पोखरामा 'पवित्र स्वर्ग'को बास

बेनी यात्रा संस्मरण भाग २
बेनी यात्रा संस्मरणको दोस्रो भाग पहिलो भाग जहाँनिर अन्त्य भएको छ, त्यहाँबाट सुरु गर्छु। यो भागमा केही फोटो र एउटा भिडियो ब्लग रहेको छ।

दोस्रो पटक खाजा खान रोकिएको ठाउँबाट गुडेपछि दमौलीमा रोकियो हाम्रो माइक्रोबस। यो माइक्रो भन्ने शब्दको पनि ठाउँठाउँमा फरक अर्थ लाग्ने रहेछ। केही दिनअघि अ‍ोहमाईन्युजमा ‘माइक्रोबस चढेर शहीदगेट गएको’ भनेर लेखेको त मिनी बस भनेर छापिदिएछ। अनि पोखरामा काठमाडौंतिर मिनी बस भनिने बसलाई मिनी माइक्रो भनिने रहेछ। अलि पर बेनी पुग्दा भने मिनी बसलाई नै माइक्रो बस भनिने रहेछ। दमौलीमा माइक्रो रोकिएपछि मजाले हामी तीन जना बसिरहेको ठाउँमा अर्का एक यात्री थपिन आइपुगे। त्यसै त पछाडिको सिट उफार्ने, त्यसमाथि पनि कोचिन आइपुगेका एक यात्रुलाई साथी मणि आँखा तरेर हेर्दै थिए। कृष्णले भने सम्झाउने पाराले भन्यो- राजालाई त स्पेस दिनुपर्छ भन्ने कुरा आइरहेको बेला उहाँलाई पनि त स्पेस दिनुपर्‍यो नि। यस्तोविधि ‘हार्डकोर पोलिटिकल जोक’ गर्दा पनि त्यो कोचिन आइपुग्ने यात्रुको अनुहारमा भने लेसमात्र पनि हाँसो देखिएन। ढुंगे मन !

मैले अझै वातावरण रमाइलो पार्ने प्रयासमा सुरेश दाइले जनआस्थामा लेख्नुभएको कुरा बिना कपिराइट साभार गर्दै कृष्णको कुरालाई काट्‌दै भने- स्पेस भनेर गिरिजाले ठाउँ दिनु पर्छ भन्या हो र, अन्तरिक्ष दिनुपर्छ पो भन्या त। अन्तरिक्ष अर्थात् स्पेसमा पठाइदिनु पर्छ भनेको नि। बुझ्नु न सुझ्नु, त्यसै विरोध गरिहिँड्छन् मोराहरु। दुवै साथी गलल हाँसे तर यति गर्दा पनि त्यो जुंगा नभएको ‘ढुंगा’ जस्ताको तस्तै। बरु थरमा ढुंगा भएको कृष्ण ढुंगाना भने भन्दै थिए- स्पेसमा पठाए पनि फर्किहाल्छ नि।

म भने कोचिन आउने सहयात्रीतिर ध्यान नदिई दमौलीका दृश्य हेर्न थालेँ। झण्डै दस वर्षअघि वैशाख १ गतेका दिन म यो दमौलीमा आइपुगेको थिएँ। ममात्र हैन मसित साथीहरु पनि थिए। दमौलीमा एक जना साथी ईश्वरको जन्मदिन मनाउन आएका थियौं हामी। मसित थिए साथीहरु विक्रम र सन्देश। मबाहेक यी तीनै जना साथीहरु डब्लुआरसीमा पढ्थे। ईश्वरले त्यतिबेला जन्मदिनको केक, त्यो पनि सानो टुक्रामात्र खुवायो, दमौली भने घुमाएन। फेरि घुम्ने मौका पनि मिलेन। अहिले त उ अमेरिकामा छ। डीभी ठ्याक्क पर्‍यो, स्वाट्ट बिहे गर्‍यो, फुत्त अमेरिका गइहाल्यो। अनि यो दमौली जहिले पनि पोखरा आउँदा बाटो पर्दा एक जमानामा यहाँ पनि आएको हुँ भनेर धाक लगाउँदै झ्यालबाट हेर्‍यो, बस्यो- यतिका वर्षसम्म यस्तै हो।

अर्को साथी सन्देश, जसलाई हामी श्रीकृष्ण पनि भन्थ्यौं, कारण उनको अनुहार ठ्याक्कै हिन्दी सिरियल महाभारतको श्रीकृष्णको अभिनय गर्ने कलाकारको जस्तो थियो, पनि अहिले त क्यानाडामा अध्ययन गर्दैछ। श्रीकृष्ण भगवानको चिल्लो अनुहारमा दार्‍हीजुंगा पालेर एक जमानामा हामीले श्रीकृष्णको रुपमा दिएको ‘सम्मान’को उसले ‘अपमान’ गरेको छ।

दमौलीबाट केही घण्टाको यात्रापछि कहिले नबन्ने सेतीको पुलमाथि रहेको थोत्रो बेलिब्रिजबाट गुज्रिएपछि पोखरा पुगेको जस्तो अनुभव भयो। पृथ्वीचोक जसलाई चाइनाचोक पनि भनिन्छ (चाइनाले बनाइदिएको भएर) मा माइक्रो रोकेर झोला झारिदिएपछि बसन्तपुरतिर कुइरेलाई क्युरियो व्यापारीले पछ्याए झैं लजवालाहरुले हामीलाई पछ्याउन थाले। दुई जना सञ्चारकर्मी साथीले त हाम्रो पछि लाग्ने एक जना साथीको सात पुस्ता कै नालिबेलीको जानकारी लिए। अरु बेला सँधै साथीको घरमा बस्न जाने भएकोले मलाई लजवालाहरुसित कहिले पनि डिल गर्नुपरेन। यस पटक भने साथीहरुसित आएको हुनाले लजमा नै बस्ने योजना त थियो, तर सकेसम्म यहीँका साथीहरुको सल्लाहमा नै बस्ने विचार थियो। त्यसका लागि दुई अप्सन थिए- एउटा मणिको साथी चक्रे, जो माछापुच्छ्रे बैंकमा कार्यरत थिए। अनि अर्को पोखरापत्र दैनिकका पत्रकार तथा परेवा अनलाइनका पोखरा संवाददाता बासुदेव मिश्र। बासु भन्दा चक्रे नै पहिले आइपुग्यो। उसले हामीलाई उसकै कोठामा बस्न कर गर्‍यो। मन नभए पनि तात्कालिक परिस्थितिलाई विचार गर्दै सो प्रस्तावलाई पछि अस्वीकार हुने गरी स्वीकार गर्दै ट्याक्सीमा बसेर उनको कोठातर्फ लाग्यौं।

कोठा रहेछ एउटा स्कूलमा। माछापूच्छ्रे एफएमको ठीकअगाडि। त्यहाँ ब्याग छाड्यौं र सार्‍है भोक लागेको हुनाले केही खान र केही न्युज भए अपडेट गर्न बाहिर निस्कने विचार थियो कृष्ण र मेरो। तर मणि भने नुहाउन जाने तयारीमा थियो। मणिले त झण्डैझण्डै त्यहीँ बस्ने विचार गरिसकेको थियो। हामी भने फड्को मार्ने तयारीमा थियौं।

एक ठाउँमा बसेर खाजा खायौं हामीले र त्यसपछि पोखरापत्रको कार्यालयतिर लाग्यौं। साँझ भइसकेको थियो त्यता पुग्दा। त्यहाँ अक्षरको नाता भएका साथी बासुदेव मिश्रलाई भेट्यौं। न्युजआवर भइसकेको थियो। हामी भने उसलाई डिस्टर्ब गर्न त्यहाँ पुगेका थियौं। उनले भने केही छैन, म नाइट डेस्क हेर्ने हो भन्दै थिए। उनैले हाम्रा लागि लेकसाइडको होटल मिलाइदिए।

पोखरापत्रको कार्यालयमा बसेर हामीले माघ १९ पछिको पत्रकारिताको अनुभव पनि सुन्यौं। एक जना सञ्चारकर्मी साथी भन्दै थिए- सेन्सरसिप भनेर आर्मी आफै त आएन, तर डरले आफै सेन्सरसिप भने गरियो। पुराना फाइलहरु पल्टाउँदै जाँदा आन्दोलनकालको एक अङ्कमा ‘शाही नेपाली सेना’ हुनुपर्नेमा शाही सेना भएको भन्दै भूल सुधार गरिएको रहेछ। हामीले सोच्यौं- ए, थर्काएछ त्यतिबेला। सोध्यौं, हो रहेछ। फोनमा थर्काएको रहेछ।

बासुले हामीलाई राति बास बस्ने ठाउँमा पुर्‍याए। ठाउँ थियो- होटल होली हेभन अर्थात् पवित्र स्वर्ग। होटलका सञ्चालक हो कि को होसित एकछिन भलाकुसारी हुँदा हामीले हामी परेवामाइसंसार चलाउँछौं भनेर परिचय दिएको त उनले आजभोलि त पालुवा भन्ने पनि आएको छ नि भनेर हाम्रै साथी ददि र अनुराधाले चलाएको साइटको पो बयान गर्छन् त। परेवा चाहिँ विशेष गरी ब्रेकिङ न्युजका लागि प्रख्यात छ भनेर कृष्णले के भनेको थियो उसले फेरि भनिहाल्यो- अँ, पालुवामा पनि छिट्टै न्युज आउँछ…! ददिजीले यो कुरा थाहा पाउनु भयो भने अस्ति नै मलाई साथी दीपक भट्टराईले मुस्ताङमा एक साइबर सञ्चालकले उनलाई मेरो संसार हेर्नुस् न भनेर भन्यो भनी सुनाएको जस्तै अनुभव हुने होला।

कोठा राम्रै थियो। मार्कोपोलो होटलको जस्तै स्तर थियो। खाना भने निकै ढिला खुवाए होटलवालाहरुले। एकछिन कोठामा बसेर कुरा गरेपछि बासु फर्किए आफ्नो कार्यालयतर्फ। हामी भने कोठामा दिनभरीका कुरा सम्झँदै भिडियो खिच्दै बस्यौं।

यात्राका लागि निस्केका हामी तीन जनाको धेरै कुरामा समानता थियो। त्यो मध्ये एउटा थियो- हामी तीनै जना मदिरापान गर्दैन थियौं। नभए यस्तो यात्राका कुनै सहयात्रीले मदिरापान गरेर अरु सहयात्रीलाई हैरान पार्ने गर्छ।

तर साथी कृष्णको व्यवहार भने मदिरापान गरेभन्दा कम थिएन। थाकेर हो कि के हो, उनी चप्पलै लाएर खाटमा डंग्रङ्ग सुते। भिडियो खिच्दै गरेका मणिले के हो चाला भन्दा उनी उल्टै आफ्नो बचाउ गर्दै थिए- चप्पल सफा छ भने लाएर सुत्दा नि हुन्छ। अंग्रेजी फिल्ममा हिरो हिरोइन जुत्ता लाएरै सुत्छन्। मैले भनेँ- अनुशासनहीनताको पराकाष्ठा। उ भन्थ्यो- अनुशासनहीनता हैन, पश्चिमीकरण हो। सबै कुरामा पश्चिमीकरण हुने यसमा चाहिँ नहुने ?

तथास्तुः कलियुगका कृष्ण वरदान दिँदै। द्वापर युगका कृष्ण संसारमा म छु, ममा संसार छ भन्थे रे। यी कलियुगे कृष्ण पनि समय-समयमा यस्तै कुरा गर्ने गर्छन्। माथि चप्पल लगाएर सुत्न मिल्ने कुराको उदाहरणबाटै तपाईँले बुझिहाल्नुभयो होला नि केही कुरा त, हैन ? यस्ता कुरा त अरु पनि थुप्रै छन्। अनि अब ब्लगमा बिस्तारै यी कुराहरु लेख्दै जानु पर्ला भन्ने विचारमा छु। हाम्रो यात्रा संस्मरणको ब्लगमा।

पवित्र स्वर्गको बेडः हामी बसेको होटल होली हेभनको बेड यस्तो थियो। रुम नम्बर चाहिँ २०५ परेको थियो। उही कृष्ण फेरि हसाउँदै थिए- सांसदहरुको संख्या पनि २०५, हामी बस्ने कोठाको नम्बर पनि २०५…कस्तो साइट जुरेको भन्दै। यो ट्रिपल बेडको रुम थियो र तातो र चिसो पानीको सुविधासहित एट्याच बाथरुम पनि थियो। एउटा कुरा मात्र खराब थियो। त्यो हो फ्लस। हजुर, यो कोठामा कमोडको फ्लस बिग्रिएको थियो।

समय त भूतले खाना खाने बेला नै हो रातको ११ बजे। तर देखिएका मान्छे भने भूत हैनन्, उही कलियुगे कृष्ण हुन्। नाइट मोडमा खिचेकोले यस्तो देखिएको हो। यसमा उनी मुला सलाद टोक्दै छन्। होटलको खाना मिठो त मिठो नै थियो। भोलिपल्ट त्यो खाना कम्प्लिमेन्ट्री हो भन्ने थाहा पाएर पो, नभए अझै मिठो मानिन्थ्यो कि 🙂 तर यो खानाले बेनीकी थकाली दिदीको खानालाई भने जित्न सकेन। उताको खाना साँच्चिकै मिठो थियो।

लौ हेर न हाँसेको। झन् खाना खाने बेलामा हाँस्नु हुन्न, गम्भीर बनेर खानु पर्छ भनेर मैले दिएको अर्ति किन मान्थे र उनीहरु। कहिले के भन्या छ, कहिले के। अनि हाहाहा…अट्टहास। खाना भने मिठै रहेछ। हामीले थपेर खायौं। हामी भनेको मणि र मैले। कृष्णले यात्राभर एक पटक पनि खाना थपेर खाएन। मैले भने एक पटक मात्र थपिनँ जस्तो लाग्छ- त्यही फर्कने दिनको अघिल्लो रातको झुर होटलको बासी खाना। मैले उल्टै फ्याँकेको थिएँ त्यो खाना त।

कृष्णलाई हाँस्नमा साथ दिने मणि। सबैभन्दा बढी खाने पनि मणि, सबैभन्दा दुब्लो पनि उही, सबैभन्दा होचो पनि उही भन्दै हामीले जिस्काएपछि उनले यस्तो ‘नकचरो हाँसो’ हाँसेका हुन्। अन्तमा सबैभन्दा ढिला खाने पनि उनी नै हुन्थे। मणि र कृष्ण- दुवै यात्रा गर्दा निकै रमाइला हुने साथी रहेछन्। वास्तवमा यात्रामा नै को मान्छे कस्तो स्वभावको छ भनेर नजिकबाट चिन्ने अवसर प्राप्त हुन्छ भन्ने भनाई साँचो हो रहेछ।

स्लिपिङ पोजः यो रातको एक बजे खिचिएको फोटो हो। खाना खाएर नुहाएपछि मैले यी साथीहरुको मस्त निद्रामा भएको फोटो खिचेको थिएँ। मणि यसरी मुठी कसेर कम्युनिस्ट शैलीमा सुत्ने रहेछन्। आखिर एक जमानाका माले अखिलका कार्यकर्ता न परे- कालापानीमा झण्डा गाड्न जाने। इन्डियनहरुले थर्काएपछि बिचराहरुले परै झण्डा गाडेर आएका थिए। चुनावमा मालेको पत्ता साफ भएको केहीपछि माले सिङ्गै एमालेमा गाभियो र उनी पनि एमालेसित नजिकिए।

अनि यो सुत्दा पनि दौड्न लागेको पोजमा सुत्न चाहिँ अरु कोही नभएर कृष्ण नै हुन्। निद्रामा अ‍ोलम्पिक वा साग गेम भयो भने चाहिँ पक्कै कृष्णले नै जित्छन् होला। जित्ने मात्र हैन, वर्ल्ड रेकर्ड पनि तोड्छन् होला पक्कै। भोलिपल्ट आफ्नो फोटो हेरेर आफै हाँस्दै थिए उनी। म सुतेको पोज भने कसैले खिचेन। किनभने सबैभन्दा ढिला सुत्ने त म नै थिएँ। काठमाडौंदेखि लागेको बानी, पोखरामा के छुट्थ्यो र !

भिडियो हेर्न तलको प्लेयरको प्ले बटनमा क्लिक गर्नुस्। टिप्सः तपाईँको इन्टरनेट कनेक्सन स्लो छ भने सुरुमा बायाँ छेउमा रहेको पज बटन थिचेर पूरा डाउनलोड हुन दिएपछि पुनः सोही बटन थिचेर प्ले गरी बिना व्यवधान भिडियो हेर्नुस्।


वा डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

3 Comments

  1. त्यतिबेला जन्मदिनको केक, त्यो पनि सानो टुक्रामात्र खुवायो, दमौली भने घुमाएन ।
    डीभी ठ्याक्क पर्‍यो, स्वाट्ट बिहे गर्‍यो, फुत्त अमेरिका गइहाल्यो।
    ________________________________________________

    ए साथी! यत्ति धेरै गुनासो म माथि। यो पाली नेपाल आउँदा घुमाइदिम्ला नि के भो र। बरु फुर्सद मिलाइ राखुम् । फेरि घुम्न जाने कि पोखरा , के b ४ ६? यस पाला चैं होटेल होइन,हाम्रो घरमै बस्ने है।

    :-)>

  2. HI Guys,
    I like your typical Nepali style. Some people may do not like the way you are doing.
    Jharana
    Tokyo

  3. उमेश जि !
    तपाइँ त एउटा सिद्दहस्त यात्रा निबन्धकार पनि हुनुहुँदो रहेछ । खुशी लाग्यो ।

Comments are closed.