यो जात्रा हेर्न भए आज राति बसन्तपुर जाऔँ


अबेर रातिको समय। मरु सतः अर्थात् काष्ठमण्डपपछाडि रहेको भुति सत्तलबाट धिमे भुस्या नामको एउटा परम्परागत बाजा बजाउँदै गजुर नभएको मन्दिर मरु गणेशस्थाननिरबाट प्याफलतिर अगाडि बढ्छ। त्यसैको पछाडि एउटा सेतो मुकुण्डो लगाएको मान्छे बाहिरिन्छ। जामा पहिरिएको यो मान्छेको आँखा कसैले छोपेको हुन्छ। आँखा छोप्नेले मरु गणेशस्थान आएपछि बल्ल छोपेको हात निकाल्छ। तर पनि यो अचम्मको आकृतिको दुवै हात फैलिएको हुन्छ। ती हातहरु अन्य सहयोगीले समातिरहेका हुन्छन्। संगीतको तालसँगै यो आकृति रातको बेला नगरपरिक्रमा गर्न निस्कन्छ। यो आकृतिको पछि पछि हुन्छ सयौँ मानिसहरु। ती सबै सेतो पहिरनमा हुन्छन्। काठमाडौँमा हरेक वर्ष इन्द्रजात्राका बेला देखिने यो दृश्यको रहस्य के हो त ? आखिर को हुन् यिनी ?



यिनी हुन् दागीँ। डंकिनीको अपभ्रंश रुप मानिन्छ दागीँलाई। यिनी वास्तवमा देवराज इन्द्रकी आमा हुन् रे दागीँको भेषमा काठमाडौँ आएका।

काठमाडौँमा पारिजातको फूल चोर्न आएका इन्द्रलाई यहाँका बासिन्दाले पक्रेर थुनेर राखेपछि उनकी आमा बसुन्धरा आफ्ना छोराको खोजी गर्दै काठमाडौँ आएका रहेछन्। यहाँको दरबारमा इन्द्रलाई चोर झैँ हात बाँधेर राखेको देखेपछि उनले काठमाडौँमा शीत ल्याइदिने वाचा गरेर उनलाई छुटाएछन्। काठमाडौँका बासिन्दालाई मृत आफन्तलाई भेट्न स्वर्ग लैजाने वाचा पनि गरेछन्।

इन्द्रलाई लिएर बसुन्धरा स्वर्ग जान लाग्दा मृत परिवारका आफन्तजनहरु उनीसँगै पछि लागेर गएछन्। अब परेन फसाद ! कहाँ जिउँदो मान्छेलाई स्वर्ग लैजान मिल्नु। स्वर्ग जानका लागि एउटा डाँडाको टुप्पोमा पुगेपछि उनले चलाखी गरिछिन्। नुहाएर पवित्र नभैकन स्वर्ग पस्न मिल्दैन। त्यसैले यकिँ दह अर्थात् इन्द्रदहमा नुहाएर आऊ। थानकोटमा पर्छ यो दह अहिले।

उनीहरु नुहाउँदै गर्दा बाक्लो कुहिरो लाग्छ। त्यही मौकामा इन्द्र र उनकी आमा भाग्छन्।

श्रुतिकथा यही हो। मिति थाहा नभएको बेलादेखि (लिच्छवी कालदेखि पनि भनिन्छ) चलेको यो परम्परा अहिलेसम्म पनि कायमै छ। यो वर्ष आज राति यसो गरिँदैछ। इन्द्रजात्रामा कुमारीको रथ घुमाएर बसन्तपुर पुर्‍याइसकेपछि केही बेर पर्खनुपर्‍यो। त्यसपछि दागीँ निकालियो।


त्यंगःका एक ज्यापु (नेवारमा अरु जस्तो एक जात नभएर त्यसभित्र विभिन्न उपजाति हुन्छ। नेवारभित्रै पनि बाहुनदेखि लिएर कथित दलितसम्म हुन्छन्। नेवारहरुमा कृषि कार्य गर्ने जातिलाई ज्यापु भनिन्छ) ले सेतो मुकुन्डो लगाउँछन्। काष्ठमण्डपपछाडिको भुति सतःबाट आँखा छोपेर उसलाई ल्याइन्छ। उसको हात दुई जना सहयोगीले समाएका हुन्छन्। एक जना तुलाधरको घरमा यो मुकुण्डो राखिएको हुन्छ।

सबैभन्दा अगाडि मरु टोलका ज्यापुहरुको एउटा समूह हुन्छ। याकको रौँ लामो बाँसमा राखेर बनाइएको घुन्याँ घुमाउँदै धिमे भुस्या बजाउँदै अगाडि उनीहरु हिँडेका हुन्छन्। दागीँको पछाडि भने त्यो वर्ष ज्यान गुमाएका मानिसका आफन्तजन हुन्छन्। सबै सेतो पहिरनमा।

बाजाको तालमा यिनीहरु छिटोछिटो हिँड्छन्। हिँड्दा उनीहरुले मृतकको नाममा नौ थरी गेडागुडी बाटोमा छर्दै हिँड्छन्। दागीँको पछि पछि स्वर्गमा गएर घर फर्कने बाटो नबिर्सोस् भन्नलाई यसरी छर्कने चलन चलेको रे।


मरु गणेशस्थानबाट प्याफल हुँदै नरदेवी, असन, इन्द्रचोक, बसन्तपुर, चिकंमुगल, लगन, जैसिदेवल, ह्युमत, भीमसेनस्थान हुँदै काष्ठमण्डप गएर टुंगिन्छ यो यात्रा। यो यात्राको रुटले एउटा खड्गको रुप लिन्छ भनिन्छ। राजा गुणकामदेवले कालीको खड्ग कै आकारमा काठमाडौँ सहरको निर्माण गरेका थिए रे। हाल काठमाडौँ महानगरपालिकाको लोगोमा पनि खड्ग नै राखिएको छ।

यात्रा सकिएपछि भुति सतःमा बाँकी सामान फाल्छन्। मरुहिटीमा मुख धोएर उनीहरु घर फर्कन्छन्। कोही भने राति नै १२ किलोमिटर टाढा थानकोटमा रहेको इन्द्रदहमा नुहाउन भनेर पुग्छन्। राति साढे ११ बजे इन्द्रदह जाँदै गरेका एक जना बूढाले मलाई सुनाउँदै थिए- पहिले त अँध्यारो हुन्थ्यो, बत्ती हुँदैन थियो। चिप्लेर खस्यो कि सीधै स्वर्ग गइन्थ्यो।


दागीँसँगै अर्को एउटा परम्परा पनि हुन्छ जसलाई बौमतः भनिन्छ। यसमा भने सायमि (मानन्धरहरु)को सहभागिता हुन्छ। तेलको काम गर्ने नेवारहरुलाई सायमि भनिन्थ्यो पहिले। बौमतः निकाल्नेहरुले दागीँ र दागीँले बौमतः हेर्नु हुन्न भन्ने गरिन्छ। त्यसैले दागीँले माथिल्लो सहरको परिक्रमा गरेर तल्लो सहर परिक्रमा गर्न हिँड्ने बित्तिकै बौमतः निस्कन्छ माथिल्लो सहरको परिक्रमा गर्न।


बौमतःमा दुई मिटरसम्मको लामो बाँसहरुलाई जुटले बाँधिएको हुन्छ र त्यसमा दीयो बालिएको हुन्छ। दीयोलाई गोबरले टाँसिएको हुन्छ। यो लामो बत्तीले दागीँ कै बाटो पछ्याउँदै नगर परिक्रमा गर्छ। अघिको दागीँ जुलुसमा गएर फर्किएकाहरुले बाटो नबिराउन् भनेर यो बत्तीको जुलुस निकाल्न थालिएको पनि भनिन्छ।

बौमतः जुलुस सकिँदासम्म अबेला भइसकेको हुन्छ। त्यस्तै बिहानको २-३ बज्छ बौमतः यात्रा सकिँदासम्म। त्यसैले विदेशीहरु इन्द्रजात्रामा रथ तान्ने, लाखे, महाकाली नाच हेर्ने गर्छन्, यसमा उनीहरुको आँखा गएको हुँदैन।

[दिनेश मानन्धर, केवल श्रेष्ठसितको कुराकानी र सिनास जर्नल, १९९२ का आधारमा, पहिलो पटक प्रकाशित Sep 5, 2009]

भिडियो हेर्नुस् त, कस्तो हुँदो रहेछ आवाजसँगै छिटो छिटो हिँड्ने यो जुलुस।

16 Comments

  1. बच्चा देखि हेर्दै आएको हो . तर वास्तविक कथा आज थाहा पायो..
    धेरै धेरै धन्यवाद .

  2. धेरै धेरै धन्यवाद सालोक्य जी
    गजब प्रस्तुति पस्कनु भएको छ / कुनै अनर्थ नलागेमा सानो कमेन्ट राख्न चाहन्छु ( यधपी टाईपिंग त्रुटि हुन सक्दछ ):- भाषा शब्दमा पुलिंग / स्त्रिलिंग कहिँ कतै अभाव भएको बाहेक लेख जानकारी मुलक हुनका साथै रोचक छ/ साधुवाद /

  3. कथा सारै राम्रो लग्यो . मलाई त इन्द्र जात्र को कथा को राम्रो ज्ञान पनि थिएन | धन्यबाद लेखक ज्यु र माई संसार पत्रिका लाई

  4. सालोक्यजी ! बास्तवमा भन्ने हो भने ज्यापु बिना नेवार जाति नै अधुरो मानिन्छ / ज्यापुले बिशेष अवसरमा पकाउनेदेखि परम्पराको मुख्य अंश नै ओगटेको हुन्छ /
    – अन्य साथीहरूलाई यो ज्यापु के होला,कुन जाति होला ? भन्ने भ्रम नहोस..ज्यापु भन्नाले; डंगोल, महर्जन, सुवाल आदि नेवारको जातलाई जनाउदछ / बरु सालोक्यजी ज्यापुमा अन्य कुन कुन नेवार थर पर्दछ ?

  5. हाम्रा विभिन्न जात जातिका यस्तो धनी संस्कृतिका हामी नेपाली सबैले गर्व गर्न पर्छ| राजनीति खेल्नेहरुको छलखेल सम्झ्यो कि विरक्त लागेर आउँछ|

  6. हैन, केहि मान्छे हरु कस्ता हुन् ,सुचना सेयर गरेको मा धन्यबाद भनेको कमेन्ट मा पनि रातो मा टिक लगाउने. कमेन्ट नराम्रो लागेर हो वा सालोक्य जी ले पस्केको बिषय बस्तु नराम्रो लागेर हो रातो रंग रोजेको.बिषय बस्तु नराम्रो लागेको हो भने के के कमि कमजोरी छन् औल्यैदिनु पर्छ , नत्र कमेन्ट प्रति को गुनासो हो भने बिचरा कमेन्ट कर्ता ले के नै लेखेको छ र धन्यबाद सिबाय . कसै लाइ धन्यबाद दिदा पनि मन नपर्नु त अती नै भयो नि , हैन र ?

  7. मेरो आफ्नै टोल बाट निस्किने जात्रा भय पनि कथा इतिहास को बारे सुन्न पाउँदा खुसि लग्यो धन्यबाद

  8. कथा चाख लाग्दो छ | स्वर्ग को देउता तेस्मा पनि इन्द्र को काम नै अरुलाई छल्ने ,दुख दिने ,आर्का को स्त्री मा आखा लगाउने (गौतम ह्रीसी) ,धोका दिने आदि छ |उनि पनि सत्ता कै लोभी हुन् |स्वर्ग मा पनि संबिधान न हुदा बेहाल छ , जसले जे पनि गरेका छन् |
    हाम्रा देउता हरुलाई युरोप ,अमेरिका तिर कुनै मतलब रहेन ,नेपाल र भारत मै सिमित रहे |बिभिन्न रुप मा यहि जन्मे ,यहि लिला गरे |
    कहिले काही अल्लाह को जन्नत मा ,कहिले काही क्राइस्ट को हेवेंन मा पनि पाहुना लाग्न जाने ,उनीहरु पनि यहा घुम्न आउने | गरे कति राम्रो हुन्थ्यो ,
    सबारी साधन गतिलो न भएर यो समस्या परेको हुन् सक्छ | जस्तो
    बिष्णु भगवान —गरुड
    गणेश —–मुसा
    सिबजी –साढे
    इन्द्र –एरावत हात्ती
    कुमार –मयुर
    सरस्वती –हास
    यमराज –भैसी
    देबी –सिंह

  9. I Love my culture ,गत वर्ष पनि यस बारेमा पढन पाइएको थियो ,I like it .

Comments are closed.