कथाः वेश्या

-राजेश नतांश-

कथाकार, आत्मनिष्ठूर बन्दैछु म।

म वेश्या हुँ, यसो भन्दा मलाई कुनै हिच्चकिचाहट हुँदैन। जब म एकान्तिक हुन्छु, तब विगतका अभिव्यञ्जनाहरुले मेरो घाँटी निमोठ्न थाल्दछन्। प्रश्रव वेदनामा छटपटाइरहेकी स्त्रीझैँ म छट्पटाउन थाल्छु, आफ्नै विगतप्रति। मैले यौनजस्तो नितान्त प्राकृतिक र जैविक तत्वलाई बेचेँ, यौवनलाई पैसासँग साटेँ।

जीवनको यो प्रहरसम्म आइपुग्दा मात्र मैले थाहा पाएँ, कुनै पनि सम्बन्ध कालजयी हुने रैन’छ। सबै सम्बन्ध फिक्का र स्वार्थले लतपोतिएका हुदाँरहेछन्। जीवन सधैँ अस्तव्यस्त, दिनचर्या सबै केरमेर। सधैँको उही दौडधुप, भागमभागमाझ यौटा यान्त्रिक जीवन व्यतीत गरिरहेकी छु म। जीवनमा भाग्य, नियति र संयोग भनेका के हुन ? मलाई थाहा छैन। तर समय एकदम निकृष्ठ हुदोँरै’छ। जसले मेरो जीवन यतिविघ्न उजाड बनाइदियो। समयको यस्तो विकराल रुप यसअघि कहिल्यै अनुभूत गरेकी थिइनँ।

१८ वर्षको ज्यादै संवेदनशील उमेर। राम्रो लाउने, मीठो खाने, रमाइलो गर्ने लगायतका इच्छा, आकांक्षाले बाँधिएको उमेर। तर मेरो त्यो उमेर ज्यादै कष्टमय बित्यो। कति सपनाहरु सजाएकी थिएँ। साकार होलान् भनेर विश्वस्त बनेकी थिएँ। तर अफसोच म हिँडेको समयले सबै त्राहीमाही पारिदियो। खोलाको बाँध फुटेझैँ चुहिएर गए ती नवजात सपनाहरु। जीवन भनेको के हो ? म परिभाषा बुझ्दिन। तर जीवन आफ्नै छनौटमा निर्मित हुने रै’छ। के मैले आफ्नो जीवन यस्तै चाहेकी हुँ त ? अहँ किञ्चित् होइन। भनिन्छ, आफ्नो विगतलाई बिर्सिएर भविष्यको पथमा हिँड्नुपर्छ रे ! तर विगत यस्तो जटिल हुने रै’छ, जसलाई भुल्नु कसैको सामर्थ्यमा रहनेरै’नछ। मान्छेले विगतलाई भूल्यो भने इतिहास रहनेछैन, सभ्यता रहनेछैन।

पाँचथर जिल्लाको पहाडी दुर्गम गाउँ। म त्यहीँ जन्मिएँ, हुर्किएँ। आफ्ना किशोरवयका सम्पूर्ण समय त्यहीँ व्यतीत गरेँ। परिवार गरिबीको चक्रब्यूहँमा थियो। आफ्ना खेतबारीमा उत्पादित खाद्यन्नहरु वर्षभरिका लागि पुग्थेन। सधैँ सरसापट, किनबेच पर्म गरेर बाह्र जनाको परिवार कतिञ्जेल थेग्ला र ? आर्थिक दुरावस्थाले कक्षा ८ सम्मको औपचारिक शिक्षामा नै चित्त बुझाएँ।

सुखद भविष्यको लागि श्रीमान्–श्रीमतीको अर्थ बुझ्दा–नबुझ्दै वैवाहिक सम्बन्धमा बाँधिनुपर्यो। तर सुखद भविष्यको महत्वाकांक्षा केवल दिवास्वप्न थियो। श्रीमान् पनि आर्थिक रुपले त्यति सबल थिएनन्। तीनपुस्ताका सबै परिवारहरु एकै संगोलमा बस्तथे। सबैको फरक–फरक भान्छा र आर्थिक व्यवहार हुन्थ्यो। परिवार पूर्णतः पूख्यौली खेतिकिसानीमा आश्रित थियो। घरका आसलाग्दा पुरुषहरु सबै विदेश गएका थिए, उनीहरुको अत्तोपत्तो थिएन।

विवाह भएको वर्षदिनपछि मैले जुम्ल्याहा छोराछोरी जन्माए। खाने अरु दुई मुखहरु थपिए। जति मेहनत गरे पनि अतिरिक्त बचत गर्न सकिएन। खेतले कमाएको खाएरै सकिन्थ्यो। त्यसमाथि साहूबाट ऋण लिइरहनु पथ्र्यो। आफ्नो नियतिप्रति आजित भएका श्रीमान्ले भने, “मिग्नोन, कति दुःख गर्नु यसरी ? सधैँ साहूको ऋणले जिन्दगी थलिने भयो। अब दुई÷तीन वर्ष विदेश पो भासिनुपर्छ क्यार ! तिमी घरव्यवहार सम्हाल है। उताबाट फर्किए’सी छोराछोरी पढाउनुपर्छ। सानोतिनो व्यवसाय गर्नुपर्छ।” उनी यौटा दूधालु बालकजसरी टाँसिएका थिए त्यो रात। यसअघि कहिल्यै गम्भीर बनेका थिएनन्। उनको त्यो सामिप्यतालाई मैले नकार्न सकिन, आफ्नो स्वीकारोक्ति दिए। तथापि हामीसँग त्यत्रो पैसाको जोगाड थिएन। गाउँमा दूई साहूबाट असी हजार सयकडा पाँच रुपैयाँका दरले ऋण खोजेर उनलाई विदेश उडाएँ।

केही महिना फेरि उही एकान्तिकपन। उनको अनुपस्थितिमा धाराप्रवाह समय कटान हुन्थेन। विछोडको त्यो प्रश्रवक्षण एकदमै क्लिष्ट भए। म अग्नीदहमा जलिरहैँ। औडाह हुन लाग्यो। अत्याधिक यौन चाहनाले चौतर्फी तड्पिन थालेँ। २४÷२५ वर्षको उमेर हुदोँ हुँ। त्यो उमेरमा विवाह गरेका स्त्रीलाई अचाक्ली यौनचाहना हुने रै’छ। म पलापला यौनआवेगले घायल हुन्थेँ।

दिनमा छोराछोरीको हेरचाह, घरायसी काममा व्यस्त हुन्थे तर रातमा नितान्त एक्ली हुन्थेँ। विभिन्न यौनजन्य अनुभूतिहरुले सताइरहन्थ्यो। ओछ्यानको चौघेरामा कुनैपनि पुरुषलाई स–शरीर पाउनथेँ। त्यो समय आगोले पोलेझैँ पोल्थ्यो। म छट्पटाउन थाल्थेँ। श्रीमान्को याद अचाक्ली आउँथ्यो। धेरै समय आत्मरतिमा खर्चिए तर त्यो सबै अप्राकृतिक लाग्न थाल्यो। झन् तड्पन दिन्थ्यो। जथाभावी यौनसम्पर्क राख्नु समाजमा महिलाका लागि चरित्रहीन कार्य हो। समाजले वर्जित गरेको कुरामा मैले विद्रोह गर्नु मूर्खता हुन्थ्यो। अन्ततः केहीगरी मभित्रको ज्वार शान्त हुन सकेन।

घाँसदाउरा, पानीपँधेरो, वनजङ्गल आउँदा–जादा म सदैव यौटा मान्छेलाई देखिरहन्थेँ। ऊ `मधेसतीर ट्रक चलाउँछु’ भन्थ्यो। ऊ जहिल्यै चौतारीमा बसेर मलाई यन्त्रवत् हेरिरहन्थ्यो। अग्लो, श्यामवर्णको बलिष्ठ थियो ऊ।

एकदिन, त्यसैगरी ऊ चौतारीमा सुस्ताएको थियो। म आफ्नो घाँसको भारी बिसाउने बहानामा चौतारीतर्फ गएँ। एकछिन आरामको सास फेरेँ। उसले मलाई `पानी खान्छौ ?’ भनेर आफ्नो हातको बोतल दियो। मैले एकै सासमा पिएँ। उसले मलाई चाउचाउको यौटा पोको पनि हातमा थमाइदियो। मैले धन्यवाद दिएँ।

त्यतिखेर हाम्रो कुनै औपचारिक संवाद भएन। तर त्यसपछिका दिनहरुमा हामी गाढा रंगझैँ नजिकियौँ। ऊ हाम्रो घरदेखि दूई÷चारघर पछाडि आफ्नो साथीकोमा बस्थ्यो। म लुकिछिपी उसलाई भेट्न जान्थेँ। हामी प्रशस्तै ठट्टा गर्दथ्यौँ। कहिलेकाँही हामीबीच गम्भीरप्रकृतिका गफ पनि हुने गर्दथे। फुर्सद हुनासाथ बहाना बनाएर विद्यालयको मैदान, खेतबारी, भीरपाखामा भेटेर घण्टौं कुरा गर्दथ्यौँ।

एकदिन उसले मलाई ठट्टा गर्दै जिस्कायो, “मिग्नोन, कतिञ्जेल यो बुढा नभएको घरमा एक्लै बसिरहन्छ्यौ ? न्यास्रो लागेको छैन ? मसँग जान्छ्यौ ?”

मेरो उत्तर के हुनुपर्ने ? के उसको यो दृष्टताप्रति म प्रतिकार गरुँ ? अहँ, म त्यसरी प्रस्तुत हुन सकिनँ। उसको सहवास मलाई असीम लाग्न थालिसकेको थियो। मैले हठात् भनेँ, “मलाई कहाँ लान्छ्यौ नि ?”

ऊ छिलिएर भन्यो, “तिमी जहाँ भन्छ्यौ त्यहीँ लान सक्छु। आखिर सीप भा’को ड्राइभर हुँ। जहाँ लगेर नि तिम्लाई पाल्न सक्छु।”

“त्यसो भएँ गइदिम्ला नि !” मेरो जिब्रो चिप्लियो। तत्क्षण मलाई पश्चताप भयो। श्रीमान्सँगको त्यत्रो वाचा–कसम कसरी यति छिटो बिर्सिएँ ? म यो के गर्न खोज्दैछु ?

“अनि तिम्रा छोराछोरी नि ?” उसले हतप्रभ भएर यक्षप्रश्न गर्यो।

मैले ठट्टा गर्दै भने, “ति कहाँ मेरा छोराछोरी हुन् र ? उनीहरुका बाउका पो हुन् त। हामी फेरि पाम्ला नि !” अब मलाई कुनै संकोच भएन। ऊसँगको ख्यालठट्टा र भाग्ने तिकडमले मलाई नूतन अनुभूति मिलेको थियो, जसलाई गुमाउनु भनेको विरासतलाई अँगाल्नु सम्झिएँ।

त्यसपछिका हाम्रा समय भाग्ने र भगाउने ठट्टामा केन्द्रित भए। हामी अक्सर जङ्गलमा जान्थ्यौँ। म रुखमा चढेर स्याउला झार्थें ऊ भुइँमा बटुल्थ्यो।

एकदिन, आकाश कालोनिलो भएर धुमल्लिएको थियो। गुँडतिर लागेका चराचुरुङ्गीका आवाज एकदम कर्कश सुनिन्थ्यो। जङ्गलको भित्री भाग अँध्यारो भइसकेको थियो। उसले मलाई सुस्तरी आफ्नो बाहुपासमा खिच्यो। खेलौनाजसरी म उसको काखमा बसेँ। त्यसपछि के–के भयो मलाई थाहा छैन। उसले मेरो प्रथम चरणको तिर्खा मेटाइदियो।

अब म उसलाई छोड्नै नसक्ने भएँ। हामी एकाविहानै त्यो गाउँबाट भाग्यौँ।

कथाकार, मानिसको जीवनमा दुःख कदापि घट्नै रै’नछ। जहाँ गए नि दुःख, मात्र स्वरुप बद्लिने। के जीवनको प्राप्ती दुःख नै हो त ? कि केहो ?

भागेर पूर्वको विर्तामोड आएपछि हाम्रा दिनरातहरु सुखपूर्वक बित्न लागे। मलाई प्यासको अनुभूति हुन्थेन, मेरै बाजुमा बडेमानको धारा थियो।

ऊसँग भागेर विर्तामोड आए पनि मलाई घरको सम्झनाले साह्रै पिरोल्न थाल्यो। फुल्दै गरेको कोपिलालाई जो म निमोठेर आएकी थिएँ। आफ्ना छोराछोरीको सम्झनाले अत्याधिक डस्न थाल्यो। मैले तिनलाई नौं महिना गर्भमा राखेर हुर्काएकी थिएँ। जे भए नि, ती मेरा रगत थिए। आफ्नो रगतको मायाजस्तो अरु केही हुन्न रै’छ। अब म घर फर्किएर जान सक्ने कुनै अवस्था थिएन। म पोइला गएपछि श्रीमान्ले छोराछोरीको हेरचाह गर्ने व्यवस्था मिलाएछन्। साथीले भेटमा भनेकी थिई, “त्यो रण्डीलाई भेटूँ न, जिउँदै जलाइदिन्छु। त्यसले सबै बर्बाद पारी।” उनको त्यो आवेगले मलाई झन् डर पैदा गरायो। जुन स्वभाविक पनि थियो।

कथाकार, यदि तिम्री स्वास्नी कोही परपुरुषसँग सुतेको देख्यौ भने के गर्छौ ? भलै, तिमी नारीवादी कथाकार भएपनि तिम्रो हृदय कठोर बन्नेछ। त्यतिखेरै तिम्री श्रीमती पराई हुनेछे। तिमी उसलाई गलात्याएर घरबाट निकाल्नेछौ। कथाकार, यसमा तिम्रो दोष हुनेछैन। नारीहरु भनेका पुरुषका सम्पत्ति हुन। एउटाको सम्पत्ति अर्काको हुनै सक्दैन। नारीको धर्म भनेको पुरुषको हेरविचारमा आफूलाई समर्पित पार्नु, उसको यौनआवेगलाई शान्त पार्नु, छोराछोरी गर्भमा हुकाईदिनु र सन्तोषको सास फेर्नु हो। यही छ तिमीले बसालेको सामाजिक मान्यता, जसको परिपालना तिमीले पनि गर्नैपर्छ।

जसरी मौसम परिवर्तन हुन्छ, त्यसरी ड्राइभर पनि परिवर्तन हुन थाल्यो। अब ऊ पहिलेजस्तो रसिक रहेन। ऊ दिनानुदिन रक्सी खाएर मसित झगडा गर्न थाल्यो। मलाई हप्काउने, तर्साउने, कुट्ने क्रियाकलाप उसका लागि किम्ती भए।

म भन्थेँ, “म तिम्रा लागि सबै खुसी त्यागेर आएँ। मलाई यस्तो अन्याय गर्न मिल्छ ?”

ऊ भन्थ्यो, “त झिँगे मैले भन्नेबित्तिकै आउनुपर्छ ? भन, अब कोसित भाग्छेस् ?”

म चुपचाप रहन्थे। सबैभन्दा ठूलो गल्ती मैले गरेकी थिए, एकदुई दिन हेलमेल हुनेबित्तिकै यत्तिको खतरा मोल्नु हुन्थेन। अनायासै मैले आफूलाई सम्हालेँ।

जसरी नि जीवन त चल्नुपर्छ। अब बाँकी जीवनलाई सफलतापूर्वक गन्तव्यमा पुर्याउनुपर्छ। मैले परिस्थितिसँग सम्झौता गरेँ।

एकदिन, सानोतिनो निहुँमा ऊ रिसाएर, “जेसुकै गर है। म चैँ हिँडे।” भनेर घरबाट निस्कियो। हप्ता बित्यो, महिना बित्यो तर ऊ फर्किएन। यता, घरबेटीले कोठा भाडा मागेर किचकिच गर्नथाल्यो। मसित भाडा तिर्ने पैसा थिएन। न त काम गर्ने कुनै सीप नै। मैले काम खोज्न थाले। यौटा होटलमा भाँडा माझ्ने काम पाएँ।

भाडा माझेर महिनाको ८ सय हुन्थ्यो। करिब महिनादिन कामगरेपछि मेरो हातखुट्टा पानीले खायो। दिनभरी पानीमा भिज्नाले बिरामी हुदै गएँ।

एकदिन होटल मालिकले काउण्टरमा बोलायो।

“तिमीलाई भाडा माझ्न गाह्रो भएजस्तो छ। के तिमी वेटरको काम गर्छ्यौ ?” उसले भन्यो, “तिमी राम्री पनि छ्यौ। अझ मेहनत गर्यौ भने राम्रो पैसा कमाउछ्यौ।”

म निशर्त तयार भएँ। मैले सोचेँ, ग्राहकले मागेको माछा, मासु, रक्सी र बियर तुरुन्त पुर्याइदिनुपर्छ होला, तब ग्राहक पनि कसो खुसी नहोला र ? तर मैले सोचेविपरित रहेछ। एकछिनमा यौटा मोटो, मातेको, घीनलाग्दो मान्छे आयो। मसित एक प्याक रम माग्यो। मैले काउण्टरबाट तुरुन्त लगिदिएँ। उसले मलाई रम खान कर गर्यो। मैले मानिनँ, कहिल्यै खाएकी थिइनँ। यतिकैमा उसले मलाई जबरजस्ती गर्न थाल्यो। त्यसपछि मेरो हातमा एक हजार राखिदिएर गयो। पछि साहूले `कति पैसा दियो भनेर सोध्यो।’ मैले यथार्थ कुरा बताए। उसले मलाई पाँच सय दियो र आफू पाँच सय राख्यो।

म महिनाको आठ सयमा भाडा माझ्न बसेकी। दिनमै पाँच सय कमाएपछि हर्षित भएँ। भाडा माझ्नुजस्तो गाह्रो काम पनि थिएन। मैले त्यही पेशालाई अँगाल्ने निधो गरेँ। तर मनको एक कुनामा डर लाग्थ्यो। जसलाई मैले महसुस नै गर्न सकिन। अन्ततः म यौनकर्मी महिलामा परिणत भएँ। वेश्या बनेँ।

केही महिनापछि मेरो आसन्न भेट यौटा अनौठो ग्राहकसँग भयो। ऊ राजनीतिक नेताजस्तो देखिन्थ्यो। जहिल्यै आफ्ना साथीहरुसँग रक्सी खाना आउथ्यो। उनीहरुबीच राजनीतिक चर्काचर्की परिरहन्थ्यो। उनीहरु माओ, लेनिन, चे–ग्वेवाराका प्रसङ्ग निकालिरहन्थे। माक्र्सवाद र समाजवादका कुरा गरिरहन्थे।

एकदिन, नेता एक्लै आएको थियो। उसले मलाई यौटा क्याबिनमा बोलायो। ऊ भन्थ्यो, “तिमीहरुको हितमा अब नियम/कानुन बन्नुपर्छ बुझ्यौ ? तिमीहरु यो पेशामा लाग्नु कुनै रहर हैन, बाध्यता हो। अब रेडलाइट एरिया तोकिनुपर्छ, जसबाट तिमीहरुले निर्धक्क आफ्नो व्यवसाय चलाउन सक्छौ।” यस्ता कुरामा मलाई कुनै दिलचस्पी थिएन। म केही प्रतिउत्तर दिदैनथिएँ।

म त्यो रात उसैसँग सुते। विहान उठेर उसले भन्यो, “मसँग हिँड। म तिमीलाई यहाँकोभन्दा डबल दिन्छु।” म तत्क्षण जान तयार भएँ।
नेताले मलाई इटहरी ल्यायो। इटहरी सहर विर्तामोडको तुलनामा ज्यादाँ भीडभाड थियो। धेरै विकसित पनि लाग्यो। उसले मलाई यौटा गेष्ट हाउसमा राख्यो। बजार लगेर उसले मलाई थरिथरिका फेसनदार कपडाहरु खरिद गरिदियो। ऊ भन्थ्यो, “मेरी श्रीमती विदेशमा छे। दुई छोराछोरी काठमाण्डूमा क्याम्पस पढ्छन्। तिमी मेरी सहयोगी बन। म पार्टीको कामले विभिन्न ठाउँमा गइराख्नुपर्छ, तिमी पनि मसितै हिँड। म तिम्लाई सोचेको भन्दा धेरै पैसा दिन्छु।” मैले सहमति जनाए। मलाई लाग्यो, होटलमा दुनियाँसँग सुतेरबस्नुभन्दा त यो यौटेसँग सुत्न बेस हुन्छ।

उसले मलाई आफ्नी स्वास्नीझैँ बनाएर राखेको थियो। मैले चाहेका, खोजेका तमाम कुराहरु मेरो अगाडि राखिदिन्थ्यो। मलाई मोटरसाइकलमा राखेर विभिन्न सहर तथा पार्कहरु घुमाउँथ्यो। उसको यौटै सर्त थियो, ऊसँग रातभरी सुत्नुपर्ने, जुन कार्य मेरो लागि गाह्रो थिएन।

एकदिन म उठ्नमा विलम्ब भयो। म उठ्दा ऊ कोठामा थिएन। उसका सरसामानहरु पनि थिएनन्। मैले सारा वृतान्त म्यानेजरलाई सुनाएँ, उसले मलाई दया देखाएर त्यही बस्न आग्रह गर्यो।

त्यहाँ ठूल्ठूला भुँडी भएका मान्छेहरु आउने गर्दथे। सायद ति सरकारी कर्मचारी थिए क्यार। मैले कहिल्यै सोध्ने आँट गरिन। मैले उनीहरुलाई खुसी परिदिनुपथ्र्यो, उनीहरुको यौनकामना पूरा गरिदिनुपथ्र्यो। गेष्टहाउसमा यस्ता थुप्रै गोप्य कोठाहरु थिए, जहाँ खुल्लमखुल्ला यौनजन्य कारोबार हुन्थ्यो। दिउँसै यौनसम्पर्कको काम हुन्थ्यो। त्यहाँ मजस्ता थुप्रै यौनकर्मी महिलाहरु थिए। दिनमा मेरो भागमा ३/४ जना पुरुषहरु पर्ने गर्दथे। म मूर्तीवत् सुतिदिन्थे। उनीहरु मेरो शरीरमा ताण्डव नृत्य गर्थे। यसरी नै मेरो दिनचर्या व्यतीत हुनथाल्यो। पछि कुरा बुझ्दै जाँदा थाहा पाएँ, त्यो नेता त पेशेवर दलाल पो रहेछ। यसरी जाल फिँजाएर, ऊ यौनकर्मी महिला गेष्टहाउसलाई ल्याइदिदो रहेछ।

यहाँ मजस्तै थुप्रै दुखित बेसाहारा महिलाहरु छन्। उनीहरुका आ–आफ्नै कथाहरु छन्। कोही आफ्नै बाबु र दाजुबाट बलात्कृत भएर घर छोडेर हिँड्नेहरु छन्, कोही आफ्ना छोराछोरीको पालनपोषण/पढाइखर्च जुटाउने आमाहरु छन्, कोही धनी बाउका बिग्रेका छोरीहरु छन्। यिनिहरु सबैका कथा तिमीले लेख्नुपर्छ, कथाकार।

हामीलाई सेना र पुलिसले अचाक्ली सताउँछन्। हाम्रो जीउधनको सुरुक्षा गर्नुपर्ने दायित्व बोकेकाहरु हामीलाई नै लुट्न पछि पर्दैनन्। उनीहरु हामीसँग सुतेर पैसा नतिरी गाली गरेर हिँड्छन्। कतिले हाम्रा थुनचोलीमा राखेका पैसाहरु जबरजस्ती खोस्छन्। कसलाई भनूँ कथाकार यो व्यथा ? – कि यसले मसँग सुतेर पैसा दिएन ! के यिनिहरुलाई कानुनीरुपमा तह लगाउने केही आधार छैन ?

कथाकार, म यौनव्यवसायमा लागेको १० वर्षभन्दा बढी हुन लाग्यो। अब त रजनोवृत्तिको अवस्थामा नि प्रवेश गर्न लागे। शरीरका सम्पूर्ण अवयवहरु खोक्रो भइसकेँ। पुरुषहरु खै के पाउँछन् कोनि यो शरीरबाट ? पहिले–पहिले म यो पेशाबाट मातिएकी थिएँ तर यो कालान्तरमा आफैँलाई घृणा लागेर आयो। तर विकल्प केही छैनन् मसित। यौन व्यवसाय कदापि रहर बन्न सक्दैन। परपुरुष र परस्त्रीगमन कहिल्यै रहर बन्न सक्दैन। यो यौटा बाध्यता हो। सरोकारवालाहरुले यौनकर्मी महिलाहरुलाई जागीरको व्यवस्था गरिदिनुपर्यो कि त अन्य उपाय दिनुपर्छ। यदि यसो गर्न सकिएन भने जसरी नि यौनकर्मी महिलाको संख्या बढ्दै जान्छ। किनकी यो परापूर्वकालदेखि चलिआएको गोप्य थिति हो। जसरी नि चल्छ, चल्छ।

कथाकार, जीवनमा मैले कहिल्यै प्रेमको पूर्ण प्रत्याभूति पाउन सकिन। केही न केही कमि रहिरह्यो। थुप्रै पुरुषहरु मेरो शरीरमा उफ्रिए, आफ्नो विषाक्त वीर्य फ्याके। तर ती केवल यौनतृप्तीका लागि थिए, प्रेमका लागि कदाचित् थिएनन्।

अहिले छोराछोरीको खुब याद आउँछ। उनीहरुका आमा होइन् म। आमा हुदीँ हो त उनीहरुको पालनपोषण गरेर बस्थेँ। संकटमा साहारा दिन्थेँ। मैले यौनरापमा आमाको सबै दायित्वलाई मेटाइदिए। अब आमा भन्ने छैनन् उनीहरु। उनीहरुका नजरमा गिरेकी आईमाई भएकी छु। सुन्दछु, श्रीमानले अर्की विवाह गरेका छैनन् रे। घर फर्किएर जादाँ उनले स्वीकार गर्ने सवाल नै उठ्दैन। फेरि कुन मुखले घर फर्किनु ? एउटी वेश्याले सबैलाई सन्तुष्ट पार्छे तर ऊ कदापि सन्तुष्ट हुन सक्दिन। ऊ भित्रभित्रै सिसाझैँ टुक्रिन्छे, सबैको आर्दश नजरबाट गिर्छे, नम्नकोटीको वस्तु बन्छे ।

अब त जीवनलीला पनि समाप्त हुनेबेला भयो। बेसै हुनेछ, यो समाजबाट यौटी वेश्या घट्नेछे !

28 Comments

  1. यो कथाका कथाकार कुनै (यस्तै २०५३ वा २०५४ शालतिर ) समयमा त्रिभुवन बिश्वबिद्यालयमा लिट्टे भन्ने संघ खोलेर चुनाव लड्नु भएको थियो जस्तो लाग्छ ! कथाकार वा कोहि साथीहरुलाई थाहा भए बताई दिनु हुन्थ्यो कि ? म पनि त्यस ताका किर्तिपुर बिश्वबिद्यालयमा थिंए !

  2. खासै दम छैन कथामा ! न त ठोश मार्ग दर्शननै !

  3. कथा आबश्यकता भन्दा लामो, जटिल शब्द लहरहरुको जन्जाल, अनुपयुक्त निरस र निराशाबादी काव्यात्मक छनकहरु र बासी बिषयबस्तुहरु अनि त्यस्तै जबजस्ती साहित्यिक शब्दको प्रयोगको कारणबाट कथा उच्याहट लाग्दो देखिन आउंछ ! सारांशमा भन्नु पर्दा कथा केवल नारीहरुको समबेदना र सहानुभूति बटुल्नको लागि मात्र लेखिएको जस्तो देखिन आउँछ !

  4. कथा मार्मिक छ संधर्विक पनि हुन् पर्छ नेपालको हालत शाहहरुले राज्य गरे देखिनै जनता हरुलाई प्रसस्त खान लौन पाएको कतै इतिहास छ? तेस्मथी आज सम्मको कुनै सरकार र मन्त्रि हरु भ्रस्ट नभएको कतै नमुना छ ? यो सब हुनु ई बाटो हगुवा सतिको सराप नेताहरु जिम्मेवार छन् कुर्शीको लागि आफ्नै मान्छे को हत्या गर्न सम्म पछी हटेनन भने पछी अरुको के वास्ता होईना? ति गरिब नेपाली दाजु भै दिदि बहिनि एक छाक पेट भरि खान पाए एक्सोरो लाउन पाए कस्तो हुन्थ्यो होला भन्ने सपना देख्न संधर्विक छ अनि अधिकार पनि हो . तर यो देशलै सबैले लुटे अनि आफ्नै जनतालाई भोका नांगा बनाए कसैले के भनेता? के के आयोगहरु गठन भएन, खोइ? कसलाई के कारबाही भो? कसै ले देशको कलकारखाना बेचे, हवैजाहज बेचे जंगल बेचे, नदि बेचे, मन्दिर मठ सम्म बेचे भारत लै सिमा बेचे, तेतिमात्र नभएर चेली बेच्ने गिरोह सम्ममा यी बाटो हगुवा हरु पछी परेनन् यो त नगन्य लिस्ट हुन्. तेसैले हालको सरकारमा औना भएको हाम्रो प्रा. म. डा. बाबुराम भट्टराई माथिको जुन आशा जनताले गरेको छ कमसेकम तेस्को थालनी सम्म गर्न भो भने पनि हामी पूर्ण सहयोगी हुने छौ . भोलि को हाम्रो चेलीहरु को अब्रुक जोगाउन र म बेश्या भन्दा म नेपाली नारी हु गार्वको साथ भन्न पाउन. राता रात करोड पति भएका मन्त्रि हरुलाई कारबाही गरेर यो देशको र जनताको गरिमालै उचा उठ्नु हुन्छ भन्ने आशा गर्दा छौ.

  5. “त झिँगे मैले भन्नेबित्तिकै आउनुपर्छ ? भन, अब कोसित भाग्छेस् ?” सहि लग्यो….

  6. कथा मा h i v र कन्डोम को बारे मा उल्लेख गरे मार्मिक साथ साथै चेतना मुलक पनि हुन्थ्यो कि.

  7. कथा मार्मिक छ आशा राखौ भोलि का दिन हरु मा पनि येस्तई कथा हरु दोहरियोस धन्यवाद मेरोसंसार लाई !!!!!!!!!!

  8. अति राम्रो प्रस्तुति सलल बगेको पानी जस्तो| तर जीवनका खुड्किलाहरुमा स्मय्मका पाइलाहरु भएन भने यस्तै हुन्छ|

  9. हाम्रो समाज कस्तो छ, लोग्ने मान्छे ले जेगर्दा पनि हुन्छ, तर आइमाई केहि गर्ने हक हुदैन !!!!!

  10. मार्मिक कथा, पढ्दा आखा रसाएर आयो लेखक लाई बधाई ……….

  11. यो एउटा प्रतीकात्मक घटना हो l
    आखिर दोष कसको यो समाज को ?
    ति बेश्या को??
    की यो उपभोक्ता बादी समाजको ???

  12. एउटी वेश्याले सबैलाई सन्तुष्ट पार्छे तर ऊ कदापि सन्तुष्ट हुन सक्दिन। ऊ भित्रभित्रै सिसाझैँ टुक्रिन्छे, सबैको आर्दश नजरबाट गिर्छे, नम्नकोटीको वस्तु बन्छे १००% right

  13. “अब त जीवनलीला पनि समाप्त हुनेबेला भयो। बेसै हुनेछ, यो समाजबाट यौटी वेश्या घट्नेछे”……..मार्मिक र उत्कृष्ट लाग्यो|

  14. कथाले बस्ताबिकतालाई समेट्ने खोजेको छ तर अलि लामो भयो अनि रोचक पनि भयन

  15. बिल्कुल सत्य परक छ . यो हाम्रो समाज मा खुला यौन को चर्चा को कमि र यौन लाइ अलि बढी लुकाई राख्ने तर लुकाउन नसक्ने प्रवृति को कारण हो. जहा सम्म बेश्या को दुखद जीवन को कुरा छ दुख को नजर बात हेर्ने हो भने सबै को उस्तै छ दुखद.

  16. असंख्य शब्दहरूको खात जस्तो मात्र लाग्यो किनकि बेश्याको बारेमा लेखिएको नौलो कथा रहेनछ / यो कथा जस्तै सत्य कथा हरेक बेश्यामा हुन्छ /
    एउटा हरफ चाँही ठिकै लाग्यो ” एउटी वेश्याले सबैलाई सन्तुष्ट पार्छे तर ऊ कदापि सन्तुष्ट हुन सक्दिन।”

  17. This is quite fantastic work. this is common heart touching story of lower class family in Nepal. Above 3 million young man leave country to earn just meager 10-15k for his family subsistence. But, the unemployment and underemployment has led to such social wrong doing.
    I have solidarity to people who works for family, lives pathetic life for betterment of his family.
    Karnatak University

  18. कथा मर्मइस्पर्शी र यथार्थपरक छ, कुनै पनि केटी वा महिला आत्मिक र भौतिकरुपले सन्तुसती छ भने रहरले कोही पनि वेश्य बन्दैन धन्यवाद राजेश जी ,

  19. अब त जीवनलीला पनि समाप्त हुनेबेला भयो। बेसै हुनेछ, यो समाजबाट यौटी वेश्या घट्नेछे ! very nice story

  20. नव-बिबाहित महिलामा आफ्नो पुरुषसंग व्यतित गर्न इच्छित सुन्दर पल-प्रतिपलहरु, आफ्नो यौवन एवं उमेर-अवस्थाबाट सृजीत अधिकतम यौन आकान्क्षा र बाध्यात्मक पारिवारिक, सामाजिक एवं आर्थिक परिस्थितिबश तृप्त हुन् नसकेका आफ्ना कुण्ठित यौनावेगहरु अनि त्यस्तै कुण्ठित यौनदशाबाट उत्पन्न र सुरुवातहुन् सक्ने जीवनको उतार-चढावहरु, सामाजिक लान्छनाहरु, सम्झौताहरु, जिजीबिषाको सजीव चित्रण यस कथामा अनुभूति गर्न सकिन्छ !

    नेपाली जन-जीवन र सामाजिक परिवेशमा महिलाहरु यौनकर्मी बन्नु वा बनाइएको बाध्यात्मक परिस्थिति, यौनकर्मी बनिसकेपछिका उत्पीडनहरु, पेशाको क्रममा आफुलाइ प्रताडित र आघात पुर्याउने यौन पिपाशुहरु एवं उनीहरुसंग गर्नु पर्ने सम्झौता अनि त्यस्तै बास्तविक, आत्मियतापुर्वक र हृदयवाट अभिप्रेरित प्रेम अनि सहवाश प्राप्तिमा रुमल्लिन परेका असिम-असिम चाहानाहरुको यथार्थ अनुभूति गराउन यस कथाका कथाकार धेरै हदसम्म सक्षम् देखिन्छन ! mysansar मा प्रकाशित केहि पछिल्ला स्तरीय, दर्शनयुक्त र दिशाबोध गराउने उत्कृष्ट कथाहरु मध्येका केहि कथाहरु; सम्पन्नता पछिको छटपटी – उषा थपलिया, आत्मावतार – प्रा. डा. सुर्यमणि अधिकारी जस्तै यो कथा पनि मुल्यवान रहेको महशुस गरेको छु !

  21. मार्मिक कथा, पढ्दा आखा रसाएर आयो लेखक लाई बधाई ……….

  22. योन आवेग लाई कसै ले रोक्न सक्दैन / येस लाई रोक्न खोज्नु भनेको पृथिबी को बेग लाई रोक्न खोज्नु बराबर हो / तेसैले योन कार्य गर्नु पर्छा तर सबै छेत्र बाट सुरक्छित हुनु पर्छा /
    बिकसित देस मा येस्तई देखे मैले योन कार्य सबै छेत्र बाट सुरक्छित छ /हाम्रो देस मा एस्तो किसीम को चेतना कैले फिर्ला नेपाली जन हरु मा ?
    कमल

  23. यौन ब्यबसायेलाइ कहिले नि मान्यता दिनु हुन्न, बाध्यता भन्दा नि अल्छी हरुको कमैखाने भाडो हो यो पेसा. हजारौ लाखौ ले आफ्नो जीवन गुजारा गरेकै छन् , इट्टा बोकेर परिवार पाल्ने हरुनी छन् ,ठेलामा समान बेचेर कमैखाने हरु नि छन्.दिनरात घास दाउरा गरेर सास फेर्ने फुर्सद नहुने पनि छन्. बेश्या हरुको अनेक बहाना हुन्छन. जब बुडी हुन्छन र बिक्न छाड्छन अनि बल्ल दिमाग खुल्छ यिनीहरुको. टन्न पैसा कमौदा कसैको केहि सुन्दैनन्

    .कथा भन्दा पनि कथा लेख्ने सैली राम्रो छ.

  24. कथाकार, एउटी नारी भएर लेख्न तिमीलाई अझै धेरै मेहनत गर्नु छ।

    फलानाको श्रीमति तिलानासँग भागी भन्ने जस्ता सस्ता समाचारहरु पढ्दै कुनै नारीको मनोवैज्ञानिक विश्लेषण गर्ने उमेर तिम्रो अझै भइसकेको छैन, कथाकार।

    • एलिना जी, कत्रो उमेरमा चाहीँ बेला हुन्छ नि ? मलाई त यो कथा नारीको मनोवैज्ञानिक विश्लेषण भन्दा पनि यौटा सरदर नारीको जीवनको कथा हो जस्तो लाग्यो । पुरुष र महिला समान हुन् । नारीको मनोविज्ञान पुरुषले बुझ्न सक्दैन भन्नु गलत सोचाई हो । मलाई सबैपक्षबाट दमदार कथा लाग्यो, कथाकार !

  25. बेसै हुनेछ, यो समाजबाट यौटी वेश्या घट्नेछे ! मार्मिक कथा….राजेश जी सुन्दर श्रीजनको लागि हार्दिक बधाई..

    • कथा वास्तविक र मन छुने छ ! कथा कारलाई धन्नेबाद ! एउटी महिला लाई म बेश्या हू भन्न कुनै संकोज हुदैन भने,उ भित्रको आत्म मरिसकेको हुन्छ !मात्र हाडमासुको स्थुल सरिर हुन्छ ,जुन पतित नाम मात्रका पुरुष हरुलाई ,यसको आतिनै भोक हुन्छ !त्यसै कारण ,अशिछा ,गरिबी, अज्ञान ताले हजारौ अबला नारी हरु ,एउटी नारी,एउटी सम्मानित महिला ,बेश्या भन्न बाध्य छन् ! यी बाध्य बनाउने अरु कोहि होइन; हाम्रै समाजका बरिष्ट,महान नेता ,हाम्रै दाजुभाई ,र हाम्रै समाजका भद्र भलादमी महापुरुष हुन् [नाम मात्रका ] ……!

Comments are closed.