विद्रोह र सम्पत्ति

-दीपक भट्टराई-
“तपाईँ ठीक दुई बजे कालिमाटी चोकको महेन्द्र शालिकनिर उभिनुहोला, त्यहाँबाट तपाईँलाई हाम्रा एक साथीले टिप्नेछन्, कसैलाई पनि खबर नगरी आउनुहोला।” तोडफोडपछि कपडाले छोपेर राखिएको महेन्द्र शालिकनिर साउने शनिबारको मध्य घाममा उभिएर प्रत्येक मानिसको अनुहार चिहाइरहन असजिलो लागेको भए पनि समाचारका खातिर, घरीघरी मोबाइलमा समय हेर्दै उभिइरहेको थिएँ। माओवादीले भूमिगत राजनीति छोडेपछि एक डेढ वर्षभन्दा यता यसरी समाचार स्रोतका लागि को आएर कता लाने हुन् भन्दै पर्खनु नपरेको कुरा मनमा आइरहेको थियो।

रेडियो नेपालको स्टुडियो घडीभन्दा एक मिनेट छिटो गरी समय मिलाइएको नोकियाको सेटमा दुई बजेर १७ मिनेट जाँदा मेरै नाम मलाई नै सोध्दै एक युवक आइपुगे र जोडले हात मिलाए। अरु दुई जनालाई पनि शालिक मै बोलाएका रहेछन्। उनीहरु आएपछि शालिक भन्दा करिब तीन सय मिटर परको टहरोमा लिएर गए। घरमा बोर्ड केही थिएन, साना नानीहरुको एकै रंगको फ्रक घाममा सुकाइरहेकाले यसो हेर्दा विद्यार्थीहरु विदामा बसेको स्कूलको होस्टेल जस्तो अथवा ड्राइक्लिनर्स गर्ने ठाउँ जस्तो लाग्थ्यो। टहरासँगैको पुरानो पक्की घरको छिँडीको कोठामा कम्युनिस्ट पार्टीको झण्डा भित्तामा राखिएको थियो र सात वटा बेन्च थियो। झण्डामुनि एउटा टेबल थियो र त्यस्को पछाडि एउटा कुर्सी।

पत्रकार सम्मेलनका लागि छुट्टयाइएको कोठाभित्र पस्नासाथ एक मधेसी मूलकी युवतीले हात अगाडि बढाएर स्वागत गरेकी थिइन्। एकैछिनमा माओवादीबाट विद्रोह गरेकाहरुले त्यस विषयमा जानकारी दिन भूमिगत पत्रकार सम्मेलन आयोजना गरिएको विद्रोहीका उपत्यका व्युरो इन्चार्ज जनकलाल थापाले बताए। मलाई उनैले फोन गरेका रहेछन्। ८ जना पत्रकार माझ त्यतिकै संख्यामा कार्यकर्ता राखेका नेकपा माओवादी विद्रोही मोर्चाका अध्यक्ष गणेश थारु रोशनले पार्टी क्रान्तिकारी नेतृत्वले क्रान्तिकारी लाइन छोडेकाले आफूहरुले विद्रोह गरेको जानकारी दिए।

पार्टी अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराई सुविधाभोगी भएको, जनसेनालाई मासिक तीन तीन हजार रुपैयाँमा बेचेको र हिजो जनतालाई देखाइएको कुनै पनि आशा पूरा नभएकाले पार्टीभित्रै विद्रोही मोर्चा गठन गरिएको थारुले बताए। कुनै पनि बेला एक हजार भन्दा धेरै जनसेना हतियार सहित छापामार शिविरबाट बाहिर निकाल्न सक्ने दावी गर्दै रोशनले रायमाझी आयोगका दोषीलाई सरकारले कारवाही नगरे आफूहरुले नै भदौ १५ गते पछि कारवाही गर्ने चेतावनी दिए। माओवादी नेताहरुले अन्तराष्ट्रिय शक्तिहरु भारत, बेलायत, अमेरिका मात्र होइन दरबारिया देखि सबैलाई खुशी पार्ने पक्षमा गएको आरोप पनि लगाए।

तीन चार स्थानमा पाले पहरा दिएर गरिएको पत्रकार सम्मेलनमा बोल्ने विद्रोही माओवादीले अरु भन्दा पनि नेताहरुको आम्दानी, सम्पत्ति र बदलिँदो रहनसहन प्रति धेरै टिप्पणी गरेका थिए।
गत वर्ष काठमाडौंको शहीदमञ्चमा माओवादीले अध्यक्ष प्रचण्ड सहित पहिलोपटक गरेको खुला आमसभामा माओवादीका शीर्षस्थ नेताहरुले आफूस“ग व्यक्तिगत सम्पत्ति नभएको बताएका थिए। तर, उनका विद्रोही कार्यकर्ताले नेताहरुको सम्पत्तिको कुरा गरेका केही दिनमा नै माओवादी अध्यक्ष प्रचण्ड आफैंले पत्रकार सम्मेलन गरी सबै केन्द्रिय सदस्यको सम्पत्ति सार्वजनिक गरे। माओवादीका अनुसार ३५ केन्द्रीय सदस्यहरुको कूल सम्पत्ति साढे तीन करोड रुपैंया बराबरको छ।

माओवादी केन्द्रीय सदस्यमा राम कार्की ३८ लाख २० हजार रुपैया बराबरको सम्पत्ति सहित सबैभन्दा धनी देखिएका छन् भने डेपुटी कमाण्डर वर्षामान पुनः अनन्त र केन्द्रीय सदस्य लेखराज भट्टको सम्पत्ति पनि २५ लाख रुपैया भन्दा बढी रहेको छ।

पार्टी कार्यालयले ३५ जना नेताको सम्पत्ति विवरण सार्वजनिक गरेकोमा सबैभन्दा कम सम्पत्ति नेता लोकेन्द्र विष्ट मगरको छ, उनको सम्पत्तिको नाममा तीन हजार रुपैयाँ मात्र भएको उल्लेख छ। यसैगरी गोपाल किराँतिले आफूले प्रयोग गर्ने मोबाइल सहितको जम्मा सम्पत्ति करिब १२ हजार रुपैयाँ उल्लेख गरेका छन्। यो त पार्टी नेताहरुको सम्पत्ति, अब काम्रेडहरुले पार्टी सम्पत्ति पनि सार्वजनिक गर्ने कि ?

[दीपक केटिभीसित आवद्ध सञ्चारकर्मी हुन्]

7 Comments

  1. दीपक जी
    कुरा ठिकै उठाउनुभयो तर रोशन वा उपेन्द्र यादवको कुरा गर्दा उनीहरु कुन गिरोहद्वारा सञ्चालित छन्, बुुझ्न आवश्यक छ । व्रि्रोह गर्नु अधिकार हो, रोशन पनि पार्टर्ीीट व्रि्रोह गरे, त्यसमा कुनै विरोध छैन तर मुलुक नयाँढंगबाट अघि बढिरहेको बेला आम नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्ने बेलामा उनीहरु माओवादीबाट भागेको घटनालाई अलि गम्भीरढंगले विश्लेषण गर्न जरुरी छ । जतिबेला मधेशदेखि हिमालसम्म माओवादीको विरोधमा प्रतिव्रि्रोहको जन्म दिने प्रयास दरवार र अमेरिकाले गरिरहेको छ, यो बेलामा माओवादीबाटै व्रि्रोह गरेको भन्दै भाग्नुलाई व्रि्रोह मात्र भन्न सकिन्न । त्यो गम्भीर प्रकृतिको षड्यन्त्रसहितको प्रतिव्रि्रोह हो ।
    अनि अर्को कुरा दीपकजी लगायत पत्रकार मित्रहरु, जसले ती प्रतिव्रि्रोहीको बारेमा जानकारी लिनुहुन्छ उहाँहरुलाई के आग्रह छ भने यतिबेला नेकपा माओवादी दश वर्षछि शान्तिपर्ूण्ा राजनीतिक प्रतिष्पर्धामा आउँदैछ । हिजो उ युद्धमा छँदा पत्रकारहरुका कलमहरुले शान्तिमा आउन आग्रह गरे, अब शान्तिमा आइसकेपछि उबाट भागेर कोही पुनः युद्धमा जान चाहन्छ भने उसलाई हाइलाइट गर्दा फेरि तपाइहरुले हिजो गरेको कामना निर्रथक हुने त होइन – एकचोटी सोच्न जरुरी छ । युद्धमा छँदा शान्तिमा आउन आव्हान गर्नु अनि शान्तिमा आउँदा बाटो त युद्धकै ठीक रहेछ र माओवादी नेतृत्वको शान्तिपर्ूण्ा बाटो बेठिक भएर व्रि्रोह भइरहेको छ भनेर देखाउँदा कस्तो असर पर्ला – त्यो छुट्टयाउने जिम्मा त तपाइ आदरणीय पत्रकार मित्रहरुको नै हो । र्
    दर्शन शर्मा
    थवाङ, रोल्पा

  2. हात्ती आए जस्तो लागेर आँखा तन्काउँदै थिएँ फुस्स पो भएँ, क्या बोर लाग्यो…..|

  3. Well-done guys!!! If the government does not take action against these guilty members of second Janandolan then you take action against them the entire Nepalese will support you.

  4. Mero pani sampati sarbajanik garneki,
    Mero sampati bhaneko -one T-shirt, one custom ,one pant, only. All my weath gave already to my home party, Hey…Ha, Ha, ha…

Comments are closed.