‘दले’को जालो

चर्चित ढुंगेल

‘दले’ भनेको दलालको छोटकरी रुप हो। ‘दलाल’ भनेको चाहीँ मोलमोलाइ गर्ने, दलाली गर्ने मान्छे हो। सुन्दा मध्यमार्गी जस्तै लागे पनि दले देखिन चाहीँ मध्यस्थकर्ता जस्तै देखिने तर ‘जता मल्खु उतै ढल्कु’ भन्ने उखानलाई सही प्रयोग गर्ने कार्यकर्ता हो। हर्ताकर्ता भएर उसले ङिच्च हाँस्दै उच्चमार्गी र निचमार्गीका कान फुक्ने काम गर्दछ। एड्शन अरान्ते दो नासिमेन्तो अर्थात् प्रसिद्ध अन्तराष्ट्रिय ब्रजालियन फुटवलर पेले फुटबल खेल्नकै लागि जन्मिएका हुन् भने दलेहरु दलाली गर्नकै लागि मात्रै जन्मिएका हुन्। पेलेका शरीरमा रगत भएर फुटबल बगे जस्तै दलेका शरीरमा दलाली मात्र बग्छ।

‘घोडाले घाँससँग मित्रता गाँस्दा के खानु’ भनेर मित्रता नगाँसे जस्तै दलेले इष्टमित्र, नाताकुटुम्ब, छरछिमेकी कसैलाई पनि मित्र भनेर स्वार्थसिद्धीमा बाहेक हात जोड्दैन, परिआउँदा र लुट्न पाउँदा ‘कुकुरले हड्डी छोड्ला’ तर दलेले छोड्दैन। यो उसको सनातन जीविकोपार्जनको अनुपम उपहार जस्तै हो। ‘तरुनी खेती’ भने जस्तै यो युग र अनुशासन बिगार्ने दलाली खेती हो। कान फुक्न जान्नेले यो पेशामा धनदौलत कमाएका छन् भने दैलो ढुक्न लाजघिन नमान्नेले उच्च ओहोदा कमाएका छन्। इमान बेचेर इनाम कमाउने यो जगमा कोही छन्/हुन् भने दलेहरु मात्रै हुन्।

अब आयो जालोको पालो। ‘जालो’ भन्नाले घेराबन्दी, भुलभुलैया, धराप वा अल्झाउने/अल्मल्याउने/जकड्ने पासो भन्ने अर्थ लाग्छ। जालोलाई घिरौँला र माकुराको जालो मात्रै भनेर बुझियो भने कम बुझिएको ठहर्छ। तसर्थः कुकर बम्ब, तुल बम्ब, सुतली बम्ब, एम्बुस आदिलाई पनि जालो भनेर बुझ्नु पर्दछ। अश्रु ग्याँस र कर्फ्यु पनि जालो नै हुन्। बन्द, हड्ताल, आन्दोलन, अनसन आदि पनि एक प्रकारका जालो नै हुन्। तर असली जालो चाँही दलेले गोटीका रुपमा प्रयोग गर्ने एक ब्यक्ति वा अनेक ब्यक्ति नै हुन्। यस्तै ब्यक्ति कालान्तरमा गोटीबाट दले हुन्छन्। यसरी नै दलेको पिँढी चलेको छ।

‘दलेसँग जालोको नरनाता के छ?’ भन्ने प्रश्न तपाईँका मनमा पलाएको होला। तर यिनको चेब्जुबाजेकै पालादेखि अनन्य सम्बन्ध रहँदै आएको छ। दलेले दलाली गर्न जालोको सहारा लिने भएकाले वा दलेले दलाली गर्दा जालो बनाएर गर्ने भएकाले नै यिनको सम्बन्ध सियो र धागोको जस्तो, पराल र आगोको जस्तो भएको हो। अझ अचेल त यिनको सम्बन्ध भट्टी र जँड्याहा जस्तो, क्यासिनो र नेपाली जस्तो, बैँक र डाका जस्तो, अपहरण र फिरौती जस्तो, झापड र झलनाथ जस्तो, सरकार र दण्डहिनता जस्तो, सभासद र संविधान जस्तो भएको छ। त्यती मात्र कहाँ हो र, नेपालमा त दल र कुर्सीको जस्तो सम्बन्ध छ दले र जालोको। अर्थात जस्ले जे भनोस्, दले र जालोको दोस्ती बाहुनी बज्यैका ठेकीमा दही जमे जस्तै जमेको छ।

दलेको जालो फेसबुकको जालो भन्दा ब्यापक रहेको छ। सरकारी कार्यालयमा गाविसदेखि मन्त्रालयसम्म, प्राविदेखि विश्वविसम्म, सहकारीदेखि केन्द्रीय बैँकसम्म कहीँकतै दले नपुगेको र दले नभएको ठाऊँ छँदैछैन। ठेक्कापट्टादेखि राज्यसत्तासम्म दलेकै दलदल छ। दलेकै जगजगी छ। कोठीमा बेचिएकी चेलीदेखि नक्कली विलका ठेलीसम्म, खाडीमा बेचिएका जवानदेखि चोरी/डकैटीका वाहनसम्म, निर्धाको घर घेर्नेदेखि गाडीका नम्बरप्लेट फेर्नेसम्म, बडीगार्डदेखि बुढीगार्डसम्म, सडकदेखि सदनसम्म दलेकै चकचकी छ। दलेकै रत्यौली छ। अब यता(कतार)को कुरा गरौँ।

हप्तैपिच्छे अलपत्र पारिएका नेपालीहरु यहाँस्थित नियोगमा अँध्यारो मुहार र अनिश्चित भविष्य लिएर समस्या दर्शाउँदै आश्रय लिन आएको देखेर तिनलाई यस्तो हालतमा ल्याउने ठूला टाउके दलेदेखि साना टाउके दलेहरुप्रति कन्सिरी तातिनेगरी रिस उठेर आउँछ। यताका स्वनामधन्य दले पनि नेपाली, उताका बदनामधन्य दले पनि नेपाली र जाली भिषा, जाली पासपोर्ट र हुँदै नभएको खाली कम्पनीमा उता र यताका दलेले भनेकै भरमा परेर अलपत्र हुनेगरी ठगिने पनि नेपाली। हे दले! तिमेरलाई दलाली नगरी खाएको पच्दैन? दलाली नगरी तिमेरको घर चल्दैन? तिमेरको अन्तर्राष्ट्रिय जालो देखेर तिमेरको नियत जस्तै कालो खेद प्रकट गर्न मन लाग्छ। धन्य होस् तिम्रो दलाली र धन्य हौ तिमी दले! अब फेरि उताको कुरा गरौँ।

कुनै गाउँस्तरीय कार्यालयमा वा सहरस्तरीय मन्त्रालयमा जहाँ गए पनि पहिले दले भेटिन्छ। उसले सकेको बाहिर धुत्छ, भित्रको दलेले भित्रै धुत्छ। जहाँ पनि दलेले नाङ्गेझार पारेर पठाउँछ। पउँचवाला दलेहरुले त के सम्म गरेनन्? त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केही हप्तादेखि पार्किङ्गमा राखिएको नेवानीको जहाजका कम्तीमा दस करोड जाने पार्टपुर्जाको बाकस नै दलेहरुले गायब पारे। देश बिगार्ने दलेहरु नै हुन्। देश बनाउनु छ भने दले बिग्रिनु पर्छ। दले निख्रिनु पर्छ। आजका मितिसम्म संविधान नबन्नुका पछाडिको कारण पनि दलेहरु नै हुन्। झलेको नेतृत्वको सरकारले ‘दले निर्मुल अभियान’ मात्रै थाल्यो भने पनि देशका लागि महान उपलब्धि हुनेछ।

34 Comments

  1. कुनै कुनै मन्त्रि हरुको कार्यक्रम बहिष्कार गरे जस्तै कुनै कुनै विदेशीका दलाल भनेर स्पष्ट भएका हरुको पनि पछी पछी लगेर अन्तर्वार्ता सम्म नलिए त हुन्थ्यो नि? जहाँ भेट्यो त्यहि माइक तेर्स्याई हालेर आची कालो आको पनि खबर नलिए / नछापे दले कम हौसिन्थ्ये कि ?

  2. योगेश जी यि तल उल्लेखित तपाईंको दुई फरक फरक कथन पढ्दा त तपाईं झन् सबभन्दा ठुलो दलाल जस्तो लग्यो, चर्चित जी ले भने जस्तै:

    (नोट: अन्यथा नलिनु होला, म कुनै बीमा अभिकर्ता, शेयर दलाल,जग्गा दलाल, मेनपावर दलाल वा अन्य कुनै दलाल वा सोसंग सम्वन्धित व्यक्ति होइन)

    अन्यथा नलिनुहोला केवल सन्दर्भवस: मैले ७ वर्ष लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लि. मा कर्मचारीको रूपमा काम गरें / त्यसै दौरान २ वर्ष सोहि कम्पनीमा कम्पनि सचिवको रूपमा पनि काम गरे, सो अन्तर्गत मेरो काम नै नेपाल स्टक एक्सचेन्ज र बीमा समितिसंग हुन्थ्यो /
    अझै पनि मैले हस्ताक्षर गरेको हजारौ शेयर प्रमाणपत्रहरू र बीमालेखहरू बजारमै पाउन सकिन्छ /

  3. चर्चित जी को लेखन कला निखारिदै गएको छ. आशा छ भबिस्यमा पनि दले को मात्र हैन नेपालली समाजमा देखिएका र भइरहेका बिकृति र बिसंगतिलाइ ब्यगत्मक रुपमा प्रहर गरिरहनु हुने छ.

  4. जताततै दलालीको दल दल छ | लेखले दलेको जालो पनि स्पस्ट पारेको छ | नेपालमा सोझा साझालाई यो दल दल बाट टाढा भएर जिबिका चलाउन गार्हो भैसक्यो | काम गर्न विदेश जाउ, पढ्न जाउ, घर/ मोटर/ मोटरसाइकल किन्यो, जागिर खायो, हुँदा हुँदा बिहे गर्दा पनि दलेको फन्दामा आउन बाध्य भएको छ | झन् राजनीतिक पार्टीहरुले देशको जग बसाउनु भन्दा धेरै थरिका दलेहरुलाई जन्माएर हुर्काउनु बढाउनु मात्र होइन सम्पूर्ण व्यवस्थाको संयन्त्र दलेकै हातमा सुम्पिएको छ | सबै नेता कार्यकर्ता दलाली गरेर नै मोटाएका छन | अनि जनता सधै निरिह नहुन कसरि ? यो लोकतन्त्र होइन दलालतंत्रमा आधारित भोगतन्त्र मात्र हो | दुनियालाई बिस्तार यसैमा रम्न अभ्यस्त पारिदै छ | मर्दा पनि घाट लैजाने र जलाउने दलाल पहिले मिलाउनु पर्ने भैसक्यो |

  5. योगेश्जी,कमेन्ट लेख्ने तपैन्को अधिकार हो, तर यो लेखलाई मन पराउने माईसंसारका पाठक लाई हेर्नुहोस, कानून कै कुरा गर्ने हो भने त्यसले म्यानपावर ले चाही ठग्न पाईन्छ भनेको छैन , सेयर दलाल तपाई हैन भन्नु भा छ, तर उनीहरुले कति बदमाशी गर्छन भन्ने तपाइलाई थाहा छैन, पहिले सेयर किन्ने अनि बढी पैसाको ग्राहकलाई भिदौने, सस्तो आफन्तको नाममा राख्ने कम गर्थे, कम्प्युटर भे पछि यो रोकिएको छ, अहिले पनि bearis बजारमा बेच्न दियो, पहिले आफ्नो बेच्छन, bull बजारमा किन्न भन्यो पहिला आफ्नो किन्छन. बिमावाला पनि त्यहिँ हुन् , सुरुमा कमिसनको लागि धौछान पछी बिमलेख्को सक्कल बुझुना पनि औंदैनन, दले राजनीति देखि बाँकि सबै विधाका एकै हुन्, चर्चित जी ले ठिक लेख्नु भा छ

    • बुद्धिमानजी,
      मेरो नाम बुद्धिमान होइन भन्दैमा “शेयर दलालको बदमाशी तपाईलाई थाहा छैन” चाही नभनी हालेको भए हुने !!
      अन्यथा नलिनुहोला केवल सन्दर्भवस: मैले ७ वर्ष लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लि. मा कर्मचारीको रूपमा काम गरें / त्यसै दौरान २ वर्ष सोहि कम्पनीमा कम्पनि सचिवको रूपमा पनि काम गरे, सो अन्तर्गत मेरो काम नै नेपाल स्टक एक्सचेन्ज र बीमा समितिसंग हुन्थ्यो /
      अझै पनि मैले हस्ताक्षर गरेको हजारौ शेयर प्रमाणपत्रहरू र बीमालेखहरू बजारमै पाउन सकिन्छ /

  6. योगेश जी ले भने जस्तै चर्चित जी लाई “दलाल” को शाब्दिक अर्थ नै थाहा नभए जस्तो लाग्यो, जसले तस्करी गर्छ , चेली बेटी बेच बिखन को काम गर्छ, जसले सेवाग्राही लाई कुनै सेवा नै नदिई एक्लै खाने काम गर्छ , त्यो त दलाल नै होइन नि , त्यो त अपराधी हो, त्यस्ता लाई दलाल को श्रेणी मा राखेर चर्चित जी ले दलाल अर्थ को अनर्थ लगाउन खोजे जस्तो छ, दलाल त त्यो हो, जसले मध्यस्थ कर्ता को भूमिका निर्वाह गरेर दुवै पक्ष स्वीकारेको मापदण्ड अनुसार पारिश्रमिक लिएर सरकार लाई ट्याक्स तिरेर बाकी रहेको जे छ त्यसै बाट आफ्नो जीवन यापन गर्ने गर्दछ, नेपाल मा त ब्रोकर ऐन नै छैन, यसो बाहिरी देश मा गयर हेर्नुस त, देश को अर्थ तन्त्र मा टेवा दिन दलाल को कति हात छ ? त्यहाँ का नागरिक लाई गयर सोध्नुस दलाल शब्द को अर्थ के हो ? एसको राष्ट्र को लागि कति महत्व छ , अनि अर्को कुरा नेपाली शब्द कोष मै कुनै ठाउँ मा पनि “दलाल” शब्द संग मेल नखाने ” दले ” शब्द कहाँ बाट ल्याउनु भो चर्चित जी,
    अब यस्ता लेख लेख्दा तथ्यांक सहित लेख्ने गर्नु होला, बिना तथ्यांक को लेख लेख हुदैन,
    आशा छ तपाइले छिट्टै राम्रो लेख लेख्नुहुने छ,

    • विनोदजी,
      सरल र स्पस्ट रूपमा दलाल शब्दको अर्थ र कार्य औल्याईदिनु भएकोमा धन्यबाद /

  7. “दलाल” सब्द तेती नकारात्मक सब्द त् होयिन/ हाम्रो सांस्कृतिक र जायज कारोबारिक सम्भंदमा बिचौलियाको देन सकारात्मक मात्रै होयिन प्रसंसनिये र सम्मनिये नै थिए र रहनेछन/ तर रास्ट्र र नारीको अस्मिताको दलाली गर्ने र नाजायज कारोबार गर्न गराउन गुण्डा र नेताको बिचमा बिचौलिया गर्नेहरुको कारण “दलाल” सब्द्कै विकृत अर्थ लाग्न गएको हो/ सायद यसै कारणले येस्ता गलत दलाली गर्ने हरुलाई दलाल नभनिकन “दल्ले” भनिएको होला/ यस्ता “दल्लेहरु” आज खोजि खोजिकन नंगाउनु परेको छ/ ईनिहरुको कारण नेपाल धेरैनै लुटिएको छ र यो नेपाल लुटिने क्रन्म अझै रोकियेको छैन/

    हाम्रो देस येस्ता दल्लेहरुको कारण आज अरु लुताउँन नसक्ने हद सम्मै लुतिईसकेकोछ्/ अब बाकि बचेको पनि हामीले येस्ता दल्लेहरु बात बचाउन नसकेको खण्डमा बिस्व रंगमंचमा नेपाल भिखारीको देस बन्न बेर छैन र आज हामि मात्र गरिबीमा बाच्नु परेको छ भने हाम्रो पुर्खा कङ्गाल बनेर कस्तो कपुत पुस्ता पायौं भनेर हामीलाई हामि मारी सके पनि सराप्दै गर्नेनै छ/

    नेपालको सम्पन्न भबिस्यको यक मात्र आधार नेपालको जलश्रोत नै हो/ कागजी रुपमा नेपाल आज पनि जलश्रोतमा बिस्वमा दोश्रो छ तर यथार्तमा अब नेपाल जलश्रोतमा तेती धनि छैन/ कसैलाई कुर्सीमा पुर्याउने शर्तमा येस्ता दल्लेहरुको कारण हामीले कोशी गण्डकी महकाली टनकपुर आदि गुमायौं भने येस्ता दल्लेहरु मिलेर हाम्रो कर्णाली को जलश्रोत पनि निली सकेको रहेछ/ माथिल्लो कर्णालीको जल्बिबिद्युत आयोजनाको ठेक्का पनि येस्ता दल्लेहरुले संबिधान छलेर भारतलाई सुम्पन लगाएको रहेछ/

    त्यो आयोजना बात नेपालले ४१८० मेगावाट बिजुली उत्पादन गर्न सक्ने भएता पनि त्यो आयोजना मात्र ३०० मेगावाट बिजुली उत्पादन गर्ने भारतिय कम्पनिलाईनै दिन लगायर त्यो बती समेत भारतलाई नै दिने सम्झौता गर्ने गराउने कुन “दल्ले” हो? येस्तई तरिकाले बती निकाल्न सकिने नदीहरु सबै भारतलाई नै सुम्पिन्दै जाने हो भने हामीले बिजुलीको उज्यालो सपना मा मात्रै देख्न पाउनेछौ/

    यो सम्झौता पनि कोशी गण्डकी महाकाली जस्तै नेपाल ठगिएको अर्को सम्झौता हो/ कुन गद्दार पार्टीको कुन ठग जलश्रोत मन्त्रीको पालामा यो सन्धि भएको हो भनि हामीले खोज्नु परेकोछ/ तिनै भारतिय कम्पनीलाई अरुण तेश्रो आयोजना पनि सुम्पिने तयारि गरिंदैछ भनेर सुनिन्दैछ/ बेलैमा हामीले नेपालको आगामी पुस्ताको बाच्ने आधारहरु माथि येस्ता ठगिहरु रोक्न सकेनौ भने हाम्रा पुस्ताले हामि मरिसकेपछि हामीलाई “कोपरा-पिण्ड” चधाउनेछ/

  8. हो हो पक्कै पनि ब्रोकर यानी दलाल कहिं कतै सम्मानित होला या मर्यादित ब्याबसायेमा होला तर कुनचाहि दलालले अहिले सम्म राष्ट्र र जनताको लागि फाइदा हुने काम गरेका छन् ह ? सेयेर बजारका दलाल देखि सुडान घोटालाका दलाल नदीनाला कब्जा गर्ने दलाल देखि नेपालको स्वाभिमान लाइ भारत को पाउमा चढाउने सबै दलाल हरुले देश लाइ कहिँ न कहिँ बाट चिथोरिरहेका छन् | तेसैले दलाल हरु को टाउको दुख्नु कुनै अर्को आस्चर्र्ये होइन | लेखको पृष्ठभूमि अझै कम्जोर छ येद्धपी दलालहरु लाई रबरका गोलि लागेको छ , छटपटाहट देखिंदै छ !

  9. वास्तवमा भन्नु पर्दा यो लेखमा “शब्दहरु” धेरै छन् तर “अर्थ” भने केहि पनि निक्लिन्न| यो लेख सारै भौंतारिएको छ र कुनै पनि विषयवस्तु प्रस्तुत गर्न असफल छ| कठोर शब्दहरुको लागि मलाई माफ गर्नु होला!

  10. चर्चितजी,
    तपाइले यस पटक लेखको लागि लेख लेख्नुभयो, रमाइलोको लागि लेख्नुभयो, दुइचारवटा घुमाउरा शब्दहरु गुथेर हसाउन लेख लेख्नुभयो तर जे लेख्नुभयो स्तरहीन र कपोकल्पित लेख्नुभयो /
    – कमसेकम यो लेख लेख्नु अगाडी तपाइले दलाल शब्दको नेपाली बृहत शब्दकोशमा के अर्थ छ त्यो पढ्नु पर्थ्यो /
    – कमसेकम शेयर दलाल कति संबेदनशील र जिम्मेवार कानूनी व्यक्ति हो त्यो बुझ्नुपर्थ्यो, केवल दलाल शब्दको धज्जी उडाउनु भयो /
    – कमसेकम बीमा अभिकर्ताहरू जसलाई दलाल समेत भनिन्छ उनीहरूको मर्ममाथि खेल्नुभयो /
    – तपाईको आशय अलिकति नजिक जग्गा दलाल र मेनपावर दलाललाइ मिल्ला तर त्यो पनि व्यवशाय हो / नभई त चल्दैन नि ! यिनीहरू सबै कानूनी व्यक्ति नै हो / गर्ने तरिका फरक होला तर कानूनन नै छ /
    अंग्रेजीमा ब्रोकर भन्दा राम्रो लाग्ने अनि नेपालीमा दलाल भन्दा नाक खुम्च्याउने प्रवित्तिनै दोषी कारक तत्व मात्र हो /
    दलालको महत्व र आवश्यकतापनि छ / खोइ त त्यो उल्लेख गर्न सक्नुभएको ?
    : – लेखकले समाजमा नकारात्मक संदेशजाने र भ्रमलाई टेवा पुग्ने लेख भन्दापनि रचनात्मक र सकारात्मक लेख लेख्दा पाठकलाई ज्ञान र बोध दुवै हुनसक्छ /
    (नोट: अन्यथा नलिनु होला, म कुनै बीमा अभिकर्ता, शेयर दलाल,जग्गा दलाल, मेनपावर दलाल वा अन्य कुनै दलाल वा सोसंग सम्वन्धित व्यक्ति होइन)

  11. अब ‘दले’ उन्मुलन थाल्नु परो ! अनि ‘दले’ मुक्त छेत्र घोसणा गर्नु परो, ठाउँ ठाउँ लाइ खुल्ला दिशा मुक्त छेत्र घोसणा गरे जस्तै / यीनीहरुपनि समाजका फोहोर हुन्

  12. ओहो चर्चीत जी, यो लेखले त दलेहरुको न्वारन, ब्रतबन्ध, विवाह, दम्पति-सम्पति अनि सन्तति सबै भैसकेको खुलासा गर्यो त ! अबचाहिं अर्को लेखमा यी दलेहरुको वैतरिणी र गरुडपूराण लागेको भन्ने सुन्न पाए ……!

  13. “दलेको जालो फेसबुकको जालो भन्दा ब्यापक रहेको छ।” कुरा एकदम सहि छ! हर्ताकर्ता भएर ङिच्च हाँस्दै दैलो ढुक्न लाजघिन नमान्ने, हात माड्दै, टाउको कन्याउदै उच्चमार्गी र निचमार्गीका कान फुक्ने, सोझा-गरिबलाई झुक्काउने र पैसा भएकालाई फसाउने दलेहरुको काम हो!
    साना दलेहरुले समाज र ठुला दलेहरुले नेपालनै बिगारे!
    नेपाली चेलीबेटी बेचबिखन, विदेशमा नेपालीहरुको श्रम-शोषण, सार्बजनिक जग्गा र सम्पतिकोको बेचबिखन, सुडान घोटाला, नेपाल बायु सेवा काण्ड, ठेक्कापट्टा, राजनैतिक पार्टीहरुको बिभाजन, सांसदहरुको किनबेच, कर्मचारीहरुको आकर्षक ठाउहरुमा सरुवा र नियुक्ति हुनुमा यिनै साना र ठुला दलेहरुको प्रमुख भूमिका छ!

  14. सारै राम्रो लेख सारै घतलाग्दा सब्द र आजको परिपाटीको सत्य एथार्थ लेखक लाई धेरै धेरै धन्यवाद लेख्दै जानोस एकदिन अबस्य सबै दले हरु सोच्न बाध्य हुने छन्

  15. इति श्री माइसंसार पुराने, असार महात्म्ये, श्री दले नामो नेपलश्च्य वास्तविक कथायम अमुक अध्याय….
    अब फेरी अर्को अध्याय सुनौ है….
    चर्चित ढुङ्गेल ज्यु आज्ञा गर्नु हुन्छ…
    हे नेपाली हो अब फेरी म नेपालको अर्को वास्तविक सत्यता बर्णन गर्न गैरहेको छु …..
    ….
    ….
    ….
    ” चर्चित ज्यु, कता हराएको ?? जावोस न अर्को पनि….”

  16. यो दले को लेख सारै राम्रो संग नेपाली परिकल्पनाको आधारमा लेख्नु भएको रहेछ अति स्वाभाविक र कटु यथार्थ हो नेपाली समाज जुन हालको परिस्थितिमा गुज्रिरहेकोछ /धन्यवाद भन्दा अरु के नै दिन सक्छु र तपाइको लेख विश्व प्रसिद्धि होस्

  17. दलाल अर्थात् brkoer भन्ने शब्दलाइ सम्मानित पेशा को रुपमा लिइन्छ . लेखक ले त उक्त पेशालाई नै नराम्रो बनाउन खोजे जस्तो लाग्यो. तपाइले ठग हरुको कुरा गर्न खोज्नु भएको होला.

    • नेगोसियसनको ब्यावसायिक काम गर्ने पेशालाइ होच्याउने कुरा अापत्तीजनक हो । गलतलाइ गलत र सहि सही ठम्याएर पृथक पृथक ढंगले ब्यवहार गर्ने संस्कार सिक्न हामी नेपालीलाइ केही दशक लाग्ने देखिन्छ । … र गोवरमा फरक देख्ने ज्ञान हामीमा चाडै पलावस् ।

  18. दलेहरुले जनता र देस त खत्तम पारेनै अझ दलेहरुले आफुलाई दले शिक्षामा विशिष्टता प्राप्त गरिरहेकोमा भने झनै चिन्ता गर्नु पर्ने भएको छ ! दलेनेता खराब वलीले पिएचडी गर्यो रे होइन ? जे होस् लेखकले धेरै बास्तबिकतामा
    आधारित लेख लेखेमा धेरै धन्यवाद छ ! लेख शिक्षाप्रद छ !

  19. लेखन शैली अति नै राम्रो छ। मलाई त शंकर लामिछानेका निबन्धहरु पछि अर्को उत्तम लागेको लेख यो नै लाग्यो। चर्चितजी लेख्दै जानुहोला भन्ने मेरो सुझाव छ यहाँलाई।

  20. झले आफै दले को दले भए पछी त्यो झले बाट मात्र के आसा गर्न सकिन्छा र?
    हाम्रो राम्रो नेपाल लाई कुरूप हुने गरि नया नेपाल बनाउन लागेका दलेहरु लाई जबसम्म खोलाले बगौन्दैना तब सम्म दलेहरुकै मात्र राज hunchha yeha .

  21. हा हा हा, के हो सर? तपाई त दले पिडित पर्नु भयो जस्तो देखिनु हुन्छ …..म पनि पिडित हो भन्ने म त मान्दिन, मन्दिर लड्डु चडाए जस्तो,अदालत को तारिख धाए जस्तो ,बिमारी फर्की फर्की हस्पिटल आएजस्तो ,गरिबलाई भिख भाड़े जस्तो ,स्वास्नीसंग टाढीए जस्तो ,मलाई त सब पचिसक्यो तेसैले कमिसन पनि बुझाए जस्तो लाग्दैन …,हेपियेछु ….पेलियेछु जस्तो त पिटिक्कै लाग्दैन ….धरो-धर्म लाग्दैन….लाग्दै लाग्दैन …

  22. “झलेको नेतृत्वको सरकारले ‘दले निर्मुल अभियान’ मात्रै थाल्यो भने पनि देशका लागि महान उपलब्धि हुनेछ।”
    सारै सटिक प्रहार….!!

  23. दले………………. ठग्न कसैलाई नछले………..मेरो गाउँ को दल बहादुर गुरुङ दाई त कसैलाई पनि ठाग्नी काम गरेका थियनन त…..तर आइले का न्यु नेपाल का दले हरु त सारै माहिर ..

  24. सारै घत लाग्दो लेख पढ्न पाइयो आज thanks to mysansar team . मलाइ त अझ यो दले हरु संगै बिजनेसम्यान हरु लाइ पनि मिसाउन मन लाग्छ | फायेदा हुन्छ भने आफ्नै स्वास्नीलाई सम्म नछोड्ने हुन्छन यिनीहरु | करीब ५ वर्ष पहिले एकजना साथि थियो सारै मिलनसार अनि सहयोगी , तर ५ बर्ष पछी आज भन्दा ६/७ महिना भेट्दा धेरै कुराको बारेमा जानकारी भाको रवाफ देखायो , तेती बेला मेरो घर बन्दै थियो अनि त मलाइ पनि २/४ वटा काम मा सहयोग मग्न मन लाग्यो | जे काम सोध्दा पनि सबै थाहा छ, तुरुन्त मगाइदिउला भन्थ्यो | घरको लागि डण्डी, सिमेन्ट उसै बाट मगाए | पछिपो थाहा लाग्यो त उसले ब्यापारी बाट केहि percent अनि म बाट पनि अरु नाफा……हुदा हुदा त्यो बोकेर ल्याउने रिक्सा वाला बाट समेत नाफा लेको रहेछ | उ मेरो एति नजिक को साथि थियो कि उसलाई म जस्तो साथि लाइ एति सारो लुट्न सुहाउने थिएन | अझ ब्यापारी हरु संग deal गर्दा समेत मेरै फोन use गर्थ्यो ताकी मलाइ उसले लुट्दै छ भनेर कुनै शंका नहोस |

  25. तर दले बिग्रेर देश बन्ने हो भने, संबिधान सभाको भवन त रित्तो हुने भो नि/ सबैभन्दा ठुलो र हेर्दा नदेखिने जालो फ्याक्ने दलेहरुको चौतारो हो त्यो संबिधान सभाको भवन/ तिहरु सुरक्षित छन् बिग्रिन पाउने छैनन्, त्यसैले अब नेपाल झन् बिग्रिने भो, दले त झन् माथिनै जानेछ कुनै संकै छैन/

  26. नेताहरु सबै दलेहरु हो / यिनीहरुले हाम्रो कलिलो मस्तिकमा दलाल गर्दै छ हमोर पनि दोस छ है!!! यी दले हरुको भुमरीमा पर्नु !!!
    तेसैले अब सबै जागरुक भएर यी दले गढ़ाहरुलाई बहिस्कार गर्दै जाऊ!!! अनि हेरौ हाम्रो सुन्दर शान्त नेपाल
    ^^^^^

  27. ढुङ्गेल जी ले दलेको कहानी राम्रोरी प्रस्तुत गर्नु भा छ, यिनी हरु पनि पेशेवर हुन्, अपराधीका वकिल जस्तै, खाली दुर्नियत राखेरै नफसाए हुन्थ्यो, काम मिलाए बापत कमिसन त सरकारी कार्यालयमा त हाकाहाकी चल्छ, कि kaso

  28. अहिले जे जति भएको छ नेता र दलको निर्देशनमा नै भएको छ । आज पनि फेरी भन्छु यो हाम्रो देशमा “नेता, दल, दलाली र भ्रस्टाचारी” लाई तिरस्कार गर्ने संस्कार जब सम्म हामीमा बस्दैन तब सम्म हाम्रो देश कदापी अगाडी बढदैन।

  29. देश बिग्रनुको मुख्य कारण यिनै दलेहरुलेगर्दा हो, अहिले झले पनि दलेहरुले गर्दा नै जहाँ आसीन हुनुहुन्छ मलाई केही गर्ला जस्तो लागेन.

  30. हाम्रो नेपाल मा धरै किसिमको दले ६न् नेपाली चेली लै मुम्बई लगेर बेचने बिदेस लग्दिन६उ वनेर पैसा खाने दले नेता हरु सबै दले दुखि गरिब जनता लाई
    रुवायर धनी हुने साला दलाल हरु लाई जिउदै ख्ल्दोमा हालेर पुर्नु पर्ने

  31. ‘दले निर्मुल अभियान’ हाम्रो जस्तो देश को लागि अलि जटिल नै छ किनकी अझै पनि ग्रामिण भेग का अधिकाम्स मानिसहरु मा चेतना र ज्ञान को कमि छ तेती मात्रै होइन आफु लाइ पढा लेखा ठान्ने हरु पनि बढी झन्झट कोस्ले गर्छ भन्दै दलाल को सरण नै परेको पाइन्छ तेसकारण दले हरु लाइ निर्मुल पार्नु भन्दा पनि राज्य ले यिनी हरु लाइ कर को दायेरा भित्र ल्याएर पारदर्शी बनाउनु पर्छ , श्रोत नखुलेको सम्पति राज्य ले जफत गर्नु पर्छ

Comments are closed.