स्वाभिमान

-दीप्स शाह-

आँधी बोकेर असमन्जस्यतामा अल्झिरहेको छ उसको मन। शायद जीवनमै पहिलोपटक होला यसरी ऊ कुनै कुरालाई लिएर टोलाउन पुगेकी नत्र त सबैले उसलाई सानैदेखि भन्ने गर्थे “यो हक्की छे ,तुरुन्तै तर ठीक निर्णय लिना सक्छे।” कैयन कुराको बाढी मनमा उछाल्दाउछल्दै झल्याँस्स अविन(उसको लोग्ने) सँगको संवादमा आएर यसरी झस्की, मानौं विद्युतीय झट्का लागेको होस्। कति सजिलै अविनलाई सान्त्वना दिई उसले, कति सजिलै ढाडस र आश्वासन दिई उसले कि सबै जोरजाम समयमै हुन्छ भनेर। गरोस् पनि के, लोग्ने स्वास्नी भनेकै साथ र सहाराको लागि हो, समस्याको समाधान लोग्नेकै मात्र जिम्मेवारी होइन भन्ने मान्यता राख्ने उसले अहिले यो प्रमाणित नै गर्ने समय आएको थियो,बस् ऊ यही गर्दैथिइ।

दुई महिनाअघि एउटा नाम चलेको म्यानपावर कम्पनीमा वर्क परमिटमा विदेश जानको लागि प्रकृया थालेकी थिइ। आर्थिक अभाव, बेरोजगारी र पारिवारिक बोझ हल्का गर्न, कम्सेकम केही सजिलो पार्नका लागि धेरै प्रयासका बाबजुद लामो बहस, रातै पिच्छेका छलफलपछि अविनलाई राजी बनाएर उसको अनुमति प्राप्त गरेकिथिइ। पूर्ण उल्लास नभए पनि जटिल अवस्था र परिबन्दको कारण अविनले सहमति जनाएको थियो। तथापि उसको मनमा पनि अर्को त्रासको आँधी चलिरहेकै त्यो आँधी थियो’आर्थिक जोहो’ ।


भिसा लागेपछि म्यानपावरमा ठूलो रकम बुझाउनुपर्ने थियो, त्यति ठूलो रकम उसले दिनदिनै खस्किँदै गएको आर्थिक हैसियतको कारण धेरै साल यता देख्न त के कल्पना पनि गरेको थिएन। हातपाउ एक गरेर सुरु गरेको बङ्गुर पालन पाँच वर्षअघि एकाएक स्वाहा भएदेखि अविनले चौपट जिन्दगी गुजारिरहेको थियो। घरको खम्बाको हैसियत जोगाउनका लागि प्रसन्न मुद्रामा ‘सबै ठीक हुन्छ’ भनिरहे पनि अन्तस्करणको उसको डर अचानक प्रकट भएको थियो “सबु! भिसा लाग्ने दिन त आउन लाग्यो, अझै पैसाको जोरजाम भएको छैन। कतै भिसै क्यान्सिल गर्नुपर्ने हो कि!”

अविनको संकास्पद डरको वाक्यले ऊ एकाएक बरफ भएकी थिइ। यो डर ऊ आफैमा पनि हुँदाहुँदै पनि कतै न कतै अविनप्रति ढुक्क थिइ। ‘उसकी बहिनीले देलिन् ,नभए काका ससुराले अस्ति मात्र जग्गा बिक्री गरेका हुन् ,उनले पनि देलान्। अनि आफ्ना टुक्राटुक्री सुन बेचेर थप्दा त पुगिहाल्छ नि’ भनेर ढुक्क भएको उसको मन अविनको डरभरी वाक्य सुनेपछि एक्कासी भुमरी खेलेको थियो। अझै ‘भिसै पो क्यान्सिल’ भन्ने पदांश त तिखो सुइरो जसरी उसको आशातित मुटुमा पसेको थियो। कति मुस्किलले अविनलाई मनाएकी थिइ। आखिर उसको पनि त यो रहर नभएर बाध्यता नै त थियो।

अविन एउटाको क्यासेट पसलको कमाइले डेरा भाडा, बच्चाको पढाइ, घर खर्च- कता-कता चलाउनु! कसैलाई केही तलबितल भैहाल्यो भने भनेको बेलामा सिटामोल किन्न पनि आपत पर्न सक्छ, जसोतसो टरेको त छ तर समस्या ढोल बजाउँदै पनि त आउँदैन। परिहालेको खण्डमा के होला!! खर्च त दिनदिनै बढ्दो छ। उसमा गरगहना र कपडाको सम्भ्रान्ति रहर त थिएन नै, आधारभूत दैनिक जीवन चलाउनकै लागि पनि आफू विदेश गएर केही वर्ष कमाउने, यता अविन पनि बेकामे त छैन। दुबैको कमाइले अहिले आफूहरु बिछोडिएर बाँच्नुपरे पनि भविष्यमा बच्चाहरुले यस्तो दिन भोग्नु नपरोस् भन्दै उठाएको यो कदमप्रति ऊ एकदमै उत्साहित थिइ। म्यानपावरले पनि “तपाईंको भिसा चाँडै लाग्ने सम्भावना छ” भनिदिँदा उसको आशाको दीप अझै अग्लिएर चम्किएको थियो। सोच्दै थिइ- अब त भिसा लाग्ने दिन आउन लाग्यो। सपिङ्ग गर्नुपर्‍यो। सुट्केस पनि अलि ठूलै किन्नु पर्‍यो त। ‘यही बेला अचानक अविनको वाक्यले खल्बलिए पनि सम्हालिंदै भनेकी थिइ- “तिमी चिन्ता नगर अविन! म साथीहरुलाई पनि भनसुन गर्छु। काम जसरी नि हुन्छ। तिमी ढुक्क होऊ!” अविन ले विश्वाश गर्‍यो कि गरेन तर श्रीमतीको यो ढाडस र आश्वासनले उसको मुहारको हराएको कान्ति थोरै फर्किएको थियो। जब अविन केही कामले बाहिरियो, अनि उसको मनमा फेरि सुनामी भड्किन थाल्यो। अविनलाई ढुक्क बनाए पनि ऊ आफै ढुक्क हुनसकेकी थिइन। सोच्न थाली, कोसँग भनुँ!! उसका एकाध साथीहरुले केही परेमा शेयर गरौँ न भन्थे तर भरसक पुर्‍याइ पुर्‍याइ आफ्नै स्वाभिमानमा बाँच्दै आएकी अनि अविनसँगको जीवन सुरुवातपछि दुबैको साथ सहारामा जेनतेन कसैसँग हात नथापी जीवनको गाडी घचेटिरहेकी उसले अर्थात् सबुले हत्तपत्त आँटै गर्न सकिन कसैसँग सहयोग माग्नलाई।

‘कसले देला र! सबैको आ-आफ्ना समस्या छ’ । यो भन्दा पहिले न उसले कहिल्यै आफ्नो गरीबी कसैको सामु प्रकट गरेको थिइ। परिश्रम र स्वाभिमानको मजेत्रोले अभावलाई नग्न हुनबाट जोगाउँदै आएकी सबुलाई निकै कष्टको कुरो थियो कसैसँग हात फैलाउनु। त्यो पनि सानो रकमको कुरो थिएन।

सोच्दासोच्दै उसको दिमागमा सम्भावनाको बिजुली चम्क्यो एउटा आशालाग्दो नामसँगै।
हो, चिन्ताले कस्सिएका ओठहरु एकाएक मुस्कानको धर्कोसँगै खुकुलिएको थियो ‘अर्पण’ उसको सहपाठीको नामको सम्झनासँगै।

अर्पण त्यो मान्छे थियो जसलाई सबु दसौँ बर्षदेखि जान्दथिइ। हाइस्कुल सकेपछि १०+२ को सुरुवातसँगै टुसाएको उनीहरुको मित्रता समयसङ्गै राम्ररी मौलाएको थियो। हँसिलो,मिलनसार र फरासिलो अनि खासगरी प्रसंग बाहिर गएर कहिल्यै कुनै बाङ्गोटेडो ठट्टा नगर्ने अर्पणको बानीले नै होला सबुको एक असल र नजिकको साथीमा अर्पण अग्रपंक्तिमा उभिएको थियो। ती अतितदेखि आजसम्मको अर्पणसँगको फरासिलो स्वस्थ स्वच्छ मित्रता र आर्थिकरुपमा पनि अर्पणको मज्बुत अवस्थाले सबुलाई सोच्न लगायो कि यदि उसले अर्पणको सामु सहयोगको हात बढाइ भने खाली हात फर्किनेछैन। अविनको चिन्ता पनि टर्ने । ‘आखिर केही महिनाको कुरा न हो, उता(विदेश) गएपछि त फटाफट तिरिहाल्छु नि !” यस्तै सोच्दै उसका हात फोनको रिसिभरतिर लम्कियो-फेरि रोकियो।

अर्पण त्यही केटा थियो जसले चिनाजानीको केही समयपश्चात् घुमाउरो पाराले प्रेमप्रस्ताव राखेको थियो। जीवनभरी माया गर्छु भन्ने आशय ब्यक्त गरेको थियो। तर सबुले सरासर बौद्दिक र सभ्य ढंगले नकारेकी थिइ। उसले भनेकी थिइ “प्रेम गरिन्न अर्पण! प्रेम त हुनुपर्छ तर यहाँ प्रेम भएकै छैन र म गर्ने पक्षमा छैन। चाहना नभएको,कामना नगरिएको र सपना नदेखिएको सम्बन्ध प्रेम होइन अर्पण! मलाई माफ गर! हामी साथीभन्दा अरु केही होइनौं। ” उसको तार्किक र प्रभावकारी जवाफप्रति नतमस्तक हुँदै अर्पणले माफी मागेको थियो र भनेको थियो “सबु! हामी एक असल मित्र त हुन सक्छौँ नि जीवन रहेसम्म!”

अन्तत: उनीहरु मित्र नै रहे, सबुले भने जस्तै त्यहाँ कहिल्यै प्रेम हुँदा पनि भएन। समय सङ्गै सबुले घर बसाइ, उता अर्पणले पनि लगनगाँठो कस्यो। अब त दुबैका बच्चासमेत भैसकेका थिए, दुबै जिम्मेवार अभिभावक भैसकेका थिए। वर्षौँ पहिलेका ती अपरिपक्व प्रेमप्रसंग सबुले अतितको कुनै पुरानो ढड्डामा सँधैको लागि थन्क्याइसकेकी थिइ। त्यही बेलादेखि अब उनीहरु दुबै एक असल साथी भन्दा अरु केही थिएनन्। यसर्थमा पनि उसको याचना गलत साबित हुनेछैन भन्ने सोच्दै फोन तानेर डायल गरी । यसै पनि बेलाबेलाको पारिवारिक जमघट,आवातजावतको भेट्घाटमा अर्पण भन्ने गर्थ्यो “सबु!! नबिर्स हामी असल साथी हौँ ,सुखदुख बाँड्न सक्छौँ!”

बाल्यकाल देखी अभावसँग खेल्दै आएकी उसले जीवन जिउने क्रममा विवाहको प्रथम बर्ष अविनको बिजिनेश राम्रो हुँदा सिमित समयका लागि पाएको आर्थिक सन्तुष्टी बाहेक आज सम्म उसको जीवनमा साथीभाइ सँग खास गरी अर्पण सँग सुख साट्ने दिन त कहिले आएन नै ,बरु बिडम्बनाले अहिले दु:ख साट्ने दिन भने ल्याइदिएको थियो।

“हेलो!अर्पण !म सबु!!’

“ओह! सबु! कसरी सम्झियौ आज? सब ठीकठाक त छ नि?”

सुखदुःख साट्ने भनिए पनि साटिन चाहिँ दुखैमात्र साटिन्छ क्यारे र त हठात् सम्पर्कको जिज्ञासा यही हुन्छ कतै बेठिक पो भयो कि!! केही आपत आइलाग्यो कि।

सम्हालिएर उसले सर्सर्ती आफ्नो फोनको प्रयोजन बताई। एक्पटक पनि सवाल र आनाकानी नगरिकन अर्पणले भन्यो”चिन्ता नगर सबु! साथीले त साथीलाई मद्घत गर्ने हो नि। तर विदेशकै यात्रा चैँ तय नगरेकै भए हुने, ठीकै छ सोचेरै त पाइला चालेकी हौली। जे होस् म गर्व गर्छु हाम्रो मित्रताप्रति। तिम्रो मप्रतिको विश्वाशले मलाई धन्य बनायो!”

अर्पणको यो वाक्य महानताको थियो या अपमानको झटारो तर असल र पुरानो साथी हो भन्दै उसले मनमा उठेका दुविधालाई जबर्जस्ती थन्क्याइ र सन्तोषको लामो श्वास फेरी।
साँझ अविनको घरागमनसँगै अङ्गालोमा बेरेर आत्मियताभरी चुम्बन दिँदै कानैमा फुस्फुसाई “अविन! समस्याको समाधान भयो”

अविनको शंकित र आश्चर्यभरी हेराइको जवाफमा उसले सबै कुरा बेलिबिस्तार लगाई। बदलामा अविनले लामो श्वास छोड्यो र भन्यो “ठिकै छ नि ,धेरै राम्रो भयो “। आखिर अविनले सबुसँगको बिहेपश्चात् अर्पणलाई जान्दथ्यो। अर्पणको परिवार आफन्तभन्दा कम थिएन उनीहरुका लागि। पत्निको साथी भन्दा पनि सह्रदयी आफन्त को रुपमा लिएकोथ्यो अविनले अर्पणलाई। यही अनुभव र सोचले मन पोतिएपछि अविनले सबुलाई अङ्गालोमा अझै कस्दै नाकको टुप्पोमै म्वाइ खाँदै भनेको थियो “अर्पण सँग सहयोग मागेर राम्रै काम गर्‍यौ सबु!! ऊ राम्रो मान्छे हो।”

*******
‘ओहो!भोलि त अर्पणले पैसा लिना बोलाएको दिन पो, आउनुभन्दा पहिले एक कल फोन गर भनेको थियो, आजै फोन गर्नुपर्‍यो, अनि भोली लिन जाउँला। पैसा त तयारी नै त होला नि। ‘सम्झिँदै ऊ फोनतिर लम्की। कि होइन भोलि!! फेरि पटापट औंला भाँची “होइन भोलि नै त बोलाएको हो”।
“हेल्लो!”
“सबु! तिमी? म तिम्रै फोनको पर्खाइमा थिएँ ”

‘सोची उसले कति इमान्दार छ अर्पण! असल साथी त असल नै हो। एस्तो असल र मिलनसार साथी शायदै अरु होलान्।’

यति सोच्न भ्याइहाली फोनको रिसिभर दाँया कानबाट बाँया कानमा सारुन्जेल
“थ्यान्क्यु अर्पण! म भोलि कतिबेला आउँ पैसा लिन??””

यो पालि अर्पण अलिक अक्मकायो।

“…साँच्ची… कति पैसा चाहिने भनेको तिमीलाई सबु”

ऊ झस्की। ‘ला!! पैसा त तयार छैन क्यारे,कति भनेको भन्ने त बिर्सेछ के पैसा तयार गर्‍यो होला त!

” अँ, ३ लाख भनेको त हो नि ”
(यतिभन्दा अलि लाचार महसुस गरी )

“अनि म्यानपावरमा त ५ लाख दिनुपर्ने होइन र??

“”हो। तर बाँकीको पैसा अलिअलि अविनले खोज्दैछ, अनि बाँकी मेरो भएका गहना बेचिदिन्छु। अब यसै पनि म उता जाँदैछु, गहना पो अहिलेलाई किन चाहियो र !” आफ्नो नितान्त निजी मामला कसैको सामु पहिलोपटक यसरी नङ्ग्याउनुपर्दा ग्लानी र अपमानबोधले ओठ चाटी।

“हेर सबु, बिनासित्तिमा अविनलाई किन दु:ख दिन्छ्यौ!! फेरि सबै पैसाको जोरजाम पनि त गर्दैछैन उसले। अनि तिम्रा अलिअली भएका गहना पो किन बेच्नु? बेच्नै छ भने पनि यो भन्दा चरम् अवस्थामा बेच्नु तर त्यो दिन आउँदैन पनि!”

एकै सासमा अभिभावकीय हिसाबले अर्पणको मुखबाट यी वाक्य बर्सिरहँदा सबुको कानमा भने ‘सबै पैसाको जोरजाम गर्दैछैन उसले’ भन्ने आवाजमात्र घनले हाने जसरी ठोक्किरह्यो। अर्पणले सदासयता देखाए पनि सहयोगको नाममा अविनको अपमान गरेको जस्तो लाग्यो। सबु सबै खालका चोट सहन्थी तर उसको प्राण भन्दा प्यारो अविनको अपमान सहन्नथिइ। अविनको बाध्यात्मक असमर्थता हो या अनिच्छा त्यो त उसले भन्दा बढी कसले जान्दथ्यो र ।

तर बाध्यताभन्दा स्वाभिमान कमजोर नै भयो यहाँनिर। अमिलो मन र लाचार आवाजमा भनी “त्यो त हो तर अरु विकल्प पनि त छैन। अविन र मैले यही निर्णय गरिसकेका छौं” त्यसो हो भने निर्णय बदल!!””

(यो पालि अर्पणको आवाजमा सल्लाहभन्दा आदेश ज्यादा थियो। )

सोच्न नभ्याउँदै उही बोल्यो “सुन्दैछ्यौ सबु!”

“अँ, सुन्दैछु ।”

“सुन, म तिमीलाई पाँचै लाख दिन्छु । अरुतिर टेन्सन नलेउ। आखिर साथी भनेकै यस्तै बेलामा काम लाग्ने हो। तर यसको बदलामा तिमीले मेरो सानो काम गरिदिनुपर्छ।

सुन्दैछ्यौ??”

“के काम हो त्यस्तो अर्पण! फेरि म त छिट्टै जाँदैछु । समय मिल्ने हो कि होइन तिम्रो कामको लागि ??”

उत्साहित हुँदै अर्पण बोल्यो “सानो काम हो। समय नै लाग्दैन धेरै। आखिर तिमीलाई पैसाको अत्यन्त आवश्यकता छ अहिले। फेरि अब समय पनि छैन तिमीसँग अरुतिर खोज्नलाई पनि । काम त चलाउनै पर्‍यो नि”।

” संकित आवाजमा उसले भनी “होइन काम चैँ के हो त ?”

“तिमीलाई पाँच लाख पूरै दिन्छु। सकेको बेलामा फर्काऊ, हतार गर्नुपर्दैन। तिमी जस्तो असल र नजिकको साथीसँग ब्याजको कुरा पनि आएन। तिमीलाई जतिबेला मिल्छ त्यतिबेला आएर पैसा लैजाउ। तयारी अवस्थामा छ। तर त्यो भन्दा पहिले कृपा गरेर मेरो वर्षौँ पुरानो अतृप्त प्यास मेटाइदेउ….. बस्….. एक रातको लागि….तिमी…. मसँग….. ”

सबुले महसुस गरी उसको कलेजो हजार ठाउँमा चर्किँदैछ, पूरै आकाश एकैपटक टुक्रिएर उसैका टाउकामा बज्रिँदैछ। जिन्दगीमा अभावको कैयन खुड्किलाहरु आधा पेटमा पार गरेकी थिइ। कैयन रहरहरुलाई सधैंको लागि मनभित्रै ताल्चा मारेर थुनेकी थिइ तर गरीब बनेकी थिइन,हार खाएकी थिइन। तर आज मित्रताको सदाशयता को नाममा वर्षौँदेखि सबसे असल र इमान्दार मानिआएको साथी (जसको नाम लिँदा पनि गर्ब गर्ने गर्दथिइ) ले आज उसलाई वास्तविक गरिवीको पहिचान गराइदियो, महसुस गराइदियो। अहिले थाहा भयो उसलाई गरिबी के हो ,नग्न अभाव सङ्घार नाघेर बाहिरिएपछी कसरी हेपिनुपर्दोरहेछ,,
उसका आँखा बाट पीडाका थोपा खसे। अपमानबोधका रेशा अनुहारै भरी दौडिए।

****
साहस बटुलेर दरा औँलाको टुप्पोले आँसुको ढिक्का पन्छाई र अन्तिम वाक्य भनी

“धन्यबाद अर्पण! म भिसा क्यान्सिल गरेर सब्जी पसल खोल्छु।”

फोन राख्दा उसको पुरै शरीरमा स्वाभिमानको ज्वाला दन्किरहेको थियो।

[शनिबार साहित्यका लागि तपाईँले पनि यस्तै कथा, लघुकथा लेख्‍नुभएको छ र माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने पठाउनुस् [email protected] मा]

20 Comments

  1. छोटो विवेचना

    वर्तमान परिवेशमा तपाँईको कथा आदर्शवादी लाग्न सक्छ किनभने मानिस आजभोलि परिस्थितिको बाढीमा बगेर जस्तो सुकै कार्य गर्न स्वेच्छा वा बाध्यताले राजी भइरहेका छन्, आफ्नो स्वाभिमानको रक्षा गर्न सकिरहेका छैनन्। तपाँईको कथाको पात्र सबु हुन ज्यादै कठिन छ, मानिसलाई, व्यवहारिक जिवनमा। त्यस कारण यो कथा आदर्शवादी जस्तो लाग्न सक्छ।

    तर यति हुँदा हुँदै पनि आफ्नो स्वाभिमानको रक्षा गर्ने व्यक्तिहरु पनि छन् नेपाली समाजमा। यो सन्देश दिन खोजेको छ यो कथाले, मेरो बिचारमा। यस बाहेक यो कथाले नेपालको वर्तमान परिस्थितिको पनि छोटो किसिमले बयान गरेको छ। नेपालीहरु देशको मौजुदा परिस्थिति, अर्थात बढदो असुरक्षा, गरिबी र बेरोजगारीले गर्दा आफ्नो परिवार, समाज र प्यारो जन्म भूमि छाडेर विदेशतिर भौंतारिन बाध्य भएका छन्। देशको स्थिति यस्तो विषम नभएको भए यस किसिमबाट नेपालीहरु विदेशी भूमिमा बाढी जस्तो बगेर पुग्न बाध्य हुन्थेनन् होला।

    यौन, प्रेम र बाध्यता यी तीन पक्षहरु केन्द्रमा छन् तपाँईको कथामा। अर्पण पात्रहरुको कमी छैन यो समाजमा। यस्ता पात्रहरु अरुको बाध्यताको फाइदा उठाउन हरपल मौका ताकेर बसिरहेका हुन्छन। तर सबु जस्ता पात्रहरु पनि छन जसले आफ्ना रंगिन सपनाहरुलाई तिलांजली दिन सक्छन् आफ्नो स्वाभिमानको रक्षा गर्न। मौजुदा परिस्थितिले मानिसलाई बिकृतितिर धकेली रहेको छ। यो कथाका प्रमुख आशयहरु यिनै हुन मेरो बुझाईमा।

    सबु पात्रको माध्यमले कठिन परिस्थितिमा पनि बिचलित हुनु हुँदैन र हरपल आफ्नो इज्जतको रक्षा गर्नु पर्दछ भन्ने सन्देश पनि दिन खोजे जस्तो लाग्छ, यो कथाले।

    भाषा, भाव र शैली लेख्दै जाँदा परिष्कृत भएर जान्छन्। आगामी कथामा भाषा, भाव र शैली तर्फ अझै बढी ध्यान दिनु होला भन्ने आश छ। प्रभावकारी आख्यानका लागि धन्यवाद। शुभ कामना।

    बी अधिकारी

    • बी. अधिकारीजी को कुरामा मा १००% सहमत छु |

  2. सबु को साहस ले आफु अपमानित हुन , बिदेसिएका चेलीहरुलाइ म्यान पावर देखि अरबी मालिकहरुको बिलासिताको निम्ति चोक्टा चोक्टामा अपमानित हुन जानु भन्दा स्वदेश मै सिस्नु खाएर बाँच्न सिकाउने कथा पस्कनु भएको मा दीप्स ज्यु लै साधुवाद ! कथाको अन्तिम सम्बाद अति मननीय छ . कलम तिखार्दै जानु होला ! बधाई !
    — प्रतिसरा सायमि

  3. कथा राम्रै लाग्यो,पढाई को अन्त्यमा आखा रसायो …………………..

  4. पहिलो पटक साहित्यमा रुची हरायो.कथा को सुरुवात ले खासै मान छुन सकेन र बीच बीचका पंक्ति हरु पड्दै भाव केलाउन थाले र पनि खासै दम पाउन सकिन | लेखको लागि धन्यवाद |

  5. Ashaye ramro भए pani नेपाली cheli को dasha ra parinam बारे कथामा झल्किएको देखिएन. किनकी आरब को देश चेली को लुट अब कोत्युनु पर्दैन . घाम जति कै छर्लंग भए सकिओ. येहान को बचत त्येहन को लुट गौण भए को देखियो ki

  6. यो कथा बहुसंख्यक गरिब र सामान्य नेपाली को यथार्थ पीडा दर्सौंछा. “स्वाभिमान” ले मन छोयो… तर नम्रता श्रेष्ठ, पूजा लामा, कोमल हरु जस्ता सेलिब्रेटी र धनी-मानी हरु र केहि लाचार अबला को अपवाद छोडेर…

  7. धन्यबाद कथाकार मित्र लाई..मैले यस कुराको अनुभूति पनि गर्न सक्छु सबु को ठाउँमा बसेर ..यसकारण कथा बास्तविक लाग्यो!!

  8. राम्रो लाग्यो अति सुन्दर अनि मन छुने थांक्स फोर writer

  9. पैसा र शक्तिको लागि स्वाभिमानलाई तिलान्जली दिएर आफ्नो आत्मालाई अन्धकारमा राखी मनको मनको छेणिक त्रिस्ना मेत्नको लागि कालो लै सेतो सेतो लै कालो मा परिणत गरेर समाजमा ठालु बन्नेहरुको घुइंचो लागेको हाम्रो समाजमा दिप्सा शाह बात परिस्कृत यो कथा सारै मार्मिक र उज्यालो छ जसको लागि हृदय बाटै सलाम!!!

  10. सबु ले अनेक दुख जेलो गरेर चोखो शरीर लिएर विदेश गएपनि त्यहा मुसल्टे मालिक ले लुछेर भुर्ता भुर्ता बनाउने नै हो क्यारे ! हामि सबै लाइ थाहा छ त्यो खाडी देश मा नेपालि चेली हरु लाइ पशु सरह लुछी रहेछन र हामि हरु ति भोका पशु हरु लाइ चेली बेटी सप्लाई गरेर नेपाल मा टाई सुट लगाएर पजेरो मा धाक लगाउदै हिडेका छौ !
    नेपालि भन्न लाज लाग्छ

  11. सबल शन्देश दिन सफल ‘ स्वाभिमान ‘ कथाकी लेखिका दीप्स शाहलाई बधाई
    छ यति शुन्दर कथा लेख्नु भएकोमा .
    निरन्तरताको शुभ कामना हिर्दयदेखि नै .

  12. प्रतिकृया दिनुहुने सबैमा हृदय रित्याएर धन्यवाद भन्न चाहन्छु। यहाँहरुको हौसला र सुझाब नै मेरा लेखनका टनिक हुन् कृपया यो सधैं मिलिरहोस्!! माइ संसार परिवारप्रती कृतज्ञ छु।

  13. कथा को सार अत्यन्त सुन्दर छ, अन्त्य मा भनेको वाक्य ले मन छुन्छ जो कोही को पनि।
    लेखक दीप्स शाह प्रती कृतज्ञता प्रकट गर्न चाहन्छु।

  14. वास्तबमा अर्पण जस्ता हरु मित्रताको नाममा कलंकहरु हुन् |जसले दिएको चोटमा सुबु को निर्णय एक दम स्वगत योग्य लाग्यो| कथाकारले हाम्रो सामाजिक घटना लाई बडो गम्भीरताका साथ प्रस्फुटन गर्न सफल हुनु भएकोमा हार्दिक आभार साथै आगामी दिन हरुमा अझ प्रगतिको कामना गर्दछु| किशोर तिवारी[अन्जन]मलेसिया

Comments are closed.