युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

मेरो चुल्ठे साथी

–घिमिरे युवराज-

‘युनाइटेड स्टेट’लाई म जब अमेरिका भनेर सम्बोधन गर्थेँ ऊ रिसले आगो हुन्थ्यो। यूनाइटेड स्टेटको कट्टर विरोधि ऊ भन्थ्यो–’डु यु नो हाउ मेनी कन्ट्रिज् आर् इन अमेरिका?’ त्यो बानीलाई भत्काउन धेरै महिना लाग्यो। एकदिन मज्जाले अन्ताक्षरी खेल्यौँ। उसले एसियाभित्रका देश र राजधानीको नाम भन्ने, मैले अमेरिकाभित्रका। गुगल सर्च जिन्दावाद्। दुवैको सामान्यज्ञानलाई फराकिलो पार्ने बढो गज्जबको कसरत थियो त्यो। अब मित्रता झनै बढ्यो। हामी दाजुभाइ जस्ता भयौँ। कत्तिले त ‘गे’ भनेर ठट्टा पनि गर्थे, कोपनहेगन जो थियो। त्यसो त ४ महिना एउटै कोठामा बसेका थियौँ हामी।

आरोन स्यान्चेस। ३७ वर्षे कोलम्बियन। कमेडिया स्कुल डेनमार्कमा रङ्गमञ्च अध्ययन गर्दाको मेरो सहपाठी हो ऊ। भेट्दा ३५ वर्षको थियो। दुई वर्षे पाठ्यक्रम सकेपछि गतवर्ष अगष्ट २७ र २९ मा क्रमश हामी आ–आफ्नो मुलुक फर्कियौँ। यो ४ महिनामा हामीबीच सम्बाद हुन पाएको छैन। सहयात्रा र अन्तरंग बसाइमा उसको जीवन कथा र आनीबानीले मेरो मस्तिष्कमा ठूलो ठाउँ ओगटेको छ। फर्कने बेलामा ऊ त्यति खुशी थिएन। हाम्रो भन्दा ठूलो द्वन्द्वमा परेको उसको देशमा ऊ अहिले के गर्दै होला? त्यतिखेर उसले सुनाएको कथाले मलाई झस्काइ रहन्छ।

धेरै वर्षसम्म त्यस देशका युवाहरुको ज्यान चिठ्ठामा अडियो। आखिर उस्को पनि पालो आयो। निरासा र डरको गह्रुङ्गो बोझले थिचिएको सरीरलाई कापीरहेका खुट्टाले उचाल्दै उसले अन्तिम पाइला चाल्यो। अनि आँखा चिम्लिएर आकासतिर हेर्दै भन्यो–’मलाई थाहा छ जिजस्, तिम्रो नाम पुकारेका धेरै युवाहरुले आखिर सेतो बल हात पारे। तर पनि आशाको त्यान्त्रो तिमीसँगै गाँसियो।’ उसको आनाकानी देखेर कठोर स्वरको सैनिक कडि्कयो–’छिटो तान्’।

‘हे ईश्वर † मेरा लागि रातो बल।’ उसको दाइको हातमा सेतै बल पर्यो। पारामेलेटरी भयो। फार्ससँग लड्दालड्दै मर्यो। दाइलाई सम्झदै टोक्रीमा हात छिरायो।

‘जिससले मेरो मात्रै स्वर सुनोस्? म विश्वास गर्दिन।’ करिव १० वर्षअघि धर्म परिवर्तन गरेर अर्ध–हिन्दु भएको उसले आइरोनिक खित्कामा भन्यो–’जिजसले सुन्यो र म अहिले यहाँ छु।’ अर्थात उसले रातो बल हात पार्यो। मैले उसको सेन्टिमेन्टलाई तोड्दै भनेँ–’वन्ली मङ्की ह्याज रेड वल्स् इन नेपाल।’

‘हुहाहा..अर्थात तँ मलाई बादर बनाउन चाहन्छस्।’ अस्लिल जोकका लागि स्पेनिस केटाहरुलाई कसैले सक्दैन। भलाद्मी भनाउँदो भेलामा पनि गोठाले सम्वाद जमी हाल्छ। अनि केटीका सवालमा नि † मानौ उनीहरु ‘डर्टी पिक्चर’का नायक नै हुन्। केराको अर्थ हामीकहाँ जसरी लाग्दो रहेछ उनीहरु कहाँ पनि उही रहेछ। ‘बानाना’ सायद यो अन्तर्राष्ट्रिय बिम्ब हो। तर ऊ चिकिता बानानाको विरुद्धमा भने हात धोएरै लागेको छ। प्रसंग अस्लिल अर्थहरुको भए पनि म यहाँ चिकितालाई त्यसरी परिभाषित गरिरहेको छैन। न त मैले उसलाई यसको जानकारी गराएँ। बच्चाबेलामा ‘चिकित्सक’ उच्चारण गरेजस्तो भो मलाई।

मलाई थाहा थिएन। ‘चिकिता’ अमेरिकन ब्राण्ड रहेछ। यस ब्राण्डको केरा डेनमार्कमा र यूरोपभरि नै निकै प्रसिद्ध छ। ‘नन अर्गानिक’ यो केरा ‘अर्गानिक’को ट्याग लाएर बजारमा आउँदो रहेछ। तर, यसलाई उसले तिरस्कार गर्नुका अन्य धेरै कारण छन्। त्यो अन्तर्राष्ट्रिय कम्पनीले केरा उत्पादनका लागि कोलम्बियाका धेरै किसानको जग्गा हडपेको रहेछ। यसको कार्यनीति ‘फेयर ट्रेड’को विरुद्धमा भै गो। कोलम्बियाका पारामिलेटरीहरुलाई आर्थिक सहयोग दिँदै आएको यो कम्पिनीले कति पटक त पानी जहाज र ट्रकहरुमा केराभित्र हतियार लुकाएर कोलम्बियामा सप्लाइ गरेको रहेछ। ‘वाफ् रे’। उसको कुरा सुनेपछि मैले बाचा गरेँ–’नो चिकिता प्लिज’। नेपाल आइनपुग्दै त्यही अमेरिका मोन्सान्टो मिसनमा नेपाल छिर्न लागेको हल्ला सुने। आरोनलाई सम्भि्कएँ–’प्रिय साथी चिकिताको अर्को रुप नेपाल पस्न खोज्दैछ। म यहा तेरै रुप धारण गरेर उम्भिएको छु। नो मोन्सान्टो प्लिज।’ यिनले किसानका स्थानीय बिऊ र जमिनमाथि एकाधिकार जमाउछन् र व्यापारमा एकाधिकार जमाउछन्। सुरुमा राम्रै उत्पादन बजारमा ल्याउँछन्। चल्न थालेपछि रद्दीमाल बेच्छन्।

शक्तिशाली देशहरुले कमजोरहरुलाई थिचेको एउटा पीडा हो कोलम्बिया। खासमा आफ्नै कलहले। स्पेनिसहरुले त कोलम्बियाको आदिवासी संस्कृति र भाषा नै लोप बनाइ दिए।


हारोन र म

खासमा तीनवटा पक्ष्ँबाट कोलम्बियाको समाज ध्वस्त भयो। सरकारी सैनिक, पारामिलेटरी र आन्दोलनरत संगठन। कोलम्बियाको सवालमा पारामिलेटरी सरकारले अनौपचारिक र गैरकानूनी रुपमा बनाएको हतियारधारीहरुको संगठन हो। यो फार्सलाई सिध्याउन प्रयोग हुन्छ। फार्स (FARC-Revolutionary Armed Forces of Colombia) कम्युनिजममा आस्था भएको सशस्त्र भूमिगत संगठन हो जो २ पुस्तादेखि ससस्त्र आन्दोलनमा छ। यतिखेर यसको आयु ५० वर्षको भयो। त्यही पारामेलेटरीले गाउँका जवान युवाहरुलाई उठाएर लग्थ्यो र फार्सका बिरुद्ध ढाल बनाउथ्यो। यसरी नै सखाप भएका थिए आरोनको गाउँका धेरै युवा। फार्सले पनि लग्यो र सरकारी सेनाले पनि। उसका सखाहरु, उसको दाजु। मैले मेरो देशको द्धन्द्ध कथा पनि उसलाई सुनाएँ। राजनीतिक दुस्कर्म र नरहत्याका कथा दुबै देशका उस्तै थिए। यो कारणले भावनात्मक रुपमा पनि हामीलाई झन नजिक बनायो। तर, नेपालको द्वन्द्व समाधान संसारका लागि सफलताको कथा जस्तो हुँदो रहेछ। भूमिगत संगठन मूल राजनीतिमा आएर यसरी शान्ति स्थापना हुनु कोलम्बिया जस्तो देशका लागि ठूलो उदाहरण हो। त्यसैले पनि आरोनसँग म जहाँ पुग्थेँ नेपालका कुरा महत्वपूर्ण रुपमा उठ्थ्यो।

शान्ति स्थापनाका लागि काम गर्ने एउटा संस्थाले जर्मनीको ह्याम्बर्गका लागि उसलाई निम्तो पठायो। उसले मतिर प्रश्न फ्याक्यो–’कोलम्बियाको विषयमा मैले एउटा नाटक तयार गर्नु पर्ने भयो। मलाई सहयोग गर्छस्?’ मेरो लागि त्यो एउटा अबसर थियो। हुन्छ भनेँ।

हामी स्कुलमा त्यतिखेर मास्कको अध्ययन गर्दै थियौँ। ‘त्यही शैलीलाई प्रयोग गरौं’ दुवैको कुरो मिल्यो। कथा उसैले छान्यो। उसको गाउँ छेऊका माझीमझेनीको कथा। नाम राख्यौँ ‘रेम्बो इन दि डस्क’। रोमान्टिक प्रेम आयो सुरुमा माझीमझेनीको। सन्तान जन्मियो। त्यो सबै देखाउन माइम र म्युजिक प्रयोग गर्यौँ। सम्बँद रहीत। गाउँमा माझीले छोरोलाई आकाशको तारा देखाउँदै कथा सुनाउँछ। ‘आकाशमा बग्दै गरेको तारालाई हेरेर कुनै कुरा माग्यो भने पुरा हुन्छ रे।’ हाम्रोमा जस्तै लोक विश्वास रहेछ त्यतिपर पनि। कथा रेकर्डेड बजायौँ। भूमिगत लडाकु र सरकारका बन्दुकको प्रभावले माझी परिवार गाउँबाट विस्तापित भयो। नजिकैको सानो सहरमा उनीहरु बस्न थाले। एकदिन बालकले झ्यालबाट देख्यो, नजिकै तारा खस्दै गरेको। आँगनमा निस्किएर खस्दै गरेको तारासँग ऊ केही माग्न चाहन्थ्यो। अचानक ‘चम्किलो तारा’ उसको छातीमा ठोकियो र ऊ मर्यो। त्यो खस्दै गरेको तारा थिएनछ। बन्दुकबाट निस्किएको गोली पो रहेछ। ‘हरे † उसले बन्दुकको गोलीमा आएको आगोको झिल्कोलाई तारा ठान्यो’। आरोनले कथा सुनाउदा नै मलाई राम्रो लागेको थियो। हामीले नाटकमा एक्रोव्याटिक पनि मिसायौँ र द्वन्द्व र तनावलाई बढी दृश्यात्मक बनायौँ। ह्याम्बर्गका दर्शकले नाटक धेरै मन पराए। त्यहीँ हामीले बर्लिनका लागि निम्तो पायौँ। दुबै ठाउँमा नाटकपछि दर्शकसँग लामो छलफल भयो। जब दर्शकहरुले नेपालबाट आएको भन्ने थाहा पाउँथे, अचानक म केन्द्र बन्थेँ। ‘नेपालबाट †’ म अचानक देशको प्रतिनिधित्व गर्दै हुन्थेँ। त्यतिखेर ममा अनेकौ जिम्मेवारी बोध हुन्थ्यो। न मलाई राज्यले पठाएको, न म त्यसमेसोमा त्यहाँ पुगेको। तर, आफूसँग देश सिंगै झुण्डिएको हँुदो रहेछ। नौलो चेत भयो।

कोपनहेगनबाट नेपालजति दुरिमा छ झण्डै उत्तिमा नै रहेछ कोलम्बिया पनि। पृथ्वीको वल्लो र पल्लो छेऊबाट योजना बनाएर बीचमा भेट्न गएजस्तो भो आरोन र मेरो भेट। हाम्रो मित्रताको अर्को रोचक प्रसंग थियो त्यो। कहिलेकाही पिएको सुरमा हातले रेखा कोर्दै ‘माइम’ ग्लोवमा हामी हाम्रो भेटलाई नाटकीय ढङ्गले अभिव्यक्त गर्थ्यौं। स्वाट्ट। ग्लोब बनि गो। उसले औलाले ग्लोबको पल्लो छेऊमा देखाउँदै भन्छ–ठूला देश भारत र चिनकोबीचमा अवस्थित सानो र सुन्दरदेश नेपाल। म ग्लोवको ओल्लो छेऊ देखाऊदै भन्छु– सानादेश इक्वादोर र पानामाको बिचमा अवस्थित बढेमाको देश कोलम्बिया। कस्तो अचम्म, उसको देश र मेरो देशको अवस्थिति बिल्कुलै विपरित। उसले क्लिसे प्रश्न गर्छ –’इजन्ट इट अ पार्ट अफ इण्डिया?’ म भन्छु–’तिमीहरुको राष्ट्रपति ओवामा हैन?’ यसैलाई आधार बनाएर हामीले अर्को नाटक बनायौँ ‘सेन्ट्रल ट्रेन स्टेसन’। सपना बोकेर हिंडेका दुई जिवात् कोपनहेन ‘सेन्ट्रल ट्रन स्टेसन’मा आ–आफ्ना देशका नागरिक भेट्ने आशमा हरेक दिन पुग्छन्। कसैले सहयोग गर्दैनन्। तिनको परिचय त्यहीँ हुन्छ। ती दुई मनुवाको भोगाइ र अनुभूति कथावाचन शैलीमा देखाउँछौँ।

–’वाह, केटाले केटालाई किस गरिरहेको छ †’

–’प्रेत्येक कुकुरको जात अर्को भन्दा फरक छ र तिनीहरु मान्छे भन्दा धेरै छन्’

हाम्रो अनुभव र उच्चारण सुपरडुपर कमेडी भो कोपेनहाउनका दर्शकलाई। नाटकमा आरोनले मलाई सोध्छ–ह्वाट डु यु नो अवाउट कोलम्बिया?

चाक हल्लाउदै म भन्छु, साकिरा साकिरा। मैले उस्लाई नभेट्दासम्म कोलम्बियाको बारेमा जानेको भनेको गार्विलय गार्सिया मार्खेज पनि हो। मैले हन्ड्रेड इयर्स अफ सोलिच्युट पढेको थिए। मेरी एकजना प्यारी साथीले जन्मदिनमा दिएको उपहार। एउटी बहिनीले किताब पच पारिन्। कालान्तरमा किताब दिने साथीसंग पनि सम्बन्ध विग्रियो। मार्खेजमात्रै सम्झनामा रहे र यसरी आरोनलाई देख्दा स्मृतिका पत्र उम्किए। कताकता नरमाइलो लाग्यो। ‘सायद तपाईले कुरो बुझ्नु भएन।’ कोलम्बियासंग मेरो त्यस्तो गहिरो प्रेमको सम्बन्ध पहिल्यै थियो। आरोनले भन्यो–’सरी फर यु’।

त्यसपछि मैले बनाएको दरवारहत्याकाण्ड सम्बन्धी नाटक …june 1st 2001Úमा उसले युवराजको भुमिका निर्वाह गर्यो। उसले बनाएको नाटक ‘लिटिल ख्वानिकतो’मा मैले ख्वानितोको बाऊको भूमिका गरेँ जो जागिरको लोभमा पर्दा सैनिकहरुको कब्जामा पुग्छ। पछि भूमिगत गुरिल्ला भएको बाहानमा क्याम्पभित्रै मारिन्छ। आरोनले मेरो दाइको भूमिका निर्वाह गर्यो। यो नाटकमा काम गर्दा हामीबीचको सम्बन्ध झन् प्रगाढ भएको थियो। संयोक पनि अनेक हुन्छन्। मैले नेपालमा आरोहणभन्ने नाट्य समूहसंग केही वर्ष काम गरे। त्यहा पुगेर आरोन नामको साथी भेटियो। फेरि बालकृष्ण समको नियमित आकस्मिकता सम्भि्कए।

स्कुल सुरु भएको करिव २ हप्ता ढिलो आएको ऊ र म मात्रै यूरोप बाहिरका विद्यार्थी थियौँ। दुई हप्तापछि मात्रै मैले आफ्नै वर्णको साथी भेटेँ। नत्र पिठाजस्ता साथीहरुको बीचमा म कागजस्तो थिएँ। हाम्रो वर्ण मिले पनि कोपनहेगनमा हामीले पाएको व्यवहार र भोगाइ निक्कै भिन्न थियो। कोलम्बियनहरुले युरोपमा खेप्ने सास्ती देख्दा हामी नेपालीहरु त्यति हेपिएका रहेनछौ जस्तो लाग्यो। युरोपः कम्तीमा डेनमार्क, जर्मनी र स्वीडेनमा मैले देखेको। कोलम्बियन भन्ने वित्तिक्कै लागुपदार्थ दुर्व्यसनी वा व्यापारी भन्ने छाप रहेछ। (भलै नेपालले पनि डेनमार्कमा यो छवि बनाउन सुरु गरेको छ। कोपनहेगनको क्रिस्तेनिया जाँदा थाहा लाग्छ।) उसको पीडा र आक्रोस म बुझ्थें। मेरो रेसिडेन्ट पर्मिट कार्ड बनाउन १५ मिनेट लाग्यो। उसको ४ घण्टा। कुनै पनि सरकारी प्रकृयामा जाँदा जब उसको श्यामस्वेत अनुहार बोल्थ्यो, परिचय खुल्थ्यो र ऊ बिशेष निरिक्षणमा हुन्थ्यो। ‘त्यो एकदम दिग्दार लाग्दो क्षण हुन्थ्यो।’ दैनिक जीवनमा ठूलो रेसिज्म। मानवअधिकार र प्रजातन्त्रका ठूला कुरा गर्ने त्यो देशमा यो कुरीकुरी लाग्ने कुरा थियो। अर्को आपत्तिजनक कुरा मैले वर्क पर्मिट पाए तर उसले पाएन। त्यसै त गनगने उ डेनमार्कको झन् गहिरो आलोचक बन्यो। सुरुमा भिजा दिन आनाकानी गरेकोले ऊ स्कुलमा २ हप्ता ढिलो भयो। पछि वर्क पर्मिट पनि पाएन।

हामी दुवै त्यहाँ त्यसदेशका कारणले पुगेका थिएनौ। डेनमार्क पुग्नु संयोग थियो। म नर्बे, स्वीडेन, जर्मनी वा जापान पनि पुग्न सक्थें। ऊ पनि त्यस्तै हो। हामीले देश छानेकै थिएनौ। धेरै मानिसहरु सोध्ने गर्थे–’डेनमार्क नै किन आएको?’ ‘तँ मर्। तेरो देशमा के छ त्यस्तो जसले लोभ्याओस्? हामी आएको नितान्त स्कुलको कारणले हो।’ वाक्क भएपछि हामीले बनाएको ‘फिक्स’ उत्तर थियो त्यो। तर हामी एक आपसमा मात्रै आक्रोस साटासाट गर्थ्यौँ। त्यसो त डेनमार्कका सुन्दर कुरा धेरै छन्। प्रदुषण रहित वातावरण, सिष्टमको उपयोग, हिउँमा लडिबुडी, क्रिस्तेनिया भित्रको विन्दास घुमाई, साइकिलिङ, वियरको ओभरडोज, आरोनसँग कोपनहेगनमा गरेका विन्दास उपद्रोहरुको सुचि लामो छ।

लक्ष्मण गाम्नागेको व्यङ्ग्य कविता जस्तो भयो हाम्रो खान्की। ‘विन्स् एण्ड राइस’ एण्ड ‘राइस एण्ड विन्स्’। ऊ बहुत मिठो बनाउँथ्यो। हाम्रो खाना अरु साथीको बीचमा निक्कै फेमस थियो। गरिवको खानाको रुपमा परिचित भएपनि साथीहरुले मुख फोर्न सकेनन्। हाम्रो मित्रता एउटा उदाहरण जस्तो बन्यो त्यहाँ। त्यसैले पनि रेसिज्म कम भो। क्लासमा यसमानेमा पनि हामी छुट्टै थियौँ, कक्ष्ँाका अभ्यासहरुमा हाम्रा कामहरु पृथक हुन्थे। रमाइलो कुरा, २ वर्षमा हामीले जम्मा ६–६ वटा नाटकहरु बनायौ। हाम्रा मात्रै नाटकमा सामाजिक मुद्धा हुन्थे। अरुका सबै सुपर मनोरञ्जन। उडन्ते कथा तर प्रस्तुति सुन्दर हुन्थे। त्यसैले हेर्न मज्जा आउने। आरोन र मेरो मस्तिस्कमा चाहिँ सामाजिक समस्या घोडामा ढोकिएको टापजस्तो भएर बसेको थियो। कक्षाका अभ्यासहरुमा पनि तिनै कुरा आउँथ्यो।

ऊ धेरै राम्रो कलाकार। कक्षा कोठामै १३ जना मध्ये ऊ उत्कृष्ट थियो। होचो कदको ऊ अलिक सुस्त खालको थियो। हरेक कुरा समय लगाएर गर्नु पर्ने। कक्षाका अभ्यासहरुमा सबैभन्दा अन्तिममा जान्थ्यो ऊ तर राम्रँे गर्थ्यो। त्यसो त कहीँ निस्कनु पर्दा उसका लागि तयारीका निम्ति कम्तिमा १ घण्टा दिनु पर्थ्यो। संगै जानुपर्ने ठाउँमा हामी समयमा कहिल्यै पुगेनौ। उसैको कारणले ढिलो हुने। उसको गनगने स्वभावले पनि हामीबीच बेलाबेला समस्या ल्याउँथ्यो। डेनिसहरु प्रति पनि उस्को रोस बढ्दै गएको थियो। हामी दुई वर्ष त्यहाँ बस्दा हरेकवर्ष करिव ६ महिना हिउँ पर्यो। दिन पनि ज्यादै अध्यारो र चिसो भयो। मजस्तै गर्मी ठाउबाट आएको उसको गनगन मौसममा थियो र उसमा खै कसरी हो डेनिसहरु चिसा र असहयोगी हुन्छन् भन्ने छाप पर्यो। उसको विचारमा मेरो पनि सहमती खोज्थ्यो। कहिलेकाहीँ त सार्वजनिक ठाउँहरुमा पनि उसको र मेरो विचार उही हो भन्ने पार्न खोज्थ्यो तर म डेनिसहरु प्रतिको उसको अतिसयोक्तिपूर्ण हेराइमा कहिल्यौ सहमत भइन।

कपाल लामो भएको ऊ चुल्ठो बाद्थ्यो। संयोग भनौँ, मैले भेटेका अरु केही चुल्ठे मानिसहरु झै ऊ पनि महिलाहरु प्रति आशक्ति राख्थ्यो। चुल्ठेहरुको समान चरित्र हुने त हैन होला। तर उसलाई भेटेपछि यो अन्धविश्वास जन्मियो ममा। ३५ वर्षे जीवनमा ९ वटा ‘गर्लफ्रेण्ड’ फेरिसकेको ऊ पुराना ‘गर्लफ्रेण्ड’को सौन्दर्यको तारिफ गर्थ्यो र चरित्रको आलोचना। म सोझाको कुरो नगरौँ। म मात्रै एउटा ‘भिक्टिम’ थिएँ उसको कुरा सुन्ने। मैले भेटेका सबै चुल्ठे साथीको स्वभाव यस्तै पाएको छु। उसले स्कुलको पहिलो वर्षमै कक्ष्ँाकै साथीसँग सम्बन्ध गाँस्यो। ऊ त्यतिखेर अत्यन्तै खुशी थियो। केटाहरुको जस्तो पुष्ट र दह्रो शरीर भएकी ती स्वीडिस सहपाठीको प्रसंसा अचानक गर्न थाल्यो ऊ। सुरुका दिनमा त्यही केटीको सरीरको आलोचना गर्थ्यौँ हामी, अब परेनकी फसाद। सम्बन्ध ६ महिना टिकेन र सुरु भयो फेरि आलोचना महात्म्य। ‘हे चुल्ठे महोदय’। त्यसपछि ऊ धेरै महिना त्यही कारणले दुःखी भयो। एक्स गर्ल्डफ्रेण्डहरुको भूतले उसलाई घेरेको थियो। तिनका कुरा नगरी बस्नै नसक्ने तर तिनीहरुसँग टिक्न पनि नसक्ने। दोस्रो वर्षको पढाइ सकिएपछि ऊ स्वीडेनको राजधानी स्टकहोम पुगेको थियो, समर थिएटरमा काम गर्न। उसले त्यही अर्की ‘गर्लफ्रेण्ड’ पाएछ। केही महिनाको सम्बन्धपछि आरोनको घर फर्किने दिन आयो। उसकी ‘गर्लफ्रेण्ड’ले आफू पनि कोलम्बियानै जाने वाचा गरिछन्। तर, पछि आउनेगरी। ऊ खुशी र दुःखको दोसाँधमा ऊभिएर मभन्दा दुई दिन अघि कोलम्बिया उड्यो। जानेबेलामा भन्दै थियो–’अब घरजम गर्ने कोसिस गर्छु। मिले ‘तिर्से’लाई लिएर नेपाल घुम्न आउँछु।’

3 comments to मेरो चुल्ठे साथी

  • श्याम,झापा

    घिमिरे जी लेख पडन एकदम चाख लाग्यो ,लेख पस्कदै गर्नुस हामि हरु लेखन नसके पनि पढ्न चाहि सक्छौं

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Pushpa

    राम्रो जीवन्त प्रस्तुति लाग्यो घिमिरे जी !
    पुष्प, Thailand

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • samik

    यो जीवनको शब्दहरुको सुन्दर बनौट मा मैले मिठो समय जिउने मौका पाए !!!! धन्यबाद युवराज ज्यु !!!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

eXTReMe Tracker