जागिर गुमाउनु पर्ने लेख

काठमाडौँको एउटा राष्ट्रिय दैनिकमा ‘पाठक पत्र’ का रुपमा छापिएको यो लेखले एक जना पत्रकारको जागिरै गुमेको छ। राजधानीबाटै चलेको एउटा न्युज टेलिभिजनबाट उनले यही पत्रका कारण जागिर गुमाउनु परेको हो। कस्तो रहेछ त त्यो लेख, पढ्नलाई भित्र आउनुस्। केही प्रमुख बूँदा

• मजदुर भएर पनि आफूलाई मजदुर भन्न नरुचाउने पत्रकारको अवस्था गार्मेन्ट उद्योगमा काम गर्ने श्रमिकको भन्दा दयनीय रहेकामा अझै खासै ध्यान गएको छैन।
• पत्रकारलाई तलब नदिए पनि हुन्छ? तोकिएभन्दा कम दिए पनि हुन्छ? उनीहरूको व्यावसायिक सुरक्षा हुनुपर्दैन वा मालिकले जे चाह्यो, त्यही गरे हुन्छ? काम गरेको महिना दिन पुग्दा पनि तलब नपाउनुजस्तो अन्याय अर्को केही हुन सक्छ?
• ठूला मिडिया हाउसका मालिकविरुद्ध पत्रकारका संगठित संस्था पनि मूकदर्शक बन्छन्, सचेत गराउनसम्म सक्दैनन्। नेपाली पत्रकारहरू आफ्नो सेवा र सुविधाप्रति भन्दा मालिकले तोकेको सेवा सुविधा र नियमभित्र आबद्ध हुन बाध्य छन्।
• मिडिया हाउसभित्र हुने गरेका अत्याचारका विषयमा भने नेताहरूसमेत केही बोल्न सक्दैनन्। दस वर्ष सशस्त्र युद्ध गरेका हुन् वा राणाशाहीदेखि निरंकुश राजतन्त्रको अन्त्यका लागि संघर्ष गरेका दलहरू, उनीहरू मिडिया हाउसको अवस्थाबारे केही बोल्न सक्दैनन्। बोल्यो कि पोल्यो भनेझैँ गरेर त्यही नेता र मन्त्रीविरुद्ध खनिने मालिकको मिडिया पोलिसीका अगाडि उनीहरू घुँडा टेक्न बाध्य छन्।

निरीह पत्रकार, बलिया मालिक


गत साता एउटा सरकारी प्रतिवेदन आयो, नेपाली पत्रकारको अवस्थाबारे। सरकारद्वारा गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिको प्रतिवेदन। पढेपछि म निराश भएँ।
पत्रकारिता अँगालेको एक दशक बितिसकेको अवस्थामा गत वर्ष सरकारले एउटा दरिलो निर्णय गर्‍यो, म र मजस्ता पत्रकारका लागि। एक वर्षअगावै गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धताले खुसी नबनाउने कुरै थिएन। २०६६ वैशाखदेखि कार्यान्वयन हुने भनिएको श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको तलबमान र सुविधा पाइने आशा समग्र सञ्चारकर्मीमा जागेकै हो। केही सञ्चारकर्मी उक्त समितिले तोकेको मापदण्डभन्दा बढी तलबमान सुविधा भोग गरिरहेका किन नहुन्, उनीहरूका लागि कानुनी बाटो र टेक्ने आधार बनाइदिएको थियो, सरकारको उक्त निर्णयले।

झण्डै पौने दुई वर्षपछि अर्को समितिले कार्यान्वयन र प्रगति समेटिएको प्रतिवेदन सरकारका माननीय विभागीय मन्त्रीलाई बुझाउनु र सरकारलाई जानकारी गराउनु एउटा पक्ष होला अनि समितिको काम पनि होला त्यो। तर, जतिबेला त्यस प्रतिवेदनले वास्तविकता सार्वजनिक गर्‍यो, समाजमा पत्रकारको स्थिति अझै नसुधि्रएको स्पष्ट भयो। तर, कसले ध्यान दिने?

प्रतिवेदनले देखाएका विषयलाई सापटी लिँदा अझै पनि नियुक्तिपत्र नपाउने पत्रकारको संख्या ४५ प्रतिशत छ। त्यतिमात्रै होइन, न्यूनतम तलबमान पनि नपाउने पत्रकारको संख्या ३७ प्रतिशत छ। सञ्चारउद्योगमा काम गर्ने मजदुर हुन् पत्रकार। तर, ती मजदुरले किन श्रमिक अधिकार पाउन सकेका छैनन्? अन्य उद्योगमा कार्यरत सबै तहका मजदुरले समान श्रमिक अधिकार पाउँछन्। तर, मजदुर भएर पनि आफूलाई मजदुर भन्न नरुचाउने पत्रकारको अवस्था गार्मेन्ट उद्योगमा काम गर्ने श्रमिकको भन्दा दयनीय रहेकामा अझै खासै ध्यान गएको छैन।

सर्तमा एउटा रकम र बुझ्दा अर्कै हुने श्रमजीवी पत्रकारको संख्या पनि उत्तिकै छ। ३२ प्रतिशत पत्रकारले सम्झौताबमोजिम तलब पाउँदैनन् भने कैयौँ महिना पार भइसक्दासमेत तलब नपाउने पत्रकारको संख्या झन्डै पन्ध्र पतिशत छ। पत्रकारलाई तलब नदिए पनि हुन्छ? तोकिएभन्दा कम दिए पनि हुन्छ? उनीहरूको व्यावसायिक सुरक्षा हुनुपर्दैन वा मालिकले जे चाह्यो, त्यही गरे हुन्छ? काम गरेको महिना दिन पुग्दा पनि तलब नपाउनुजस्तो अन्याय अर्को केही हुन सक्छ? महिनाभर काम गर्ने अनि अर्को महिनाको जोहो चलाउने बाध्यता रहेको अवस्थामा एक महिनाको तलब पाउन महिनौँ कुर्नुपर्ने कस्तो नियति होला? सामान्यरूपमा यस्तो अवस्था कल्पनासमेत गर्न सकिँन्न। एक्काइसौँ शताब्दीमा भने यस्तो अवस्था कहिलेसम्म रहने?

सरकारले अघिल्लो वर्षदेखि कार्यान्वयनको कुरा गरिसक्यो। उसले प्रतिबद्धता गर्न बँाकी अब केही छैन। अबको दायित्व कसको त? न्यूनतम समितिको? नेपाल पत्रकार महासंघको? पार्टीका भ्रातृ संस्थाका रूपमा स्थापित प्रेस युनियन, प्रेस चौतारी वा क्रान्तिकारी पत्रकार संघको? समितिले प्रतिवेदन बुझाइदियो, उसको जिम्मेवारी पनि सकियो। महासंघले पर्‍यो भने जुलुस निकालिदिन्छ, त्यसबाहेक अरु के भो र? अनि दलका भ्रातृ संस्था बनेका संगठनलाई आफ्नो पार्टीको सरकार असफल भयो वा आफ्नो पार्टीको सरकारसँग मिडिया मालिक रिसाए भन्ने चिन्ता जाग्ने गर्छ। आखिर किन समस्या आउँछ त?

२०५१ सालमा नै श्रमजीवी ऐन बनी लागू भएको हो। जतिबेला राजपत्रमा ऐन प्रकाशित हुन्छ, त्यति बेलादेखि त्यो लागू भएको मानिन्छ। तर, मालिकको असहमतिका कारण त्यसले झन्डै डेढ दशक चर्चा र परिचर्चामै बित्यो। मिडिया मालिकको असहमतिसामु सरकारले पनि केही गर्न सकेन, न त श्रमजीवी पत्रकारले केही गर्न सके। अन्ततः सहमतिमा केही बुँदा संशोधन गरी जारी गरिएको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा पनि मिडिया मालिक हिच्किचाइरहेका छन्।

नेपाल पत्रकार महासंघमा रेकर्ड भएका मात्रै गणना गर्ने हो भने हाल मुलुकमा पन्ध्र हजारभन्दा बढी श्रमजीवी पत्रकार छन्। अन्य संस्थामा मात्रै आबद्धको गणना गर्ने हो भने यो संख्या अझै ठूलो हुने छ। तर, तिनै पत्रकार आफ्नो हकभन्दा जागिरप्रति वफादार छन्। मालिकले तोकेको पैसामा काम गर्ने र ऊविरुद्ध आवाज उठाउन नसक्ने अवस्था छ। त्यसमाथि ठूला मिडिया हाउसका मालिकविरुद्ध पत्रकारका संगठित संस्था पनि मूकदर्शक बन्छन्, सचेत गराउनसम्म सक्दैनन्। नेपाली पत्रकारहरू आफ्नो सेवा र सुविधाप्रति भन्दा मालिकले तोकेको सेवा सुविधा र नियमभित्र आबद्ध हुन बाध्य छन्।

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन हुन नसक्नुको अर्को प्रमुख कारण मिडिया डोमिनेटेड पोलिटिक्स। राजनीतिक घटनाक्रममा राजनीतिक दल र तिनका नेताका लागि नभई नहुने मिडिया हो। उनीहरू मिडियाको स्वतन्त्रताका विषयमा ठूला कुरा गरेर कहिल्यै थाक्दैनन्। अझ लोकतन्त्रमा मिडिया त गहना नै हो भन्छन् र थप्छन्, स्वतन्त्र प्रेस नरहे लोकतन्त्र रहँदैन। ती मिडिया हाउसभित्र हुने गरेका अत्याचारका विषयमा भने उनीहरूसमेत केही बोल्न सक्दैनन्। दस वर्ष सशस्त्र युद्ध गरेका हुन् वा राणाशाहीदेखि निरंकुश राजतन्त्रको अन्त्यका लागि संघर्ष गरेका दलहरू, उनीहरू मिडिया हाउसको अवस्थाबारे केही बोल्न सक्दैनन्। बोल्यो कि पोल्यो भनेझैँ गरेर त्यही नेता र मन्त्रीविरुद्ध खनिने मालिकको मिडिया पोलिसीका अगाडि उनीहरू घुँडा टेक्न बाध्य छन्।

सरकारले श्रमजीवी ऐन कार्यान्वयन भए नभएको अनुगमनका लागि प्रेस रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको थियो। प्रेस रजिष्ट्रारको कार्यालयले नै सबै सञ्चार प्रतिष्ठानको अनुमगन र कार्यान्वयन नगरेको पाए कारबाही गरिने बताइयो। तर, त्यही पुरानो सूचना विभागलाई यो जिम्मेवारीसमेत सुम्पिँदा त्यसको असली पालना हुन नसकेको देखिन्छ। तसर्थ सरकारले पनि यसबारे तत्काल ध्यान दिनुपर्छ। होइन भने सरकारले मिडिया मालिकलाई जति सुविधा दिए पनि सुविधाका कुनै पनि अंश श्रमजीवी पत्रकारसम्म पुग्न सक्दैन।

रेडियो र एफएमहरूमा घन्किने समाचारका स्वर हुन् वा अनलाइनमा लेखिने अक्षर हुन्, टेलिभिजनमा देखिने दृश्य र एंकरले बोल्ने शब्द हुन् वा छापा माध्यममा भँगेरे टाउके अक्षरमा छापिने शब्द, ती सबै श्रमजीवी पत्रकारका सिर्जना हुन्। पत्रकारले नलेख्ने, नखिच्ने र नबोल्ने हो भने मिडिया रहँदैन। तसर्थ, ती पत्रकारको सेवा सुविधा र अधिकारबारे राज्यका हरेक पक्ष उतिकै जिम्मेवार हुनुपर्छ। ती पत्रकारको अवस्था सन्तोषजनक रहन सकेन भने सुसूचित हुने अधिकारबाट जनमानस र नागरिक समाज वञ्चित हुन्छन्। अन्य सेवाक्षेत्रका कर्मचारीले समयमा तलब नापएको समाचार बनाउने पत्रकार आफूले तलब नपाएको विषयमा बोल्नसमेत सक्दैन, अन्य सेवाका कर्मचारी केही वर्षदेखि अस्थायी काम गरिरहेछ भनेर रिपोर्ट तयार पार्ने पत्रकारले आफू वर्षौँदेखि नियुक्तिपत्रबिना काम गरिरहेको आफ्ना साथीलाई सुनाउनसमेत सक्दैन। त्यतिमात्रै होइन, अन्य निकायका कर्मचारीलाई सरुवा गरिएको समाचार संकलन गर्ने पत्रकारले आफू बिनाकारण कामबाट निकालिएको समेत भन्न सक्दैन। यी सबै अवस्थाका कारण निरीह पत्रकार र बलिया मालिक हुन्।

नारायण अर्याल
[email protected]

14 Comments

  1. तलब कम पायो बा पाउँदै पाएँन भनि जनताको सहानु भुटी पाउन सकिन्दैनन पत्रकार महोदय हरु/ पहिला आफुलाई सच्चा पत्रकार भएको प्रमाणित गर्नुस तपाईं हरुले/ तपाईं हरुको कारण कसैले आत्म हत्या समेत गर्नु परेको थियो र तपाईं हरुकै सहकर्मीहरुले जनताको आवाज गुन्जाउनु र जनतालाई सत्य तथ्य जानकारी दिनु भन्दा नेताहरु को फत्यायींलाई सत्य साबित गर्न जिउ ज्यान लगाउंदै देसी फताह र बिदेसिको दलाली मात्रै होयिना बिदेसी आतंककारीको मतियारी समेत गर्दै आएको पनि छ/ तेस्ता पत्रकारहरुको माझमा उभिएर मैले तलब पाएनन् भनेर तपाईं हरुको गुनासो कसले सुन्छ? आफुलाई पत्रकार भन्न रुचाउने महोदय हरु पहिला तपाईं पत्रकार हो बा नेता र दलको पर्चाकार हो होयिन आफैलाई सोध्नुस/ अनि जनताको माझ आफ्नो गुनासो पोख्नुस/ यो भन्नुको मतलब देसमा सत्य पत्रकारहरु छान्दै छैन भन्ने होयिन छन् तर तिनीहरु पर्चाकार हरुको भिडमा छुट्याउन नसकिने गरि बसेका छन्/ सत्य पत्रकार हरुले पहिला पर्चाकारहरु, आठ प्रहरिया पत्रकारहरु र बिदेसी दलाल पत्रकारहरुलाई बहिस्कार गर्नुस/ तिनीहरुलाई तपाईं हरुनै बढी चिन्नु हुन्छ/ त् औंला किन उठाउनु हुन् तेस्तामाथि ?

    बिदेसी आतंककारीको मतियारी गरेको आरोप लागेको व्यक्ति अझै पनि चोखिन बा सजाय पाउन बाकीनै छ तर तपाईं हरु चुप मात्रै होयिन तेही रिपोर्टर्स क्लब मा जम्मा हुने गर्नु हुन्छ/ किन? के तेस्तो ऋषि धमलाको रिपोर्टर्स क्लब जस्तो लाई बहिस्कार गर्न सक्नु हुन्न/ रिपोर्टर्स क्लब जस्ताको कुनै पनि कुरा समाचार को रुपमा लिन अस्विकार गर्न किन सक्नु हुन्न/किन त्यो क्लबलाई बहिस्कार गर्न सक्नु हुन्न?

    सत्य पत्रकार महोदयहरु तपाईंहरुले पहिला सत्य जन आवाज गुन्जाउने अर्को रिपोर्टर्स क्लब खोल्नुस/ त्यहा बात जनआवाज र आफ्नो कुरा जनताको माझ आर्ख्नुस/ तव जनताले तपाईंहरुको गुनासोमा साथ् दिनेछौं/ तव सम्म मर्कै परेको पिडित पत्रकारहरु कुन कुन हो भनि हामीले कसरि को छुट्याउने?

  2. मैले राम्रो संग सबैतिरको माहोल विचार गर्दा नेपाल हामीले बिगारेको भान हुन थालो. सबै जना विद्वान, सबैले सबै कुरा जान्ने अनि ब्यबहारमा उल्टो गतिमा लागु गर्ने. बोर्डरमा २ रुपैया सस्तोमा चिनी पाउदा नेपाली चिनी किन्दैनन. १ घण्टा लाइनमा बस्न नसकेर १० जनालाई फोन गर्दै काम गर्न लगाउछन. बाहिर भ्रस्टाचार भो भनेर कुरलनछन. स्नाकोत्तर तहमा तथाकथित प्रोफेसर संग प्रस्न नमुना मगाएर पास हुन्छन. क्याम्पस लगायत सबै ठाउमा उनीहरुकै बोलवाला हुन्छ. टिचरलाइ गुलामी नगरे बापत पास हुन नसकेको किर्तिपुरको शिक्षा साखमा धन्न त्यो बिधार्थीको घडिचाई झुण्डीरहेको छ.
    बिरोध गर्न मात्र जान्ने तर सहि कदम कसरी चाल्ने अनि हामीले आगामी दिनमा येस्तई येस्तई दुखका समाचार आउन नदिन के गर्न सकिन्छ. एस्तो बिसयमा हाम्रो समय खर्च भएमा केहि परिवर्तन हुन्छकी भनेर भन्दा तपाइँहरु ठिक भनो भन्ने कि बेठिक भन्ने

  3. पत्रकार पनि मुलुक प्रति जिम्मेवार हुनुपर्दछ भने पत्रकार प्रति राष्ट्र जिम्मेवार हुनुपर्दछ। सरकारले पत्रकारको सुरक्षाको ग्यारण्टी गर्नुपर्दछ नसके सरकारको बागडोर छोड्नु पर्छ।

  4. once a professor of journalism argued Journalist of Nepal are low graded than of the Gov’s driver. Now after reading this blog i realized why he said soo.

  5. निरिह देशमा निरिह जनता, निरिह मजदुर, निरिह पत्रकार !
    बलिया मालिक, फटाह र भ्रष्ट नेता भएको मुलुकमा यस्तै हो साथी हो ।

  6. यो नेपाल मा राम्रो काम गर्ने मान्छे टिक्दैन र टिक्न पनि दिदैन नि हौ

    • पत्रकार हरू पनी हेर्न का छन. एकातिर सच्चा पत्रकार हरू छन भने अर्को तीर पत्रुकार र पर्चाकार हरू छन जो लैंचौर को भत्ता बुझेर देश प्रति नै बिष बमन गर्दछ्न.हिमाल मीडिया जस्तो प्रतिगामी हरू मालिक भएको मीडिया ले के पत्रकार को हित गर्ला? हुन त पत्रकार भन्दै माँ सबै एकै किसिम का पनी हुदेनन. यो देश माँ किशोर श्रेष्ठ जस्ता निर्भीक पत्रकार पनी छन र कृष्ण सेन जस्ता इमानदार पत्रकार पनी थिए भने अर्को तीर गोकुल बस्कोता जस्तो पत्रकार भन्दा केपी ओली को नोकर बढ़ी, ऋषि धमाला जस्तो अपराधी र देव प्रकाश त्रिपाठी जस्तो नालायक पत्रुकार पनी छन. बास्तव माँ पत्रकार हरु ले आफ्नो हक़ खोज्नु को साथै आफनै नैतिक सीमा, पेशागत मर्यादा को ख्याल राख्दा कसो होला? नागरिक दैनिक जस्तो ब्यापार धेरै गर्ने पत्रिका ले भक्तमान अपहरण काण्ड माँ जे जस्तो घिन लाग्दो काम गर्यो र कुनै हीनता बोध गरेन, अनि पत्रुकार हरु को संगठन जो ऋषि धमाला को अपराध काण्ड माँ जसरी अगाडी आयो र राकेश सूद ले मीडिया लाइ धम्क्यौदा जसरी पुच्छर लुकायो नि तेसले गर्दा नेपाली पत्रकार हरु ले सहानुभूति गुमौदै गएका छन. नेपाल को राजनीति जती दूषित छ त्यों भन्दा बड़ी पत्रकार हरु भ्रस्त र कर्ताब्यबिमुख छन.

  7. सामान्त भनेको त्यहिँ हो पत्रकार ज्यु / तपाई हरुलाई धनी हुनेगरी तलब दियता पछी मालिकाले भने आनुसार तपा इ हरुले लेख्नु हुन्छर ?

  8. “पत्रकारहरु नै दोसी छन्”

    अरे ऋषि धमला मार्काकाको पत्रकार हरु संगठित छन्/ उनीहरुको आफ्नो धन्दा चलाउन रिपोर्टर्स क्लब खोलेको छ/ रिपोर्टर्स कल्बको त्यो यस यल सिको तेस परिछ्या असफल भएको ऋषि धमलार तेस्तै पत्रकारको नाममा धब्बा बनेकाहरुले संघठित भएर सरकार बात मासिकी समेत पाई आएको सबैलाई थाह छ/ तैपनि सत्य र निस्थाबान पत्रकारहरु मिलेर आफ्नो र जनताको हकको लागि आवाज उठाउन यउटा अर्को रिपोर्टर्स क्लब खोल्न सक्दैन भनु बा खोल्न आँट छैन भने यस्तै कुरा अन्यायेमा पर्ने पत्रकार सडकमा बसेर यसरि नै रुनु पर्ने हुन्छ/ दोस तपाईं पत्रकार हरुकै हो/ संघठित हुनुस त् कसले अन्याय गर्न सक्छ?

    तपाईं पत्रकारहरु सिट दुयिता उपाए छन्; यक बिक्नुस र ऋषि धमला जस्तै मोज मस्ती गर्नुस/ दोस्रो सगठित हुनु र संघर्स गर्नुस/ रोज्नुस जे रोज्नुछ/

  9. यही होला सायद नेपालमा वाकस्वतन्त्रता भनेको ! हुन त नेपालको मात्र के कुरा गर्नु प्रजातन्त्रका ठेक्केदार भनाउदाहरुले गरेको नाङ्गो नाचको विकिलिक्स नामक नाटक मन्चन जारी रहेकै क्षणमा |

  10. I am really so sorry to listen such a news.This clearly indicates that in Nepal there is no press freedom.If the owner of big media houses,political parties and the government won’t be able to solve the such a miserable problem then they don’t have right to say press freedom is essential & that has to be included in the constitution as a preamble.This clearly indicates that we don’t have so called loktantra.If loktantra is existed that is only for owner of media & some political parties only.The situation of general people is so pathetic like as the journalists mentioned above.

  11. Blackmailing is the main source of income of most of journalist . only Loser journalist needs salary.
    This is Nepal

  12. नेपाली पत्रकारहरूको मनोबल र एकता तोड्ने अर्को दुष्प्रयास हो यो । हुन त प्राय:जसो पत्रकारहरूको ज्याला मालिकले दिनै पर्दैन भन्ने आरोप पनि लाग्ने गरेको छ । ‘राष्ट्रघाति धमला क्लब’ धाउन लगाउने मालिक धाउने पत्रकारहरू कस्ता हुन्छन् भन्ने कुरा भनिरहनुपर्दैन । नेताहरू त लौ मानिलिउँ बोल्ने बहाना खोजिरहेका हुन्छन् भनौं‍, तर ऋषि धमला राष्ट्रघाति हो भन्ने जान्दाजान्दै कि त्यहाँ धाउँछन् ? किन विरोध गर्न सक्दैनन् पत्रकारहरू यस विषयमा ? कहीँ न कहीँ स्वयम् पत्रकारहरूमै कमजोरी रहेको कुरा प्रष्ट हुन्छ । तपाईंहरूले आफ्नो लागि छहारीको व्यवस्था त गर्नुभयो, तर धमला क्लबहरूमा धाउने बानी परेका तपाईंहरूले उक्त छहारीमा छानो लगाउने व्यवस्था अझै पनि गर्नसक्नुभएको छैन । तसर्थ पत्रकार साथीहरू समयमै होश पुर्याउनुस्; चाँडोभन्दा चाँडो छानोको पनि व्यवस्था गर्नुस् ।

  13. अन्य सेवाका कर्मचारी केही वर्षदेखि अस्थायी काम गरिरहेछ भनेर रिपोर्ट तयार पार्ने पत्रकारले आफू वर्षौँदेखि नियुक्तिपत्रबिना काम गरिरहेको आफ्ना साथीलाई सुनाउनसमेत सक्दैन। right point…..

Comments are closed.