ए भन भन भाइ हो- नभन्ने !

सिस्नुपानी नेपाल (हास्यव्यंग्य संदन) समसामयिक बिषयलाई फरक प्रसंग र शैलीमा प्रस्तुत गर्ने संस्था हो। मनोज गजुरेल, लक्ष्मण गाम्नागे, धीरेन्द्र प्रेमर्षी, टंक आचार्य सहितका श्रष्टा संलग्न सिस्नुपानी नेपालले प्रत्येक वर्ष व्यङ्ग्यात्मक देउसी खेल्दै आएको छ। कान्तिपुर टिभीको कार्यक्रम सरोकारमा मंगलबार यो देउसी प्रसारण भएको थियो। संस्थाका उपाध्यक्ष्य मनोज गजुरेलले देउसीको स्क्रिप्ट हामीलाई उपलब्ध गराएका छन्, आउनुस् इन्टरनेट स्लो भएकाले पढौँ र फास्ट भएकाले भिडियोमा हेरौँ यो व्यङ्ग्यात्मक देउसी।

सिस्नुपानी देउसी – २०६८

भन भन भाइ हो – राम राम
भन भन बैनी हो– राम राम
स्वर मिलाईकन – राम राम राम
राम्ररी भन – रामै राम

जोडले भने – जय जय राम
देशै भरी– रामै राम
प्रधानमन्त्री – बाबुराम
राष्ट्रपति – बरन–राम
विपक्षी नेता – चन्द्र–राम
विद्रोही नेता – बादल राम
ओलीका झोली – पर्शुराम

बाबुराम विचार – दिल्लीराम
सर्कारका मन्त्री – सिल्लीराम
आउने पो हो कि – राज्य राम
भइएने पो हो कि – जिल्लाराम

हाम्रो देशका प्रधानमन्त्री मुस्ताङ्ग चढ्छन् लुरुलुरु नि लै लै
मन्त्राणीलाई प्राडो, प्र.म.ज्युलाई घाँडो
फष्ट लेडीको चुरुफुरु………..

 

सिस्नुपानीको देउसी भिडियोको पहिलो भाग हेर्नुस्-

गच्छेदारको अच्छा भाषन, खोजी गर्ने भ्रष्टाचारी नि लै लै
नखोज न धेर, आफैं ऐना हेर
कालो चस्मा फुकालेर
सबै डाक्टर प्रधानमन्त्री हुदैनन् है पढेर
देउसी खेल्न जाऔं साथी मुस्ताङ् चढेर
जुन पार्टीमा डाक्टर बैद्य त्यही पार्टी रोगी भो
पार्टी रोगी, नेता ढोंगी, जनता जोगी भो

कुद्‍न खोज्ने बाबुराम, बैद्य छिर्के लगाउने
नारानकाजी फुत्त निस्की खाने, अघाउने

मार्क्सबाद हो कि मार्क्स’बेद’ तिम्रो, बुझ्नलाई गाह्रो भो!
प्रचण्डलाई ‘पथ’मा पुग्न कस्तो साह्रो भो

‘बैद्यजी’लाई जंगलतिरै फर्के राम्रो होला नि
जडीबुटी खोज्न लैजाऊ रातो झोला नि

संविधान फल्छ भन्थ्यौ, संघीयता ल्याउँछु भन्थ्यौ नि लै लै
न त संघी यता भो, न त संघी उता भो
उल्टै देश कता कता गो

छ सय एकको लामो ताँती, पुत्ले पाङ्ग्रे भाँती भाँती नि लै लै
संवि धान जप्छन्, म्यादमात्रै थप्छन्
लाग्दैन कि कुरी कुरी
चरी उड्यो भुरुरुरु, पर्शु दिउँसै हरायो
ओलीजीको जोक सुन्दा जोकै डरायो

बल्खु पनि बिरानो भो दिल्लीले नि फाल्दियो
दिल्लीले नि अर्कैलाई टेण्डर हाल्दियो

झलनाथको झिल्के सरकार छ महिना नि रहेन
किन आयो, किन गयो पत्तै भएन

‘वर्तमान परिप्रेक्ष’ माधवजीको नारा हो
न बिर्गाछन्, न सपार्छन् डमी पारा हो?

शुशिलदा र देउवा दाइको काँग्रेसभित्र रडाको
चुनाव हार्ने पालो सधैं पौडेल बूढाको

बुढै बूढा नेता छन्, अझै भन्छन् जवान
युवालाई उठ्नै दिन्नन्, कठै गगन।

मधेशीलाई मुक्ति दिन्छौं भन्छन् नेता मधेशका
काठमाण्डौमा घर ठड्याउँछन्, सयर विदेशका

भ्रष्टाचार अन्त्य गर्छु भन्दै हिड्छन् गच्छेदार
एउटा ऐना किनौं जनता, दिऊँ न उपहार
नेपाली हौं हामी भन्छन्, देश त्यागी कता कता नि लै लै
ऊ बेलामा फाले, अहिले माग्न थाले
एनआरएनले नागरिकता

घाँटी दुख्ने रोग लागे, नजाऊ भाउजू अस्पताल नि लै लै
डाक्टर सिस्टर आउलान्, बेहोस्को सुई लाउलान्
झिकी देलान् पाठेघर।

सिस्नुपानी देउसी भिडियो दोस्रो भाग हेर्नुस्-

ए भन भन भाई हो– के भन्ने?
देउसिरे भन– नभन्ने
स्वर मिलाई भन– नभन्ने
भन्नेचाहीं के त? मिसावट
मिठाई हाम्रा– मिसावट
दबाई हाम्रा– मिसावट
दुधका पोका – मिसावट
गुदपाकका प्याकेट– मिसावट
पानीका बोतल– मिसावट
फलफुलमा केमिकल– मिसावट
तरकारी हाम्रो – मिसावट
सरकारै हाम्रो – मिसावट

सिस्नुपानी देउसी भिडियो तेस्रो भाग हेर्नुस्-

हाम्लाई भने भिषा दिन महिनौंसम्म झुलाउने
भिषैबिना मुसालाई हङ्कङ डुलाउने

भारतको रक्त चन्दन बिरामी पो भएछ
एम्बुलेन्समा चढेर चाइना गएछ

नेपालका टेलिकमले ठूलो आपत् पारेछन्
को को? भन्दा बोको सुनी, झन्डै मारेछन्

जलस्रोतको धनी भन्दै सधैं गीत गाइरहने
१६ घण्टे लोडसेडिङ्को सेडुल आइरहने

राष्ट्र बन्न चाहिएको थ्यो धेरै नेता निपूर्ण
सयौं कुम्भकर्णबीचमा कठै गोकर्ण

अर्थतन्त्र टाट उल्टाउने कस्तो तिम्रो रहर
प्लटिङ गर्ने पल्टने दाई के छ खबर?
भ्याट छल्ने व्यापारी, कर छल्ने तस्कर
सरकारका अघिपछि तिनकै लस्कर

केटी बेच्ने, पासपोर्ट बेच्ने हाम्रा देशका सभासद्
कुन केमिकल दल्ने यिनलाई गर्न सफाचट्

आशिष
ए दिदैछौं आशिष – गनेर
महङ्गी घटोस् – भनेर
ए सुनको भाउ– झन् बढोस्
नूनको भाउ – झन् घटोस्
शेयरको मूल्य – बढ्दो होस्
लोड सेडिङ् सधैं – घट्दो होस्
आयकर तिर्ने – बानी होस्
धारामा सधैं – पानी होस्
सिलिण्डरमा – प्वाल नहोस्
दूतावासको जस्तो – वाल नहोस्
थोत्रा पिलेन – नउडून्
भिरमा गाडी – नगुडून्
मिठाई बासी – नपरोस्
रोगले निम्तो – नगरोस्
कोशेली गुदपाक – नआओस्
आइहालेपनि – नखाओस्
प्रभुले ज्यान – नहरुन्
काशीको बास – नगरुन्
बाबुलाई अल्सर – नलागोस्
छोराले पल्सर – नमागोस्
चोरलाई खेद्ने – लाठी होस्
घरकी जहान – बाठी होस्
देउसीको जस्तो – लय होस्
नेपाली जनताको – जय होस्

सिस्नुपानी देउसीको आशिषको भिडियो हेर्नुस्-

30 Comments

  1. मनोज दाई तपाई को comedy गर्ने तरिका धरै राम्रो cha .

  2. सिस्नुपानी नेपाल लाई धेरै धेरै धन्यवाद छ, साथै आउदा दिन मा पनि यस्तै संदेश मुलक ब्यङ्ग सिर्जना गर्न नचुकोस, यहि आशा राख्दछु

  3. सर्ब प्रथम त प्रिय कार्यक्रम सिस्नोपानी को सम्पूर्ण युनिट परिवार लाई २०६८ को “सुभ दिवाली” को हार्दिक मंगलमय सुभकामना |(उतर)२ प्रगतिको कामना | यो देस को समसामयिक घटनाको
    व्यंगात्मक देउसी टोलि अतिनै मन पर्यो| अन्तमा यो टोलीको ‘असिस’ चाही भुइमा खस्नु नपाई सम्पूर्ण राजनीति ‘नेता’, राजनीति बिज्ञ,तथा अर्थतन्त्र बिज्ञ,व्यापार संघ,साथै पाकेटमार देखि गुन्डा,अपहरणकारी समक्छ पुगोस भन्दै आउदो सालको ‘दिवाली’ मा चाही एस्तो किसिमको ‘असिस’ दिन नपरोस |

  4. के छर यिनीहरुको पनि जे जस्तै आए पनि तेही नेपाली को बानी अरुलाई छेड हान्ने उडाउने आखिर यिनै हरुलाई नै हेर्नुस उनीहरु पनि उसको क्षेत्र बाट लुतिरखेकै छ आखिर सबै तेस्तै हुन् अरुलाई होच्याउने घोच्याउने खुटा तान्ने जसरि हुन्छ आफ्नो पेट भर्ने यो त चलेको चलन नै होनी नेपाल समाज मा किन घोची राख्नु पर्यो येस्तई छ भनेर सबैलाई थाहा चाडै छ अनि यो एस्तो कार्यक्रम हरु बनाउनेले आफ्नो बारेमा नि बनाउनु नि आफ्नो आफुले गरेको कालो कर्तुत हरु पनि आखिर यिनीहरु पनि त चोखो छैनन् आफ्नो आंग्मा भैंसी हिडेको देख्दैन अरुको मा जुम्रा हिडेको देखाउने हुन् सबै ,,,,,,,,,कोइ भन्दा कोइ कम छैन नेता समाचार दाता कर्मचारी प्रधान मन्त्रि सबै सबै आज भन्दा ६ ७ वर्ष अगाडी त जुनै कार्यालय गए पनि पिउन देखि लिएर हाकिम सम्म बहने बाहुन हुन्थ्यो ढोके पनि उनीहरुनै धोका बत्त छिरे देखिने चिया खाने त चियो भन्थ्यो सोजा साजालाई त होलानी यो अब एउटा नियेम कानुन येसरिनै चल्दो हो भनेर सबैलाई आफ्नो आफ्नो तह को माग्दै जान्थ्यो सोझो साझा जनता दिदै जान्थ्यो छि एती सम्म नि गर्यो मानबता को हिंसा गर्ने यिनिहरुनै अहिले लोकतन्त्र के के तन्त्र जे आए पनि यिनीहरुले जनता चुस्न छोदिदैना तेसैले हामी भुक्नु मात्र त हो!!!!!!!!!!!

  5. रामकृष्ण दुवाल हुन् हार्मोनियम बजाउने कलाकार

    • ए बेसरी भन
      खन खन गन,
      निकाल अव भ्रष्टको धन
      तस्करी निस्क्यो बेस्सरी
      त्यसैले चम्क्यो घुसखोरी
      भ्रष्टचारी र तस्करी
      भन्सार र मालपोतमा लस्करी,
      नेपाल देश बदनामीको घुसखोरी,

  6. कति गफ जानेका हुन् नि गाँठे ! रमाइलै लाग्यो !!

  7. रमाईलो लाग्यो मनोज गजुरेल जी को देउसी साथै सबै नेपालीहरुप्रति Happy Tihaar अनि न्हूदँ ११३२ या भिन्तुना .

  8. मामा मनोज गजुरेल नमस्ते यो हजुर को कार्यक्रम सार्रै राम्रो लाग्यो ,पछि पछि पनि यस्तै कार्यक्रम हरु गरि रहनु होस्/

  9. हुन् त् देउसी ,भैली आफ्नो चाढ बाढ हो ,तैपनि किन किन पटक्क मन पर्दैन हो हल्ला गरेको |
    लक्ष्मी पुजा राम्रो ,कुकुर पुजा राम्रो,काग पुजा राम्रो ,देउसी भैली चै सधै देश मा देउसी ,भैली भएर हो कि झ्याउ लाग्छ |

  10. मनोज दाई को विश्व देउसिले सारै मन छोयो ……

  11. एस्तो देउसी त खेलिरनु पर्यो सिस्नुपानी , नेतालाई हैन हाम्लाई चै केहि हाजमोला नै हुन्छ ,
    बेहोसी पछी होसमा आउदा क्या दामी भो …काइता छ ……… हे हे हे

    • भन भन एमाले गुण्डाको भाले,
      सुन सुन कांग्रेस भारतको काले,
      भन भन फोरम भारत संग जोरम
      सुन सुन माओबादी दांगको बादी

  12. निकै मन पर्यो ….हार्मोनियम बजायर गीत गाउने कलाकार को होला ? निकै राम्रो आवाज रहेछ…..

  13. तिहार को उपलक्ष्य मा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदि बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना.

    सिस्नुपानी नेपाल को देउसीरे निकै रमाइलो लाग्यो. यो देउसीरे नेता, ब्यापारी लगायत का घरमा खेल्न पाएता झनै रमाइलो हुन्थ्यो. समय सान्दर्भिक छ देउसीरे. धन्यवाद!!

  14. सारै चोटिलो ,घोचिलो,स्वादिलो समसामइक ,यथार्थपरक धेउसी ,मजा आयो | साधुवाद

  15. A comprehensive presentation on the present situations of the country. I wish the concerned authorities will realize it and put that realization into actions by their heart and mind.

  16. कति राम्रो सिर्जना म त शब्दहरुमा नै बर्णन गर्न सक्दिन ! मुरी मुरी धन्यबाद सिस्नु-पानी टिमलाई!

  17. अहाः साह्रै राम्रो देउसी – धन्यवाद मनोजजी र साथीहरु . यो सुनेर स्वाद परयो

  18. यो सिस्नुपानी नेपाल को कार्यक्रम निकै नै रमाइलो लाग्यो, तिहारको अबसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछु .

  19. निकै राम्रो । यसपालाको देउरी भैलो चांहि सभासद र नेताहरूकै घरघरमा खेल्न पाए रमाइलो हुन्थ्यो ।

  20. हे नेताहरु = चिल्लिने/
    हे जनताहरु = जिल्लिने/
    हाम्रो देश = बिग्रिने/
    धनिहरु = तिघ्रिने /
    गरिबहरु = थन्किने/
    युबाहरु = सन्किने/
    लछारपाटो = नलाउने/
    भाडामाज्ने = बिदेशमा/
    हाकिम खोज्ने =स्वोदेष्मा/
    हाम्रो देसको = येस्तई चाला/
    होस्गर भाईहो = देश नै जाला/

  21. अत्यन्त रसीक, व्यंगात्मक, लयबद्द र बस्ताविकताको सेरोफेरोमा सृजना गरिएको देउशी ! मलाई पनि कता कता देउशी पो खेल्न जान मन लाग्यो है मनोजजीहरु संग ! भिडिओ पनि हेर्न मन लाग्यो तर यो पृष्टमा भिडिओ देख्न सकिन ? शायद उमेशजी भिडिओ पनि अपलोड गर्दै हुनुहुन्छ होला ? अन्त्यमा हाम्रा नेताहरु, कार्यकर्ताहरु, कर्मचारीहरु, प्रहरी प्रशासन, मन्त्रीहरु, सल्लाहकारहरु, प्रधानमन्त्री लगायत राष्ट्रपति महोदयलाई लक्ष्मी माताले सद् बुद्दी दिउन साथै देशको बारेमा केहि गर्ने र गरि छाडने शक्ति प्रदान गरुन भन्दै शुभ दिपावली २०६८ (तद अनुशार ई.स. २०१२) को उपलक्ष्यमा समस्त पाठक बृन्दमा र समस्त नेपालीदाजुभाई-दिदिबहिनीहरुमा सुस्वास्थ्य, दिर्घायु र उत्तोरातर प्रगतिको हार्दिक मंगलमय सुभ-कामना !

  22. शान्ति, शक्ति, सम्पति, स्वरूप, संयम, सादगी, सफलता, समृधि, संस्कार, स्वास्थ, सम्मान, सरस्वति, स्नेहकामना सहित ~!~ शुभ दिपावली ~!~

Comments are closed.