सिस्नुपानी देउसी २०६७

सिस्नुपानी नेपाल हास्यव्यंग्य मार्फत सभ्य, शिष्ट र समुन्नत नेपाल निर्माणमा क्रियाशील संस्था हो । हास्यव्यंग्यको लेखन, प्रदर्शन र प्रवर्दनजस्ता बिधामा सक्रिय सिस्नुपानी नेपालले देशकॊ एकमात्र हास्यव्यंग्य पुस्तकालय पनि संचालन गरेको छ । युवा पुस्ताका लोकप्रिय ब्यंग्य लेखक लक्ष्मण गाम्नागे अध्यक्ष रहेको यस संस्थामा मनोज गजुरेल, धिरेन्द्र झा ‘प्रेमर्षि’, गोविन्दबाबु तिवारी, टंक आर्चाय, हरिकला उप्रेती, चक्र दवाडी, देवी नेपाल,माणिकरत्न शाक्य लगायतका श्रष्टा क्रियाशील छन् भने हास्यव्यंग्यका अधिकांस लेखक,कवि तथा कलाकार यस संस्थामा संमानित सदश्य रहेकाछन् । हामी बिगत तेह्र बर्षदेखी परम्परागत देउसीमा हास्यव्यंग्य मिश्रण गरेर देउसी भैलो खेल्दै आएका छौं । प्रश्तुत छ २०६७ सालको ‘सिस्नुपानी देउसी ।’

भन भन भाइ हो- देउ सरकार

भन भन बैनी हो- देउ सरकार

जोडले भन- देउ सरकार

स्वर मिलाइ कन- देउ सरकार

बेइजिङ्ले सुनून्- देउ सरकार

दिल्लीले सुनून्- देउ सरकार

सम्मेलन केन्द्रका- देउ सरकार

सिल्लीले सुनून् – देउ सरकार ।

हामी त्यसै आएनौ सिस्नुपानीले जा भन्यो

सक्छस् भने तँ नि पर्धान~मन्त्री खा भन्यो ।

ढोका खुल्लै पाइयॊ देउसी खेल्न आइयॊ

देउसीभित्र स्वाधिनताको गीत गाइयो

काठमाण्डूको ट्राफिकजाम के सकिन्थ्यो भिडेर

ट्याममा देउसी खेल्नु थियो आयौँ हिँडेर ।

कालापानी कालै भो सुस्ता पनि सुस्तै भो

नयाँ नेपाल माधव नेपाल उस्तै उस्तै भो ।

कुर्सि छाड्न पाइन भनी माधव नेपाल रुंदैछन्

रुदा रुदै अरुभन्दा बलिया हुँदैछन् ।

भनभन साथी हो- काम चलाऊ

जोडले भन- काम चलाऊ

सरकार हाम्रो- काम चलाऊ

सम्विधान हाम्रो- काम चलाऊ

अख्तियार हाम्रो- काम चलाऊ

सम्वैधानिक समिित- काम चलाऊ

पुलिसका आईज- काम चलाऊ

नेपालको पासपोर्ट- काम चलाऊ

कोशीको बाँध- काम चलाऊ

अनमिनको काँध- काम चलाऊ

नेपालको बजेट- काम चलाऊ

हाम्रा बोइङ् जेट- काम चलाऊ

मुलुकै हाम्रो- काम चलाऊ

यो देउसी हाम्रो- काम चलाऊ

छटपटी छ कांग्रेसको पानी बिना माछो भो

हिङ बाँधेको टालो थियो ऐले वाङ खायो ।

वामदेव झुण्ड एमालेको माओवादी भित्तामा

ओली झुण्ड लपक्कै कांग्रेस कित्तामा ।

भाले हो कि पोथी हो यो पत्ता लगाई हालौंन

बल्खु दरबार खालि पारी बोइलर पालौंन ।

राकेश सुदका दाह्री देख्ता कमरेडहरु थुरुरु

चाइनिज प्रभु गुहार्नलाई बेइजिङ लुरुरु ।

२-४ जना बाबुरामले सक्थे कि देश बढाउन,

भित्र बाहिर तयार छन् तिनलाई लढाउन !!

साना गुण्डा समाचारमा दिनदिनै छाउंछन्

ठूलासँग पुलिस आफैं मित लाउंछन् ।

नाङ्गा नाच हेर्न पाए पुलिस आफै रमाउने

अनि तिनले नाङ्गालाई कहाँ समाउने !

एकदुईजना रमेश खरेल भेटिन्छन् नि भेट्नलाई

पछि पछि ठूला हाकिम पाइला मेट्नलाई ।

नेतासँगै मह ले नि डाक्टर पदवी पाएछन्

जिन्दगीमा पहिलोपल्ट जि…ल् खाएछन् ।

ओली पनि डाक्टर गच्छेदार नि डाक्टर

नक्कलीले देको डाक्टर थोत्रे ट्याक्टर ।

विष हो कि जुस हो दर्शक थला पर्दैछन्

सुपरस्टार त्यसैको बखान गर्दैछन् ।

खाउं खाउं साथी हो- नखाने

जाऊं जाऊं साथी हो- नजाने

नजाने किन- तटस्थ

नखाने किन- तटस्थ

बेइजिङ कि दिल्ली- तटस्थ

वारि कि पारि- तटस्थ

सुर्वाल कि सारी- तटस्थ

चढ्ने कि झर्ने- तटस्थ

बाँच्ने कि मर्ने- तटस्थ

गोरे कि काले- तटस्थ

पोथी कि भाले- तटस्थ

साधु बनी बिरालो मन्दिर मन्दिर ढोग्दैछ

सामाजिक सेवाको खोल ओड्दैछ

काली बाबाका खुट्टामा लम्पसारै परे नि

राजतन्त्र आउंदैन अब मरे नि ।

एम.आर.पि.टेण्डर टुङ्गो नलाई गुल्टेछ

सुद-सुजाता कम्पनी टाट उल्टेछ

नेपाल सरकार छिमेकीका राजदुतले नै चलाउने

हाम्रो सरकार लिन्ठिङ् लिन्ठिङ् पुच्छर हल्लाउने

मधेशको मुद्दा भन्नु यिनको नारा मात्र हो

नेता बनी सत्ता पुग्ने पारा मात्र हो ।

दूताबासैबाट आउँछ ज्यानको धम्की हाम्रालाई

फिर्ता लैजाऊ धम्क्याउनेलाई पठाऊ राम्रालाई ।

तिमी आफैं सुधार तिम्रो युपि बिहार

हाम्रो देश हाम्रै जिम्मा दागा नधर ।

भन भन साथी हो- सभासद्

भनी साध्ये छैन- सभासद्

गन गन साथी हो- सभासद्

गनी साध्ये छैन- सभासद्

घुस्याहा पनि- सभासद्

भुस्याहा पनि- सभासद्

गगन पिन- सभासद्

बबन पनि- सभासद्

ऐरे पनि- सभासद्

जैरे पनि- सभासद्

हाम्रा गाउँको- सभासद्

भैरे पनि- सभासद्

कम्मर भाँच्तै- सभासद्

नाङ्गै नाच्तै- सभासद्

तोङ्बा तान्दै- सभासद्

मुक्का हान्दै- सभासद्

सिक्रीले बाँध्छन्- सभासद्

बिक्रीमा ल्याउँछन्- सभासद्

सुँगुरभन्दा मोटा- सभासद्

एक करोड गोटा- सभासद् ।

थापा मगर खगेन्द्रले गिनिजमा नाम लेखाए

नेपाल मन्त्रीमण्डलले नि पौरख देखाए

जलवायु जोगाउन काला पत्थर गएर

अपानवायु छाडी आएछन् बढ्ता खाएर ।

मकैमा दाना थिएन नेताले सम्विधान दिएन

उस्ता उस्तै दुवैसँग बिजै थिएन ।

राजावादी चोखिँदैछन् माओवादी भाँडामा

कुनदिन चड्छिन् हिमानी नि पेरिस डाडाँमा ।

राजावादी फटाहा जालि माओवादीमै अटाए

गौरवशाली पार्टीको झन् गौरव बढाए ।

रेखासँग नाच्तै भन्छन् सुकिला र मुकिला

फाइभ स्टारको चिकेन रोष्ट डकार झुसिला ।

नडराउनोस् माओवादी अब जङ्गल फिर्दैन

किनभने पजेरो जङ्गल छिर्दैन ।

आशिष

बन्द र हड्ताल- मूर्दावाद

शान्ति र सम्विधान- जिन्दावाद

शेयरको मूल्य- बढ्दो होस्

लोडसेडिङ सधैं- घट्दो होस्

आयकर तिर्ने- बानी होस्

धारामा सधैं- पानी होस्

नेताले घाँस- नचरुन्

बाघ भालु भोकै- नपरुन्

कालो सूचिमा- नाम नहोस्

सडकमा निस्कँदा- जाम नहोस्

खेतमा जहाज- नझरोस्

डेंगुलॆ निम्तॊ- नगरोस्

दिदैछौ आषिस- गनेर

महङ्गी घटोस्- भनेर

पेटमा अल्सर- नबढोस्

पल्सरमा छोरो- नचढोस्

चोरलाई खेद्ने- लाठी होस्

घरकी जहान- बाठी होस्

महंगीमा पाहुना- नआओस्

आए पनि कुकुरले- भगाओस्

यहाँ आउन काललाई- भय होस्

नेपाली जनको- जय होस्

आघौँ आउँला देउसी गाउँला सारङगी नि रेटौँला

नेपाली नै रहियो भने फेरि भेटौँला ।

33 Comments

  1. सिस्नु पानीको देउसी भैलो बेन्ग्यात्मक र घत लाग्दो छ येस्लाई बेला बेलामा रेडियो टीवीहरुमा बजाई राखना पाए एक दिन नेताका ghainta मा घाम लागने थिए की ?

  2. यो सालको तिहार त सकियो तर यो देउसी लाइ जोगाइ राख्नु होला, ६८ साल मा काम लाग्छ, नेता र तीन को हनुमान हरु को बानि सुधिने वाला छैन

  3. I have seen the New Nepal back in the past ten years time and started to see an old Nepal in the comming years. We should be proud to see old Nepal and be preide to achieve what our ancestors had seen. Thank you for all your support Leaders. Do whatever you like to do…

  4. एउटा कथा छ- तीनजना व्यक्तिले एउटा नै अपराध गरेछन /पुलिसले अदालतमा पुर्याएछन् /न्यायाधीशले सबैलाई हेरेर एउटालाई भनेछन “-तपाइले यसो गर्नु होला जस्तो लागेको थिएन”
    ऊ त्यहाबाट गएर तुरुन्तै आत्महत्या गरेछ /दोस्रालाई पनि त्यसै गरेर न्यायाधीशले भनेछन -“तपाईले यो के गरेको?लाज लाग्दैन?/ल भैहाल्यो जानुहोस / “ऊ पनि तुरुन्तै गएर लाजले त्यो गाउँ नै छोडेर हिडेछ/ तेस्रोलाई बोलाएर न्यायाधीशले आफ्ना कर्मचारीलाई आदेस दिएछन् -“यसलाई चारपाटा मुडेर,कालोमोसो दलेर ,जुत्ताको माला लगाई नगर परिक्रमा गराओ /यो त्यसका लागि लायक छ”/ कर्मचारीले नगर परिक्रमा घुमाउन थालेछन/ केटाकेटीहरु ताली पिट्दै पछाडी लागेछन/गाउँका आइमाईहरु रमिता हेर्न आएछन/त्यही भीडमा त्यो अपराधीले आफ्नी स्वास्नीलाई देखेछ /अनि स्वास्नीलाई बोलाएर हाँस्तै भनेछ -“ए कालेकी आमा ! म यती घुमेर आउछु ,मुख धुन पानी तताई राख है ,साह्रै भोक लागेको छ /”
    हाम्रा नेता यो तेस्रो थरीका अपराधी हुन्/ अनि कसरी छुन्छ यस्ता द्योसी र भैलोले ?/यिनीहरुलाई त सकिन्छ भने…….ए हुन्छ /

    • सारै राम्रो प्रतिक्रिया , धन्यबाद मित्र .

  5. It would be more better if we could sing this ‘Deusi Bhailo’ in front of BICC everyday when there is meeting going. I would like to see this on newspaper everyday as well. Doing this such a way may be helpful to change the mind of corruption in Nepal as well and we could find the people, must say MLAs to think about Nepal’s integrity and development. I don’t mind if they ride Pajero, but they must have to drive Nepal in the enforced laws; it does not matter who they are. Victims must be punished. Laws should be enforced. We need a government that really works, not like idle. I don’t mind if they have a jumbo team while they go for a foreign affair, but I do mind if they learn something at least when they are there.

  6. धन्यवाद ब्रो यसको लागि एकदम राम्रो छ. तर हाम्रो नेतालाई सुनाउनु भालुलाई पुराण सुनाउनु जस्तो न हो. सरम पचेका हरु हुन् कमसेकम भोलि भोट माग्ने ठाउँ त राख्नु पर्ने.

  7. निराहार बसेको दिनमा तपाइले झुकिएर पनि अन्न खानु भयो भने त्यो निराहार सफल हुदैन / म सिस्नुपानीका कतिपय साथिहरुलाई राम्रैगरि चिन्दछु/ उहा (हरु)पनि कुनै न कुनै हिसाबले भ्रस्ट सोच राख्नु हुन्छ / फोहोरले फोहोरलाई नै सुद्द बनाउन खोज्नुपनि व्यंग नै हो/ तथापी प्रस्तुति राम्रो छ /

  8. काव्यात्मक सैलिमा लाज पचेका नेताहरुलाई व्यंग्य गरेकोमा सिस्नो paani परिवार लाइ धन्यबाद/

  9. आहा कति रमाइलो………….. नेपाली नेता र माओबादीलाई गजबले भनिदिनु भएछ मनोज दाइ…….. हाम्रो देशको नेताहरुको बुद्दी आऊस

    प्रकाश पुन इराक

  10. अति नै राम्रो. बधाई छ .
    धन्यवाद मनोज दाई लाई .

    जय नेपाल

  11. यस को वास्तविक आवाज थियो भने झन् सुन मा सुगन्ध हुन्थ्यो नि.

  12. जतिनै भट्याएनी घरबेटी ले नसुनेपछि कसको के लाग्छ हैन र ? देउसुरे हरु को स्वोर नै सुके पछि ? निधाएको मान्छे लाइ उठाउन सजिलो हुन्छ तर निधाएको नाटक गर्ने लाइ गारो हुन्छ तर कहिले सम्म त नाटक ? एक न दिन त उठ्ने पर्छ हैन र ? फेरी एक पल्ट गाउ गाउ बाट बस्ति बस्ति बाट आ आफ्नो क्षेत्र बाट आवाज उठाउने बेला आएको छ / घर बेटीका कान मा झिर हाल्ने बेला भैसकेको छ ? अगुल्टो ठोस्ने बेला भैसक्यो / अब एस्तो आगो बल्नु पर्यो जो कालान्तर सम्म बलिरहोस /

  13. सारै राम्रो लाग्यो धरै धरै धन्यवाद छ हाम्रो सिस्नु पानी समुहका मित्रहरु लाइ ..

  14. के गर्नु जति कराए पनि यीनलाइ के र ?? लाज शरम भा पो ??
    काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भने जस्तो

  15. देश को बर्तमान परिस्थिति लाई चित्रण गर्दै लेखिएको ब्यंग्य सार्है नै मन पर्यो .सिस्नु पानी नेपाल का आदरणीय स्रस्ठा ज्यु हरु लाई सलाम उहा हरु को यस ब्यंग्यले देशका हर्ता कर्ता हरुको दिमाग मा अलिकति भए पानी सद बुद्दी पलाओस सुभकामना \
    महेश्वर नेपाल
    दोहा कतार

  16. नेपाली जनको- जय होस् खेतमा जहाज- नझरोस् रेखासँग नाच्तै भन्छन् सुकिला र मुकिला;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;

  17. मलाई यो मन परेन, गाइजात्र छदै छ नि हास्यव्यंग्य को लागि, किन देउसी मा पनि गाइजात्र देखाउनु परेको, हुनत देसमा सधै नै गाइजात्र नै छ !!! जसले जे गरे पनि भो , अब परिवर्तन को नाउमा, केटा मान्छे ले रतौली खेले पनि भो !!! अजब देश को गजबको कथा

  18. अत्यन्तै सन्तुलन छ देउसीमा,सिस्नु पनि नेपालको जय होस्

  19. हाह्हहहहहः

    Nepal को उन्नति भएको sunna पाए कति खुसि lagne थियो होला? ज होस् काम राम्रो गर्दो रहे६ त्यो sanstha ले.

  20. सारही मन परेको चाही यो पर्यो…..

    “भाले हो कि पोथी हो यो पत्ता लगाई हालौंन

    बल्खु दरबार खालि पारी बोइलर पालौंन । “

  21. रेखासँग नाच्तै भन्छन् सुकिला र मुकिला

    फाइभ स्टारको चिकेन रोष्ट डकार झुसिला ।

    नडराउनोस् माओवादी अब जङ्गल फिर्दैन

    किनभने पजेरो जङ्गल छिर्दैन ।

  22. मलाइ सार्है मन पर्यो . यो देउसी भैली खेल्ने लै मुरी मुरी धन्यबाद .

  23. निकै राम्रो/
    नडराउनोस् माओवादी अब जङ्गल फिर्दैन
    किनभने पजेरो जङ्गल छिर्दैन ।

    लेखक laai धेरै धेरै धन्यवाद/

  24. त्यसरी कुर्ली कुर्ली ब्यङ्ग गर्ने ले एक चोटी आफुपनि ऐनामा हेर्ने हो कि. परिबर्तन आफूबाट सुरु गर्नु पर्छ भन्ने कुरा साथीहरुले किन बिर्सेको होला खै.
    ओह व्यंग्यकार जी, तपाईंले (नाम अहिले नतोकौं) जनतालाई कति ठग्नु भएको छ? हिसाब छ, तपाईंसंग?? हिसाब किन गर्नु?

    नेतालाई किन भन्दछौ, आफैंलाई हेरन
    नेता भन्दा कम छ र, तिम्रो चलन
    संक्रमणमा नेपाल परेको, जे मन लाग्यो त्यहि गरेको
    तिन बर्समै महल कार, सबथोक जोडेको!!
    जनताको पसिना, कुन दिन पर्छ अशिना
    अनि खुच्चिंग मच्चाउँला, छेउमै बसी म !!

    हेमन्त अकेला

    • लक्ष्मण गाम्नागे ,मनोज गजुरेल, धिरेन्द्र झा ‘प्रेमर्षि’, गोविन्दबाबु तिवारी, टंक आर्चाय, हरिकला उप्रेती, चक्र दवाडी, देवी नेपाल,माणिकरत्न शाक्य यिनै हुन् . यी मध्ये कसले जनता thhagechha , थाहा पाउन पाए आयोग गठन गर्नु हुन्थ्यो .

  25. “सभासद अनि नेतो” भनाउदाहरुको पेटको किरा मर्ने गरि दह्रो देउसी-बाण हान्नु भएकोमा सिस्नुपाने बन्धुहरुलाई साधुबात !!!!

Comments are closed.