पुस्तकालयको रातो भित्तो

देव पाठक,अस्ट्रेलिया

“गुरु हजुरलाई प्रिन्सिपल सरले बोलाउनुभा’छ छिटो जाने रे” ढोकामा आएर पियनले यति कुरा भनिसकेपछी म टक्क अडिएँ। आवाज आएको दिशातिर हेरेँ अनि कक्षालाई एकछिन धैर्यधारण गर है भन्ने ईशारा गरेर बाहिर निस्केँ,कोठामा बिस्तारै गाँइगुइ बढ्यो। म प्राचार्यको कोठातिर हानिएँ। के भएछ र पढाउँदा पढाउँदै बोलाउन पर्ने भन्ने कुराले मनमा ढ्याङ्ग्रो ठटाइरहेको थियो।

प्राचार्यको कोठामा देख्छु त सबै शिक्षकहरु लगभग प्राय: उपस्थित रहेछन् पछि त आफैलाई लाज लागेर आयो बिनासित्ती पढाउने चक्करमा पियनलाई बोल्न नदिएर अड्काएर राखेछु मूर्ति झैँ, ऊ पनि मूर्तिवत् त्यहाँ खडा भएर आज्ञाको तामिल गरेझैँ प्रतित भएको थियो। मैले सबैतिर प्रश्नवाचक नजर फालिरहेको थिएँ।

“अब त राम्रा र जेहेन्दार भन्ने बिद्यार्थीले पनि गति छाड्न थाले,यो त अति भो गुरु”-बस्न नपाउदै प्राचार्यले एउटा झटारो मतिर फालिहाले।

मैले मनमनै लख काढेँ सायद यहाँ जम्मा हुनुको तात्पर्य असल विद्यार्थीले गति छाडेको बिषयमा रहेछ, तर को ? एकैचोटी असल र राम्रा विद्यार्थीको प्रतिबिम्बले दिमागमा परिक्रमा गर्न थाल्यो मनमनै सोचे-“कसले गति छाडेछ ?”

“थाहा पाउनुभो गुरु आज पुस्तकालयमा के भयो ?”-प्राचार्यले मतिर फेरि अर्को प्रश्न तेर्स्याए।

अब म अदनालाई के थाहा ? मेरो दिमागमा यी सबै कुराहरु त सुन्य थिए। मलाइ कसरी थाहा होस् ? आउदा-आउदै त धर्म निभाउन हुर्रीसकेको थिए। मैले नकरात्मक उत्तर दिए।

“खोई कसरी भनु अब गुरुलाई,एकपल्ट आफै पुस्तकालयमा गएर हेर्नुभयो भने आफै बुझ्नुहुन्छ,म भन्न सक्ने अवस्थामा पनि छैन,मलाई आज निकै नै दिक्क लागिरहेको छ। एउटा राम्रो विद्यार्थीले यस्तो व्यवहार गर्ला भनेर मैले सपनामा पनि सोचेको थिएन।” प्राचार्य भुन्भुनिदै थिए म भने जुरुक्क उठेर पुस्तकालयतिर हानिएँ।

“गुरु दायाँपट्टीको भित्तामा छ।” म बाहिर निस्कनासाथ पियनले मलाई सूचना दियो।

उसको कुराले यस्तो लाग्थ्यो उ बाहिर बसेर हाम्रो कुरा सुनिरहेको थियो।

“‘अक्षर बा’भन्नुहुन्छ यो काम सुबोधको हो रे। ” उसले फेरि मलाइ अर्धसूचना प्रेषित गर्‍यो।

‘सुबोध’

मेरो मनमा २४० भोल्टको करेन्ट दौडिएझै भयो उ त मेरो सबैभन्दा मन पर्ने र राम्रो विद्यार्थी , हे भगवान ! यस्तो नराम्रो उसले केही नगरेको होस्।

“सुबोधले के गर्‍यो हँ ?”-मैले उसलाई प्रश्न गरे।

“गुरु आफै गएर हेर्नुस् न,अब प्रिन्सिपल सरले भन्न नसकेको कुरा अब मैले कसरी भन्न सक्छु ?”

अब भने मेरो कौतुहलताले सीमा नाघिसकेको थियो म छिटो-छिटो पाइला चाल्न थाले,पियन मेरो पछि-पछि पाइला चाल्दै थियो कुनै छाँया झै। म हतारहतार पुस्तकालयभित्र छिरिहाले र पूर्व सूचना अनुसार सुबोधको सुन्दर अक्षर दाँया भित्तामा खोज्न थाले।

“मा…….. लेख्ने,बोल्नेलाई कारबाही गर।”

म झल्याँस्स भए,ओठ थर्रर काँपे,पैरमुनिको जमिन भाँसिदै गए झै लाग्यो,रिङटा लागे झै भयो। भित्तामा आड लागेर आश्रय लिए। सेतो भित्तामा रातो र सुन्दर अक्षरले आमा र छोराको घिनलाग्दो,कहालिलाग्दो सम्बन्ध चिच्याइ-चिच्याइ उदांगो पल्टिरहेको थियो। म भित्तामा हेरेको हेर्‍यै भएँ। यति घिनलाग्दो सम्बन्धलाई उसले कसरी भित्तामा कुनै सुन्दर तस्विर झै ल्याएर टाँग्न सक्छ ? मलाइ लाग्थ्यो उसको जिह्वामा त सरस्वतीको बास हुने गर्दथ्यो तर आज अचानक यो के भयो हँ ? आज एकाएक उसको कलमको टुप्पोमा कसरी दानवको आत्माले प्रवेश गर्‍यो ? मेरो मनमा हुन्डरी चल्न थाल्यो।

“यो अक्षर सुबोधको नहुन पनि त सक्छ” एउटा मनले तर्कना गर्यो।

“तर हैन जब अक्षर बाले नै यो अक्षर सुबोधको हो भनेका छन् त कसरी नहुन सक्छ ?” फेरि अक्षर बा पनि त त्यसै अक्षर बा भएका होइनन् नी ? उनीसँग सबै विद्यार्थीको अक्षर चिन्न सक्ने अनौठो खुँबी छ। बिगत डेँढ दशकदेखी उनले यो बिषयमा महारथ नै प्राप्त गरेका छन् सबैका अक्षर चिन्ने भएरै उनलाई जिस्काएर अक्षर बा भनि जिस्काउदा-जिस्काउदै नामै अक्षर बा रहन गएको थियो।

मेरो पाइला आफैलाई बोझ लागिरहेको थियो , गर्हुगो पाइला बिस्तारै प्राचार्यको कोठातिर घिसारियो – चेतना सुन्य भएर।

सुबोध बिद्यालयकै सबैभन्दा जेहेन्दार र उत्कृष्ट बिद्यार्थीमा गनिन्थ्यो। उसको नेपाली बिषयको ज्ञान त झन लोभलाग्दो र हाम्रो नै सातो खाने खालको थियो। हामीलाई नै लडाउलाझै पो हुन्थ्यो,अक्षर बा र म दुबै नेपाली पढाउथ्यौ तर उ त हामीलाई नै बल्ड्याङ ख्वाउला झै गरि प्रश्न गर्थ्यो। हामीले सोचेको भन्दा बढी सोचको दायरा बढाउन सक्ने खुबी छ उसमा। गत साल पुरा उच्च शिक्षा परिषदमा नेपाली बिषयमा उसले प्राप्त गरेको अंकको काँध-काँधसम्म अंक ल्याउने विद्यार्थी पनि छैनन् भनेर बिभिन्न पत्र-पत्रिकामा छापिएको थियो। उच्च शिक्षा परिषदले र कलेजले पनि उसलाइ बिशेष सम्मान गरेको थियो। अक्षर बाले र मैले पनि उसलाई ब्याक्तिगत तरिकाले पुरस्कृत गरेका थियौ। त्यतिबेला को क्षण मेरो खुशीको सीमा थिएन,फुलेर छाती सगरमाथा सानो लागिरहेको थियो।

“ओहो यस्तो विद्यार्थीले यस्तो निच कार्य कसरी गर्न सक्छ ?” भारी मनस्थिती र भारी पैर प्राचार्यको कोठाभित्र छिरिसकेछ , प्राचार्य बोलेपछि पो झँल्यास्स भए।

“देख्नु भो गुरु,यो कलेजको कत्रो इज्जत छ देशमा,देशकै उत्कृष्ट कलेज हो यो। अब यही छानोमुनी यस्ता दुस्कर्म हुन थालेको म देख्न सक्दिन,सुबोधले मर्यादा उल्लङ्घन गरेको छ,उसलाई सँजाय हुनैपर्छ। अरु कुनै विद्यार्थीले यही अपराध गरेको भए मैले आँखा चिम्लेर निलम्बनको उर्दी जारी गर्ने थिए तर उ सुबोध हो। पूरा देश र मिडियाको आँखामा छ उ। त्यसैले उसलाई स्पष्टिकरणको मौका दिनुपर्दछ र त्यहि अनुरुप सजाय पनि तोकिनु पर्दछ भन्ने लाग्छ,के भन्नुहुन्छ गुरु ?”

मैले मौन स्विकारोक्ती दिए।

कानुन सबैलाई बराबरी हुदैन भन्ने कुराको प्रमाण थियो यो। सुबोध राम्रो विद्यार्थी भएकोले उसलाई स्पष्टिकरणको मौका दिइदै थियो।

“रमेश सर सुबोधको अभिभाभकलाई बोलाउनु होला यथासक्य छिटो,अनि कलेज आजलाई बिदा भएको कुरा सुनाइदिनुस् तर सुबोधलाई भने रोक्नुहोला।” प्राचार्यले आदेश जारी गरे। पुस्तकालय त पहिलेनै बन्द भैसकेको थियो अब कलेज पनि बन्द हुनेभयो।

एकाध घन्टापछी उसको बुवा र उ एकैपल्ट प्राचार्यको कार्यालय भित्र देखा परे हामी सबै उनिहरुकै प्रतिक्षामा थियौ। उसको बुवाको अनुहार निन्याउरो थियो भिजेको गम्छाझै,अपराध बोध गरेझै आँखापनी तल झुकेका थिए। मलाइ टिठ लागेर आयो। उनी एउटा कुर्सिमा फालिए मानौ रिंगटा लाएर भाउन्न भएको छ। मैले सम्झिए आफ्नो छोरोको सम्मान गर्ने बेलाको उनको अनुहार आजभन्दा ठ्याक्कै बिपरित,हँसिलो अनी बिजयी नजर सबैलाई सापट दिइरहेका थिए तर आज ,,,,,उसको बुवाको लाचार अनुहार देखेर मलाइ पनि त्यहि छाँयाले छोप्लाझै भयो। मेरो आँखाले बिश्वास गर्न सकेन। सुबोध त शिर ठाँडो पारेर पूरा दम्भ र स्वभिमानका साथ उही आफ्नो पुरानै शैलिमा मुस्कुराइरहेको छ। उसलाई देखेर यस्तो लाग्दै थियो की उसमा कुनै डर छैन,पश्चाताप छैन,बर्तमानमा मख्ख छ अनी भविश्यको कल्पनामा मुस्कुराइरहेको छ। ओहो उ त भर्खर लँडाइ जितेर आएको सिपाही झै प्रफुल्ल छ र मानौ कुनै अर्को लडाईंको ब्यग्र भएर प्रतिक्षा गरेको छ।

“सुबोध,के तिमीले पुस्तकालयमा…………………?

“हो सर,त्यो काम मैले नै गरेको हुँ।”-प्राचार्यको कुरा बिचैमा काट्दै सुबोध बोलिहाल्यो। कोठामा ज्वालामुखी पड्किएझै भयो।

सबैले उसको दम्भपुर्ण बोलीलाई सुन्नासाथ यसरी उतिर हेरे मानौँ आठौँ आश्चर्य ठिङग अगाडि उभिएको छ।

“थाहा छ,यसको सजाय के हुन सक्छ ?”-प्राचार्य धम्किपूर्ण लवजमा बोले।

“थाहा छ सर,निलम्बन। तर मलाई यो स्वीकार्य छ।”-उ शान्त भएर उत्तर दियो।

कोठामा फेरि अर्को ज्वालामुखी पड्किएझै भयो। प्राचार्यले थकित टाउकोलाई पछाडि मेचमा थचारे।

उसको पितातिर बिस्तारै नजर लगाए,एउट चोर नजर,शिर नत् थियो,उनको मनोदशा कुँजिएको थियो कुनै हारेको राजाले झै शिर लत्र्याएर बसेका थिए। घोप्टिएका लाचार अनि बिबश नजरले गलैचामा हराएको आत्मबिश्वास खोजी गरेझै लागिरहेको थियो। तर सुबोध भने ठ्याक्कै बिपरित अवस्थामा थियो उही पुरानै अन्दाजमा,बिजयी मुद्रामा। भरपुर आत्मबिश्वास , दम्भमा ठडिएको शिर।

“सुबोध यो तिमीले के गरेको हँ ?”मेरो मुखबाट नचाहदा-नचाहदै पनि अनायासै फुस्कियो।

उसले मतिर हेर्यो,मुसुक्क मुस्कुरायो अनी शान्त भएर बोल्यो-“माफ गर्नुस् गुरुहरु मैले तपाइहरुको चित्त दुखाएको छु अनी मेरो पुज्यनिय बुवाले पनि मलाई माफ गरिदिनुहुनेछ भन्ने आश राखेको छु। तर मैले यो गल्ती तपाँइहरुले सोचेझै मेरो बिग्रेको मगजले भने कदापी गरेको होईन। हो मैले लेखे,अनी लेख्नलाई पनि पुस्तकालयनै रोजे किनकी यो नै आवश्यकता थियो,मैले धेरै सोचेँ अनि पुस्तकालयलाई नै रोजे किनकी मलाई लाग्यो पुस्तकालयको कुनै बिकल्प छैन,पुस्तकालयबाट गुन्जिएर निक्लेको आवाज प्रतिध्वनित भई त्यहिको भित्तामा गएर ठोक्कियो। मैले जे गरे त्यो केबल आवश्यकताको उपज मात्र थियो।”

“तिमी अझै आवश्यकताको स्वाङग रचिरहेका छौ,आएर माफी मागौला भनेको त झन आवश्यकताको नारा फुकिरहेका छौ। कही अश्लिलता पनी आवश्यकता हुन्छ ? मुर्ख जस्तो कुरा नगर। तिम्रो यही व्यबहार रह्यो भने तिमीलाई हामी निलम्बन गर्न वाध्य हुनेछौ।”-प्राचार्य कड्किए। उसले सम्मानमा हात जोड्यो तर अनुहारमा भने किन्चित डर र त्रास थिएन न त कुनै पश्चातापको रेखा।

उसले हात जोडेरै बोल्यो कुनै भक्तले झै-“गर्नुस् सर,मलाई निलम्बित नै गर्नुस् तर त्यो भन्दा पहिले मेरा कुरा पनि सुन्नुहुनेछ भन्ने आश् राखेको छु। यदि मैले त्यही शब्द लेखेकै कारणले मलाई निलम्बित गरिन्छ भने गर्नुस् सर गर्नुस्,मेरो चाहना पनि त्यहि नै हो।

हैन के भएछ आज सुबोधलाई धँतुरो खाएछ क्या हो ? मेरो मनमा कुरा चल्दै थियो तर सुबोधको बोलीलाई कानले अन्याय गर्न भने सकेको थिएन-“मलाई निलम्बन गर्नु भन्दा पहिले यो पनि जान्न जरुरी छ की मलाई यो सबै कुरा लेख्न कसले सिकायो ? कुन त्यस्तो तत्वले मलाई उत्प्रेरणा दियो भन्ने कुरा मैले भन्नैपर्छ अनी हजुरहरुले सुन्नै पर्छ। हैन भने भोली फेरि अर्को सुबोध जन्मिनेछ र निलम्बनको अर्को टिका लगाएर हिड्नेछ। मैले जहाँबाट सबै कुरा सिके मैले त्यहि लगेर पोतिदिए। हो मैले पुस्तकालयबाटै सबै कुरा सिकेको हुँ अनी त्यहीँको सुन्दर भित्तामा गएर फोहोरी होली खेले।”

मैले सुबोधको कुराको तारतम्य केही बुझेको थिएन त्यतिनै बेला जङिगने पालो अक्षर बा को आइसकेको थियो-“वाहियात कुरा नगर सुबोध्,कही पुस्तकालयले पनि यस्तो नचाहिदो कुरा सिकाउछ ?”

“हो अक्षर बा मलाई पुस्तकालयले नै सबै कुरा सिकायो। निलम्बित हुने कुरामा मलाई कुनै गुनासो छैन न त कुनै पश्चाताप। तर एउटै आग्रह छ यदि मलाई निलम्बित गरिन्छ भने म सँगसंगै पुस्तकालयमा भएका ती कैयन् पुस्तकहरुलाई पनि निलम्बित गरियोस् जहाँ अश्लिल शब्दहरु निर्लज्ज भएर हाँसीरहेका छन्।” उ प्राचार्यलाई सम्बोधन गर्दा सर भनिरहेको थियो तर अक्षर बा र मलाई भने गुरु भन्दै सम्बोधन गरिरहेको थियो हामी

सबै चुप भएर कुरा सुन्दै थियौ उ फेरि क्रान्तिकारीझै बोल्न थाल्यो-“गुरुहरु आज साहित्यमा लेखिने उपन्यास,कथाहरुमा आधुनिकता र वास्तविकताको चित्रण भन्दै फोहोरी र अश्लिल शब्द साहित्यमा अपाच्य हुने गरि भित्रिरहेको छ। मैले लेखेको शब्द त त्यसैबाट झिकिएको केबल एउटा सामान्य नमुना मात्र हो तर यहाँ साहित्यमा आजभोलि समाजमा प्रतिष्ठित र नाम चलेका सहित्यकारहरुले शालिन र सुन्दर साहित्यलाई अश्लिलताको प्रत्यन्चा चढाएर कूशब्दको बाणले सालिनताको भेदन गरिरहेका छन्। ती पुस्तकहरु पुस्तकालयमा सजिन पाउने तर मेरा शब्द सजिन किन नपाउने गुरु , मेरा शब्दमा पनि त वास्तबिकता प्रतिध्वनित भइरहेको छ नि होइन र गुरु ?”

उत्तरमा हामी सबै मौन थियौ। मेरो त ओठ,मुख सुके झै पो भयो। एक गिलास पनि स्वाट्ट पिए। उ भने अझै बोल्दै थियो अहिले उसको आँखा प्रचार्यतिर थियो-“सर यदि मेरो शब्द पुस्तकालयमा अटाउन सक्दैनन् भने ती पुस्तक पनि नअटोस् जहाँ अश्लिलता मिसिएको छ,किनकी मलाई सबै सिकाउने त्यहि पुस्तक हो। मैले त्यो शब्द लेख्नुको अभिप्राय: यति मात्र हो सर अरु केही पनि छैन। अब मलाई जे सजाय तोकेपनी म भोग्न तयार छु।” सबै मौन थियौ। उसको बुवाको मुहारमा केही चमक आएझै लाग्यो , आँखाले भित्रभित्रै स्याबास छोरा भनेझै लाग्यो तर म भने लत्र्याक्लुत्रुक भइसकेको थिए। म त्यो कोठा छाडेर बाहिर निस्के। पृथ्वीभरी भुँइचालो आएझै लाग्यो। लड्छु की झै भइरहेको थियो,आफुलाई बल्ल बल्ल सम्हाले। म पुरै चेतनाशुन्य भए। मनमा अर्कै हुन्डरी चल्न थाल्यो म हतारहतार कलेजको प्राङगण बाहिर निस्के। मलाई अब बैठकले सुबोधको बिषयमा के निर्णय गर्छ भन्ने कुराको कुनै ख्यालै भएन म अचानक निस्के चुपचाप,कसैलाई थाहै नदिइ। म सिधै कोटेश्वर आफ्नो निवासतिर हानिए।

हिंडेको दस मिनटपछी पो बल्ल होश आयो-‘म त हिड्दै पो आएछु त बाइक त थियो त,कस्तो हुस्सु भएछु’। म घरतिर फटाफट पाइला चाल्दै थिए। दुई सडक बालक सडकमा एउटा-एउटा कालो प्लास्टिक काँधमा भिरिरहेका थिए एउटाले दुधको पोको फुलाउदै-तान्दै गरिरहेको थियो। यत्तिकैमा अर्को बालक बोलिहाल्यो -“ए मा…… मलाई पनि दे न।” ओहो यहाँपनी घिनलाग्दो सम्बन्ध सडकमा खुट्टा फालेर पछारियो। म झन् आत्तिए,अब हिँडाइको गति दोब्बर भइरहेको थियो।

“बुढी ए बुढी”-मा घरबाहिरैबाट चिच्याउदै आफ्नो कोठातिर हानिए।

“हैन के भयो ? किन आत्तिएको ?”एउटा मधुरो आवाज आएर कानमा ठोक्कियो।

“सलाई लिएर बाहिर आउ त।” म फेरि चिच्याए।

म घरबाहिर निस्के श्रीमती म भन्दा पहिले नै बाहिर आइसकेकी रैछ। मैले देखे उ सलाईसंगै आँखामा प्रश्नचिन्ह पनि लिएर बसेकी थिई। मैले उसको प्रश्नचिन्हलाई बेवास्ता गर्दै सलाइ हातमा लिएर हतारहतार आँगो सल्काए। पुस्तकालयको सेतो भित्ता रातो भएको सम्झिए। आफ्नो हाततिर हेरे , मैले लेख्दै गरेको उपन्यासको पान्डुलिपी मलाइ ङिच्च दाँत देखाएर जिस्काएझै लाग्यो। म मुसुक्क हाँसे। यो मेरो आजको दिनको पहिलो मुस्कान थियो भन्दा फरक नपर्ला। मेरो अगाडि आगो बलिरहेको थियो भने हातमा थियो उपन्याँसको पान्डुलिपी। मलाई लाग्यो मेरो अगाडि बलिरहेको आगो कुनै हवनकुण्ड हो अनि मेरो हातको पान्डुलिपी अन्तिम चरु र समिधा।
[शनिबार साहित्यका लागि तपाईँले पनि यस्तै कथा, लघुकथा लेख्‍नुभएको छ र माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने पठाउनुस् [email protected] मा]

17 Comments

  1. आज नेपाल मा एउटा खेल भयको छ राजनीतिको खेल र गाइजात्रा को जैस्तई लाग्छ यी नेता लै केहि पनि लाज लाग्दैन होला

  2. बिचारमा विविधता

    साहित्यमा कुन शब्द सलिल हो र कुन अस्लिल यस बारे निकै विवाद छ। कथाका पात्रहरुले अस्लिल शब्दको प्रयोग गरेका छन भने कथाकारले बाध्यताबस त्यस्ता शब्दहरु लेख्नु पर्ने हुन्छ। तर लेखकले आफ्नो मनमा आए अनुसारको भने लेख्नु हुँदैन। कथा र पात्रले कस्तो शब्द प्रयोग गर्न निर्देशित गरिरहेको छ त्यस्तै गर्नु पर्दछ।

    अस्लिल शब्दहरुको प्रयोग नगरेर पनि प्रतीकात्मक रुपमा सलिल शब्दहरुद्वारा अस्लिल शब्दको आशय कथामा व्यक्त गर्न सकिन्छ र कथाकारको विशेषता पनि त्येहीं नै झल्लिन्छ।

    एक थरिले बन्द कोठामा पढिने साहित्यलाई प्रष्ट रुपमा अस्लिल भन्ने गर्छन।

    साहित्यलाई समृद्ध पार्न अनेक किसिमका बिचारहरु आउनु पर्छ, लेखिनु पर्छ। यस परिप्रेक्ष्यमा , मैले हेर्दा, तपाँईको कथाले साहित्यमा सलिलतालाई पनि गंभिरतापूर्वक लिइनु पर्दछ भन्ने सन्देश दिए झै लाग्छ।

    कथा रा्म्रो छ। वर्तमान परिप्रेक्ष्यलाई यसले प्रष्ट्याउँछ। कथाका लागि धन्यवाद। शुभ कामना।

    बी अधिकारी

  3. “मु…… लेख्ने, बोल्नेलाई कारबाही गर ।” यसो भन्दा यो शब्दको प्रयोग गरेर वावाही कमाएका लेखकले आफ्नो कृतिमा आगो लगाउने साहस गर्लान् ?

  4. सुरुमा यो सब्दलाई येसरी दुरुपयोग गर्ने कुन्चाही विद्वान होला भनेरे गम्नु बाहेक केहि भन्ने
    ईच्छा नै जागेन /

  5. कलम बोक्ने मान्छे भनेको हातमा उज्यालो बोकेर हिड्ने मान्छे हो जसले समाजलाई उज्यालो मार्ग देखाउछ .
    यदि सफल किताब हो भने एउटा किताब लाखौ लाखले पढिरहेको हुन्छ . त्यस्तो
    किताबले लाखौ लाखलाई शन्देश दिइरहेको हुन्छ .
    यदि साहित्यमा नै अश्लिल शब्दहरुलाई ठाउँ दिईन्छ भने त्यसको असर समाजमा
    कुन रुपले पर्छ त्यो नजर अन्दाज गर्नु परोईन .
    देब जी को कथाको शसक्त उद्देश्य नै त्यो सम्बेदनशील यथार्थलाई देखाउनु हो .
    हाम्रो समाजले चुपचाप सहिरहेको त्यो तिक्ततालाई देब जी का कथाका पात्र
    सुबोधले सहन सकेनन् — उनको बिरोध मार्फत गुरु पात्रको आँखा खुल्न पुग्यो —
    गुरुले आफूले लेखिरहेको उपन्यासको कुनै पाना ( समाज चित्रण गर्ने
    क्रममा अश्लिल सब्द राखिएको भनेर सहजै बुझ्न सकिन्छ उक्त पानामा ) जलाउनुले
    यो कथाको संदेश सशक्त रुपमा सफल भएको छ .
    देब जी लाई धेरै धेरै बधाई आफ्नो मनको विरोधलाई कथा मार्फत शसक्त रुपमा
    राख्न सफल हुनु भएकोमा .
    निरन्तरताको शुभ कामना हिर्दय देखि नै .

  6. देवजी ! तपाईलाई कुन किताबले र घटनाले यो कथा लेख्न प्रेरित गर्यो मैले बुझे !
    बुद्धिसागरजीको “कर्णाली ब्लुज” को बारेमा धेरै यो सम्बन्धि कुरा उठेको थियो / तर म तपाइको पक्षमा छु /
    युधिर थापा देखि बुद्धिसागरसम्म आइपुग्दा नेपाली साहित्य आकाशमा अस्लिल शब्दहरूले स्लिलको खोल ओढेर प्रवेश पाउदै आयो /
    तपाइको यो कथाले पक्कै पनि अलिकति ब्रेक लगाउने प्रयास गर्नेछ /

  7. अहम अहम!! साथीहरुलाई कस्तो लाग्यो कुन्नि मलाईचै खासै रमाइलो लागेन.लेखकले उठाउन खोजेको कुरो बुझियो तर कथा पढ्दा खेरि कथा झैँ लाग्ने खालको थियो.कथा त एस्तो होस् जुन पढिसकेपछि मात्र थाहा होस कि यो वास्तविकता नभई कुनै कथा हो.कथाको संदेश येसरी जावोस कि हामीले थाहा नपाई हाम्रो मस्तिकमा घुसोस.लेखक बाट अन्य लेख हरुको आशा गर्दछौ. धन्यबाद

  8. कथा सान्दर्भिक र राम्रो लाग्यो।

    विशेष गरी उपन्यास र कथामा पात्रले बोलेको बोलीलाई हुबहु राख्ने नाममा अश्लील शब्दहरू राख्ने चलन हिजोआज बढेको पाइन्छ। ‘वयस्कहरूको लागि मात्र’ भनेर बाहिर खोलमै लेखिएको साहित्यमा बाहेक अरूमा यी शब्दहरू प्रयोग गर्नु उपयुक्त होइन।

  9. सारो हासो लागो सुबोध को तर्क सुनेर. मा……..ने भन्ने शब्द उसले लाइब्रेरी बाट सिकेको रे.
    मैले त त्यो सब्द स्कुल पढ्न जानु भन्दा पहिले सिकेको. र मलाई लाग्छा ८५% भन्दा बढी नेपाली हरु ले त्यो सब्द ५ वर्ष को उमेर मा नै धेरै पटक सुनिसकेका हुन्छन.

    नेपाल मा यो जति चलेको गाली अरु कुनै छ र? साथी हो अब बन्ने संबिधान मा यो गाली लाइ राष्ट्रिय गाली भनेर समाबेस गर्नु पर्छा.

  10. पहिले नै पढेको भए पनि फेरी एक पटक पढे , मन छोई नै रह्यो | शुभकामना कथाकार को कलम लाइ |

  11. धेरै राम्रो प्रयास, समसामयिक बिषय माथिको अनुपम प्रस्तुति, Keep it up and all the best.

  12. देव जी ले, साहित्य जगतमा चल्दै आएको आश्लिल शब्दहरुको बारेमा यति मिठो लेख लेख्नु भयो कि कुनै कथा नभएर यथार्थ जस्तै लाग्यो, र पनि मोनोज जी ले भने झैँ साहित्य लेखनमा यसलाई सामान्य मान्नु पर्दछ नकि कुनै लेखरचनाहरु नुन बिनको तरकारी जस्तै खल्लो हुनसक्छ

  13. अलिक हावादारी भयो, धेरै काल्पनिकता मा कथा दौडियो, उठान सहि छ तर प्रसंगगत उपसंहार सहि भएन, साहित्य मा अश्लिलता जहाँ नि जोडिएको छ, धर्मग्रन्थ देखि कलियुग का देवकोटा सम्म, अहिले को पुस्ता को त के कुरा भो र ..

  14. साह्रै मिठो प्रस्तुति कथाकारज्यु . जुन बिसय मा म धेरै दिन ढेखी माई संसारको भित्तो मा कमेन्टहरुको आशा गरेको थिय तेस बिसय बस्तु मा तपैले कलम चलाउनु भयको मा मुरी मुरी धन्यबाद /

    बास्तविक समाज को यथार्थ देखौना केहि अस्लिल सब्द राख्ने पर्ने हुन्छ . हैन भने त्यो समाज लाई खोल ओढायर लेखियको जस्तो हुन सक्छ / कथा उपन्यास भनेको समाज को ऐना हो / समाज मा बोलि चाली मा पाच्य भयको अस्लिल सब्दहरु कथाकार या उपन्यास कारहरु ले राख्ने गरेको पायको छु / यदि तेसो नगर्ने हो भने कथा या उपन्यास त्यो बर्णन गरियको समाज भन्दा छुट्टै हुन पुग्छ /

    अस्लिल सब्द राख्यो त्यो कथा पढेर ति सब्दहरु सिक्ने अनगिन्ती पाठकहरु हुन सक्छन / म त यो बिसय मा nutral छु /

  15. यथार्थता मा आधारित साहित्यिक लेख रहेछ / ल बधाई छ लेखक ज्यु लाइ !

Comments are closed.