राजमार्गका प्रहरी चौकी त 'भूत घर' बनेछन्

पोखरा-बेनी यात्रा संस्मरण-५
dimuwa police postपोखरा-बेनी यात्रा संस्मरण विभिन्न कारणले लेख्न ढिला भइरहेको छ। संस्मरण लेख्नु भनेको अरु ब्लग लेख्नु जस्तो नहुने रहेछ, मूड आउनु पर्ने रहेछ। आज फेरि अस्ति टुंगिएको संस्मरणबाट पुनः जोड्न गइरहेको छु। संस्मरणको यो ब्लगमा पोखराबाट बेनी जानका लागि गरिएको बस यात्राका कुरा र त्यससम्बन्धी भिडियोहरु हुनेछन्। राजमार्गमा नै रहेको पर्वतस्थित डिमुवा प्रहरी चौकी माअ‍ोवादी द्वन्द्वका कारण ‘भूत घर’ मा परिणत भएको दृश्य समेत हामीले देख्यौं। त्यो त एउटा नमूना मात्र थियो, देशभर त्यस्ता खाली भएका प्रहरी चौकी कयौं होलान्…!

भिडियो हेर्न तलको प्लेयरको प्ले बटनमा क्लिक गर्नुहोला। कनेक्सन स्लो छ भने पहिला बायाँ छेउमा रहेको पज बटन थिची केही बेर प्रतीक्षा गर्नुस्। रातो धर्को पर सरेपछि फेरि सोही बटन थिची भिडियो हेर्नुस्।


वा डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

शहीदको नाममा राखिएको भीमसेन चोक भन्ने शब्दलाई बिस्तारै बिर्सँदै फेरि घुमिफिरी महेन्द्रपुल भन्ने शब्द मै अडकिन्छ त्यो ठाउँको कुरा गर्दा। त्यही ठाउँमा बिहानको खाना खाएपछि हामी लाग्यौं बेनी जानका लागि बाग्लुङ बसपार्कतर्फ। पोखराका साथी बासु, काठमाडौंदेखिका सहयात्री कृष्ण र मणिसहित म एउटा ट्याक्सीमा बस्यौं र लाग्यौं बसपार्कतर्फ।

बाग्लुङ बसपार्क छेउछाउका होटलहरु बदनाम रहेछन्। ३०० रुपैयाँ लिएर जाने, भित्र पस्ने अनि एक घण्टापछि निस्कनेहरु त्यहाँ जान्छन्, ट्याक्सी ड्राइभर हामीलाई सुनाउँदै थिए। अस्ति भर्खर पोखराका एक जना साथीलाई “त्यसो रे हैन त्यहाँ” भनेर जिस्क्याउँदा उ झोँक्किदै भन्दै थियो- “कहाँ हुनु त्यस्तो, अहिले त आमा समूहले सबैलाई तह लाइसक्यो त”

बसपार्कमा पुगेपछि ट्याक्सीमा जाने हो भन्दै हामीलाई सोध्न आउन थाले। ट्याक्सीको चर्को भाडा कसले तिर्न सक्नु ? माइक्रोसम्ममा जाने विचार थियो तर साथी कृष्णले भने माइक्रो असुविधाजनक हुन्छ, असुरक्षित पनि हुन्छ, बस मै जाने भनेपछि हामी बस मै जाने निर्णयमा पुग्यौं।

“लौ, लौ गएर टिकट काट्नुस्-बसमा जाने भए,” एक जनाले हामीलाई जबर्जस्ती गर्न थाले।

त्यसो त मलाई अचम्म लागेको थियो। हैन किन यसले यस्तोसित जबर्जस्ती गरेको भनी। तर, १० वर्षअगाडि बाग्लुङजाँदाको पीडा मैले भुलेको थिइनँ। बसमा सिट पाउनै गार्‍हो हुन्थ्यो। अहिले पनि त्यस्तै होला नि भनेर बसै नभए पनि टिकट काटियो। ५ सय २५ रुपैयाँ पर्‍यो तीन जनाको। भरे गाँठी कुरो पछि पो बुझियो। टिकट नकाटी यत्तिकै बसेको भए त बार्गेनिङ गर्न पाइने रहेछ भाडामा। आजभोलि ट्याक्सी र माइक्रो गुड्ने हुनाले बसमा यात्रा गर्नेहरु कमै हुने रहेछन्।

बाग्लुङसम्मको ७२ किलोमिटर अनि बेनीको थप १४ किलोमिटर गरी ८६ किलोमिटरको यात्रा गर्दै थियौं हामी। संख्या त थोरै सुनिन्छ, तर बाटो कम जोखिमपूर्ण छैन। १० वर्षअघि बाग्लुङ-पोखराको यात्रा धेरै गरिसकेको हुनाले मलाई थाहा थियो- बाटो कति घुमाउरो, कति उकाली अ‍ोराली छ भनेर।

यात्रा सुरु भएपछि केही बेरसम्म त छेउछाउका दृश्यहरु हेर्दै बसियो। तर अल्छि लाग्ने क्रम सुरु भइहाल्यो। बीच-बीचमा आँखा चिम्लँदै बसियो। उचाइबाट पोखराको फेवातालको दृश्य अनि नौडाँडाबाट देखिने माछाको पूच्छर जस्तो माछापूच्छ्रे हिमालको दृश्य सबैभन्दा रमणीय हुन्थे। यो यात्रामा माछापूच्छ्रे भने हेर्न पाइएन।

कृषि अनुसन्धान केन्द्र, लुम्लेको बारेमा मणि सोध्दै थियो- कहाँ छ त्यो नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ भन्दै। धेरैअघि बाग्लुङकै एक साथी विश्वरामसित आएर घुमेको थिएँ त्यो ठाउँ। अरु ठाउँमा गर्मी भए पनि लुम्ले पुग्दा बसभित्रै भए पनि शितलता छायो।

एक ठाउँमा अकस्मात् बस रोकियो। किन रहेछ भन्दा त बाटैमा पर्ने गरी रुख ढालिएको रहेछ। अब बञ्चरोले त्यसलाई काटेर नहटाउञ्जेल कुर्नु पर्ने रहेछ। यात्रुहरु गाली गर्दै थिए- उतातिर ढाल्नु पर्दैन ?

“यतै आयो अनि क्यार्नु त”, जवाफ दिइँदै थियो।

धेरै बेर कुर्नु भने परेन। यात्रा फेरि सुरु भयो। पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजार पुगियो। त्यहाँ हाम्रै बसका एक सहयात्री आमैले एक मधेसीको चना चटपटे खाएर पैसा पूरा नदिई ठगेको प्रत्यक्ष देखियो। ती बिचरा भाइ हाँस्दै मलाई कम्प्लेन गर्ने हिसाबले आँखाको भाका गर्दै थियो।

कुस्मा पुगेपछि मैले दुई वटा एसएमएस गरेँ। एउटा बेनीका साथी हरि कार्कीलाई- हामी कुस्मा आइपुग्यौं भनेर। उसले अब त एक-डेढ घण्टामा आइपुगिन्छ भनेर जवाफ फर्कायो। अर्को एसएमएस मैले गरेको थिएँ काठमाडौंको साथीलाई। उनले त कुस्मा भनेको नबुझेर ‘कुस’ भनेको कहाँ हो भनेर पो जवाफ फर्काइन्। मनमनै हाँसेँ। सूचना प्रविधिको विकासको अनुभव यस पटक साँच्चै भयो। अधिकांश ठाउँमा मोबाइलको कभरेज रहेछ। फोन गर्दा र रिसिभ गर्दा तिर्नुपर्ने चार्ज मात्र महँगो, नत्र सुविधा भने छ रहेछ।

कुस्माको एउटा अर्को विशेषता पनि रहेछ। शायद यही एउटा सदरमुकाम होला, जहाँका लागि अलग्गै कुनै बस छैन। बसहरु कि बाग्लुङका हुन्छन्, कि बेनीका। कुस्मा एउटा स्टपमात्र हुन्छ।

राजमार्ग मै रहेको डिमुवा प्रहरी चौकीको अवस्था दयनीय थियो। छतका भित्ताभर नाराहरु पोतिएका र मेटिएका थिए। पूरै चौकी खाली थियो- ‘भूत घर’ जस्तै। प्रहरी बस्नुपर्ने कोठा खाली थिए। क्यामेराले जुम गरेर हेर्दा त त्यहाँ नानाथरीका कार्टुनहरु कोरिएका रहेछन्।

देशमा विद्यमान द्वन्द्वका कारण देशभरका सयौं यस्ता चौकीहरु अहिले यही अवस्थामा छन्। राजनीतिक समस्याको समाधान नभइसकेको भन्दै चौकी पुनर्स्थापना गर्न पनि माअ‍ोवादीहरुले अवरोध खडा गरिरहेको समाचार पढिएको थियो।

कुस्माबाट केही समयको यात्रापछि मालढुंगा पुगियो। यही ठाउँबाट बाग्लुङ र बेनी जाने बाटो छुट्टिने रहेछ। मलाई त थाहा थिएन। म त बाग्लुङ हुँदै पो बेनी जान्छन् कि जस्तो मानेर बसेको थिएँ। मालढुंगाबाट अलग्गै कच्ची बाटो रहेछ बेनीका लागि।

खै कुन्नि किन हो, गुरुजीले पट्यारलाग्ने गरी मालढुंगामा बस रोकिदिए धेरै बेरसम्म। त्यत्रो घण्टाको यात्राका कारण थाकिसकेका थियौं हामी।

“तपैंहरुको मोबाइलबाट कताराँ फोन गर्न मिल्छ ?”
पट्यार हटाउन एसएमएस गरिरहेका हामीहरुलाई बच्चा हातले बोकेकी एक आइमाइले सोधिन्।

“गर्न त मिल्छ, तर पैसा पुग्दैन हाम्रो, चार्ज गर्नुपर्छ”, हामीले जवाफ फर्कायौं।

उनले भनिन्, “ए, मिल्ने भए गरुम् भनेर, जाँ गरे नि पैसै तिर्ने हो क्यार हाम्ले” उनी अझ भन्दै थिइन्, “कतारबाट फोन गर्दा नि कार्ड सकिन लाग्यो, कार्ड सकिन लाग्यो भन्छन्, त्यस्तै कार्ड भन्या हो ?”

नेपालीहरु बनाउन कम तम्सिन्छन्, भत्काउन छिट्टै तम्सिन्छन् भन्ने उदाहरण त्यहाँ पनि देखियो। मालढुंगा-बेनी सडक खण्डको उदघाटन गरिएको एउटा शिलापत्र त्यहाँ राखिएको रहेछ। मान्छेहरुले त्यसलाई फुटाइदिएका रहेछन् केही नदेखिने गरी।

१४ किलोमिटर दूरीको ७० रुपैयाँ भाडा लाग्ने यो सडक खण्ड हुँदै बेनी बजार पुगेपछिका कुरा भने अर्को ब्लगमा सुनाउने छु।

11 Comments

  1. Umesh ji,
    I know you are busy with news update of talks today. I am eagerly waiting to see second part of this piece when you get a chance.
    All the best,
    -ViV, DC

  2. Thanks 4 the information.
    Remind me the days i used travelled…exactly….the same way……the same way……….

  3. malai ta gill marry ko poster herara aafno nepal ko din yaad aayo..tyati bela ktm jaada police checking ko jaam ma parinthyo ra bus raat bhari narayanghat maa rokinthyo .. tyaha basera gill marry khaadai taas kheldai

  4. malai ta gill marry ko poster herera aafu jaam maa pareko din yaad aayo.. .tyati bela ktm jaada police checking ko jaam maa parinthyo ani raat bhari bus narayan ghat maa rokincha.. ani tyaha basera gill marry khaadai taas kheldai ko din kyaa majaa ko thiyo

  5. Umesh ji,
    Thanks for this story and video. It brought back sweet memory of my childhood. At that time, there was no bus service in that part of Nepal.
    -ViV, DC

  6. बस्नेत काजीले भने जस्तै छ गाँउ घरको खवर । जता हेरेपनि त्यस्तै

  7. उमेश जि, त्यो पुलिश चौकी भुत घर भएको छ भने सारा नेपालि गाउ भुत घर र भुत हरुले भरिएको हुनुपर्छ । जो अलिकति पनि गैर् माओबदि राजनीतिमा आस्था राख्यो वा जस्ले माओवादी ले त्यति बेला अङालेको आतंककारी कृयाकल्याप् स्विकर गर्न सकेन वा उनिहरुले भने जति चन्दा दिन सकेन ति सब्का घर् एस्तै भुत् बङालामा परिनत् भएका छन् । हाम्रो धर्म सास्त्र अनुसार् अकाल्मा निर्मम तरिकाले ह्त्या गरिएका र जस्को कृया पनि हुन सकेन (कृयापुतृ पनि मारिएर) भने ति भुत् हुन्छन् भन्ने छ । एस्तो भुत् बनाउन खप्पिस् साथिहरुले हालै पनि गाउ गाउम मरेका मान्छेको कृया गर्न नपाउने नियम् बनाएर फेरि धर्म सन्स्कृति को घिनौना बल्त्कार् गरेका घटना सुन्नु परेको छ । एस्तै के के देख्नु पर्ने हो हामि नेपलिले।

  8. umesh ji,

    thanks for that news.before the peace talk people didn’t want to make a building of police near their house and village also because maoists attract there and local people also victed by double armed.so now local people don’t need the police station near their village for safety of them upto dont solved the problem of maoists.

  9. it was an awesome reading. Even though I knew that i went home through the same road after this was recorded, watching the video made me homesick. For me the joy of approaching home and air that have touched my birthplace blowing my face make me feel so happy – tiredness of the long winding road just fades away. thanks for the video.
    from the otherside of the planet.

  10. Umesh Ji,

    Tyo Dimuwa ko Police post ta sachikai bhoot bangla bhayeko chha. Ani tehi police station ko najik Bhauju ko hotel ma pasera Macchha khanu parne, khanu bhayo ki bhayena?? Ekdam mitho pauchha. Ani Pokhara aauda esso bhetnu parne ni ma sanga. Aaja bholi aaunu bhayo bhane haamro Rupa taal jaane karyakram chha saturday. Sangai jaula ni. Tyaha khai ke ko mela po lagne bhaneko chha. Ani sachi tyo Baglung Bus Park ko hotel haru ta Red Light Area ho ni ta Pokhara ko. Kaha teta tira janu bhayeko tapai haru pani. Je hos if you don’t mind do mail me.

Comments are closed.