भ्यालेन्टाइन्स डे

-कमन देवान-
शहर सडक बत्तीहरुलाई आफ्नो जिम्मा लगाएर सुतेको छ। दिनभरीको सवारी र पैदल पदचाप सहेर थकान मेट्न एक अर्काबीच काटाकाट गर्दै अस्तित्वमा आएका सडक भट्टी पसेका छन् यस बेला। दिनले विहान सम्मका लागि जिम्मा लगाएको दमकमा सम्भवत, एस.एल.सी. परिक्षाको तयारीमा जुटेका विद्यार्थी आ-आफ्नै ध्येयमा जागा हुन सक्छन्।

केही दुले चोरहरु सक्रिय हुन खोज्दै होलान्। कुनै रक्स्याहा लोग्नेको कुटाइ खाएकी पीडित महिला शरणको आशामा आफ्नो मिल्ने छिमेकीको ढोका ढक्ढकाइ रहेकी होलीन्। संयोगवस् कुनै परिवारमा अकस्मात केही परेर जागेका बाहेक नगरका वासिन्दा भुस निद्रामा छन् यति बेला।

दमक-बाह्रघरे जोड्ने सेतुमारी सडकको करिव डेढ सय मिटर दक्षिण, बाटोले पूर्व किनारामा पारेको पक्का घरको भुँइतलामा भर्खरै खोलिएको स्रष्टा छापाखानाको बन्द कोठाभित्र म छु, अञ्जान छ अनि हामी दुई बाट थपेर तीन पुर्‍याउन मन्त्री भाइ हाम्रो साथमा छ। पात्रका हिसाबले भन्नै पर्दा कम्प्युटरको स्क्रिनमा मैले प्रुफ हेरिरहेको प्रकास आङ्देम्बेको ‘बेश्यासँग बिताएको एक साँझ’ कथाका लागि तयार ‘माइकल’ शीर्षकको कथा पात्र माइकल पनि छ हामीसँग। रात निक्कै छिप्पिसकेको छ, उस्तै जोखिमपनि छ यसरी रात साँझ बस्नलाई।

हामी कथा भित्र छिरेका छौँ, त्यही माइकल बारेको कथा हो यो, जो प्रत्येक दिन दमकका चोक र गल्लीहरुमा जट्टा पालेर, फालिएका फोहर र सडेगलेका खानेकुरा टिपेर खान्छ डुल्छ। बोतल फुटाउँछ र सिसीको टुप्पोको नली जस्तो भागमा घरेलु गाँजा भरेर फुङफुङ उडाउँदै जहाँ पायो त्यहीँ सुत्छ। ठेट शैली छ कथामा, शाही कालको नगर निर्वाचनमा आन्दोलनकारी विद्यार्थीहरुले उसलाई मेयर पदका लागि उमेदवार बनाएको प्रसंग पनि छुटेको छैन। हामी बीच छिटफुट वार्तालाप र ह्रस्व दीर्घ हेर्ने काम चलिरहेकै छ।

“होइन, त्यो माइकललाई ज्ञानेन्द्र होइन…..मेयर पो बनाएको त आन्दोलनमा…..” म सम्झाउँछु अञ्जानलाई।
“ए….अनि पो केटाहरु उसलाई पशुहाटको ठेक्का पारिदिनु पर्यो हजुर भन्दै गिज्याउँदा रहेछन्……” अञ्जानले कौतुहलता मेट्यो आफ्नो।

रात लगभग एघार बजेबाट उक्लिँदै छ। त्यो रात फेब्रुवरी १४। हामीबाहेक सबै मुर्दा भएका ठानिएको सहरमा अचानक १ कुनै नारी रोदनको आवाज कर्कस बन्दै हाम्रा कानहरु भित्र छिर्छ र अनेकन डर, त्रास, संका, उपसंका आदिले भयभित हुन्छौँ हामी। यति राति, यस्तो अन्धकारमा, अखिर यसरी को रुन्छे ? किन रुन्छे ? कसले के गरेर कि के भएर रुन्छे ? यदि त्यो आवाज मान्छेको होइन भने के हो त्यस्तो मान्छे जस्तो रुने ? आदि आदिले हामी अझ डराउन पुग्छौँ। त्यो रोदन अझ चर्किन थाल्छ, डरले एक पोका हुन्छौँ हामी। थाहा छैन यतिबेला मुटु कतिके स्पिडमा बत्तिदैँ छ। के गर्ने के नगर्ने हमी अत्तालिएका छौँ। पस्ने निस्कने मात्र एउटा सटर छ त्यो पनि थोरै खुल्ला राखिएको। डरलाग्दो आवाज त्यतैबाट आइरहेको छ। मन्त्रीले खुसुक्कै मेरो कानमा भन्यो-“दाइ ! यदि त्यो किचकन्या नै हो, यतै आई र सटर खोलेर छिरी भने के गर्नु….-”

मैले प्वाक्कै भनिदिएँ-“के गर्नु र पालैपालो म्वाई खाइदिने नि !”

हामी कसैले धितमरुन्जेल हाँस्न पनि पाएनौँ। बाहिर तिरबाट घुँक्कघुँक्क आवाज आइरहेकै छ। क्याम्पसका धेरै साथीहरुलाई “म मसानघाट, चिहानघारी जहाँपनि रात रातभरी एक्लै बस्न सक्छु, नपत्याए बाजी राखौँ….” भनेर खोकेको पनि यहीबेला सम्झेँ। आखिर डर लाग्दैन भन्नुपनि त मर्दिन भन्नु जस्तै, डर नलागुन्जेल मात्र त रहेछ नि।

मन्त्रीले आँट गर्‍यो र थोरै खुल्ला रहेको सटरबाट त्यो निस्कियो बाहिर। त्यति आँट गर्न सकेनौँ हामिले। अञ्जानले मतिर फर्केर खुसुक्कै भन्यो-“आङ्देम्बेहरु सुरो भएरै पछि परेका होलान्। त्यो दाँया-बाँया, के हो कसो हो – केही नसम्झी बहादुरी देखाउन निस्किएको…….अहिले किचकन्याले च्याप्प समाउली र देख्ला बजियाले बाबुको विहे……….।”

तर यथार्थ उसले सोचे जस्तो भएन। डराउँदै बाहिर निस्किएको मन्त्री आश्चर्य र उत्सुकताका साथ फर्कियो। मैले उही खुस्खुसे चालमै सोधेँ-“के रहेछ…………!” उसले लामो स्वास तानिसके पछि भन्यो-“एउटी केटी र एउटा केटा रहेछन्। केटी बेलको फेदमा घोप्टो परेर सासारो रुँदै छे, केही बोल्दिन पनि। केटाचाहीँ त्यसलाई नरोऊ……., हिँड घर, तिम्रो ममीले पीर गरिरहनु भएको होला………..के-के भन्दै फकाइरहेको रहेछ। म पर्खालमा लुकेर कुरा सुनेँ सुनेँ र फर्किएँ।” बल्ल कुरो बुझियो, छेवैको गल्ली जो विकास मार्गसँग जोडिन्छ त्यसैको छेउमा छ बेलको रुख, त्यहीँबाट आएको। रहेछ त्यो त्रासपूर्ण आवाज। मैले बुझ्न सकिन, अञ्जानले किन त्यस्तो गर्न खोज्यो। ऊ जुरुक्क उठ्यो, छेवैमा प्लाइवोर्ड सेटिङ गरेर बाँकी रहेको करिब ३ फिट लामो काठको टुक्रा हातमा लियो र भन्न थाल्यो- “आधारातमा मसानघाटमा जस्तो तर्साउनेहरुलाई कुटेर मारिदिन्छु…….।” यति भनेर ऊ बाहिर निस्कन लागेको थियो मैले रोकेँ उसलाई। “खास कुरो बुझ्ने, त्यसपछि जे हुन्छ हुन्छ……….”

हामी फुत्त फुत्त निस्कियौँ। बाहिर गानगान-गुनगुन चलिरहेकै थियो। “तेरो न खानको टुङ्गो न बस्नको टुङ्गो, मैले शनिबारै भनेको थिएँ। तर तैँले मेरो बारेमा कहिले सोँचिस्……..- आज पनि तँलाई कहाँ कहाँ खोजिन र मैले……तर हेर तँ मलाई धेरै नरुवा बुझिस्……….-”

बोल्दै गरेकी युवतीलाई रोकेर युवकले भन्यो- “छाडिदेऊ, यस्ता कुरा जति गरेर पनि सकिन्न। हिँड…….म घर पुर्‍याई दिन्छु तिमीलाई ”

“मैले अघि नै भनिसकेँ, आज कि वार कि पार हुनु पर्छ। म मात्रै तँलाई एकोहोरो कति ढिट गर्नु, तैँले मलाई ‘आई लभ यू’ भन्नै पर्छ आज।”

युवतीको ढिट रोक्किएको छैन। तर यी दुईको कुराकानी बाट एउटा कुरा स्पष्ट छ, युवकको सम्वोधन तिमीबाट सुरु हुन्छ भने युवती उसलाई तँ भनेर सम्वोधन गर्छे पर्खालमा छलिएर देखिएसम्म छाँयादार आकृतिका अनुहारको पहिचान सम्भव छैन। रातको अनकन्टारमा। युवतीले सेतो पाइन्ट वा त्यस्तै के लगाएकी छ त्यति देखिन्छ अरु सबै कालो…….।

फेरि सुरु हुन्छ रोदनीय आवाज- “रमेश !…..कसम होला तँलाई जति माया मैले आफैलाई पनि गरिन हुँला, तँलाई त्यो दिन मैले धरानबाट बस चढ्ने बेला ‘यो गाडी कतिखेर जान्छ…..-‘ भनेर सोध्नु नै भूल भयो मेरो। त्यस दिन तँ मसँग नबोलेको भएपनि आज यो कथा पनि बन्ने थिएन, हामीबीचको यो झगडा सुन्ने मध्ये कसैले यो लेख्ने पनि थिएनन्। आजसम्म हाम्रो बदनामी आसपासमा मात्र सीमित थियो तर भोलिबाट हामी कथामा क्यारेक्टर भएर बदनाम हुँदैछौँ।” त्यो रुन थाल्छे फेरि।

“मलाई पापाको धरान मोहले बिगार्‍यो। एस.एल.सी. पछि त कमसेकम घरमै बसेर पढ्ने रहर थियो मेरो तर मैले धरान नै नपढी नहुने। हात्तिसारमा एडमिट भएर कलेज जान थालेको महिना दिन नबित्दै भोटेपुलको विवश कार्कीसँग संगत भयो मेरो। ऊ माल तान्दो रहेछ। सुरु सुरुमा त उसले मलाई पढाइमा पनि धेरै सहयोग गर्यो, धेरै नयाँ साथीहरुसँग चिनजान गरायो। तर पछि थाहा भयो ति सबै एडिक्टहरु रहेछन्। मैले धरान १७ की प्रमिला सुब्बालाई सोधेँ एक दिन ‘किन ड्रग्स खाएको’ भनेर। उसले सजिलै भनी-“यार, लाइफमा कहिले पढाइको टेन्सन, कहिले फेमेलीको टेन्सन, ब्वाइ फ्रेन्ड के-के सब कुराबाट फ्री हुन थालेकी अब त बानी परिसक्यो। उसको कुराले मलाई पनि कता कता कुत्कुतायो। मैले अप्ठ्यारो मान्दै विवेकसँग थोरै ड्रग्स मागेँ। उसले मलाई फुस्रो धुलो चुरोटको खोल भित्र हुने टल्कने कागजमा राखिदिँदै सयको नोट बेरेर तान्न लगायो। मैले धरान अमरहाटमा मेरै डेरामा फष्ट टाइम ड्रग्स तानेँ।त्यसपछि कहिले सेउती बगर, कहिले जिरो प्वाइन्ट हुँदै आफ्नै डेरामा मैले साथीहरु ल्याएर खान थालेँ। त्यसपछि घरबाट थाहा पाएर म लखनपुरको आफ्नै घरमा एक महिना बन्दी भएँ। एक दिन ममीले घरानबाट सबै किताब, सामानहरु लिन पठाउनु भयो घरान, त्यही दिन फिर्ने क्रममा तिमीसँग मेरो फष्ट टाइम घरानमा भेट भयो।”

उसको लामो गन्थन सकियो। युवती बोल्न थाली ” तैँले मलाई कहिल्यै बुझिनस्……., तँसँगको यो चार वर्षको संगतमा म केदेखि के भएकी छु। तँलाई छाड्न नसकेकै कारण पीरले पोहोर साल मात्रै मेरो ड्याड हर्टएट्याकले बित्नु भो। बीबीएस पढ्दापढ्दै दमक मल्टिपल छाडेँ, कलेजका साथीहरुले एडिक्ट भनेर थुक्न थाले। मेरै क्यारेक्टरका कारण टोल छिमेकमा ममीलाई आज पनि मुख देखाउन गाह्रो भएको छ। भन् यो सबै तेरो, मेरो वा मेरी ममीको कारणले भयो………-” ऊ फेरि रुन थाली।

“हेर सरु…..! मैले बारम्बार भन्दै आएको छु र आजपनि भन्छु, कि तिमी छाड ड्रग्स र रिकभर सेन्टरमा बस। मलाई सपार्ने प्रयासमा झन्झन् कुलतमा फस्दै छौ तिमी। दमकमा अप्ठ्यारो हुन्छ भने इटहरी तिर गएर बसे हुन्छ।”

उसको कुरा नसकिँदै युवती बोल्छे – “मैले भनिसकेँ यो ड्रग्स भन्ने कुरा मेरो नशा नशामा बगिसक्यो, यसबाट म भाग्न सक्दिन अब। बरु सक्छस् भने तँ रिकभर भएर देखा, तैँले सुध्रिएर यही ठाँउमा सानो भएपनि असल काम गरेको हेर्न चाहन्छु म, मर्नुभन्दा अघि।”

ऊ प्रसङ्ग फेर्दै बोल्छे- “ओइ हेर न, हामी त कति अभागी भयौँ नि जसले पनि हेप्छन् हामीलाई। पुलिसले, गाउँ घर समाजले, तर हाम्रो नाममा कतिले एनजिओ, आईएनजिओहरुबाट डलर लिएर मोटाएका छन्। खोई सेफ ड्रगिङ पोलिसी लागू भएको….., खोई हामीले कहाँ पायौँ खुलेर दूर्व्यसनी भई बाँच्न…..-”

“भो भाषण नगर, कसले सुन्छ यति राति…….- हिँड घर अघिदेखि त्यही भनिरहेको छु।”

फेरि उसलाई रोक्दै युवती बोल्छे – “ठिकै छ विवाद नगरौँ, आज भ्यालेन्टाइन डे हो, ला…तँ यो रोज दिएर मलाई विस गर, म तँलाई प्रोपोज गर्छु किनकि मलाई थाहा छ तँ मलाई कहिल्यै प्रोपोज गर्नेवाला छैनस्। यति गरिस् भने म तैँले भनेको जे पनि मान्छु, नत्र त जा गिरिजालाई भनेर आए पनि …………….।”

उसको ढिप्पीबाट आजित भएर युवक कठोर हुँदै बोल्छ – “न म तँलाइ प्रापोज गर्छु नै तँ संग प्रेम गर्नुछ मलाइ …। हो, मलाई पछ्याउँदै आएर तँ यो हालतमा पुगेकी छस्। तेरो एडिक्सनको कारण म भएको छु तर तँ यो पनि नबिर्सी कि तँ पनि त्यसका निम्ति त्यतिकै भागिदार छस…। म त ड्रग्स भन्दा अरु देख्दिन, चाहन्न पनि। तँ जे गर्छस गर।”

“चूप साले, मलाई यो अवस्थामा ल्याएर एक्लै किन भाग्न खोज्छस् – तैले …..हो , मलाइ शारिरीक रुपले मात्रै बाँकी राखिस् नत्र अरु सवै तरिकाले लुटिएकी छु म तँबाट…….” उ पुनः सुकसुकाउन थाल्छे।

“तँलाई म ङ्याकेर मारिदिन मन लाग्छ। तर किन-किन सक्दिन। एडिक्ट भएर एडिक्टकै बेहोरा नदेखा साले।” युवकले धम्क्याउँछ उसलाई तर ऊ पनि के कम जङ्िगदै बोल्छे “मार्छस भने मार। तँलाई यत्रो बर्ष चाहेर त पाउन सकिन भने आखिर तँलाई माया लाग्दो रैछ मेरो। म त अव हदै बाँचे दुइचार महिना त होला तेरो माया नपाए पनि तेरै हातबाट मर्न पाएँ भने जिन्दगीको सबैभन्दा ठूलो आनन्द मिल्छ मलाइ प्लिज मारिदे मलाई ………” ऊ फेरि रुन थाल्छे। युवक फकाउन थाल्छ।

“तँ मैले दिएको रोज एसेप्ट गर, अनि ला… यो रोज मलाई दिएर भ्यालेन्टाइन वीस गर, यदि त्यसो गरिस भने म तैले भनेको सवै मान्छु नत्र जा.. ” उसलाई प्रतिवाद गर्दै युवक कठोर स्वरमा बोल्छ-“मैले तिमीलाई भनिसकें, आइ कान्त प्रोपोज यू, कान्ट एसेप्ट यू।”

“हो लाइफ छोटो छ, तर मर्ने त नन् एडिक्टले पनि त हो नि। त्यसो भए हृवाई दे आर लभिङ, हृवाइ दे जस्ट म्यारिङ…।”

अझै कुरो मिलेको छैन। यी गन्थनहरुले हामीलाइ झन उत्साही पारिरहेको छ। मैले झल्याँस्स एउटा कुरा सम्भिको छु कि भर्खरै विहे गरेकी मेरी श्रीमतीलाई आज भ्यालेन्टाइन वीस गर्न पाइन। उनले चित्त दुखाइन कि भन्ने डर छ मलाई।

“हेर सरु, तैले अति गरिस्। खुरुक्क घर हिंड नत्र…- ” अघिसम्म मायालु पाराले तिमी भन्दै फकाईरहेको युवकले उसलाई तँ भन्दै धम्क्यायो। तर युवती डराइन। ऊ झन कठोर हुँदै बोली “मैले भनिसकें जान्न जे गर्छस गर”

अचानक आकृतिहरु चल्मलाएको देख्यौं हामीले। युवक भन्दै थियो “तँलाइ ङ्याकेर मारिदिन्छु। साले भनेको मान्दैनस्।”

“मार न त मार्छस भने। तँलाइ यत्रो वर्ष चाहेर त पाउन सकिन भने आखिर तँलाई माया लाग्दैन रैछ मेरो। म त अव हदै बाँचे २/४ महिना त बाँच्छु होला, आखिर मर्न आँटेको छु…….तेरो माया नपाएपनि तेरै हातबाट मर्न पाएँभने जिन्दगीको सवैभन्दा ठूलो आनन्द मिल्छ मलाई ……… ”

अचानक घाँटीमा के अड्किएजस्तो हुन्छ मलाई र खोकी लाग्छ मलाई। करिब ४ घण्टा लामो हाम्रो अवैधानिक क्रियाकलाप ती २ आकृतिसामू प्रष्ट हुन्छ। अर्थात् यसबेला हामी चोर्दाचोर्दै समातिएका असफल चोर भएका छौं। हामी दगुरेर छिर्यौं सटरभित्र। भित्तामा आफ्नै वेगले चलिरहेको घडीले ३ बज्नै लागेको संकेत गरिरहेको रहेछ।

सवैभन्दा पहिले उठेको मन्त्रीले हतारहतार भन्यो-“जाउँ हिजोको सिनेमा स्पटमा…।” हामी तीनै जना आयौ बेलको रुख उभिएतिर। उनीहरु बसेको रुखको फेदमा तीखो हिलजुत्ताको चाप थियो। त्यसैगरी झार मडारिने गरी टेकिएका जुत्ताको छाप ताजा थियो। संगै दुईवटा प्रयोग भएका सिरिञ्ज निडिलसँगै फालिएको थियो। अझ यी भन्दा बेवारिसे ढंगले फालिएको अर्को वस्तु पनि थियो त्यहाँ।

दुईवटा गुलाफका फूल, जसका पत्रपत्र ओइलिएर हावाले भूइँभरी छरपष्ट पारेको थियो।

[तपाईँ पनि आफ्ना कथा, लघुकथा माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने पठाउनुस् [email protected] मा]

18 Comments

  1. कमला !

    आज पनि तिम्रो यादमा तिक्तताहरु सल्बलाइरहेका छन् । ह्दयभित्र असीमित अनि अपार मायाका थंुगाहरु चढाएको छु । तिम्रोअगाडि सदैव मौन र नत्मस्तक भएर उभिनु पर्ने मेरो बाध्यता हो । जीवनका हरेक मोडमा मेरा धडकनका गतिमा अनि परेलीका झिम्काइहरुमा निरन्तर तिमीलाई प्रेम दर्शाएको छु । माया र प्रेमलाई तौलिने कुनै इकाई बनेको हुन्थ्यो भने त्यो माया मापन गर्ने संयन्त्रले पनि मैले तिमीलाई गर्ने मायालाई मापन गर्न सक्दैन थियो होला । त्यसैले भन्छु- सृष्टिका सारा सृजनाहरुमा केवल तिमी मेरी मायाकी प्रतिमूर्ति हौ । तिम्रो अराधनामा मेरा जीवनका प्रत्येक निमेष गुमाउन तयार छु । सृष्टिमा प्राणीको सात जन्म हुन्छ भने त्यो प्रत्येक जन्म तिम्रोलागि गुमाउन तयार छु । हरेक जुनीमा तिम्रो पूजा गर्न म तम्तयार छु । तिमी त मायाकी देवी हौ ।
    सृष्टिका प्रत्येक प्राणीको आ-आफ्नै विवशताहरु छन् । त्यही विवशताको जालोमा जेलिनु पर्ने बाध्यताले आज भौगोलिक रुपमा तिमीबाट कोसौं टाढा छु तर तिमीले सुम्सुम्याएका हातहरुको स्पर्शको आज पनि अनुभूति गर्दछु । तिमीले मेरो लालट अनि गालामा खाएका चुम्बनको माधूर्य सुगन्ध आज पनि महसूस गरिरहेको छु । तिमीसँग अंकमाल गर्दै गरेका धरान र बिराटनगरका यात्राहरु मानसपटलमा अझै ताजै छ । वर्षैपिच्छे म बिदामा घर आएको बेला मेरो आग्रहलाई स्वीकार्दै फुस्रद् मिलाएर खुल्ला सडकहरुमा निसंकोच अंकमाल गरी मसँग यात्रा गरेको झन् मैले कसरी बिस्रन सक्छु र कमला शायद तिमीले पनि न बिस्रनु पर्ने हो ।
    त्यसैले तिम्रो मायाको केही अंश आज पनि मलाई बाँडिरहेकी छौ । कहिलेकाहीँ डाहा पनि लाग्छ तिम्रो माया मेरो मात्र किन नहुने भनेर । तर फेरि आफंैलाई सम्हाल्दै सम्झाउँछु । शायद तिम्रो आफ्नै विवशता र दायित्वका कारण तिम्रो माया बाँड्न बाध्य छौ होला । त्यसमा किन इष्र्या गर्नु र मैले आखिर माया बाँडेकी मात्र त हौ । माया बाँडेर सिद्धिने बस्तु त होइन नि है । यो त केवल दिनु मात्र हो जसमा प्राप्तिको कुनै अपेक्षा हुँदैन भनी सधंै भन्ने गर्छाै ।
    तिमीलाई मैले जीवनका हरेक घुम्तीमा सताएको छु । जब तिम्रो सामिप्यतामा थिएँ तब त झनै सताएको छु । तिमीलाई पुष-माघको ठिहीलाग्दो रातमा उठाएको छु । चैत-बैसाखको टन्टलापुर गर्मीमा दौडाएको छु । त्यति मात्र कहाँ हो र कमला ! तिमी मस्त निदाएकी बेला मेरो चिसो शरीरलाई न्यानो पार्न तिम्रो शरीरसँग आिलंगन गरेको छु । तिमी मस्त निदाएकी बेला तिम्रा चोलीका तुनाहरु ख्ााेल्ने प्रयास नगरेको होइन; हो बारम्बार त्यो धृष्ठता गरेकै हुँ । तिमी मस्त निदाएकी बेला पनि तिम्रा छातीहरुसँग मेरा सुकुमार हातहरुलाई निस्फिक्री भएर खेल्ने अधिकार प्रत्याभूत गर् यौ । मेरो भोक मेटाउन तिमीले रातको कुनै प्रहर बाँकी राखिनौ । मलाई निसंकोच तिम्रो बक्षस्थलसँग खेल्ने अधिकार दियौ ।
    त्यसैले आज १४ फेब्रुअरी ुभ्यालेन्टाइन डेु को दिन म सवैका अगाडि तिमीप्रतिको मेरो असीमित अनि अपार प्रेम सार्वजनिक गर्न चाहन्छु । मेरो प्रत्येक जन्ममा तिम्रो ममताको मुहानमा स्नान गर्न चाहन्छु । कमला ! बात्सल्यकी खानी मेरी पूज्नीय आमा ! तिमीले मलाई जन्म दिएर असीमित अनि अपार माया ममता दियौ । आज परदेशबाट यो छोरोले एउटा कागजको टुक्रामा लेखी पठाएको यस स्नेह र आदरलाई स्वीकार गर ।
    तिम्रो परदेशी
    निमेष गिरी

  2. कमान जी ,
    कथा पढेर मा पनि एकपटक दमक पुगेको आवास भएको छ .कथा राम्रो छ…अन्त्येमा पाइएको बेवारिशे बस्तुले प्रेमलाई धमिल्याएको कुरा प्रस्ट हुन्छा .
    .

  3. umesh जे, पुरानो story लै पनि योग्य सम्जिदिनु भाको मा तपाइलाई बिसेस thank स अनि त्तापी लै subhakamana प्रेम दिवोस को . कमान देवान पुर्बी नेपाल

  4. धेरै राम्रो कथा रहेछ| साचै दमकमा भएकै घटना हो कि क्या हो| ठाउँ र केहि पत्र हरु त दमकै परेचन नि |

  5. Hey,

    This is a very good literature (story)it seems a real
    story which is happening in our society in daily basis.

    I express my sincere and best wishes to this story writer Mr. Kaman Dewan.

    Keep it up!!

    Calgary, Canada.

  6. Very good Story!!! I am still amazed with this lovely creation.. Hats off to you Kaman Dewan Jee. This is really a very good and touchy story, seems like a real one..

    Keep it up.. wish to read your stories again and again

  7. “के हो भ्यालेण्टाइन डे भनेको!!!!!”

    देवान जि को लेख स्तरिय छ, मार्मिक छ

    तर म यहा कार्ड र गुलाबले सजियेको नेपाल को सबै भन्दा कान्छो आयातित सन्स्क्रिति को बारे केहि लेख्न गै रहेछु!

    यसो सोझो रुपले हेर्दा प्रेम को अभिब्यक्ति को लागि मनाइने क्रिश्चियन हरु को चाड यो भ्यालेन्टाइन चाड नराम्रो नदेखियेपनि यसमा धार्मिक बिस्तारबाद सिवाय केहि अर्को महत्व को गन्ध आउदैन

    यो गरिब देश हरु का अर्ध शिक्षित युवा हरु लाइ लुट्ने र ब्यापार गर्ने ब्यापारिक उपनिवेशबाद हो

    हामि बिदेश मा बस्ने नेपालि हरु लाइ आफ़्नो चाड बाड आउदा पनि लुकि लुकि दुलो मा बसेर पनि मनाउन पाइदैन; साउदि अरब जस्ता देश मा हाम्रो चाड मनायेको थाहा पायो भाने कोर्रा खाइन्छ, ज्यानै जान्छ, अमेरिका जस्तो देश मा पनि कुनै इज्जत छैन, एक दिन छुट्टि समेत पाइदैन; नेपाल मा चै सन्सार का सबै सन्स्क्रिति को पछि लाग्दा लाग्दै आफ़्नो सन्स्क्रिति चाहि माटो मुनि गैसक्यो, आफ़्नै देश मा आफ़्नै सन्स्क्रिति को उपहास बाहेक केहि छैन

    घर मा भै नभै एउटा छिडि मा डेरा गरेर पेट पाल्न सास्ति गर्ने हरु ले पनि “बर्थ डे” मनाउनु पर्ने, “गिफ़्ट” हरु किनेर मैन बत्ति र केक को घाडो मच्चाउनु पर्ने (हाम्रो सन्स्क्रिति मा मैन बत्ति फ़ुकेर निभाउनु भनेको अपकुशन हो), तेस्तै सकि नसकि आफ़्नो प्रेमिका लाइ महन्गा उपहार, गुलाफ़ का फ़ुल, चकलेट किनेर बिदेशि हरु को ब्यापार बढाउन आफ़ै लाइ बन्धकि राख्नु पर्ने; तेसो नगर्दा चै पाखे समेत भैने;

    धन्न आडम्बरि हामि हरु!!!!

    भुत्राको भ्यालेण्टाइन डे! हाम्रै देश को आफ़्नै मौलिक सन्स्क्रिति र चाड बाड हरु को यति धेरै चटारो छ, किन यो अनावश्यक फ़जुल खर्च गरेर बिदेशि मोटाउने र आफ़ु कन्गाल हुने, घर मा बाउ आमा र युवा छोरा छोरि को बिच झगडा पार्ने र बिद्रोह बिउ रोप्ने काम गर्नु पर्ने!!!

    आफ़ु लाइ सर्वाहारा को प्रतिनिधि ठान्ने माओबादी ले समेत यस्ता घुसपैठि बिदेशि सामन्ति अधिनायकबाद र सान्स्क्रितिक धार्मिक उपनिवेशबाद को किन बिरोध गर्दैनन? हो, यस्ताइ मा चाहिने हो वाइ सि एल! एस्तै कुराको बिरोध गरेर बिदेशि बिस्तारबाद लाइ परास्त गर्नु पर्ने हो हाम्रो वाइ सि एल ले!

    • भास्करजी !
      मलाइ तपाइँको विचार मन पर्‍यो । पश्चिमा सँस्कृति अनुसरण गर्नुलाइ “आधुनिक” बनेको ढोङ्ग गर्ने अन्धाहरुलाइ के भन्ने र खै ? त्यसैपनि पश्चिमाहरुले हर क्षेत्र (राजनीति, युद्ध, अर्थ, भाषा, धर्म, सँस्कृति, व्यापार आदि) मा साम्राज्य विस्तार गरिरहेका छन् । हाम्रा नक्कलकर्ताहरुभने आधुनिक र अन्तर्राराष्टिय बन्ने धुनमा आफ्‍नै जन्म दिने आमालाइ लात मारिरहेका छन् । महान् पर्व शिवरात्रिको अवसरमा उनीहरुको मति फिरोस् ।

  8. Dewan ji your literature is seems realities.Probably 75%young generation are victim by drugs.It is interesting to read as a plot of “Saturday fiction”.keep it up.

  9. समसामयिक अनि हाम्रो ढोंगी समाजले कहिल्यै हेर्न नचाहेको विषयलाई सटीक र मौलिक भाषामा उजागर गर्नु भएकोमा देवानजी धन्यवादको पात्र हुनु भएको छ,देवानजी र शुष्माजीका जस्तै साहित्यिक रचनाहरु निरंतर पढने अवसर प्राप्त भई रहोस मेरो संसार मा !

    -बिनोद तिमिल्सिना,धरान-१६
    हाल:दोहा,कतार

  10. nice story and if its not true story then the writer had imagined very well. Great creation.. good luck and keep on writing..

  11. देवानजीको कथामा त्यस्तो केहीपनि छैन मनोरञ्जनको लागि ।
    -*-
    तर,
    त्यहाँ भएको घटना र समाजको यथार्थ चरित्रचित्रण चै धीत मरिञ्जेल पनि पढ्न सकिन्न । त्यो नारायण वाग्लेको पपल्सा क्याफेजस्तै ।
    -*-
    मैले जति पनि पढें त्यो कथामा भएका पात्रहरू दमक वरिपरी नै छन कि जस्तो लागिरह्यो । अहिले दमकलगायतका पूर्वका अधिकांश शहरहरू बन्दले ठप्प छन् यही समयमा मलाइ ती पात्रहरू खोज्न जाने मन लागिरहेको छ । ती युवक र युवती हामीले बाटामा देखेकामध्ये कुनै एक हुनसक्छन् । हामीले दुर्व्यसनी भनेर हेला गरेका तिनै धनी बाबुअामाका सन्तानहरू हुनसक्छन जो जानीनजानी यस्तो कुलतमा फंसेका छन् । अामावावुले सन्तानप्रति देखाउनुपर्ने विशेस सतर्कताको अभावले गर्दानै देवानजीहरूलाइ यस्तो कथा लेख्नु बाध्य बनाउँछ । किनभने उनीहरू लेखक हुन समाजमा देखिएका घट्नाहरूलाइ उनीहरू चूपचाप देखेर बस्न सक्दैनन् ।
    -*-
    देवानजी कथा समसामयिक छ अरू यस्नै कथाहरू लेख्दै जानुहोला ।
    धन्यवाद ।

  12. कमन,
    I am really impressed with your writing. अगाडिका अनुच्छेदहरुमा “हामी” पात्रहरुको प्रसंग अलि लामो भयो, सायद भुमिकाको लागि प्रयोग गरिएको होला । तर पनि त्यसलाई अलिक सटिक र परिस्कृत ढंगले प्रस्तुत गर्नुहोला । बाँकि मुल पात्रहरु र घटनाक्रम एकैपटक रोचक, मर्मस्पर्सी, सरल र अझ भन्ने हो भने दुई दुर्व्यसनीहरु नै बोलेको साक्षातकार गराउन सफल छन् । अझ विशेष रुपले कथाको अन्त्य उत्कृष्ट छ ।

    द.कोरिया

Comments are closed.