"समाचारवाचकको अगाडि बन्दूक ताकेर सेना बसे.."

[शाही ‘कू’ को सराद्धे गर्ने यो ब्लग कान्तिपुर टेलिभिजनका समाचार संयोजक दीपक भट्टराईले त्यो दिन आफूले भोगेका विषयलाई समेटेर तयार पार्नुभएको हो]

-दीपक भट्टराई/काठमाडौँ-

माघ १८ गते साँझ नै एउटा समाचार तयार पारेको थिएँ, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र उनका विश्वासपात्रहरु समेतलाई कुनै जानकारी नदिई राजाले सुरक्षा अंगका प्रमुखहरुसँग लामो छलफल गरेका छन्। दरबार निकट समाचारस्रोतको हवाला दिँदै राजाबाट सोही राति वा भोलिसम्ममा कुनै नयाँ कदम चालिन सक्नेछ भन्ने समाचार तयार पारे पनि म आफूलाई राजाले के चाँही गर्नेछन् भन्ने थाहा थिएन। थियो त सिर्फ भोलि राजाबाट केही हुँदैछ भन्ने, तर समाचार अपूरो भन्दै मेरा सम्पादकले अस्वीकार गरिदिए र त्यो सरासर जायज पनि थियो।

नभन्दै भोलिपल्ट बिहान नै रेडियो र टेलिभिजनमा राजाले १० बजे देशबासीको नाममा सम्बोधन गर्ने सूचना प्रसारित भयो। त्यसपछि घरमा बस्न मन लागेन। सम्बोधन १० बजे भए पनि ८ बजे नै कार्यालयतिर हुत्तिएँ। राजाको भाषण के आउला भनेर साथीभाइबीच चर्चा चल्दै थियो, तत्कालीन शाही नेपाली सेनाको सेनानी (मेजर) को नेतृत्वमा केही सुरक्षाकर्मी कार्यालयमा छिरे।

अनौठो खासै लागेन राजाको भाषण कठोर रहेछ भन्ने अनुमानमात्र भयो। राजाको भाषण सुरु हुनुअगावै उनीहरुले समाचार प्रसारण गर्ने स्टुडियो हेरे। समाचार सम्पादन गर्ने र पत्रकारहरुले लेख्ने,बस्ने ठाउँ हेरे। म चाँही राजाको भाषण सुरु हुन थालेपछि रेडियो भएको गाडी चढेर एमाले महासचिव माधवकुमार नेपालको घरतर्फ लागेँ। सत्ता साझेदार एक प्रमुख दलको प्रतिक्रिया लिउँ न त भनेर। तर, उनको घर वरिपरि त असाध्यै धेरै सुरक्षाकर्मी परिचालित थिए। मैले भाषण नसकिँदा सम्म उनको घर नजिक नजाने निधो गरेँ र करिब सय मिटर पर पुगेर रेडियो सुनिरहेँ। रेडियोले जसै सम्बोधन प्रसारण सक्यो, तब मोबाइलबाट एमाले महासचिवलाई फोन गर्छु भन्दा त मोबाइलको टावर पूरै काटिसकिएको रहेछ। त्यसपछि गाडी रोकेको स्थानमा भएको ल्यान्डलाइन फोनबाट फोन गर्ने प्रयास गर्छु भन्दा त, फोन डेड।

अब भएन, घरमै जान्छु भन्दै गाडी लिएर पुगेँ घरबाहिर। माधव नेपाल पनि हातमा मोबाइल हेर्दै घरको बार्दली (कौसी) मा निस्कनुभएको रहेछ। मैले क्यामेरामेनलाई क्यामेरा उतातिर सोझ्याउन भन्दै टाढैबाट महासचिव ज्यू तल ओर्लनुस् हामी केही प्रतिक्रिया लिन चाहन्छौं भनेँ। तर उहाँसँगै रहेका सशस्त्र प्रहरीका बिना वर्दीका डिएसपीले माधव नेपाललाई तल झर्न दिएनन्। मैले त्यहीँबाट केही बोल्दिनोस्,मेरो क्यामेराले टिप्छ भन्दै सम्बोधनप्रतिको प्रतिक्रिया माग गरेँ।

माधव नेपालले यो अप्रजातान्त्रिक कदम भो मात्र के भन्न भ्याएका थिए, उनलाई ती डिएसपीले धकेल्दै कोठाभित्र छिराएर छोडे र मलाई पनि तुरुन्त सो स्थान छोड्न आदेश दिए। पत्रकारको नाममा मेरा क्यामेरामेन र म मात्र थियौं त्यहाँ।

सुरक्षाकर्मीले घोक्र्याएर भन्न पनि मिल्ने गरी माधव नेपाललाई घरभित्र हुलेको र सानो भए पनि उनको प्रतिक्रियाको दृश्य रहेकाले राम्रो समाचार पाएको अड्कल गर्दै
म कार्यालय आइपुगेँ। काठमाडौंमा फोन, इन्टरनेट मात्र होइन माघको जाडो पनि सकिएको थिएन। साथीभाइ कार्यालय बाहिरै रहेछन्।

आफूसँग मात्र भएको माधव नेपालको प्रतिक्रिया र दृश्यको बारेमा चर्चा गरेपछि अन्य सहकर्मी पनि उत्साहित भए। समाचार लेखेँ र सोही अनुसार दृश्य पनि मिलाएँ। तर १२ बजे त समाचार जाला भनेको त समाचारको ‘स’ पनि आएन। अघि नै आएका मेजरले टिभीमा समाचार दिन मिल्ने-नमिल्ने विषयमा आफूले बुझ्न पर्ने बताएछन् र समाचारको साटो त्यही बिहान रेकर्ड गरिएको राजा ज्ञानेन्द्रको सम्बोधन प्रसारण गरियो।

दिउँसो चार बजे समाचार त जाने भएछ तर समाचारको धुन सकिएपछि समाचारवाचकले राजाले सम्बोधन गरेको विषयमा मात्र समाचार हाल्न पाइने भएछ। त्यतिबेला एक सैनिकले समाचारवाचकले समाचारवाचन गरिरहँदा स्टुडियोभित्रै बन्दुक समातेर बसेका थिए। मलाई पछिसम्म पनि त्यो दिनको फोटो राख्न पाएको भए कस्तो हुन्थ्यो होला जस्तो लाग्छ, तर त्यतिबेला फोटो खिच्ने सुद्दि नै आएन।

जब हरेक समाचार सेनाको मेजरले पास गरेपछि मात्र प्रसारण हुने भयो, मैले तयार पारेको सामाग्री साँझको समाचारमा जाला भन्ने मेरो आशा बिस्तारै हराउँदै गयो।

एउटा विदेशी समाचारमा इन्डोनेसियाको सेनाको दृश्य रहेछ सायद आचे विद्रोही सम्बन्धी थियो क्यारे। मेजरले स्क्रिप्ट मात्र हेरेर पास गरेछन् तर पछि समाचारमा भिजुअलसहित जाँदा विदेशी सेना कै भए पनि किन दृश्य देखाएको भनेर उनलाई कताबाट फोन आएर हो कि पछि त्यो समाचार पनि रोक्नुपर्‍यो। हामी राजाको सम्बोधनको समाचार भन्दा केही प्रसारण गर्ने अवस्थामा थिएनौं।

अरु समाचार जेसुकै भए पनि कान्तिपुर टेलिभिजनले स्थापना कालदेखि नै प्रसारण गर्ने जनमतको प्रश्न राजाको सम्बोधन तपाईँलाई कस्तो लाग्यो भनेर सोध्ने निर्णय भएको थियो।

भोलिपल्ट कान्तिपुरले चारुमति नाच र काठमाडौं पोस्टले मौसम जस्ता विषयमा सम्पादकीय लेखेपछि हामीले पनि तपाईँ कुन फलफूल खानुहुन्छ भन्ने प्रकारको जनमत लियौं। तर, पहिलो दिनको जनमत समयानुकूल बनाउने क्रममा एउटा भूल भयो जस्तो लाग्छ मलाई। त्यो प्रश्नको नकारात्मक जवाफ हामी प्रसारण गर्नसक्ने अवस्थामा थिएनौं। र पनि प्रश्न त्यही सोधिएको थियो, राजाको सम्बोधन तपाईँलाई कस्तो लाग्यो –
जम्माजम्मी १८ जनालाई पुतलीसडक र बागबजार वरिपरि प्रश्न गरिएको थियो। तर अचम्म एक जनाले ठिकै हो, खास राम्रो छैन भन्ने बाहेक सबैले राम्रो छ, दलहरुले देश बिगारेका थिए, शान्ति ल्याए राम्रै हुन्छ, शान्तिको लागि गर्नु नै पर्ने थियो भन्ने किसिमको प्रतिक्रिया दिएका थिए। हामीले एक जनाको मात्र आएको हल्का नकारात्मक जवाफलाई पनि नराखेर सबै राम्रो छ सम्बोधन भन्ने किसिमको उत्तर मात्र राख्यौं र त्यो प्रसारण पनि भयो।

अरु समाचार जे सुकै भए पनि त्यो दिनको जनमत हेर्दा धेरैलाई पक्कै पनि मानिसहरुले हामीलाई गाली गरे होलान् भन्ने लाग्छ, नभए कसरी राजाको सम्बोधन सकारात्मक थियो भन्ने मात्र जवाफ आउँथ्यो भन्ने धेरैलाई पक्का पनि पर्‍यो होला तर वास्तविकता त्यही थियो, जनमतमा राखिने ८ जनाको विचारका लागि हामीले सोधेका १८ जना मध्ये १७ जनाले राजको सम्बोधनको पक्षमै मत जाहेर गरेका थिए।

त्यो दिन मैले खोतलखातल पारेर तयार पारेको माधव नेपालसहित अरु कुनै पनि समाचार टेलिभिजनमा प्रसारण भएन तर पनि दिक्क लागेन (आफूले तयार पारेको समाचार प्रकाशन, प्रसारण नहुँदा पत्रकार दिक्क हुनु स्वभाविक कुरा हो) बेलुका बीबीसी रेडियोमा समाचार सुन्दा माधव नेपालले मलाई मात्र दिएको प्रतिक्रिया कनकमणि दीक्षितले भन्दै थिए। फोन, मोबाइल, इन्टरनेट सबै सञ्चारका साधन बन्द भएपछि माघ १९ गते दिउँसो केही नयाँ कुरा थाहा पाइहालिन्छ कि भन्ने आशामा दीक्षित कान्तिपुर परिसर आएका थिए (त्यतिखेर कुनै समाचार दिनुपर्‍यो भने हिडेरै गएर सम्बन्धित व्यक्तिलाई भेट्ने वा अरु कसैलाई हिँडाएरै उक्त समाचार पठाउने भन्दा अरु उपाय थिएन)।

तपाइँ पनि त्यो दिनको अनुभव सुनाउनुस्।

9 Comments

  1. सबैले राजा को सन्देश भन्नु पर्नेछ येदि शाही सन्देश भनेर शाही शब्दको उल्लास गरेमा राम्रो हुने छैन शाही शब्द नेपालको कुनै जाति बिशेषको थर हो नकि राज दरबार सग सम्बन्धि शब्द होइन,

  2. पहिलो कुरा! नेपाल मा जारी आन्दोलन जस्लाई हामी (साम्प्रदायीक सद्वभाब बिठोलने आपराधिक तत्वको कुनियत) भन्न रुचाउछौ/
    जस्ले जस्तो सुकै बहाना बनावश यसमा आपराधिक तत्व को गन्ध छनै, त्यस्लाई ढाकछोप गरेर आफ्नो राजनितिक स्वार्थलादन कम्मर कसेर लागेका छन/अरे छोद यस्ता मोर्चा फोरम जनजातिका नाममा तिमिहरु , गरिब जनतालाई भिडन्त मा उतारेर आफु सच्चा राजनेता हो भनेर फुर्तीनगर जस्तो सुकै क्रान्तिकारी नाम राखेर आयपनी तिमिहरुले पनी यहा केही गर्न सक्दैनौ फगत निर्दोश जनताको बलिचढ्ने बाहेक, यहा योकुरा बुझकी तिमिहरु कुनै पनि जात जाती पिछडीयका छैनौ याहा त नेपाल भन्ने देश पिछडिएका छन, कारण त्यही जात जाती को बिभेद बिरोधासभास कुरा उठाएर फगत भिडन्त बाहेक केहीपनी गर्न जानेका छैनौ / तेहि भएर पिछडीएका छौ / यदि कसैले शोसन गरेर पिछडिएको महशुस गर्छौ भने तिमी हरुपनि शोसक बन्ने रहर छोड..आफु हेप्पियको महशुस गर्छौ भने अरुलाई पनि हेप्न बन्द गर , आफु यो बा त्यो जाति भएर घ्रिणा गरेको भन्ने भान परेको छभने अरु जात जातिलाई पनि घ्रिणा गर्न छोड, यदि आफ्नो जात जातिको सम्मान र मान मर्यादा चाहन्छौ भने अरु जात जातिको पनि सम्मान, मान मर्यादा गर्ने गर र गर्न सिक, / योकुराको खयाल गरकि एक घमण्डी लाई अर्को घमण्डी ले परास्त गर्छ र अर्को घमण्डीलाई फेरी अर्को घमण्डीले /
    अहिले जस्ले जस्तो सुकै नारा दिएर अगाडि जाने प्रयास गर तर फल प्राप्त गर्न सक्दैन ..जबसम्म आफ्नो बर्चस्शो छभनेर आफ्नो ठौउबाट अरुलाई खेदन खोज्छ / अथवा अफ्नो जातियता बचाउन अरुको अस्तित्व मेटाउन खोजछन भने सोच शोयम आफुपनी मेटिन्छ सबैलाई बेलैमा चेतना भया/

  3. साथीहरुले बिचार गर्नुभएको भए, माथीको भीडीयोमा “अति तेजस्वि”, “प्रकाशमय” वा अझ “प्रकाशको पुंज” श्रीपेचलाई देखाईएको रहेछ। श्रीपेच भन्दा पर सबै अन्धकारमय रहेछ। तर बास्तविकता त्यस्को ठ्याक्क उल्टो हो जस्तो लाग्छ मलाई त, श्रीपेच कालो र अन्त सबै उज्यालो।
    अब श्रेपेचको त्यो चमर झीकेर पोडेलाई बुझाईदिए हुन्छ, कम-से-कम नगर सफा गर्ने काममा त उपयोग गर्न सकिएला।

  4. के को शराद्दे हुनु, हाम्रा मधेशी दाजुभाइहरुले राजालाई फेरी “राष्ट्रिय अखान्डतामा असर परेको” भनेर शासन हातमा लिने पृस्ठभुमी तयार पारीदिदै छन । छुट्टै तराई राज्यको माग हुनु ठट्टा होइन।

  5. Deepak jee,
    Can you disclose the video you had taken when Comarade Madhave Nepal was speaking from his house with you?
    Ramesh Khanal

  6. madhesi le dhamadham pahadi mareka chhan k herera basne ho aba pani netaharule yi sabai yi bahul badi harule garda ho

  7. प्राय “Coup” कठोर नै हुन्छ| सन्सारका धेरै मुलुकको इतिहासमा “कू” असाध्य निन्दनीय र घृणित हुन्छ|आफुलाइ प्रजातन्त्रको सँरक्षक भन्दै आएका ज्ञानेन्द्रले तत्कालिन नेताहरुलाइ निकम्मा बनाए तर महेन्द्रले नेताहरुलाइ गरे जस्तो कठोर जेलनेलको यातना पक्कै पनि दिएनन्|शायद २१ सौ शताब्दीमा ज्ञानेन्द्रको बुझाईमा डेमोक्र्यासी त्यहि नै थियो|

    हत्या,हिँसा,बन्द,भष्टाचार,धम्कि, आतङ्क साथै गाँउ,शहर र बिच बजारको बम बिस्फोटनले आजित सर्वसाधरणको त्यसबेला गाँउमा राजाको भ्रमण होस या शहरमा “कू” को सम्बोधनमा जनताले दिएको अभिब्यक्ति समय सापेक्ष नै थियो होला|

    अनि नेपालीहरुमा अलिक बढि नै शक्तिको भक्ति गर्ने प्रबृति छ|हिजो राजा बलियो उसैको कदम ठिक, आज प्रचण्ड बलियो त उ अझ ठिक, भोली गोईत या ज्वाला झन बढि ठिक|त्यसकारण त्यसबेला १८ जनामा १७ ले राजाको कदम ठिक मानेकोमा, यो नेपालीपन पनि एकदम ठिक!

  8. माघ १९ को कदम कुनै पनि हिसाब ले ठीक थिएन तर परिस्थिती ले त्यस् लाई ठीक भन्नु पर्ने स्थिती थियो । कान्तिपुर टेलिविसोन्को जनमत सर्वेक्षण ले पनि त्यही कुरा देखाएको हो । यस्को लागि नेता हरु नै जिम्मेवार छन ।

Comments are closed.