अहो, त्यो दिन !

[पहिलो पटक प्रकाशितः सन् २००५/८/३१]

आज तपाईँहरुलाई म पुरानो दिनको स्मरण गराउन जाँदैछु। सात वर्षअगाडि आज कै दिन काठमाडौं निकै तनावग्रस्त थियो। सिङ्गो काठमाडौं जलेको थियो। इराकमा नेपाली दाजुभाइ मारिएका कारण आक्रोशित जनसाधारण सडकमा उत्रिएका थिए। त्यतिबेला मैले खिचेका केही तस्वीर र नेटबाट संकलन गरिएका तस्वीर र मेरो व्यक्तिगत डायरीबाट निकालिएका केही अंशहरु तपाईँ यो ब्लगमा पढ्नसक्नुहुनेछ।

[तस्वीरमा जल्दै गरेको ताहाचलको म्यानपावर कार्यालय। यो तस्वीर खिच्दा आगोको रापले मेरो अनुहार र हात नराम्रोसित पोलेको थियो। यो कार्यालय जलेको केही छिनपछि कर्फ्यु लागेको थियो]

इराकमा अमेरिकी आक्रमण हुँदा त्यसको प्रभाव म आफूलाई पनि पर्छ भनेर मैले कहिल्यै सोचेको थिइनँ। तर भयो त्यस्तै नै। त्यतिबेला म कार्यरत स्पेसटाइम दैनिक बन्द हुनुमा प्रत्यक्ष अप्रत्यक्ष कारण इराकमा भएका घटना नै थिए। विश्वका एक भागमा भएको घटनाले अर्को भागमा बस्नेलाई कसरी प्रभाव पार्छ भन्ने कुराको उदाहरण हुनसक्छ यो घटना।

इराकको एक आतंककारी समूहले १२ नेपालीलाई अपहरण गरेको समाचार अगस्त २१ तारिखका दिन आएको थियो। दुई दिनपछि अपहरित नेपालीहरुको नामावली र तस्वीर पनि प्रकाशमा आयो। त्यतिबेला नेटमा निकै सर्च गरेर मैले अन्सार अल सुन्नाको वेबसाइट भेट्टाएर तस्वीर फेला पारेको थिएँ। त्यतिबेला म ब्लग चलाउँदिन थिएँ। नेपालभाषाको इन्टरनेट समाचार पत्रिका नेवाःपोस्टमा दैनिक समाचार अपडेट भने गर्थेँ। यही वेबसाइटमा मैले अपहरित नेपालीको तस्वीर प्रकाशन गरेँ।

म्यानपावरका सबै सामान जलेर खरानी भए। फोटोः उमेश

अगस्त २३ मा फोटो प्रकाशमा आइसकेपछि सरकारले नेपाली नागरिक अपहरणमा परेको पुष्टि त गर्‍यो तर उध्दारका लागि भने कुनै हतार गरेन। अगस्त ३१ को दिन अचानक अपहरित नेपाली सबैको हत्या गरिएको समाचार आयो। समाचार लेख्ने क्रममा नै दिउँसो अल जजिराको वेबसाइटबाट सबैभन्दा पहिले मैले यो खबर पाएको थिएँ। तत्काल त्यहाँ भएका सबै सहकर्मीहरुलाई जानकारी गराएँ। सबै बिचरा भन्दै थिए। तर कसैले पनि भोलिदेखि यो कार्यालयमा काम गर्न आउनु नपर्ने गरी घटनाको विकास हुन्छ भन्ने कल्पनासम्म गरेका थिएनन्।

अल जजिराको समाचारमा नेपालीहरुको हत्या गरिएको भिडियो पनि इन्टरनेटमा राखिएको छ भनी लेखिएको थियो। तर त्यसलाई खोज्न निकै गार्‍हो भयो। साँझतिर पेज ले आउट सकाएर, पास गराएर घर हिँड्ने बेलासम्ममा भने मैले त्यो भिडियो फेला पारेर डाउनलोड गरिसकेको थिएँ। तर विन्डोज ९८ मा त्यो भिडियो खुलिरहेको थिएन। म्याक कम्प्युटरमा सारेर हेर्‍यौं तर त्यसमा पनि खुलेन।

उता त्यो समाचार डढेलो सरह राजधानी भर फैलिसकेको रहेछ। विद्यार्थी र सर्वसाधारणहरु स्वस्फूर्त सडकमा उत्रिसकेका थिए। राति ११ बज्नुअघि रेडियो सगरमाथाले न्युरोडबाट लाइभ रिपोर्टिङ गरेको थियो। त्यति राति पनि मानिसहरु आक्रोशित मुद्रामा नाराबाजी गर्दै थिए। न्युरोडमा मात्र हैन, पुतलिसडक, रत्नपार्क लगायत राजधानीका विभिन्न ठाउँमा त्यस्तै विरोध प्रदर्शनहरु भइरहेका थिए। उनीहरु सरकार, आतंकवाद र म्यानपावरविरुध्द नाराबाजी गर्दै थिए।

राति बल्ल तल्ल एउटा अरबी फोरम साइटमा नेपालीको विभत्स हत्या गर्दै गरिएको तस्वीर भेट्टाएँ। पछि अ‍ोग्रिस डट कमबाट भिडियो पनि डाउनलोड गरेँ। तर त्यसलाई हेरपछि मेरो मनस्थिति कस्तो भयो, त्यो म यहाँ शब्दले वर्णन गर्न असमर्थ छु।

क्याम्पसका विद्यार्थीहरु चक्काजाम गर्दै। फोटोः उमेश

भोलिपल्ट अर्थात् सेप्टेम्बर १ वा भदौ १६ गते बिहान उठ्नेबित्तिकै काठमाडौं तनावग्रस्त रहेको खबर सुन्नुपर्‍यो। हाम्रै टोलमा कयौं टायर जलाइएका रहेछन्। क्याम्पसका विद्यार्थीहरु विरोधमा अग्रपंक्तिमा थिए। राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिनेहरु पनि कम थिएनन्। बिहान ७-८ बजे नै काठमाडौं खाल्डो जलिसकेको थियो, तनावग्रस्त बनिसकेको थियो। सडकमा कहीँ कतै प्रहरी देखिँदैन थिए। खै, कहाँ गएका हुन् ? चिनेजानेका ठाउँमा फोन गर्दा जहाँ पनि त्यस्तै भइरहेको बताइन्थ्यो।

कालिमाटीको मस्जिदमा आक्रमण गर्न खोजिरहेको आक्रोशित भीड। फोटोः उमेश

११ बजेतिर रत्नपार्कतिर एकदमै तनाव छ भन्ने सुनेकोले त्यता जान लागेको थिएँ तर गइनँ। केही पछि घरछेउ कै मस्जिदमा आक्रमण गर्न आक्रोशित भीड त्यतातिर लागेको थाहा पाएँ। त्यतिबेलासम्म कर्फ्युको घोषणा भइसकेको थियो। यत्तिकैमा ताहाचलमा रहेको म्यानपावर जलाइएको थाहा पाएर त्यता गएँ। आगो दन्किएको थियो, कार्यालयमा केही बाँकी थिएन। आगो छेउछाउका घरतिर सल्किएला भनेर चिन्तित हुनेहरुले दमकल बोलाउन भन्दैथिए। तर सिङ्गो काठमाडौं जलेको बेला कहाँ आउनु भन्ने बित्तिकै दमकल। कालिमाटीको मूल सडकमा देखिएको प्रहरी भ्यानलाई ताहाचलमा ठूलो आगलागी भइरहेको छ भनी आफैले जानकारी दिएँ।

कुरानका पानाहरुको गति। फोटोः उमेश

उता मस्जिदमा आक्रमण गर्न जानेहरुले तोडफोडमात्र गरेनन्, उनीहरुका पवित्र ग्रन्थ कुरानलाई पनि च्यातेर अपमान गरे। प्रहरी सम्झाईबुझाई गर्दै थिए, कर्फ्यु लाग्न लागेको छ, घर गइदिनुस् तर भीड मान्न तयार भइरहेको थिएन।

अहिले आएर सम्झन्छु, त्यो आक्रोशित भीडमा स्थानीय बासिन्दा वा मैले चिनेजानेका छिमेकीहरु कोही थिएनन्। खै कहाँबाट आएको थियो त्यो भीड। स्थानीय बासिन्दा रमिते मात्र थिए र हो, अत्याचारै गरे नेपालीलाई भनी सहानुभूति दिनेहरुमात्र थिए।

यो गाडीको दोष अघोषित चक्काजाम उल्लंघन गर्नु मात्र थियो। साभार फोटो

म्यानपावरमाथिको रिस चाहिँ केही अघि अपहरित नेपालीहरुले अन्तिम भिडियो सन्देशमा आफूलाई जोर्डन भनी इराक पठाइएको, प्रल्हाद गिरी नामका एजेन्टले आफूलाई फँसाएको भनी ज्यान बचाइदिन गरेको करुण पुकारको असर थियो। सडकमा प्रल्हाद गिरीलाई फाँसी दिनुपर्नेसम्म माग उठेका थिए। आज एक वर्षपछि मलाई थाहा छैन, प्रल्हाद गिरीले सजाय पाए कि पाएनन्। बरु इराक र अफगानिस्तान जस्तो सरकारले अनुमति नदिएका जोखिमयुक्त देशमा कामदार पठाउने एजेन्टहरुले हाकाहाकी काम गरिरहेको र त्यहाँ जान लालायित युवाहरुको भीड देखेको छु।

रत्नपार्कको जामे मस्जिदको स्थिति। साभार फोटो

तर त्यो दिन काठमाडौंका एउटै म्यानपावर पनि बचेनन्, सबैमा तोडफोड भयो। १२-१ बजेतिर कान्तिपुरमा तोडफोड भयो भन्ने समाचार सुनेँ तर आफ्नै कार्यालय स्पेसटाइम र च्यानल नेपालमा भएको तोडफोडको बारेमा भने मलाई केही थाहा थिएन। पछि सहकर्मी बालचन्द्र मिश्रले फोन गर्दा पो थाहा पाएँ। तत्काल हाम्रा तत्कालीन बोस गोविन्द पोखरेललाई फोन गरेर अफिस आउनु पर्छ कि पर्दैन भनेर सोध्दा अफिस भए पो आउनु भनेर भन्नुभयो। सबै तोडफोड भएको जानकारी दिनुभयो। पत्रिका निस्कन्छ कि निस्कँदैन त निस्कने हो भने जसरी पनि आएर काम गरिदिन तयार छु भनेर भन्दा कम्प्युटरदेखि लिएर सबै क्षति भएकोले निस्कने स्थिति नै छैन भनेर भन्नुभयो।

एकछिन पछि अर्थात २ बजेदेखि राजधानीमा अनिश्चितकालीन कर्फ्यु लाग्यो र मेरो काम नेटबाट समाचार हेर्नुमा सीमित रह्यो। त्यसो त कर्फ्यु लाग्दा प्रहरीको आँखा छलेर शुन्य सडकमा हिँड्नुको मज्जा नै फेरि बेग्लै हुन्छ।

कर्फ्यु लाग्दा मेरो घर अगाडिको शू्न्य सडक।

कर्फ्यु त लाग्यो तर कर्फ्यु लाग्नु अघि नै नहुनुपर्ने नोक्सान भइसकेको थियो। रत्नपार्कका दुई मस्जिदमा तोडफोड भइसकेका थिए। भएभरका म्यानपावर जलिसकेका थिए। खाडी मुलुकको दूतावासमा आक्रमण गर्न खोज्दा प्रहरीको गोलीले दुई प्रदर्शनकारीले ज्यान गुमाइसकेका थिए।

मस्जिदमा आक्रमण गरिरहेकाहरु। साभार फोटो

राति आएर सरकारले भोलि राष्ट्रिय शोक र पीडित परिवारलाई एक लाख क्षतिपूर्ति दिने र शव नेपाल फर्काउन पहल गर्ने घोषणा गर्‍यो। तर खै, एक वर्षसम्म पनि ती शव नेपाल फर्किएको समाचार हामीले सुन्न पाएका छैनौं।

मस्जिदमा लागेको आगो नियन्त्रण गर्ने प्रयास। साभार फोटो

मस्जिदमा दन्किएको आगो। साभार फोटो

27 Comments

  1. माथि कमेन्ट गर्ने हरु तथा यो आर्टिकल लेख्ने ले समेत “किन ति नेपालि हरु लाइ मारियो” भन्ने कुरा लेखेका छैनन्; खालि उल्टै आफ्नै नेपालि सिस्टम लाइ गालि गरेका छन्, किन होला तेसो गरेको? के कारण ले नेपालि मारिएका हुन्? के गरेमा खाडी क्षेत्र मा नेपालि मारिदैनन ? यो कुरा मा हामि किन दिमाग लगाउदैनम?

  2. नेताहरु मालामाल, देशको हालत खराब एक छाक खानको लागि मुस्किल भएर तेंहा गएका हुन् ति गरिब नेपालीहरु र भयो उनीहरुको बिभस्त हत्या ! मा त दोष पतित र भ्रस्ट जो पद सक्ति र पैसा बिना बाँच्न नसक्ने(कोइराला एण्ड कम्पनि जस्तै) नपुंसक हरुको कारणले भएको हो र हो नै भन्छु, केहि संका ????

  3. विस्मृतिको खोपामा थन्किएको अपनत्वको सम्बेदनशीलतामा भट्किएको तनावले समग्रमा घाटा आफैलाई परेको थियो..इन्धन देखि जनधन…केवल देखि टेवल हाम्रै जलेको थियो !!

  4. मित्रहरु,
    म संग पनि एक दर्ज़न जति फोटोहरु छन् जब मेरो बास जलाई दिएको थियो, पापी पाखण्डी चोर फटाहाहरुले. त्यहाँ थुप्रै पाखण्डी हरुको फोटो कैद गरेको छु. नेपाल सरकार संग मेरो उजुरी पनि छ र ठ्याक्कै थाहा भएन करिब sadhetinlakh (Nrs ३५००००.००) ऋण बोकेर मेरो मातृभूमि अझै जीररहेकी छिन्. मेरो जीवन भरि कमाएको डिग्री हरु झन्डै जलाई सकेको थियो. मेरो बिदेशमा बस्दा ल्याएका सामानहरु जसको बास्तबमा मूल्य राख्न गारो छ सबै आगो मा फाले जलाए Electronics समान को त कुरै नगरु. सुन पनि चोरे. …..
    घृणा लाग्छ मलाई त्यो सिस्टम को, केहि मान्छे को अनि कैले कहिँ मेरै मातृभूमिको. Sorry !
    -उही लखेटिएका मित्र-
    यो मेरो hotline नेपाल सरकारको लागि.१.३०६.२६२.०१७३
    माफी माग अनि खुरुक्क tschyetipurti गर.

  5. स्मृति का पन्ना हरु पल्टैनाले मन फेरी द्रभिभुत हुन् गयो ,नजर हरु रसाएर आए | उफ ,कस्तो विभत्स क्षण थियो , सभ्यता निरिह बनेर कसाइ हरुको हात मा परेको तो क्ष्यान |

  6. नेपालमा फेरि यस्तो दिन कहिले नआओस भन्छु तर हाम्रो नेताहरुले देशलाई बिगारेको हेर्दा नेताहरुको घरमा यस्तो नदोहरिऐला भन्न सकिन्न त्येसकारन नेताहरु होसियार !

  7. धेरै नराम्रो घटना, तथाकथित धर्म को आडमा बाचेका समुहको पन्जा फसेका सोझा नेपाली र मानब सभ्यताको चरम दुरुपयोग, अब रह्यो नेपालको घटना भलै यस्ता दंगा धेरै ठाउमा हुन्छन, पछिल्लो उदाहरण UK को दंगा तर हाम्रो देसमा सानो कुरामा नि एस्तो हुन्छ जस्तो ऋतिक रोह्शन काण्ड, “Quick Emotional Attitude ” नराम्रो काममा /

  8. त्यों बेला हाम्रो घर को सीसा नि फुतायो. सड़क को घर कालो सीसा मात्र हो कुनै ऑफिस पनी थिएन. खोई के भाको हो हूल्ल्या हरु को बूढी त्यों बेला. कोठा माँ बूढी हजूरआमा सुतिराख्नु भाको थियो. कोठा भरी सीसा सीसा. दुख त लागेको हो तर त्यों त राम्रो होइन

  9. बिगतका दिन मा हामीलाइ छाडेर गएका ती नेपाली दाजुभाईहरुको आत्मा को शान्तिको लागि मेरो कामना …रेस्ट इन पिस ब्रदर्स …

  10. “मानब सभ्यताको आवरण निक्कै पातलो हुन्छ..” भन्ने कुराको उदाहरण !

    देशभरिमा सबैभन्दा ठुलो शिक्षा र सभ्यताको खोल ओढेको काठमाडौँको एका-एक कसरि असभ्यताको भुमरीमा फस्न पनि सक्छ भन्ने तितो यथार्थ, हरेक काठमाडौँ बासीले कहिले बिर्सनु हुन्न !

    येस्तई अर्को घटना २००१ को “हृतिक-रोसन” काण्ड पनि हो, जुन बेला एमालेबाट फुटेको बामदेबले आफ्नो सक्ति प्रदर्सन गर्ने निहुमा काठमाडौँ बासीलाई तेस्तै दुख दिएको थियो र २ जनाको ज्यान समेत गएको थियो………….! बामेलाई चेतना भया……!

    • सब्यता पातलो बनेर बगेको त्यो क्ष्याँण भनौ कि सभ्यता को बाक्लो आवरण मा गुतुमुटियेका जुम्रा हरुले दुख दिएको भनू, कि आज स्वयं भस्मासुर हरु न्याय मुर्ति बनेर कानुन र विधिको उपहास भएको यो क्ष्याँन भनौ रगत खसी हरुकै बग्ग्छ ,
      रातो रगत नै बग्छ हर्केजी |
      बामे ले लग्बग एक किलो मासु आफैले बुताउछ |

  11. एउटा भावनात्मक सम्बन्ध संग गासिएको घटनाlएस्तो नहुनु पर्ने थियोl वास्तवमा भन्ने हो भने गरिब देश मा जन्मिएका कारणले लुकीछिपी जसरि भए पनि बिदेशिनु पर्ने जुन बाध्यता छ तेस्ले जन्माएका परिणाम हरु थिए/आश गरौ अब एस्तो कहिले नदोहोरियोस /

  12. जुन घटना मा मा सोयम उपस्थित थिया कलंकि एरिया मा हामि संयम नै थियों तर चाहेर पनि क्षेती रोक्न सकियाना

  13. मानब यस्तै हो अहिले समयको अन्तरलई पछि फर्की हेर्दा पनि मेरो मन चिसो हुन्छ २००४ को यो घटना हुँदा म भर्खरी फ्रान्स आइ पुगेको थ्यें ! म हिंसा तेती मन परंदिनाथय आज पनि मन पर्दैन ! अनि त्यो हिंशाले नार्रम्रो मात्र गर्नासक्त्यो ! तर निर्दोष नेपाली माथि भयको त्यो बर्बरताले ममा पनि केहि ग्र्हिना भरिदियो ! कसै प्रति पर्तिसोद छैन मलाई……. तर मनमा सारै पिडा हुन्छ जब त्यो दिन मेरो मानसपटलमा घुम्छ !!!!!!!!!!!!! त्यो अति थ्यो …………..अतित भयो……… अब कहिले नहोस !

    सुर्य

  14. म पनि तेती बेला कतार मा थिए,पत्रपत्रिका मा यो सम्बन्धि समाचार आएको थियो,अनि अल जजिरा टेलिभिजन बाट पनि,भर्खर आएको यति डर लग्यो कि मलाई नि बाहिर जना पनि सकिन,डिउटी भरि पनि टेन्सन हुन्थ्यो,त्यो वर्ष डर न डर मा बिताए /

  15. २००५-८-३१ नभई २००४-८-३१ हो !धन्येबाद जानकारीको लागि ..

  16. तेस्तो दिन कहिले पनि नहुन……. नेपालीले भोग्नु नपरोस…..

  17. पुरानो घटना सम्झनु भयको मा धन्यवाद फेरी यस्तो. न होस् , श्री. पशुपति नाथ ले हामी सबै को राख्य गरुन ,

  18. त्यो घटनाले देस भित्र नेपालि नागरिको हक मिच्न मात्रै शक्तिशाली (तानासाही) नेताहरुको सरकार बास्तवमा कति कम्जोर छ भनि सबै नेपालीलाई सम्झ्यो कि कि रुवाउने प्रमाण हो/

    राजनैतिक स्वार्थ पुरागर्न बिदेसमा मात्रै होईन नेपाल भित्र पनि ईराकमा मारेकै जसरि आम नेपालीहरु मारिन के आज सम्म पनि बन्द भएको छ? प्रलाद गिरि जस्ता कुन अपराधीलाई आज सम्म कहिले कुनै कार्यबाही भएको छ?

    अरु त् अरु सबै बात प्रसंसित बाबुरामको सरकारले समेत ईराकमा मारे झैँ नेपालीहरुलाई मार्ने अपराधि मधेसबादी कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सम्झौता गरेको छ त् आम नेपालीको रगत उनीहरुलाई कुर्सीमा चिप्काउने मसला ठान्ने नेताहरुलाई के नाम दिने? ईनिहरु आफै प्रहाद गिरीहरू हुन् त् कुन प्रलाद गिरिलाई कसले सजाय दिने?

  19. बुज्नु न सुज्नु टुडिखेलमा कुदनु भन्या जस्तो भो नि त्यस बेला| कहिले हृतिक रोशन काण्ड, सबै जना हावाको पछि लागे पछि यसरी हो |

  20. साच्चै भयानक दृश्यहरु, कामना गर्दछु , उमेश जी ले यस्तो समाचार लेख्ने दिन कहिल्यै नआवस , तर माई सनसार सबैको मन र मस्तिकमा छाओस !मेरो सदा शुभकामना छ है गुरु !

Comments are closed.