यो सम्राटको विषयमा गम्भिरतापूर्वक छलफल गरेर मैले तिमीसँग विवाह गर्दिन भन्नु भन्दा पनि आफ्ना सन्तानको उमेरको समेत प्रवाह नगरी उनीहरूको भाग्यविधाता बन्न खोज्ने धेरै अभिभावकहरू जस्तै मेरा अभिभावकलाई पनि हाम्री छोरीले विवाह नगर्ने भई भन्ने सन्देश सम्राटको कानमा पुर्याउन बाध्य पारेर नारी मुक्तिको अभियान स्वयम आफ्नै घरबाट सुरू गर्ने अठोट लिँए । क्रमश…

  4. सम्राट गएपछि धेरैबेर सोचमग्न भएँ म । कति निश्फिक्री छ यो मान्छे । मानौं उसलाई कुनै पर्वाह छैन नियतिको, विश्वासको अनि यथार्थताको । सोच्दछ मनमा एउटा कुरा र गर्दछ अर्को । नारी के हो ? उसलाई रेणु र ममा देखिने भिन्नता सोध्ने हो भने उसले देख्ने कुरा एउटै होला । एउटी वयस्क स्त्री । कोमल मुहार, पुष्ट वक्ष, पोटिलो नितम्ब, छिनेको पातलो कम्मर, मृदु मुस्कान, आदि आदि । सोच्दासोच्दै मैले आफैलाई अगाडिको ठुलो ऐनामा हेर्न भ्याइसकेकी थिएँ । अलिकति लाजले हो कि संकोचले मेरो ओठ आफै खुले र त्यसरी हाँसेको मेरा आखालाई नपचेर त्यो भावविहिनता के नमिले के नमिलेजस्तो लाग्न थाल्यो । अनायास म मनलाई दृढ गर्दै टिभी कोठातिर लम्किएँ ।
    फेयर एण्ड लब्लिको एउटा सामान्य विज्ञापन आइरहेको थियो । त्यसबाट नजर उठाएर मैले टिभीको दराजमाथी राखेको एउटा फोटोमा हेरें । विद्यालय पढ्दाको त्यो फोटोमा आकृति, रेणु, सुलोचना र म अंगालोमा बाँधिएर खिचेका रहेछौ । रेनुको निर्दोष अनुहार हेर्दाहेर्दै फेरी मलाई सम्राटको घिनलाग्दो अनुहार र चुरोटको निकोटिनले कालो भएका उसका पिपलपाते ओठहरुको याद आयो । अनि हेर्न थालें रेनुका कलिला पाखुराहरुलाई जुन फोटोमा उसले मेरो ओरिपरी कसेर राखेकी थिइ । सोचें कसरी रेनुले यस्तो गरी होला ? तिनै पाखुरीहरू त्यो स्वार्थी पुरूषको ओरिपरी कसरी कसी होला उसले ? अनि मनलाई शान्त पार्नकै लागि मैले आकृतितिर नजर दौडाएँ । यो चंचल केटी ऐले के गर्दै होलि । खुल्दुली लाग्दै थियो ।
    टिभीमा एउटा आपराधिक शृंखला शुरु भयो । अक्सर हेर्ने गर्थें म यो कार्यक्रम । कथामा एउटा पुरुषको गैरवैवाहिक प्रसंगले प्रवेश पाएको थियो । त्यसैले म एकाग्र भएर त्यतातिर लागें ।
    “के सोच्छौ तिमि मलाई ? के म तिम्रो खेलौना हो? जे पनि पुरुषलाई यो समाजमा छुट अनि नारीलाई चै अनेकथरि अंकुश ? ”
    कथाकी पात्रा राँकीइ । मलाई पनि कुराले चित्त बुझ्दै थियो ।
    “हेर प्रतिमा यो मेरो विगत मात्रै हो । तिमीलाई मैले स्पस्ट भनिसकें । जब तिमि विदेशमा गएकी थियौ । मैले तिम्रो अनुपस्थितिमा हरेक दिन तिमीलाई सम्झिएँ । यस्तैमा हाम्रै घरमा आएकी रमोला मेरो सम्पर्कमा आइन । त्यो समयमा उनको श्रीमान पनि घर बाहिर थियो । संयोगवश नै हामी यसरी नजिकियौं कि कुनै पत्तो नै भएन कतिबेला हामीबिचको दूरी शून्यतामा पुगेर टुङ्गियो । हामीबीचमा एउटा नूतन सम्बन्ध स्थापित भयो । यो सही थिएन हामी दुवैको लागि तर हामी दुवैले यो चै बुझेको थियौं यो सम्बन्धले दुवैजनाको घर बिगार्नुहुँदैन । भविश्यलाई अन्धकारमा डोर्याउनुहुँदैन” ऊ भन्दै गयो, “ यो केबल दुर्घटना थियो । एउटा संयोग । एउटा परिस्थिति ।” लोग्नेले धेरै तर्क दिइरह्यो र स्वास्नीलाई आश्वस्त बनाउने असफल प्रयास गर्यो । तर सकेन । म भने त्यो रमोलाको बारेमा सोच्न थालें । त्यो नारी चै कस्ती हो त । श्रीमान नभएको समयमा परपुरुषसंग सम्बन्ध राख्ने । मलाई अलिकति रिस पनि उठ्यो । फेरी सोचें यौनेच्छा पनि एउटा आवश्यकता नै पो हो कि । समयले टाढिनुपर्दा, परिस्थितिले पर रहनुपर्दा अनि यस्तै कारणहरूले परपुरुष,परपत्नी सम्बन्ध झाँगिदै गएको कुरा त्यो शृङ्खलाको अन्त्यमा प्रस्तोताले भन्यो । यो कुराले मलाई मेरो बालसखा कुमुस्तीको याद दिलाइदियो । पुरानो भैसकेको डायरिबाट त्यसको फोन नम्बर भेट्टाएँ , हत्तपत्त नम्बर डायल गरें । ढिलो गरी फोन उठाई उसले, “किन सम्झिस हौ आज एक्कसी ?” आश्चर्यन्वित भएर उसले प्रश्न राखी । मलाइ आफ्नो मनको जिज्ञासा ठ्याक्कै राख्न असमन्जस भैरहेकोले मैले यताउताका कुरा गर्दै उसलाइ अल्मल्याएँ ।
    “अनि बुडा त सँगै छन होइन ?”
    “अँ, अहिले त सँगै त हो नि । म आएको नै बाइस दिन भैसक्यो त ।”
    ” चार वर्ष बाहिर बसिस् तँ पनि हैन?” मैले विषयप्रवेशको जमर्को गरें ।
    ” हो नि कस्तो हतारमा जानुपर्यो ।”
    “तेरो बिहे भएको कति हप्ता सँगै बस्यौ र तिमीहरू ? हनिमून पनि मनाउन कतै गएनौ हगी ।” मेरो लवजमा आएको नैराश्यलाई हाँसोमा उडाउँदै ऊ बोल्न थाली, “के को हनिमून नि । राम्ररी सुत्न त थालेको थिएनौं । मेरो भिसा आइहाल्यो । त्यस्तै हो जवानी र जोशको मिठासको राम्रो बोध हुन नै पाएन ।” छिल्लिएको कुराको आभाश दिने गरी मत्त भएर ऊ खित्खिताई । संगै भएको भए आँखा पनि नचाउँथी होला । तर फोनबाटै म उसको शरीर काँप्दै गरेको अनुभूती गरिरहेको थिएँ ।
    “त्यसो भए त भोकाएको बेला आहारविहिन है?” म पनि यही विषयको खोजीमा त थिएँ । मौका पाएको भन्ठानी प्रश्न तेर्स्याएँ ।
    “हेर केटी, भोको प्राणीले जसरी नि आहाराको बन्दोबस्त गर्छ ।” यती भनेर ऊ झन जोडले हाँसी र हाँसो सकिनासाथ पुन: गम्भीर भएर भनी, “तर सबै कुराको सीमा हुन्छ । जसरी गाडीले गतिको सीमाको ख्याल नगर्दा दुर्घटना हुन्छ । हामीले पनि त्यसको ख्याल नगरे ठूलो दुर्घटना हुन्छ ।”
    “के भन्छे यो नक्कली ?” मलाई अप्ठेरो लागिरहेको थियो उसको निजी जीवनको फरक ढङ्गले अनुसन्धान गर्दै थिएँ म । उसको आन्तरिक कुरामाथि प्रश्न उठाउँदै थिएँ म ।
    “तँ बुझ्दिनस् यी कुराहरू । बेला आको छैन तेरो ।” ऊ फेरी हाँसी ।
    “भन् न भन् के मलाइ नि लुकाउछेस् ह्ँ ?” म झन आतुर भएँ उसको अगाडिको कुरा सुन्न ।
    “कसरी मेटाइस् त त्यो दूर देशमा त्यो जवानीको काहिं नभएको भोक ?” अब ठाडो प्रश्न गर्न पुगें म । प्रश्न गरिसक्ता कतैबाट ठूलो आँधी आएर कोठाको ढोका घच्घच्याएजस्तो लाग्दै थियो । टिभिको आवाज पनि धिमी लागिरह्यो अनि मुटु घाँटीमा आएर धड्किन थाल्यो ।
    “ह्या तँलाई किन चाहियो यो सब ? छोड््दे यी कुरा अनि भन् कैले गर्दैछेस् त बिहे ? तेरो लागि राम्रो केटो खोज्द्यछु है मैले । मसँगै बसेको हो अमेरिकमा । राम्रो छ । धनी पनि र एकदमै आधुनिक ।”
    “को थियो तेरो त्यस्तो मिल्ने साथी अमेरिकमा ? हामीसँगा च्याट गर्दा त कोही छैन यो विरानो देशमा भनेर खुब बिलौना गर्थिस् ।” दुई वर्षअगि उसँग च्याट गरेको सम्झदै मैले भनें ।
    “त्यही त थियो नि मेरो प्यारो साथी । अहिले यतै आएको छ रे बिहे गर्नलाई । हेर् केटी त्यो तेरो लागि राम्रो केटो हो । मसँग त्यसले केही पनि लुकाएको छैन र लुकाउँदैन पनि । मेरो सार्है मिल्ने साथी पो हो त ।”
    “को नाम भन् न त ।” हामी पनि सुनूँ । मैले उसको कुरालाई हावामा उडाउँदै सोधेँ ।
    “सम्राट ।”
    उसले यो भन्नासाथ म झाँगाबाट खसेझैँ भएँ । मैले आफुलाई सम्हाल्न सकिन ।

Comments are closed.