टेस्ट्युब बेबी र मेरी प्रेमिका

-अनमोलमणि-

रात छिप्पिँदै बिस्तारै कालो बन्दै गइरहेको छ। बहिर कुकुर कराएको सुनिन्छ। पर कतै मोटरको मधुरो आवाज पनि आइरहेको छ। ठीक त्यही वेला मैले आफ्नो कोठाको कम्प्युटर अन गरेँ र टेलिफोन लाइन थुतेर इन्टरनेट जोडेँ। शायद यो त्यस्तै राति बाह्र बजेको समय हुनु पर्छ।

म यतिखेर इन्टरनेटमा बस्नुमा यौटा रमाइलो सन्दर्भ छ। पछिल्ला दिनमा मैले रमाइलो च्याट पार्टनर फेला पारेको छु। उसका अभिव्यक्ति मलाई निकै मन पर्छन्। यति चाखलाग्दा हुन्छन् कि म ऊबाट धेरैथोक सिकिरहेको अनुभव गर्छु। उसका कुराहरु जति चाखलाग्दा हुन्छन्, उत्तिकै अचम्मलाग्दा पनि। उसैसँग कुरा गर्न म आज पनि यो मध्यरातसम्म बसेको छु।

यो च्याट पार्टनर किन अचम्मलाग्दो छ भन्ने कुरा मैले बताउनै पर्छ। उसले मेरो ‘एड’ कसरी पायो मैले सोधिनँ। मलाई त्यो त्यति ठूलो चासोको विषय पनि बनेन। तर उसैले मेरो इमेल उसको ‘एमएसएन’ मेसेन्जरमा पहिले एड गरेकै हो। त्यसपछि मात्र मैले उसको आइडिलाई स्वीकारेर ओके गरिदिएको हुँ। किन पनि भने मलाई च्याट पार्टनर बढाउनु थियो मैले ओके गरिदिएँ। त्यसपछि हाम्रो च्याट सामान्य रुपमा शुरु भएको हो।

शुरुकै दिनमा उसले मलाई अचम्म पारेको थियो। मैले उसको नाम सोधेको थिएँ जब ऊ मेरो मेसेन्जर बक्समा अनलाइन देखिएको थियो।

त्यसपछि उसले आफ्नो परिचय दिँदै भनेको थियो-‘म टेस्ट्युब बेबी हुँ। माने टेस्ट्युब छोरो हुँ।’
मलाई शंका लाग्यो तत्काल सोधेँ-‘तिमी कम्प्युटर ह्याकर त होइनौ?’

‘अहँ होइन होइन , सत्य होइन’ उसले उत्तर दियो-‘आत्तिनु पदैन।’

‘सत्य सत्य म टेस्ट्युब बेबी हुँ, तिमीले पत्याएनौ?’ उसले तुरुन्तै लेख्यो।

त्यसपछि हाम्रो सम्बन्ध विस्तारै चौरको दुवोजस्तो गाँजिदै र बढ्दै गएको बयरको पोथ्रो जस्तो झाँगिदै गएको थियो।

इन्टरनेट कनेक्सन भएको एकै छिनमा एमएसएन साइन इन भएको संकेत गर्‍यो। उसले अघिनै साइन इन गरिसकेको रहेछ।

सञ्चै छौ?’, अंग्रेजी वर्णलाई रोमन नेपाली बनाएर उसले पहिले लेख्यो।

‘ठीक छु’ सरल नेपाली कै लवजमा मैले उत्तर दिएँ। यसैगरी हाम्रो च्याट गफ क्रमश बढ्दै गयो।

‘दिनहरु कसरी बित्दैछन्?’-मैले लेखेँ।

‘त्यसरी नै जसरी हिजोका दिनहरु वितेका थिए’ टेस्ट्युब छोराले उत्तर फर्कायो-‘अर्को एउटा दुःखदायी दिनको सूर्यलाई जन्माउन एउटा दिनको सूर्यको हत्या गरिरहेको छु। प्रत्येक दिनको हत्या गर्दै म दिन बिताइरहेको छु।’

उसका कुराहरु मलाई दार्शनिक लाग्थे। उत्तर आधुनिक दर्शन बोकेको कुनै व्यक्तिजस्तो लाग्थ्यो उसको व्यवहार। लेखेँ-‘तिमीसँग गफ गर्न पाएकोमा म धेरै खुशी छु।’

‘तिमीले किन आफ्नो नाम टेस्ट्युब बेबी राखेको भन्न सक्छौ?’ मैले उसको प्रतिक्रियाको प्रतीक्षा नगरी अर्को प्रश्न तेस्र्याएँ।

‘टेस्ट्युबमा वीर्य र डिम्ब घोलेर जन्माइएको हो मलाई। त्यसैले मलाई जान्नेहरु टेस्ट्युब बेबी भन्छन् मलाई’ उसको बिना हिच्किचाहट जवाफले ऊसँगको मेरो गफ झन् फरासिलो बन्दै गएको थियो।

‘तिमी विज्ञानको प्रगति रहेछौ, तिमीसँग गफ गर्न पाएकोमा म औधी खुशी छु टेस्ट्युब छोरा’ मैले निकै खुशी दर्शाएँ।

तर मेरो अपेक्षा विपरीत उसले उत्तर दियो-‘तर विज्ञानको प्रगति भएर जन्मिनु परेकोमा म चाहिँ साह्रै दुःखी छु।’

जन्मिनुमा मान्छेहरु किन दुःखी हुन्छन्? मैले अचम्म मानेँ। र उसलाई पनि मेरो मनमा जे लागेको थियो त्यही कुरा सोधेँ। साथमा केही आश्चर्यका संकेत चिन्हहरु पनि पठाएँ।

‘म आफ्नो जन्मप्रति होइन, त्यसरी जन्मिनु परेको प्रति दुःखी छु’-उसले थप प्रष्ट पार्‍यो।
म केही अचम्मित भएँ। केही जिज्ञासु भएँ। विज्ञानको प्रगतिबाट संसार हेर्न पाएको टेस्ट्युब बेबी किन यसो भन्दैछ मैले बुझ्न सकिनँ। सोधेँ-‘किन तिमी यसमा साह्रै दुःखी छौ?’

‘हो’, उसले भन्यो ‘सबैभन्दा दुःख मलाई मेरो बाबु आमा नखुट्टिएकोमा छ।’

उसले आफू गम्भीर भएको केही संकेत चिन्हहरु पनि सँगै पठाएको थियो। म उसलाई केही सोध्न चाहँदै थिएँ । उसले त्यही कुरा लेख्यो-‘म आज तिमीलाई मेरो वास्तविक कथा सुनाउँछु, सुन्छौ?’

यदि तिमीलाई गाह्रो पर्दैन भने’-मैले सहानुभूतिसहित लेखेँ।

‘सुन सत्य कुरा बताउन कुनै गाह्रो हुँदैन। जो सत्य कुरा बताउन गाह्रो मान्छन् ती कपटी हुन्। तीसँग इष्र्या र द्वेष बाहेका केही हुँदैन’, उसले भन्यो-‘उनीहरु (अहिले म जसको छोरो भएर बसेको छु) ले प्रेम विवाह गरेका थिए। उनीहरु दुवै कलेजका प्रोफेसर हुन्। तर उनीहरुबीच छोराछोरी जन्माउने विषयमा मतान्तर रहेछ। यो प्रमाण मैले अहिले भेटेको छु। त्यसैले टेस्ट्युबमा घोलिएको डिम्ब र वीर्य अर्कै आइमाइको पाठेघरमा गर्भाधान गरेर म जन्मिएँ। अर्कै आइमाइमार्फत मेरो बाबु (जो मलाई छोरो भनिरहेको छ) को पालन पोषणमा आएको हुँ।

अहिले मेरा बाबुसँग उसकी श्रीमती छैन। उसलाई छोडेर गइसकी।’

उसको कुराले मेरो मथिङ्गल चकरायो। मैले केही बुझेजस्तो अनुभव गरेँ। केही नबुझेजस्तो अनभव गरेँ। उसको यौटै अभिव्यक्तिले मेरो मन भावुक भयो। ‘किन तिमी उदास त? तिमीसँग माया गर्ने बाबु त रहेछ नि?’ मैले लेखेँ।

‘म साइनोमा उनीहरुको छोरो हुनु परेकोमा दुःखी छैन’-उसले तुरुन्तै लेख्यो,’ हो उनीहरुबाट सक्दो माया पाएको छु।’

‘अनि अरु के भयो त?’ मैले जिज्ञासा राखेँ।

‘आफ्नो पाठेघरमा (प्राकृतिक) गर्भाधान नगराएर भ्रुणको जन्मन पाउने अधिकार हनन् गर्ने प्रकृति विरोधी आइमाइ (हरु) प्रति म निकै दु:खी छु’, उसले आफ्नो दुखेसो पोख्यो-‘यो विखण्डन र प्रकृतिविरोधी काम विज्ञानले गरेको हो र मैले त्यो पत्ता लगाएँ।’

‘कसरी आइमाइ असक्षम पनि त हुन सक्छे’ म थप जिज्ञासु बनेँ।

एकै छिन है’, उसले लेख्यो। मैले उसका अभिव्यक्तिहरु पर्खिएँ। र एकै छिनमा एउटा स्क्यानिङ म्याटरको एटेच फाइल मेरो इमेलमा पठायो।

‘त्यो इमेलम मेरो बाबुलाई छाडेकी प्रोफेसर प्रेमी श्रीमतिले लेखेको चिठी छ । राम्ररी पढ, प्रमाण त्यही हो’, उसले लेख्यो-‘त्यो मैले मेरो बाबुको डायरीमा भेटेको थिएँ। स्क्यानिङ गरेर राखेको हुँ र यसलाई मैले एक्काइसोँ शताब्दीका युवतीहरुको भावना हो भन्ने बुझेको छु।’
मैले मेल खोलेँ। श्रीमान प्रोफेसरलाई श्रीमति प्रोफेसरले लेखेको पत्र थियो। निकै बेर पढेँ। पत्र यस्तो थियो-

प्रिय………
आ आफ्न तर्कमा अडिग रहेर हामी असहमत भयौँ। तिमीलाई मभन्दा तिम्रो वीर्य प्रिय लाग्यो। मैले सम्मान गरेको विज्ञानको प्रगतिलाई तिमीले घृणा गर्‍यौ। म मेरो पाठेघरमा गर्भाधान गर्न चाहन्न। तिमी टेस्ट्युब छोराको बाबु बन्न इन्कार गर्छौ। तिमी विज्ञानको प्रगति मुन्तिर आफू नंपुसक नभएको देखाउन चाहन्छौ। म मेरो पाठेघरमा गर्भाधान गर्न सक्षम भएर पनि विज्ञानको प्रगति उपभोग गर्न चाहन्छु। हामी देख्नका लागि श्रीमान् श्रीमति हौँ।तर आफू आफूमा स्वतन्त्र छौँ। त्यसैले म मेरो स्वतन्त्तताको पूर्ण प्रयोग गर्न चाहन्छु। म आधुनिकतामा डुब्न चाहन्छु। तिमी त्यसमा छट्पटाउँछौ।

प्रोफेसर अन्त्यमा,
यो पत्र लेख्दा साँझ परिरहेको छ।पश्चिममा घाम पहेँलो भएर डुब्दैछ। म हामीले प्रेम साटेको विश्वविद्यालयको हरियो चौरमा छु। केही विद्यार्थी हिजो हामीले प्रेम गर्दा अंगालिएजसरी नै यी पोथ्राइला रुखका फेदमा अंगालिएका छन्। म यतिखेर विवाह पूर्व र पछिका तिमीसँग बिताएका हरेक साँझ सम्झिरहेछु। हामीबीच असहमति गम्भीर रुपमा बढेपछि मैले एक्लै बस्ने निर्णय गरेँ र यो पत्र लेखेँ। यसलाई सुरक्षित राख। यही पत्रमार्फत् जानकारी दिन्छु-तिम्रो जन्म दिनको लागि यौटा राम्रो उपहार तयार गर्न लगाएको छु। त्यो टेस्ट्युब बेबी हो। तिमी जन्मिएको ३६ वर्ष पूरा भएको दिन मेरो उपहार टेस्ट्युब छोरो जन्मिएको ३६ हप्ता हुनेछ। र मेरो प्रेमको अन्तिम चिनो तिमीले त्यसैलाई स्वीकार्नु पर्नेछ। मलाई माफ गर, मैले तिम्रो प्रस्ताव स्वीकारेर मेरो पेट अस्वभाविक रुपमा बढेको देखाउन सकिनँ।
तिम्रो
प्रोफेसर श्रीमति

मैले चिठी पढिसकेको जानकारी गराएपछि उसले मेरो दिमागले नसोचेको कुरा गर्‍यो-‘अब तिमी आफ्नो वीर्य बेच्न जाँदैनौ?’

हाँसोको संकेत चित्रसहित मैले टेस्ट्युब छोरो नजन्माउने मेसेज सेन्ड गरेँ।

‘तिमीलाई थाहा छ ? अब शहरका क्लिनिकहरुमा दूध वा तेलका ट्याङ्कीजस्ता वीर्यका ट्यांकीहरु राखिनेछन्। मेरो उत्पादन त्यसैको संकेत हो’, टेस्ट्युब छोराले मेरो उत्तर बाहेकको तर्क गर्‍यो -‘र शहरका डाक्टरहरु वीर्य वेचेकै पैसामाथि सुत्नेछन्।वीर्य वेच्ने पुरुषहरु शिथिल भएर कालो पत्रे सडकमा आफ्नो मधुरो छाँया हेर्दै लठक् लठक् शिथिल हिँड्नेछन्।’

‘रमाइलो कुरा त अर्को छ केही समय पछि नै मेरा बाबुका श्रीमतीजस्ता आइमाइहरु (युवतीहरु) शहरका क्लिनिकमा योनीको प्लास्टिक सर्जरी गर्न लाम लाग्नेछन्। र डाक्टरलाई उनीहरु भन्नेछन्-‘ˆफ्याँकिदेऊ डाक्टर मेरो पाठेघर फ्याँकिदेऊ। मसँधै कुमारी बस्न चाहन्छु।’ क्लिनिकहरुमा पाठेघर झिकेर फ्याँक्ने महिलाहरुको लाम लाग्नेछ। प्रत्येक पक्की र शीशाले बेरिएका घरहरुमा विज्ञानको प्रयोगशाला बन्नेछ। त्यतिखेर अहिले जस्तो टेस्ट्युब बेबी जन्माउन कुनै अर्को महिलाको पाठेघर आवश्यक पर्ने छैन। प्रत्येक शीशाले वेरिएका घरका प्रयोगशालामा च्याँच्याँ गर्दै नानीहरु जन्मनेछन्, पोल्ट्रिफार्ममा चल्ला उत्पादन भएजस्तो। तर नानीहरुको पहिलो रुवाइले त्यतिबेला त्यहा कुनै स्वास्नीमान्छेको मन छुने छैन। तिनीहरु स्तन नझोलिएर टम्म हुनेछन्।’

‘श्रीमती/प्रेमीहरु टेस्ट्युब छोराकेँ बाबु बन्न इन्कार गर्ने पुरुषप्रेमी वा श्रीमान्को छातीको रौँहरु उखेलेर उनीहरु प्लास्टिकको बलबान पुरुष खेज्नेछन्।र, लोग्नेको छेवैमा तृप्त निद्रा सुत्नेछन्।’ यसपटक उसले निकै लामो अभिव्यक्ति लेख्यो। मैले उसका प्रत्येक अभिव्यक्ति ध्यान दिएर पढेँ।

मैले केही सोध्न नपाउँदै उसले फेरि लेख्यो-‘हेर अब यहाँ कोही कसैको स्वास्नी हुने छैन। कोही कसैको लोग्ने वा छोरा छोरी पनि हुने छैनन्। (मेरोजस्तो साइनो हुनेछ सबैको) प्रत्येक पुरुषले वीर्य बेचिसकेका हुनेछन्। प्रत्येक आइमाइले डिम्ब बेचिसकेका हुनेछन्। त्यसपछिका सबै केटाकेटी विज्ञानको प्रयोगाशालामा जन्मिने छन्। प्रयोगशालामा जन्मिने ती छोराहरु कुनै दिन टिमिक्क छाती बनाएर हिँड्ने डिम्ब बेच्ने ‘आमाहरु’लाई नै सम्भोगको प्रस्ताब राख्नेछन्।ती छोरीहरु वीर्य वेच्ने पुरुषहरु (चाहे उनीहरुमा तिनकै वीर्य मिसिएको किन नहोस्) लाई प्रेमको प्रस्ताव राख्नेछन् र निर्धक्क संभोगमा लिन हुन चाहनेछन्।र टेस्ट्युब छोराछोरीले भन्ने छन्-‘छैन तिमीसँग मेरो कुनै नाता छैन। म तिम्रो प्रेमी हुन सक्छु। तिमी र म लोग्ने स्वास्नी बन्न सक्छौँ। आऊ आजको रात सँगै सुतौँ।’ त्यसपछि मेरो बाबुका श्रीमतिजस्ता आइमाइहरु भावुक बन्दै फर्किएर छोडेका लोग्नेहरुसम्म आउने छन् र विज्ञानलाई प्रेम गरेको विगत सम्झिँदै हिक्हिकाउने छन् बुढो प्रेमीको अंगालोमा जतिबेला बुढा लोग्नेका हड्डीहरु विस्तारै मक्किँदै कमजोर भइसकेका हुनेछन्। हेरिबस तिमी यी सबै सबै देख्ने छौ।’

उसले आफ्ना तर्कहरु लेखिरह्यो। कतिसम्म भने म उसका तर्कहरु पढ्न मात्र भ्याइरहेँ। तर पनि उसलाई सोधेँ-‘तिम्रो मतलब विज्ञानसँगको मान्छेहरुको प्रेम सत्यताको अन्तिम मोह हो भन्ने हो ?’

‘तिमीले ठीक भन्यौ। म तिमीलाई यही कुरा लेख्दै थिएँ ‘, उसले एकछिन पनि ढिलो नगरी लेखेको मेसेज मकहाँ आइपुग्यो-‘विज्ञानको प्रगतिको नाममा हजारौँ आइन्स्टाइनको मृत्यु त प्रारम्भ भइसकेको छ नि।’

मैले उसको कुरा अलिकति पनि बुझिनँ। सोधेँ-‘कसरी? तिमीले के भन्न खोजेको हो खासमा?’
‘ल तिमीले यति सजिलो कुरा पनि बुझ्न सकेनौ?’, उसले यौटा जोकर चित्र पनि मेसेजसँगै पठायो-‘कण्डम, निलोकन, डायफ्राम, नरप्लान्ट आदि छ नि, हो मैले यिनै परिवार नियोजनका साधनको कुरा गरेको हुँ जुन वीर्य र डिम्बको मिलनमा खलनायक बनेर देखिएको छ। विज्ञानको ‘गर्भ निरोधक प्रगतिले’ नजन्मँदै जन्मन सक्ने हजारौँ आइन्सटाइन, बुद्ध वा गान्धीहरु मारेको छ। परिवार नियोजनका यी सब अस्थायी साधनलाई भ्रुण हत्याको आरोपमा कारागार पठाउनु पर्छ। यो भ्रुण विनासको विकास विज्ञानले गरेको हो।’

उसले मान्छेहरु आधुनिकताको पाखण्डमा हिँडेको तर्क गर्‍यो। उसले लेख्यो-‘विज्ञानले सबैलाई बाँधिसकेको छ। चाहेर नचाहेर मान्छे त्यसको भासमा फस्दैछन्। शुरुमा त्यसले रमाइलो दिइरहेको छ तर मान्छेको समवेदना, हार्दिकता र अनुभुतिहरुमा यसले विस्तारै डढेलो लगाउँदै छ।’

त्यसपछि अकस्मात मेरो कम्प्युटरमा इन्टरनेट डिस्कनेक्ट भयो। हामीबीचको संवादलाई त्यसले टुक्र्याइदियो। विज्ञानको प्रगति कहिलेकाहीँ यस्तै हो भन्ने सोच्दै मैले पुनः कनेक्ट गरी साइन इन गरेँ।तर ऊ अनलाइन थिएन। ऊसँगका कुराहरु मैले सेभ त गरिनँ तर उसले एटेचमा पठाएको श्रीमति प्रोफेसरको चिठी भने अझै मेरो इमेलमा छ।

आज पनि म मेरो कम्प्युटरअघि बसेर यो कथा लेखिरहेको छु। आफ्नो एमएसएन साइन इन मै छ। केही मेरा साथीहरु अनलाइनमा छन्। तर ऊ मेरो अनलाइनमा छैन। तै पनि मसँग प्रतीक्षा छ। र उसको सम्झनामा यो यौटा कथा छ।

कथा लेख्दै गर्दा म यतिखेर मेरी प्रेमिका सम्झिरहेछु। जो दिनभर साइबर क्याफेमा छिरेर च्याटमा कुरा गर्दै कुनै च्याट पार्टनरसँग छिल्लिन्छे र हरेक साँझ मसँग अँगालिन आउँछे। र भन्छे-‘अनमोल, जन्माउन्न म कुनै सन्तान जन्माउन्न। खेप्न सक्दिन म गर्भको पीडा। र सक्दिनँ लालाबाला खेलाएर दिन बिताउन। त्यसप्रति कुनै मोह छैन मलाई। बस म तिमीलाई प्रेम गर्छु।’

म केही भन्न सक्दिनँ मेरी प्रेमिकालाई। टेस्ट्युब छोरासँगको च्याट गफ मैले कहिल्यै उसलाई सुनाइनँ। शायद उसले त्यसमा सहमति जनाउँदी हो वा नपत्याउँदी हो। टेस्ट्युब छोराले सुनाएको कुरा पनि म मेरो भाषामा सुनाउन सक्दिनँ। कतिसम्म पनि भन्न सक्दिनँ भने-‘तिमी नारी हौ। तिमी आमा हुनुपर्छ।एउटी स्वास्नीमान्छेका लागि जिन्दगीको सबैभन्दा सुखद क्षण प्रसव पीडाको क्षण हो।जहाँ पीडाभित्र पनि खुशी हुन्छ। जहाँ पीडाभित्र पनि मीठो आनन्दबोध हुन्छ।’

उसले जितेकी छ मलाई हरेक कुरामा। पत्रपत्रिकामा टेस्ट्युब बेबीको समाचार पढेपछि एक साँझ उसले पनि लाडिँदै भनेकी थिइ-‘हामी पनि टेस्ट्युब छोरा जन्माउन है।’ र केही बेर लजाएकी थिई।

मैले केही पनि उत्तर नफर्काएपछि ऊ अझै लाडिएर झन् नजिकिएकी थिइ र भनेकी थिइ-‘हुन्छ भन्या?’ -मेरी प्रेमिका जसको छाला साह्रै गोरो थियो। तर चेतना त्यति गोरो हुन सकेको थिएन। यतिखेर शायद आफ्नै गर्भको छोरो खेलाउँदै होली कतै )

तर त्यतिखेर मैले उसको प्रस्तावमा असहमति जनाउँदै ओठको ल्याप्चे उसको गालामा टाँसिदिएर भन्न सकिनँ-‘मलाई माफ गर प्रिय, म टेस्ट्युब छोराको बाबु बन्न सक्दिनँ।’

(कर्नेसन, धुवाँ र तिम्रो झझल्को संग्रहबाट)

57 Comments

  1. Im amazed how this story got so many good comments.

    मेरो बिचारमा यो कथा, लेख्नको लागि केही राम्रो बिषयबस्तु नपाएर, एउटा राम्रो प्रबिधीलाई वाइयात emotions को आडमा कती न different point of view मा देखाउन खोजेको हो।

    राम्रो कुरालाई स्विकार्ने बानी गर्नु पर्छ। This technology is like a blessing for so many couples. Those of you who like this story, i feel sorry for you that you have not learnt to appreciate what science has done for you. You should feel lucky that you are born in this era.

  2. कथाको सन्देश मार्मिक छ ।
    समाज भए पछी त्यहा टुहुरा नानीहरु त भ ई नै हाल्छन बिभिन्न कारण ले । अब नानी जन्माउन नसक्ने दम्पती हरुले टुहुरा नानीहरुलाई धर्म सन्तान को रुपमा ग्रहण गरे देखी टेस्टयुब बेबी जन्माउनु पर्ने आबश्यक्ता नै पर्दैन । टेस्टयुब बेबिको मनस्थिती कस्तो हुन सक्छ भोली गएर त्यसलाई असाध्यै मार्मिक सँग यो कथाले बुझाउन सफल भएको छ ।
    साथइ भोली यदी त्यस्तो समाज निर्माण भयो भने कती सम्म को बिक्रिती म य हुनेछ हाम्रो समाज त्यसको अग्रिम चित्रान्कन गर्न कथा सफल भएको छ ।
    सन्देश्शात्मक कथा पस्कनु भएकोमा धेरै धेरै धन्यवाद अन्मोलमणी जि । निरन्तरताको शुभ कामना हिर्दय देखी नै ।

  3. First, let me share my knowledge about test tube baby:

    Test tube baby means a child born by the fertilization of an ovum by a sperm in the semen externally i.e. not within the body of a female, not exactly in a test tube, as we commonly assume by its name. It simply refers to external specific laboratory conditions. And after the fertilization takes place, the fertilized ovum is usually transplanted to the uterus of the same female and she then gives a normal natural birth. But under certain conditions, as stated in the story, when the female does not desire to give a birth herself, then it may be transplanted into a so called ‘surrogate mother’. No doubt, ‘test tube baby’ is surely a great scientific achievement, and is helping a lot of couples having problems related to child birth. But still, there are a lot of complications that can occur and the result can sometimes be truly unexpected.

    So i think there are no chances of babies being born in labs even in the future, as stated in the story by Anmol jee. Anything against the nature always brings problems. Not even science can do anything regarding it. God has created a highly complicated yet special mechanism of natural childbirth by a female and therefore will last forever.

  4. मानसिकता हुन्छ आइमाईको भन्छन | बिज्ञानको बिकासले प्रसब पीडा बिना यानिकी ल्याब टेस्टयुब बेबी (महिलाको पाठेघरमा राखनु नपर्ने गरि ) संतान बनाउन सकिये मा सबैले खुसी मनाउनुं पर्ने हो होइन र? यीनै पिडाहरु अनि तेस्पछि आउने स्वस्थामा खराबी ले कत्ति आमाहरू हरुको जीबन को प्रगति मा बाधा आएको छ अनि आफु छोरी भएर जन्मेको मा अभागी ठान्छ्न

  5. म साहित्य पढ़ने पाठकहरू मध्य अत्यन्त कम साहित्य पढ़ने पाठक हु. विज्ञान कथाहरुमा सरुभक्तका कथाहरु मन परौथें . धेरै पछि बिज्ञान कथामा नया हस्ताक्षेर पढ्न पाए. खुसी किन नहुनु र. मलाई कथा बस्तु देखि सैली सारे मन पर्यो. कथा पढ्दा महिलालाई अलिक घोच्न सक्छ चसक्क. तर कथामा भएको सैलिगत मिठास, कौतहलता र उत्ताराधुनिक सम्येकलीनताले पाठकलाई छुईरह्न्छ कथा सकियेछ भन्ने पत्ता नलागुन्जेल. एस्तई अरु कथा पढ़न पाए हामी अझ रामौने थियौ. कथाकारलाई साधुबाद.
    शरद बाटाजू
    ब्रिसबेन अस्त्रेलियाबाट

    • मलाई कथा राम्रै लाग्यो / आधुनिक संसारमा असम्भब के छ र / कथाकारले नारी लाई अलि होच्याउन खोज्नु भएको जस्तो लाग्यो / नबिर्सनुस है प्रेमिका मात्र नारी हैन तपाई को आमा,दिदि,बहिनि,श्रीमती सबै नारी नै हून / टेस्ट ट्युब बेबी नराम्रो हैन संस्कार नराम्रो हो / दम्पत्ती बिचको सहमतीबाट टेस्ट ट्युबमा जन्माउने र संस्कार तथा आफ्नोपन दिने हो भने सबै टेस्ट ट्युब बेबी अरु बच्चा सरह जीवन बिताउन सक्छन / अरुका बाबु आमा सरह आफ्ना बाबु आमालाई माया गर्ने हुन सक्छन /

  6. Nice story… aaja dherai din pachhi balla My Sansar ma kunai katha purai padhe ani ramro pani lagyo…. keep it up….

  7. राम्रो प्लट कथाको . क़ल्पनासिलता ज्यादै उर्बर. scienc ले प्रगति नगर्ने त कुरै भयेन . तर सम्भाबित समस्याहरु को सामनाका उपायहरु पनि science ले बिकास गरोस . क़िनभने न्युटन का अनुसार “Actions and reactions are equal and opposite”.कथाकारलाइ धन्यबाद / माइ सन्सारलाइ पनि/

  8. “एउटी स्वास्नीमान्छेका लागि जिन्दगीको सबैभन्दा सुखद क्षण प्रसव पीडाको क्षण हो।जहाँ पीडाभित्र पनि खुशी हुन्छ। जहाँ पीडाभित्र पनि मीठो आनन्दबोध हुन्छ।”—–???????
    महिला को जिन्दगीको सबैभन्दा सुखद क्षण भन्नु भएकोमा म सहमत हुन सकिन | खोई कसरी पुरुसहरूले महशुस गर्न सक्छन हाम्रो आनन्दबोध/ दुःखबोध तर बच्चा बनाउने या नबनाउने भन्ने महिलाकै ब्याक्तिगत चाहाना को कुरा हो| संतान प्रेम् प्राकृतिक हो तर तेहि नै जीबन को चाहना र लक्ष पक्कै होइन| परंपरागत रुपमा महिला हरु पुरुसकै छहारी मा बसेर उसको परिबार सारा अनि संतान को लागि आफ्नो जीबन लगओस भन्ने मानसिकता बोकेका पुरुसहरू आफु कंप्यूटर म च्याट गर्नु लाई बिज्ञानको उपयोग भन्छन अनि प्रेमिका को च्याट भने ” छिल्लिएको ” हुन्छ, यदी उसले पुरुसको च्याट लाई आपत्ति जनाएमा कसको सांगुरो मानसिकता हुन्छ आइमाईको भन्छन | बिज्ञानको बिकासले प्रसब पीडा बिना यानिकी ल्याब टेस्टयुब बेबी (महिलाको पाठेघरमा राखनु नपर्ने गरि ) संतान बनाउन सकिये मा सबैले खुसी मनाउनुं पर्ने हो होइन र? यीनै पिडाहरु अनि तेस्पछि आउने स्वस्थामा खराबी ले कत्ति आमाहरू हरुको जीबन को प्रगति मा बाधा आएको छ अनि आफु छोरी भएर जन्मेको मा अभागी ठान्छ्न थाहा छ ?? की महिलाले स्वतन्र्त्र भएर जीबन चलाएको हेर्न सकियेन जस्तो छ किन तेस्तो हुनु पर्यो र अझै त तेस्तो भा छैन नि ?? धित मरुन्जेल हेर्नुस हाम्रा पीडा पुरुस हरुलाई सुखद हुन्दो रहेछ ?? हामी महिला त तेहि दिनको पर्खाइमा छौं ल्याबमै बच्चा बनाउन सकिओस, कसैलाई पीडा नहोस| अरु धेरै आनन्दबोध का बिकल्प हरु छन हामी संग|

  9. उत्तम अति उत्तम सर्बोत्तम…..
    धेरै घत पर्यो कथा पढेर,धन्यबाद.
    आषिस
    स्विस

  10. कथा रम्रो लग्यो र आबका दिनमा हुन सक्ने च्हन यस्तो,

  11. कथा सारै मेीठो लाग्यो
    सबै नारि कथाकि पात्र जस्ता हुन्दैनन्
    एउटेी नारिलाइ आमा बन्ने र अफ्नो सन्तानलई
    मात्रिस्नेह दिने कुरामा गार्हो महशुस हुनु स्वभाविक मान्न सकिन्न.

  12. बैग्यानिक प्रगतिले एस्ता दिन हरु पनि नल्यऔला भन्न त सकिन्न,तर पनि नारि पात्र मात्र बडी सम्बेदन हिन देखाएको अलिक मन परेन.

  13. साहै राम्रो अति उत्सुता कि नया पिधि लाइ चुनौति को रुप मा प्रकासित् कतै बैग्यानिक् हरुले गरेको अबिस्कर मा गल्तिपो भैरहेको होकि? धन्यबाद

  14. मेरो सनिबार धेरै राम्रो भयो
    very good story
    thanks for sharing

  15. कथाको मर्म बुज्हेर कमेन्ट गरौ साथि हो .
    के टेस्ट ट्युब बेबि जन्मौदा बच्चाको पालन पोसण गर्ने बाबुले पित्रि सुख पाउछ ? त्यो भन्दा पनि ठुलो कुरा जब त्यो बच्चाले सत्य थाहा पाउछ अनि उस्को मनमा के कुराले डेरा जमाउन थाल्छ भन्ने कुरा यहा बताउन खोजेको जस्तो मलाई लागेको हो . तपै आफै आफुलाई त्यो ठाउमा राखेर ५न मिनेट सोच्नुस, अनि कमेन्ट लेख्न बस्नु होस .

  16. मलाई पनि कथा सारै मन पर्यो,धन्यबाद! लेखक ज्यु ळाई|

  17. Very Good, i enjoyed reading it very much. It is true that the new tecnology has both the good and bad hands. Thank you so much for the write and keep it up for coming days.

  18. Generally I can’t read a story or fiction to the end. I had not any plan to end it when I started reading it. As I read the frist paragraph, I could not stop untill it ended. Excellent!

    Thanks for such a Creation.

  19. katha badhi kalpanik chha ho test tube baby janmaune prabidhile dherai nisantan dampatilai bardan sabit garidiyako chha. hareko kurako positive negative pachha hunchha tara tapaile test tube baby kasari janminchha vanne kura nai ramrari adhyan nagari lekheko jasto lagyo. kina vane yo ta bahira faertilize gare pani kehidin pachhi pathegharma nai rakhera 9 month pachhi janmaune kura ho tesko pani medical norma vale ra ethics chha teslai pani adhyan garne ki?bigyan prabidhi lai misuse garnu hunna manabiya hitma prayog garnuparchh vanne kura ta chha dai chha tara lekhakle chai ali badhi nai kalpanik kura garnu vo.yo kathale jo badhyata bas janmaiyaka testtube baby haruko atmasamman ma pani chot puyauna sakdachha. feri lekhak le mahila harulai aimai vanera asavya vasa prayo garni vaykoma dukh lagyo,

  20. आन्मोल जि , लेख राम्रो लग्यो तर विज्ञान को प्रगति ले हाम्रो समाज यस्तै हुनेहो भने त पचाउन सकिदैन होला ? यस्तै गरि बराबर पढन पायिने छ

  21. Hiya,

    story is very nice and wanna commmet as well,
    may be its a story but its a kind of reality.
    Testube baby is common in these days. it doesn’t mean its a bad things. science is great and its great opportunity to have baby those who don’t have baby in reality.
    so i am taking this subjcet matter easy, i don’t have any negative concapt having testube baby…..

    sirju

  22. विज्ञानको ‘गर्भ निरोधक प्रगतिले’ नजन्मँदै जन्मन सक्ने हजारौँ आइन्सटाइन, बुद्ध वा गान्धीहरु मारेको छ।
    त्यसो त Bin Laden, Hitler जस्ता हरु पिन त मारेको छ।
    Anyways different story.

  23. ओहो अति राम्रो लाग्यो!मलाई लाग्छ….,आधुनिक मान्छे बन्ने रहर माँ कतै मानिस हरुले प्राकृतिक नियम लाइ दुषित बनाएर अर्थात मानिस का अशिमित र दरिद्र इच्छा लाइ पूरा गर्ने बेहोसी होडबाजी मा आफ्नो ख़ुशी र सजिलो का लागी अर्का को पाप गरिरहेको त छैन?धेरै राम्रो लाग्यो आलोक जी,कृपया लेख्दै गर्नु होला!याहा लाइ धन्यबाद! ज्योति क्षेत्री-बेल्जियम बाट

  24. बास्तबमा टॅस्ट-ट्युब बेबि प्रयोगसाला मा नै टॅस्ट्-ट्युबलाइ राखेर जन्माइन्छन कि ovum lai test tub मा fertilized गरायेर महिलाको पाठेघरमा राखेर बिकसित गरइन्छ् र जन्मइन्छ्?कथामा उल्टो लेखियेको छ वा मैले उल्टो बुजेको छु?क़ृपया बुजेका साथिहरुले लेखिदिये आभारि हुने थिये

  25. Yo bastabikta hoina, ra sayad kahilai nahola,1-2 ghtana lai yasari jodera, faltu ka kura lekhi sahitya chatnu thik hoina..

    Anmol jee le aphnai ama didi bahini haru sanga yasko niroparan garne ho ki…

    padna naramailo lagyo…chaaaaaaaaayyyyyyaaaaaaa

  26. Anamol G thank you for such a beautiful story. The story u have written is very much realistic……प्रयोगशालामा जन्मिने ती छोराहरु कुनै दिन टिमिक्क छाती बनाएर हिँड्ने डिम्ब बेच्ने ‘आमाहरु’लाई नै सम्भोगको प्रस्ताब राख्नेछन्।ती छोरीहरु वीर्य वेच्ने पुरुषहरु (चाहे उनीहरुमा तिनकै वीर्य मिसिएको किन नहोस्) लाई प्रेमको प्रस्ताव राख्नेछन् र निर्धक्क संभोगमा लिन हुन चाहनेछन्।र टेस्ट्युब छोराछोरीले भन्ने छन्-’छैन तिमीसँग मेरो कुनै नाता छैन। म तिम्रो प्रेमी हुन सक्छु। तिमी र म लोग्ने स्वास्नी बन्न सक्छौँ। आऊ आजको रात सँगै सुतौँ।’ These word of your story is really much realistic which are taken as very much sensitive in context of country like Nepal.

    This story is really really mindblowing too. So, plz continue on same kind of realistic story which is the result of technology. I luv this story very much and it touched me. Thank you once again Anamol G.

  27. प्रभुको लिला अपरम्पार,,,हजार टाउको हजार बिचार |
    But I’m not against test tube baby.

  28. ” सबै पढे , धेरै धेरै राम्रो लाग्यो अन्मोल जि,तर के यो वास्तविकता मा हुन सक्छ र? के आजकल का सबै स्वास्नी मान्छेको चाहना यस्तै हुन्छ र… ”

    हैन, तक्दिर ब्रो, कमेन्ट लेख्ने बेलामा नेपालिको बट क्लिक गरेको भए माथिको जस्तो देखिन्थ्यो,पढ्न पनि सजिलो हुन्थ्यो, त्यति पनि थाह नभएरै हो कि कसो हो?

  29. sabai padhe , dherai dherai ramro lagyo anmol ji,tara ke yo bastabikta ma huna sakchha ra? ke ajkal ka sabai swasni manchhe ko chahana yestai hunchha ra…

Comments are closed.