आत्मावतार

-स्व. प्रा. डा. सूर्यमणि अधिकारी-

शनिबारको दिन थियो। रमेशले अपराह्न तीन बजेतिर लगभग यस्तै अठार वर्षकी हिस्सी परेकी गोरी केटी लिएर आयो। त्यस दिन मैले रमेशकी केटी साथीसँग धेरै कुरा सोधखोज गरें। केटी फरासिली रहिछे, मेरा हर प्रश्नको खुलस्त जवाफ दिई।

मैले सोधें – “तिम्रो नाम के हो नानी।”

उसले भनी – “जुली”

“ए…………। मेरो नाम जुनेलीको पहिलो र अन्तिम अक्षरले तिम्रो नाम बनेछ।”

“आम्मै। हो त नि ” (ऊ खित्का छोडेर हांसी)।

“तिम्रो बा के गर्नु हुन्छ

“उपसचिव होइसिन्छ, ममी पनि बैंकमा नोकरी गरिसिन्छ।”

“बसोबास कहाँ छ नि ?”

“बानेश्वरमा हाम्रो घर छ।”

“तिम्रो बाको नाम के हो ?”

“रामप्रसाद शर्मा”

“थर के हो नि ?”

“घिमिरे भन्छन्”

म अलि झस्किएँ। हाम्रो पनि थर घिमिरे हो र मेरो लोग्ने भनाउँदाको नाम पनि रामप्रसाद थियो। मैले आफूलाई सम्हाल्दै बढी जानकारी लिने कोशिस गरें।

“तिम्रो घरमा को-को छौ ?”

“बस, बाबा , ममी, म अनि एउटा नोकर”
“दाजुभाइ, दिदी बहिनी ?”

“कोही छैनन्, मलाई ममीको अप्रेशन गरी निकालेको रहेछ, त्यसपछि बच्चा भएनछ।”

“तिम्रो पहिलाको घर कहाँ रहेछ, त्यतातिर अझै कोही छन् कि ?”

“धारापानी भन्ने गाउँ हो रे, त्यहाँ हजुरबुवा र काका होइसिन्छ, उहाँहरु कहिलेकाहीँ आइसिन्छ, हजुरबुवा संस्कृत पढेको पण्डित, मलाई असाध्ये माया गरिसिन्छ।”

अब त मलाई निश्चित भयो – जुलीको बाबु रामप्रसाद मेरो लोग्ने रहेछ र जुली मेरी सौताकी छोरी रहिछे। त्यसपछि म प्राय: चुप रहेँ। ऊ बोलिरही। कहिले रमेशको कुरा गर्थी, कहिले कलेजका आफ्ना साथी संगिनीहरुको, आफ्ना बाबु आमाको आदि विषयमा उसले कुरा गरी। उसले जाने विचारले घडी हेर्न थालेपछी रमेशले मलाई भान्साकोठामा बोलाएर सोध्यो, “कस्ती लागि त आमा, मेरी केटी साथी ?”

“केटी त बेसै हो तर”

“के तर ?”

“तैँले उसलाई मन पराएको होस् ?”

“उसले नै मलाई मन पराएकी हो।”

मेरो निधारमा चिटचिट पसिना आउन थाले। मेरो अनुहार तिलमिलाएको देखेर रमेश पनि किंचित झस्कियो। मैले डराई डराई उसँग सोधें – “तिमीहरुको लसपस त भएको छैन ?”

“किन ?”

“भयङ्कर अपराध भयो कि भनेर”

“कस्तो अपराध भन्नुहुन्छ, के कुरा गर्दै हुनुहुन्छ ?”

“जुली तेरी बहिनी रहिछे।” मैले उसलाई सबै कुरा बताइदिएँ। रमेशले कसम खाएर जुलीसँग कुनै त्यस्तो लसपस नभएको विश्वास दिलायो। अनर्थबाट जोगाएकोमा मैले परमेश्वरलाई धन्यवाद दिएँ मनमनै। त्यसपछि हामी बाहिरी कोठामा निस्कियौ। रमेश चुप थियो। ऊ कुराको थालनी गर्न नसकेर रन्थनिँदै थियो। मैले वातावरणलाई सहज बनाउने प्रयास गर्दै कुराकानी सुरु गरें। कुराको अस्पष्टताले जुलीको मुहार बदली लागे जस्तो अँध्यारो देखियो। तथापि स्पष्टसँग मैले एक वाक्यमा सुनाइदिएँ – “रमेश र जुली, तिमीहरु दाजु बहिनी रहेछौ, बाबु एउटै, आमा अलग -अलग।”

जुली जिद्दीवाल रहिछे। मेरो भनाइपछि उसले सबै कुरा खुलस्त नगरी धर दिइन। मैले आफ्नो वेदनाको बयान सुरु गरें –

“गाउँको बिद्यालयमा पढ्दै गर्दा मेरो विवाह रामप्रसाद शर्मा अर्थात् तिम्रा बासँग भयो। उनी त्यस बखत शहरमा पढ्दै थिए। कहिलेकाहीँ गाउँमा आउने गर्थे। हाम्रो सम्बन्ध लज्जा र संकोचले भरिएको थियो। तथापि विवाहको केही वर्षपश्चात् मैले तिम्रो बाबाट गर्भधारण गरेछु। गाउँले जीवन, घरको बुहार्तन र सासुको कहर आदि अनेक कष्ट झेलेर म आफ्नो पतिको प्रगतिको कामना हृदयभरि बोकेर बिताउँदै थिएँ। पछि थाहा भयो – उनको शहरमा तिम्री आमासँग प्रेम विवाह भएको रहेछ।”

म भन्दै गएँ – “त्यसपछि त घरमा झन् टिक्नै नसक्ने स्थिति पैदा भयो। म माइतमा बस्न विवश भएँ। माइतमा नै रमेश जन्म्यो। उस्को न्वारन गर्नसम्म घरबाट कोही आउन मानेनन्। तिम्रो बाको रवाफले गर्दा सबै डराए। तिम्रो बाले गाउँको अंश बिक्री गरी शहरमा तिम्री आमाको नाममा घडेरी किनी घर बनाएका छन् भन्ने सुनियो। आफ्ना बा-आमा बित्नु भएपछि मेरा लागि बोलिदिने कोही भएन। जे भएको पेवा – पातबाट रमेशलाई म्याट्रिकसम्म पढाउन सकेँ। चिन्ता र बेदनाले म रोगी भएँ। असमयमै बुढी देखिएँ। रमेशले शहरमा सानो जागिर पाएपछी एउटा राहतसम्म मिल्न गएको छ। अर्काको घरमा डेरा गरेर भए पनि प्राण धान्नेसम्म गुजारा चलेको छ, यस्तै छ बा। खै कसलाई दोष दिनु, आफ्नै कर्म उस्तै भएपछि।” अनि मनबाट भक्कानो छुटेर आयो। म केही बोल्न सकिनँ।

मेरो वृतान्त सुनेपछि जुलीको अनुहार रातो न पिरो देखियो। मेरो अनुमान विपरीत ऊ मलाई आ….मा….. भन्दै अङ्कमाल गरेर रुन थाली, मलाई पनि रुवाई। रमेश अक्क न
बक्क परिरह्यो।

पुगिसरी आउने बाबु – आमाकी एक्ली छोरी भएर होला, जुली जिद्दीवाल बनेकी। उसले रमेशतिर फर्केर आदेशको स्वरमा भनि – ” दाइ। म अब आमालाई छोडेर जाँदै जान्न। घरमा कहींबाट फोन गरेर जुली मेरो डेरामा छ भनिदिनुस्।” ऊ फेरि मलाई सुमसुम्याउन थाली। पाँच वर्षे बालिका जस्तै भएर म्वाईं खाने र अङ्कमाल गर्ने गरिरही। हर्षले विभोर भएर आमामाथि आमा रटीरही। आमा भेट्टाएँ भन्दै कहिले हाँस्ने, कहिले रुने गरी। यसरी हाम्रो डेरामा एकजना थपिने भई रमेशकी पत्नी होइन, बहिनी भएर।

फोन गर्न गएको रमेश साँझपख जुलीका आमा-बुवा समेत लिएर आयो। उसले सबै कुरा खोलेको रहेनछ। जुली पोइल आएको सम्झेर होला, उसका आमा बुबा देख्नासाथ रुन थाले।

तर जुली क्रोधित मुद्रा बनाउंदै गर्जन थाली ” जबसम्म तिमी दुईजनाले आमासँग माफी मागेर आमा र दाइलाई घर लैजादैनौं, अनि अर्को कुरा, आमा र दाइ नजाने हो भने पनि यो कोठाबाट जुली होइन, उस्को लाश निस्कने छ।”

उनीहरुले मध्यरातसम्म जुलीलाई सम्झाउने अनेक यत्न गरे तर ऊ झन् कठोर हुँदै गई। चिच्याउन, कुर्कुच्चा बजार्न र थुक्न थाली। रमेश र मैले पनि सम्झाइ बुझाइ गर्ने प्रयत्न गर्‍यौँ तर सब बेकार। मध्यराततिर रमेशले चियासहित केही खानेकुरा लिएर आयो। रमेशको आग्रहमा जुलीले खानेकुरा पाँच भाग लगाई तर उसका बाबु आमाले खान अस्वीकार गरे। जुली रिसाएर सबै खानेकुरा उनीहरुतिरै फालिदीई। त्यस रात कसैले खाएनन्, कोही निदाएनन् पनि।

बिहानीपख जुलीका आमा बुवाले आत्मसमर्पण गरे। रमेश र मलाई पनि जुलीको आग्रह टार्न संभव भएन। बिहानको झुल्के घामसँगै हामी उसको घर भित्रियौँ।

जुली हर्षतिरेक देखिन्थी। उसले दिनभर सासै नफेरी घरको व्यवस्था मिलाई। मलाई उसले आफ्नो कोठामा राख्ने भई। रमेश दाइको कोठा भनेर अलग कोठा किटान गरी। उनका आमा बाबु त्यो दिन काममा गएनन्, रमेश पनि गएन। आमा बाबु अझै पनि काला नीला देखिन्थे। रमेश अचम्म मानिरहेको थियो। बेलुका सबैलाई जम्मा गरी जुलीले अब आइन्दा यो घर यसरी चल्ने छ भनेर फर्मान जारी गरी – “दाजु र बहिनी अर्थात् रमेश र जुली कलेज जाने, रमेशले जागिर छाड्नु पर्ने, उसका आमा बुबा अर्थात् रजनी र रामप्रसाद नोकरीमा यथावत् धाउनु पर्ने र घर चलाउने सम्पूर्ण जिम्मा आमाको हुने, यसको पालना नगरिएमा जुलीले आमरण अनशन गर्ने।

जिद्दीवाल जुलीको आदेशलाई अवज्ञा गर्ने हिम्मत कसैले गरेनन्। त्यो घरमा सबै कुरा उसको इच्छानुसार चल्न थाल्यो। मलाई त उसले पुरै पराजित गरी। खाना उसैसँग खानु पर्ने, रातमा उसैलाई काखमा लिएर सुत्नु पर्ने, उसले खानुस् भनेको कुरा खाइदिनु पर्ने, लगाउनु भनेको कुरा लाइदिनु पर्ने आदि यावत् कुरा यन्त्रवत् उसैको खटनपटनमा चल्नु पर्ने भयो मैले।

बिहान कलेज जाने बेलामा आमा। गएँ भनेर जाने गर्थी। अपरान्ह, आमा। भन्दै आइ पुग्थी। उसका अगाडी मैले मलीन अनुहार लगाउन हुन्थेन। उसका आमा-बाबुले मेरो वा रमेशको बारेमा खासखुस गरे हपार्न पुगीहाल्थी। उनीहरु यो बुढीले जुलीलाई मोहनी लगाई भन्ने सोच्दा हुन्। तर उसले मलाईनै मोहनिपाशले फुत्कने नसक्ने बनाई। पतिले परित्याग गरेकी मलाई र बाबुले न्वारननै गर्न नदिएको रमेशलाई जुलीले पति र पितासँग मिलन गराई।

एकदिन बेलुकाको खानापछि जुलीका बाबुले बिबाहको लागि राम्रै केटाको प्रस्ताव आएको बताए। उसकी आमा अर्थात् रजनीले पनि राम्रै मानी तर जुलीले एउटा कठोर शर्त राखी। शर्त के राखी भने – घरको सम्पूर्ण सम्पत्तिको आधा आमाको नाममा पास गराएपछि मात्र उसको बिबाहको कुरा चलाइयोस। तर उसका आमा बाबु केहि नबोली सुत्न गए।
भोलिपल्ट जुलीले आमरण अनशन गरेको घोषणा गरी। बाबु आएर संझाए, आमा चांहिले बिन्तीभाउ गरी, रमेश र मैले पनि अहिल्यै आवश्यक भईसकेको छैन भनेर फकायौं तर उसले जिद्दी छोडिन। उसको माग पुरा नभएसम्म अनशन जारी रहने धम्की दिई। त्यो दिन कोहि काममा गएनन्। सबै बिखलबन्दमा परिरहे। अरुले पानी र चिया सम्म खाए तर जुली पानी खान पनि मानिन, लम्पसार परेर सुतिरही।

बेलुकीपख जुलीका बाबुले भोलिनै मेरा नाममा आधा सम्पत्ति पास गरिदिने प्रण गरे। त्यसपछि त जुलीको मुहार बिजयमोर्चाबाट फर्केको स्वाभिमानी सेनापतिको जस्तो उज्यालो देखियो। उसले उठेर आफ्नै हातले खाना बनाएर सबैलाई खुवाई। आफुले पनि खाएर कपाल दुखेको छ भन्दै सुत्न गई। मा सुत्न जाँदा ऊ मस्त निदाइसकेकी रहिछ। उसको गोरो, बाटुलो, बान्की परेको अनुहार कुनै ध्याननिमग्न सन्यासिनीको जस्तो अत्यन्त प्रियदर्शी लाग्यो, मलाई।

राति मलाई अबेर सम्म निन्द्रा परेन। म अर्थ खोज्न थालें – जुली मेरी सौताको छोरी हो, सामान्यतया सौतेनी आमाप्रति देखिने जलन, घृणा र प्रतिद्वंदिता जुलीमा किन देखा परेन ? जुली किन मेरो अधिकारको लागि ज्यान दिनसम्म उध्ह्वत भई भई ? उसको जिद्दीले गर्दानै रमेश र म सर्बहाराको स्थितिबाट प्रतिष्ठित परिवारका सदस्य बन्न पुग्यौं। उसले नचाहेको भए कुनै न्यायमूर्तिले पनि मेरो हक दिलाउन संभव थिएन। अलिकता आर्थिक राहत दिलाईहाले पनि परिवारका सदस्यका रुपमा लगेर जोड्न सक्ने थिएनन्। एउटा प्रतिष्ठित गृहस्थ जीवन जुलीले मलाई दिलाई।

प्राय: नारी उत्पीडनका कारण नारीहरुनै हुन्छन। बुहारीलाई बुहार्तन कटाउने सासू, नन्द र अमाज्युहरु, बृद्दा सासूलाई बिचल्ली पार्ने बुहारीहरु, पत्नी र बालबच्चा भएकासँग पोइल गएर सौता बनी घर भाँड्ने नारीहरुनै त हुन्। तर जुली नारी मुक्ति आन्दोलनको अप्रितम योद्दा बनी – कमसेकम मेरा लागि।

मलाई यस्तो लाग्यो – मेरो अन्तरवेदनाको संगालो मेरी सौता रजनीको गर्भबाट अवतरित भएछ र त्यसको नाम जुली राखिएछ।

42 Comments

  1. सुर्यमणि सरलाई सम्झंदा !

    सुर्यमणि अधिकारी सर एक सफल र विद्वान इतिहासकार, कुशल र साहसी प्रशासक, आधरणिय र विद्वान गुरु, सछ्यम र बिबेकशील समाज सुधारक हुनुका साथै लोकप्रिय कथाकार र अनि साहित्यकार पनि हुनुहुन्थ्यो !
    वहाँ बिरेन्द्र बहुमुखी क्याम्पस चितवनको क्याम्पस प्रमुख, बालकुमारी कलेज नारायणगढको प्रिन्सिपल, नेपाल पब्लिक क्याम्पस संघको अध्यछ्य, त्रिभुवन बिश्व-बिद्यालयको त्रि. बि. सभासद्, त्रि. बि. अनुगमन समितिको सदश्य, त्रि. बि. इतिहास केन्द्रिय विभागको प्राध्यापक, चितवन साहित्य परिसद्को अध्यछ्य लगायत बिभिन्न सामाजिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थामा आबद्व हुनुहुन्थ्यो !
    वहाँको समयावधिमा बिरेन्द्र बहुमुखी क्याम्पसमा उल्लेखनीय रुपमा व्यापक सुधार भएको थियो ! उहाको पहलमा तत्त्कालिन उपकुलपतिसंग केहि चरणको बार्ता गरि क्याम्पसको नाममा नौ बिगाह जमिन उपलभ्द भएको थियो ! उक्त नौ बिगाह जमिन लागायत् पहिला क्याम्पसको नाममा रहिआएको जग्गामा उहाँ आँफुलेनै बिभिन्न किशिमका उपयोगी रुखका बिरुवाहरु ल्याई आफुनै अग्रशर भै क्याम्पसका सबै संकायका गुरु बर्ग र कर्मचारी बर्गलाई संलग्न हुन् लगाई सल्ला, साल र शिसौका रुखहरु सार्नु भएको थियो ! क्याम्पसमा बिज्ञान तर्फ स्नातक तह र मानविकी तर्फ स्नाकोत्तर तहको पढाई उहाकोनै पहलमा सम्भव भएको थियो ! नेपालकोनै ठुलो पुस्तकालय भित्र पर्ने सबै बिषय र संकायलाई उपयुक्त हुने ठुलो पुस्तकालय पनि जन अनुदानबाट वहाँकोनै पहलमा सम्भव भएको थियो ! वहाँको अबधिमा सबै संकाय र स्तरको पढाईमा उल्लेखनीय रुपमा सुधार भएको थियो !
    त्यस्तै बालकुमारी कलेजमा वहाँको अबधिमा व्यापक सुधार र बिस्तार भएको थियो ! वहाँ बालकुमारी कलेजमा हुँदा उक्त कलेजमा ब्यबस्थापन संकाय प्रमाणपत्र तह र स्नातकतह अनि कानुन प्रमाणपत्र तह मात्र पढाइ हुन्थ्यो ! वहाँको आगमन हुनासाथ् व्यवस्थापन स्नाकोत्तर तह, सी. एम. ए., हेल्थ असिस्टेन, कम्प्युटर बिज्ञान, लगायत अन्य बिबिध तालिम अनि कोर्सहरु संचालन भएको थियो ! कलेज भवन उहाँको अबधिमा भुँई तल्लावाट निर्माण हुँदै हुँदै चौथो तल्ला सम्म पुर्याइयो ! कलेजको प्रांगढमा बिभिन्न किशिमका फल-फुल रोपी अनि कलेजको पछाडिको खालि जग्गामा हजारौं-हजार सिसौ र अन्य उपयोगी रुख रोपी कलेजलाई पछिको लागि आम्दानीको स्रोत तयार गरियो ! बाल कुमारी कलेजमा पनि उहाँको अबधिमा उल्लेखनीय र तुलनात्मक रुपमा पढाइको स्तर र उत्रीण संख्यामा बृद्दी भएको थियो ! वहाको अबधिबाटनै बैज्ञानिक र कम्प्युटर पद्दतिबाट पढाई संचालन हुन् थालेको थियो !
    नेपाल पब्लिक क्याम्पस संघको अधछ्य हुँदा होस् वा चितवन साहित्य परिषद को अधछ्य हुँदा होस् वहाँबाट सदा-सदा बिभिन्न किशिमका संघ संथालाई हर सम्भव र हर किशिमबाट कुनै न कुनै प्रकारबाट सहयोग रहदै आएको छ!
    सुर्यमणि सर मुलत इतिहासबिध हुनुहुन्थ्यो! उहाँले इतिहास सम्बन्धि करिब ४० – ४२ वटा जति पुस्तक लेख्नु भएको छ ! यति मात्र नभई वहाँले त्रि. बि. पाठ्यक्रम अनुरुप इतिहास संकाय प्रमाण पत्र तह, स्नातक तह, स्नाकोत्तर तहका साथ् साथै राजनीतिकशाश्त्र र समाजशास्त्र संकायका लागि आबश्यकीय पुस्तकहरु पनि लेख्नु भएको छ! नेपालमा प्रजातान्त्रिक आन्दोलनको इतिहास लगायत, The Khas Kindom (published by Nirala Publication New Delhi ), नेपाली भाषाको इतिहास, तनहुँ राज्यको इतिहास र लगायत, श्रीमद् भागवत गीता ज्ञान लगायत बिबिध बिषयमा अनगिन्ति पुस्तक लेख्नु भएको छ ! वहाँका गहन लेखहरु साझा प्रकाशनबाट प्रकाशन हुने राष्ट्रिय साहित्यिक माशिक पुस्तकहरु मधुपर्क र गरिमामा प्राय: आई रहन्थ्यो भने स्थानीय पुस्तक र पत्रिकाहरु; बागेश्वरी, नमुना, कोसेली लगायत बिभिन्न पत्र-पत्रिकामा वहाँको लेखले उच्च स्थान पाएको हुन्थ्यो !
    प्रस्तुत् कथा आत्माबतार कथा संग्रहको संगालो कथा जसको मूल: नाम पनि आत्माबतार रहेको छ, बाट साभार गरिएको हो ! यो पुस्तकमा अन्य २० वटा जति रोचक र उत्कृष्ट कथाहरु समावेश छन् ! कतिपय त बिभिन्न साहित्यिक पत्र-पत्रिकामा समाबेश भै सकेका छन् ! MY SANSAR जस्तो हज्जारौं-लाखौँ र अनि राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा छरिएर रहेका नेपालीले मन पराएको ब्लगमा सुर्यमणि सरको कथा पनि प्रकाशित हुँदा अत्यन्त खुशी लगेको छ ! निश्चित रुपमा आत्मावतार एक सरल तर स्तरीय कथा हो ! एकातिर जुनेलीको जीवनको उतार चढावमा आएको परिवर्तन अनुशार आफ्नो पति र सौता प्रतिको उसको दृष्टिकोण, मनोदशाको र तिक्तता चित्रित गरिएको छ भने अर्को तर्फ जुलीको जिद्दी स्वभाबको र अनि रमेशलाई दाईको रुपमा सहज स्वीकार गरि र परित्यक्त भएकी नया आमालाई ईर्ष्या, जलन र घृणाको भावनाबाट पर सरेर न्याय दिलाई समस्त नारी बर्गमा आफ्नो सान उच्च राखेकी छन्!
    धेरै बर्ष अगाडी सुर्यमणि सर जतिखेर पोखरामा ओवरशियर हुनुहुन्थ्यो त्यस बखत उहाँको निरिछणमा पोखराका बिभिन्न सरकारी भवनहरु बनेको थियो ! वहाँ अत्यन्त इमान्दार, कर्मनिष्ठ र सच्रित्र व्यक्ति हुनुहुन्थ्यो ! त्यतिखेर आफ्नो बाल बच्चा पाल्न पनि कतिपय समय वहाँलाई गार्हो पर्यो र पछी उहाँ ठेक्कापट्टा तर्फ मोडिनु भयो तर तत्कालिन समयमा ठेक्का-पट्टामा अत्यन्त लक्कन छप्पन वा तिकडमबाजी चल्थ्यो ! जुनमा सम्झौता गर्नु उहाँको लागि कठिन साबित भयो ! फलस्वरूप: त्यो पेशा सम्पूर्ण रुपमा त्याग गरि शिछ्या पेशालाई पूर्ण रुपमा अंगाल्नु भयो!
    सुर्यमणि सर अत्यन्त सरल, मृदुभाषी, सहयोगी र प्रगतिशील हुनुहुन्थ्यो ! जीवनको पुर्वार्द देखि लिएर उत्तरार्द सम्म वहाँको जीवनमा बिबिध उतार-चढाब आइरह्यो र पनि वहा निरन्तर आफ्नो गन्तब्य तर्फ उन्मुख रहनु भयो! वहाँ स्वर्गबाश हुन् भन्दा केहिदिन अगाडी चितवनको स्थानीय F. M. रेडियो संगको अन्तर्वार्तामा वहाँले अब आँफु इछया रहित अबस्थामा एवं सांशारिक मोहबाट निर्वाण प्राप्तिको अबस्थामा रहेको उल्लेख गर्नु भएको थियो ! त्यतिखेर वहाँको अन्तर्वार्ता रेडियोबाट प्रशारण हुँदा हामि सबैको आँखा आँसुले डब-डबाएको थियो !
    आफ्नो संघर्षमय जीवनका बिबिध आरोह-अवरोहहरुलाई स्वीकार र समाहित गर्दै ४ बर्ष लामो समय अर्बुध जस्तो घातक रोगलाई नियन्त्रणमा लिई अन्तत ५८ बर्षको उमेरमा संशारिक मायामोहबाट मुक्त हुनु भयो ! मेरो हृदयबाट हार्दिक श्रद्दान्जली आदरणीय गुरुवर सुर्य मणि अधिकारीलाई !
    वहाँको धर्मपत्नीको नाम चन्द्र प्रभा हो जो यस बखत् आफ्नो परिवारको बाँकी सदस्यहरुको साथ् सयुंक्त राज्य अमेरिकामा बसोबास गर्नु हुन्छ भन्ने सुनिन्छ !
    समाप्त

  2. वास्तवमा नै यसरि हरेक छोरीले आफ्नी आमा ( सौतेनी आमा ) लाई साथ दिने हो भने, के नारीले दुख पौने थिए होलान …?

  3. जुली मुरी मुरी धन्नेबाद कथा अनुसार रोल खेल्नु भएकोमा

  4. कथा राम्रै लाग्यो धेरै लामो कथा पढ्न रुचाउनेलाई यसले खुराक पुग्दैन तर कथा छोटो भए पनि सान्दर्भिक छ, प्रत्येक समयको घटना क्रमलाई लेख्ने हो भने उपन्यास बन्छ ! नारीको अलग अलग चरित्रलाई चित्रण गरिएको छ यति नै काफी छ !

  5. मलाई त ज्यादै मन पर्यो है यो कथा ! हुनत कथा प्रति मानिशहरुको आ-आफ्नो दृष्टिकोण हुन् सक्छ ! मेरो हिसाबमा त् यो कथा मर्मश्पर्शी, संदेशमुलक, सम्-सामयिक र नेपाली परिबेशमा सत्-प्रतिशत सांधर्विक छ है !

  6. आफ्नो अध्यनकालमा बालकुमारी कलेजको प्रमुख सुर्यमणिसरको मिठो हासोको याद आयो !

  7. जुली त कथाको एक पात्र मात्र हुन् तर यो कथाले समाजमा यस्ता दुखीत घटनाहरुलाई मूल बिषय बनाएर परिबर्तनको सन्देस दिएको हो जस्तो लाग्छ मलाई |

  8. कथा त राम्रो नै हो ,,,,तर अलि अपुरो , अधुरो, के
    भनौ खोइ …… पुरानो श्रीमती संग अचानक भेट हुदा तेहा कमसेकम केहि expresan भएको देखाएको भए अति राम्रो हुन्थ्यो जे होस् धन्येबाद नदिरहन चाही सक्दिन |

  9. “प्राय: नारी उत्पीडनका कारण नारीहरुनै हुन्छन। बुहारीलाई बुहार्तन कटाउने सासू, नन्द र अमाज्युहरु, बृद्दा सासूलाई बिचल्ली पार्ने बुहारीहरु, पत्नी र बालबच्चा भएकासँग पोइल गएर सौता बनी घर भाँड्ने नारीहरुनै त हुन्। तर जुली नारी मुक्ति आन्दोलनको अप्रितम योद्दा बनी – कमसेकम मेरा लागि।”

    यो सब्द बाट नै थाहा हुन्छ नारीहरु प्रति लेखक को सोचाई सायद वास्तविक जुली यस्ती थियिनन जुली वास्तविक जीवनमा कस्ती थिई सोच मग्न बनायो मलाई / तर लेखक को आदर्सबदी कलमले जुली यस्तो हुनुपर्छ / या यस्तो हुनुपर्थ्यो भनेर जुन देखाइयको छ / साह्रै चित्तबुझ्दो //

  10. खै मलाई त बाल कथा पढे झैँ लग्यो…. कथाकारको डिग्री हेरेर कथा पढेको पढ्दा पढ्दै निन्द्रा पो लाग्यो

  11. कथा राम्रो रहेछा आगामी दिनहरुमा mysansar ले येस्तै किसिमको स्तरीय खुराक पस्कोश भन्ने आशा राख्दछु !

  12. कथा लेख्न जानेको तर राम्रो संग चै लेखिएको होइन. कथा सुरुवात सारै राम्रो छ तर बीच बाट कथा सारैनै अप्राकृतिक लाग्छ. एक प्रसङ्ग संग अर्को प्रसङ्ग जोड्दा ध्यान नदिएको झैँ लाग्यो.मलाई तेती सरो चित्त बुझेन है, अबस्ताबिक चिजलाई वास्तविकझैँ लाग्ने गरि कल्पना को संसार मा डूबाउन लेखक अलि चुकेका छन्

  13. कथा त राम्रो नै रहेछा तर अन्तमा स्वदिस्तलागेन अन्त मा पनि कोसिस गरे को भय केहि राम्रो हुन्धयो भने मलाई लागि रहे को छ जे होस् कथा राम्रो पर्ने कोसिस गरेको छ . धन्यवाद l

  14. यो छोटो कथा हो तर कथा अत्यन्त स्तरीय छ ! कथामा धेरै साधारण र सान्धर्भिक बाक्यहरु प्रयोग भएका छन जसले गर्दा जो कसैले पनि यस कथालाई मनन गर्न सक्छ !

    कथाकारको योग्यता, दुरदर्शिता र लेखनकौशल यो कथाबाट स्पष्ट झल्किन्छ ! छोटो कथा मुलत: सामाजिक सेरोफेरो वा परिवेशलाई समेटेर, पारिवारिक, सामाजिक, राजनैतिक र तेस्तै अरु संगति वा विसंगतिहरु प्रस्तुत गर्दै, र अनि मानिसको जीवनमा समयको र परिस्थिको गति संगै परिवर्तन भैरहेको व्यक्तिगत मनो-भावनाहरु पर्दार्पण गर्ने गरिन्छ !

    यो कथामा १. नारीहरुको सहनशिलाता, संबेदनशीलता र बिसम परिस्थितिमा आएको पारिवारिक उतार चढाव अनुसार एकले अर्कालाई सहज रुपमा स्वीकार गरि आफ्नो महानतालाई अझ धेरै उच्चतामा उभाइएको कुरा प्रस्तुत गरिएको छ !
    २. कुशल नारीहरु जो सुकै पुरुष किन नहोस सबै नारीलाई योग्यता अनुसार माया, आदर र सम्मान दियोश भन्ने चाहन राख्छे! यदि पुरुष अपराध गर्छ भने त्यसको परिणाम उसले भोग्नुनै पर्छ भन्ने मान्यता राख्छे भनेर देखाइएको छ !
    ३. पुरुष सत् चरित्रमा रहेको छ भने कसरि नारीहरु पुरुषहरुलाई हृदय देखि स्वीकार गर्छन, चाहे त्यो प्रेमीको रुपमा होश वा पारिवारिक सदस्यको रुपमानै किन नहोश ! ४. समाजमा सबै नारीहरु अशल हुन्छन भन्न सकिन्न ! नारीहरुलाई चोट दिने, मर्माहित गर्ने र आहत बनाउने भूमिकामा नारीहरुनै अगाडी हुन्छन भनि एक किसिमले केहि नारीहरुको खराव चरित्रको पर्दार्पण गरिएको छ ! नारिहरु सुख शयल र बिलाशीताकोलागि कति हद सम्म अगाडी बढेर अर्काको भैरहेको जीवनलाई कसरि लथालिंग र तहस नहस बनाइ आडम्बर युक्त प्रतिष्ठित जीवन यापन गर्न खोज्छन भनि व्यक्त गर्न खोजिएको छ !

    यो कथाको अत्यन्त सानो कमजोरी भनेको १. कहिँ कतै अल्लि ज्यादा भावनायुक्त होकी जस्तो संधर्व देखिन आउँछ तर कथालाई त्यसको पात्रहरुको सम्बेनशिलाता, कुन परिस्थिति वा परिवेशमा लेखिएको हो र मूल रुपमा के अभिव्यक्ति दिन खोजिएको हो त्यो हेर्न पर्ने हुन्छ ! २. कहिँ कतै कुनै बाक्य दोहोरिएको छ सायद सम्पादनमा प्राबिधिक कठिनाइ भएर होला !

    अन्त्यमा आगामी दिनहरुमा पनि mysansar ले येस्तै किसिमको स्तरीय, दर्शनयुक्त र दिशा निर्देश गर्ने शनिवारको खुराक पस्कोश भन्ने आशा राख्दछु !

  15. सनिबार को साहित्य सबै नै पड्नी गर्थ, तर अब यो लेख ले गर्दा अरु padna पनि मन मरेर आयो.

  16. नेपाली फिल्म को कथा जस्तो पो रैछा…….जमाना धेरै अगाडी गैसक्यो २० वर्ष अगाडी भए कथा सान्दर्भिक हुन्थ्यो कि ?

  17. महेश जी मलाई पनि तेस्तै लग्यो/ उहाँ त इतिहासकार पनि हो जस्तो लाग्छ / तर कथा भने त्यति उत्कृस्ट लागेन /

  18. कथा पढी सकेर सबै कमेन्ट भरि आँखा डुलाए | छक्क परे अनि सोच्दै छु साथी हरु लाई किन मन परेन भनेर |

  19. हिन्दि फिल्म जुली हेरेर लेखक ले फटा फट कलम दौडाएका न भए पनि
    जुली फिल्म बनाउने हो भने काइदाको नारीप्रधान फिल्म बन्न जान्छ |

  20. कथाको सुरुवात त एकदम राम्रो छ तर कथाको अन्तभने छेउनटुप्पोको भयो ! कि कथा अझै बाँकि छ र ?
    देव

  21. कथा त्यत्ती सार्हो राम्रो त होइन । तर पनिलेखक को यो प्रयास लाई भने सम्मन गर्नै पर्छ भन्ने हामीलाई लाइराको छ ।

  22. कथा कथा नै हो आफुले छोडेकी श्रीमती भेट्दा रामप्रस्साद मा कुनै भाब नहुनु नै यो कथाको विरस हो अब आजकल जुली जस्ता छोरी त कमै होलान यदि भएमा बाबुआमा ले बिष देलान भन्ने हामीलाई लाइरहायो कथा पढ्दा .

    अधुरो त अधुरो नै हो कि कुन्नि मैले त मेसो नि पाइन सायद साहित्य यस्तै हुन्छहोला

  23. छेउ न टुप्पो को कथा के हो यस्तो ?? अर्को भाग बाँकी छ की ?? छैन भने, अत्यन्तै झुर

    • यो कथा को अर्को बाँकि भाग आर्को नया कथा हुन्छ /

  24. कथा सार्है राम्रो लग्यो,कथाकारलाई धन्यबाद.

  25. यो कथा का लेखक प्रा. डा. सूर्यमणि अधिकारी, ४५-४६ साल तिर बिरेन्द्र बहुमुखी क्याम्पस भरतपुर को क्याम्पस चिफ थिएँ उनी हुन्? कसै लाइ थाहा छ भने भनिदिनुस न.

    • महेशजी, हो उनै हुन् । पछि बालकुमारी कलेजको पनि प्रिन्सिपल थिए अधिकारी सर ।

Comments are closed.