प्रसंग कतिपय

-लारा/बेलायत-

केन्याकी क्यारोल भन्छे, ‘आर्कषक डिलडौलका लोग्नेभन्दा असल तथा जिम्मेवार लोग्ने पाउनु भाग्य सम्झिनुपर्छ।’ तर, घानाकी डोरिसको भिन्दै राय छ। ऊ भन्छे— ‘मलाई चौडा छाति, करिब ६ फिट उचाई भएको बलिष्ठ पुरुष मनपर्छ। बिहे गरेपछि देखा जाएगा नि! मलाई फेरि यो छोरा—छोरी बनाउनै पर्छ भन्ने रहर छैन। यदि भविष्यको मेरो पार्टनरले मान्यो भने एडप्ट गर्न सकिन्छ। अनाथहरुको के हाम्रो अफ्रिकन मुलुकमा कमि छ र!’

यी अफ्रिकन मूलका दुई भिन्दै धारणा बोकेका सहकर्मीहरुको वार्तालाप म सुनिरहन्छु।

विमति यहीँबाट सुरु हुन्छ।

क्यालरोल आफ्नो तर्कलाई जोड दिंदै भन्छे—जिजस! तँ विश्वास गर्न सक्दिनस् मलाई मार्टिनले साथ नदिएको भए आज म यो स्थितिमा हुन सक्दिन थिएँ। मेरो कैरियर या त केवल गृहिणी नभएपनि, क्लिनर बनेर गुज्रिन्थ्यो। बिहे गरेर बालबच्चा हुँदा मार्टिनले हौसला, साथमात्रै होइन, अनुकूल वातावरण दिएकोमा भगवान तथा मार्टिन दुवैलाई आभार ब्यक्त गर्दछु। क्यारोलको कुरा सुनेर डोरिस उसले नदेख्नेगरि मुख लोपार्छे।

मलाई हाँसो लाग्छ।

ईसाई धर्मकी उपासक क्यारोल अति धार्मिक महिला हुन्। प्रत्येक आईतबार नियमित गिर्जाघर जानु उनको लागि महत्वपुर्ण सूचिभित्र पर्दछ। विपरित, डोरिस ईसाई भएपनि धार्मिक आस्था मनमा हुन्छ किन बखान गर्नु भन्छे। कहिलेकाहिं यिनीहरुको धारणा विपरित हुनु अथवा बाझ्नु पनि उमेरको अन्तरमा पनि हो कि जस्तो लाग्छ। डोरिस अविवाहित क्यारोलभन्दा करिब ५वर्षले कलिली छे। डोरिसलाई आईतबार क्यारोलजस्तो गिर्जाघर जानुभन्दा अंतरंगी साथीहरुसँग हाउस पार्टीमा सरिक हुनु या, साँझमा कुनै पबमा रमाउन बढी रमाइलो लाग्छ।

कैयन् पटक, डोरिस भोलिपल्ट काममा ह्याङ्गओभर हुँदै आएकी छे। अनि, हिजो कस्ता खाले ह्याण्डसम पुरुषसँग दाँजिएर नाइट क्लबमा नाची सबै सुनाउँछे मलाई। किनभने, क्यारोललाई यस्ताखाले गफ मनपर्दैन अथवा, डोरिसको यस्ताखाले जीवनशैली उसको समझ भन्दा बाहिर ठान्दछे। क्यारोल यसकारण पनि डोरिसको निन्दा गर्छे, डोरिस खाली गोरो छालाभएको ब्वाइफ्रेण्ड रुचाउँछे। आफ्नै कालो रंगको छाला छ तर यस्ले आफ्नै समुदायको कालारंगप्रति विभेद गर्छे। मैले यहि प्रसंगमा एकदिन डोरिससँग कुरा उप्काएकी थिएँ, ‘डोरिस, किन तिमीलाई यो गोरोरंगप्रति यत्रो मोह?’ बेपवार्हसाथ हाँस्दै भनेकी थिई—’मेरा छोराछोरी भइहाल्यो भनेपनि, : मिक्स रेस सुन्दर हुन्छ’नि।’ तत्कालै मैले भनेँ, तिमीलाई त बाल—बच्चा मन पर्दैनन्, हैन र? अँ एउटा कुरा, काली भएपनि तिमी सुन्दरी छ्यौ त। उसले जवाबमा, ‘थ्यान्कयु हनी’ भन्दै कालो कफि बनाउन लागि। मौकामा जिस्काएँ—’तिमीलाई ब्ल्याक कफि मन पर्छ तर ब्ल्याक ब्वाइफ्रेण्ड चाहिं मन पर्दैन हगि! यु रेसिष्ट वुमन।’

डोरिस निक्कै घनिष्ट छे त्यसैले म उसलाई सहजताका साथ जिस्काउँछु।

मेरो टिप्पणीले उसलाई कुनै असर पर्दैन।

प्रेमको कुनै भूगोल हुँदैन। आत्मियता साट्न सायद भाषा तथा संस्कृति नगण्य हुन्। तर, आफ्नै भाषा, संस्कृति मिल्ने पुरुषसँग विहे गर्दा त असमम्कदारी एवं धेरै कठिनाईहरुको सामना गर्नुपर्छ। गोरो छालासँग विहे गर्न तम्सिएको यो डोरिसलाई के मात्रै : मिक्स रेस बच्चा मन परेर हो त?

यो कस्तो मानसिकता हो? ऊ नै जानोस्।

यो ग्लोबलाइजेसनको जमानामा क्यारोलको विपरित धारणासँग डोरिसलाई कुनै मतलब छैन।

********************

आफूलाई ‘योंग एट हार्ट’ भन्ने जागरिली अर्की सहकर्मी—मिसेस हडसन। ब्यांकर, धनी लोग्नेको प्रशस्त पैसाले भित्री सुख भन्दा बाहिरी सामाजिक स्टाटस्मात्रै दिएको गुनासो गर्ने डिवोर्सी (पारपाचुके) मिसेस हडसन, पारपाचुके भएयता अधिकांश समयमा समाजसेवामा बिताउँछिन्। छोरा—छोरीले पनि गुँड छोडेर हिंडेपछि एक्लिएकी वृद्धा छुट्टीका बखत संसार चहार्छे।

अवकाश हुन धेरै वर्ष छैन। उनको ब्याख्या अलिक भिन्दै छ। मिसेस हडसन भन्छे, वास्तवमा छाला भन्दा पनि मानसिकता हो। स्टेरियो टाईपका भएका छन् मानिसहरु। फरक केहि छैन कालो—गोरो सबै उस्तै हुन्। धनी—गरिब सबै मान्छेले बर्गिकरण गरेका हुन्। महत्वपुर्ण कुरो, आफ्नो पार्टनरले भौतिक भन्दा मानसिक खुशी दिनुपर्छ भन्ने मान्यता हो।

मिसेस हडसनको अनुभवी भनाईले डोरिसलाई गिज्याएजस्तो लाग्छ। ‘क्यारोल भन्दा कम छैन यो आईमाई पनि।’ मिसेस हडसनले नसुन्ने गरि डोरिस बड्बडाउछे— “बोक्सी।”
ठिकै त भनिन् मिसेस हडसनले। मैले थपें, ‘रंग, जात या धर्ममा म पनि विश्वास गर्दिन।’ सबै ब्यक्ति—ब्यक्तिमा भर पर्ने कुरा हो। देखिनौ, क्यारोल र मार्टिनको जीन्दगी कति इर्ष्या लाग्दो छ। खै! त स्याण्डीले पनि ह्वाईट ब्वाइफ्रेण्ड बनाएकी नै हो तर स्याण्डी प्रेगनेण्ट भएको थाहा पाउन साथ उसलाई किनारा गर्यो। स्याण्डीले के : मिक्स रेस बच्चा मात्रै चाहेकी हो र! हार्दिक इच्छा थिएन होला त्यसलाई इमाान्दार पार्टनरको। हुनेवाला बच्चीको लागि एउा सग्लो परिवारको।

सगोल परिवार भन्दा बो्रकन फेमिलीका युवाहरुमा धेरै अपराधिक तथा लागू—औषध सम्बन्धि समस्याहरु हुँदोरहेछ भन्ने तथ्यांक पाइयो डोरिस आफैं सुनाउदै थिई अघिल्लो साता।

ब्वाईफ्रेण्डले छोडेकी स्याण्डी बच्ची जन्माएर अर्को डेटिंगको तयारीमा छे हिजोआज।
यो कस्तो खालको संस्कार अनि समाज हो?

उत्तरआधुनिक समाज — डोरिसले तत्काल मोडेर जवाब दिंदै भन्छे, अनि सबै त्यस्तो नहोला। ब्रायन हयाण्डसम मात्रै छैनन्, धेरै असल लक्षणहरु छन् उनमा। म विश्वस्त छु, मेरो सम्बन्ध दिर्घ बन्ने छ। उ आफ्नो नयाँ ब्वाईफ्रेण्डको तारिफ गर्छे।

************************

कालो कफि पिउँदैछे काली डोरिस। मिसेस हडसनलाई एउटा प्रेजेण्टेसनको तयारी गर्न निक्कै भागदौड गर्नु छ। मिसेस हडसनलाई जिस्काउँछु— वास्तवमा, यो भागदौडमा ‘गसिपिङ्ग’ पनि केहि त हो, होइन र मिसेस हडसन? माइण्ड रिल्याक्स गराउँछ नि! तपाईको प्रेजेण्टेसनको थिम पनि त्यस्तै त हो, रोज्ने पो कस्तो ‘क्यारोलको जस्तो असल या डोरिसको जस्तो ह्याण्डसम पुरुष?’

गहन नभए पनि विषयहरु कहिलेकाहिं प्रासंगिक हुँदोरहेछ।

फिस्स हाँस्दै जबाब फकाउर्छे मिसेस हडसन—’यु, सिल्ली वुमन।’

बेलायतको कठाग्रिने हिउँद। डोरिस जतिबेला कफि पिउँदै थिई नजिकै क्यारोल उसलाई केहि संझाउँदैथिई—’खोजियो भने जहाँ पनि भेटिन्छन्, खोजिएन भने कहिं भेटिन्न। त्यस्तै हो मानव सौन्दर्य।’

आमा—बाबुले संझाउदा त कानुन लाग्छ भन्ने मुलुकमा क्यारोलको फि्र को डायलग डोरिसलाई कति पनि मन पर्दैन। क्यारोलको सुझाव कफिको वाष्पसँगै उडाउँदै डोरिस बाहिरिन्छे।

म यि दुवैलाई नियाल्दै मनमनै सोच्छ, ‘सायद यहि हो ग्लोबलाइजेसन र नयाँ जेनेरेशन।’

समाप्त।

(लक्ष्मी राई- लाराको हालै प्रकाशित कथा संग्रह ‘पात्रहरुसँग एक साँझ’ बाट)


9 Comments

  1. जुन शुरुवात गर्नु भएको छ ,राम्रो लाग्यो | फेरी आफ्नो बिचार कुनै बेला राख्ने छु

  2. तिन ओटा छुट्टा छुट्टै उमेर समूहको भिन्दा भिन्दै सोचाई लै कथाको रुप दियर सब भन्दा कम उमेरकि पात्र डोरिसको विचारलै नया generation को सोचाई को नाम दियर कथाकार ज्युले आफ्नै कथा संग न्याय गर्न नसके झैँ लाग्यो //

    “डोरिस: मलाई चौडा छाति, करिब ६ फिट उचाई भएको बलिष्ठ पुरुष मनपर्छ। बिहे गरेपछि देखा जाएगा नि!”
    कथा अनुसार यो अभिव्यक्ति दिने युवती १६-२१ बीच को हुनु पर्चा जसलाई आकर्सक व्यक्ति भय पुग्छ भबिस्यमा उनको छोरा छोरी लागु औसध को अम्मली भय पनि उनलाई कुनै गुनासो छैन //

    यस्तो किसिमको सोचाई पश्चिमी समाज मा मात्र हैन हाम्रै नेपाली समाज मा पनि छ्याप छ्याप्ती भेटिन्छ / आज भन्दा २५ वर्ष अघि पनि यस्तै सोचाई पश्चिमी समाज मा या नेपाली समाज मा थिया / तर त्यो सोचाई उमेर को साथ साथै परिबर्तन हुदै ति डोरिस जस्ती पात्र फेरी क्यारोल पात्र मा परिबर्तन हुन्छिन /

    हैन भने २५ वर्ष अघि पनि यहि समाज थियो जहाँ क्यारोल जस्ती पात्र छ्याप छ्याप्ती थिय अहिले ति डोरिस जस्ती पात्र को उमेर ४०-४५ बसको भयको हुनुपर्छ / तर यो समाज मा ४०-४५ वर्ष का उमेर का व्यक्ति हरुले डोरिस जसरि सोच्छन त ? पक्कै पनि सोच्दैन तेसैले अन्त्यमा ” यहि हो नया जेनेरसन” भन्नु को कुनै अर्थ राख्छ जस्तो लाग्दैन //

    • सच्येयाको : हैन भने २५ वर्ष अघि पनि यहि समाज थियो जहाँ डोरिस जस्ती पात्र छ्याप छ्याप्ती थिय /

  3. पश्चिमी परिवेशको विषयवस्तु समेटेको यो कथा मलाई नौलो लाग्नुको साथै राम्रो पनि लाग्यो | पश्चिमा समाजमा अचेल कन्फ्युजन ब्याप्त छ |त्यसमाथि अति वैयक्तिक स्वतन्त्रताको कारण सामाजिक सन्तुलनमा समस्या देखा पर्नु स्वभाविक हो | तर त्यसको अन्ध नक्कलबाट नेपाली समाज सचेत हुनु जरुरि छ | कथाकारलाई बधाई !

  4. लाराजी तपाईको लेखनको प्रभाब अझै राम्रै छ / मेरो मस्तिष्कमा खासगरी कुनैबेला तपाई हंकंग तिरको बसाई हुदा हो क्यार / आरुका फूल अनि होलिका रंगहरु, सायद येही थियो शिर्षक / निक्कै पटक पढे तेस्लाई/ सुदुर बस्तीमा हुर्केको मान्छेलाई त्यो लेखन परिवेश , अनि घटनाका पात्रा आफै झैँ लाग्थ्यो / त्यो भित्र डुबेर रमाउनुको आफ्नै संसार हुदोरहेछ /
    बेलायेतको बसाई रहेपनि त्येस्त बिषय-बस्तुतिर पनि तपाईका कलम चलयमान होश भन्न चाहन्छु /

  5. १. नेपालमा अन्तर जातीय (inter caste) बिबाह होस् या पश्चिममा अन्तर रंगीय (inter color) होस्, यो चाहिं कागजले/कानूनले त स्वीकारेको छ तर व्यवहारमा (छिटफुट उदाहरण बाहेक) उत्रन, सम्राल्लिन सकेको छैन| हुनु पर्ने त अन्तर बिवाह / क्रस मेरिज नै हो, तर केटा केटीको मन मिलेर लगन गाठो बाधे पनि भोलि बाल बच्चा भएपछि मावली, ससुराली, नाता गोता र आफ्नो नजिकको समुदायले उनीहरुलाई गर्ने व्यवहार दुइटा गाग्रोको पानी मिसिएर एउतै भएजस्तो हुनु पर्नेमा कर्कलाको पात र पानी जस्तो हुन जाने गरेको छ| अहिलेको कटु यथार्थ यहि हो|

    २. अर्को कुरा पश्चिमा देश (अमेरिका, बिशेसत:) मा too much freedom (हाम्रो नेपालको भाषामा छाडापन पनि भनेको सुनिन्छ) ले हो कि केले हो high divorce rate, teen pregnancy, pregnancy without a marriage जस्ता केशहरुले गर्दा पारिवारिक/सामाजिक पक्ष मर्माहत अवस्थामा छ! अर्को तर्फ नेपालमा बाबुआमा, नातागोता सबैलाई चित्त बुझाएर, जातभात मिलाएर गर्नु पर्ने जीवन साथीको चयन/बिवाह केवल सम्झौते जोडी भएका केशहरु पनि प्रशस्त छन| तसर्थ अमेरिकाको सामाजिक पक्षमा अलिकति लगाम कस्नु पर्ने र हाम्रो नेपाली परिबेशमा अलिकति लगाम खोल्नु पर्ने हो कि भन्ने मेरो दुइ पैसे सोचाइ!

    • अमेरिकामा लगाम कश्नु जरुरि छैन | नेपालमा चाहि धेरै खोल्नु जरुरि छ |

Comments are closed.