-लेखनाथ काफ्ले, ताइपेइ-

मध्य युरोपको कुनै एक देशको राजधानी। २०११ कै वरीपरी।

मैले खोजेको मेट्रो पनि आइपुग्यो। मैले एउटा खाली सीट भेट्टाए त्यसैमा बसे र यसो पल्तिर पट्टी हेरे। मेरो सीटको सामुन्नेको सीट मै मैले उहिल्लै कफीसपमा भेटेको लेखक मान्छे देखे। उसले पनि मलाई देख्यो। उ मोबाइलमा कुरा गर्दै थियो।

उसको कुरा सकिए पछी म उसकै छेउ मै खाली रहेको सीटमा बस्न पुगे। “मलाई एक कल पनि गरेनौ त” मैले गुनासो गरे। ”खासै काम पनि परेन, फेरी भेट्ने बाहाना पनि भएन” उसले साँचो कुरा भन्यो।

“म सँग तिम्रो नम्बर थिएन, त्यसैले संपर्क गर्न सकिन। तिमी एउटा लेखक समेत भएकोले मलाई तिमी सँग केही कुरा गर्नु थियो। मेरो ब्यक्तिगत कुरा भए पनि, त्यसले यो शहरको केही नराम्रो कुराको खुलासा गर्छ कि भन्ने मेरो बुझाई छ। तिमी मेरो कुरा सुन्न चाहन्छौ? म सँग आज अहिले नै समय छ” मैले त आफ्नो सबै कुरा खरर भने, उसको चाहना र योजना नै न बुझी।

म कुनै यस्तो लेखकको खोजीमा थिए जसले म जस्ताको पीडा र समस्याहरुलाई सही तरिकाले सतहमा ल्याउन सकोस, अनी तिनिहरुको पक्षमा केही आवाज समेत उठान गर्न सकोस। मैले पहिलो चोटि भेट्दा नै ऊ लेखक हो भन्ने थाहा पाएकी थिए। तर उसलाई म के हुँ र के गर्दछु भन्ने थाहा थिएन। मैले उसको किताब “आप्रबाशका छालहरु” केही समय पहिले पढि सकेकी थिए। त्यसमा आप्रबाशिहरुका कथाहरु समेटिएका थिए, जसले युरोपियन युनियनको संसदमा समेत चर्चा पाएको थियो। म उसलाई पहिले देखी नै भेट्न चाहन्थे तर पनि संजोग नै मिलेको थिएन। आज अचानक हाम्रो भेट भएको थियो।

“ठिकै छ, म सँग केही समय खाली नै छ” ऊ म सँग कुरा गर्न राजी भयो। हामी लगत्तैको अर्को स्टेशनमा ओर्लेर एउटा कफीसपमा गयौ।

क्यापर्चिनो या लाटे?

होइन मात्र आँपको जुश।

हाम्रो फरक जीवन पद्दतीको एउटा नमुना।

“ल कुरा शुरु गरौ न त, तर आज सबै कुरा पनि सकिदैन होला, म पनि २ घण्टा भन्दा बढि तिमी सँग बिताउन सक्दिन। त्यसैले आज तिम्रो भोगाइको छोटो अनुभव साटौ। त्यसपछी नियमित भेटेर म सबै कुरा समेटुला, रेकर्डमा“ उसको प्रस्ताब।

उसको कुरा पनि ठीक थियो। आज हामी योजना बनाएर भेटिरहेका थिएनौ। यो भेट त संजोग मात्रै थियो। “यो राम्रो कुरा हो, म सहमत छु” मैले भने। मैले मेरो मनको कथा, जो भोगेर आज यहाँ सम्म आइपुगेकी छु, त्यो छोटकरीमा भन्न थाले।

“म पनि धेरै मान्छे जस्तै यो मेरो सपनाको देशमा अनेकन जुक्ती लगाएर आएकी थिए। आउना साथ म एउटा घरमा काम गर्न थाले।” मेरो कफीको बाफ बिस्तारै माथि उठिरहेको थियो। उसले एक घुट्को जुश लीयो। कफीसपमा ग्राहकहरु आउने र जाने क्रम चली रहेको थियो। ऊ मेरो कुरा सुन्न आतुर जस्तो देखिन्थ्यो।

“शुरुमा म एकजना दलाल मार्फत यही शहरको एउटा बिदुर साहूको बृद्ध बा को हेरबिचार गर्नु पर्ने कामको लागि ल्याइएकी थिए। पहिलो दिन नै साहुले बा को हेरबिचारको साथ साथै घरको सबै काम पनि गर्नु पर्ने सर्त राखिदियो। पछी त साहुको दिन दिनको ब्यभिचार पनि थपियो। साह्रै दु:ख पाए पनि कानुनी मुद्दा मामिला तिर लाग्न पनि सकिन। त्यसमा झन ठुलो लफडा थियो किनकी मेरो १ महिने भिषा सकीइ सकेको थियो र म गैरकानुनी बसाइ बसिरहेकी थिए। त्यहाँको कामको दु:ख सहन न सकी म त्यहाँबाट भागेर एउटा फ्याक्ट्रीमा काम गर्न गए।” म मेरा बिगतका धुलो जम्न नसकेका तर खोल उप्किसकेका किताबहरुका केही पानाहरु पल्टाउदै थिए। ऊ एकतमासले सुनी रहेको थियो, कुनै प्रतिकृया थिएनन उसका, तर म उसका आँखाहरुमा कौतुहलताहरु प्रस्टै भेट्टाउदथे।

“फ्याक्ट्रीमा त झन आफ्नै देशकाले नराम्रो दु:ख दिए। छ मैना नि काम नगरी त्यहाँबाट पनि भागे एक दिन, त्यो पनि ४ मैनाको मात्र तलब लिएर। २ मैनाको तलब शुरु मै दलालले खाइदियो। फेरी भौतारिदा भौतारिदै एउटा रात्री क्लबमा नाच्ने काम गर्न पुगे। त्यो क्लब त्यही थियो, जहाँ म कहिले काही जाने पनि गर्दथे किनकी त्यो मेरै देशको मान्छेले खोलेको थियो। त्यहाँ काम गर्दा बल्ल मलाई थाहा भयो, त्यहाँ त यो वा त्यो गर्ने वा नगर्ने भन्ने नै थिएन। मैले अब जे हुनु भईहाल्यो भनेर त्यहाँको माहोल अनुसार काम गर्न थाले। ग्राहकहरुलाई खुशी पारेर दाम पनि राम्रै कमाए” मेरो कफीको बास्नाको एक लहर मेरै नाक सामुन्नेबाट गुज्रियो। मैले एउटा सानो बिश्राम लिए र एक चुस्की कफी ताने।

उसले सुस्तरी सोध्यो “अनि?” उसले मलाई होइन मेरो कफिलाई हेरिरहेको थियो। मलाई मेरो कुरा अगाडि बढाउन हतारो थियो।

“क्लबको काम चाँही गजबको नै भयो। म सुन्दर पनि थिए अनी जवान पनि। मेरो काम कहिल्लै कम भएन। त्यसै बिचमा म एकजना नियमित ग्राहकको प्रेममा परे। प्रेममय जिन्दगी रमाइलो नै भयो, अनी त मैले पनि घर, परिवार, देश सबै भुले। जे थियो प्रेम मै थियो। प्रेमी स्थानिय नै भएकोले मलाई सबै किसिमको सुरक्षा थियो, कानुनी र सामाजिक पनि। तर त्यो रुमानी माया पनि एक दिन गर्ल्याम गुर्लुम्म ढल्यो, भिरालो पहाडमा आएको पहिरोले रुख, झारपात र घर ढलाएर सर्ल्याक सुर्लुक्क बगाए सरी। साढे दुई बर्ष चानचुन सम्म मात्र टिकेछ हाम्रो संबन्ध। शायद हामीहरुले जिन्दगीमा प्रेमको चिट्ठा कहिल्लै जित्दैनौ की? हाम्रो संसारै त्यस्तै छ, जस्तो पनि लाग्दछ धेरै जसो।” यस पाली मैले लामो सुस्केरा नै काढे।

“जसमीन तिमीलाई त्यो मान्छे सँग गाँसेको सम्बन्धको बारेमा कुनै पश्चाताप लाग्दैन” उसले सोध्यो। प्रश्न सामान्य थियो।

“मैले ऊ सँग बिताएका दिनहरु रंगीन थिए, म त्यसमा कुनै दु:ख मनाउ गर्दिन तर उसले किन अचानक बिना कुनै जानकारी र सुचना मलाई छोड्यो त्यो जान्ने इच्छा भने अझै पनि बाँकी छ“ म फेरी संझनाको त्यो पार्कको माझमा पुगे जहाँ हामी कहिले काही घण्टौ संगै बिताउदथ्यौ।

ऊ सँग फेरी भेट्ने कोशीस गरिनौ त?

गरे तर खास केही प्रगती भएन। मलाई लाग्यो ऊ केही पारिबारिक झमेलामा पसेको छ र उसलाई केही नैतीक दबाब पनि छ आफन्तिहरुबाट। ऊ मेरा लागि बसन्त बनेर आयो र सानो तिनो भुकम्प बनेर गयो। शायद उसका पनि आफ्नै बाध्यताहरु थिए होलान। तर म उसलाई अझै पनि घृणा गर्न सकेकी छैन। यो मन न हो। सबै बिर्सें तर ऊ…… लाग्छ, त्यो नीला गढेका आँखावाला पुरुष फेरी जसमीन भन्दै आउने छ एक दिन।

सम्भव होला र?

खोइ, मलाई पनि लाग्दैन तर …..।

मैले फेरी कथा जोडें। “त्यसपछी त मलाई यो ठाउँ, यहाँको हावाको गन्ध, गल्लिका छायाँहरु, मैले हिंडेका सडकहरु र सुतेका पलङहरु सब सँग मोह भंग भयो। लाग्यो अब यो शहर सँगको मेरो सहबास यत्ती नै हो। मलाई रातीको जून सँग पनि कुनै वास्ता रहेन। अनी फर्कु आफ्नै घर, आफ्नै देश भन्ने लाग्यो। म शरण परे आफ्नै देशको राजदुतबासमा। पासपोर्ट च्याती सकेकी थिए, राष्ट्रिय परिचय पत्र पनि साथमा थिएन। तै पनि दुताबासका असल कर्मचारीका सहयोगले ट्रावल डकुमेन्ट बन्ने भयो। २ साता पर्खनु पर्ने भयो देश फर्कन।

उसले र मैले, दुबैले आफ्नो गिलास तर्फ हेर्‍यौं । अझै धेरै नै बाँकी थिए पेय पदार्थहरु तर हामी दुबैले पिएनौ।

तीन दिन राजदुताबासले राखेको आबासमा बस्दा न बस्दै मेरो मन फेरी बदलियो। एक रात मन अचानक कठोर भयो। अब देश फर्कन पनि मनले मानेन। “जवानी यही गयो, पैसा यही माटोले सोस्यो, इज्जत यही गुमाए, अब खाली हात देश फर्कन्न म”। म राजदुतबासको सामुहिक बासस्थलबाट भागे।

तिमी देश फर्केको भए हुन्थ्यो कि?

त्यस्तो काल्पनिक कुराले अब के हुन्छ र…. के नै फरक पार्छ र अब?

अनी फेरी?

म अहिले यही शहरको दक्षिणको रेडलाइट एरियाको यौनकर्मी हुँ। तिमीलाई अनौठो त लागेन त्यस्तो थाहा पाउँदा?

लागेन, यो हाम्रो समाज कै एउटा हिस्सा हो, किन अनौठो मान्ने?

समझदार रैछौ।

“हिजो राती सम्म एउटा बूकिङमा थिए। एकजना बिदेशी ब्यापारीले १ साताको लागि बुक गरेको थियो। पर्सीबाट फेरी बुकिङ छ, भोली एक दिन आराम गर्ने। कम्पनी छ, त्यसैले मिलाउछ सबै। के गर्ने काम कामै हो, आफु सँग जे उपयोगी छ त्यही प्रयोग गर्ने त रैछ, जिन्दगीमा। ज्ञान हुनेले ज्ञान, ज्यान हुनेले ज्यान।” मैले फेरी थपे एकनासले मेरा बिचार सहितका लामा कुराहरु।। मैले त्यसो भनी रहदा ऊ पटक्कै सन्तुष्ट देखीएन। बरु उसको अनुहार उदेक लाग्दो भएको थियो।

उसले भावबिहिन मुद्रामा मलाई पुलुक्क हेर्यो र भन्यो, तिम्रो कफी!

धन्यवाद, मैले त गफको रन्को र उत्तेजनामा कफी नै बिर्सिइछु।

उसले पनि फेरी जुश पियो र गिलास आफु भन्दा अली पर राख्यो। मेरो कफीको बाफ उड्न छोडि सकेको थियो।

मैले थप कुरा जारी राखे “सबै तिरबाट हण्डर खाए पछी यता लागेकी हुँ, यस्तै छ जिन्दगी। आजकाल त मेरो लागि यो शरीर नै एउटा फ्याक्ट्री हो जस्तो लाग्छ। मेरो जीवनका सारा आवश्यकताहरु यसै कारखानाबाट उत्पादन हुन्छन।”यसो भनी रहदा म एक छीन त टोलाए। ऊ अली पर हेर्न खोज्दै थियो।

“तर यहाँ ठिकै छ, काम कानुनी रुपले मान्यता प्राप्त छ, कर तिर्दछु सरकारलाइ। मान्छेले बाहिर जे जसो भने पनि हामीले गरेको काम एउटा उद्योग नै जस्तै स्थापित छ। अहिले त यहि कै आइडी पनि छ, साह्रै दु:खले पाए त्यो पनि।” मैले म अब गैरकानुनी रहिन भन्ने कुरा खोले। तर उसले कसरी आइडी पाए भन्ने कुरामा चासो नै राखेन।

“त्यसो पो” ऊ फुस्फुसायो।

“किन कुरा मन परेन” मैले उसलाई सोधे।

उसले पनि साँचो कुरा भन्यो “तिम्रा सबै भोगाइ र भनाइहरु मेरो लागि एकदम अप्रत्याशित थिए। एक झट्का नै लाग्यो मलाई तर तिमीले ती सारा कुरा कती सरल र सोझो पाराले भन्यौ” यती भनेर ऊ त मलाई एक तमासले हेर्न पो थाल्यो।

म भने उसका ति कुराहरुले नजानिदो किसिमले प्रभाबित भई सकेकी थिए।

कहिल्लै रेडलाइट एरियामा छिरेका छौ? मैले सोधे

उसले घुमाउरो पाराले भन्यो “यो शहरमा, यो जमानामा, जिन्दगीमा कम्तिमा एक पटक त्यहाँ नजाने त निकै कम नै होलान नि, होइन र? उसले म सँग आफ्नो कुरालाई कशी लगाउन खोज्यो। म राम्ररी बुझ्दछु पुरुषहरुको मनोभाव र संकेतहरु।

त्यस पछीका केही क्षणहरु सान्नाटामय रहे, बातावरण सून्य र खाली खाली बन्यो। तर त्यो अवस्था भने धेरै बेर रहेन। उसले मोबाइलमा समय हेर्र्यो।

बाँकी फेरी गरौ हुन्न?

हुन्छ, यो बाँकी कफी र तिम्रो जुश सकेर लागौ है, त मैले सुझाए।

अहिले मलाई आँफैमा एउटा तर्कना आइरहेको छ मनमा, खोइ कस्तो तर्कना हो यो, अरु बखत भन्दा भिन्नै। अनी त बाँकी कफी पनि एक किसिमको मौनता, डर र कौतुहलताका साथ सके। मैले यसो टाउको उठाएको ऊ त पहिले नै जुश सकेर मलाई नै पर्खि राखेको रैछ। त्यत्ती कफी पिउन पनि किन कती धेरै समय लागे जस्तो अनुभुती भयो मलाई।

छुट्नु अगाडि मैले उ प्रती अनुग्रहित हुँदै सोधे “तिमी ब्यस्त मान्छे, समय दियौ, मैले आफ्नो दु:ख पोख्न पाए। मलाई तिम्रो नम्बर दिन सक्छौ?” मैले यसो भनी राख्दा मेरो मनको कुनै कुनामा नारित्वका भावनाहरु खुल्दुल गरे। मेरो मनमा एउटा अफ्ठ्यारो उदाशीको राप उठ्यौ। खै किन हो कुन्नी धेरै समय पछी एउटा लोग्ने मान्छेलाई पुरुषको दृष्टिवाट हेरिरहेकी थिए। ऊ मेरा ग्राहकहरु भन्दा भिन्न थियो।

यो मेरो बिजिनेस कार्ड। उसले एउटा सामान्य बिजिनेस कार्ड म तिर सार्‍यो। मैले मेरो पर्समा राखे।

तिम्रो नम्बर यसमा लेख त, उसले एउटा सादा कागजको चिर्कटो दियो।

अब तिमी कता लाग्छौ?

उता तिर।

अनी तिमी?

यता तिर।

फेरी भेटौँला।

धन्यवाद, अनुभव बाढेकोमा र जुशको लागि पनि।

धन्यवाद समय र मेरो कुरा सुन्ने धैर्यको लागि।

हामी एक अर्कोलाई अंकमाल गर्यौ। ऊ त्यस पछी पछाडि न फर्की, सोझै मेट्रो स्टेसन तिर लाग्यो।

मलाई भने उही कफीसपमा फेरी जान मन लाग्यो। त्यहाँ शायद हाम्रो बसाइका बासनाहरु अझै बाँकी थिए की? मलाई त्यो एक चोटि अनुभव गर्न मन लाग्यो। म फेरी उही कफीसपमा फर्के। हाम्रो टेबल अझै खाली थियो, ति दुई गीलासहरु पनि त्यही थिए। शायद मेरो फर्काइ तिनिहरुलाई पहिल्लै देखी थाहा थियो। म त्यही पुगे। म उसको कुर्चिमा बसे, अझै तातै थियो त्यो। सामुन्नेको खाली कुर्ची र ति दुई गीलासहरुलाई एक टकले हेरी रहे। उसको बिजिनेस कार्ड झिके पर्सबाट र हेरे। त्यहाँ उसको अफिसको टेलिफोन नम्बर, उसको नाम, पद र ठेगाना थियो, मोबाइल नम्बर थिएन। अनी सम्झे उसले पनि त मेरो मोबाइलको नम्बर सोझै आफ्नो मोबाइलमा सेभ गरेको थिएन नि। अनायासै म कतै कल्पनाको दुनियाँमा बहलिए। म, मेरो नाम, मेरो जीवन र जसमीन फूलको अर्थ, के यी संयोग मात्रैले जुरेका हुन?

खस्याक खुसुक आवाज आयो, टाउको उठाए, टेबलका ति दुई गिलासहरु अहिले त्यहाँ थिएनन्।

30 Comments

  1. धेरै राम्रो. बिबस नेपाली नारीले बिदेसमा भोग्नु परेको दुख: को गहकिलो प्र्स्तुति. अरु पनि यस्तै यथार्थ प्र्स्तुति को लागि लेखक लाई शुभकामना!

  2. प्रीय पाठक मित्रहरु

    मेरो कथा पढ्नु हुने र अमूल्य सुझाव समेत दिनु हुने सम्पूर्ण मित्रहरुलाई धेरै धन्यवाद। तपाईंहरुको सुझाव, सल्लाह र कमी कमजोरीको आंकलनले मलाई झनै उत्शाहित बनाएको छ। कथा प्लटिङ र टाइपिङमा सुधार गर्न र कथाको अन्त्यको बारेमा उठाउनु भएका जिज्ञासाहरुलाई मैले आगामी कथाहरुमा सुधार गर्ने छु। धेरै पाठकहरुले कथाको दोश्रो भागको माग गर्नु भएको वा सल्लाह दिनु भएकोले दोश्रो भाग लेख्न म मानशिक रुपमा तयार भएको छु। परदेशको बसाइ र दैनिकीलाई मिलाएर लेख्नु पर्ने भएकोले मलाई केही समय लाग्ला। फेरी फेरी पनि अहिलेको जस्तै यहाँहरुको मायाको आश गर्दछु। मेरा कथाहरुलाई पाठक माझमा पुर्‍याइदिने माईसंसारलाई पनि धेरै धन्यवाद।

    उही
    लेखनाथ काफ्ले
    ताइपेइ, ताईवान

  3. लेखको बिसय बस्तु प्रतिनिधिमुलक छ, राम्रो लाग्यो ! निरन्तरताले जिबन्टता पायोस !!

  4. लेख को लागि धरै धन्न्यबाद! नारी हरु मात्रै होईन, केहि पुरुषको पनि यथार्थत यस्तै छ! ११% युरोपमा …………

  5. कथा ले मन छोयो ,,लेखक लाई धन्यबाद
    आगामी दिनहरुमा पनि येस्तै कथाहरु पढ्न पाइयोस…

  6. निकै राम्रो कथा लेख्नु भएको रहेछ, खुशी लाग्यो । दोहोराएर पढेँ । बैदेसिक रोज्गारमा जानेहरुको बेथा, बिदेशी माटोमा नेपाली नारिहरुले भोग्नु परेको पिडा, अन्य बिकल्पहरु सकिएपछि शरीर बेच्नु पर्ने नारी बिबशताहरुको मनोबैज्ञानीक विस्लेशण रहेछ कथामा । अरु पनि यस्तै मार्मिक लेखहरु पढ्न पाइयोस, यही अपेक्षाका साथ कथाका लागि बधाई ।

  7. तपाइले निम्न वाक्यमा मन पढ्नु भएको छ ” मलाई भने उही कफीसपमा फेरी जान मन लाग्यो। त्यहाँ शायद हाम्रो बसाइका बासनाहरु अझै बाँकी थिए की?”| तर पुरुष पात्र लाइ किन त्यति निरश (या तपाइले चाहेको निकै बुज्रुक) बनाउन खोज्नु भएको हो थाहा पाउन सकिएन…..लेखन शैली राम्रो छ तर तपाइले अझै सुधार गर्न सक्ने ठाउ धेरै छ…

  8. लेख ठीकठीकै लग्यो लेखनाथ जी बिदेशिएका नेपाली नारीहरुको बारेमा तपाइले एकदमै गहिरिएर जो हुन्छ छर्लंग पारेर लेख्नु भएको रहेछ वधाई छ तपाइलाई येस्तै येस्तै लेखहरु लेख्दै जानुस शुभ कामना

  9. लेखनाथ,

    यो कथा पढेपछि मेरो नजरमा तपाइको बौद्धिक उचाई थप चुलियो. खासमा, धेरै पछी ‘स्तरीयता’ शब्दको साचो अर्थ महसुस भयो. बधाई छ.

    – शरद परासर मरहट्टा, हवाई

  10. अनेक विषम परिस्थिती संग सामना गर्दा खाएको हारलाई जसमीन पात्रले ज्यानलाई उपयोग गरिन instead of ज्ञान, जिउनको निमित्त । चाहे europe को त्यो कुनै गल्लीको कहानी वा नेपाल भन्दा वाहिरको कुनै पनि मुलुकको होस् यो वास्तविकता हो । किन जसमीन जस्ता अनगिन्ती चेलीहरु फर्कन चाहदैनन् त स्वदेशमा embassy/counselor को legal सहयोग पाउदा पनि…..???

  11. राम्रो लाग्यो कथा. पढ्नेलाइ फुलको माला लेख्नेलाई सुनको माला. वास्तविक कुरोलाई राम्रो संग कथामा ढालेका छन् लेखकले.
    लक्ष्मण देवकोटा, पाल्पा
    हाल-पोर्चुगल

  12. खै कता हो उहिले पढेको थिएँ :
    “” कवी कविता बनोस ,कविता कवी,
    भाव भए पो कविता हुन्छ !
    सब्द थुपारीकन के हुन्छ ?””
    मेरो संसार मा प्रकासित हुने कथा हरुमा पनि कहिले काही माथिको प्रसङ्ग लागु हुन्छ .तर लेखनाथ जी,तपाईका सब्द हरु लाई मान्नै पर्छ ! सलाम !!!
    “” बसन्त बनेर आयो ,सानो तिनो भूकम्प बनेर गयो “”
    अनि “” ज्ञान हुनेले ज्ञान ; ज्यान हुनेले ज्यान “”
    वा क्या वजनदार सब्द हरुको प्रयोग !
    निरन्तरताको कामना सहित मेरो संसार र काफ्ले जी लाई धन्यबाद !!!

  13. लेखाकज्यू,

    तरेमाम !

    कथाबस्तु एकदम नौलो अनि सुन्दर छ ! कथाले समसामयिक प्रसंगसंग प्रत्यक्ष सरोकार राखेको छ तर कथाको स्टोरी-प्लटिंग थोरै कमजोडी छ ! त्यसैले यति सुन्दर कथाबस्तु हुँदाहुँदै पनि कथामा साहित्यिक रश छैन ! सरी एबाउट द्याट !

  14. मन छुने लेख छ , जोस ले जे जसरि लेखेको भए पनि यो सत्य घटनामा आधारित जस्तो एउटा तितो तर वास्तविक एथार्थ हो

  15. कथा को श्री गणेस र अस्तु मा अलिकति तारतम्य नमिले को आभास भयो | जे होस् कथाकार बन्धु लाई मेरो पनि जदौ| किशोर तिवारी {अन्जन} मलेसिया

  16. कथा को शुरुवाती हरफ हरु ले निकै साहसिक भूमिका प्रस्तुत गरेझै लाग्यो|तर अन्तयमा के नमिलेको जस्तो खल्लो र अपुरो महसुस भयो | प्रस्तुति कै दौरान मा अन्त्य गर्न सक्नुभएको भा अझ कथा मार्मिक र मनछुने वन्ने थियोकी भन्ने मेरो सोचाई हो | तर पनि तपाई को लेखानिय दौरान मा सफलता को कामना गर्छु |

  17. एकदमै मन छुने लेख एकछिन त म पनि तेही कफी shop भित्र हराए |
    “सबै तिरबाट हण्डर खाए पछी यता लागेकी हुँ, यस्तै छ जिन्दगी। आजकाल त मेरो लागि यो शरीर नै एउटा फ्याक्ट्री हो जस्तो लाग्छ। मेरो जीवनका सारा आवश्यकताहरु यसै कारखानाबाट उत्पादन हुन्छन।” सार्है मन परेको हरफ |

  18. लेखन शैली राम्रो छ / कथाकारको शिल्प झल्किन्छ तर कथाले पात्रहरूलाई अन्यौलमै छोडेको छ / निचोड छैन / अन्तमा जस्मिनको व्यवासाहिक बेस्याको प्रवित्ति नझल्काको भए हुने /
    – जस्मिन जसको पनि मैन भएर पग्लेको पग्लेई छ / के जस्मिनले सधै वासना छरीरहन सक्ला त ?!
    – ओइलिनु पर्ने नियति पनि त शेष छ नि !!

  19. सहित्येकार महासय , बिदुर अनि बिधुर मा आकाश पाताल को फरक छ . बिदुर भनेको सत्य राजा , अनि महाभारत मा यमराज को रुप ( जो पाताल मा सराप को कारण आएका थिए ).
    अनि बिधुर भनेको श्रीमती देहान्त भयो पुरुस हो ( जुन तपैले माथि लेख मा ब्यखा गर्न खोज्नु भाको जस्तो लग्यो . . अब एस्तो सामान्य कुरा को हेक्का नभएको तपाई कस्तो सहित्येकर ? जानकारी मिल्ला ?

    • बिदुर सर!{सहित्येकार}हैन होला साहित्यकार चाही होलाकी| माफ गर्नुहोस अरु लाई दोषी मात्र देखायर हुदैन समग्र मा राम्रो कामको प्रसंसा पनि गर्न जान्नुपर्छ| किशोर तिवारी {अन्जन} मलेसिया


  20. सबैं नेपाली दाजु भाई अनि दिदि बाहिनीले सहेका दुख पिडा हुन् .अति मात्र फरक हो महिला भयको तो पेसा अपनाउनु सजिलो मध्यम बने को हो .

  21. यो त एउटा कथा जुन सनिबार शाहित्य मार्फत बाहिर आयो जुन अरु यस्तै धरै कथा हरु छन् जुन यो कथा भन्दा धरै दर्दनाक छन् l मान्छे ले सहि समएमा सहि निर्णय गर्न सकेन भने यहि हालत हुन्छ जे होस् ढिलाई भएपनि अब देश फर्किनु बेश होला l जवानीले साथ दिन छोडेपछि र रंगमंच उठेपछि धेरै गारो हुन्छ l

  22. कथा साह्रै राम्रो लाग्यो लेखकलाई धन्यवाद

  23. एउटा नेपाली नारी बिदेसी ठाउमा आस्तितो बेय्चाउनु भयो काफ्ले जी अलि कति हाम्रा नारी लाइ सम्मान गर्न सिक्नु जान्नु भयको छैन कि कसो हो ?

  24. आसुको मोल उसलाई के थाहा जसले आसु झरेको हुदैन
    फुलको मूल्य फुल टिपनेलाई के थाहा जसले फुलको सानो बिरुवा सारेको हुदैन

  25. एकदमै गहकिलो प्रस्तुति | बिदेशिएका हजारौ नारि हरु को विवशता अनि यथार्थता | साहित्य मा कलम चल्दै जाओस , यस्ता जानकारीमुलक र यथार्थ चित्रित लेख हरु फेरी पनि पढ्न पाइयोस | शुभकामना तपाइको कलमलाई !!

Comments are closed.