कहिले सम्झेर रोएँ, कहिले भुलेर रोएँ

आज पुस २२ गते। बा बित्‍नुभएको पनि २२ दिन भइसकेछ। पुस १ गतेका दिन थियो त्यो। यी दिनमा कहिले सम्झेर रोएँ, कहिले भुलेर, भुल्ने प्रयास गरेर रोएँ। सुरुका दिनका पीडा बेग्लै हुन्थ्यो, ती दिनमा त्यो बाहेक अरु कुरा दिमागमा हुँदैन थियो। अहिले भने अरु कुरामा व्यस्त हुँदा भुलिन्छ। जब बर्खी बार्न आफूले लगाएको सेतो लुगामा ध्यान जान्छ तब झसंग हुन्छु। बा बस्नुहुने ठाउँ र सुत्‍नु हुने कोठा देख्‍दा निको नभएको घाउमा भएको जस्तो पीडा हुन्छ। यी दिनमा ब्लग लेख्‍न पनि मन लागेको छैन, कमेन्ट हेर्न पनि भ्याएको छैन। साथीहरुले सहयोग गरिरहेका छन्। १३ दिनको किरिया बस्ने क्रममा एक छाक खाँदा, नून नखाँदा र भूँइमा सुत्‍दा बरु बिरामी भइनँ, तर पछि केही दिन चीसोका कारण रुघाज्वरोले आक्रान्त पार्‍यो। १३ दिनको किरिया बस्दा केही आध्यात्मिक पुस्तक पढियो। त्योभन्दा बढी चाहिँ सबैले ‘के भएको ?’ भनेर औपचारिकतावश सोध्‍ने अनि यसो भएको भनी रिवाइन्ड गरी प्ले गरे जस्तै गरी उही कुरा बेलिविस्तार लगाउने सुन्दासुन्दा वाक्क भएँ। ध्यानमा बसौँ भन्दा पनि बस्न सकिएन। त्यसो त अहिले पनि बाटोमा सेताम्मे लुगा लगाएको देखेपछि बाबुको कि आमाको भनेर सोध्‍नेहरु देखेर दिक्क लाग्छ। ‘के भएको ?’ भनेर सोध्दा पनि हुने हो नि। यी १३ दिनमा मृत्युपछिको संस्कार र परम्पराहरुलाई मैले नजिकबाट नियालेर हेर्ने मौका पाएँ। यसअघि मैले यस्ता संस्कार र परम्परालाई कहिले पनि ध्यान दिएको रहेनछु। मृतकलाई सम्मानपूर्वक बिर्सेर पठाउन संस्कारका नाममा अनेक थोक गर्न लगाई दिनदिनै अलमलमा पारी बेफूर्सदी बनाई ध्यान अन्यत्र मोडिदिने काम हो यो भनी कसैले भनेको ठीकै झैँ लाग्यो। त्यही बेलाका केही अनुभव यहाँ बाँड्दैछु। तपाईँहरुको पनि यस्तो बेलाको चलन सुनाउनु होला। यी सब प्रचलन हामीलाई त्यति थाहा नभएको हुँदा हामीपछिको पुस्तासम्ममा लोपै हुने हो कि भन्ने पनि लाग्छ मलाई त।

हामीहरुको अन्तिम संस्कार हिन्दू रित अनुसार हुने रहेछ। तर बौद्ध धर्म मान्ने गुभाजुको पनि १३ दिने संस्कारको एउटा रितमा आवश्यकता हुन्छ। नत्र सबै काम नेवार बाहुनबाटै गरिन्छ। (नेवारभित्र बाहुनदेखि कथित दलितसम्मका जात हुन्छन्)

किरिया बस्ने
घाटबाट फर्केपछि किरिया बस्नेहरु भूँइमा ओछ्याएको नछुने गरी अलग्ग कसैले नछुने गरी चोखो बस्नुपर्ने रहेछ। पूर्ण किरिया बस्दा सिलाएको लुगा समेत लगाउन नहुने हुँदो रहेछ। तर हाम्रा ठूलावडा आफन्तहरुले गार्‍हो हुन्छ भन्दै हामीलाई आंशिक किरिया मात्रै बस्न लगाए। हामी त जे जे भनियो, त्यही त्यही गर्नेमा पर्‍यौँ। चोखो भएर अलग्ग बस्ने र एक छाक खाने, नून नखाने गर्नुपर्ने रहेछ।

मेरा अधिकांश बाहुन साथीहरु हाम्रो चलन देखेर छक्क पनि परे। विशेष गरी बाहुनहरुको यस्तोमा निकै कडा नियम हुने रहेछ। कति त हाम्रो कपाल नखौरिएको र सेतो लुगा नलगाएको देखेर अचम्ममा परे। तर हाम्रोमा त १० दिनमा बल्ल कपाल खौरेर सेतो लुगा लगाउने चलन हुन्छ।

समवेदनाका लागि आउने
समवेदनाका लागि आउने चेलीहरुले चिउरा, रोटी, अदुवा, नून, फलफूल लिएर आउँछन्। यसरी आउनेहरुले ल्याउने सामाग्रीमध्ये पहिला एक भाग मृतकको नाममा अलग राखिन्छ। मृतकका नाताकुटुम्ब सबै मृतकको घरमा बस्ने गर्छन्। यसलाई दुखं च्वनेगु भनिँदो रहेछ।


मृतकको तस्वीरमा फूलमाला पहिर्‍याई पालामा एउटा अखण्ड दियो जलाइन्छ। यो दियोको विषयमा एउटा कथन रहेछ। जब यो दियोको बत्ती छोटो समयमा नै कहिले एकदमै उज्यालो र कहिले अँध्यारो हुने गर्छ, तब मृतकको आत्मा त्यहाँ आएको हुन्छ रे। आठौँ दिनको मध्यरातमा कुकुर एकदमै भुकेको बेला हाम्रो परिवारका केहीलाई पनि त्यस्तो अनुभव भयो रे। तर मलाई भने त्यस्तो केही अनुभूति भएन।

छैठौँ दिनमा के हुन्छ ?
मरेको छैठौँ दिनमा छोरीले ‘ब्याः’ (विभिन्न परिकार) लिएर आउनु पर्दो रहेछ। बेलुका मृतकको नाममा भाग राखी त्यसबेलासम्म पहिले नै अलग्गै छुट्याएर राखेका सबै भागहरु छोरीले रुँदै मूलढोका बाहिर राख्छन्। यसलाई ल्वःचाः राख्‍ने भनिन्छ। यो राखिसकेपछि समवेदनाका लागि आफन्तहरु सामान्यतया आउँदैनन्। आए पनि उनीहरुले ल्याएको सामान मृतकका नाममा भाग राखिँदैन। ल्वःचा राखिसकेपछि घाम डुब्नुअघि नै छोरीले पकाएर ल्याएको परिकार मृतकको घरमा बसेका सबै परिवारलाई खुवाउनु पर्छ। यसमा मासु बाहेक छ थरिको सामान्य परिकार हुनुपर्ने रहेछ। हाम्रो मृत्यु संस्कारमा छोराको मात्र हैन, छोरीको पनि एकदमै महत्त्व हुन्छ।

सातौँ दिनको कर्म
सातौँ दिन झन् महत्त्वको हुने रहेछ। यो दिन घरभरी शुद्ध गरी लिपेर छोरीले आफू पनि नुहाई शुद्ध भएर नदी छेउमा गई मृतकका लागि भात, दाल तरकारी आदि पकाएर न्हयन्हूमा राख्छन्। पकाएको एक भाग कागलाई खुवाउनु पर्ने रहेछ। कागले नखाएसम्म कुर्नुपर्ने रहेछ। न्ह्यन्हूमा (सात भाग) राखेको छोराहरुले हेर्नु हुँदैन भनी हामीलाई फिर्ता पठाइयो। नांगै खुट्टा विष्णुमति नदीदेखि घरसम्म आइयो।

दशौँ दिनमा चोख्याइन्छ
दशौँ दिनमा गरिने कर्मलाई दु ब्यंकेगु भनिन्छ। यो दिन किरिया बस्ने र दुखं बस्नेहरु सबैले जयबिलि चोखो गर्छन्। यो दिन पनि नदीमा जानुपर्छ। पुरुषहरु नदीमा जाँदै गर्दा महिलाहरु मूलढोका बाहिर बसेर रुँदै नुहाउँदै भित्र पस्छन्। पुरुषहरु मध्ये दागबत्ती दिनेले काग, कुकुर र मृतकलाई गरी तीन वटा पिण्ड चढाउँछन्। कागको पिण्ड खोला वारी, कुकुरको खोला पारी र मृतकको नदीमा बगाएर पठाउँछन्। यही दिन कपाल खौरिने काम हुन्छ। त्यसपछि आति, अमला र पिनाले नुहाउनु पर्छ। पहिले भए नदी कै पानीले नुहाउने होला। अहिले त झण्डै मिनरल वाटरले नुहाउनु परेको ! नदीमा त ढलमात्र बग्छ। त्यहाँको पानीले नुहाएमा आफूलाई पिण्ड दिने दिन नआउला भन्न सकिन्न। धन्य, एक जनाले बोरिङ गरेको पानी मिलाइदिए। यही दिन दश दिनसम्म नधोएको लुगा, डसनाको खोल, सिरकको खोल सबै धोइन्छ।

यही दिन जाप्वः झुण्ड्याउने कर्म पनि हुन्छ। नदीको किनारमा दक्षिण फर्केर निगालोको भर्‍याङ लठ्ठीमा उल्टो टेकाइन्छ। पानी, दूध, चिराइटो, खरानी, प्वाल नभएको सियो र धागो पाँच टुक्रा बाँसको कप्टेरामा राखेर भर्‍याङ मुनि झुण्ड्याइन्छ। दागबत्ती दिनेले जौ, कालो तिल, पानी यी सबैमा छर्केर मृतकलाई अर्पण गरी आँखा धोएर घर जान्छन्। यसरी फर्कँदा फर्केर हेर्न हुँदैन।

(बाँकी तीन दिनका संस्कार र गरुड पुराणका कुरा अर्को पटक)

29 Comments

  1. yo ekdamnae sensitive kura essto dukha ko time ko kura sunda mero ani sabae ko mann ma gahero thu lincha .

  2. It was really good to know something about our culture and by this feelings which you wrote it reminded my past which had happen 5 yrs ago .i also had faced this situation earlier.but like you said i don.t think it is good idea to wear white clothes for 1 yrs.it is impractical and we have to change like this culture.we have to follow only good part of our culture but not like this .by wearing white clothes our beloved won,t come back.you just have to respcet them from heart not just to show .i just changed my clothes in 45 days though i had to hear lots of criticism but i didn,t care at all .so i would suggest you also same .rest you know.may departed soul rest in peace .

  3. मुक्त आत्मालाइ महाप्रस्थानमा सजिलो होस्। हामी सवैको जिवनको अन्तिम सत्य हो यो। सोकलाइ आस्था र बिश्वासमा रूपान्तरण गर्ने साहस प्राप्त होस उमेशजि, तपाईलाइ।

  4. Pranita, I just wanna say something even though it’s really minor…The rudalis are not from Punjab ..they belong to Rajasthan. Thanks 🙂

  5. उमेश जि,

    १० दिन बाट मात्र किरिया बस्ने वा सेतो लुग लगाउने चलन ठाउँ अनी परिवार अनुसार फरक होला शायद।।
    मेरो अजा बित्दा मेरो बुवा र ठुलो बुवा हरु ले शुरु को दिन देखी नै किरिया बस्नु भको थियो।
    ९ अथवा १० दिन देखी बस्ने किरिया लाई ठाडो किरिया भन्छ क्यारे। कसैले कुनै कारण ले शुरु देखी गर्न नसके ठाडो किरिया बस्ने गर्छन्।
    अरु चलन हरु चाँही उस्तै उस्तै लाग्यो.
    May god bless your father’s soul and may he rest in peace!!!!

  6. उमेशजी, यो संसारको रीतनै हो भने पनि मनमा पिडा त हुन्छ नै बाबाको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक समबेदना ।

  7. हो त हाम्रो नेपाली समाजको धार्मिक र अन्य सस्कृतिहरुमा केही त अनाव्स्यक पनि छन। आजको एक्काइसौ सताप्दिमा पनि अबको नयाँ नेपाल सगै केहीलाई परिवर्तन र छोड् गर्दै जानु पर्छ। मलाई त लाग्छ, यो सस्क्रितको अधिपत्यले पनि हामी बिस्वोको निकै पछाडि छौं। “भन्निछ हामी हाम्रो सस्क्रिती र रितिरिवाजमा अरु भन्दा धनी छौं।” तर बिदम्बना हामी अाफै झन झन गरीब हुँदै गैरहेका छौ।

  8. यो दुखद घडीमा म सहानुभूतिका दुईचार शव्दहरू बाहेक अरू केही दिन पनि त सक्दिनं।
    तर हाम्रो संस्कार साँच्चै नै प्रदर्शनमुखी छ। आफूलाई के भएको छ भन्ने कुरा समाजलाई देखाउनु पर्ने हाम्रो कस्तो वाध्यता?

  9. Last December 31,It was the 45th day of my father passed away,i am the youngest one and i am staying abroad so Pujari said the If my Big brother will wear white cloth and do what is must to do that time but i do yek chake and other stuff,i cut my hair.
    I know what feels when father died,i am still crying,still i am asking on phone to him with my mother,though i was there on 4th day of his death,even my mind is not ready to accept that he is not more in this world. After work or some time,we usually say”Aiija baa” then i realized the there is no Baa any more,I had not passed through this pain..may be it will takes me decades..And i am so sorry for your father also..Achano ko piir achano lai tha huncha,khukurilai k tha……

  10. तपाईँलाई मेरो भोगाई बारे एउटा सल्लाह दिन्छु। मेरो पनि बुबा बित्‍नु भएको २ महिना भयो। लामो समय क्यान्सरको उपचार गर्‍यौ हामीले। अपरेशन गरेर फोक्सो पनि केहि भाग झिकेको थियो। एक बर्ष सम्म निको भएको जस्तो पनि भयो। तर फेरि गाँठो देखियो। केमोथेरापि र रेडियोथेरापि सबै लाग्ने उपाए गर्‍यौ। रोग देखिए पछि २ बर्ष ८ महिना बुबाको जिबन लम्वाउन हामी सफल भयौ। म बिगत एक बर्ष देखी पत्रिकामा समबेदनाहरु हेर्ने गर्थें- त्यसमा बितेको मान्छे मेरो बुबा भन्दा कान्छो रहेछ कि जेठो भनेर। अहिले पनि हेर्ने गर्छु। बुबा ६५ बर्षमा बित्‍नु भएको थियो त्यस भन्दा कम उमेरमा पनि धेरै मान्छे हरु बितेका छन भनेर मलाई चित्त बुझाउन सजिलो भएको छ।

  11. Umeshji….
    Pitri sook ma parnu bhayeko ma samabedana. Yasto dukha ko samaya ma pani aafno karma(blog) lai samay dinu bhayeko ma saadhuwaad. Also, yesto bela ko sanskriti ra niyam haru ko bare lekhne tapai ko yo prayas prasansniya chha….dhanyabaad…

  12. धर्ती माँ पाइला टेक ,
    सक्दो दौडिऊ,
    काल पीछा गरिरहेछ ,
    जती छिटो दौडियो,उतिन्जेल मात्र हाम्रो हो|थाक्यो,ढल्यो,इह लीला समाप्त |
    येस्तई येस्तई छ,हामी सबैको हिड़ने बाटो | जिंदगी एक नाटक हे,हाम नाटक में काम करते हे !बुद्द भन्छन
    ”कसैलाई घृणा न गर्नु ”

  13. शोक त शोक नै हो टारेर टार्न सकिन्न । मातापिता बाँचुन्जेल हेरचाह गर्नै पर्छ । सेतो लुगाले शोक प्रकट गर्छ नै । तर मेरो विचारमा चाँही १ वर्षसम्म लुगा बारेर पित्री लगायत आँफैलाई पनि कुनै फाईदा पुग्ला जस्तो लाग्दैन । तपाईंले नै भने जस्तो बरु बिर्सेंको कुरालाई पनि सम्झाइ रहन्छ र अरुले पनि सोधेर दिक्क पार्छन । परम्परा जोगाउन कै लागि भये त अर्कै कुरा । गरुड पुराण पनि सुन्नु नै भएछ । त्यस्ले पनि मनिसलाई बाँच्ने उत्साहलाई कम्जोर पार्छ भन्ने बुझिन्छ । तसर्थ अहिलेलाई मेरो सुझाव चाँही तपाईंले सेतो लुगा फुकाउनु भये हुन्छ । बरु तडकभडक वा उत्ताउलो रङको लुगा भने नलगाउने ।

  14. It is really the most sorrowful moment for the bereaved family of any body. We cannot do anything because it is not in our hands. It is universal truth that we take birth and die one day.But being a hindu,I believe, we should perform all the rituals precisely so that the soul of the dead remain in peace forever. I have said so because I have had such an experience which compels me to believe on something which is unexplanable but truth.Since you have undergone through all the processes of the ritual that is your duty and give it peace to your demised father.

  15. Umesh ji hunata aruko culture,ichchha,adhikarko barema bolnu ramro hoina. Tra tapai jasto educated ubale param parako namma nachai ra apthyaro manera seto kapadanai lagaunu naparne ho.

    Bachunjel sakeko sahayog sewa garne ho,bite pachhi anaabasekrupma aafno helhtlai asar garne gari kasta catnu pardaina jasto lagchha malai.

    Maile pani buba bitta kapada chahi barina,daile chai 1 year nai barnu bhayo,tyo uhako ichchha ho maile force garina.

    Buba bitnale mero M. A.ko exam chhuttyo time lost bhayo tra tesbapat bubale ke paunu bhayo aahile samma thaha chhaina.


  16. ***** Culture Shock *****

    The old ritual grieving culture based on belief is quite shocking to many people who have to confront all of sudden. This rigorous mourning culture may have been set up to enable him to be attuned to his immediate psychological well being. Time has changed and we need to reform this ritual mourning culture.

  17. उमेश जि,

    सबैभन्दा पहिला त यो नमिठो समयको भोगाइ, अनुभव अनी सान्स्कृतिक पाटो सबैसँग साटासाट गर्न खोज्नु भएकोमा साधुबाद। सांचै नै, धेरै कुराहरु हामी गर्नुपर्छ रे भनिएकोले गर्छौ, अनी त्यो समयमा जब यस्तो सन्स्कार गर्नुपर्ने हुन्छ तब तर्कले अथवा किन यस्तो भन्ने प्रश्नले ठाउँ पाउदैन। तपाईंलाई पनि कतिपय कुरा किन यसो गरेको हो त भनेर सोध्ने मन हुँदाहुँदै पनि नसोधी गर्नु भयो होला। अनी सन्स्कृतिको कुरा गर्दा हामीकहा कतिपय कुराहरु डकुमेन्टेड भएका वा दस्ताबेजका रुपमा रहेका छैनन। समाजशास्त्र पढ्दा The Newar भन्ने किताबमा नेवारी मृत्‍यु सन्स्कारको बारेमा अली अली पढे जस्तो लाग्छ। बाहुन छेत्रीहरुको मृत्‍यु सन्स्कार को बारेमा सार्वजनिक रुपमा यसरी कसैले अनुभव साटेको याद छैन।

    हुन त हाल तपाईं जुन अवस्था बाट गुज्रदै हुनुहुन्छ यो समयमा मेरो कुरा, मलाई लागेको कुरा अली नमिठो लाग्न सक्छ तर यो कुनै एक घटनामा सिमित नराखी, हाम्रो नेपाली सन्स्कृतिकै बारेमा खुला बहस गर्ने हो भने, यदी बहस हुनुपर्ने हो भने हामी यो सन्स्कारगत रुपमै रुनु पर्ने कुराको बारेमा पनि एक चोटि छलफल गर्ने हो कि? मैले मेरो साथीको बाबाको मृत्‍यु हुँदा पशुपतीबाट चाबहिलसम्मा बाटो मा रुदै आएकी मेरी साथी अनी उस्का दिदिहरु लाई अहिले सम्झिरहेको छु। अनी तपाईंले भने जस्तै दशदिन को दिन रुदै नुहाउदै घरभित्र छिरेको पनि देखेको छु। एकातिर समाज अनी चलन पनि छ, महत्वपूर्ण छ …. तर अर्को तिर समाजले के भन्ला भनी रोएको जस्तो गर्नुपर्ने अवस्था पनि छ । आफन्तले छोडेर जादाको पिडामा रुन मन लाग्नु अनी रुनु स्वाभाबिक हो, तर त्यो दसदिनको दिन नुहौदा रुनै पर्छ भन्ने चलन को बारेमा शायद हामी छलफल गर्न सक्छौ। मैले माथिनै भने यो बिशयमाथिको चर्चा अपाच्य् पनि हुन्सक्छ।

    अहिले यो कमेन्ट लेख्दै गर्दा मलाई केही पहिले हेरेको रुदाली भन्ने फिल्मको याद अाइरहेको छ, जसमा मान्छे मरेपछी रुनको लागि मर्नु भन्दा अगाडि नै रुने मान्छे को ब्यबस्था गरिएको हुन्छ र त्य्स्तो महिलालाई नै रुदाली भनिन्छ। यो भारतको पन्जाब तिरको सन्स्कार हो। नयाँ नेपाल को कुरा संगै, आधुनिक जीवन्पद्धतीसँग मेल खाने गरी हामीले पनि केही सन्स्कारमा सुधार गर्नुपर्नी हो कि?

    प्रनीता

  18. It reminds me 2 years ago. I think my father is still alive. Sorry I am being unable to write any more.

  19. मलाई नेवार हरु ले पनि सेतो लुगा लगाउनु पर्छ भन्ने थाहा थिएन। मैले त खाली बाहुन ले मात्र होला भन्ठानेको । आज नयाँ कुर जान्न पाइयो ।।। thank you for the telling about your culture….

  20. khai k coment lekhu ra, yes sambandhi ali ali jaanakari balla vayo vayo,tara newar haru ko ra aru jaat ko kriya garne tarikama dherai kura farak rahechha jasto malai laagyo,

Comments are closed.