हात्ती चढ्दै सौराहा घुम्दा

“हात्ती आयो, हात्ती आयो”
यदि उखान हुँदो हो त यसपछि भनिन्थ्यो “फुस्सा” तर अहँ, आज त्यस्तो भन्ने बेला हैन। किनकि हामी थियौँ सौराहामा, हात्ती यात्राको लागि नेपालको योभन्दा राम्रो ठाउँ अरु कहाँ होला र। एकाबिहानै हात्ती आएको आवाजले हामी ब्युझिँयौँ। दुई दुई ठाउँमा जाममा फँसेको। यात्राको थकान। साथी नवीन विभाससित राति अबेर पुगेका थियौँ सौराहामा। त्यसैले थाकेर भुसुक्कै निदायौँ। बिहानै पाँचै बजे उठेर रामदेवको योगा गर्ने मनोज गजुरेलको कुरा गफै भएको देखियो। साढे छ बजे हात्ती आएको आवाजले मात्र ब्युँझिन पुग्यौँ। कस्तो रह्यो त हात्तीमा चढी सौराहाको जंगलमा गरिएको यात्रा? सानो अनुभूति यो महिना गरिएको यात्रा ब्लगको दोस्रो भागमा। पहिलो भाग यहाँ।



दुई वर्ष जति पहिले सौराहा पुगेको थिएँ साथीहरुका साथ। तर हात्ती चढ्ने मेरो इच्छा पूरा भएन। बहुमतले हात्ती नढ्ने निर्णय गर्‍यो। म हारेँ। अनि हात्तीको सट्टा टाङ्गा चढेर सौराहाबाट फर्किएका थियौँ।

सौराहाका विभिन्न विशेषतामध्ये एक हो हात्ती सफारी। हात्ती मात्रै चढ्ने हो भने त काठमाडौँको चिडियाखानामा पनि नपाइने हैन। चिडियाखानामा त मान्छेले लगाएका फलामे बारपछाडि बसेका हुन्छन् जनावर। तर हात्तीको पिठ्युँमा चढेर सौराहाको जंगलमा जनावरहरुलाई प्राकृतिक वासस्थानमा रमिरहेको हेर्नुको मजा अर्कै हुन्छ।

लगभग बिहान सात बजे हाम्रो हात्ती यात्रा सुरु भयो। सौराहामा अहिले सरकारी हात्ती छैन भन्दा पनि हुने रहेछ। जति हात्ती छन्, सबै निजी हात्ती रहेछन्। यी हात्ती माहुतेहरुको संगठन पनि रहेछ अहिले त- अखिल नेपाल हात्ती चालक संघ। कुनै दिन हात्ती हड्तालको समाचार पनि आउन सक्छ होला भन्ने कल्पना गर्दैगर्दा हात्तीहरुको लस्कर जंगलतिर छिर्‍यो। एकैसाथ धेरै हात्तीहरुको लस्कर जंगलतिर छिरेको थियो।


एउटा हात्तीमा चालकसहित जम्मा पाँच जना मात्रै बस्न मिल्ने रहेछ। त्यो अजंगको जिउ भएको हात्ती लमक लमक लम्किने क्रममा हात्तीमाथि बस्ने ठाउँ साह्रै अप्ठेरो अनुभव हुँदो रहेछ- हल्लिएको हल्लियै। हामीसँगै हिँडेको थियो एउटा कलेजको टुरमा आएका विद्यार्थीहरु पनि। ती विद्यार्थीहरुको होहल्लाका कारणले हो कि, धेरै जनावर देखिएनन् जंगलमा सुरुमा।

बाघ देखिन्छ त?
हामीसँगै बसेका एक हात्तीयात्रीले माहुतेलाई सोधे।
खै के के देखिन्छ, के के? उनले जवाफ फर्काए। उनले त्यस्तो जवाफ फर्काउँदै गर्दा मैले पुरानो एउटा कार्टुन सम्झिएँ- होटलवाला आफै बाघको जस्तो लुगा लगाएर जंगलको झाडीमा लुकेर बसेको। अनि गाइडले देखाउँदै गरेको- ऊ हेर्नुस् बाघ 🙂


बाघ त हैन जंगली बंगुरहरु झैँ देखियो है। १०-१२ वटा हात्तीलाई माहुतेहरुले कताबाट लगे, कताबाट- एक्कासी उनीहरुले चारैतिरबाट एउटा गैँडालाई घेरे। म हात्तीको पछाडितिर बसेको थिएँ, अगाडितिर बस्नेहरुले भटाभट खिचे फोटो। “अहो, क्या ट्रिक लगाएर घेरेको हात्तीहरुले, माओवादीहरुले घेराबन्दी गरे जस्तो”, हात्ती यात्रीहरुले यस्तो भन्दै गर्दा बिचरा माहुतेहरुलाई चित्त दुख्यो क्यारे। भने, “कहाँ हात्तीले हो त, मान्छेले पो त।”

हो त, मान्छेले पो उनीहरुलाई निर्देशन दिइरहेको छ त। हात्ती पृथ्वीमा भएको जमिनमा बस्ने सबैभन्दा विशाल प्राणी पनि हो। तर उसलाई नियन्त्रणमा लिन्छ एउटा फिस्टे मानिसले। हात्तीले चाहँदो हो त आफ्नो सुँडले टपक्क टिपेर फ्याँक्न सक्छ त्यो जाबो माहुतेलाई। आफ्नो अजंगको जीउले किच्न सक्छ जेसुकैलाई। विपश्यना गर्दा मनलाई नियन्त्रण गर्न सिकाउने क्रममा गुरुले सिकाउँछन्- जसरी जंगली हात्तीलाई बिस्तारै प्रयास गर्दै माहुतेले नियन्त्रणमा लिन्छन् र आफूले भने जस्तो राम्रो काम गर्न लगाउँछन्, त्यसरी नै जंगली मनलाई पनि हामीले वशमा पार्नुपर्छ।


साथी नवीन र हात्ती सफारीका सहयात्रीहरु।

हो त, आज प्रत्यक्ष नै देखेँ- कसरी हात्तीलाई दिनदिनैको प्रशिक्षणले वशमा पारेर आफूले भने जस्तो मान्ने बनाइएको रहेछ। माहुतेले जता भन्यो, हात्ती उतै जान्छ। झाडीको बीचबाट, उकालो, ओरालो जतासुकै। मनलाई पनि त्यसरी नै वशमा पार्न सके! कति रमाइलो हुन्थ्यो जीवन।

गैँडा घेराबन्दीमा परेको थियो। बिचरालाई कति मानसिक पीडा दिनु! छाडिदिउँ भनेपछि एउटा हात्तीले बाटो छाडिदियो। अलमलमा परेको गैँडा आवाज निकाल्दै सुइँकुच्चा ठोकिहाल्यो।


एकैछिनमा फेरि एउटा बाह्रसिँगे हो कि के हो जंगलमा रमाउँदै गरेको देखियो। हात्ती यात्रा जत्तिकै हात्ती यात्रुहरुले गर्ने हाँसोठट्टा पनि रमाइलो थियो। एकअर्काको फोटो खिच्न हुन्छ भनी अर्को हात्ती चढेका साथी नवीन १० कक्षाको ‘महेन्द्रमाला’मा पढेको कर्णकान्त र नेत्रलालको कथा सम्झँदै थिए- नेत्रलालले कल्पेको कर्णकान्त कता गयो, बाटो बिरायो कि, ढोइ पो भेट्यो कि। पोथी हात्तीलाई ढोइ भनिन्छ भनेर त्यो कथा पढ्ने बेला थाहा पाएका थियौँ हामीले। हाथी मेरा साथी भन्ने बलिउडको फिल्ममा हात्ती र माहुतेको प्रेम देखाइएको छ। निकै घतलाग्दो थियो हामी सानो हुँदा हेरेको त्यो फिल्म। हात्तीका अनेकौँ लोककथाहरु पनि सुन्न पाइन्छ।

नेपालमा हात्ती सफारी भन्दै यसरी केही घण्टाका लागि जंगलमा घुम्ने सुविधा मात्र छ। इन्डोनेसियामा भने चार दिनसम्म हात्तीको साथमा जंगल प्याट्रोल गर्न पाइन्छ। चार दिनसम्म हात्ती र माहुतेका साथ त्यहाँका जंगलमा घुमेर हात्ती र जंगलबारे अनेक कुरा थाहा पाउन सकिन्छ। नेपालमा पनि त्यस्तो यात्रा थाले रमाइलै हुन्थ्यो होला।


रेडीः माहुते हात्तीमाथि चढेर नै फोटो खिच्ने प्रयास गर्दै।

माहुतेसँग केही कुरा गर्‍यौँ हामीले। यो हात्तीको ‘मेन्टिनेन्स चार्ज’ त निकै महँगो पो हुने रहेछ। ५ हजार किलोसम्म वजन हुने यी हात्तीको खुराक मात्रै १४० देखि २७० किलोको हुने रहेछ। सौराहा मै हात्ती प्रजनन केन्द्र पनि रहेको छ। हात्ती जन्माउनका लागि ढोइले २२ महिना गर्भमा राख्दो रहेछ। अनि जन्मिने छावा १०० किलोभन्दा बढी वजनको हुने रहेछ। भर्खर जन्मिएको छावा लगभग अन्धो हुने रहेछ। आफ्नो सुँडबाट नै उसले सबै कुरा पत्ता लगाउने रहेछ।

जमिनमा बस्ने सबैभन्दा विशाल प्राणी हात्तीको खासमा कुनै शत्रु जनावर छैन। आफूभन्दा निकै सानो मान्छे अर्थात् हामी नै हात्तीका शत्रु हौँ। हाम्रै कारण हात्ती लोप हुने क्रममा पुगेको छ।

नारायणगढ निवासी मेरी फुपू हात्ती गणेश भगवानको रुप भएकोले चढ्न हुन्न भन्नुहुन्थ्यो। भगवान कै कारण मात्र हैन, अरु कारणले पनि हात्ती चढ्न हुन्न भन्नेहरुको ठूलै जमात रहेछ। हात्तीलाई प्रशिक्षण दिने क्रममा निकै यातना दिइन्छ। थाइल्यान्डमा हात्तीलाई दिने गरिएको यातनाको विरोधमा अस्ट्रेलियाकी सुपरमोडल Imogen Bailey ले यस्तो फोटो समेत खिचाएकी थिइन्।

हात्ती यात्राका विरोधीहरु भन्छन् हात्ती यात्रामा जोखिम हुन्छ। कुनै पनि बेला हात्तीले माहुतेको निर्देशन मान्न अस्वीकार गर्ने संभावना हुन्छ। त्यसो भयो भने बलले हात्तीलाई जित्‍न सकिन्न। अनि हामीले भेट्ने मात्र दुर्भाग्य हुन्छ। हात्तीलाई हुने टिबी रोग मान्छेलाई पनि सर्ने तर्क पनि उनीहरु गर्छन्।

तर पनि जीवनमा पहिलो पटक चढियो हात्ती। रमाइलै भयो। फर्कँदा मनमा एउटा मात्र सोच थियो- यो मनलाई पनि कहिले जंगली हात्तीलाई जस्तै नियन्त्रण गर्न सफल हुने होला? प्रशिक्षण पुगेको छैन यो मनलाई अझै।

यात्रा संस्मरणको अर्को भागमा रेडियो चितवन कार्यालय र रत्‍ननगर महोत्सवको अनुभव।

12 Comments

  1. “धेरै राम्रो छहामी पनि जाने हो सौरा”

  2. अति राम्रो लाग्यो हात्ती सफारीको रोमान्चक क्षणको अनुभब माइ संसारमा बाड्नु भएकोले

  3. ७ वर्ष अगाडी साथीहरु संग म पनि सौराहा घुम्न गएका थियेउ.हात्ती चद्दने आट त का बाट आउनु??येसो छोएर फोटो खिच्न पनि डराको कुरा अहिले यो हात्तिको कुराले याद आयो.हुन पनि हो मान्छे भगवानको श्रीस्ती मा उत्क्रिस्ता प्राणि मानिएता पनि अहिले सम्म मान्छे को मन बस मा राख्ने कुनै उपाए न कसैले निकाल्न सकेका छन् न कसैले आफ्नो जीवन भर आफ्नो मन बस मा राखेका नै होलान तर माउते ले तेत्त्रो अजंगको हात्तीलाई कसरि बस मा राख्ने होला अचम्मकै कुरा हो तर मैले गएको वर्ष एउटा समाचार पढेको थ्ये भारत मा स्कुल को बार्षिक उत्सब मनाउना सिंगारिएर ल्याएको ७ ओटा हात्तीले उपद्रो मचाएर कतिको ज्यान नै गएको कुरा तेसैले हाम्रो मन कहिले काही बहकिए जस्तै माउते ले पनि कहिले काही हात्तीलाई बस मा नराख्न पनि सक्छ…………

  4. बिचरा हात्तीहरु को बिजोग / एउटा हात्ती माथि ६/ ६ जना चढेर हिडदा बिचरा हात्तीलाई कति दुक्दो हो / बिचरा हात्ती कति रुदो हो तो महुत्तेले पितदा/ येस्ता जनाबार हरु माथि चदुनु भन्दा नाचादुनुनै बेश होला./ जहाँ पनि सोषण गरेका छन् यी पापी मनुष्य ले / मनुष्य भएर जन्म लिनु नै पाप कमाउनु हो / मानिस ले मानिस कै सोषण तेश पछि मनिष ले सोझा प्राणी हरु को हत्या, सोषण गरेका छन्…..
    तपाई हामी पनि अर्को जुनी मा हात्ती भएर जन्मनु सक्छौ ////

  5. “यो मनलाई पनि हात्तीलाई बशमा पारेजस्तै कसरी पार्ने हो” भन्ने उमेशको अभिब्यक्ती अत्यन्तै मिठो र सन्देशमुलक छ्| यसको दार्शनिक् पक्षको त कुरै नगरौँ !!! bravo !!!

  6. सालोक्यजी तपाइलाई धेरै धेरै धन्यवाद लेख अनि फोटोहरुको लागि | साच्ची भन्नु पर्दा मलाई सौराहाको सम्झना झन् धेरै आउने बनाईदिनुभो किनकि म त्यो ठाउको नजिकै बस्ने गर्दथे र मौका मिल्यो कि सथिहरुसंगा जाने गर्दथे तर अहिले…. धन्यवाद फेरी पनि तपाइलाई

  7. सुपर मोडलले पनि ठीकै गरिछिन् । मोडलिङ गर्दा पनि कुनै गहन अर्थ र महत्व राखोस् न, हो त्यसरी । हाम्रा नेपाली मोडलहरु चाहिँ अर्थ न बर्थ नाङगिन पुग्छन् ।
    तर अलि बढी ने भयो कि …
    कता देश र जनताको चिन्ता गर्दै गरेको दिमाग ? अचानक यो कता सुपर मोडलको तस्वीरले … तस्वीरले केही गडबडी गर्ला जस्तो भयो । मचाहिँ सुतेँ ।

    • हाम्रो भीमसेन बन्धुलाई चै राजनीतिले नराम्ररी गाजेको जस्तो छ/ एती मिठो हात्ती, जंगल, पर्यावरण आदि इत्येदी कुरा भैराखेको बेलमा यो तातो न छारो को, प्रसङ्ग नै नमिल्ने राजनीति बीचमा किन घुसाउने ? कुरा मिल्ने, प्रसङ्ग मिल्ने ठाउँ मा गर्नु नी राजनीति को कुरो. यो त ” म गर्छु आग्राको कुरा, संदी गर्छन गाग्राको कुरा जस्तो भैहाल्यो नी”.

      • आ–आफ्‍नो रुचिको कुरा हो उत्तमबन्धु । नरुचेको गाँस जबर्जस्ती निलेर हुन्न क्यारे …

  8. मलाइ यी निर्दाष पशु हात्तीहरुबारे खासै चासो छैन । मानव हात्तीहरु अथवा ती दोषी सेता हात्तीहरु क्या जो जम्बो टोलीमा संलग्न छन् नि उनीहरुमाथि हामी चढ्‍न सकेनौँ उल्टै उनीहरु पो हामीमाथि सवार भएर हाम्रा भाग्यहरु निर्ममतापूर्वक कुल्चिरहेका छन् ए । तिनीहरुमाथि चढेर हामीले चाहेजस्तो गन्तव्यमा कहिले र कसरी पुर्‍याउने होला ? मलाइ त त्यही पो चिन्ता लागेको छ ।
    ती जम्बो हात्तीहरुभन्दा त यी पशुहरु धेरै इमान्दार छन् जहाँ चाह्यो त्यहीँ पुर्‍याइदिन्छन् ।

    • लिम्बुजी
      माथि सौराहा मा हाती माथि माहुते रमाईलो लागे/ तर हाम्रो सौराहामा माहुते माथि जंगली हाती देखेर दिक्क लागे/ हाम्रो सौराहामा पनि हाती माथि माहुते भए कति राम्रो हुने लिम्बुजी/ समस्त देस बासिनै पिकनिक मनाए जस्तो हुने थियो/ आउलानी कुनै दिन तेस्तै, अब सपनी देखु सिबाये अरु बाकीनै के छ/

  9. ४ वर्ष अघि हामी पनि त्यहाँ हात्ती चढ्न पुगेका थियौं- बढो बाघ देख्ने उत्साहका साथ! हात्तीमा चढ्नासाथ मैले माउतेलाई सोधें, “बाघ अब कति बेरमा देखिन्छ दाइ?” माउते दाइले मेरो प्रश्नलाई आल टाल गर्दै उत्तर दिई रहेका थिए! उनले बिहान या बेलुकिको झिसमिसेमा आउनु पर्ने, हल्लागुल्ला गर्ने केटाकेटीहरु हुनु नहुने आदि शर्तहरु तेर्स्याए| मैले सोहि मुताबिक भोलि पल्ट फेरि आउने समेत इच्छा देखाएँ, यदि बाघ देख्न पाइन्छ भने| अन्त्यमा उनले बडो निर्धक्कका साथ भने-
    “बाघै हेर्ने हो भने त चिडियाखाना नै जानु पर्ने हुन्छ|”

    यो उत्तर सुनेर मेरो मन पीरो भयो- हाम्रा बन जंगल, राष्ट्रिय निकुन्जहरुको हालत के रहेछ भन्ने बुझेर!

Comments are closed.