-लेखनाथ गौतम/टेक्सास, अमेरिका-

थुतुनो याने मुख । यो नाकको मुन्तिर, चिउडोको केही माथी अबस्थित छ । यो धेरै प्रकारले प्रयोग हुन्छ । यसको प्रमुख काम खाना खानु हो । त्यस बाहेक रुघा लागेर होस् वा साइनस बाट पीडित हुँदा यसले सास फेर्ने काम पनि गरिदिन्छ । त्यसो त मुख उक्काएर सधैं मुखबाट सास फेर्ने पनि धेरै छन् । मुखको अर्को प्रमुख काम बोल्नु पनि हो । बोली गोली पनि बन्छ जब त्यो खतरनाक हुन्छ । त्यस्तो बोलीले समय, ठाउँ र परिस्थिती अनुसार कम्पन पैदा गर्छ । सानो मान्छेको मुखले सानै अनी ठुलो मान्छेको मुखले ठुलै असर गर्छ समाजमा । बोलीले समाज परिवर्तन गर्न सक्छ भने बोलीले नै बिध्वन्स पनि । यसले कहिलेकाही देशको नक्सा समेत बदल्न सक्छ l त्यसैले यसको काम अनुसार कहीले नाम त कहीले काही बदनाम हुन्छ यहि मुख ।


मान्छे कस्तो छ भन्ने कुरा मुखले चाल पाइन्छ धेरै जसो । उस्को बोली नै यस्तो अस्त्र हो जसबाट उस्को ब्यक्तित्व झल्कीन्छ । उस्को दिमागमा कति गुदी छ भनेर सजिलै थाहा पाउने माध्यम उस्को बोली नै हो । आफ्नो कुरा जति लुकाउन खोजे पनि, आफू जान्ने भएको जति स्वाङ पारे पनि बोलीको दमले उस्को सतह स्पस्ट हुन्छ । शब्दलाई घुमाइ फिराइ गरेर आफ्नो अनभिग्यता वा अक्ष्यम्तालाई लुकाउन खोजे पनि बोली बाट उस्को धोती खुस्की हाल्छ ।

यसरी मान्छे बोल्ने जस्तो गहन काम मुखबाट हुन्छ । यसले नै हो इस्टमित्र बनाउने र दुस्मन बनाउने पनि । कुरा गर्ने काइदाले कहीले उसलाई फाईदा त कहीले घाटो हुन्छ । सबै चाहन्छन् मेरो कुरा सबैले सुनुन् । मेरो कुराको राम्रो प्रभाव परोस । ठुलै देशको नेता मात्र होईन ४ जनाको परिवारको प्रमुखले पनि आफ्नो बोलीको प्रभाव राम्रै परेको हेर्न चाहन्छ । त्यसैले तुक नभएको बोली बोले पनि “म”, “मेरो कुरा” “मैले भनेको” जस्ता कुराहरु धेरै जस्तो सुन्न पाईन्छ । यस्सो गफ गर्न बस्यो भने धेरैको मुखारबिन्दबाट यस्ता कुरा निस्किरहन्छन् । यस्मा हामी नेपालीको मात्र कपी राइट छैन, यो युनिभर्सल आइडिया हो ।

तर जब मुखले जथाभावी बोल्न थाल्छ, यो मुख होईन थुतुनो कहलिन्छ । हामी बढी बोल्यो भने भन्छौ कति थुतुनो चलाएको भनेर । जहिले सम्म यो मुख हुन्छ त्यसको नकारात्मक प्रभाव कम वा सुन्य हुन्छ । तर जब यो थुतुनो बन्छ, यसले बित्यास पार्छ, बिगार्छ, भत्काउछ, ध्वस्त पार्छ । यसले इस्ट लाई दुस्ट बनाउछ । साथिलाई सत्रु बनाउछ । वरको लाई परको बनाउछ । माया गर्ने हरु घ्रिणा गर्न थाल्छन् । सुभचिन्तकहरु कुरा काट्ने हुन्छन् । त्यहि थुतुनोले उसलाई एक्ल्याउछ ।

थुतुनो कति प्रकारका होलान् ? बडो जटिल प्रश्न हो यो । यसलाई बर्गिकरण गर्नु सजिलो काम होईन । किनभने हरेकको आफ्नै प्रकारको थुतुनो हुन्छ । एउटै मान्छेको पनि बेलाबखत फरक खालको थुतुनो हुनसक्छ । अत्यन्तै माया गर्ने सतिदेवी जस्ती श्रीमतीको रिसको बेलामा सुरसाको जस्तो थुतुनो हुनसक्छ । साप्रामा टाउको टेकाएर मुकाउदै कुरा गर्ने बेलामा माया गर्दै कपाल मुसार्दै मिठा शब्द बोल्ने बोय फ्रेण्ड रिसाउदा रावण जस्तो बोल्न थाल्न सक्छ । त्यसैले थुतुनाको प्रकार छुट्टाउनु अरिगाठेको खुट्टा गन्नु जस्तै हो । तर सोलोडोलो रुपमा मैले यिनलाई तीन बर्गमा पार्ने प्रयास गरेको छु । त्यस्भित्र पर्ने नपर्ने, अटाउने नअटाउने जिम्मा थुतुनाहरुकै । मलाई केको टन्टन ।

काउले थुतुनो : थुतुनाको प्रकारले नै बुझिन्छ यो कस्तो थुतुनो हो भनेर । काउलो एक प्रकारको रुखको नाम हो । तिहारमा सेल रोटी पकाउदा आमाले त्यहि काउलाको बोक्रो थिचेर हाल्नु हुन्थ्यो । रोटी मज्जाले फुर्थे, आजकाल सोडा हालिन्छ त्यसको ठाउमा । त्यो चिप्लो हुन्छ । त्यसैले काउले थुतुनो पनि चिप्लो हुन्छ । चिप्लोमा टेकेर कति चोटि हामि लड्छौ, पल्टिन्छौ त्यो त भन्नै पर्दैन । यो चिप्लो हुन्छ, चिल्लो हुन्छ । रोटी चिल्लो मिठो कुरा खस्रा मीठा भन्ने उक्ती हाम्रो नेपालमा त्यसै चलेको होईन । यो काउले थुतुनो सुन्नमा मज्जाको हुन्छ । कुरा मिठा हुन्छन् । तर परिणाम त्यसले तपाईंलाई लडाइदिन्छ । त्यस थुतुना बाट निस्केका हरेक बचन अर्थपुर्ण हुन्छन् । त्यस्मा हास्यरस मिस्रित हुन सक्छ तर त्यो कुटिल हुन्छ । त्यहा शब्दको धेरै अर्थ लाग्छन । तपाईं त्यसबाट यति प्रभावित हुनुहुन्छ की आफू चिप्लिएर खुत्रुक्क लडेको तपाईं चाल पाउनु हुन्न । त्यसैले यो निकै सतर्क हुनु पर्ने थुतुनो हो ।

छुचो थुतुनो : यो थुतुनोलाई फत्फते थुतुनो पनि भन्न सकिन्छ । यो दिमागको नियन्त्रणमा प्राय हुदैन । बोल्दा बोल्दै आफ्नो धोती खुस्केको यो थुतुनाधारीहरुले चाल नै पाउदैनन् । यिनीहरुलाई सबैको बारेमा थाहा भए जस्तो बक्बक गर्छन् माने उनिहरु त्रिकालदर्शी हुन् । सबैको बारेमा केही न केही प्रतिक्रिया यो थुतुनो वालाहरुसँग हुन्छ । नेपाली समाजमा महिलालाई रुद्रघण्टी नभएको भनेर आलोचना गरिन्छ तर यस्मा महिलाको मात्र कपिराइट छैन, पुरुष पनि कम छैनन् । शायद यो बर्गका मान्छेहरुको रुद्र घण्टि हुदैन । यो थुतुनाधारीहरुको कुराले अरुलाई त असर पर्ने नै भयो, त्यो भन्दा बढी उनिहरुलाई नै पर्छ । बोली दिमागको नियन्त्रणमा नहुने हुनाले के बोले भन्ने भ्याउ उनिहरु पटक्कै पाउदैनन् फल्स्वरुप ऊनीहरुलाई समाज्मा फाल्तु मान्छेको दर्जामा राखिन्छ । “यसको कुरा केको पत्याउनु” धेरैको प्रतिक्रिया यस्तै हुन्छ । पतरपतर बोलिरहने हुनाले बोलिमा कुनै दम हुदैन । गोप्य्ता कुन चराको नाउ हो यिनीहरुलाई पत्तो हुदैन । कुनै गोप्य सुचना वा कुरो कानकान्मा पुराउन एफएम रेडियोमा दिनु पर्दैन, यिनैलाई भन्दिनुस् काम खत्तम । नराम्रो कुरो त यिनले घण्टा भरमै घरघरमा पुर्याउछन् । त्यसैले गोप्य कुरो यस्ता सँग नगर्दै बेश, राख्नु पर्छ धेरै होश ।

दुस्ट थुतुनो : यो थुतुनो लाई गनगने थुतुनो पनि भनिन्छ । यो खाली गनगन गरिरहन्छ । यस्मा खुशी र उमंग हुदैन । बोलिमा गोली हुन्छ । बोल्दा घोचेरै बोल्छन यो बर्गका मान्छेहरु । अर्काको खेदो खन्नु यसको प्रमुख बिशेसता हो । राम्रो कामलाई पनि नराम्रो कोणबाट बिस्लेशण गर्नु, सकारात्मक कामलाई नकारात्मक तरिकाले व्याख्या गरेर त्यसको उछित्तो काढ्नु यो थुतुनाको गुण हो । बोली सुन्दा नमिठो लाग्दैन तर त्यसको असर निम्पत्ताको भन्दा ठीक उल्टो हुन्छ । अरुलाई दुखै दिने, दु:ख र कस्टकै चाहना गर्ने र फल्स्वरुप आफू पनि दु:खमै फस्नु पर्ने यो थुतुनाधारीहरुको बाध्यता हो । आत्मसम्मान भन्ने यिनिहरुमा पटक्कै हुदैन । यो भएन, त्यो भएन, यस्तो भएन, त्यस्तो भएन, उस्को भयो मेरो भएन, उस्ले गर्‍यो मैले सकिन, उसङग छ म सँग छैन् भनेर २४ सै घण्टा गोइडरो गर्नु यो थुतुनाधारीहरुको धर्म हो । त्यसैले यो थुतुनो पनि खतरा नै हुन्छ । सतर्क हुनु नै बेश हुन्छ । टाढै रहनु उचित हुन्छ ।

यसबाहेक थुतुना अरु प्रकारका पनि होलान् सबैलाई येत्तिमा अटाउन गाह्रो छ । तपाईं हामी मध्य को को यो बर्गमा पर्छौ हेर्नु, अनुभव गर्नु र मुखलाई थुतुनो बन्न बाट जोगाउने काम गर्न अझै ढिला गर्नु हुन्न ।

25 Comments

  1. अहिले को चलन चल्ती को मुतुनो खाने थुतुनो लाइ चाइ क भन्ने हो ?

  2. – अनावश्यक, अनुत्पादक र असान्धर्विक लेख !
    – भैरब सरको जय भुडिको अनुकरण जस्तो लाग्यो /
    – के को लागि पढ्ने यो लेख ?
    – लेख्ने केहि नभएर लेखन शिप पोखेको जस्तो मात्र /
    – के गरूँ के गरूँ भाको बेलामा गोजीमा अल्झेको सुपको टुक्रा, ठेट्ना मकै कोट्याउदै खाएर समय व्यतित गरेको जस्तै /
    – पढ्ने समय भाको तर बढ्ने उचित सामग्री नभएको बेला मात्र ठिकै छ /

  3. लेखनाथ सर को लेख सारमा राम्रो छ / उहाको लेखले खाली नराम्रा थुतुनाको बारेमा मात्र समेटेको छ यो अर्थमा लेख सान्दर्भिक छ / संसारमा के सबै थुतुना उहाले लेखे जस्तै मात्र छन् त / उहाको लेखमा यौटा सब्द पुराण पनि छ के उहाको लेखले पुराण लेख्ने र भन्ने थुतुना हरुलाई समेटेको छ त / लेखले हिन्दु धर्मका रिसिमुनी , सन्त, माहातामा, गौतम बुद्द, सेक्सपियर जस्ता साहितेकर. काल्मर्कस, प्लेटो, अरिस्टोटल जस्ता दार्सनिक, महात्मा गान्दिजस्ता राजनीतिक नेता, सामान्ने थुतुनाले कल्पना सम्म गर्न नसकने अबिसकर गर्ने बैगानिक , मृतु सैयामा छटपटाइ रहेको मानिसलाई जिबन दान दिने डाक्टर आदि आदिको थुतुनालाई समेट्न सकेको भय सुनमा सुगन्ध हुने थियो कि /

  4. थुतुनो कहिले काहिं बोल्दै नबोलिकन पनि बोलिदिन्छ|जस्तै-
    * शरीरको माध्यमबाट- हाउभाउ, हिंडाई, गराई|
    यसलाई “तिम्रो काम तिम्रो थुतुनो भन्दा अझै चर्को बोल्दछ(your action speaks louder than your words)” भनेर भन्न पनि गरिन्छ!
    * चुप लागेर- मौनम संमति लक्षनम;
    * ओंठ लेप्र्याएर, ओंठ खुम्च्याएर, जिब्रो टोकेर;
    * भान्सामा भाँडा बजाएर,
    आदि|
    थुतुनोको बारेमा बुद्धले यसो भनेका छन्-
    आबेशमा थुतुनो (र हात पनि)को सकभर प्रयोग नै नगर्नु या न्युनतम गर्नु! आबेशमा दिमागले कुन सहि र कुन गलत छुत्त्याउन सक्दैन र त्यस्तो तातो दिमाग भएको बेलामा चलाएको थुतुनोले ठूलो डढेलो लगाउन, क्षति गर्न सक्छ! बुद्धले त्यस्तो अप्रिय क्षणको पछि, दिमाग ठण्डा भएपछि राम्ररी विश्लेषण गरेर मात्र थुतुनो, हात के कसरी चलाउनु पर्ने हो चलाउनु भनेका छन! हुन् पनि हो, मुखबाट निस्केको बोलि र बन्दुकबाट छुटेको गोलि फर्काउन सकिन्न; गयो, गयो!

    अनि अर्को थुतुनो चलाउनै पर्ने बेला: अन्तर्वार्तामा, व्यापारमा!
    “बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन” भने जस्तै यो अवश्थामा आफूले आफूलाई या आफ्नो सामानलाई राम्रो भन्नै पर्छ| अन्तर्वार्तामा यसरी सोध्न सकिन्छ, “तलाई हाम्ले यत्रो जिम्मेबारीपूर्ण पद/जागिर किन दिने? ल थुतुनो बजा|”
    यहि थुतुनो बजाउने कला पूर्ण नभएर कैयन चामलहरुले पीठेलाई हाकिम/अगुवा बनाएर काम गर्नु परेको त् सबैले भोगे, देखेको कटु सत्य हो!

    अन्त्यमा, “मुख न पेट”-
    पेटमा पाप नभएको मान्छे ले जो देख्यो बोलिदिन्छ, एक छिन तितो लागेपनि अन्तत: त्यो कटु सत्य भनेर स्वीकार हुन्छ अनि त्यो व्यक्तिलाई सबैले मान्ने गर्दछन! मैले गणेशमान बुढोलाई मान्ने कारण पनि यहि हो!
    ” अब सरखारले पार्टीलाई फुकुवा गरेर बहुदल घोसना गरिबक्सेन भने राजतंत्र, माने स्वाहा…”
    “टपाइलाई कसैले बागमतीबाट दूधको खोला र विष्णुमतीबाट महको खोला बगाई दिन्छु भनेर भोट माग्छ भने…….-(too good to be true)”

  5. Could you please add one more “TARRO THUTONO”. Some thutono never speak sweet. They are always bitter.

  6. लेख निकै संदर्विक लाग्यो, अर्को एउटा चाही करौंते थुतुनो खाली अर्काको कुरा मात्रै katirahane

  7. अनि बेस्ट थुतुनो चै कुन त् ?
    जलानाथ को कि ? बाबुराम को कि ? वली को कि ?प्रचण्ड को कि ?
    भूबन के सी को ?

  8. अब माईसंसार ले पनि मुख फर्कौनुस भन्ने ठाउमा थुतुनो फर्कौनुस भनेर राख्नु पर्ने भयो ! जे होस् यो लेख पहिले कतै पढिसकेको भएपनि फेरी रि फ्रेश गरिदिनु भएकोमा लेखनाथ जी लै धन्यबाद /

  9. लेखनाथ जी, तपाई को लेख धेरै राम्रो लग्यो / साचै यो लेखलाई नेपालको पाठ्यक्रममा राख्दाखेरि आउने पिढीहरुले मुख लाई थुतुनु बन्न बाट बचौथे होला/ धन्यबाद/

  10. लेखनाथजी स्वयम्‌को थुतुनो कुन प्रकारको छ, यसो जानकारी पाउँ न । हाहाहा । लेखाइले ठम्याउने हो भने लेखाइ र बोलाइ अलग-अलग कुरा हुन् ।

    कसैको मुख कस्तो छ भन्ने कुरा सुन्नेमा भर पर्ने कुरा हो । कसैलाई त्यही मुख काउले लाग्न सक्छ त कसैलाई छुचो त कसैलाई दुष्ट, अझ कसैलाई त महान् पनि लाग्न सक्छ । सुनाइ, बुझाइ र भोगाइ को कुरा हो । जे होस्, ‘मुख’लाई ‘थुतुनो’ बन्न दिनुचाहिँ हुन्न है !

  11. गौतमजी ! थुतुनोको बारेमा लेख्नु भएको बिश्लेष्णात्मक लेख अत्यन्तै संदेश मुलक छ / फेरी फेरी पनि यस प्रकारको स्वादिष्ट खुराक मेरो संसाररुपी थालीमा पश्कंदै गर्नु होला /

  12. लेख सान्दर्भिक भन्दा पनि बिषय फरक भएको ले पदनरमाइलो लाग्दो छ/लेखक ज्यु ले छुत्त्याउनु भए जस्तो तिन खाल को थुतुनो ९५% मान्छे हरुको हुने गर्दछ भने ५% मानिस को बिशिस्ट खाल को थुतुनो पनि हुन्छ जुन थुतुनो हुने ब्येक्ति अरुले के बोलेको छ भनेर गम्भीर ताका साथ सुन्छ अनि उसले उत्तर दिनु पर्ने अवास्येकता छ कि छैन भनेर सोच्छ र एदी बोल्नै पर्ने भए मात्त्र आफ्नो थुतुनो लाइ अगाडी सार्छ/आफ्नो थुतुनो लाइ अघि सर्नु भन्दा अरुको थुतुनो ले बोलेकै सुनेर आफ्नो ब्येक्तित्यो लाइ समाज,परिवार र साथी भाइमा गरुङ्गो बनाई राख्न रुचाउछ/एस्तो थुतुनो हुने ब्येक्तिलाई नेपाली मा घुसघुसे पनि भन्ने गरिन्छ क्यारे है फेरी………………

  13. हरेक लेख मा धेरै अर्थ खोज्नु आवश्यक नहोला / तर पनि यो लेखमा लेखनाथ जी ले कलम को थुतुनो मुख कै रुपमा चलाउनु भएछ / पढ्न रमाइलो लाग्यो /

  14. अनि अर्को,

    ह्वास्स थुतुनो: हप्तामा मुस्किलले एक पटक दात माज्नाले, नजिक गएर कुरा गर्दा ह्वास्स गनाउने भएकोले एस्लाई “ह्वास्स थुतुनो” पनि भनिन्छ.

  15. यो लेखलाई अलीकती परिमार्जन गरेर ९ वा १० कक्षा को नेपाली बिषय भित्र थुतुनो निबन्धको रुपमा राख्दा भाबी पिढीको थुतुनोमा केहि सुधार भएर थुतुनो बाट मुखमा ल्याइपुर्याउन अथवा मुखलाइ थुतुनोमा पुग्नबाट रोक्न शहयोग पुग्थ्यो की

  16. लेखको लागि धन्यबाद, लेखकज्युले यी विभिन्न थुतुनोधारीहरुको ज्वलन्त उदाहरण दिन भुल्नु भएछ / यस लेखलाइ पूर्णता दिन नेपाली जनताले बिगत दुइ दशकदेखि राम्रै संग चिनेका अनुहारहरुको उदाहरण दिने जमर्को गर्दै छु / जस्तै:- काउले थुतुनो ( राम चन्द्र पौडेल) ; छुचो थुतुनो ( छबीलाल दाहाल) ; दुस्ट थुतुनो (खड्का प्रसाद ओली)/ उदाहरणमा सहमत नहुने पाठक साथीहरुले यताको उता मिलाएर राख्दा पनि हुन्छ- हाती र हात्ती छाप उस्तै उस्तै हो नानु भन्या जस्तै हो / हाम्रा अधिकांस नेतागणहरु यस्ता थुतुनोहरुले सम्पन्न छन /

  17. यस बाहेक एउटा थुतुनो मा थप्छु त्यो हो घमण्डी थुतुनो | मै राम्रो मैले गरेको ठिक, मैले गरको भन्दा अरुले गरेको केहि होइन, मा मात्र पो मान्छे अरु त पशु, सबैले मलाई मान्नु पर्छ पुज्नु पर्छ, म भन्दा जान्ने सुन्ने यो संसारमा कोहि छैन, मैले भनेको नमान्ने मेरा घोर शत्रु हुन् – यस्तो बिचार राख्ने पनि हार्मो समाजमा ब्याप्त छन | नेता बाट शुरु गर्दा गिरिजा “घमण्डी” वर्गमा पर्थे किनकि उनले आफ्नो कुरा नमान्ने सबैलाई शत्रु ठान्थे | झलनाथ चिप्ला हुन् अर्थात “काउले” सुन्नमा मजालाग्ने कुरा गर्छन तर कुन बेला अर्कालाई चिप्लाउछ्न थाहा हुँदैन, प्रचण्ड” छुचो” अर्थात बोल्दा दिमाग नियन्त्रणमा नभएको जस्ता बक बक बढी गर्नु पर्ने त्यसैले बेला बेला गल्ति स्विकार्नु पर्ने हुन्छ उनलाई र के पी ओली चाहि “दुस्ट” किनकि खुसि उमंग नभएको र अर्काको खेदो मात्र खन्ने | रमाइलो कुरो ल्याउनुभो लेखनाथजी धन्यवाद |

  18. नेपाल मा अनेक पुराण रचिदै छन् ,
    भुडी पुराण बाट उकालो लागेर थुतुनो पुराण
    सम्म आइ पुग्दा रमाइलो नै महसुस भाको छ.
    टुप्पी पुराण मा लगेर पूर्ण बिराम लगाए पनि
    या खुट्टी पुराण मा लगेर थन्काए पनि
    हामी लाई पढ्न पाए पुग्यो .
    जे होस् बेला बेला गौतम पुराण आइ रहोस!!
    जधौ!!!

  19. राम्रो लेख छ , निरन्तरता राखी रख्नुष .

  20. थुतुनो र मुतुनो जोगाउनु पर्छ भन्छन नि त तादी का बुडा हरु ले !!!!!

  21. काउले थुतुनो लाइ गुलो मोलुवा थुतुनो नि भनिन्छ /

  22. संधै नैराश्य घोलेर लेख्ने लेखनाथ यसपाली चैं व्यंगात्मक शैलीमा नेपाली समाजलाई केहि संदेश दिन सफल देखिन्छ| “थुतुनु र मुतुनुलाई जोगाउनु ” भनेर बुढापाकाले त्यसै भनेका होइनन !

Comments are closed.