उल्लेरीको उकालो

-दीपक भट्‌टराई-

पोखराबाट मुक्तिनाथसम्म पदयात्राको पहिलो दिन बेल्जियमको मित्रले भनेको थियो, Do you have power to climb ulleri hill ? खोई तँसँग उल्लेरीको उकालो चढ्ने शक्ति छ त – पहाडी ठिटो भएकाले मलाई पोखराबाट नयाँपुल करिब ४५ किलोमिटरको दुरीसम्म बसमा यात्रा गर्दा लागेको थियो, यो मुला कहिल्यै उकालो ओरालो हिँड्न नपर्ने युरोपेलीले पहाडमा खेली हुर्केको मेरो तागत आज देख्ने भो। उल्लेरीली नाम नयाँ भए पनि उकालो मेरो लागि नौलो थिएन। गत चैतमा काठमाडौमा जन आन्दोलन भाग २ शुरु हुने बेलातिर म एक हुल पर्यटकका साथ हिमालतिर लागेको थिएँ।

पत्रकारिता गर्दा घुमिफिरी म काठमाडौंमै केन्द्रित रहेको विदेशी मित्रले जानिसकेको थियो। त्यस्का साथै एक वर्षमा एक दिन पनि ट्रेकिङ गएको छैन भन्ने थाहा पाएपछि नीक मेननले नयाँपुलबाट मुक्तिनाथसम्म जाँदा बाटोमा पर्ने उल्लेरी उकालोको विषयमा मलाई बस यात्रामा भन्दै थियो, यो ट्रेकिङको सबैभन्दा अप्ठेरो भनेको उल्लेरीको उकालो हो।

कास्की र पर्वत जिल्लाको सिमानामा पर्ने यो उल्लेरीमा शुक्रबार आएको पैर्‍होले एउटा गाउँ नै बगाएको र १७ जना मानिस मरेको खवर सुन्नासाथ मलाई गत चैत २२ गते बिहानीको सम्झना भयो।

अघिल्लो दिन पोखराबाट तिखेढुंगासम्मको यात्रा गरेपछि सुत्ने बेलामा फेरि नीकले भनेको थियो, यो यात्राको सबैभन्दा कठिन दिन भोलि हो, उल्लेरीको उकालो बिहानै काट्न सकिस् भने त लाली गुँरासले भरिएको घोरेपानीमा गएर सुत्छस्।

चैत २२ गते काठमाडौंमा जनआन्दोलनकारीहरु गोंगबु र चावहिलतिर भेला हुँदै थिए होलान्, म भने १३ जना विदेशीको साथमा उल्लेरीको उकालो चढ्दै थिएँ। शुक्रबारे पैर्‍होले उल्लेरीको नेपाने गाउँको तीस जनालाई बगाएको भुरुंग्दी खोलाको झोलुङ्गे पुल काट्नासाथ मैले घोडाबाट पनि उकालो चढ्न पाइने भनेर लेखिएको विज्ञापन देखेको थिएँ। नाकै ठोकिने उकालो भए पनि १० जना जतिले स्वर्ण जन्मोत्सव मनाइसकेका बेल्जियमीहरु लुखुरलुखुर उकालो चढेको देख्दा आफूले घोडाको माग गर्नु मिल्ने कुरै थिएन।

उल्लेरीको उकालो सुरु हुनासाथ मैले लौरी बेच्न बसेका बच्चाहरु देखेको थिएँ। एउटा लौरीलाई उनीहरुले बीस रुपैयाँ भनेका थिए र मैले दस भन्दा बढी दिन सक्दिन भन्दै नजिकैको बारीबाट एउटा दाउराको हाँगा भाँचेर टेक्न सुरु गरेको थिएँ। तर ७, ८ वर्षको बच्चाले मेरो लौरी लानु न सर मैले यो लौरी बेचेको पैसाले कापी किन्छु भन्दै मेरो मन छोएको थियो। मैले कापी किन्ने हो त साँच्चै भन्दै उसकै लौरी १५ रुपैयाँमा किनेको थिएँ।

2
पहिरोमा आफन्त गुमाएकाहरु। फोटो सौजन्यः प्रेम नेपाली

पैर्‍होले गाउँ बगाएको खबरसँगै आज बिहान मैले त्यहाँबाट हाम्रा संवाददाताहरुले इमेलमा पठाएका तस्विर हेरेँ, त्यहाँ ती लौरी बेच्न बसेका जस्तै नानीहरुको तस्विर थियो।

यो पटकको वर्षा सुरु भएपछि सबैभन्दा हृदयविदारक घटना यही हो, उल्लेरीमा गएको पैर्‍होका कारण १७ जना मरेको त पुष्टि भइसक्यो र तीस जना मरेको ठोकुवा धेरैले गरेका छन्।

बाक्लै पर्यटकहरु हिँड्ने अन्नपूर्ण क्षेत्रको ट्रेकिङ रुट भएकाले उल्लेरीमा बच्चाहरुले लौरी बेचेका भेटिएका थिए भने प्रत्येक ८, १० मिनेटको फरकमा त्यहाँ कटेज रेस्टुरेन्ट भन्न सुहाउने पसल थिए। मैले एउटा पसलमा गएर चिया र तरकारी खाएको थिएँ, उल्लेरी उकालोको मध्यतिर। साहुनीलाई धेरै कर गर्दा पनि पैसा लिन मानिनन्। म छक्क परेको थिएँ, किन निःशुल्क खुवाउँदै छिन् होला भनेर। तर, केही बेरमा नै हामीसँग गएको भरियाले भनेको थियो, दाइ, यहाँ खैरेहरुलाई घुमाउन ल्याउने टुरिस्ट गाइडलाई फिरीमा खान दिइन्छ।

म वास्तवमा गाइड थिइनँ, बरु उल्टो मलाई दुई पटक त्यो बाटो हिँडिसकेको विदेशी नीकले गाइड गर्दैथियो। तर पोक्ची साहुनीलाई ती कुरा भन्न नभ्याउँदै साहुनीले नै थपिन्, फेरि फेरि पनि टुरिस्ट ल्याइदिनु है हाम्रा गाउँमा। त्यहाँ पर्यटकले महँगोमा किनेर खाने भएकाले उनीहरुसँगै गएका ट्रेकिङ गाइड र भरियालाई सित्तैमा खुवाइँदो रहेछ। साहुनीलाई पछि मैले पत्रकारको परिचय दिएको थिएँ। दुई सन्तानकी २८ वर्षीया आमा डीलमायाले भनेकी थिइन, पोखरामा घर बनाउने भनेर तीन वर्षअगाडि घडेरी किनेको दाइ, अहिले टुरिस्ट घटेर त्यही घडेरी बेचेर खान पर्ला जस्तो भइसक्यो। फरासीली साहुनीसँग केही बेर गफ गर्ने मन हुँदाहुँदै खैरेले उल्लेरीको उकालो एक चौथाई पनि भएको छैन भन्दै मलाई उठाएको थियो।

मैले साहुनीलाई हुन्छ त, फेरि आउँदा भेटौंला भन्दै आफ्नो झोला भिरेर उल्लेरीको बाँकी उकालोतिर लागेको थिएँ। तर, जब पैर्‍होको खबर आयो, अहिले मन गर्‍हौं भइरहेछ, अर्को पटकको यात्रामा के तिनै नानीहरु लौरीसहित नभए कापी किताबसहित भेट्टिएलान् वा ती साहुनी फेरी भेट्टिलिन् र उनको पोखरामा घर बनाउने सपना सुन्न पाइएला वा त्यो उकालोमा सुस्ताउने चौतारी भेटिएला ? कि ती सबै यसै पैर्‍होले लग्यो होला……!

10 Comments

  1. दिपकजी लेख्ने कुरा त ठीकै हो तर “ऊल्लेरी” नामूद उकालोलाई ‘उरेली’ र अनि पोखरादेखि गोसाइकुण्ड सम्मको यात्राको कुरा गरेर गलत भनाइ राख्नु भएछ ।
    फेरि राम्रो अंग्रेजी बोल्ने विदेशीले Do you have power to climb Ulleri hill? भनेर सोध्नु नपर्ने हो किनभने यो भनाइ जसरी सोधिनु पर्ने हो त्यसरी सोधिएको पनि छैन ।
    तर विदेशी मीत्रसंगको तपाईँको रमाइलो साहचार्य भन्दा पनि समय र प्रकृतिले उल्लेरीवासी माथि वर्षाएको यो पीडामय क्षण कसैकालागि नपरोस् !!!
    *

  2. Deepak Ji, What you spelled about the place is wrong. Correct spelling is Ulleri. Anyway good writing.

  3. दिपक भट्टराई जी,

    उल्लेरीको यात्रा बृतान्त भनौ या समबेदना संस्मरण जे होस् तँपाईको लेखन शैली मन छुने छ । तँपाईको लेख पढ्दा त मलाई ९ महिना अघि अन्नपूर्ण क्षेत्रको भ्रमणमा जाँदा तँपाईले जस्तै उल्लेरीमा भेटेका गाँउलेहरुको याद आयो ।

  4. The so called UKALO you are talking about is ‘Ulleri’ and not Ureli. The porters and salt fetching people of earlier generations including my father often mentioned the ‘Ulleri ko Ukalo’ as one of the many hurdles to go across during their venture of bringing the Tibetan salt home for consumption.Please, don’t write the names wrongly.

    And the free food offered to drivers and tourist guides all across Nepal actually comes from the hefty sum paid by the ordinary traveller-visitors or passangers. In Nepal nothing nowadays comes without money and the words ‘help’,’kindness’ ,or ‘feelings’are no more existent there.

  5. उरेली होईन उल्लेरी हो ।
    मैले पनि एक जना दिदीलाई दिदी नाता जोडी दिदी बनाएको थिए, उल्लेरी गाउँमा । खोई न्येपाने पहिरो गएको खबरले दुखित् छु।
    Jit

  6. HI

    Thank you for your note about Ulleri. I wondered that you mentioned about Gosainkunda. It should be Ulleri instead of Uleri and there is no Gosainkunda instead it should be Ghorepani.

  7. Umesh Jee Namaste !
    Tapahile Dinubayeko news Ma Dhanyadhat Tara dherahi Dukha lagyo Uleri ma Bhayeko Pahiro KO Kahani Sundha. Kina Bane Tyo Thauma ma derahi choti Gayeko chu Thaha ko bhasindha sanga mero ati nahi gulmilcha kina bane ma First Env. Trekking company ko Guide hu ra tes thauma derahi Bideshi haru lageko chu. ra mero bideshi shati haru pani atit Chintit chan Pahiro Gayeko le.
    Ramesh Belgium

  8. thanx umesh ji
    dherai dukha lagyo ureli ma bhaye ko pahiro ko kahani sunda. mare ka haru ko atma ko shanti hos.

  9. Thanx for writing your heart touching experience. Nepal and Neplease are blessed with the heavenly views of mountains but at the same time it adds difficulty to the life of people and development of the area.

    Landslide in Ureli is a sad story which represents a scenario that many of the villages in Nepal can face in future too. So it should be taken as a lesson to be learned by local people and planners in the selection of area for residential use.

Comments are closed.