देउडासँग अन्तरकुन्तरवार्ता

उही कुमार लामा, ५ भदौ २०६८

यतिबेला शेरबहादुर देउडा नाच्नलाइ होइन, प्रधानमन्त्री बन्नलाई दुइटै खुट्टा उचालेर बस्नुभएको छ। उहाँका दुइटै खुट्टा भूइँमा छैनन्। भन्नुको तात्पर्य शेरबहादुरका दुबै खुट्टा हावामा लट्किरहेका छन्। केही वर्षअघि ह्वाइटहाउसको ओभल रुममा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुशसित हात मिलाउन पाएको उन्मादमा पनि शेरबहादुरका खुट्टा यसैगरी हावामा लट्किएका थिए। खुट्टाले भूइँ छाडेपछि उहाँले नेपाली कांग्रेस फुटाउनुभयो, संसद भंग गर्नुभयो र अन्ततः प्रजातन्त्र माइलाविक्रमको जुनाफमा चढाइदिएर नयाँ तुलसी गिरी बन्नुभयो। त्यसअघि बहुमतीय सरकार बनाउन तत्कालीन सांसदहरू खरिद गरेको, अपहरण गरेको तथा ४८ जनाको जम्बो “दे-माले” मन्त्रीमण्डल बनाएको कुश्रेय पनि शेरबहादुरले पाउनुभएको थियो। उनै शेरबहादुर कथंकदाचित फेरि प्रधानमन्त्री हुनुभयो भने के गर्नु हुन्छ? प्रस्तुत छ, उहाँसँगको अन्तरकुन्तरवार्ता।

कुराकानी तपाईंको नाउँबाट थालौं। पहिला तपाईं देउपा लेख्नुहुन्थ्यो, अहिले देउबा। तपाईं देउपा कि देउबा?

म देउपा पनि होइन, देउबा पनि होइन। वास्तवमा म देउडा हो। तर विस्वस्त सूत्रको नाउँ भजाएर जथाभावी लेख्ने पत्रकारहरूले मेरो नाउँ बिगारेका हुन्।

नयाँ नेपाल बनाउने जनताको सपना थियो। तर देश त बनाना किङ्डम (केरा  अधिराज्य) बाट बनाना रिपब्लिक (केरा गणतन्त्र) मा रुपान्तर भयो, होइन?

नेपाल कहिल्यै बनाना किङ्डम भएको भए पो बनाना रिपब्लिक बन्ने! नेपाल त केवल बुङ्गो किङ्डम थियो। अहिले बुङ्गो रिपब्लिक भएको छ। केरा त खान मिल्छ, बुङ्गो नाथेको के काम? काटेर फाल्ने हो, नफाले आफैं झर्छ। नेपालको बुङ्गो किङ् आफैं झर्नेवाला थियो। तर झर्नुभन्दा पहिले जनआन्दोलनको हावाले झारी दियो।

त्यस्तो बुङ्गो रिपब्लिकको प्रधानमन्त्री बन्न तपाईं किन मरिहत्ते गरिरहनु भएको त? कि नेपाललाई बुङ्गो रिपब्लिक भन्नुको सांकेतिक अर्थ तपाईं प्रधानमन्त्री भएपछि नेपालको अस्तित्वै रहन्न भन्न खोज्नुभएको हो?

राजनीतिमा अस्तित्व-सस्तित्वको कुरै छैन। कुरो त फाइदाको हो।

तपाईंको व्यक्तिगत फाइदा कि कांग्रेसको फाइदा? वा माओवादी, पञ्चे, एमाले, बिहारवाले क-कसको फाइदा?

जसले कुर्सी पाउँछ, उसैलाई फाइदा हुन्छ। पत्रकार भएर त्यति पनि नबुझ्ने तपाईं?

कथंकदाचित प्रधानमन्त्रि भइहाल्नु भयो भने बुङ्गो गणतन्त्रको निरिह लोकतन्त्र कसलाई चढाउनु हुन्छ? पहिला प्रधानमन्त्रि हुँदा प्रजातन्त्र माइलाविक्रमको जुनाफमा समर्पित गर्नुभएको थियो।

मलाई यस्तो आआरोपपप लगाउने तपाईंले (शेरबहादुर जंगिनुहन्छ र छिट-छिटो बोल्दा उहाँको बोली लत्पतिन थाल्छ)? कककस्तो कुकुकुरा गरेको! अन्तवाता लिने नाउँमा मेरो बेबेइज् गर्ने? ब्ड्डाब्ड्डा ब्ड्डुब्ड्डु हाटाटा हुटुटु बुड् बुडुबुड्प्!

क्षमा गर्नुहोला। मैले तपाईंको बेइज्जती गर्न खोजेको होइन। शान्त हुनुहोस्। बरू त्यो पछिल्लोपल्ट चाहिँ के भन्न खोज्नुभएको हो? मैले बुझिनँ।

त्यो त मैले पनि बुझिनँ। म कहिलेकाहीँ आफूले बोलेको आफैं बुझ्दिनँ। राजनीतिमा सबैले बुझ्ने कुरा गर्नु पनि हुँदैन।

तपाईंले हालै बाबुराम भट्टराईलाई दुई जिब्रे भन्नुभयो। कारण?

मैले भनिहालेँ नि यार, राजनीतिमा सबैले बुझ्ने कुरा गर्नु हुँदैन भनेर! वास्तवमा बाबुरामजी भलाद्मी व्यक्ति हुनुहुन्छ। तर हाल उहाँ प्रधानमन्त्रि पदको प्रत्यासी भएपछि मैले केही न केही भनेर झ्याँस्नै पर्‍यो नि। उहाँ दुई जिब्रे होइन, बरू म चैँ आधा जिब्रे हुँ। म विद्यार्थी नेता हुँदा पञ्च सरकारले मेरो जिब्रो काटी दियो। शुशिल दाको चैँ पानपरागले कुहिएको हो। त्यसैले शुशिल दा र मैले बोलेका कतिपय कुरा हामी आफैँ बुझ्दैनौं। जाँड खाएर लडिमर्नेहरूलाई समेत हाम्रो नेपाली कांग्रेसमा शहिदको सम्मान दिने चलन छ। त्यसैले हाम्रो जिब्रोको लोकतान्त्रप्रति देन छैन भन्ने सवालै उठ्दैन।

बाबुरामसँग आम जनताले आशा राखेका छन्। यो चाहिँ सबैले बुझ्नेगरी भन्नुस् त, उहाँलाई एकपल्ट प्रधानमन्त्री छाडिदिँदा हुन्न?

वास्तवमा मैले बाबुरामजीलाई बचाउनका लागि उहाँ प्रधानमन्त्री बन्नु हुन् भन्या हुँ। बनिहाल्नु भयो भने उहाँ पनि नेपालका तमाम प्रधानमन्त्रीहरू जस्तै केरा होइन, बुङ्गो प्रधानमन्त्री बन्नुहुने छ। बाबुरामजीलाई अरू कसैले होइन, छवीलालजी स्वयंले बुङ्गो बनाइदिनु हुने छ। बाबुरामलाई छवीलालले साँच्चै समर्थन गर्नुभएको छ भनेर सोच्नुभाको? बाबुरामलाई अनेक गर्दा तह लगाउन नसकेपछि असफल प्रधानमन्त्री बनाई बुङ्गो बनाएर फाल्ने चाल हो छवीलालको।

तपाईंकी श्रीमती पीएचडी हुनुहुन्छ। बाबुरामजी पनि पीएचडी। अब तपाईंले पनि केपी ओलीले जस्तै डा. लेख्ने कि? त्यसो गर्दा तपाईंलाई बाबुरामसँग भिड्न सजिलो होला!

त्यस्तो एसएलसीसमेत पास नगरेको कोपी आलुसँग मलाई दाँज्ने? तपाईं मेरो बेइज्जत नगर्नुस्।

तपाईं र बाबुराम भट्टराई दुबैका श्रीमतीहरू सभासद हुनुहुन्छ। उहाँहरूले मुलुकलाई के योगदान दिनुभएको छ?

आरजू र हिशिलावीच तुलनै हुन सक्दैन। अरे यार यस्तो कुरा पनि सोध्ने? आरजू विदेशमा पीएचडी गरेर देश-विदेश खाएर नेपाल फर्किएकी हुन्। अमेरिका जाने भिसा त उनले चुट्की बजाएर निकाली दिन्छिन्। उनले प्रति जवान १०-२० लाख रुपैयाँ असुल गरेर सयौं नेपालीलाई अमेरिकामा एनआरएन बनाइदिएकी छन्। कसैलाई अमेरिका पठाउने हिशिलाको क्षमता छ? अर्काका छोराछोरीलाई जंगल पठाउनबाहेक केही पनि क्षमता छैन उहाँको। फेरि मन्त्री हुँदा आफ्ना नातागोताका मान्छेलाई जागिर खुवाएर हिशिलाजीले बबाल गर्नुभो!

भन्देखिन् आरजूजी राजनीतिज्ञ र एनजीओवालीमात्र होइन, गल्लावाली पनि हुनुहुन्छ?

मेरी श्रीमतीले कसैलाई बेलायती वा भारतीय सेनामा भर्ती पठाएको भए पो गल्लावाली हुने! उनी त अमेरिका जस्तो महान देशमा एनआरएनको संख्या बढाउने विधाता हुन्। कुरो-सुरो बुझ्नु छैन यार! मलाई चाहिने-नचाहिने सोधेर हैरान पार्‍या छ! यस्तो पनि अन्तरवार्ता हुन्छ? म अब यहाँ एकैछिन पनि बस्दिनँ। बरू देउडा नाच्न जान्छु।

कुरा गर्दागर्दै शेरबहादुर सन्किएर प्रस्थान गर्नुभयो। अन्तरकुन्तरवार्ता पूरा हुन पाएन।

 

27 Comments

  1. वास्तवमा देउडालाइ नै प्रधान मन्त्री दिए हुने हो अनि यो सवै गणतन्त्र पनि पहिले माइलालाइ झैं ठूलो गणतन्त्रमा गाभिदिने थियो कि ।

  2. दामि छ हौ कुमार जि हाँसेर हुरूक्कै भए

  3. प्रस्तुति राम्रो छ र चित्त बुज्दो पनि , तेसैले मलाई त मन पर्यो l व्यंग्यात्मक प्रस्तुतिको लागि धेरै धेरै धन्यवाद l

  4. “पाडो पाए पनि बिगौती पाडी पाएपनि बिगौती” भन्ने चलन थियो पहिला किनकि जे भए पनि राम्रै हुन्थ्यो तर अहिले ठिक उल्टो हुँदैछ l देउबा एकपल्ट प्रजातन्त्रको सम्झौता कुर्सि संग गरिसकेका भू. पु. प्र.म., अनि डा. भट्टराई रगत संग साटिएका हतियार संधैं सिरानी राखेर सुत्नु पर्ने पार्टीका मान्छे !!!!!!! कसरि बिगौतिको आशा गर्न सकिन्छ ?
    अब फेरी उखान तर्फ लागौ; यो पाला पनि सर्प ब्याउने छ तर त्येसले दुध दिने छैन तर (खाने छ ) सर्पले जे पाए पनि चिलहरू रमाउनेछन् किनकि सर्प नै उनीहरुका आहारा हुन् l
    हामीलाई त कागलाई वेल पाके सरि “हर्ष न बिस्मात” !!!

  5. त्यसैले शुशिल दा र मैले बोलेका कतिपय कुरा बुझ्दैनौं। जाँड खाएर लडिमर्नेहरूलाई समेत नेपाली कांग्रेसमा शहिदको सम्मान दिने चलन छ। त्यसैले हाम्रो जिब्रोको लोकतान्त्रप्रति देन छैन भन्ने सवालै उठ्दैन।
    अनि रामचन्द्र जिको पनि त बोली बुझिदैन नि कि कसो . रामचन्द्र हुनु भन्दा त देउबा नै ठिक उ त सभामुख भै सकेको मान्छे जरेर उपप्रधान हुदै मन्त्रि पनि भाको मान्छे जस्तै बद्रि प्रसाद मण्डल भोलि प्र म भाको मान्छे फेरी तल जरेर के के गर्ने हुन् थाहा छैन .

  6. देउबा ले शासन राजा को कुम्लो मा बुजएको कत्ति चाडो बिर्सेको हो नेपाली जनता ले? यस्तो मान्छे लै फेरी कसै प्रधानमन्त्री बनाउने होला?
    फेरी देउबा त पश्चिम को मात्र प्रधनमन्त्रि बन्न लायक मान्छे हो, उ सिंगे नेपाल को प्रधानमन्त्री हुन लायक मान्छे पनि होइन. उ त कर्णाली परि को मात्र प्रधानमन्त्री हो त्योसैले हामी सबै मिलर देउबा प्रधानमन्त्री बनेर देश फेरी दुबौंन बाट बचाउनु पर्चा. एस्तो माफिया र भ्रस्ट मान्छे लै देश को प्रतिनिधि बनाउन हुदैन.

  7. बधाई छ कुमार जी ! एकदम सहि व्यंग्यात्मक कुरो छ, पढ्न धेरै मज्जा आयो !

  8. राम्रो छ, मजा आयो| उही कुमार लामाजी धेरै लामो समय पछी देखा पर्नुभो|
    बेला बेलामा चित्रात्मक व्यंग पनि दिंदै गर्नु होला|

  9. हेर सेरे अब दुइओतै खुट्टा हावामा भय पछी ६इतै लादिन्छा भन्नि कुरा पनि त थाहा होला नि हैन तिमीलाई तै भयर परधन मन्त्रि बन्नी आश नगराभो

    • के भन्न खोज्नु भने हो बुझिन| यो व्यंग हो, सबैको चित्त बुझाउने हुँदैन| तपाई व्यंग नबुझ्ने वा मन नपराउने पर्नुभो होला|

      • व्यंग्य हो भने अलि बढी खुराक दिनु पर्ने. . प्रस्तुती अलि अपुरो नै लाग्यो मलाइ त…

        • व्यंग ठाउँमा पर्यो कसो हो प्रिन्सजी?
          के कुरोमा अपुरो भयो त्यो पनि खुलाउन भए राम्रो हुने थियो|
          नुनतेल मरमसाला सबै मिलाएर सबैलाई रुझाउने तालको व्यंग भन्नुभएको होला| तलब पाउने खाने छापामा नहाल्ने कुरो ब्लगमा पढ्न पाउने हो| हामीले आफै माथि जोक र व्यंग बनाएको पचाउन सक्नु पर्छ| उपत्यकामा गाईजात्राको दिन कुरेर बस्न पर्दैन| खैर आआफ्नो स्वादको कुरो हो| उही कुमार लामाजीको व्यंग गहकिला छन्| बुझ्नेलाई श्रीखंड, नबुझ्नेलाई खुर्पाको बेंड़| अब फेरी प्रश्न गर्नुहोला के हो यो अपुरो भनाई? बुझिन यार यो के हो खुर्पा सुर्पा भन्या!!

          • मन जी, म नेपाली राजनीति देखेर वाक्क भैसकेको मान्छे, ठाउमा पर्यो कि भन्ने त सवाल नै रहेन. . . अर्को कुरा कसलाई कति सम्म को व्यंग्य ले छुन्छ भन्ने मात्र हो, जस्तो मलाई व्यंग्य भनेको व्यंग्य नै हुनुपर्छ भने अरु कसैलाई सानो कुरा अथवा मेरो यहि लेखाइ पनि व्यंग्य लग्न सक्छ. . अनि म पनि गाउ मा हुर्केको मान्छे, खुर्पा र कोदाली संग खेलेको मान्छे, तपाइले तेती सार्हो भनिराख्नु चाही पर्दैन. . जे भए पनि प्रसङ्ग समय सान्दर्भिक छ, मैले बिरोध गरेको पनि त होइन नि, मैले जे खोजेर पढेको त्यो पाइन भन्ने गुनासो हो मेरो . .

            “बुझ्नेलाई श्रीखंड, नबुझ्नेलाई खुर्पाको बेंड़” यो चाही भन्दिन म किन कि तपाइले बुझ्नु नै भयो होला . . 🙂

            • बुझे प्रिन्सजी| संवाद गर्न पाईयो, धन्यवाद| अन्यथा नसम्झनुहोला| यो मन पनि विद्यमान घीनौना राजनीति र राजनीतिकारहरुको व्यवहार देखेर वाक्क भईसकेको केही क्षण मुसुक्क गर्ने मौका पाईयो|
              अहिले जातपात, पुर्ब राजा र घुसखोरीहरुको लेख भएको भए पाथीका पाथी कमेन्टहरु हुन्थे| हामी व्यंगमा रमाउन पनि सकौ|

  10. खर्बुजा देउडा अनी उसकी साक्खई मितिनी (मानव तस्करीमा नम्बर एक) कुजाता कोईराला आजीवन नक्क्खु जेलमा कुहेर बस्नु पर्ने हो /

    अनी फेरी पनि यो श्यालबहादुर देउडा नेपालको प्रधानमन्त्री बने भने नेपाल आमाले आत्माहत्या गरे हुन्छ…!

    • डोटी राम्रो डडेल्धुरा,अछाम राम्रो साँफे,
      भक भकेलाई उतै लैजाउ रुवाखोलाको डाँफे,
      हे सभासद बर्मन,सुजातालाई लैजाउ जर्मन
      त्यो ढाकाको बंगाली ठिटो ओशार्छ सेतो पिठो,
      नेपालमा आएर डकार्छन भए नभएका तितो,
      थुक्क हान्नु पर्ने भुक्क,तर कोहि गर्दैनन् चुइंक्क
      नेपाली नागरिक मरेको मुर्दा सरह भएको छ
      त्यसैले त बिदेशी दलालहरु हराभरा भएको छ
      आफ्नै देशमा अरुको लात खाएर बस्ने नेपाली
      विदेश गएकाहरुको कथा व्यथा कस्तो होला,

  11. प्रधान मन्त्रि पद

    ओली ::हाम्रो ने का पा एमाले भनेको क्रांतिकारी छबि भएको पार्टी हो |तेसैले म के भन्छु भने प्रधानमन्त्री को असली दाबेदार
    हाम्रो पार्टी हो | बाबुरामजी लाइ किन प्रधानमन्त्री दिने हाँ | डाक्टर हुदैमा पि यम को लागी योग्य हुन्छ भन्ने छ ??
    आज यो स्थिति आउला, जनताले डाक्तरै खोज्लान भनेर मैले पनि डाक्टरी डिग्री ली इ सकेको छू |तर म चै देश र जनताको लागी अहिले नै पि यम
    म लाइ चाहियो भन्ने पक्ष्य माँ छैन |
    शेरबहादुर :: कठिन संगर्ष बाट प्राप्त प्रजातंत्र लाइ जोगाउन ,संस्था गत गर्न जनताको घर दैलो माँ बिकाश को पजेरो दौडाउन ,परेको खण्ड माँ
    सांसद हरुलाई थाईल्याण्ड सम्म पुर्याउन सकने आज को सक्ष्यम प्रधान मन्त्रीको उम्मेदार हूँ म |हाम्रो काजी खलक मैदान माँ हुदा हुदै ,
    १५-२० बर्स अघि तनहू माँ डोको माँ साग बेच्ने हैसियत को जैसी बाहुन लाइ छान्ने? यो कसरी हूँन सक्छ ? येसरी कसरी प्रजातंत्र संस्थागत हुन्छ ?
    फेरी आर्को कुरा आज जनताले डाक्टरे खोजीरहेको अबस्था छ , मेरो त श्रीमती नै डाक्टर ?डाक्टर को श्रीमान लाइ तपाईहरु के भन्नु हुन्छ?

    बाबुराम भटराई :: हाम्रो कठिन संघर्ष बाट २५० बर्स लामो सामंती दलाल बुजुर्बा नोकरशाही अबस्थाको आज अंत भएको छ | आज जनताले मुक्ति पाएको छ |
    नया नेपाल को जनताले डाक्टर प्रधान मंत्री खोज्नु भनेको उनिहरुको नैसर्घिक अधिकार हो भन्ने हामीलाई लागी रा छ |

    • बोर्ड फस्ट-कि त डाक्टर न भए इन्जिनियर,
      डिस्टिंगसन्-डाक्टर अथव इन्जिनियर नै
      फस्ट डिभिजन- ऐ ऐ ऐ ऐ ऐ ऐ नै
      सेकेन्ड डिभिजन-बिजिनेस म्यानेजमेन्ट,लोयर (कानुन)
      तेश्रो डिभिजन-राजनीति,पत्रकार,

      • रोशनजी, तेस्रो डिभिजन भए त हुन्थ्यो नि प्रायजसो अनुतिर्णहरु राजनीति र पत्रकार बनेर पो बिग्रेको छ नेपालमा|

  12. राम्रो लाग्यो…..PhD … चाही गरेके होलीन …. तर पढाई अनुसार काम गर्नु पर्यो…. Psychology पढ्ने …काम चाही NGO र पैसा खादै बिधुत प्राधिकरणमा Executive Director बनाउने……….. शेरेलाई अक्तियारले सोध्यो भने मेरो आरजु ले कमाएको भन्छ ……५० वर्षा दुख गरेर पनि एउटो घर बनाउन सकिन्न…….भ्रस्टचार नगरी……….तेसै जीब्रोमा Current लगाएको हैन रहेछ ………

  13. धेरै राम्रो …. अब बाबुराम भट्टराई को पनि येस्तई अन्तरबार्ता पढ्न पाए हुन्थ्यो…

  14. प्रस्तुति अति सटिक र चित्त बुझ्दो लाग्यो मलाई | विशेषगरी छाबिलालको छलुवा नीतिको व्यंग्य असाध्य नै घत लाग्यो | रमाईलो अन्तरकुन्तर वार्ताको लागि धेरै धन्यबाद छ तपाईंलाई |

  15. नेपाल मा नाम अनुसार को काम गर्दैनन् भन्छन / हो रहेछ /
    न यिनिं शेर हुन् न बहादुर नै / न शेरबहादुर नै हुन् यिनी /
    शेरबहादुर देउपा, शेरबहादुर देउबा, शेरबहादुर देउडा – आखिर के हुन् यिनी ?
    नाम मै confusion छ यिनको, यिनले देश लाई किन confusion मा नपारुन /

Comments are closed.