तलेजु मन्दिर: साँच्चिकै रमाइलो ठाउँ

यसपालिको दशैँमा केही पनि सोचे अनुसार भइरहेको छैन। संविधान सभा स्थगित भए जस्तै पूर्व निर्धारित सोचाइहरु स्थगित भइरहेका छन्। धमाधम विदाका दिनहरु यत्तिकै खेर गइरहेका छन्। मासु खाने, मदिरा सेवन गर्ने र तास खेल्नेहरुकै लागि मात्र दशैँ रमाइलो हुने जस्तो देखिन्छ। आफूलाई यस्तो केही मननपर्ने। केही पढौँ भन्छु त्यो पनि मन लागिरहेको छैन अनि अस्वस्थ महसूस गरिरहेको छु। आज महानवमि। यही दिन गत वर्ष के गरिरहेको रहेछु भनेर ब्लगका पुराना पाना पल्टाउँदा यो रमाइलो ब्लग देखेँ। त्यही फेरि बाँड्दैछु। तपाईँहरुको दशैँ कसरी बित्दैछ, त्यो पनि बाँड्नु होला है।
*******
आज महानवमी। काठमाडौं दरबार क्षेत्रमा रहेको तलेजु मन्दिर आज एक दिनका लागि मात्र खुल्ने गर्छ। सानैमा एक चोटी त्यहाँ गएको थिएँ। तर त्यतिबेलाको कुरा बिर्सिसकेको थिएँ। बीचका कयौं वर्षहरुमा कहिले पनि त्यहाँ जाने मौका मिलेन। जाउँ न त भनेर पुग्दा पनि बाहिरको लामो लाइनबाट नै तर्सन्थ्यौं। आज भने त्यहाँ गइयो र त्यो अदभूत मन्दिरको संरचना र त्यहाँबाट देखिने दृश्यहरुलाई मनभरी संगालेर फर्किएँ। साँच्चिकै निकै नै रमाइलो र एकचोटी मात्र हैन, बारम्बार पुग्नै पर्ने ठाउँ रहेछ त्यो।

भिडियो हेर्नका लागि तलको प्लेयरको प्ले बटनमा क्लिक गर्नुस्। यदि तपाईँको कनेक्सन स्लो छ भने पहिले बायाँ छेउको पज बटन थिची केही बेर पर्खनुस् र रातो धर्का पर पुगिसकेपछि फेरि सोही बटन थिची हेर्नुस्।

तलेजु भवानीको मन्दिरमा जाने नै भन्ने निश्चित त थिएन, तर बिहान ५ बजे उठेर एक जना साथीसित हनुमानढोकातर्फ लागेको थिएँ। मन्दिर राति अबेरदेखि नै खुल्ने रहेछ। हामी त्यहाँ पुग्दा पनि लाइन लामो भइसकेको रहेछ। हनुमानढोकाको भैरवको मूर्ति भएको ठाउँनजिकैसम्म पुगेको लाइनमा हामी सामेल भयौं। सोचेका थियौं- २/३ घण्टा पो लाग्ने हो कि। तर पनि किन हो किन यस पटक मलाई लाइन बसेर पनि त्यहाँ जान मन लागेको थियो। तर सोचे जस्तो भएन। लाइन छिटो-छिटो नै सर्‍यो। स्थानीय क्लबहरुले निकै राम्रो व्यवस्थापन गरेका रहेछन्।

एक पटक लाइन सर्दा हनुमानढोकाको गेटसम्म पुगियो। दोस्रो पटक लाइन सर्दा बीच भागमा पुगियो। तेस्रो पटकमा मन्दिरको प्रवेश द्वार नजिकै पुगियो। चौथो पटकमा भित्र नै छिरियो। मेरो दाउ त भित्रबाट पनि दृश्यहरु खिचेर तपाईँहरुलाई देखाउने थियो। ब्यागमा क्यामेरा पनि बोकेको थिएँ। तर प्रवेश द्वारमा ‘क्यामेरा भएको मोबाइल हुनेहरुले अफ गरेर मात्र जानुस् है’ भनेर भनेपछि मैले सोचेँ- मोबाइल त निषेध भएको ठाउँमा अरु क्यामेराको प्रयोग के गर्न दिइन्थ्यो र। चोरेर खिचेको भए त खिचिन्थ्यो होला, तर नहुने काम किन गर्नु भनेर गरिनँ।

प्रवेश द्वारबाट पस्ने बित्तिकै एउटा अर्कै संसारमा पुगे जस्तो लाग्यो। त्यहाँको चोक गजबको रहेछ। एक जमानामा मल्ल राजाहरुको निजी प्रार्थना गर्ने स्थलका रुपमा रहेको यो मन्दिरको उचाइ १२० फिटभन्दा बढी रहेको छ। तीन तल्ले छाना रहे पनि मन्दिरको संरचना भने गजबको रहेको छ।

राजा महिन्द्र मल्ल तलेजु भवानीका निकै भक्त थिए। भक्तपुरमा बसिरहेका बेला उनले उनको प्रार्थनाबाट प्रसन्न भएका देवीले काठमाडौंमा पनि मन्दिर बनाइदिन अनुरोध गरेछन्। श्रीयन्त्रको आधारमा यो मन्दिरको निर्माण भएको छ। कथन छ, तलेजु भवानी आफैले एउटा माहुरीको रुप लिएर कसरी मन्दिर बनाउने भनेर निर्देशन दिएका थिए। त्यसपछि सोही रुपमा मन्दिर पनि प्रवेश गरेका थिए।

तलेजु एक तान्त्रिक देवी हुन्। हिन्दू र बौध्द दुवै धर्मकाहरुले यसलाई मान्छन्। विश्वकै एकमात्र जीवित देवीका रुपमा लिइने कुमारीलाई पनि तलेजु भवानीको मानव अवतारका रुपमा लिइन्छ। तपाईँहरुलाई थाहै होला, बौध्द धर्म मान्ने शाक्य जातकी कन्यालाई कुमारी बनाउने गरिन्छ।

तलेजु भवानीले दिएको श्राप कै कारण जयप्रकाश मल्ल पराजित भएर काठमाडौंमा मल्ल वंशको पतन भएको कथन छ। सन् १७६९ मा शाहवंशका पृथ्वीनारायण शाहले आक्रमण गरी काठमाडौं जितेपछि उनी पनि त्यही दरबारमा बस्न थालेका थिए। सन् १८९६ मा बल्ल शाहवंशका राजाहरुको निवास नारायणहिटी दरबारमा सरेको थियो।

चोकबाट फेरि लाइन बस्नुपर्ने रहेछ माथि मन्दिरसम्म जानका लागि। निकै कलात्मक थियो मन्दिर। ठाउँ-ठाउँमा मूर्तिहरु रहेछन्। कतिपय मूर्तिमा भने वर्षाको पानीका कारण लेउ जमिसकेको रहेछ।

निकै उचाइमा रहेको मन्दिरको मूर्ति रहेको स्थानमा एक छिन मात्र उभिन दिइयो। त्यहाँबाट मन्दिर परिक्रमा गरेँ। त्यहाँबाट हनुमानढोका दरबार परिसर र काठमाडौंका अन्य दृश्यहरु निकै राम्रो देखिने रहेछ। मन्दिर पनि जति हेर्‍यो- हेरुँ-हेरुँ लाग्ने रहेछ। भीड हुन्छ भनेर त्यहाँ धेरै बेर बस्न दिइएको थिएन। तर म भने फर्की-फर्की मन्दिरलाई नै नियालिरहेको थिएँ।

मन्दिरमा चढ्ने र अ‍ोर्लने सिढी भने निकै ठाडो भएकोले ध्यान दिएर चढ्ने र अ‍ोर्लने गर्नुपर्ने रहेछ। मन्दिरबाट तल झरेर हनुमानढोका दरबारको नासल चोक हुँदै फर्कनु पर्ने रहेछ। त्यहाँ गुह्येश्वरीको पनि निर्माण गरिएको रहेछ।

फर्कने क्रममा एउटा चोक हुँदै फर्कनु पर्ने रहेछ। त्यो चोक रगतै रगतले भरिएको थियो। गएराति ५४ वटा राँगा र ५४ वटा बोका यही ठाउँमा काटिएका रहेछन्। ज्यादै डरलाग्दो र तन्त्रमन्त्रले भरिएको रहस्यमय ठाउँ जस्तो लाग्थ्यो त्यहाँ। एउटा मन्दिर जस्तो ठाउँमा काटिएका ५४ वटा राँगाका टाउकाहरु चढाइएका थिए।

त्यो चोकबाट निस्किएपछि नासलचोक पुगिने रहेछ। त्यहीँ हुने रहेछ दरबारका महत्त्वपूर्ण परम्परागत कार्यहरु। वीरेन्द्र र अहिलेका राजाको गद्दी आरोहण पनि यही स्थानमा भएको थियो, जहाँ नेताहरुले उनलाई दाम राखेर ढोगेका थिए।

एक घण्टामा नै हामी लाइन बसेर, मन्दिरभित्र पुगी फर्किसकेका थियौं। सँगै लाइन बस्ने बूढापाकाहरु भन्दै थिए-यसपालि भीड छैन नि त्यति, सबै दशैं मनाउन घरतिर लागेकोले होला। नभए त यो ठाउँमा तीन चार पटक घुमेका लाइन हुन्थे, हल्ला हुन्थ्यो। हुन पनि यो पालि हामी सजिलै दर्शन गरेर फर्केका थियौं।

चोकमा देखिने कलात्मक मन्दिर, संरचना र मूर्तिहरु देखेर एक वृध्दा भन्दै थिइन्- “पहिलेका राजाहरु कति असल थिए। कस्ता-कस्ता कुरा बनाउन लगाएका थिए। अहिलेका राजाहरु भने बनाउन त परै जाअ‍ोस्, भत्काउने र चोर्ने काम मात्रै गर्छन्।”

4 Comments

  1. पोहोर सालको दशैं तलेजू भवानीको मन्दिरमा जाँदा मंदिरभित्र क्यामेरा लान निषेध गरिएकोले भिडियो खिच्नु भएनछ, जून विचार अतिनै सम्माननीय छ . तर यस सालको दशैंमा भने मैतिदेवी मंदिरमा क्यामेरा निषेध हुदाहुदै पनी खिच्नु भएछ. ‘मन्दिर भित्र क्यामेरा, दुरविन आदी निषेध छ’ भनी लेखिएको साइन बोर्ड लाई झन ‘zoom’ गरेर खिच्नु भएको छ ( ब्लग: हिंसात्मक दशैं, अक्टूबर १९, २००७) – लाग्दछ ति शब्दहरुले आफैलाई जिस्काउदैछन – वीर हस्पिटल अगाडी टाँसिएको ‘नो हार्न’ को बोर्डको शब्दहरुले जस्तै.

    मन्दिर भित्र गएर देवदेवीको मुर्तिको भिडियो खिच्नु राम्रो हो कि नराम्रो त्यो म एकिनका साथ भन्न सक्दिन. तर तपाँइको मनले पोहोर साल गलत ठहराएको काम यो साल गर्नु भएछ. तेसैमा अलिकती दुख लागेर केही शब्द लेखेको मात्र हूँ. अन्यथा नलिनु होला.

    [साथी Rijanbabu, तपाईँ नेपाल छाडेर अम्रिका पस्नु भा’को धेरै भयो जस्तो छ। नत्र त्यो पहेँलो साइनबोर्ड मैतिदेवी मन्दिरको हैन, गुह्येश्वरी मन्दिरबाहिरको हो भनी थाहा पाउनु पर्ने हो। नभए त्यहाँ मुनि PADT अर्थात् पशुपति क्षेत्र विकास कोष लेखेको हेरेरै पनि बुझ्नु पर्ने हो। अनि त्यो भिडियो पनि पोहोर सालकै हो, यो वर्षको थिएन। भिडियो छोटो बनाउने क्रममा गुह्येश्वरी मन्दिर भनेर क्याप्सन चैँ छुटेछ कि के हो- मेरो संसार ]

  2. पानी खोज्दा बियर भेटियोस, धारा खोल्दा वाइन बगोस, नुहाउन खोज्दा व्हिश्की आओस, मेरिज खेल्दा माल र अल्टर आओस, मासु खादा ह्याकुला भेटियोस। कपाल बाहेक जीवनका इच्छा फलोस फुलोस। बडा दशै को हार्दिक मंगलमय शुभकामना छ ।
    aashish

  3. What is the use of such ignorant offerings???it will just drag these rascals to the Hell for eternal sufferings.

    Dear Devi,please take all these rascals who kill innocent and poor animals for their tongue’s urge in the name Bali!!! so that they will suffering same way like these poor animals.

Comments are closed.