कथाः पवित्रा

-अनन्त लम्साल-

पवित्रालाई दिनभर फुर्सदै जस्तो हुन्छ । बिहानको खाना ख्वाएर पतिदेवलाई स्कुल पठाएपछि घरमा त्यस्तो केही हुदैन । साँझ-बिहान पूजा आरतिको लागि बत्ती कात्छिन् फुर्सदमा । गाईवस्तु छैनन् घाँस काट्नलाई । पहाडको घरमा वस्तुभाउ नभएपछि गर्ने काम नै पो के हुन्छ र ? केही व्यापार व्यवसाय सुरु गर्ने अनि जोई पसल,पोइ स्कुलमा व्यस्त हुने योजनाले नै उनीहरूले गोबर सोहर्ने चाख देखाएनन् । सासु-ससुरा देवरसँग भएकाले बुढाबुढीको देखभाल गरेर भान्छाचौका गर्नुपर्ने बाध्यता पनि थिएन उनमा ।

“कति पल्टिनु बिछ्यौनामा ? रातभर पनि यहीँ, दिनभरि नि यहीँ । रातोदिन पल्टँदापल्टँदा ओछ्यान पनि गनाउन थालिसक्यो ।’ पवित्रालाई वाक्क लाग्छ कहिलेकाहीँ । यसो मन बहलाउन घुम्न जाने मान्छे नन्द, आमाजु पनि कोही छैनन् ! न कुनै घुम्ने ठाउँ नै छ । मान्छेले पनि के भन्लान् फेरि ! पति भनौदोलाई पनि कहिल्यै फुर्सद हुने होइन । हप्तामा एकदिनको छुट्टीमा पनि बिहानदेखि साँझसम्म किताब र कलम छोड्ने होइन ।”प्रायः मुर्मुरिन्छिन् उनी यसैगरी मनमनै ।


माड्सा’पलाई पनि ज्ञान छ- पत्नीको उकुसमुकुस् । ‘के गरोस् बिचरी ! एक दिन होइन, दुई दिन होइन अहोरात्र । न घरमा समय कटाउने कुनै बहाना छ । दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो तैपनि आफूले एउटा टेलिभिजनसम्म किन्न सकिएको छैन । कमसेकम त्यत्ति भएको भए पनि उसलाई पनि त समय काट्ने मेसो हुन्थ्यो । सुने पनि नसुने पनि त्यही एउटा थोत्रो कसेटप्लेयर, ८ वर्षपुरानो, त्यो पनि जिन्दगीको पहिलो कमाइबाट किनेको । अब त बज्दा पनि ‘क्वाँक्क क्वाँक्क’ गर्छ- गाँस घाँटीमा अड्केजस्तो ।’ आफ्नो लाचारी र विवशता एकैसाथ आत्मबोध गर्छन् उनी ।

जिन्दगीमा अझै ठूलो लाचारी पालेर बसेका छन्, निःसन्तान हुनुको लाचारी । बिहे भएको ६ वर्ष लाग्यो, पत्नी उर्वर छिन् पाकेको माटोजस्ती । तर आफूले सन्तान दिन सकेको होइन भन्ने छ तिनको मनमा । आफैँसँग सशङ्कित हुन्छन् उनी, ‘कतै आफैँ पो …!’ शङ्कामा पिरलिएको निकै भयो । पवित्राको बारम्बारको आग्रह बाबजुद पनि डाक्टरसँग सल्लाह माग्न जान सकेका छैनन् उनी । ‘एउटा मात्र पिउसो जन्मिदे’को भए नि बिचरीको इच्छा पनि पूरा हुन्थ्यो, यो लाचारीबाट पनि मुक्त भइन्थ्यो । तर के गर्नू – भगवानले पनि मै जस्तालाई सताउँदा रहेछन् ।’ आफ्नो लाचारीको रिस आफ्नो अकर्मण्यताको झटारो दैवमाथि हान्छन् र दुःखी हुन्छन् माड्सा’प । कहिलेकाहीँ मनमनै अठोट गर्छन्- पत्नीलाई लिएर शहर जाऊँ, राम्रो डाक्टरलाई देखाऊँ । के कसको कमजोरी हो उपचार गराउँदा पनि भैहाल्छ । यसरी रातो दिन भुंग्राको माछोझैँ कति छट्पटाउने – सधैँ यो चालाले त हुँदैन ।’ उनी दह्रो अठोट गरेर घर पुग्छन् । पत्नीको हाउभाउ, वदन र असन्तोष आँखाले उनलाई एकैपटक आक्रमण गरेझैँ लाग्छ । अनि झस्किन्छन् र शहरमा डाक्टरलाई देखाउने योजनालाई तुहाउँछन् । ‘अहिले यत्तिकै होस् । मलाई नै देखाएर कमजोरी बताए भने !- अहँ ! हुँदैन … बरु यत्तिकै होस् … जे त होला … ।’ यस्ता योजनाहरू निकैपल्ट बनाए र भत्काए उनले । त्यसैले मनमा सन्तोष छैन, नुन खाएको कुखुराझैँ झोक्राइरहन्छन्- आत्मग्लानीले जलेको मन सम्हालेर ।

पवित्रा आज पनि खाना खाएर ओछ्यानमै पल्टिइन् । ‘घडीमा ११ बज्न लागेको छ । कहिले काट्ने यो बुढो दिन -‘ अनुहारभरि दिक्दारी सल्बलाउँछन् । पलङको दायाँपट्टी एउटा दराज छ, दराजको माथ्लो भागमा विभिन्न व्यक्तित्वका पुस्तकहरूको लहर छ- मोटा, पातला, रङ्गीविरङ्गी । माड्सा’पले पत्नीकै लागि भनेर पनि निकै पुस्तक ल्याएका छन् तैपनि पवित्रालाई ती केही मनपर्दैनन् । ‘कोरा कल्पनाका भण्डार… कति रमाउनु त्यही कोरामा ।’ उनमा बिस्तारै पुस्तकप्रतिको मोह पनि गौण हुँदै गएको छ । मन अडिँदैन केही चिजमा । सिरानीपट्टी रहेको ड्रेसिङ टेबलमा शृङ्गारपटारका सामानहरू असरल्ल छन्- गाजल, टीका, क्रिम, लिपिस्टिक अनि थुप्रै ।

उनी जुरुक्क उठ्छिन् र मायाले तिनलाई सुम्सुम्याउँछिन् र मिलाएर राख्छिन् । ऐनाअगाडि उभिन्छिन् । आफ्नो अनुहार फुङ्ग उडेझैँ लाग्छ उनलाई, ‘कति दिनदेखि यो मुहारले शृङ्गार पाएकै छैन । हेर कपाल पनि कस्तो खुज्मुज्जिएको -‘ उनी ‘ड्रअर’बाट काइँयो झिकेर कम्मरसम्म पुगेको केश कोर्न थाल्छिन् । क्रिम, पाउडर, गाजल, टीका तर्किब पुर्याएर लगाउँछिन् । एकपल्ट ढल्किएर ऐनाअगाडि उभिन्छिन् । खै के नपुगेको हो… अँऽऽ ‘लिपिस्टिक’ । हुनत पवित्रालाई लाली दल्न मनपर्दैन । रातो दलेको ओठ लिएर बाहिरफेर गर्न लाज लाग्छ । तै पनि आज उनलाई त्यो लाज लाजजस्तो लागेन ।

शृङ्गारको कार्य सकेर उनले फेरि एकपटक ऐनाअगाडि आफूलाई तलदेखि माथिसम्म नियालिन् । बिछट्टै राम्री लाग्यो आफैँलाई, मदिर नयन, मधू चुहिएलाझैँ अधर र सुलुत्त परेको नाक हेरेर भित्रभित्रै रोमाञ्चित भइन् उनी । ‘अब के गर्ने – कता जानू ? यो पर्दा पनि कति छिट्टो मैलो देखिन्छ ! नदेखियोस् पनि किन – अलि रङ्गीन कपडा हालेको भए पो ! पर्दा पनि जोगीको वस्त्रजस्तो छ । कस्तो खाले रङ्ग छानेको होला छान्नेले पनि- आफैँजस्तो उडेको, बेरङ्गी ! केही कुरामा पनि रङ्गीन भएर बाँच्न नजानेको उजाड कहीँको । मनमनै फत्फताइन उनी- पर्दालाई अर्को कुनासम्म सोर्क्याएर । पारिलो घामका किरणहरू कोठाभरि झल्मलाए । ढाड फर्काएर पहार ताप्न मग्न भइन् उनी । ‘लुखुरे बाहुन ! कत्ति दुब्लो ! हेर आँखा धसिएका । कति तल पुगेका – अनुहारमा रगत नै छैनजस्तो । शरीर हेर्यो� फुकीढल्लु । आखिर बल पर्ने काम त के पो गर्छन् र ! त्यही भुरालाई पढाउने त हो । खाना पनि समयमै ख्वाएकै छु । जति गरे नि सधैँ उस्तै,’ टेबलमाथि राखेको पतिदेवको फोटो हेरेर भुत्भुताउँछिन् पवित्रा । उनलाई पतिदेवसँग विरक्ती जाग्न थालेको छ आजभोलि । आफ्नो अवस्था र लोग्नेको हविगत सम्झेर रिस उठ्छ अनि फेरि बर्बराउँछिन्- ‘नामर्द ! अहिलेसम्म स्वास्नीको यत्ति सानो रहर पनि पूरा गर्नसक्ने होइन ! ६ वर्षहुन लागिसक्यो, काख रित्तै छ । टुकुटुकु हिँड्ने छोरा खेलाउने रहर पनि मर्न लागिसक्यो । आफूभन्दा पछि बिहे गरेकी बहिनीको काखभरिको छोरा छ । श्रीमान हट्टाकट्टा र रसिक छ । पार्वती, तुलसा, सपना सबै आमा बनिसके । आफू भने सधैँ यस्तै ! आफ्नाको त झन् के कुरा सधैँ बिरामी जस्ता । खल्वाट, शरीरमा ताकतै नभएजस्ता ।’ उनलाई पतिदेवको शरीर देखेर पनि झर्को लाग्न थालिसक्यो । कहिल्यै फुर्तिलो भएन पतिको शरीर उनको सामुन्ने । तकियालाई अझै तानेर काखीमुनि पार्छिन् अनि फेरि सोच्छिन् ‘हैन, यसरी सबै कुरामा उहाँलाई नै दोष दिनुहुन्न मैले के पत्तो – न … आफ्नै पो कमजोरी हो कि ! आफैँमा दोष रहेछ भने – फेरि के गर्नू -‘ हैरान छिन् पवित्रा ।

अर्न्तर्द्वन्द्व चलिरहेको छ, खरोखास दोष कसको ? श्रीमानलाई सम्झिइन् । फेरि आफैँलाई सोचिन् । सोचाइका घनिभूत तरङ्गहरूले उनमा उछालेको घनचक्करको ओखतीले पत्नी हुनुको कारण मागिरहेको छ र मागिरहेको छ- नारीको आमा बन्ने अधिकारको भाग । ‘ममा के कमजोरी हुन सक्ला र ! रसिली छु, सबै अङ्ग पुष्ट छन्, भरिला छन्, मात्र निचोरेर रस निकाल्ने भन्ने आफ्नै पुरुष लाचार छ । यस्तो फक्रेको गुलाबझैँ शरीरमा के दोष होला – हैन, कमजोरी उहाँकै हो । सधैँ बिरामीबाट उठेजस्तो, गलित । हात पाखुरामा बलै छैन । छाती भासिएर हड्डीले बिझाउलाजस्तो । ‘नारीले पुरुषको अँगालोमा बाँधिँदा अलिकति त चैनको अनुभव गर्न पाउनुपर्ने नि ! तर, उहाँमा त्यो बलिष्ठता पटक्कै छैन, सधैँ चिसो ।’ आफैँ तातेको पवित्राको छाती फेरि चिसो भयो र मनमा उठेको पसिनाको सपना एकाएक सेलायो । ढुङ्गाघरे शुक्र, माथिको पदम, सुलोचनाको बुढो कति बलिष्ठ छन्- हेर्दै डाहा लाग्ने । तिनका स्वास्नीहरू हँसिला छन् । सबैको मन खुसी छ । अरूको के कुरा माथ्लाघरे गोथे भास्कर नै हेरौँ न, ‘अधबेस्रो नै भए पनि कस्तो जब्बर, बटारिएका हातपाखुरा बज्याको ,एक पलटमै पानीपानी पार्लाजस्तो । कत्रा तिक्रा ! आहा ! केराका थम्बाजस्ता ।’

पवित्राका मनमा एकपछि अर्को गर्दै कुराहरू खेलिरहे । अरूलाई हेरेर मनको लड्डु खानुपर्ने पवित्राको नियतिमा यस्ता रोमाञ्चक चित्रहरू धेरै आउँछन् आँखाअगाडि र विलुप्त हुन्छन् क्रमशः । ‘अस्ति धारामा त्यत्रा आइमाईको अगाडि तुलसीले त्यसो भन्दा कम्ता लाजमर्नु भएन । पख्, एउटा छोरा नजन्माई…! तिमीहरूको मुखमा ठेडी कोच्ने दिन पनि त आउलान् नि !’ प्रतिशोधको आगोमा तिनी रातो र तातो हुन्छिन् पटकपटक । पवित्रा बिस्ताराबाट जुरुक्क उठ्छिन् । ढोकाको चुकुल लगाउँछिन् । आफैँले खोलेको पर्दा बन्द गर्छिन् । थचक्क कुर्सिमा बसेर कोठाको चारैतिर नजर डुलाउँछिन् । एकप्रकारको धकले उनको मुटुको रफ्तार तेज हुँदै गएको छ । दराजको लामो ऐनाअगाडि उभिएर उनी शनैः शनैः आफ्ना वस्त्रहरू खोल्दै जान्छिन् । सारीको सप्कोसँगै लुकेका पुष्ट वदन खुल्ला हावामा कावा खान हत्तारिएर कत्तिखेर फालहालुँला झैँ गरेका छन् । उनलाई ब्लाउजको टाँक खोल्न पनि हम्मेहम्मे पर्योल । आफ्नै हातमा विद्युत् प्रवाह भएझैँ लागिरहेछ उनलाई । अटेसमटेस भएर खाँदिएका, छोपिएका, उकुसमुकुसमा वाफिएका अङ्गहरूले खुल्ला हावामा आफूलाई बहलाउन मेसो आयो पवित्राको ।

पवित्रा निर्वस्त्र ऐनाअघि उभिइन्- लाज र सङ्कोचले । विशाल वक्षस्थल, गहिरो नाभी, चितुवाको झैँ लामो र पातलो ढाड, भुक्क उठेका सफेद नितम्ब, र्सपझैँ बगेर नितम्बसम्म झुलिरहेका केशरासी, आफैँभित्रको पानीमा लत्पत्तिएर काउकुती लगाउँदै आएका मोटा जाँघ । उफ ! चिहाईचिहाई, जोखीजोखी आफ्ना सम्पूर्ण अङ्गहरूको नापतौल गर्दा पवित्रा लल्याकलुलुक परेकी छिन् । आफ्नो देहप्रति लजाइन् उनी । आफ्नै प्रतिरूपलाई ऐनामा हेर्ने आँट पनि आएन तिनमा । निर्वस्त्र नाङ्गिएकी पवित्रा ओछ्यानमा डङ्रङ्ग लडिन् । आफ्ना अङ्गहरूलाई मायाले सुम्सुम्याइन् । ओल्टाइपल्टाइ गरिन् । न्यानो सिरकभित्र आफ्ना कोमल अङ्गहरू सुम्सुम्याउँदा बेग्लै काउकुती लाग्यो । शरीरमा नयाँ तरङ्ग पैदा भयो । ‘आजसम्म यो ओछ्यानमा म यसरी पूर्णत नाङ्गिएकी नै छैन, मैले आँट नगरे पनि लोग्ने भन्नेले त बल गर्न सक्छ नि !’ तर बिचरा ! के गरून् हुतिहाराले । ‘यो कुल्कुलाउँदो विरुवामा खनी खोस्री मलजल गरे पो फसल दिन्छ । त्यस्तो कहिल्यै जानेको भए पो त ! म त पक्कै बाँझी होइन’ तिनलाई रिसको पारो चढ्यो । चिच्याउन मन लागेको थियो संसारको सामुन्ने- ‘म बाँझी हुँदै होइन, मेरो पुरुष नामर्द हो, नपुङ्सक हो । नभए हे बलिष्ठ पुरुषहरू ! आऊ, मलाई भोगेर हेर ।’ मनमनै पवित्राले निश्चय गरिन्- ‘उहाँमै बाँझोपन छ, मेरो दोष होइन । पवित्राको तराजुमा माड्सा’प निकै हलुङ्गो भए, पवित्रा निकै वजनदार ।’

भाष्करलाई ‘भाष्कर बहुला’ भन्छन् गाउँले । वास्तवमा बहुला नै हो त्यो । घरमा त्यसको कुनै गन्ती छैन, कसैले वास्तै गर्दैनन् । आधासरो सद्दे कुरा गर्छ, आधा कुरा बेसुरको । त्यसैले कोहीकोही त्यसलाई र्’अर्धपागल’ पनि भन्छन् । १९/२० को लद्दु पाइखानाबाट धारासम्म कट्टु हातमा बोकेर नाङ्गै हिँड्थ्यो । तर, आजभोलि त्यस्तो गर्दैन । छिप्पेर जब्बर भने भा’छ । ज्यान हर्ेदा भैँसी बोक्लाजस्तो । आइमाईको बथानमा धारामाथि बसेर के-के बकिरहन्छ । उसका कुराले आइमाइहरू खित्खिताउँछन् । ऊ झनै हाँसिरहन्छ । नुहाइरहेका आइमाईको कपडाको चेपबाट फुत्त बाहिर निस्कुँलाझैँ गर्ने अङ्ग देख्दा टोलाउने भएको छ आजभोलि । गाउँ चाहार्ने उसको दैनिकीमा प्रायः माड्सा’पको घर पनि पर्दछ । दिए खान्छ नत्र एकछिन बक्-बक् गर्छ र बाटो लाग्छ । माड्सा’पलाई दाजु भन्छ पवित्रालाई ‘पवी भाउजु ।’ ऊ दिनको एकपल्ट पबी भाउजुकोमा फिर्दै आइपुग्छ । पवी भाउजुसँग बात मार्न र उनको घरमा जान पसन्द गर्छ । पवित्रा उसको कुरा गराइबाट वाक्क मान्छिन्, आजित हुन्छिन् । तर कहिलेकाहीँ बन्ने दिन काट्ने बहानालाई तिरस्कार गरिहाल्न सक्दिनन् ।

हिजो धारामा नुहाउँदै गर्दा भास्करले पवी भाउजुलाई मात्तिएको साँढेलेझैँ हेरिरहृयो । पवित्रालाई के गरूँ गरूँसम्मको स्थितिमा पुर्यारयो भाष्करको घुराइले । पेटीकोटमाथिको टालोलाई कसिलो पारिन्, हातपाखुरा र घाँटी मिचमाच पारिन्, पखालिन् । तैपनि भास्करले उठ्ने नाम लिएन । पेटीकोट सारेर पिँडौला माड्न खोज्दा पवित्राले छड्के नजरले भाष्करलाई हेर्दा आशक्तिले भरिएको भाष्करको आँखा उसैगरी टोलाइरहेको थियो । भाष्करको हेराइले झन्डैझन्डै पवित्राको भित्री अङ्गप्रत्यङ्ग गल्ने बेला भइसकेका थिए । कतिपटक त पवित्रालाई नलागेको होइन ‘यो गोथेलाई सप्पै अङ्ग खोलेर मनको तुष्टि हासिल किन नगरूँ ।’ बिस्तारै पवित्राले सङ्कोच हटाइन् र स्नानकार्य सकिन् । धारामाथि जडवत् बसेको भास्कर भिजेको कपडा पवी भाउजुको शरीरमा लपक्क टाँसिँदा सम्मोहित भएर लाटो भयो ।

पवित्रा अझै बिछ्यौनामै पल्टेकी छिन्- आफ्ना कोमल तर बराठिँएका अङ्गमा टोलाउँदै । ‘यी फूलझैँ फक्रेका अङ्गले पनि कहिल्यै यथेष्ट प्यार पाएन जवानीमा । खसम यस्ता कुरामा किन जहिल्यै चिसो र्सपझैँ हुन्छन् – तिनलाई यिनप्रति कुनै मोह छैन, कुनै चाखै छैन । ‘समयमै पुष्पको लालित्य नचिने मुर्झाएपछि टाउको हातमा राख्नुबाहेक अर्को उपाय के रहन्छ र !’ एउटा बहुलाहा पनि पनि यो तन देखेर होसमा आउँछ तर खोकिलामा मोती राखेर पत्तो नपाउने हुस्सुलाई के पो गर्नू – हेर त त्यो भास्कर, हिजो धारामा कसरी हेरेको – बहुलाहा मोरो ! त्यसले पायो भने त कप्लक्कै खाला । कस्तो प्यासी आँखा बदमासको ? कस्तो तिर्खालु आँखा ? दिमागमात्रै अलिक बेठेगान, शरीर त पाएकै हो नि पहलमानको जस्तो ।’ पवित्रा माड्सा’पको निरीहतालाई, माड्सा’पको कमजोरीलाई भास्करको बलिष्ठ शरीरको धक्का लगाएर चूरचूर पार्छिन् । अब उनको अन्तःस्करणमा माड्सा’पप्रतिको र्समर्पणमा ह्रास आउँदै गएको छ । त्यही बदमास भाष्करप्रति पो आशक्तिले गाँज्दै गएको छ । लोकाचारले बाटो नछेकेको भए पवित्राले के पो गर्थिन् यतिबेला । होइन, पवित्रालाई अब अनर्थतिर पनि उत्तिकै रुचि जागेको छ ।

‘सातफेरो लगाएको पति भनेर मात्र के गर्नू ! चाहेर मात्र बस्न सकिँदो रहेनछ । पत्नीको चाहनामा अलिकति पनि सहभाग नभएपछि के लाग्छ र – हररात सँगै सुतेर मात्र लोग्ने हुने हो र !’ यस्ता प्रश्नले घर गर्दै गएका छन् पुनः पवित्रामा ।

‘पवि भाउजु !’ बाहिर कसैले पवित्रालाई आवाज दिइरहेको छ ।

पवित्रा झसङ्ग हुन्छिन्, निर्वस्त्र शरीरमा उनी हत्तास देखिइन् र हत्तपत्त पारदर्शी नै सही, पातलो कपडा घुम्लुङ्ग उन्छिन् । ‘फेरि त्यही बहुलाहा आयो क्यारे ! फेरि के चाहियो यसलाई – आऽऽ जान्नँ तल, आइरहोस् त्यही माथि नै ।’ ‘म माथि छु’, पवित्राले निम्तो दिइन् । एक किसिमको भय छातीभरि मडारिइरहृयो । ढुकढुकी त्यसै बढेर आयो । बिस्तारै चुकुल खोलिन्, बहुलाहा भाष्कर धङ्धङिएर कोठाभित्र छिर्यो ।

पवि भाउजुको साजसज्जा र वस्त्र देखेर भाष्कर हिजोको जस्तै हेरेको हेर्यै भयो । पवित्राले भाष्करलाई खाटमाथि राख्छिन् । बहुलाहा भास्कर रातो भयो । उसले आफूलाई चिमोटेर जिउँदै रहेको प्रमाण फेला पार्यो । पवि भाउजु त त्यसै भर्भराइरहेकी नै थिइन् । चट्याङ् त परिसकेकै थियो, आगो लाग्नमात्र बाँकी थियो । एकाएक मेघ मडारियो । असिना बर्सियो । पसिना बग्यो । मनभित्रको मुस्लो यसरी दन्कियो कि एकछिनमै सब चिज खरानी भो । अङ्गार भो । निमेषमै अँध्यारोको राज भो । अब देखिने कुरै केही बाँकी रहेन ।

पवित्रा बिउझँदा सूर्य पश्चिम आकाशमा मलिन हुँदै गइरहेको थियो- आफ्ना आभाले धर्तीलाई सुनौलो बनाउँदै । उनका आँखाहरू एक्कासी दराजमाथिको घडीमा पुगे । ‘ओहो ! कति मीठो निद्रा लागेको । उहाँ आइपुग्ने बेला नाघेछ ।’ पवित्रा जुरुक्क उठिन् । ढोका खुल्लै छ । शरीरमा अघि उनिएको त्यो पातलो वस्त्र पनि शरीरमा थिएन अहिले । खाटबाट उठेर फेरि आफ्नो नाङ्गो बदनलाई ऐनामा नियालिन् । अधरमा लत्पतिएका रङ्गहरू पुछिन् । गालामा टाँसिएको टीका उप्काइन् । भताभुङ्ग भएका केश सम्हालिन् । हावामा उडुँलाझैँ गरी हात फैलाइन् । आजको उल्लासमा पवित्राभित्र सौर्यताका भावहरू प्रष्ट छन् । आफ्नै शरीरलाई छाम्दा पनि पवित्रालाई आफ्नै ज्यान कुनै कोमल पुतलीको जस्तो लागेको छ । धेरैपटकको लामोलामो श्वासमा पवित्राभित्रको जीवनले फेरिफेरि बाँच्ने रहर फ्याँकिरहेको छ । आँखा चिम्म गरेर पवित्राले विलौना गरिन्, ‘हे भगवान् ! बस् मेरो यत्ति एउटा इच्छा पूरा गरिदेऊ ! मेरो उद्दार गर नाथ !’

साँझ ढल्कँदै गर्दा माड्सा’प दुई हातमा झोला बोकेर आइपुगे । ‘कतिबेर लाउनु भा’- आफ्लाई डर लाइसक्या थ्यो’, माड्सा’पको हातबाट सामानको पोको समाउँदै पवित्रा फत्फताइन्- ‘यत्ति सामान किन्न पनि … ।’ ‘केदार बाजे भेटिएथे’ कुरा गर्दागर्दै दिन र्घर्केछ ।’ थकाइको सुस्केरा बिस्तारामा कोल्टे पर्दै गर्दा झन् दोहोरिइरहेको थियो । ‘सामान त गह्रौँ पो रै’छ त’, बिस्तारै माड्सा’पको हात मुसार्दै पवित्रा बोल्दै गइन्- ‘ज्यान हेर ज्यान ! दुब्लाएर यो गति भा’ – पीरबाहेक केही लिए पो -‘ बिछ्यौनामा पवित्राले माड्सा’पको कपाल चलाइदिइन् । छाती, ढाड, हात, पाखुरा, काँध पालैपालो मुसारिन् । आफ्नो टाउकोलाई माड्सा’पको छातीमा टाँसिन् । उनले कति दिनपछि त्यो शरीर सुम्सुम्याइन्, कति दिनपछि गाला प्रेमले मुसारिन्, ती प्रेममय र्स्पर्श कति दिनदेखि माड्सा’पको गालामा सल्बलाएका थिएनन्, माड्सा’पको सम्झनामा नै छैन ।

‘म खाना पस्कन्छु, आज तपाईँलाई मनपर्ने तरकारी छ,’ पती प्रिती बौरिएको भावमा पवित्राले कोमल आग्रह गरिन् । धारामा माड्सा’पले सम्झे ‘आज पवित्रा हिजो-अस्तिको भन्दा फुर्तिली देखिएकी छ, खुसी पनि छे, अनुहार नै उज्यालिएको छ ।’ खानापछि माड्सा’पले पवित्रालाई एकटकले हेरिरहे ओछ्यानबाट ।

‘विचरी भलाद्मी छे । कुनै फर्माइस् छैन । जे दियो त्यसैमा सन्तुष्ट, कुनै आग्रह छैन । यति थोरै पगार छ, चाहेर पनि केही दिन नसके पनि यिनले अभाव, दुःख र चिन्ताका भावहरू आउन दिएकी छैनन् ।’ बाहिरको चन्द्रमाको शीतलता र कोमलता आज माड्सा’पको कुटीमा भित्रिएको छ । त्यसैले उनी आफ्नो मनोवादमा भक्कानिरहेका छन्- ‘आज कति राम्री देखिएकी, अनुहार किन गुलाबी लागिरहेछ । चम्किला आँखामा बेग्लै सुख, सन्तोष र प्यार अहो ! मेरी पवित्रा ! तिम्रो यो सुन्दर र तुष्ट मुहारको दर्शनमा म कति तर्सन्छु, भौँतारिन्छु जहाँतहीँ । यो खुसी, यो प्रफुल्लतालाई मुर्झाउन नदेऊ । म तिम्रै भक्त हूँ, अनन्य भक्त’, माड्सा’प मनमनै बर्बराइरहेका छन् ।

13 Comments

  1. माड़सापको जस्तै सरिर र अवस्था पबित्रfको भयको भय maadsap उसको परिवार र समाजले क गर्दो हो पवित्रालाई?

  2. कथाको प्रस्तुति धेरै राम्रो लाग्यो / बरु आफ्नो पनि माडसाप कै जस्तो सरिर भएको कारण चिन्ता पो थपियो गाँठे ….

  3. सन्ध्याग्रुप अलखोर,कतारको प्रकाशन मुग्लानी सौगात द्धैमासिक अङ्क १० पेज ३१ मा छापिएको कथा यस अघि नै पढेको थिएँ । फेरि दोहर् याएँ कथा मिठो छ ।

  4. प्रष्तुती राम्रो छ तर कथाको अन्त्य चित्तबुझ्दो भएन।

  5. अनन्तजी ! बधाई छ…तपाइले पाठकको लागि गतिलो साहित्यिक खुराक पस्केर मन जित्न सफल हुनुभएकोमा !!
    – कथामा नारी सौन्दर्यको अथाह अलौकिक प्रचुरताको कामुक तरिकाले बर्णन गरेर पाठकलाई दोहर्याएर अध्ययन गर्न बाध्य पार्न सफल हुनुभएको छ /
    – नारी मनोविज्ञानको गहिरो अध्ययनको छनक कथामा प्रयुत्त शब्द बान्कीमा प्रतित हुन्छ /
    यस्तै नविनतम शैलीमा कोरिएको आगामी कथाको अपेक्षामा शुभेक्षा व्यक्त गर्दछु !

  6. कथा सार्है राम्रो लाग्यो पढ्दा पनि कहिले नासिदोस जस्तै ………लेखक ले कथालाई राम्रो संग प्रस्तुत गरेका छन्…..

  7. कथा को वस्तुस्थिति जुन तरिका ले बडी रहेको थिओ तेस मुताबिक अन्त हुन सकेन, सौन्देर्य को वर्णन गर्न कोसिस त गरियो तर अस्लिलता को धेरै प्रस्तुति हुन गयो.एस्तो खालको कथा प्रस्तुत गर्दा किरपया हरेक खालका पाठकको विचार गरिओस .

  8. हुनत कथामा तिनै जनाहरु (माड्साब, पवित्रा र भाष्कर) को कुनै न कुनै रुपमा दोषी देखिन्छन ! तिनै जना चरित्रहरूको आ-आफ्नो किशिमले कुनै न कुनै हदमा शारीरिक आबश्यकता, मनोकामना र मानशिक सन्तुष्टि भएको देखिएर समस्या समाधान भएको छ तर एक न एक दिन कुनै बिन्दुमा पुगेर त्यो तहश-नहश भै छताछुल्ल नहोला भन्न चाही अत्युक्ति नहोला ! बिशेस गरि नेपाली समाजमा !

    भाष्कर अब ‘पल्केको कुक्कुरले घर छोड्दैन’ भने जस्तो मौकाको पर्खाइमा हुनेछ ! पबित्रलाई पनि अब जुन जवानीको भोक आफ्नो चाहना बमोजिमको व्यक्तिसंग मेटाउन सफल भईन कार्य अब द्रुततर गतिले अगाडी बढन सक्नेछ ! रहयो माड्साबको कुरा ! माडसाबले पबित्रलाई समय कटाउने उपायको रुपमा केहि काम धन्दाको ब्यबस्था मिलाउन सकेको भए यो अबस्था सायद आउने थिएँन कि !

    कथा राम्रो हो ! पबित्र र माडशाबको मनोबिनोद्को अत्यन्त रोचक र यथार्थपरक किशिमले चित्रण गरिएको छ ! अन्त्यमा, कुनै पनि व्यक्ति लामो समय सम्म कुनै पनि कार्यमा सृजनशील नभई आफ्नो निरस, कहाली लाग्दो र दिक्दारी पुर्वक समय घरमा कटाउन बाध्य भयो भने, यो मन आफ्नो एकांकी जीवन, सुसुप्त अबस्थामा रहेका चाहनाहरु र व्यग्र छटपटी मेटाउनको लागि लुकी-चोरी गलत बाटो तर्फ मोडिएर आफ्नो पारिवारिक, सामाजिक र धार्मिक मुल्य र मान्यतालाई तिलान्जली सम्म दिन सक्छ भन्न खोजिएको जस्तो देखिन्छ !

    कथाको अन्त्यमा घटना पछिको त्यसको परिणाम पनि देखाई केहि संदेश दिन सकेको भए अझ सुनमा सुगन्ध हुने पो थियो कि ? जे होश त्यो मेरो राय हो ! समग्रमा कथा सुन्दर छ ! आबश्यक अलंकार र सृन्गारले बिभुसित छ !

  9. कथा पडीसकेपछी यस्तो लग्यो कि सबै कथालाई नै कमेन्ट को रुपमा उतरिदिउ |
    साधुबाद कथाकार ज्यु |

  10. पबित्रा मनोबिर्ति थोरबहुत हामी सबैमाँ हुन्छ |
    “लोकाचारले बाटो नछेकेको भए पवित्राले के पो गर्थिन् यतिबेला ” लेखक महोदयको यो
    हरफहरुले गर्दा पबित्रा मनोबिर्तिलाइ हामी अंकुश लाऊन प्रयास गरछौ |
    समय र परिस्थिति मिल्यो भने एस्तो भावलाइ मलजल मिल्छ अनि अर्को पबित्रा (महिला अथवा पुरुष ) जन्मन्छ |
    राम्रो शरीर देखेर मोहित सबै हुन्छन (महिला अथवा पुरुष) | प्रेम र शारीरिक चाहना कहिले कहिँ दुइवटा दिशातिर मुख फर्काएर बस्छन |
    एस्तो परिस्थितिमा मनको कुरा सुन्नुपर्छ | तेसो भन्दैमा छाडा हुनुपर्छ भन्न खोजेको चाही हैन |
    उचित र सालिन शब्द प्रयोग गरेर कथा पस्केको मा लेखकलाइ धन्यवाद

  11. एस्तो पो कथा! पढ्दा पनि कहिले नसकियोस जस्तो.लेखकले कथालाई एकदमै मिठास तरिकाले जिबन्त बनाएका छन्.”अनन्त लम्साल” बाट लेखिएको अन्य कथाहरु लाइ पनि माइसांसर ले स्वागत गरोस.लेखक लाई धन्यबाद !

  12. बिचरा मास्टर साब को सारै नै माया लाग्यो, दिन भरि अरु संग रंग रमाइलो बेलुका १ बचन राम्रो बोलिदियको मा दङ्ग.
    लेख सारै नै राम्रो लाग्यो. सारै नै राम्रो. २-४ वोटा line त सारै नै राम्रो मिलाको
    १. अरूको के कुरा माथ्लाघरे गोथे भास्कर नै हेरौँ न, ‘अधबेस्रो नै भए पनि कस्तो जब्बर, बटारिएका हातपाखुरा बज्याको ,एक पलटमै पानीपानी पार्लाजस्तो । कत्रा तिक्रा ! आहा ! केराका थम्बाजस्ता ।’
    २. चट्याङ् त परिसकेकै थियो, आगो लाग्नमात्र बाँकी थियो । एकाएक मेघ मडारियो । असिना बर्सियो । पसिना बग्यो । मनभित्रको मुस्लो यसरी दन्कियो कि एकछिनमै सब चिज खरानी भो । अङ्गार भो । निमेषमै अँध्यारोको राज भो । अब देखिने कुरै केही बाँकी रहेन ।

    दिनहु करकर गर्नी बुडी आज किन नरम भन्नि मा मास्टर साब गयानन, बरु तारिफ मा नै लागे, हेत्तेरिका पुरुस को जिन्दगि.
    हुनत मोज नै गरिन, २ शिफ्ट हानिन. डे and night .

    Prabin

Comments are closed.