आउनुहोस्, अब हामी पनि आन्दोलन गरौँ !

-अधिकारी बन्धु,अमेरिका-

नेता: हामीले पहिलेनै भनिसकेको हो “हामीले राजनीति गरेको जोगी बन्नलाई होईन”। यसै पनि अर्बौँ, खर्बौँको बजेट बाँडने हामिले २-४ करोड हाम्रै लागि राख्यौँ भने किन आँखा फुकालेर हेर्ने ? जसले मह काड्छ त्यसले हात त चाट्छ नै । हामी पदमा पुगेपछि हाम्रा नातागोता, आसेपासे र कार्यकर्तालाई हामिले भनेको ठाउँमा नियुक्ती दिन पाउनु पर्छ । हामिले चिनेजानेका, र विस्वाश गर्न योग्य मान्छे नै तिनै हुन । हामीलाई यहाँ सम्म ल्याउने पनि तिनै हुन । हामिले मस्त डकार्दा ती बबुराले पनि घुटु घुटु थुक निल्न नपरोस । कसैले त्यसमा रिस गर्छ र कार्बाही गर्छु भन्छ भने हामि पनि आन्दोलन गर्छौँ ।


सांसद: धन्न ६०१ सिट भएकोले सभासद भएर खान पाइएको छ, न भूतो न भविष्यती । अहिले सम्म सिन्को भाँचेको होईन, त्यहि भएर भविष्यमा जितेर खाइएला भन्ने आश पनि छैन। हामीले अहिले सांसद भएको बेला अलिअलि जोहो नगरे कहीले गर्ने? सुत्केरी भत्ता, रातो पासपोर्ट यी सबै हाम्रै लागि त हो नी, जे गरौं न, अरुलाई किन टाउको दुखाइ? अरुले पाए अरुले नै कमाउने थिए, नपाएर मात्र हो हाम्रो खोइरो खन्न थालेका । हामीले अली अली जोडेकोमा कसैले रिस गर्छ र कारबाही हुनुपर्छ भन्छ भने हामि पनि आन्दोलन गर्छौँ ।

उद्योगपति: सोझो औँलाले घिउ त कहिले पो आएको छ र ! अहीले त ल हेर्नुस् त, न भन्सार छल्न पाइयो, न मजदुरलाई नै ठग्न पाइयो । सबै बाठा भए, हामि पनि चलाख त हुनै पर्‍यो । हामिले भ्याटमा हात फिराएको विशुद्द उद्योग टिकाउन र मजदुरको तलब बाँड्न हो । त्यसमा पनि धेरै पैसा त राजस्वका र नेताहरुले नै लगे । खाने बेलामा खाए, अहिले डकारि सकेपछी कारबाही गर्छु भन्ने ? जो ठुलो चोर उसैको ठुलो स्वर ! त्यसैपनी त्यो पैसा कसै न कसैले खाने नै हो, हामीले बाँडीचुँडी खायौँ त के बिरायौँ ? हामि जस्ता उद्योगपति, राष्ट्रका खम्बालाई जाबो अलिकति भ्याटमा तल माथी भयो भन्दैमा दु:ख दिने ? कसैले निहुँ खोज्छ भने त्यसको मुखमा पैसाको बिटै बिटाले हानिन्छ, त्यतिले पनि पुगेन भने हामि पनि आन्दोलन गर्छौँ ।

ब्यापारी: हामीले बेच्ने सामानको मूल्य कति राख्ने, हाम्रो कुरो हो । हामी कतिबेला मौका पर्छ, त्यतिबेला कमाउँछौ । हाम्रो उद्देश्यनै पैसा कमाउने हो, हामीले समाज सेवा गर्ने भनेका छौँ र ? त्यसैले म्याद सकिएको सामान बेचेर हुन्छ की, मिसावट गरेर हुन्छ, हामीले पैसा कमाउन पाउनु पर्छ । हामिले बदमासी गरेको थाहा पाए हाम्रो पसलमा नआए भैगयो नी, जबर्जस्तीको कुरो छ र ? पसलमा पनि आउने, सामान पनि चाहिने, अनी अलिअली पैसा कमाएको देख्न नसकेर कसैले कारबाही गर्नुपर्छ, मुल्य नियन्त्रण गर्नु पर्छ भन्छ भने हामि पनि आन्दोलन गर्छौँ ।

डाक्टर: हामिले ‘एमबिबिएस’ पढेको हो। त्यसको पुरा रुप तपाईंहरु लाई थाहा नै होला, नभए “मेरा बाबुको बिसलाख स्वाहा” हो । त्यत्रो खर्च गरेर पढेर आएका हामिले हाम्रो खर्च उठाउनु पर्छ की पर्दैन ? सबैभन्दा धर्म संकटमा छौं हामी: नाम सरकारी अस्पतालको चाहिने, दाम निजीबाट पाइने ।  त्यसैले अस्पतालमा कहिले काँही हड्ताल गर्नु, उपकरण बिगारेर राख्नु, निजी क्लिनिक तिर जान प्रोत्साहन दिनु र बिरामी लाई गाली गर्नु हाम्रो रहर होईन बाध्यता हो । त्यति नगरी बिरामी निजी तिर जाँदै  जाँदैनन। बिरामी निजी तिर गएनन भने हामिले पैसा कसरी कमाउने ? हाम्रो कमाइ भनेकै औषधी कम्पनीले दिने कमिसन, नीजी ल्याबमा रिफर गरे बापतको कमिसन र नीजी क्लिनिक बाट आउने पैसा त हो नी । सरकारी मा त सुख्खा, जिन्दगीभर काम गरे पनि पढेको पैसा उठदैन । विदेशतिर हेर्नुस् त डाक्टरको आम्दानी कति छ । यसो २-४ जना बिरामी तान्न सकिन्छकी भनेर सरकारी अस्पतालमा हड्ताल गर्न खोज्यो, “अत्यावश्यक सेवा सन्चालन ऐन” को धम्की आइहाल्छ । अब हामिले पनि हाम्रो पैसा कमाउने सबै उपाय गर्न पाउनु पर्छ, हैन भने हामि पनि आन्दोलन गर्छौँ ।

ईन्जिनियर: बल्ल बल्ल थर्ड डिभिजन पास भएकाहरु शाखा अधिकृत भइसके, कमाइ सके । उनीहरुको पावर छ, शान छ। अझै फेल हुनेहरु त नेता भएर मालामाल, कुरै नगरौँ । ५ कक्षा देखि स्कूल छोडेका हनुमन्तेहरु पनि डन भएर आलिशान महल, गाडी जोडी सके। अनी हामि फर्स्ट डिभिजन पास गर्नेहरु चाँही के जीवन भर सुदामा हुने ? हामीले मिलाउने भनेको त्यहि कमसल सामान पास गरेर, ओभर डिजाइन गरेर अलिकती कमिसन त हो नी, त्यसमा पनि हाकिम र एकाउन्टेन्टले आँखा लाएर र ठेकेदारले मुठ्ठी कसेर झर्नै गाह्रो । नबिग्रिने गरि निर्माण/मर्मत गरे त अर्कोपल्ट देखि कहाँबाट बजेट आउँछ  र हामीले बियर र सेकुवा खाने ? हामीले त्यति खाएकोमा अख्तियार र प्रहरीले दागा धर्छन भने हामी पनि आन्दोलन गर्छौँ ।

निजी  विद्यालय: हामीले स्कुल खोलेकै हुनेखानेहरुको लागि हो, पैसा नहुनेहरुको लागि त सरकारी विद्यालय छँदै छ नी । हामी पनि पैसावाल हैनौ, शिक्षकलाई तलब खुवाउनु छ, स्कुलको लागि जग्गा, भवन, गाडी चाहियो, तपाईंहरुले पैसा नतिरे आकाश बाट बर्सिन्छन ती सबै ? अनी यत्रो स्कुल खोलेका हामि पनि सुकुम्बासी हुनलाई त पक्कै होईन । त्यसैले धेरै शुल्क लिए भनेर किचकिच किन गर्नु, खुरुक्क आफ्ना छोराछोरी सरकारी तिर सारे भैगो नी । राष्ट्रिय पंक्षी मयुर, राष्ट्रिय फूल कमल भनेर केटाकेटीले के पढेका थिए, झन्डै बसि खान नदिएका ! अलि पछि त हामी पनि डाँफे र गुराँस पढाइ हाल्ने थियौँ नी। फेरी थाहा रैछ त सबैलाई, आँफै सिकाए हुदैँन, हामि सँगै किचकिच गर्नुपर्छ ? हामीले खोलेको स्कुलमा के पढाउने के नपढाउने, कति पैसा लिने, शिक्षकलाई कति पैसा दिने, यो सबै हामीले भने अनुसार हुनु पर्छ, होईन भने हामी पनि आन्दोलन गर्छौँ ।

सरकारी  शिक्षक: यसै पनि पढन नजान्ने मात्र हाम्रोमा आउँछन । भैंसीलाई गितार बजाएर सुनाए जस्तै, पढाए पनि उस्तै, नपढाए पनि उस्तै । भ्याएको बेला किताबमा लेखेको कुरा एकपल्ट भुकी दिएकै हो । घोटेरै पिलाउन त कसले पो सक्छ र ! हामिले पनि जागिर खाएको हो, ठेक्का लिएको हो र ? अझै नबुझे बिहान बेलुका ट्युशन पढन आउनु भनि दिएकै हो । आँफै  पनि पढदैनन, ट्युशन पनि पढन आउँदैनन भने फेल नभएर के हुन्छन त ? हामिले पढाएनौँ, पढाइको स्तर खस्कियो भनेर कसैले भन्छ भने हामि पनि आन्दोलन गर्छौँ ।

विद्यार्थी: स्कूल खोलेको कस्को लागि हो? शिक्षक को लागि हो की हाम्रो लागि हो ? हाम्रो लागि खोलिएको हो भने हामी त्यहाँको सर्बेसर्बा हुन पाउनु पर्छ । कुन शिक्षक राख्ने, कुन फाल्ने, त्यो अधिकार हामीलाई दिनु पर्छ। उपकुलपति देखि पिउन सम्म नियुक्त गर्दा हामीलाई नसोधे हामी मान्ने छैनौँ । हामीलाई फेल पार्ने शिक्षकका २-४ वटा बङगारा गन्यौँ त हामिले के बिगार्यौँ ? जस्ले जे सक्छ, त्यसले त्यहि गर्ने न हो । गार्हो प्रश्न सोधेर हामीलाई रयाक गरियो भने कुर्सी जलाउन र ताला ठोक्न हामीले पनि जानेको छ, याद राखियोस । कहिले काँहि केटा केटी मिलेर डिस्को, पार्क जाँदा पुलिसले दु:ख दिन्छ, त्यो तुरुन्त बन्द हुनुपर्छ । हाम्रो मन मिले पछि हामी जेसुकै गरौं न , अरुलाई किन टाउको दुखाइ ? पढाई मात्रै हाम्रो जिन्दगी हो र ? हामी माथि पुलिस लाएर, फेल पारेर, मनपरी शिक्षकहरु नियुक्त गरेर अत्याचार गरिँदैछ, त्यो तुरुन्त बन्द होस । नत्र हामि भोलि देखिनै टायर बाल्न र गाडीक शिसा फुटाउन थाल्ने छौं ।

33 Comments

  1. हाम्रो उमेश जी को लेख असधै मन पर्यो….तितो सत्य बोल्नु भयो…

  2. जे होश माई संसार को यो पोस्ट चाही मलाई दामी लग्यो यार.

  3. के नेता, के ब्यापारी, के शिक्षक् सबै उस्तै हुन् | अझ कर्मचारी प्रहरी आजकल त सेना पनि बिस्तार उही रबैयामा आइसके | यो देश रित्याउनु पर्छ, सिध्याउनु पर्छ, जसले खायो उसले जान्यो, लाटाको देशमा को तन्नेरी भनेजस्तो, ज जसले सक्यो जता पायो उतै हान्ने, मास्ने, नुन तेल मात्र होइन खरानी र अलकत्रा पनि खाने | अनि देश चाही पशुपति नाथको जिम्मामा छोडे भैहाल्यो | लौ कति कुरो गर्नु, कुरैको दुखः | रंगिन संसारमा घुमिरहेको बेला माइ संसारलाई कसले हेर्ने ?

  4. राम्रो छ तर प्रहरीको पनि प्रसङ्ग जोड्नु पर्थ्यो !

  5. टुंडिखेल वरिपरी चिच्याको मात्र सुन्ने, रेलिंग भाचेपछी मात्र देख्ने अनि टायर पालेपछि मात्र तातो लाग्ने, मन्त्रि कै गाडी फुटालेपछी मात्र झस्कने… लेखेर सभ्य भाषामा बिरोध गरेको र असहमति जनाएको बिचारको कुनै सुनुवाई नै छैन त ???!!!
    हामीले माइसंसार मार्फत वा अन्य मिडिया मार्फत उचित र सभ्य तरिकाले बिरोध गरिराखेको हुन्छौ तर यसरि त कसैलाई असर नै छैन !!
    हामी माइसंसारका पाठक/ब्लगर पनि जनता हौ / हाम्रो पनि कुराको महत्व हुनुपर्यो / हामीले चाही खोयाको लागि लेखेको हो र ?! आउनुस..हामी पनि आन्दोलन गरौँ !!!

  6. हजारौले लात हानेर भत्काएको घरको भग्नाबशेश्मा मैले पनि एक लात थपेको मात्रै न हो , बिगारेको त के नै पो छ र हो साथी हो , यसरि आहारिश नगर है | तिमीहरु पनि “बेइमानी गर्ने मौका नपाउँजेलका इमान्दार मात्रै हौ ” भन्लान है लेखक मित्र होसियार |

  7. कर्मचारी, समाजसेवी, पत्रकार: नेताहरु र हामीहरुमा के फरक छ? हामी एकै द्यांका मुला हौं / बाउ बाजेले गर्दै आएको कर्म काण्डहरु: श्राद्ध, पुजा, पाठ, जग्गे, प्रवचन, होम, टपरी सोर्ने दान लिने आदि इत्यादी गर्न छोडेर गल्ली गल्लीमा एउटा कोठामा ५-६ जना बसेर टुप्पी बाँधेर स्कुल कलेज पढी जागिर खाएर उच्चपदस्थ कर्मचारी हाकिम, पत्रकार, समाजसेवीहरु भए पछी पहिला पहिला त मासु भात खान मात्र भ्रष्टाचार गरिन्थ्यो / अहिले एक्काइसौँ शताब्दीमा हाम्रो पनि माग बढेर एक जनाको कमाइले स्वास्नीलाई गरगहनाले धप्पक पारेर राख्नु पर्यो, घर जग्गा, गाडी, बैंक ब्यालेन्स, छोराछोरीहरुलाई राम्रो प्राइभेट स्कुल कलेज, भने भनेको लुगा, ल्याप टप, पाकेट खर्च दिएर हुर्काउनु पर्यो / छोराछोरीहरुलाई दशौं लाख खर्च गरेर युरोप अमेरिका पढ्न बस्न पठाउन पर्यो / सुख्खा तलबले त दाल भात खानलाई मात्र पुग्छ / सरकारी अफिस,अड्डा अदालत, पुलिस, आर्मी, संस्थान, NGO हरुमा भ्रस्टाचार, घुसखोरी, बिभिन्न काण्ड मचाउने रोक्न जनताले आवाज उठाएमा हामी उच्चपदस्थ कर्मचारी हाकिम, नेता, पत्रकार, समाजसेवीहरु सबै मिलेर आन्दोलन गर्छौं / सम्पूर्ण पावर हामीसंगै छ /

  8. गर गर ! ज जसले जे जे गर्नुछ सबै अहिल्यै गर ! आखिरिको अन्त्यमा चाहिं पारस र हृदयन्द्रको पालो आएपछी तिमीहरु सबैको छाला काटिंदा अनि आँखा देख्लाउ !

  9. व्यंग्य राम्रो छ I
    आशा गरौ यो लेख ति नेता सभासद लगायत डाक्टर आदि सबैले पढ्ने सुबर्ण अवसर पाए भने कम्तिमा एक पटक बुझ पचाउन बाध्य हुनेछन ….I

  10. कसको के लाग्छ र? म पनि विदेश मै बसेर नेपाल बन्द गरौला”:

  11. लेखले कटु सत्य बोलेको छ ..जसले जे भने पनि मानिस को सोच तेस्तै हुन्छ ….

  12. गर गर तिमीहरुकै रैछन दिनहरु त जे गर्नु मन छ गरिहालानत्र पछि पछुताउन पर्ला मोज गर भाते हो मोन गर

  13. टिका जी ठिक भन्नुभयो बाहिर बसेर उकास्ने अनि मौका पाउनासाथ फर्केर नेपाल आउने अनि महत दाजुभाई जस्तै कुनै पार्टीको सदस्यता लिने र चास्नी चाट्न थाल्ने होइन भने अरुलाई उकास्ने होइन आफै आउने अनि आन्दोलन सुरु गरौं हामी पनि आउनेछौ

  14. सबै को आन्दोलन माग पुरा हुनु पर्छ यसमा सहमत छु सिवाय नेता हरु को बाहेक

  15. हा हा हा हा हा हो हो अहिले एई छ नेपालको हालत …………… कुरो त दुख लाग्दो नै हो .. तर मुटु माथि ढुंगा राखी हास्नु पर्याछ ………….

    • राजेश जी नेपालको पत्रकारहरुजस्तो छाडा र घुस्याहा को छ र ? …धारा मा पानी छैन बाटो बिग्रेको छ जताततै घुसखोरी र भ्रस्टाचार छ कुनै मतलब छैन खाली देश बिगार्ने असव्य र अनपढ नेताहरुको पछी लाग्यो चाप्लुसी गर्यो अनि समाचार बनायो ठुलो HEADLINE मा राजनीतिको…यदि नेपालका पत्रकारहरु अलि सुध्रने हो भने पनि देशलाई केहि राहत हुन्थ्यो …नेपाल मा AVENUES TV र केहि MEDIA HOUSE का केहि SELECTED बाहेक सबै पत्रकार हरु ठिक छैनन् …

  16. वास्तविकता यहि हो कसैले स्वीकार गरे पनि नगरे पनि |

  17. ”’अव म पनि आन्दोलन गर्छु |””
    अँ ! म ब्रह्मा (सृस्ठी कर्ता; हर्ता कर्ता नेपाल ) मेरो पहिलो एउटा मात्र टाउको थियो अहिले मेरा ३ टाउका ( हिमाल, पहाड, तराई ) एस को पछाडी मेरो आफ्नै कथा छ | इच्क्षा छ तपाइँ हरु लाइ मेरो कथा सुन्ने? ल ! मेरो कथा पनि सुन्नुस :- यो धर्ति को उत्पति गरेर म आनन्द ले दिव्य दश हजार बर्ष सुत्यें, त्यहाँ उप्रान्त उठेर हेर्दा चारै तिर हरियाली, आनन्द को मौसम, सोचें यसलाई उपभोग गर्ने कुनै जनावर चाहियो.. जनावर उत्पत्ति गर्यें मैले, अनि पुनः दिव्य दश हज्जार वर्ष आनन्द ले निदाएँ म | त्यहाँ उप्रान्त उठेर हेर्दा जनावर हरु ले पनि निर्धो लाइ बलियो ले सखाप गरेको देखें, सोचें… भएन… अनि उत्पत्ति गर्यें मैले मेरै सपुत.. नेपाली सपुत | सोचें अव मलाइ कुनै पिर चिन्ता छैन | त्यहाँ उप्रान्त म आनन्द ले सुत्ने प्रयेत्न गरें… सकिन.. मेरो टाउको बोझ भयो, अनि एक टाउको वाट थपेर ३ ओटा टाउको बनाएँ मैले; बोझ हल्का होला भनेर | तर भै दियो उल्टो, मेरो ३ टाउका को छेमता भन्दा पनि बढी भारि मेरा टाउका हरुमा पर्यो | मेरै टाउका हरुमा कुदे मेरा सपुत हरु; कोही कुर्ची को वाल्क मा, कोहि चाप्लुसी को वाल्क मा; कोही धन हुसार्ने वाल्क मा, कोही जनता लुट्ने वाल्क मा; कोही नाम कमाउ वाल्क मा, कोही आफ्नो बनाउ वाल्क मा; कोहि क्याट वाल्कमा कोही फ्याट घटाउ वाल्क मा, अनि वाल्कै वाल्क मा; होडबाजी को वाल्क मा मलाई नराम्रो संग छेत् विछेत बनाए यिनी हरु ले | त्यसै ले अव म एक दिन स्वोयम नै आन्दोलन मा निस्कने छु अनि देख्ने छौ मेरो आन्दोलन, अहिले सम्म मैले सहेको ब्रजपिंडा ले तिमि हरु लाइ कतिको डस्ने रहेछ | त्येसैले अव म पनि आन्दोलन गर्छु, गर्छु, गर्छु |||

  18. अधिकारी बन्धुजी, तपाईँहरू जस्ता मानिसहरू चाहि अमेरीका पलायन हुने, सञ्चारका साधनहरूको माध्यमवाट आन्दोलन वा यस्तै गर्नको लागी हामीहरूलाई उक्साउने, आन्दोलन होला अनि फेरी यस्तै अर्को कुनै विषयमा लेख्ने फेरी हामीलाई लडाइ मात्र रहने ? हाम्रो काम चाहि यस्तै आन्दोलन गर्ने, घाइते हुने, एकपछी क्रमश: अर्कोलाई सत्तामा पुर्‍याउने मात्र हो र ? अनि तपाईहरू जस्ता चाहि देश वाहिर बसेर रमिता हेर्ने, यस्तै लेखहरू लेख्ने अनि फेरि अर्को …….. ? बरू आउनोस् आफ्नो देशमा अनि तपाई हामीहरू एकठाउँ बसेर देशको लागि के गर्नुपर्छ गरौँला है । आफुहरू चाहि देश बाहिर बसेर हामिहरूलाई उक्साउने काम मात्र गर्नु भएन नी गाँठे, कि कसो हो बोलौ न साथी हो ????????

  19. we blame our leaders 4 deteriorating the country but what’s worth of it????? The next generation will blame us 4 it all………

  20. यी लेख पढेर मत इसतब्द भए, इनीहरुको लगानी के कमौनुको लागिमात्र हो त , देश को लागि के त , एस देशमा जन्मेर देश प्रति माया नगर्ने हरुलाईके भन्ने ? मेरो बुवा याद आयो उहा भन्नु हुन्थियो:नाम कमाउन तिर लाग पैसा होइन नाम कमाइस भने समान पाउछ्स , जसबाट आइसोर्य पनि पौछ्स,
    त्स्करण होला हाम्रो देश मा नेता डाक्टर आदिका नाम ससम्मान पुर्बक लिन्नको लागि कोहि नभएको , महात्मागंदी , गणेशमान जस्ता बेक्ती हरु नेपालमा कहिले देख्न पाइने हो ………………………………………………………………………………….?

  21. सबैले खोजेको नै यहि हालात हो आहिले पाइरहेका छन् कसरि कुद्छांन संबिधान को लागि?
    स्थायित्व को लागि ? अनि देश बिकाश को लागि ……….

  22. जनता : म चाही जनता , कसैले बिगारे मलाई नै दोष , पुलिस, नेता , उद्योगपति , डाक्टर , इन्जिनिएर सबैले दुख दिने पनि मलाई नै / जति चोटी आन्दोलनमा गएपनि पछि हुने भनेको यिनिहरुनै , तेसैले जे गरोस अब म चाही आन्दोलन गर्दिन / गर तिमीहरुनै आन्दोलन /

  23. ठुलो नानी स्यानो नानी घैंटो मा कसले भर्ने पानी भनेर्झैँ ??? यति आग्लो समुन्द्रनै नछुने देश हाम्रो चुर्लुम्मैं समुन्द्रमा डुबेझैं भयो यी खा !!!

  24. अनि “तै रानी मै रानी, कसले भर्ला कुवाको पानी” भनेझै देश चाहिँ चुर्लुम्मै!

  25. अतिनै राम्रो समयसाफेक्छ्य् लेख. नेपालको वास्तविकता……

Comments are closed.