फेसबुक च्याट – ३

-सुधीर ‘ख्वबि’-

आज करिब महिनादिनपछि फेसबुक अपडेट गर्न बसेकी छु। फ्रेन्ड रिक्वेस्ट त बीसभन्दा बढी, अनि टिपोटहरु, मेरो फोटोमा गरिएका टिप्पणीहरु, संदेशहरु। एउटा लामो छुट्टीपछि अफिस पुग्ने बेला अत्तालिने जस्तो। सरसर्ती रिक्वेस्टहरु माथि नजर घुमाएँ। प्राय: अनुरोधहरु फर्जी नामको जस्तो लाग्यो, बिना प्रोफाइल फोटोका। मैले सब रिजेक्ट गरिदिएँ। फेसबुकमा फेस लुकाउन मनपर्नेहरुको जमात पनि निक्कै रहेछ। साथीहरुले कविता कथा टन्न नै पोस्ट गरेका रहेछन्। ती सब पढ्न त मन छ तर पढिन मैले, पछि पढ्छु भनेर। एक दुई जनाको कवितालाई लाइक गरिदिएँ। वास्तवमा मलाई कहिलेकाहीं यस्तो लाग्न थाल्छ अचेल कि, फेसबुक फेसन होइन, बदलिँदो परिवेशको आवश्यकताको साथै अम्मल पनि बन्दै गैरहेको जस्तो लाग्यो।


गएको हप्ता साथी सुषमाको जीवनको उथलपुथलले मलाइ पनि हदैसम्म विचलित पारेको थियो। कुनै कारणले भन्दा पनि त्यहाँ नियतको संक्रमणले ग्रस्त पुरुष चिन्तनले देखाएको बेरूप चरित्र नै लाग्यो मलाई। सुषमा कुनै दिन ढिलो या चांडो डिवोर्स केस अवस्य फाइल गर्छे , गर्नै पर्छ । गलती कसको हुन्छ यस्तो केसमा जवाफ खोज्न गार्‍हो छ। यहाँ महिलाको अहित गर्ने काम पुरुषले मात्र गर्ने होइन, महिला स्वयंले गरिरहेको हुन्छ। त्यो भनेको हाम्रो समाजमा कतिपय छोरीकी आमा सासु बन्नासाथ उसको व्यवहारमा सोचमा विपरीत चिन्तनले डेरा जमाइसकेको हुन्छ । फेरि आफुले कसैको भाग खोसेर लिएको छ भने आफ्नो भाग पनि अरुले खोस्न आउन सक्छ । तर मैले कसैको भाग खोसेको नभई ज्यान प्राणले माया गरेको मेरो भाग जसले खोसेर लग्यो उसको भाग पनि नखोसीएला भन्ने छैन . नयाँ नयाँ स्वाद्को लत लागेपछि लोग्नेमानिसहरु नारीभक्षी हुने संभावना नकार्न सकिन्दैन।

पवन, जसले मेरो भावना सार्वजनिक गर्‍यो, ऊ प्रति मेरो गंभीर आपत्ति कायम किन भयो, सायद म लेखिका भईदिएको भए म पनि त्यस्तै यथार्थलाई कथा कवितामा रूपान्तर गर्थें की, थाहा छैन …! म यतिखेर पवनलाई सम्झिरहेछु, किन सम्झिरहेछु मलाई थाहा छैन। यद्यपि उसले मात्र कथा लेख्यो, प्रकाशित गर्‍यो र मलाई लाग्यो उसले गलती गर्‍यो … तर पनि म सोच्दैछुँ कथा लेख्नु गलत्ती हो की होइन भनेर।

च्याटबक्समा पवन देखापरे।सायद मेरो हार्दिक चाहनाले दूर संवेदनको (टेलीपेथी) बाटो भएर पवनको मन-मस्तिष्कमा घंटी बजाईदिए की !, यो संभव पनि छ। हार्ट टु हार्ट कनेक्सनमा किन हो किन मलाई विश्वाश लाग्छ।

‘नमस्कार भनुं कि ?’- उसको अभिवादनको यो शैलीले मेरो ओठ फैलिन खोजे जस्तो भो। आँखामा पिल्लिक खुशी बलेजस्तो भो । एकमनले फेसबुकबाट बाहिरिउं जस्तो पनि लाग्यो तर पनि…

‘नमस्कार’ – मैले जवाफ फर्काएँ।

‘अचेल त खडेरी लागिरा’छ नि है कस्तो फेसबुकमा…!’

उसले व्यंग हानेको जस्तो लाग्यो मलाई, उसको यो गुनासो किन हो किन मन परेन मलाई।

‘कहिले काहीं फेसबुकबाट अलग्ग बस्न लाग्छ ‘- मैले जवाफ फर्काएं।

‘तपाईको साथी सुषमाको बारेमा थाहा पाएँ,दुःख लाग्यो सुनेर’ – उसले सहानुभूति जतायो।

‘ नारी हुनुको विडम्वना हो यो’ – मैले तिक्तता पोखें।

‘होइन ! – उसले आफैप्रति प्रतिवाद तेर्स्याए – ‘यो त नियत हो पुरुष चिन्तनको । सुषमाको रुवाई भनुँ या तपाईको आफ्नै भोगाई !यो भनेको पितृसत्तात्मक समाजमा नारी माथि गरिने भावनात्मक मात्र होइन सबैखाले शोषणको एउटा पाटो हो जस्तो लाग्छ मलाई। दोष आफ्नो मान्छेको हुने र त्यसको परिणाम महिलाले ( परिवारले ) भोग्नुपर्ने यो कस्तो सामाजिक व्यवस्था हो मैले बुझ्न सकेको छैन। परित्यक्ता अथवा बिधवा भएरै पनि नारीले आफ्नो सन्तानको भविष्यको लागि आफ्नो जीवन अर्पण गरेकी हुन्छ भने, पुरुष, दोश्रो परिवारको संसारमा मस्त हुने अथवा बिधुर भएको अवस्थामा पहिली श्रीमतीको रिक्त स्थान भर्न चिताको खरानी सेलाउने समयसम्म पनि कुर्न सक्दैनन्। यो कस्तो सामाजिक नियम हो पुरुष र नारीलाई पृथक पृथक रूपमा लागु हुने वा गराईने ?’

उसको कुरा सुनेर एकछिन त म अलमल्लमा परें ‘तपाईले सही कुरा भन्नु भो,तर कतिपय मानिस यो कुरा मान्न तयार छैन नि !’

‘हो सुनीता जी , यी कुरालाई स्वीकार गर्न गार्हो मान्छ हाम्रो समाज ‘ – उसले थप्यो – ‘तर …!’

‘तर … के ?’ – मैले सोधें

‘पुरुष र महिला बिचको बिभेदले हाम्रो समाजलाई गाँजेको त छ तर पारिवारिक विखंडनको दोष र दोषी पुरुष मात्रै हुने गर्छ भन्ने कुरा , आधा सत्य मात्रै हो।जीवनमा आंधीबेरी कहिले आउँछ, कसरी आउँछ अनि सुखको दियो कसरी निभीदिन्छ, हामीले सोच्न र रोक्न सम्म पनि सक्दैनौ। एक निमेश पनि लाग्दैन परिस्थिति आफ्नो प्रतिकूल हुन।’ – पवन सायद भावनामा बग्न थाले।

उसको कुरा सुनेर एउटा जिज्ञासा प्रेषित गरें – ‘भाउजुको के हालखबर छ नि, कहिले नै बताउनु भएन, तपाईले !’

‘ऊ ….’ – सायद पवनलाई जवाफ दिउं की न दिउं भयो।

‘ऊ अचेल अस्ट्रेलिया… ग्लोबल वार्मिंगको स्टडी गर्न गएकि, अब त उतै जबमा बीजी चार वर्षदेखि … भनी हालुं छोरा युक्रेनमा, डाक्टरी पढ्दैछ।’

‘ओ ! हैप्पी फेमिली’ – मैले कमेन्ट गरें।

‘सायद … थैंक्स’ – यो पवनको अधुरो अस्पस्ट भाव जस्तो लाग्यो मलाई।

‘कहिले फर्किनु हुन्छ नि उहाँ, कि तपाई नै उता जाने ?’ – मैले सोधें

‘गएर आयें एकचोटी उसले बोलाएकी थिई, ग्राजूएसन डेको लागि,तीन महिनाको भिषामा … तर बस्न मन लागेन दुई महिनामा नै फर्कें।’

‘किन ?’- मलाई जिज्ञासाले व्यग्र बनायो।

‘सम्बंधहरुमाथी भौगोलिक सीमाले पनि खलनायकको भूमिका खेल्दो रहेछ।’ – उसले लेख्यो – ‘आत्मियता, प्रेम अनि पारिवारिक सम्बन्धपनि बिस्तारै अलगावको खियामा कम्जोर हुँदै केवल बैबाहिक दर्ताको प्रमाणपत्रमा मात्र सिमित हुन् सक्दो रहेछ । तपाइँलाई विश्वास गर्न गार्हो हुन्छ होला सुनिता जी, जब म अस्ट्रेलिया पुगें। म अत्यन्त खुशी थिएँ। करिब ३ वर्षपछी म उसलाई भेट्दै थिएँ। यस बीच नेपालमा मेरो परिवारमा धेरै घटना घटे। बुबाको मृत्यु, मेरो दुर्घटना जसमा मेरो खुट्टाको फ्राक्चर, लामो बेड रेस्टमा बस्नु पर्यो, जुन घडीमा मैले उसलाई धेरै धेरै सम्झें। सायद आँसु पनि बगाएँ। साथीभाई दिदीबहिनीले दिने साथले मात्र नपुग्ने रहेछ यस्तोबेला।साथीहरुको सहानुभूति बीच मेरी आमाले त कति कर गरे गरे उसलाई नेपाल बोलाउन। तर … म अडिग बने। पढाईको कुरा छ डिस्टर्ब नगर्नु नै ठिक लाग्यो। मात्र उसलाई मेल गरें चोट सामान्य छ भनेर। बेडरेस्टको टाईममा उसले दुइ चारचोटी फोन गरिन स्कैपीमा। वेबक्याममा मैले लुकाएको थिएँ, आफ्नो आँसु, पीड़ा सबै।’

‘किन सामान्य भन्नु भएको नि ?’- मलाइ यो कुरा चित्त बुझेन र मैले सोधिहालें।

‘मेरो यथास्थिति सुनेपछि ऊ त्यहाँ बस्नै सक्दिनन, पढाई सधाई सब छोडेर फर्किहाल्छे कि भनेर कुरा लुकाएको। त्यसबेला ऊ त्यहाँ पुगेको छ महिना मात्र भएको थियो – त्यसैले…’

‘अनि कुरा के भो नि यस्तो ‘ – मलाई बसी नसक्नु हुँदै आयो।

‘एअरपोर्टमा जब मैले उसलाई भेटें …. तब !’

‘तब के …?’ म उत्सुक बने।

‘मैले उसको मुहारमा त्यों स्वागत देखिन किन हो, … त्यसबेला सायद मेरो ऊप्रतिको अपेक्षा चरमोत्कर्षमा थियो होला … आफ्नो भ्रम मानेर चित्त बुझाएँ ।’

‘अनि त्यसपछि के भो ?’ – मैले फेरी तुरुन्तै सोधें

‘ऑस्ट्रेलियाको बसाई जति जति बित्दै गयो मलाई नेपाल फर्किन हतार हुन थाल्यो मेरो आँखाले देख्ने दृश्य मेरो मन मान्न तैयार हुन्दैन्थ्यो। सुनीता जी ! मेरो कानले दिनको कैयन पटक सुन्ने त्यों एउटा नाम थियो जसको कारण मैले आफ्नो अस्तित्वलाई महसूस गर्नै सकिन …कैयन पटक सोचें यो मेरो पुरुष सोच मात्र त होइन भनेर तर जब जब म उसको प्रतिक्रियाबिहीन ती नितांत निजी पलहरु सम्झिन्छु, … उसको मुहारमा झुल्किने अनिक्षाका भावहरूले कता कता म सुखा निर्जन पहाड़ीबाट ईच्छाको छहरा बगाउने अतृप्त कोशिस त गरिरहेको छैन जस्तो लाग्थ्यो। सोच्थें, कहाँ हराए उसका ती मायालु स्पर्श, कता बिलाए उसका चंचलता अनि भावावेशका आरोह अवरोहहरु …!, ऊ त एउटा निर्जीव पुतली, जसलाई कोठामा सजाईएको जस्तो … उफ़ !… ऊसंग मेलबर्न घुम्दाको फोटो तपाई हेर्न सक्नु हुन्छ फेसबुकमा, दुई अन्जान यात्रीको फोटो जस्तो। मेरो एकजना साथीले कमेन्ट गरेको पनि थियो, उदास अस्ट्रेलिया भनेर।’-

‘किन त्यस्तो भाव पलायो त तपाईको मनमा ?’- मैले निरंतरता दिने कोशिस गरें| सायद पवन व्यथित भयो, मैले सोचें।

‘सुनीता जी , म त्यहाँ बसुन्जेल मैले दिलीप जी, दिलीप जी मात्र दिलीप जी। फ्ल्याटभरि केबल दिलीप जीको अदृश्य उपस्थिति मात्रै । ब्लैकबेरीको मोबाईल दिलिप जीको गिफ्ट, ल्यापटप छनौट गर्नु भो दिलीप जीले । गाडी दिलिपजी संग मिलेर किनेको। यो लेटेस्ट आईपोड़ बर्थ डेमा अस्ति दिलीप जीले गिफ्ट दिनुभएको। पेंटिंग्स सबै दिलीप जीको आफ्नै क्रियेसन, दिलीप जीले यस्तो हेल्प गर्नु भो, दिलिप जीले उस्तो हेल्प गर्नु भो … उफ़ ! दिलीप जी उसको जीवनमा सबैतिर। जहाँकाही साथीहरुसितको भेटमा उसले परिचय दिन्थी – ‘उहाँ मेरो हसबैंड पवन !’ …अनि त्यसपछि जिज्ञासा बर्सिन्थ्यो, दिलीप जी आउनु भएन …?’

‘अँ ! आउनु भएन उहाँ अर्जेन्टली तीन महिनाको लागि सिडनी जानु भा ‘छ …!’

‘यदि यस्तै हो भने तपाईलाई किन बोलायो त’ – मलाई खल्लो महशूस भयो – ‘यस्तो व्यबहार किन देखायो त ?’- म आश्चर्यमा परें – ‘दिलिपसंग परिचय गराए हुन्थ्यो नि, बिदेशमा एकै फ्ल्याटमा बस्नु कुन ठुलो कुरा हो र ?’

‘सायद ! मलाई सुसुचित गरेको हो कि जस्तो पनि लाग्यो। ऊ धेरै काम केहि नबोलिकन नै गर्ने गर्छे। परदेशमा ऊ बिलायो सायद त्यहाँको स्वच्छन्द समाजको चमकले उसले बाटो बिराएकी मात्रै हो कि ? म ऊ फर्किने आशमा, प्रतीक्षामा छुँ। त्यसैले सुनिता जी मेरो रात हरेक रात, प्रलयको रात जस्तो लाग्छ मलाई। म अनलाईन बस्छुं, फोन गर्छुं उठ्दैन । अफलाइन मेसेज छोड्छुं, इमेल हाल्छुं। जवाफ धेरै दिन पछी आउँछ – हजूर कुरा बुझ्नुस न, न रिसाउनुस न, म बीजी थिएँ एकदम , आउट अफ टाउन थिएँ।’

‘कहिले कहीं छोरो देखा पर्छ , कलेज फीको टाईममा, उसले सोध्छ ममसंग कुरा हुन्छ भनेर। म झूठ बोल्छुं हिजो मात्रै भेटेको अनलाईनमा, अघि मात्रै फोनमा कुरा गरेको भनेर। मेरो टेंसनको कुरा उसलाई लुकाउनु नै ठीक लाग्छ।’

‘अब ?’- मलाई के भनुं जस्तो भयो। ऊ संशयको जालोमा अल्झेको मान्छे जस्तो लाग्यो। एक्लोपनाले सायद उसमा भ्रान्ति भरिदियो, मनभरि पीड़ा छरिदियो मायाको पारिलो न्यानो घाम ताप्न नपाएर।

‘म अझ पनि उसकै प्रतीक्षामा छुं। मेरी आमालाई यो कुराको अनुमान छ , त्यसैले बारम्बार उता जानको लागि भन्नु हुन्छ। तर म त्यहाँ जान तैयार छैन , कमसेकम आमाको यो उमेरमा। यदि मैले उसलाई गरेको माया साँचो छ भने, ऊ अवश्य फर्किन्छे। म यतै बसेर उसको प्रतीक्षा गर्छुं ।’ – ऊ अडिग देखियो।

‘मानिस चराचुरुंगी होइनन्, फूल पार्यो, बचेरा कोरोल्यो, हुर्कायो, उड्न सिकायो, सिकेपछि आफ्नो बाटो लाग्यो। मेरी आमाको यो बुढेसकालमा उहाँलाई मेरो आवश्यकता छ, मेरो सोचाई हो यो, अरुले सोचोस् या नसोचोस यो उनीहरूको कुरा !’

भोलि आएर मेरो छोराले बाउ आमा भन्ला नभन्ला यो पनि उसको संवेदनमा भर पर्ने कुरा हो – ऊ लेख्दै थियो।

उहाँ फर्किनु हुन्छ त ? – मैले संशय देखाएँ।

‘मलाई थाहा छैन सायद नफर्किन पनि सक्छे। फ़र्के मेरो मायाको जीत , नफर्के मेरो विश्वासको हार ‘

‘मेरो शुभकामना छ, तपाईको माया र विश्वासले जितुन ‘- अबेर त भै नै सकेको थियो। क्षितीजमा लालिमा अंकुरित हुन थालेको आभास भयो। रातको अँध्यारो पर्दा बिस्तारै च्याटिन लागेको देखें, मैले लेखें -‘शुभ बिहानी !’

च्याट बक्समा देखा पर्यो – धन्यवाद,शुभ बिहानी ! फेरि भेटौंला !!

22 Comments

  1. फेसबुक १ , २ र ३ पढें तर सुधीर जी , मलाइ त ३ भन्दा १ र २ एकदम राम्रो लग्यो | ३ ठिकै छ जस्तो लाग्यो | लेख्दै जानुस शुभकामना छ |

  2. … ‘यो त नियत हो पुरुष चिन्तनको । सुषमाको रुवाई भनुँ या तपाईको आफ्नै भोगाई !यो भनेको पितृसत्तात्मक समाजमा नारी माथि गरिने भावनात्मक मात्र होइन सबैखाले शोषणको एउटा पाटो हो जस्तो लाग्छ मलाई। दोष आफ्नो मान्छेको हुने र त्यसको परिणाम महिलाले ( परिवारले ) भोग्नुपर्ने यो कस्तो सामाजिक व्यवस्था हो मैले बुझ्न सकेको छैन। परित्यक्ता अथवा बिधवा भएरै पनि नारीले आफ्नो सन्तानको भविष्यको लागि आफ्नो जीवन अर्पण गरेकी हुन्छ भने, पुरुष, दोश्रो परिवारको संसारमा मस्त हुने अथवा बिधुर भएको अवस्थामा पहिली श्रीमतीको रिक्त स्थान भर्न चिताको खरानी सेलाउने समयसम्म पनि कुर्न सक्दैनन्। यो कस्तो सामाजिक नियम हो पुरुष र नारीलाई पृथक पृथक रूपमा लागु हुने वा गराईने ?’….. एकदम तितो सत्य पस्किनो भो सुधीर जी , धन्यवाद | अर्को श्रृंखलाको प्रतिक्षामा छुन |

  3. ‘सम्बंधहरुमाथी भौगोलिक सीमाले पनि खलनायकको भूमिका खेल्दो रहेछ।’ – उसले लेख्यो – ‘आत्मियता, प्रेम अनि पारिवारिक सम्बन्धपनि बिस्तारै अलगावको खियामा कम्जोर हुँदै केवल बैबाहिक दर्ताको प्रमाणपत्रमा मात्र सिमित हुन् सक्दो रहेछ ।… किन यस्तो हुन्छ मैले बुझ्न सकेकी छैन | किन कमजोर बन्छ संबन्धको धागो ? यसलाई माया , त्याग र बिश्वासको माड़ लगाईं अझ मजबूत पार्न सकिन्दैन र ?

  4. काल्पनिक हो कि बास्तबिकता हो म त अलमल्ल पो परे त
    तर जे भए नि लेखाई उच्च स्तरको छ.

  5. …कैयन पटक सोचें यो मेरो पुरुष सोच मात्र त होइन भनेर तर जब जब म उसको प्रतिक्रियाबिहीन ती नितांत निजी पलहरु सम्झिन्छु, … उसको मुहारमा झुल्किने अनिक्षाका भावहरूले कता कता म सुखा निर्जन पहाड़ीबाट ईच्छाको छहरा बगाउने अतृप्त कोशिस त गरिरहेको छैन जस्तो लाग्थ्यो। सोच्थें, कहाँ हराए उसका ती मायालु स्पर्श, कता बिलाए उसका चंचलता अनि भावावेशका आरोह अवरोहहरु …!, ऊ त एउटा निर्जीव
    पुतली, जसलाई कोठामा सजाईएको जस्तो … उफ़ !… ऊसंग मेलबर्न घुम्दाको फोटो तपाई हेर्न सक्नु हुन्छ फेसबुकमा, दुई अन्जान यात्रीको फोटो जस्तो। मेरो एकजना साथीले कमेन्ट गरेको पनि थियो, उदास अस्ट्रेलिया भनेर।’- … कस्तो पीड़ा, कति छटपटी पवनको |जब सम्बंध्हरू रूख्का पात झैं सुक्न र झर्न थाल्छ्न , नयाँ पालुवाको स्वागतमा रूख नाच्न थाल्छ्न तब यस्तै हुन्छ होला … जिंदगी अजीब हुन्दो
    रहेछ पवन जी !

  6. आधुनिकताको अर्को पाटो, काल्पनिक नै सहि तर यथार्थ, प्रगतिको होडबाजीले निम्त्याएको तितो सत्य एवं बेजोड प्रस्तुति, बधाई छ सुधिर जी, you rocks….

  7. मानिस चराचुरुंगी होइनन्, फूल पार्यो, बचेरा कोरोल्यो, हुर्कायो, उड्न सिकायो, सिकेपछि आफ्नो बाटो लाग्यो। मेरी आमाको यो बुढेसकालमा उहाँलाई मेरो आवश्यकता छ, मेरो सोचाई हो यो, अरुले सोचोस् या नसोचोस यो उनीहरूको कुरा !’
    मेरो जीवन पनि यहि कुराको बोध हुदै छ,,सो म घर जानु पर्छ.

  8. कथा राम्रो छ | वास्तविक जस्तो लग्यो |

  9. कथा सान्दर्भिक लग्यो | आज भोलि बैदेसिक रोजगारी भनौ या बिधार्थी भै श्रीमान श्रीमती अलग भै बसी उत्पन्न भएको तितो सत्य हो यो | यो कथा धेरै जना महिला वा पुरुष को जीवन संग मेल खान सक्छा |समाज संग गुप्या तर श्रीमान श्रीमतीले भोग्दै आएका जटिल समस्या हुन् |

  10. This story will obviously match with lots of people and this is one of the truth of New generation who goes to foreign country. After all we are Nepalese we should not be changed in that way as ” यो मन त मेरो नेपाली हो”

  11. I like the ‘chat story’; the wording and logic, which makes the story more interesting going into depth, if you living quite closely with someone and observing theirs day to day activities, lifestyles, you can find and make several interesting stories like this. Don’t go far rather observe some of our MPs’s daily lifestyles, you may find more interesting than this one, Who’s who? It’s very hard say. “First point finger to ourself rather than to others.”
    Krishna

  12. काल्पनिक राम्रो छ तर येथर्तामा अलि केहि मसला पुगेको छैन
    मायाको नाममा कता कता पवन जी पनि स्वार्थी देखिनु भएको छ सस्करण राम्रो छ धन्यबाद

  13. बिदेसिएका पत्नी होस् वा पति या त बिदेशिएका पति का नेपाल मा रहेका पत्नी समग्र आज को यथार्थ हो यो |

    पवन जी नआत्तिनुस, दिलीप ले कुनै दिन छोडे पछी त्यो रंगिन दुनिया को भुत झर्छ अनि आफ्नै प्यारो भैहाल्छ नि |

  14. मलाई त सार्है राम्रो र घत लाग्दो लाग्यो सुधिर जी को लेखाई /

  15. अझ पनि मर्द का सातवटा पोइ वन्ने विचार का पुरुष हरु पनि छ यो समाज मा र पवन जस्ता पुरुष पनि छन् . मेरो पनि सुभकामना पवन को माया र विश्वास ले जितिउन्

  16. लेख राम्रो र समय सान्दर्भिक छ र यो समाजको तितो सत्य , र जोडीको लामो समय बिछोडको बिडमबन्ना पनि हो तर लेखमा आमा अस्ट्रेलिया पढने छोरा चाही युक्रेन डाक्टरी नभई नेपालको private school पढ्दै भनेको भए अझै वास्तविक हुनेथियो !

  17. wow. dammi one. the story expressed the real scenario of society on present context…….

  18. हामीले देखे भोगेको कुरा जस्ताको तस्तै उतारिएको छ । साधुबाद !

  19. लेख एकदम सत्य र बास्तबिकता जस्तो लाग्यो .. धरै राम्रो छ .

Comments are closed.