अन्तरे

-लुना-

सैलुङ्ग डाँडाको काखमा यौवना विधवाको झाँक्रो झैँ फिजिएको छ मदनकुडारी गाउँ। प्राकृतिक रुपमा सुन्दर छ मदनकुडारी गाउँ तर त्यो सौन्दर्यको उपभोग गर्नेहरु कम छन् त्यो गाउँमा। त्यसैले कोरीबाटी चिटिक्क नपरेकी उजाड विधवा झैँ देखिन्छ मदनकुडारी गाउँ।

~~~~

मुलुकमा राजनीतिक परिवर्तन शुरु हुन थालेदेखि र ठाउँ-ठाउँमा गृहयुद्ध भएदेखि त्यस गाउँका धेरै युवायुवती गाउँ छोडेर कोही काठमाडौँ, कोही भारतका विभिन्न सहर, कोही जग्गा बेचेर या धितो राखेरै भए पनि खाडी मुलुकतिर पसेका छन्।

~~~~

त्यही गाउँको एउटा घरको कथा।

घर माटो-काठले बनेको छ, खरले छाएको छानो छ। घरमा चारैतिर पाली छ। घरको पछाडिको पालिमा भेडा-बाख्रा -खसी-पाठापाठीहरु बाँधिएका छन्। घरको दायाँ पालीमा दाउरा-मुढा चाङ मिलाएर राखिएको छ। बायाँ पालीमा अगेनो छ, जहाँ अहिले रक्सी पारिँदै छ, धूँवा निस्किरहेको छ।

~~~~

पाते (बुहारीको नाम) फू-फू गर्दै दाउरा बाल्दै रक्सीको बान (पानी) फेर्दै छे। आँगनमा बोजू (बज्यै-पातेकी सासु आमा) लट्ठीले ‘ हा! हा!’ गर्दै कुखुरा धपाउँदै सुकाइराखेको कोदोलाई बेलाबेलामा चलाइरहेकी छिन्। अन्तरे (बोजूको नाती, पातेका श्रीमान) भर्खर घाँसको भारी ल्याएर आँगन नजिकैको भैंसी गोठमा राख्दै घाँसको भारी फुकाउँदै छ चौपायालाई दिनलाई।

~~~~

आँगनको गुन्द्रीमा बसिरहेकी बोजुले हत्केलाले घामको ज्योतिलाई छेक्दै आकाशतिर हेर्दै भनिन, ‘ पाते ! खोर्सानी पा नी सा प्युइ ले त यता मोइले सुकाम्छा’

पातेले एक डाली खुर्सानी घरभित्रबाट आँगनमा ल्याएर राख्दै पुराना गुन्द्रीलाई जोडेर फराकिलो बनाई त्यसै माथि खुर्सानी थुपार्दै भनी, ‘मो मोर्चा ल्याउनु जान्छ , न्याप्टिले द्‍यान्छ रे हिजोइ माग्या को, मो जाम् बाजू ? ‘ ( मोर्चा लिन जानुछ, हिजै नेप्टीसँग मागेको, उसले दिन्छे रे, म जाउँ बजू ? )

‘जा-जा बारु घ्याम्पाको जाँड त्यास्को बौलाई पानि लाइ दे’ बोजुले पातेतिर हेर्दै नहेरी खुरुखुरु खुर्सानीको थुप्रो सम्याउँदै भनिन्।

~~~~

बोजूलाई खुर्सानीको रागले ६-७ पटक हाछ्युँ आयो।

~~~~

एकै छिनमा पाते मोर्चा लिएर आइपुगिन् र रक्सी पार्दै गरेको बानमा फेरि पानी थपिदिइन्।
अन्तरे पनि गोठको काम सिध्याएर पातेतिर पुलुक्क हेर्दै बोजूको छेउमा गएर बस्यो।

~~~~

आज घाम चरक्क चर्के पनि बोजु, अन्तरे र पातेको जिउमा घाम लाग्या छैन। भोलि अन्तरे काठमाडौँ जाँदैछ, फूल जस्ती, जून जस्ती ढकमक्क फूलेकी पाते र डाँडा माथिकी घाम बोजुलाई छोडेर। बोजु, अन्तरे र पाते तीनै जनाको मुहार औँसीको रात जस्तो अँध्यारो भएको छ।

~~~~

कुखुराहरु आएर सुकाइराखेको कोदोमाथि दाईँ गर्न थाले। तीनै जनाले एकै स्वरमा ‘ हा! हा! ‘ गरे। पातेले उठ्दै गएर परसम्म धपाइन् कुखुराहरुलाई र घरभित्र पसेर भर्खरै बनाएको रक्सी र सुकुटीको सितन ल्याएर बोजु र अन्तरेको छेउमा राखिदिइन् र फेरि आफू अगेनोमा दाउरा जोड्न गइन्।

~~~~

‘ तोँ पा नि खा ! अइजा ! ‘ बोजुले पातेलाई डाकिन्। ‘ पानी फेर्नु देउ आ नि ‘ पातेले भनिन् र पानी फेर्न थालिन्। ‘ तीन पानीको झिक ‘ ! बोजुले अर्‍हाइन्।

तीन पानीको रक्सी झिकेर फेरि पानी बानमा थपिदिँदै दाउरा पनि जोडेर पाते, अन्तरे र बोजूको छेउमा आएर बसिन्।

~~~~

छेउमै रातो भालेले छिर्केमिर्के पोथीलाई सिउरमा ठुङ्ग्न थाल्यो। पातेले ‘ हा!’ गर्दै धपाइन्। अन्तरे मसक्क मस्क्यो —।

~~~~

बोजूले अन्तरेको मुखमा हेर्दै भनिन् ‘ तोँ ना जा भान्चा मो। तारुनी स्वास्नी रा मो बुढीलाई घारमा राख, तोँ चैँ जा, गाउँ भारी मुन्छे छैन ! तोँ हाम्लाई कासारी छोड्चा ! तोँ ना जा ! मोइले भानेको मान् ! खानु पुग्चा, पाटे (खसी) भोन्टी (भैंसी) यात्रो कुगुरा (कुखुरा) छ , साप्पै पुग्चा , तो शाहर ( काठमाडौँ ) ना जा ! ‘

नाति काठमाडौँ जाने कुराले बोजू पिरोलिएकी थिइन्।

अन्तरेले भन्यो , ‘ गोराहारु ता मान्कारी हुन्चा रे , द्‍यानको पान्से – हाज्जार द्‍यान्चा रे , माङ्ग्गो जोत्ता द्‍यान्चा रे ! कोइ ता उस्काइ देश पानि लान्छा रे ! , त्यो द्‍यासको पोइसा ता कात्ती कात्ती ! ! भागे मा भे ता मो पानि जान्छा , नभे पानि पोइसा ता कमौछा ! मो तिम्लाई, पातेलाई लाउरी ढिकी फोली ल्यान्छा , घाडि पोनि ल्यान्चा !’

( गोराहरु मनकारी हुन्छन् रे , दिनको पाँच सयदेखि हजार दिन्छ रे, कोइ त उसकै देश पनि लान्छ रे, त्यो देशको पैसा त यहाँको पैसासँग साट्दा कति कति ! , भाग्यमा भए म पनि जान्छु, नभए पनि पैसा कमाएर तिमीलाई र पातेलाई लाहुरे ढिकी फूली र घडी ल्याउँछु — )

बोजुले भनिन् , ‘ क्या तो घादि ! ? के गार्छा मो बुढी त्या घादि ! (म बूढीले के गर्ने त्यो घडी ! )

‘ लोसार मा लाउला नि ‘ ! अन्तरेले भन्यो।

पातेले ‘ तू मात्याको ! क्यानु जानु पार्ने ! ‘ त्यति मात्रै भनेर गुन्द्रीको छेस्का चुँडाएर त्यसैको टुक्राले खुट्टाको नङको माटो कोट्याइ रही।

बोजुले पातेलाई टीठलाग्दो आँखाले हेर्दै भनिन्, ‘ तो पानि जा नु ता आन्तारे साङ्गु ! ‘ ( तँ पनि जा न त अन्तरेसँग)

पातेले पुलुक्क बोजुको मुखमा हेर्दै भनिन , ‘ को द्‍यान्चा घास पाटे – भोन्टीलाई ? ‘
बोजुले भनिन् ‘ मो गार्चा नि ! ‘

‘ आ ! गार्चा ! ढ्याडो (ढिडो) मास्काउना (ओढाल्न) ता सा क् ताइ ना ! आबु घासको भारी पो बोक्छु भान्चा ! मो तिम्लाई छोड्दाइना पो बोजू ! बारु यल्लाई छोड्चा ! ‘ अन्तरेतिर आँखा तेर्साउँदै भनिन् पातेले।
बोजुले मायालु आँखाले पातेलाई हेरिरहिन्।

~~~~

पातेलाई आफ्नो लोग्ने आफूले र बोजुले नजाउ भन्दाभन्दै पनि काठमाडौँ जान लागेकोले खुब चित्त दुखिरहेको थियो। उसको पालो खुइखुइ बटुकोमा रक्सी खन्याउँदै तन्काइदिइ। ऊ बोजुलाई असाध्यै माया गर्थी। त्यसैले खुब लाडिएकी थिइ बोजुसँग। कति पनि धक नमानी मज्जाले लगातार ६-७ बटुको भरी रक्सी रित्याइ दिइ।
बोजु नातिनी बुहारीको चाल देखेर अहिले चाँही मुसुमुसु हाँस्दै रक्सीमा पानी फेर्न आफै उठेर गइन्।

~~~~

अन्तरेले मायालु बोलीले भन्यो ‘ रक्सी धेराइ नापि कान्छी ! (रक्सी धेरै नपिऊ कान्छी ! )

‘ पिउँछ ! तू लाई के ! तू लाई क्या मान खान्छ ! (तिम्रो के मन खान्छ र ! पिउँछु ! – घुर्की –
उनी घुर्क्याउन थालिन्।

अन्तरेले पातेलाई फकाउन थालयो , ‘ या ग् माइना (एक महिना) ता हो नि तु त्याती पानि ( त्यति पनि ) खाप्नु साक्तैना ! ‘

अब पातेको रिसको पारोले सगरमाथाको टुप्पो छुन थालयो। बोजुको साथ पाएकै थिइ शहर नजाऊ भन्नलाई। अब के चाहियो र ! अन्तरेले ‘ एक महिना त हो नि , त्यति पर्खन पनि कति गार्‍हो हुन्छ र ! ‘ भने पछि ऊ ढल्मलिँदै बसेको ठाउँबाट उठी र ‘ यी याति खाप्नु साक्छ! भन्दै — उचाली। अन्तरेले दिउँसै तारा देख्यो —

~~~~

बिहान भयो। अन्तरे काठमाडौँ जान ठिक्क परेको छ। बोजु आँगनमा हुक्का तानेर बसिरहेकी थिइन्, पातेले हुक्कामा ‘ फू’ गरिन् आगोमाथि सेतै खरानी देखेर। खरानी उड्यो, आगो भररर भो।

‘ मो जान्छ ! ‘ अन्तरेले पातेतिर नहेरी बोजूलाई मात्र हेरेर भन्यो। (पातेलाई हेर्नै सकेन, यसै त चिम्सा तिलचाम्ले आँखा झन रोएर सुन्निँदा असाध्यैको टीठलाग्दो देखिएको थियो , त्यसैले अन्तरेले पातेलाई हेर्नै सकेन)

बोजुले बिस्तारै ‘ लु ता छ्याट्टो आइजा ! ‘ काँपेको स्वरमा भनिन्।

अब पातेसँग बिदा माग्नु थियो। एक पल्ट् ख्वाक्क खोक्यो र गर्‍हौँ मनले बोल्यो ‘ बस है कान्छी , मो गा यो ! ‘
बल्ल पातेले बिस्तारै भनी , ‘ छि ट्तै आउ ला ! ‘

यसो भन्दा पातेको आँखाबाट बलिन्द्र धारा आँसु चुहिरहेको थियो।

पाते र बुढी बोजूलाई छोडेर हिंड्नु पर्दा अन्तरेको खुट्टामा जातो खुन्डिएको-झुन्डिएको जस्तै भएको थियो।
तर पनि ऊ गाउँका अरु साथीहरुले झैँ शहर गएर कमाएर ल्याउने ध्याउन्नमा थियो र आफ्नो रहरमा अडिग हुँदै पाइला अगाडि बढायो काठमाडौँतर्फ।

~~~~~

दिनभर हिंडेर साँझ टाढा छिमेकी गाउँमा बास बसेर भोलिपल्ट एकाबिहानैको बस समातेपछि अन्तरे दिउँसो नै काठमाडौँको रत्‍नपार्कमा झर्‍यो।

जीवनमा पहिलो पल्ट यति ठूलो शहरमा एक्लै आएको थियो अन्तरे। यतै ठेलमठेल उतै ठेलमठेल। मान्छेहरुलाई सोध्दै ऊ घण्टाघरमुनिको गेटढोकामै टाँसिएर उभिरह्यो। धने (अन्तरेको साथी) ले ‘ घान्टाघार सोधेरा तिँ मुनि बा स ! मो घान्टाघारमा आउचा लिना, तु हाराउला ! ति कुरी बास ! कतोइ ना जा ! ‘ भनेको थियो।

सडकमा सवारी साधनहरुका ताँती हुँइकिरहेको थियो। थरिथरिका, रङ्ग-रङ्गका सवारी साधनहरु धूँवाको मुस्लो फाल्दै कुद्थे। अन्तरेले हेर्दै, कुर्दाकुर्दै २ घण्टा जति बितायो। अँह ! धने आएन !

अन्तरेको ओठ-तालु सुक्न थाल्यो, कतै आफू हराउने हो कि भन्ने पिरले। केही बेर अगाडिसम्म रमाइलो लागेको मोटरगाडी अब उसलाई तर्साउने झैँ लाग्दै थियो। गाडीको हर्नले ऊ तर्सिन्थियो घरिघरि। चर्को घाम, गाडीको धुँवा , टिँ टिँ टिँ आवाज, भटभटेले बाटो काट्दै कुदेको दृश्यले ऊ लुगलुग कामे जस्तै डराउन थाल्यो।

व्यस्त भीडभाड सडकलाई हेर्दाहेर्दै उसको आँखा थाक्दै थियो।

केही पर निकै होहल्ला सुन्यो उसले। बिस्तारै मान्छेहरुको भीड अगाडि बढ्दै आइरहेको थियो। हेर्दाहेर्दै गाडीहरु कमिलाको ताँती जस्तो सडक किनारामा रोकिन थाले। सडकलाई निजी बिर्ता झैँ ओगटेर हिँडिरहेको भीडले गर्दा थुप्रैथुप्रै सवारी साधनहरु सडक मै ठप्प रोकिएका थिए।

उसले हरेक सवारी साधनहरुभित्र आँखा दौडायो। ड्राइभरले घरिघरि पसिना पुछ्दै थिए कहिले भीडले बाटो छोड्ला भनेर। गाडीभित्र बसेका सबै मान्छेहरु पनि तर्सिएका, दिक्क भएका, थाकेका जस्ता देखिन्थे। कसैको अनुहार उज्यालो देखेन उसले।

मलामीबाट फर्केका मान्छेहरुको जस्तो उदास अनुहार थियो सबैको।

शहरमा त मान्छे खुशी भएर बाँच्छ्न् भन्ने सोचेको थियो उसले गाउँमा तर यहाँ त —-

अगाडि बढ्दै गएको भीडले टायर बाल्न थाले। उसले हेर्दाहेर्दै आकाशकुहिरी मन्डल भो कालो टायरको धूँवाले। एक छिनपछि प्रहरीको भ्यान हुइहुइ कराउँदै आइपुग्यो। मान्छेहरुको भीड तितरबितर भो।

घण्टाघरको पर्खालको भित्तामा टाँसिएर खत्र्याङ खुर्तुङ्ग बेच्ने दिदीले सानो काखे बच्चालाई कोक्रामा राखेकी थिइ। होहल्लाको आवाजले बच्चा बिउँझियो च्याँ-च्याँ गर्दै। तिनले पछ्यौरीले ढाकेर दूध खुवाइन् बच्चालाई।
भीड तितरबितर भएपछि अहिले लामवद्घ पर्खिएका सवारी साधनहरु बिस्तारै अघि बढ्न थाले।

कालो टायरको धूलोमा पाङ्ग्राले कुल्चिँदा वातावरण धुलाम्मे भएको थियो। पोलेको टायरको गन्ध नराम्रोसँग फैलिएको थियो हावामा। अन्तरेको नाक पोल्यो। उसले दुधे बालकलाई मायालाग्दो आँखाले हेर्‍यो
मायालाग्दो आँखाले हेर्दै टोलायो।

कसैले एक्कासी घ्याच्च घच्च्याउँदा ऊ झसङ्ग भएर पछाडि फर्क्यो।

अघिसम्म हराउँछु कि भनेर ओठ-तालु सुकेको अन्तरेको ज्यानमा बल्ल उर्जाको रक्त संचार भो आफ्नो गाउँले साथी धनेलाई देखेर।

~~~~

धनेले ट्याक्सी रोक्दै अन्तरेलाई राखेर ठमेलसम्म ल्यायो। अन्तरेले जीवनमा पहिलो पटक यस्तो भैंसी जत्रो सानो गाडीमा चढेको थियो। अघिसम्मको दिनभरिको थकानलाई भुल्दै ऊ दङ्ग परेर धनेसँगै ट्याक्सीमा ठमेल पुग्यो। धनेले ११५ रुप्पे तिर्‍यो। अन्तरेले जिब्रो टोक्यो। अघि भर्खर चढेको जस्तो लाग्छ गाडीमा यत्रो पैसा दियो भनेर अन्तरेले पुलुक्क धनेको मुखमा हेर्‍यो। धने मख्‍ख पर्‍यो आफूले अन्तरेलाई दङ्ग पार्न सकेकोमा।

~~~~~

आज साँझ धने एल बी दाइको ग्रुपसँग रेस्टुरेन्टमा खान जाँदै थियो अन्तरेलाई पनि लिएर। धने ४ दिनपछि एल बी दाइको ग्रुपमा अन्तरेलाई भरियाको जिम्मा लगाएर लैजाँदै थियो। धने आफू चाँहि गाइड जस्तै भएको थियो १-२ वर्षको भरिया अनुभवले खारिएर। टट्याङटुटुङ्ग अङ्रेजी पनि बोल्थ्यो।

~~~~

काठमाडौँ आएकै दिन काठमाडौँ शहरको त्यो बिजोग देख्यो भने त्यही दिन साँझ राति ठमेलको झिलिमिली देखेर चाँही अन्तरे दङै पर्‍यो।

रङ्गीचङ्गी सामानहरुले सजिएका पसलहरु, थरिथरिका मान्छेहरु देखेर ऊ ट्वाँ पर्दै हेर्थ्यो। धनेले ‘ ओ आइ! अन्तरे ! ‘ भनेपछि फेरि धनेको पछि पछि लाग्थ्यो।

साँझ यसरी बित्यो जसरी पृथ्वीको कुनै एक प्राणी अर्को ग्रहको भीडभाड र रमझममा पुगेर बित्छ !

~~~~

भोलिपल्ट बिहान उज्यालो हुन नपाउँदै धनेले ठूलाठूला जर्किन हातमा लियो र पानीको लागि लाइन बस्न गयो धारामा। अन्तरे पनि आँखा मिच्दै उठेर धनेसँगै आयो। आज छिट्टै उठेको भएर त्यति धेरै पछाडि पर्नु परेको रहेनछ, बस्दाबस्दै १५-२० मिनेट मै पानी भरेर डेरामा आए दुवै जना।

धनेले स्टोभ बाल्न खोज्यो चिया बनाउन , मट्टितेल सिद्दिएछ। ‘ आजु तो रा मो लाइन बास्ने माटित्याल ल्यानु’ धनेले भन्यो र दुबै जना जर्किन बोकेर हिंडे मट्टितेल बाँड्ने ठाउँ नजिक। लाइनमा जर्किन राखेर दुबै जना छेउ कै चिया पसलमा चिया र दुनोट खान लागे। धनेले दुई जनाको गरेर ४० रुप्पे बुझायो। अन्तरे छक्क पर्‍यो जाबो २ कप चिया र २ वटा दुनोट को ४० रुप्पे तिरेको देखेर।

~~~~~

मट्टितेल भर्ने पालो आइपुगेको छैन। उनीहरु सडकदेखि नजिकैको किनारमा थिए। हिजो त्यो सडकमा पनि आन्दोलनकारीहरुले टायर जलाएका रहेछन्। सडक जलेको टायरको धुलोले कालाम्य देखिन्थ्यो। सिसाका टुक्राहरु पनि छरपस्टै देखिन्थ्यो सडकमा।

केही सानासाना स्कूले बालबालिकाहरु एउटै रङ्को लुगा लगाएर पछाडि करिब-करिब आफू जत्रै झोलाका भारी बोकेर हिँड्दै थिए। उनीहरुले आफ्ना साना-साना खुट्टालाई सडक भरी छरपष्टिएका सिसाका टुक्राहरुबाट जोगाउँदै हिँडिरहेका थिए। अन्तरेको जिउ सिरिङ भो यो देखेर।

बल्ल बल्ल १० बजेतिर मट्टितेल भर्ने पालो आयो। अन्तरेले लामो सास फेर्‍यो। गाउँको ठिटो आत्तिएको थियो शहरी बिजोग देखेर।

मट्टितेल डेरामा पुर्‍याएर आज खाना होटलमै खाने विचार ले धनेले अन्तरेलाई होटलमा लग्यो।

भित्र ओस परेको गल्ली छिर्ने चोकको बाटो छेउमा फोहोरको थुप्रो थुप्रिएको थियो। त्यहाँ स- साना नानीहरुले नाङ्गै खुट्टा टेक्दै केही खोजिरहेका झैँ देखिन्थे। अन्तरेले धेरै तला भएको घरमुनि थुप्रिएको त्यो गन्हाउने फोहर र ती फोहरमा आफ्ना भविष्य खोजिरहे झैँ देखिने नानीहरुलाई हेर्दै गल्लीभित्रको होटलमा पुग्यो।

धनेले कुखुराको मासु र भात मगाएर खुवायो अन्तरेलाई। उनीहरु डेरामा आए। अन्तरेलाई खाना नपचेर बेस्मारी पेट दुख्‍न शुरु गरिसकेको थियो। २-३-४- हुँदै लगातार ऊ पाइखाना जानु पर्ने भो।

पाइखाना असाध्यै फोहर थियो। गाउँको खुला पाखामा आची गरेको अन्तरे शहरको यो गुम्सिएको दुर्गन्धित पाइखानामा बस्नु पर्दा उसलाई बान्ता आउला जस्तो पनि भएको थियो।

~~~~

३ दिन भइसकेको थियो काठमाडौँ आएको, अब भोलि ट्रेकिङ जाने दिन। ऊ भने काठमाडौँको हावा, पानी, खाना नपचेर बिरामी परे जस्तो भएको थियो। धनेले औषधी किनेर ल्यायो र अन्तरेलाई दिँदै भन्यो ‘ आउ साथी खा , ! निको हुन्चा ! ‘। धनेले जीवनमा पहिलो चोटी यस्तो औषधी खाएको थियो। ग्वाम ग्वाम चपायो के-के नै मीठो होला भनेर ! उसको मुख नराम्रोसँग बिग्रियो। धनेले काम पायो , मरी मरी हाँस्यो।
~~~~

आजदेखि ट्रेकिङ जानुपर्ने, उनीहरु गए। १४ दिन ट्रेकिङमा बिताएर काठमाडौँ फर्किए। आएको दिनदेखि अहिलेसम्म गन्दा करिब ३ हप्ता भइसकेको थियो बूढी बोजूसँग बसेर तोङ्बा नखाएको र पातेको ढकम्क्क फूलेको फूल जस्तो मुहार नहेरेको। उसलाई एकदम न्यास्रो लाग्यो।

अब को दिनदेखि फेरि ९ दिनपछि अर्को ग्रुप थियो ११ दिनको लागि लाङ्टाङ जाने। अन्तरे यही ९ दिनको बीचमा पहाड गएर आउन चाहन्थ्यो। जान २ दिन आउन २ दिन – ४ दिन लाग्थ्यो। त्यसैले धनेले उसलाई नजान सल्लाह दियो। ऊ गएन।

~~~~
धनेका परिवारहरु आउने-जाने गर्ने हुनाले एउटै कोठामा अन्तरे धेरै दिनको लागि पाहुना भएर बस्न मिल्दैन थियो त्यसैले यही बीचमा धनेले अन्तरेको लागि आफ्नो डेरा नजिकै कोठा खोज्यो। बल्ल बल्ल कोठा पायो। कोठामा चाहिने सर-सामान अघिल्लो ट्रेकिङबाट जम्मा गरेको पैसाले किन्यो। यही बीचमा हिँडडुल गरिरहँदा अन्तरे फेरि बिरामी पर्‍यो। उसलाई काठमाडौँको दुषित हावापानी, खाना पटक्कै पचेन। औषधी खाँदै दिन बिताउँदा दोस्रो ट्रेकिङ जाने दिन पनि आयो। गयो। यस पटकको ट्रेकिङका अवधिभर पातेलाई बेस्मारी सम्झियो अन्तरेले।

ट्रेकिङबाट पुनः फर्किएर काठमाडौँ आयो। अबको चार दिनपछि फेरि अर्को ग्रुप थियो एक हप्ताको काठमाडौँ उपत्यका ट्रेकिङ गर्ने।

४ दिन फेरि कुर्नु पर्ने भो। उही धुलो, फोहोर, धूँवा, दुषित पानी, दुषित पानीमा पकाएको मिसावटयुक्त्त खानेकुरा ! अन्तरे यस पटक नराम्रोसँग बिरामी पर्‍यो।

‘ यास्तारी ता काइले पोनि थाकेको थेना ! क्या भो ! क्या भो ! फापेन मुलाई ता यो शाहर , कान्छीको आँशुले पोल्यो की क्या हो ! ‘ ऊ झोक्राएर सोच्न थाल्यो।

दुई छाक खान पुग्ने बारी, भैंसी गोठ, बाख्राबाख्री, पाठापाठी, कुखुरा, बारीको ताजा तरकारी, पातेले मस्काएको ढेडोमा सुकुटी, आलु, मुलाको चाना मिसाएर बनाएको छिप्छिपेमा ढिँडो चोब्दै खाएको झल्झली सम्झियो। आँगनमा बसेर बोजुसँग तोङ्बा पिएको, पातेले मसक्क मस्कँदै कुखुरा धपाएको दृश्य सम्झेर ऊ कल्पनामा डुब्न थाल्यो।

माटोको डल्लाले प्वाक्क पातेको ढाडमा हिर्काएको, पातेले फर्केर हेर्दा उसले देखे नदेखे झैँ गरी आकाशतिर हेर्दै बसेको अनि पातेको पालो गाग्रीभरिको पानी ल्याएर अन्तरेलाई निथ्रुक्कै भिजाइदिएको अनि त्यसपछि ओह!!!!!!!!!!!!!

कल्पनामा डुब्दाडुब्द्दै विपनामा उसको घाँटी सुक्यो तिर्खाले। डराई डराई पानी खायो उसले। धनेले बोतलको पानी किनेर खान भनेको थियो तर उसले पानी किनेर खान मन गरेन, भरेर ल्याएको पानी खायो।

‘ यस्तो पानी खान पनि डराउनु पर्ने ! ‘ उसको मनमा अब चाँही साँच्चै नै वितृष्णा फैलिसकेको थियो शहरदेखि।

~~~~

काठमाडौँ उपत्यका ट्रेकिङ जानुअघि ऊ फेरि बिरामी पर्‍यो। यस पटक चाँहि सिकिस्तै बिरामी पर्‍यो। धनेले अस्पताल भर्ना गरेर चिनेको मान्छेलाई १ हप्ताको लागि जिम्मा लगाई आफू ट्रेकिङ गयो।

अन्तरेले अस्पतालको बेडमा बस्दा मनमा अठोट लिइसकेको थियो, ‘ मोलाई यास्तो खाउ खाउ लाउ लाउ को उमेरमा मार्नु खोज्ने यो शहरमा मो बास्दाइना ! मो मेरो गाउँ जान्छा, कुवाको पानी घाट घाट खान्छा , मो जान्छा आ बा ! ‘

यसरी त्यो गाउँको ठिटोले शहरको प्रदूषणबाट वाक्कदिक्क भएर अन्तमा आफ्नै हराभरा स्वच्छ सुन्दर गाउँ फर्कियो।

~~~~

( माइसंसारका लेखक, पाठक र नागरिक पत्रकार स्याटेलाइट जीको ब्लग हेर्दै थिएँ , ” पुच्छर सहितका मान्छेहरु” कविताको मार्मिक भावले मेरो ह्रदय छोयो। म घोत्लिएँ धेरै बेर। अनि सोचेँ एउटा कथा लेख्छु सहरी प्रदूषणलाई समाहित गरेर। जानी नजानी लेखेँ। कस्तो भो कुन्नि ? सुझाव दिन अल्छी नगर्नु ल !)

66 Comments

  1. Lunaji
    Thank you for your prompt response, I assumed that you are experts of Gurung Language, and you should no that Gurung Communities of Eastern Nepal do use Gurung Language, their Nepali is better than mine, I never hear that second daughter of Gurung family is name Pate, Parang is second
    if you know Gurung Language would you please Translate following word which is song ” Chu Hul Sari Rodi Khapa ngai
    sepa khai Aare” Only those gurungs who are from Dhading, Gorkha, Lamjung, Tanahun, Kaski, Syangja, and Parbat do speak their Gurung Language, and don’t think that Gurung Language is part of Tamang Language, why they called themselves Tamu, what is different Tamang and Tamu. Please don’t let other people down, and I wish you good luck.
    Dig

  2. डिग तमाङग जि !
    तपाईंको प्रतिकृया ठीक माथि को मेरो प्रतिकृया तपाईंले पढ्नु भो ? त्यहा मैले पाते गुरुङ्ग समुदाय मा माहिली छोरीलाई भनिन्छ र अन्तरे र पातेको दाम्पत्य जिबन अन्तर्जातिय प्रेम विवाह भनेर लेख्नु पर्ने थियो हतार गरेर यो खुलाइन भनेर लेखेकी छु दुदुपापा जि र अन्य साथीहरुको कमेन्ट पढे पछी ।
    प्रतिकृया को लागि धन्यवाद तपाईंलाई ।

  3. बामे सर्दै छ बिरुवा हुन सक्छ कुनै दिन दौडेला पनि ||
    कुमार जी आज्ञा गर्नु हुन्छ थप्दै जाऊ आगोमा घिउ अल्छि नबनि ||||
    माई संसारमा एउटा मात्र कथाले आत्मा ग्लानी बनाएको थियो त्यों थियो एउटा एड्स पीड़ित युवातिको कथा अब त्यस्तो कथा र कथाकार त खै कता हरायो हरायो , कतै कथाकारको तर्फ बाट डोनेसन नपुगेर त होइन अहिले त खाली शीशी र पुराना कागत जस्ता अनि फक्री नसकेका कोपिलाहरु मात्रै पस्किएका छन |

  4. Antare”
    It is seems obviously unfair story, and bias to another groups people, I never read in Nepali Literature women character’s name as Pate, and never heard female name Pate, Lunaji could have chosen Kainli, Maili, Shainli Typical common name or Luxmi, Gandhari, Goma, Kunti instead of Pate, even though it is obvious of using Alcoholic beverage occasionally in certain Nepalese Communities during Dashain, Tihawar, Lho Chhar, it also seems that Luna does not have knowledge of the vicinities, she could have use Ghal Danda, Jhor, Patle, Mujuwa, Gupha, Namchyat, Bhedapu, Ghyang which are surroundings village of Sailung Danda . I don’t think it is worth to curse uneducated people, here they are being cursed by the our education system and traditional government, how about if Luna has to speak their mother language, can Luna speak all the sixty languages fluently which are being spoken in Nepal. My understanding is there are more than sixty different dialects, writer failed to mentioned another groups of people writer supposed to know that Nepali people resides in diversities. On the whole it is good story, I congratulate to writer, but to become good writer, definitely do need to show to respect then only writer will be appreciated.

  5. साथीहरु सबैलाई हिर्दय देखी नै धन्यवाद है हौसलात्मक प्रतिकृया र गहन सुझाब को लागि ।
    गोज्याङ्रो जि !
    मदनकुडारी काभ्रे जिल्लामा पर्छ ।
    पाल्पाली तारा जि !
    म र्चा लाई गाउले भाषामा भन्दा मैले मोर्चा लेखेकी हुँ ।
    ( अनी धेरै शब्द हरुमा ” ह ” ” ले-ह ” जस्ता स्बर ध्बनी मिसिएको हुन्छ जुन मैले टाइप गर्न नजान्दा र शब्द मार्फत राखिदा अप्ठ्यारो देखिने भएकोले पनि लेखेकी छैन -)
    दुदुपापा जि !
    तपाईंलाई धन्यवाद म र्चा झार को बारेमा सक्दो जानकारी दिनु भएकोमा । सा थै मुरी मुरी धन्यवाद कथाको बिस्लेसण -बिबेचना गरिदिनु भएकोमा । ‘ पाते ‘ भनेर गुरुङ्ग समुदायमा माइली छोरीलाई भनिन्छ । ठीक लेख्नु भो । मैले कथामा तमाङग र गुरुङ्ग बिचको अन्तर्जातिय प्रेम विवाह भनेर लेख्नु पर्ने थियो । निकै हतार गरेर कथा लेखेको महशुस भो अहिले मलाई । भबिस्य मा ( निकट मै नभनु किनकी म अत्यन्तै ब्यस्त छु तर केही बर्ष भित्र मै ) उपन्यास लेख्ने छु होला ” अन्तरे ” कथालाई अझै प्रस्ट रुपमा उजिल्याउदै । त्यतिखेर तपाईंहरुको गहन सुझाब र हौसलात्मक प्रतिकृया दिने साथीहरुको नाम लाई उल्लेख गर्ने अनुमती अहिले नै माग्दछु ।
    रमेश बाबु श्रेष्ठ जि ! माथि मैले लेखेकी थिए , फेरी अहिले पनि उही शब्द दोहोर्याएर लेखेकी छु -मदन कुडारी काभ्रे र रामेछाप को सिमाना निर नै हो ।
    शाही ल गुरुङ्ग जि !
    यथार्त लेख्नु भो , मैले ” पाते ” पात्र लाई गुरुङ्ग भनेर जानकारी दिनु पर्ने थियो , तपाईंको सुझाब र हौसलात्मक प्रतिकृया को लागि हिर्दय देखिनै धन्यवाद ।
    पुष्प जि !
    दुर्गाम र पहाडी भेग तिर माबोबादिका जन सैनिक र सरकार का आर्मी बिच लडाईं भएको थियो । यो हाम्रो आफ्नै नेपाली दाजु भाई दिदी बहिनी बिच मा भएको लडाईं लाई मैले ” गृहयुद्द ” लेखेकी हुँ ।
    धेरै धन्यवाद है तपाईंलाई हौसलात्मक प्रतिकृया को लागि ।
    अन्त मा फेरी एक पल्ट सम्पूर्ण साथीहरु लाई लुनाको हिर्दय देखी नै मुरी मुरी धन्यवाद है । तपाईं हरुको मायालु सुझाब लाई म शिरोधार्य गर्ने छु । तपाईंहरुको मायालु हौसलात्मक प्रतिकृया को लागि म तपाईंहरु प्रती आभारी छु ।

  6. Hey luna,how can u write this type of original nepali story?LUNA ji lu na malaini sikaidinusna :),like it very much.

  7. एउटा कुरो … साहित्यको आँखाले देखेको लेख्नुभएको भए त कुन्नि, नेपालको सन्दर्भमा ‘गृहयुद्ध’ शब्द मिल्दैन कि ?!

  8. सुन्दर छ … अन्तरेजस्तै 🙂 । अनि धन्यवाद एउटा राम्रो सन्देशका लागि ।

  9. लुनाजी,
    एउटा सफल साहित्यकारको पङ्तिमा तपाईंको शुभ -नाम देख्न पाउदा सार्है खुशी लाग्यो \मन छुने शब्द चयन अनी सरल मिठो र उदेस्यमुलख साहित्यिक परिकार पस्कनु भएकोमा धन्यवाद !
    यसरी आफ्नो ठाउँ र आफन्तलाई छाडेर जाने प्रब्रितीलाई रोक्ने उदेस्यले कथा लेख्नु भएकोमा धन्यवाद \अनी सुझाबको रुपमा आफ्नै घरमा रक्सी बनाएर सेवन गर्ने नेपाली चलनलाई सुधार र रोकथाम गर्ने गरी कथा लेखुनु भएको भए सुनमा सुगन्द हुने थियो \नेपाली समाजमा रहेका खराब चलन,रिती,सस्कार जस्ता अनेक गलत कुराहरुलाई उजागर गर्दै त्यसले बनाएको समस्यालाई समाधानको बाटो र शिक्षा दिनु आजका लेखकहरुको दायित्व हो जस्तो मलाई लाग्छ र देश र जनताको सुखद भबिस्य निर्माण गर्नमा सहयोग हुन जान्छ जस्तो लाग्छ \आगामी स्वादिस्ट परिकारको पर्खाइमा तपाईं कै एक मित्र \

  10. katha ramro cha luna ji…ek dam marma-sparshi..taara euta kura sailung danda bhanera jun taun ko naam linu bhayo tyaha ta tamang samudaye ko taun ho jasto lagchha..taara tesme jun mahile patra ”PATE” bhannu bhayo yo chai Gurung word ho..Pate bhaneko Maili chori ho gurung language ma..taara pani keep on writing..it was wonderful..

  11. आज मलाई खुसी लागेको छ । किनकी सधै राजनैतिक गन्थनमन्थनमा व्यस्त लुना जी आज साच्चिकै पेसेवर कथाकार हो की जस्तो लागेको छ । हो सबै मानिसहरु साहित्य प्रति रुची राख्ने गर्दछन तर आरुको सृजनालाई पढेर सुनेर साहित्यक प्यासहरु मेट्ने गर्दछ । तर सबै साहित्य प्रेमीहरुले सृजना गर्न भने सक्दैन त्यही नसक्नेहरुमा एक म पनि हो । लुनाजीको अन्तरे कथाले साच्चिकै मेरो मन चसक्कै छोएको छ । यो कथामा वास्ताविकता पाउन सकिनन्छ । यहाँको पश्चिमे लवजको प्रयोग गरिएको छ । यो प्रयास लुना जीको राम्रो कुरा हो । कथामा अन्तरे र पातेको भुमिकालाई अलिकति गहिरिएर हेर्ने हो भने कतै मुनामदको फोटो कपि त होईन त्यो प्रश्न एक पटक सबैको मनमा उब्जना स्वभाविकै हो किनकी झण्डै उस्तै उस्तै झै मलाई पनि लागेको थियो । तर अन्तमा केही कुराहरुले मुनामदन खण्डकाब्य संग अलिकति टाढा नै लैजानु भएको छ लुना जीले कथालाई ।
    हो यो कथाले साच्चिकै हामि आफ्नो जन्म थलो सुन्दर पहाडलाई अथवा गाउँलाई मायामारेर त्यो दुर्घन्दीत शहरमा चोचीएर बस्नेअहरुको लागी यो धावा बोलेको छ । किनकी हामि शहरमा फसेको छौ । के हाम्रो जन्मभुमि गाउँहरु हामि शहर बनाउन सक्दैनौ होइन हामि पारखिका सन्ततीहरु ह्ौ हामिमा सहास उमंग उल्लास सबै छ । तर हामि कहिले आफ्नो गाउलाई सुन्दर बनाउने प्रयास गर्न सकेनौ । कहिले पैदाहोला हामिलाई अन्तरेलाई शरप्रति पैदा भएको बितृष्ण जस्तै सुधारात्मक बितृष्णा त्यो दिन कहिले आउने छ । हाम्रो जन्मभूमि त्यो सानो गाउँ त्यो दिनको पर्खाइमा दिनहरु बिताइरहेको छ ।
    लुना जी को कथा सारै राम्रो लागेको छ मलाई पनि लुना जीको अन्तरे कथाले साहित्य प्रति थोर बहुत भएको झुबावलाई अलिकति बढाउन सहयोग गर्ने छ ।
    [email protected]

  12. लुना जी धन्यबाद मीठो कथाको लागि,हजुरको कथा एउटा स्थापीत कथाकारको कथा झै स्तरीय छ| लेख्दै जानु होला मेरो तर्फबाट सफल्ताको शुभकामना छ|

  13. पातेले “यती खाप्न सक्छ भन्दै उचाली अन्तरेले दिउसै तारा देख्यो”
    म सोच्दै छु, पातेले त्यस्तो के उचाली कि अन्तरेले दिउसै तारा देखे ? लौ न लुना जि मलाई पनि दिउसै तारा हेर्न मन लाग्यो तर दु:खको कुरा यो पल म सँग मेरी पाते छैनन।

  14. जि [लुना]
    लेखन कार्य जारिरहोस् !
    प्रगती को शुभ कामना !!

  15. जि [लुना]
    लेखन कार्य जारिरहोस्
    प्रगती को शुभ कामना

  16. छेउमै रातो भालेले छिर्केमिर्के पोथीलाई सिउरमा ठुङ्ग्न थाल्यो। पातेले ‘ हा!’ गर्दै धपाइन्। अन्तरे मसक्क मस्क्यो —। लुना जी का यि पङ्तिले साँच्चिकै वास्तविकता बोकेको छ जस्तो लाग्छ मलाई । साँच्चै नेपाली पहाडी मूलका मानिसहरुको अवस्था हुबहु यस्तै छ। भर्खर वैवाहिक जीवनमा बाँधिएका हुन्छन् उनीहरु । अनि आफ्नो यौवनलाई नजिकैका पशुपंक्षीहरु मार्फत उनीहरु छिल्लिने गर्दछन् खुलेआम यो प्रदुषित र गन्जागोल शहरमा जस्तो किस अनि आलिङ्गन बजुको अगाडी गर्न सक्दैनन् र त उनीहरु मसक्क मस्किन्छन् । जे होस यी पक्ति भने कथाको सबैभन्दा मलाई मन परेको पक्तिमा पर्दछन् ।

  17. लुना जि ,तपाइ का सुन्दर कबिता हरुले जस्तै तपाईं को कथा पनि प्रसस्तै मन छुने रहेछ। पाते र अन्तरे को चोखो माया ,बोजु को अपार स्नेह, गरिबि भित्र बाट देखिएका पैसाका सपना हरु, अनी सबै भन्दा माथि आफ्नै काठमाडौं ले भोगेको प्रदुशन र अभाभ हरु ,ई सबै को सम्योजन कथा मा सुन्दर रुपले मिलेको छ। फेरी फेरी पनि पस्कदै गर्नुहोला ,तपाइका सुन्दर भावना हरु शब्द हरु का मालाभित्र।

  18. yo madan kudari nabhaera maathaan kudari ho tyo gauko name yedi yo gaun tehi kavre ra raamechhapko simana tira ko bhane chahi sathi ho

  19. Luna Ji,

    Very nice & Well Presented story.

    May be you want to add final chapter on this story.

    “After Antare returned to village, emotional re-union + some romantic modes and they live happily ever after.. ”

    Keep it up…

  20. उस ।।।। उस्स ।।। उस्स्स ।।।।।।।।

    त्यो उ गरेर चैने
    एत्ती राम्रो कथा लेखेर पनि
    त्यो उ गरेर
    जानी नजानी लेखेको भनी दिने ?

    क्यानम ….
    आफुलाई त एस्को १०% मात्र लेख्न आएनी कस्तो न हुन्थियो जस्तो लाग्छ होउ क्यानम ।

    khathii कुरो चाँही के भनेनी ,,, एक्क्दम राम्रो छ सधैं लेख्ने गर्नु होला शनिबारिये शाहीत्य मा सुश्मा जि नै पोपुलर हुनुहुन्छ लौ त अब २ महिला भएर माइसंसार मा तहल्का मचाइ दिन पर्‍यो ।

    यो मदन कुदारी भन्ने गाउँ तेही काभ्रे र रामेछाप को सिमान निर कै हैनत लुन जि ?

  21. Thikai chha sabai nepalile janeko story ho. Desa bikas garne khalko, nepali lai ke hi garna prerana garne khal ko story future ma padhana pau. Keep it going up. God bless u

  22. कुइरेको देशमा कडा काम गरेर बसिराको मान्छे,बेलुका कोठामा फर्के पछी मेरो संसार हेरे पछी मात्र सुत्न जाने बानी परेको छ। आजको शाहीत्यीक खुराक अती मिठो लाग्यो।
    लुना जि निरन्तरता को शुभकामना!!!!!

  23. Really heart touching story.. i m impressed n thanks for using typical tamang language…it puts soul in the story..

  24. लुना जि

    परीपक्व कथा छ |अझै प्रयास गर्नुभो भने तपाईंको कथा साहित्यले तपाईंको कबितालाई भेट्न कुर्नु पर्ने छैन |कथा पढ्दा त्यही पुगे जत्तिकै सन्तुस्टी मिल्यो |
    .

  25. लुना जि मलाई तपाईंको कथा धरै नै मन पर्‍यो निकै नै राम्रो लेख्नु हुदो रहेछ । वास्तविक यथार्तलाई चित्रान्कन गर्नु खोज्नु भएको छ । वास्तवमा भन्नु पर्दा नेपालको हालत यस्तै नै छ ऐले को पारीबेशमा । यो क्रम जारी रखी राख्नु होला सफलताको पाइलाले सगरमाथा सिर चुमोस कामना छ । जे जस्तो भने पनि आखिर गाउ भनेको गाउ नै हो भन्ने कुरा पनि यहाँ प्रस्ट हुन्छ । आफु जहाँ भए पनि,उही तपाईं सँग धरै नै बादबिबाद भए को अपरिचीत भाई

  26. लुनाजी लाई सर्बपर्थम मेरो तर्फबाट धेरै भन्दा धेरै(मुरी मुरी) धन्यवाद। मलाई तपाईंको कथा साह्रै नै मन पर्‍यो। यो कथा पढेर मलाई आफ्नो ठाउको अनी घरपरिवार को अनी खानेकुराहरुको साह्रै नै याद आयो। एकदम मन छुने खालको कथा रहेछ। लुना जी फेरी पनि यस्तै यस्तै खालका कथाहरु लिएर उपस्थिती हुनुहुनेछ भन्ने आसा गर्दछु।

    Respectfully
    shiva sharma

  27. लुनाजी लाई सर्बपर्थम मेरो तर्फबाट धेरै भन्दा धेरै(मुरी मुरी) धन्यवाद। मलाई तपाईंको कथा साह्रै नै मन पर्‍यो। यो कथा पढेर मलाई आफ्नो ठाउको अनी घरपरिवार को अनी खानेकुराहरुको साह्रै नै याद आयो। एकदम मन छुने खालको कथा रहेछ। लुना जी फेरी पनि यस्तै यस्तै खालका कथाहरु लिएर उपस्थिती हुनुहुनेछ भन्ने आसा गर्दछु।

    Respectfully
    Dev sharma

  28. लुनाजी अती उत्तम कथा । गाउको थेत शब्दहरुको प्रयोगले कथालाई परिसक्रित गरेको छ। मेरा त आँखाबाट आशु पो झरे त। लेख्दै जानुस् ल।

  29. लुना जी , तपाईको कथा वास्तवमै अत्यन्त मर्म स्पर्शी हुन्छ……..तपाइले चुनेको बिषयले दुबैथरि पाठक लाइ संतुस्ट पार्छ जसले हाँसो खोज्छ उसले हाँसो पाउछ जसले समबेदना खोज्छ उसले त्यों नै पाउछ ! अनि अर्को तपाइले चयन गर्ने शब्दहरु त झन्दै हाम्रो सभ्यता अंगाल्ने बहानामा उदांगो भैरहेको समाजमा आफ्नो अस्तित्वबाट लोप हुन लागेको एक सिंगे गैंडा जस्तै छन समग्रमा तपाईको आगामी लेखको प्रतीक्षा छ है ………… अँ साच्चै भन्नै भुलेछु तपाईको अघिल्लो कथा को अन्त्य पनी सोंच भन्दा कोशौं टाढा को थियो ………र त्यति नै मौन ह्रदय बिदारक पनी …………………

  30. लुना जि
    धन्यवाद अतिराम्रो लघु कथा
    माइसन्सारका पाठकहरुलाई चखाइदिनु भएकोमा ।
    म त दोधारमा परे “लुना” नाम देख्नासाथ कतै यस ब्लोकमा कवि पस्काउने त्यहि “लुना” जि त हैन भनेर । तपाइले लेख्नुहुने कविको मिठास जस्तै यस लघु कथामा पनि मिठो मिठास पाए । सब्द सन्योजन अनि भाषा सैलि अत्यन्तै राम्रो लाग्यो अनि परिवेस तथा घटना क्रमका साथै कथासैलि अति उत्तम लाग्यो । सुनि रहुन् जस्तो लाग्यो । अर्को पनि यस्तो मिठो कथाको आशाका साथै तपाइको प्रगतिको कामना गर्दछु ।

  31. मोलाई ता यो काथा धेरै मान परो भान्छा| लुना जी धन्यबाद मीठो कथाको लागि,हजुरको कथा एउटा स्थापीत कथाकारको कथा झै स्तरीय छ| लेख्दै जानु होला मेरो तर्फबाट सफल्ताको शुभकामना छ|

  32. वा वा लुन जि हृदय देखी स-धन्यबाद। कथा एकदमै राम्रो छ गाउले पारीबेश र शहरको बस्तबिक एथार्थ। हाम्रो सामाजिक जनजिबनमा अहिले सन्जाल्को रुप्मा रहेको कुरिती सस्कार र रितिरिवाज अनी यो बिलासित जिबन लाई अली टाढा राख्ने हो भने गाउले जिबन जस्तो सरल र सोच्छ अरु अन्य दुनियाँमा हुनसक्दैन, प्रकृतिले कल्कल बग्ने पानी,सोच्छ हावा, बिसादी मुक्त आफ्नैबारिको तरकारी र ३ पाने, सुखदुखमा हास्ने रुने र खेल्ने जिबनसाथी। उहिले का हाम्रा बाजे पुर्खा हरु अस्पातलको मुख नहेरी र औषधीको नाम मा रुपैयाँ खर्छ नगरेर ९० १०० बर्षको जिबन बचेँ । लुना दिज्यु तपाईंका यसभन्दा अगाडि को कथाहरु नि पढ्नापाए हुने, मैले त मेरोसन्सार हेर्न थालएको भर्खर मात्र हो, जे होस् अबका दिनहरुमा नियमित लुना दिजुको साहित्य पढ्न पाउने आशामा

  33. कथा सारै नै राम्रो छ, शुद्द नेपाली भाषा को प्रयोग, अनि शहर मा बढ्दै गएको प्रदुषण को यथार्थ चित्रण । समग्रमा भन्नु पर्दा यथार्थपरक| 🙂 लुना जी लेख्दै गर्नु होला निरन्तरता को अपेक्षा गर्दैछु …..

  34. Its the good story which smells our village I appriciate it and suggest the write to write the story like this again.

  35. लुनाजी,

    माइसंसारका पाठकवर्गलाई यो अन्तरे नामक छोटो कथा पस्किदिएर प्रशंसनीय काम गर्नुभएको छ। यसो भन्दा जयजीको नियमित साहित्यिक सिर्जना म भुल्दिनँ।

    कथामा पात्रहरूको बोली मार्फत् आञ्चलिकता प्रदान गर्न सफल हुनुभएको छ। अन्तरे, पाते र बोजूको बोलाइले मलाई मेरो गाउँघरको बसाइको याद दिलायो। बानी नपरेकालाई गाउँले बोलीचालीको भेउ पाउन बेलाबखत गाह्रो हुन्छ, म आफैले भोगेको छु।

    हिज्जेमा राम्रो ध्यान दिएको देखिए तापनि एकाध ठाउँमा मिलेका छैनन् ― कतै बोजू छ त कतै बोजु। त्यस्तै बोलीको नेपाली रुपान्तरण गर्दा प्रयुक्त कोष्ठ कतै बन्द गर्न छुटेको छ। टंकनको समस्या अनि कम्प्युटरमा नेपाली हिज्जे सच्याउने सफ्टवेयर नहुनुले पनि यसो हुन गएको हो भन्ने मेरो ठम्याइ छ।

    मलाई यो कथाले मैले सुन्दै आएको तर ध्यान नदिएको शब्द बानले तिर्मिराइदियो। रक्सी पार्दा गाउँले दिदीबहिनीहरूले यो शब्द प्रयोग गरेको त धेरै पटक सुनेको थिएँ तर हिज्जे भने याद गरेको थिइनँ, मलाई लाग्थ्यो त्यो शब्द भान हो कि भनेर। हुन सक्छ यसमा पनि आञ्चलिकताको कारणले फरक भएको। अहिले मसँग नेपाली शब्दकोष पनि छैन यकिन गर्नको लागि। अर्को शब्द मोर्चाको सट्टा मर्चा जस्तो लाग्छ।

    कथामा गाउँले परिवेश सुक्ष्म तवरले प्रस्तुत गरिएको छ। काठमाडौं शहरको निस्सासिंदो वातावरणको पनि झल्को पनि दिन सफल छ यो लघु कथा भने यसमा फ्लैशब्याकको (नेपाली शब्द मलाई याद भएन, माफ पाऊँ)प्रयोग पनि सुरुचिपूर्ण छ।

    आगामी दिनमा पनि तपाईंको सिर्जनाको अपेक्षा गर्दै बिदा हुन्छु।

    उही शुभेच्छुक,
    देशरुप

  36. Katha ramro lagyo.

    Jajarkotma chhada kodoko dhidho, Jhaprakholako machhako tarkari ani timurko chhop kahile kahi sihnuko tarkari aha kati mitho hunthyo tyo khana birsanai na sakine.

    Indra Chhetri

  37. Katha ramro lagyo. Kodoko dhidho, sishnuko tarkari ani timurko chhop ko samjhana ayo kati mitho swad chha hamro afno khanama hoina ra? Nutrion value pani ta ramrai chha.

    Indra Chhetri

  38. i am not a writer, so i dont thik i deserve to comment negative. but still i felt that the way story flows, once antare gets to kathmandu, is little bit monotonous

  39. ओहो,मदनकुडारी गाऊ को कथा कती राम्रो !सुनी रहू जस्तो|

  40. तपाईंभित्रको कथाकार वयस्क भै सकेको प्रमाण दियो यो कथाले । मेरो अन्दाज गलत छैन भने यो तपाईंको चौथो कथा हुनुपर्छ । तपाईंको यो हौसला कायम रहोस् – शुभकामना !

Comments are closed.