कथा : मारिलो

-सुनिल संगम/लिस्बोन,पोर्तुगल-

अचम्म लाग्छ इजरायलमा त जाडो मौसममा झरी पो पर्दो रहेछ । उसै त कुन कानमा सुन भने झैं त्यसै त जाडो मौसम फेरी झरी थपिदा त ? भो जाडोको कुरा गरी साध्य छैन । दिनहरु पनि त निकै छोटो छ अचेल । पाँच बजे नै झमक्क साँझ पर्छ । अनि छ–छ महिनामा एक घण्टा घडिको सुई नै घुमाएर यहाँको समयलाई ढिलो र चाँडो पनि पारिदो रहेछ ।

शवाथको दिन अर्थात शनिबार त यहाँ यातायातको साधनहरु केही पनि चल्दैन बजारहरु पनि सबै ठप्प हुन्छ । परिवारहरु सबै एकै ठाउँ भेला भएर मीठा–मीठा परिकारको साथमा भोड्का हिवस्की, वियर, वाईन र अन्य पेयपदार्थहरु अनि चुरोटको सर्को तुँई–तुँई तानेर आन्नदसँग शवाथ मनाउने गर्छन् यहाँका यहुदीहरु । तर बुढो याकुवको लागि शवाथको पनि केही महत्व छैन । अचेल परिवारहरु पनि नभए जस्तै लाग्छ उसलाई । एउटा नाति कहिले काही आउँछ र यसो केही क्षण बसेर जान्छ ।

शवाथको सबै परिकारहरु र आफ्नो परिवारहरु नदेखेको पनि झण्डै चार महिना हुन लागिसकेछ उसले । खै कस्तो रोग लाग्यो कुन्नी बुढोलाई ? उमेर पनि त धेरै भईसकेछ उसको नब्बे पुग्न एक बर्ष मात्र बाँकी छ रे अब । त्यही भएर पनि होला अब त रोगसँग लड्ने क्षेमता पनि छैन उसको ज्यानमा । तर पनि घर परिवार र घर व्यवहार सवै सवैको पीर उत्तिकै छ बुढोलाई । मान्छे जतिसुकै बुढो र असक्त भएर थलिए पनि मनमा होश भए सम्म माया मोह र बाँच्ने रहरहरु कहिले हराउँदो रहेनछ । तसर्थ पनि कहिले काही राजिवसँग याकुब बुढो रिसाउने गर्छ तर विचरा राजिव चाहेर पनि के नै गर्न सक्छ र ? अर्काको देश ! विरानो ठाउँ ! विरानो मान्छेहरु अनि नौलो भाषाहरु तै पनि बुढोलाई आफ्नै हजुर बा सरह हेरविचार गर्दै आई रहेको छ । एउटा सुसारेको कर्तब्य पनि त यही हो । बुढोलाई दिशा, पिसाब गराउनु, उठाउनु, सुताउनु, नुहाउनु, खाना खुवाउनु आदि इत्यादी कामहरु नै राजिवको दिनचर्या हो यसको अलावा मारिलो को सेवा गर्नु पनि उसको लागि त्यतिकै महत्वपुर्ण छ । राजिवकै रेखदेखले अचेल मारिलो पनि निकै तगडा बनिसकेकी छिन् ।

के गर्ने अपाङ्ग र बुढाबुढी सिहार्न भनि दुइ बर्ष अगाडी मात्र यहाँ आईपुगेकी फिलिपिनी युवती मारिलो याकुव बुढो भन्दा अगाडी देखी मुटुको रोग लिएर त्यही अस्पतालमा छिन् । मारिलो ज्यादै सोझी, इमान्दार र सुन्दर युवती हुन् । उनको रोगी तन अनि मनले सधै राजिवको सहयोग पर्खिरहेको हुन्छ । एक दिन राजिव भएन कि मारिलोको मनभरी अनेक थरीका कुराहरु खेल्न थाल्दछ । कतै राजिवले मलाई सहयोग गरेन भने म त यही अस्पतालमा छट्पटाई छट्पटाई मर्ने छु । विरानो देश कस्ले सहयोग गर्ला मलाई आखिर उस्ले जस्तो ? अँ हँ कोही पनि छैन उ जस्तो यो युगमा त ? कहाँको मान्छे ऊ , कहाँको मान्छे म तै पनि यती धेरै सहयोगहरु ! लाउन सम्म गुण लाएका छन् मलाई राजिवले । मेरो लागि उ भगवान नै भएर आएको रहेछ । यति धेरै सहयोग, माया, ममता, आत्मियता त खै आज सम्म कोही कसैबाट पनि पाउन सकेको थिएन मैले । बास्तबमै नेपालीहरु सहयोगी र इमान्दारी पो हँदो रहेछ । राजिव नभैदिएको भए सायद म मरि सक्थें होला । एउटा केटा मान्छे भएर पनि मलाई दिशापिसाब देखी लिएर नुहाईदिने, खुवाई दिने सवै सवै सहयोग ग¥यौ तिमीले । खै राजिव तिमीलाई त घिन पनि नलाग्दो रहेछ । बरु शरमले अलिकति झुक्थ्यैे तर घिन त कहिलेपनि मानेनौ । के गर्ने राजिव ज्यानले नै नसके पछि तसर्थ पनि मैले त सवै सवै लाज शरमहरु पचाएकी छु । अव त बानी पनि परि सक्यो तिम्रो छेउमा त रत्तिभर पनि शरम लाग्दैन मलाई तर पनि आज सम्म भित्री अंगहरु तिमी बाहेक कसैलाई कुनै वेला पनि अर्थात जतिसुकै नसक्ने भए पनि देखाएकी छुइन मैले । कति सोझो र सहयोगी मान्छे तिमी होइन भने यति धेरै सेवा विना स्वार्थ किन ग¥यौ मेरो । म कसरी कहिले तिर्न सकुला तिम्रो ती गुणहरुको ऋण । तिमीलाई भेटे पछि लाग्दैछ आत्मियता र माया ममता त मान्छेको व्यवहारमा हुँदो रहेछ मैले त तिमी बाट सबै कुराहरु पाएकी छु । लाग्दै छ विदेशमा होईन आफ्नै घरमा, आफ्नै परिवारमा अनि आफ्नै मान्छेसँग छु । तब त दिन प्रतिदिन चाँडै सुधार हँुदैछ । मेरो स्वास्थ्यमा पनि मलाई गर्व लाग्छ राजिव तिमी जस्तो मान्छेसँग चिनजान भएकोमा । मान्छे हुनु त तिमी जस्तो पो अँ हँ भेरोन जस्तो होईन । पटक्कै होईन । अचेल मारिलो भनभरी यस्तै यस्तै कुराहरु खेलाउदै भावनामा चुर्लुम्म डुब्ने गर्छिन् ।

कुनै वखत भेरोन भने पछि मरिलो हुरुक्क हुन्थिन् । आफैलाई भन्दा पनि धेरै माया गर्थिन् उनी भेरोनलाई । त्यही मायाले रन्थनीदै टाडा बस्न नसकेर आफु आएको केही महिनामा नै आफ्नै खर्चले झिकाएकी थिइन् भेरोनलाई पनि मारिलोले तर उनको राजकुमार उनी विरामी परेर अस्पताल भर्ना हँदा पनि एक चोटी सम्म उनलाई हेर्न आएन बरु अरु नै केटीसँग लागेर कहिले डिस्को तिर त कहिले कता तिर रमाईलो गर्दै बरालिएर हिड्छ भन्ने कुरा मारिलोले पनि थाहा पाएकी छिन् । तर पनि कैयांै पटक अस्पतालको सैयाबाटै फोन गरिन उनले अँ हँ उताबाट कहिले फोन उठाउँदै उठाएन । उठाओस पनि किन ? भेरोनलाई त केवल झुटो कुरा गरेर बनावटी प्रेम गर्नु थियो । अनि जसरी तसरी भए पनि इजरायल आउनु थियो । पैसा कमाउनु थियो । सोझी मारीलोले कमाएकी पैसा पनि सबै सबै लुटनु थियो । तब त किन भट्थ्यो त विरामी मारिलोलाई ! बरु मारिलो जस्ती कैयौ युवतीहरु फसाउनु छ उसले अनि ती युवतीहरुको यौवनसँग खेल्नु छ । तसर्थ पनि भेरोन मारिलोसँग …………..? एक दिनको कुरा थियो शुक्रबार थियो त्यो दिन दुवैको विदाको दिन । मारिलो र भेरोन समुद्र तिर घुम्न गएका थिए । समुद्रको पानी पनि मारिलोको मन जस्तै सङ्गलो र निलो थियो । छालहरु उठीरहेको थियो । किनारमा बसेर ती जोडी त्यही छालहरु नियाल्दै थिए । वातावरण पनि असाध्यै रमाईलो थियो । समय वितेको पनि पत्तै भएन उनीहरुलाई । विस्तारै साँझ पर्दै गयो । मान्छेहरु पातलिदै गए । तर पनि ती जोडी त्यही छेउछाऊ तिर घुम्दै थिए । थकाईले गर्दा लखतरान भईसकेकी थिईन् मारिलो । कति पटक त फर्किने कुरा पनि नगरेकी होइनन् उनले तर भेरोन पटक्कै मान्दै मानेन । अब त रात पनि परि सकेको थियो । छालहरुको आवाजहरु बहेक पानी पनि केही देखीदैन थियो अध्यारोले गर्दा । ठीक त्यही अध्याँरोको फाईदा उठाउदै भेरोनले मारिलोको यौवन माथि धावा बोल्यो । मारिलोले प्रतिवाद गर्दै कति पटक सम्झाईन् तर यौवनमा मात्तिएको भेरोनले मान्दै मानेन बरु जवरजस्ती हात पात गर्न सम्म पछि परेन उ । मारिलो बल्ल तल्ल फुत्किएर भागेकी थिईन् त्यो रात । त्यही वेला देखि एकाएक भेरोन मारिलोसँग टाढिएको थियो ।

कहिले काही छुटटी पारेर इमी भने आउछिन् । केही वेर रेखदेख गरेर फर्किन्छिन् इमी । वास्तवमा मारिलोको लागि साथी इमी भन्दा पनि धेरै नजिक छ राजिव । इमी पनि मारिलो प्रति राजिवको सहयोग देखेर चकित भएको छ । किन राजिव मारिलोलाई यसरी सहयोग गरिरहेको छ । उनले धेरै पटक यो प्रश्न आफैसँग सोधी सकिन् । अनि मारिलोसँग पनि सोधी सकिन् तर स्पष्ट उत्तरहरु कसैबाट पाउन सकिनन् तर राजिव बाहिरबाट झट्ट हेर्दा चञ्चले र हाउडे जस्तो देखिए पनि भित्री रुपमा गम्भिर स्वभावको मान्छे । अरुको दःख त अँ हँ पटक्कै देख्नै सक्दैन । तसर्थ पनि उसका सहयोगी हातहरु एक्ली, बेसहारा , अनि विरामी नारी मारिलोको सहयोगको लागि फैलीरहेको हो । ईमीको त्यही प्रश्नले गर्दा मारिलोको मन भित्र पनि अचेल राजिव प्रति केही प्रश्नहरु सलबलाउन थालेको छ । आखिर किन राजिवले मेरो लागि यति धेरै दुःखहरु ग¥यो त ? कतै उसले पनि स्वार्थको लागि त होईन ? तर त्यो विरामी ज्यान भन्दा म सँग अरु के नै छ र ! सबै कमाएको पैसा पनि भेरोनले हातपारि हाल्यो, बरु राजिवकै पैसा पो खर्च भएको छ मेरो लागि, के को स्वार्थ हुनु ? निस्वार्थ छ उनका सहयोगहरु । मलाई पाप पनि लाग्छ त्यस्तो कुराहरु सोच्नु पनि । अब त चाँडै ठिक पनि हुन्छु होला । तर पनि राजिवको मलाई अझै आवश्यकता छ । अब त मनले पनि मान्दैन उसैको साथहरु खोजिरहन्छु । झन इमीले ठिक भए पछि उसैसित विहेगर मान्छे धेरै असल रहेछ भने देखि त के भयो भयो ! यत्रो महिना सम्म सहयोग र सेवा त ग¥यौ अब म पनि राजिव तिमीले स्वीकार ग¥यौ भने तिमीलाई जिन्दगी भर सहयोग र साथ दिने निर्णय गर्दैछु । तिमीले स्वीकार्छौ भन्ने विश्वास पनि लाग्दैछ । यदि स्वीकार ग¥यौ भने त संसारकै भाग्यमानी ठान्ने छु म आफुलाई र गरेनौ भने संसारकै अभागीनी सम्झने छु । मान्छे पनि त राम्रो छौ तिमी । गहँु गोरो, लाम्चो अनुहार, नशालु ती आँखाहरु, चुच्चो परेको नाक र चिउँडो अनि अलिकति भित्र छिरेको गाला थोरै घुम्रिएको छोटो केशहरु, पातलो छरितो ज्यान । अनि न धेरै अग्लो न धेरै होचो राजिव तिम्रो कद । मेरो लागि हरहिसाबले योग्य छौ तिमी । ईमीले पनि त जोडी असाध्य मिल्छ तिमीहरुको भन्थिन् । जे सुकै होस आजै यो सबै कुराहरु गर्छु म राजिव तिमीसँग । धेरै पीरहरु बोक्नु पनि हुदैन तसर्थ………..। यस्तै यस्तै कुराहरु सोच्दै थिइन मारिलो ठीक त्यसै वेला उनकै लागि कफि लिएर राजिव आई पुग्यो । मारिलोले हाँस्दै कफि समातिन् । कस्तो छ मारिलो आज तिमीलाई ? राजिवले सोधिहाले । ठीकै छ तर भित्र मनमा धेरै कुराहरु खेलिरहेछ । आज सबै तिमीलाई भनेर मन हलुङ्गो पार्न चाहन्छु म । उनले कफिको गिलास खेलाउदै भनिन् । धेरै पीर बोक्नु हुदैन भरखर त अलि ठिक भएकी छौ । अँ के कुराहरु हो त्यस्तो कफिसप बाहिर घाम पनि छ त्यतै हिडन् त । राजिवको यो कुराले मारिलोको मन भरी खुशीहरु भरीयो र कफि पनि एकछिन्मा सकीन् ।
विहानको कलिलो घाम अनि त्यही माथी जाडो मौसम सबैलाई घाम प्यारो हुन्छ । अरु पनि थिए घाम ताप्नेहरु । एउटा लामो फलामको बुट्टे कर्सीमा गएर बसे मारिलो र राजिव । धुपीका साना रुखहरु अनि गुलाफका राता फुलहरु भरखर कोपिला लाग्दै थिए । एकदुई थुङ्गा फुलेका पनि थिए । अस्पतालका कर्मचारीहरु देखिलिएर विरामी र कुरुवाहरु सवै त्यही सानो पार्कमा आउँथे न्यानो घाम ताप्न र चुरोटको सर्को तान्नको लागि आज पनि मान्छेहरु प्रसस्तै थिए । तर धुपीको पछाडीको कुर्सी भएकोले शान्त नै थियो उनीहरु बसेको ठाउँ । मारिलो नजिकैको गुलाफको पात टिपेर खेलाउदै निहुरी रहेकी थिईन् भने राजिव उनैलाई हेरीरहेका थिए । खै राजिव अब त म तिमी विना बस्नै नसक्ने भै सकेकी छु । मनमा पनि अनेक थरीका कुराहरु खेलीरहन्छ । विना स्वार्थ यतिका महिना सम्म मेरो हेरविचार ग¥यौ तिमीले तर मैले अब जिन्दगी भरी तिमीसँगै रहने निर्णय गरेकी छु । मतलब म तिमीसँगै विहे गर्न चाहन्छु । फरक देश, फरक नागरीक, फरक भाषा र फरक संस्कृति अनि फरक समाजले गर्दा सुरुका दिनहरुमा केही समस्याहरु जरुर आउलान् तर विस्तारै ठिक हुदै जाने छ । सवै भन्दा ठुलो कुरा त मन हो । आत्मा हो । त्यो नै मिलिसकेपछी अरु कुरा त केही पनि होईन जस्तो लाग्छ मलाई । तसर्थ हरेक दृष्टिमा तिमीलाई योग्य जीवनसाथी ठानेकी छु र यो प्रस्ताव राखेकी छु । वरु तिम्रो विचारहरु के छ ? राजिवलाई बोल्ने मौका नै नदिई सबै कुराहरु भनिन् मारिलोले । राजिव टोलाएको टोलाएकै थिए । केही बोल्नै सकेन उसले । मारिलो भन्दै थिईन् आज नै जवाफ फर्काउनु पर्छ तिमीले मलाई । राजिव अझै केही बोलेन । अब दुवै बिच मौनताको बादलहरु उड्दै थिए । ठिक त्यसै बेला अस्पतालकै एउटी कर्मचारी आएर विरामीहरु भित्र जानु भनेर गईन् । त्यस पछी सबै भित्र तिर लागे । राजिवलाई मन सम्हाल्नै गाह्रो भैरहेको छ । अव के गर्ने जिन्दगीलाई कता तिर मोड्ने ? मारिलोलाई के जवाफ फर्काउने ? खै कसरी हुन्छ भनु ? बेग्लै देश, भाषा, संस्कृति अनि समाज । खै कसरी हुन्न भनु ? उनको सोझो मन अनि पवित्र मायाको सराप लाग्ने छ मलाई । यस्तै यस्तै कुराहरु सोचीरहेका राजिव डाक्टरको आवाजले झसङ्ग झस्कन्छ । डाक्टरले भन्दै थियो आज तपाईको याकुलाई घर पठाउँदै छौ । अब केही समस्या छैन उसलाई । राजिवलाई झन खपी नसक्नु हुन्छ । यतिका महिना सम्म रेखदेख गर्दै आएको मारिलोलाई एक्लै छोडेर याकुव बुढाको पछि लाग्नु पर्ने छ उसले । के गर्ने के नगर्ने ? कसरी छोड्ने कसरी ? पीर झन थपीदै आयो उसको मनमा एकपछि अर्को तर पनि वास्तवीकता उसले मारिलोलाई छाड्नै पर्छ । तसर्थ हिम्मत र आँट बटुलेर उ मारिलोको छेउ पुग्यो । राजिवलाई देख्ने वितिकै मारिलो बोलीन राजिव मन त हलुङ्गो भएको छ तर रोगले अति साह्रो पारे जस्तो भएको छ फेरि । राजिव झन केही बोल्नै सकेन । केवल मारिलोलाई हेरी मात्र रहे । किन राजिव केही बोल्दैनौ तिमी ? मारिलो पुनः बोलिन् । अँ मारिलो बुढोलाई घर पठायो तसर्थ तिमीसँग विदा माग्न आएको म । यति भन्दा बढी उसले केही भन्नै सकेन । मारिलोको आँखा एकाएक रसाएर आयो । केही बोल्ने सकीनन् । चुप चाप निहुरी मात्र रहीन् । अनि राजिव निहुरीएको मारिलोको टाउको सुमसुम्याउँदै हतार भयो जान्छु भन्दै निस्किए मन भरी पीडाको आगो सल्काएर । मारिलो अझै निहुरी रहेकी थिइन् । मानांै अब उनीसँग केही गर्ने शत्ति नै छैन ।

बुढोलाई घर ल्याए पनि अँ हँ राजिवलाई शान्ति मिल्दै मिलेन । किन भने उसले विरामी मारिलोलाई आज झनै साह्रो भैरहेछ भन्दा पनि छोडेर आउनु परेको थियो । के गर्ने समय र परिस्थितीसँग त संझौता त सबैले गर्नुपर्दो रहेछ । तसर्थ पनि राजिवले नचाहेरै भए पनि याकुब बुढोको पछि लाग्नु परेको थियो । उसलाई निद्रा पटक्कै लागेन । पल–पल सोझी विरामी मारिलो र उनका सोझा कुराहरु सम्झीरहन्छ उ । खै कस्तो छ कुन्नि अहिले उनलाई ? रोग झन बढेको छ भन्थिन् । के पो गर्ने होला ! सायद मैले केही जवाफ नर्फकाएर हुन सक्छ उसको रोग बढेको ? मुटुको रोग न हो । आ जे सुकै होस हुन्छ भनिदिन्छु म । सोझी इमन्दारी मेहनती छिन् । राम्री पनि त धेरै राम्री छिन् नि । गोरी पुक्क परेको गाला अनि हँसिलो अनुहार अहिले पो रोगले थलिएकी छिन् त । पछि त झन कस्ती राम्री हुन्छिन् मेरी मारिलो । इमीले पनि ठिकै भनेकी हुन् जोडी त असाध्यै मिल्ने रहेछ हाम्रो । दुई तिन बर्ष अझै यतै बसिन्छ पैसा पनि त कमाई हालिन्छ झन दुवै भएर । उनले भनेजस्तै सबै भन्दा ठुलो कुरा त मन न हो । आ जे सुकैहोस विहानै याकुब बुढोलाई भनेर अस्पताल जान्छु र हुन्छ भनिदिन्छु । अनि कति खुशी हुनेछिन् मेरी मारिलो त्यती वेला । मानांै उनको सबै रोग अनि दर्द र पीडाहरु जादु सरी गाएब हुनेछ । बरु याकुब बुढोलाई भोली नै अर्को मान्छे खोज भन्नु पर्ला किन कि मेरी मारिलोलाई अब मैले पुरै समय दिएर चाँडो भन्दा चाँडो निको बनाउनु छ । अनि अस्पतालको सैयाबाट निकाल्नु छ । के भो मारिलो ठिक भए पछी दुवैलाई काम खोजुला नि । जे सुकैभए पनि अब म उनको मन दुखाउँदिन । उज्यालो हुने वितिकै अस्पताल जान्छु म । यस्तै कुराहरु सोच्दा सोच्दै सारा रात अनिदै काटे उसले ।

विहान सवेरै विदा मागेर मारिलो भएको अस्पताल पुग्छ राजिव तर परिस्थिती अर्कै । आधी रातमै उसको मारिलो संसार छोडेर गइसकेकी थिइन् । प्राण जाने समयमा धेरै पटक राजिव………राजिव……….भनेकी थिइन् रे । राजिव आफुलाई पटक्कै सम्हाल्न सक्दैन , अनि त्यही मारिलोको लाश माथी एकनासले घोप्टी रहन्छ । घोप्टी रहन्छ ।

9 Comments

  1. कथा राम्रो छ ….समाज, सस्कृति, रिति रिवाज ,परम्परा भन्दा पनि ठुलो मान्छे को मन र माया हुदोरहैछा …माया भय सबै छ माया नभय केही छैन रहैछा …………….

  2. पत्याउन सजिलो छ यो प्रेम कहानी किनभने-
    राजिव र मोरिलोको सामिप्यता कुनै चिल्लो छाला, गुलाबी गाला. पैसाको लोभ आदि कारणले भएको होइन|
    त्यसैले पाठकको सहानुअभुती पाउन पनि सफल छ|

    त्यस्तै, कथा त्यत्रो आदर्शवादी नभई यथार्थवादी छ किनभने राजीवलाई जीवन साथी बनाउने निर्णयमा मोरिलोले राजीवको निस्वार्थ मानवीय सेवालाई प्रथम कारण बनाए पनि दोस्रोमा चाहिं उसको जिउढालको आकलन गरेकै छे र राजीवले पनि उसको मुटुको बेथा निको हुन्छ र उ पनि त राम्रै छे (फुक्का परेको गाला) भन्ने कुरालाई पनि मध्यनजर राखेर मोरिलोको प्रस्ताब मन्जुर गर्ने पक्षमा पुगेको छ|

    त्यसैले कित्ताकाट गर्दा यो कथालाई मैले चाहिं “राम्रो” कित्तामा राखें; लौ जा..!

  3. बिदेसी जीवनको स्वाभाविक निस्वार्थ प्रेम अनि मानवीय आचरण र काम प्रतिको जिम्मेबारी (इस्रैल) को राम्रो ब्याखा गरिएको कथा

  4. कथा राम्रो रहेछ तर खै के खै के भने जस्तै कता कता हिन्दि फिल्म को कहाँनि सुने जस्तो लग्यो ………..

  5. कथा माया, प्रीतिको रहेछ खासै गहन नभए पनि नराम्रो भन्न मिल्दैन ,

  6. कुनै देशको बिशेष परम्परा र संस्कृति बोकेको एउटा भिन्न खाले चाख लाग्दो शैलीमा लेखिएको राम्रो कथा जसले गर्दा त्यहा नपुगेनी आज त्यहाको थोरै भए नि जानकारी पाइयो

  7. यस्ता कथा धेरै पढियो ,बिरामी र शुसारेको प्रेम ; नया नौलो पन केहि पाहिन मैले

  8. यो कथा मैले इस्रेअल बाटै प्रकासित हुने पत्रिका मा पढेको थिय .. तर कथा राम्रो छ फेरी पढे मैले त …

Comments are closed.