गल्लीको झ्याल

-शुषमा मानन्धर-

“तँ कत्ति भाग्यमानी छस्। काठमाण्डौमा घर, प्रशस्त सम्पति, कमाउ लोग्ने र दुई आँखा जस्ता छोराछोरी। के को पीर छ तँलाई।”

तृष्णाका अधिकांश साथीहरु उसलाई यसै भन्छन्। हुन पनि हेर्नेहरुका आँखामा, उसमा कुनै पीरै छैन। खानलाउन पुग्दैन भन्नु छैन। ठूलो परिवारको किचलो र झन्झट पनि व्यहोर्नु छैन। काठमाण्डौको मुटुभित्र चार तल्ले घरमा रजाँई गरेर बसेकी छे ऊ। चार जनाको परिवार, कुनै कुराको अभाव वा खट्किएको भन्ने नै छैन उसलाई।

तैपनि उसलाई केही नपुगे झैँ भैरहन्छ। भौतिक उपलब्धिलाई नै सबै कुरा मान्ने आजको संसारमा, सबै कुरा पाएर पनि आखिर आफूलाई के चैँ नपुगेको हो, धेरै पटक कोशिश गर्दा पनि उसले थाहा पाउन सकेकी छैन।

वासिङ्ग मेशिनदेखि डिसवासर र चाहिने सबै अत्याधुनिक सरसामानहरुले घर भरिएकै छ। उसले घरमा गाह्रो काम केही गर्नै पर्दैन। बिहान–बेलुकाको त्यति खाना पकाउने काम पनि नगरे, उसले गर्ने काम केही हुन्न। त्यही भएर, साथीभाइ र आफन्तहरुले निकै भने तापनि उसले घरमा काम गर्ने मान्छे राखेकी छैन।


दुई वर्षदेखि उसको छोरो क्यानाडामा पढ्दै छ र छोरी यतै बाह्रमा पढ्दै छे। लोग्ने ठूला व्यापारी, दिँउसोभरि आफ्नो बिजनेस फर्ममा व्यस्त रहन्छन्। बिहान खानापछि, तृष्णा फूर्सदै फूर्सदमा हुन्छे। घरको कामधन्दामा मात्र कति मन भुल्छ र? “मान्छेलाई पैसा मात्र भएर पनि नहुने रैछ।” ऊ दिक्क हुँदै कैलेकाँही सोच्ने गर्छे।

“के गाह्रो छ र? कुनै क्लब, सामाजिक संस्थाको सदस्य हुनु, त्यसै समय बितिहाल्छ नि। हामीलाई यहाँ समय नपुगेर कस्तो छ!”

कुनै बेला मनको बह पोख्दा लोग्ने उसलाई यसरी नै भन्ने गर्छन्। उनले भने जस्तै समय सजिलै कट्ला भनेर तृष्णाले कुनै संस्थातिर आबध्द हुने बिचार पनि गरेकी हो तर पछि आफूलाई चाहिँदा पनि समय निकाल्न नसकिने पीरले उसले त्यसो गर्न सकेकी छैन। उसमाथि संघसंस्थामा लागेका आफ्ना दुईचार साथीहरु उसले देखेकी पनि छ जसलाई सधैँभरिको हतार हुन्छ।

हरेक हप्ता भने जस्तै पिकनिक, पार्टी र बेला न कुबेलाको छलफल र मिटिङ्ग। कुनै दिन उनीहरुसँग गफ गर्न मन लागेर घरमा बोलायो, फलानाको घरमा मिटिङ्ग छ भनी हतारेर दौडिहाल्छन्। सधैभरिको त्यो हतारहतारको जीवन पनि उसलाई मन परेको छैन। घरमा त्यसै बस्नुभन्दा काम गर्नु निको भनेर उसले जागीर पनि खान खोजी, “हैन, तिमीलाई नपुग्ने के नै छ र फेरि जागीर खान खोज्छौ? मैले कमाइरहेकै छु। आनन्दले खाउ, पिऊ, घुम र खुशी भएर घर चलाऊ।” लोग्नेको सधैँ यही उत्तर हुन्थ्यो।

घरमा भाडा लाइएका मान्छेहरु भएका भए पनि ऊ उनीहरुसँग गफ गरेर समय कटाउँथी, त्यो भन्नु पनि छैन। टिभी, पत्र–पत्रिका, किनमेल र आराम… …के यत्ति मात्र जीवन हो? यो सोखको निरस निरन्तरताबाट ऊ वाक्क हुँदैछे।

………………।…………………..।……………….।……..

लोग्ने अफिसमा काम छ भनी बिहानै निस्केका छन्, छोरी कलेजबाट फर्केकी छैन। ऊ प्रायःजसो सडकपट्टीको कोठामै हुन्छे, या त कौसीमा, बराण्डामा वा बगैँचामा। आज के सूर चढेछ कुन्नि, भान्छाको गल्लीतिरको झ्याल सफा गर्न थालेकी छ।

पैदल हिँड्ने दुईचार मान्छे बाहेक, त्यहाँ कहिलेकाँही बाइक हुँइकेको सुनिन्छ अन्यथा त्यो गल्ली, त्यति गुलजार रहँदैन। मान्छेका भीड नभएकै कारण भने हात समाएर थुतुनो जोड्न पल्केका युगल जोडीहरु त्यो गल्लीतिर यदाकदा आइरहन्छन्। झ्याल पुछ्न सकाएर खुइय गर्दै ऊ झ्यालको बारमा अडेस लाग्छे, एक्लिएको गल्ली तल लमतन्न पल्टिएको छ। घरहरु अग्ला अग्ला भए, अधिकांश गल्लीहरु चिसा र अँध्यारा बन्दै गएका छन्। उसको भान्छामुनिको गल्ली पनि अपवाद रहेन। साँच्ची भन्ने हो भने, त्यो गल्ली, अगाडिको सडकको विकल्प मात्र थियो। ऊ गल्लीलाई आफ्नो जीवनसँग दाँजेर हेर्छे, चिसो, अँध्यारो र एक्लो। घडी हेर्छे, साढे नौ बजेछ। लामो सास फालेर ऊ झ्यालबाट हट्न लागेकी मात्र हुन्छे, गल्लीमा टाढाबाट कोही हतारहतार आइरहेको देख्छे।

ऊ अड्छे र नियालेर हेर्छे। एक्लै, ब्याग झुण्डयाएर लम्किरहेको त्यो युवक घरिघरि आफ्नो घडी हेरिरहेको हुन्छ। उसको हिँडाइ र हतारोपना देख्दा तृष्णालाई हाँसो उठ्छ, कम्तीमा घरबाट बेलैमा हिँडेको भए, यसरी हाम्फाल्दै भाग्नु पर्ने अवस्था त आउँदैन थियो। त्यो युवक उसको आँखाबाट ओझेल नहुन्जेलसम्म ऊ हेरिरहन्छे। धेरै टाढासम्म पनि युवक त्यसरी नै कुदिरहेको हुन्छ।

उसले यो भन्दा अघि त्यो युवकलाई ख्याल गरेकी छैन। आज पहिलो पटक यो बाटो हिँडेको हो वा अघिपछि हिँडेर पनि, उसको आफ्नो नजरमा नचढेको हो, ऊ सोच्न थाल्छे। “काम न काजको, व्यर्थ के कुरा सोच्न पुगेछु , छिः। ” ऊ मनमनै हाँस्छे र टाउको झट्कार्छे।

छोरीसँगै खाना खान्छु भनेर बसेकी छ ऊ। छोरी घर आउँदा एघार, साढे एघार बजिहाल्छ। अहिले एघारै बजेको छैन र अगाडि आधै दिन बाँकी छ। गर्नलाई खासै केही काम बाँकी पनि छैन,के गरुँ के नगरुँको दोसाँधमा कोठामा ऊ टिभी खोल्छे तर सिरियलहरुमा पनि मन थीर गर्न सक्दिन। टिभीलाई त्यत्तिकै खोलेर ऊ तल बारीतिर लाग्छे।

“ममी, खाना खानु भएको छैन?” छोरीले पछाडिबाट बोलाउँदा पो ऊ झसङ्ग हुन्छे। बाह्र बजिसकेको रहेछ। “अनि आज ढिलो गर्‍यौ नि त।” ऊ छोरीलाई सोध्छे।

“अँ, एकछिन लाइब्रेरी बसेकी थिएँ ममी। मैले त क्यान्टिनमा चाउमिन खाएकी छु, तपाई खाना खानुस् न है।”

“खाना नखाइ कहाँ हुन्छ? बरु थोरै खानु। सँगै खाउँला।” ऊ छोरीसँग खान बस्छे।

खानापछि बिहानको काम पनि सकिन्छ। अब के गर्ने, ऊ सोच्न थाल्छे। मोबाइल निकाली साथीलाई कल गर्छे। लामा दुईचार कल गएर पनि उताबाट फोन उठ्दैन। ऊ आजित भएर अर्की साथीलाई फोन गर्छे, “क्या हो, न फोन, न भेटघाट। तिमीहरुसँग त कुरा गर्नै गाह्रो भैसक्यो।” उताबाट उसकी साथी फोनको मुख छोपेर बोलिरहेकी हुन्छे, “तृष्णा, अहिले म सानो मिटिङ्गमा छु। एकछिन पछि फोन गर्छु है?”

ऊ सोच्छे, सबैभन्दा काम नलाग्ने ऊ नै भएकी छ। अरु सबै एकभन्दा एक व्यस्त, आ–आफ्नै दुनियाँमा भुलेका छन्। कसैसँग पनि दोस्रोको लागि समय छैन। आखिर सबैजना किन र कसको लागि यो भागदौडमा लागेका होलान्, ऊ आफ्नो मनसँग प्रश्न गर्छे। जो कोहीलाई सम्झ्यो, धनवैभवकै लागि मरिमेटेर काम गरिरहेका छन्, ऊ आफूसँग धन छ तर ऊ साँच्ची खुशी छे त? दिनभरि ऊ आफूसँग यस्तैखाले तर्कना र प्रश्न गरिरहन्छे।

राती बेडमा पल्टेर टिभी हेर्दै गरेका लोग्नेलाई ऊ सुनाउँछे, “बिहान, गल्लीमा एउटा मान्छे पुच्छर ठाडो पारी कस्तो हतार–हतार दौडेथ्यो, साह्रै हाँसो उठ्यो मलाई। ”

“ए,अँ!” टिभिका च्यानलहरुमा आँखा लगाइरहेका उसका लोग्नेलाई यो कुरामा चासो हुने कुरै भएन। अर्को पट्टि फर्केर निद्रा नलागेसम्म ऊ बिहानको घटना सम्झीसम्झी मनमनै हाँस्छे।

……………………………….।……………………………।……………………..

भोलिपल्ट मात्र हैन त्यसपछिका दिनहरुमा पनि त्यही बेलातिर उसको ध्यान अनायसै झ्यालतिर जान्छ। ठीक साँढे नौ मै नभए पनि त्यसको आसपासमा, कहिले ढिलो त कहिले केही चाँडै त्यो युवक त्यही गल्ली भएर हिँड्न थालेको छ। जुनसुकै काममा व्यस्त भए पनि त्यो बेला ऊ झ्यालमा उभिन बिर्सिदिँन। नौ बज्नु कहाँ हो कहाँ, ऊ अगाडिदेखि नै झ्यालबाट गल्लीतिर आँखा लाइरहेकी हुन्छे। पक्कै कुनै अफिसमा काम गर्ने कर्मचारी हुनुपर्छ, उसले लख काटेकी छ, किनकि सार्वजनिक विदाका दिनहरुमा युवक त्यो बाटो देखिँदैन। बिहे भैसकेको हो कि हैन? कतै अफेयर पो चलिरहेको केटा हो कि? देख्नमा ह्याण्डसम र भलादमी पनि देखिन्छ। उसले कहिल्यै आँखा उठाएर माथि हेरेकोसम्म पनि छैन। न त उसलाई कहिल्यै कुनै केटीसँग आइरहेको देखिएको छ। तृष्णाले युवकसँग गाँसेर अनेक कल्पना गर्न भ्याइसकेकी छ।

हुन त ऊ उमेरले प्रौढ भैसकेकी छ। भएर के गर्नु, हिजोआज मीठो तरङ्ग उठ्न थालेको छ उसको मनमा पनि। युवकलाई टाढैबाट गल्लीतिर आइरहेको देख्ने बित्तिकै तृष्णाका धमनीका रगत तातो हुन थाल्छ। गालामा गुलाबी रङ्ग चढेर, एक्कासी धुकधुकी बढेको भान हुन्छ उसलाई। उसलाई अचेल त्यत्तिकै रमाइलो पनि लाग्न थालेको छ। पहिले उसलाई दिन कटाउन नै गाह्रो पर्‍थ्यो, अहिले समय बितेको पत्तै हुँदैन। कामबाट समय निकालेर ऊ, त्यो युवकको हिँडाइ, लवाइ सबै कुरा सम्झँदै विश्लेषण गर्दै दिवास्वप्नमा मग्न रहन्छे। एक्लै बस्दा पनि आफैभित्र रमेर कल्पना गरिने साथी भेटेकी छ उसले आजकल।

…………………………..।…………………………।………………………

दश बजिसकेको छ तर आज त्यो युवक देखापरेको छैन। आज बिदा हो कि भनी, गएर उसले भान्छाको भित्तामा झुण्डयाइएको क्यालेण्डर दुइपटक हेरिसकेकी छ। “साँढे दश बजिसक्यो, के परेछ त्यस्तो!” ऊ घडी हेर्दै, झ्यालबाट परसम्म आँखा तान्दै बर्बराउँछे।

“आज कतै बन्दसन्द त हैन? बन्द भए त छोरी कलेजबाट फर्कनु पर्ने हो, ऊ फर्केकी छैन।” आफ्नो सकसक मेटाउन तृष्णा, बाहिर निस्कन ठीक परेका आफ्नो लोग्नेलाई सोध्छे, “सुन्नुस न,आज बन्द हो र?”

“हैन, के भन्छौ? कहिलेदेखि बन्द र खुलामा चासो राख्न थाल्यौ तिमीले? के को बन्द हुनु?” उसको प्रश्न गराइले लोग्ने पनि हुनसम्मको छक्क पर्छन्।

उसले निकैबेरसम्म गल्लीको बाटो हेर्छे,े युवक आउँदैन। छोरीले खाना खान्छे तर उसलाई खान रुचि हुँदैन। फेरि पनि ऊ गल्लीको झ्यालतिर एउटा उदास दृष्टि फाल्छे। अकस्मात उसको अनुहार उज्यालिन्छ। बाहिर गल्लीमा त्यही युवक मोबाइल कानमा टाँसेर आइरहेको हुन्छ। हतारिएर दौडिँदा ऊ झ्यालको खापामा ठोकिन्छे, “अइया” टाउको सुम्सुम्याउँदै पनि ऊ युवकतिर हेरिरहन्छे। ठीक झ्याल मुन्तिर आइपुगेको युवकले, उसको आवाजले गर्दा माथि ऊतिर हेरे झैँ लाग्छ उसलाई। तृष्णाको मन भरङ्ग हुन्छ। ऊ छातिमाथि हात राख्छे। उसलाई त्यो दृष्टिले छेडेर मनको गहिराइसम्म पुगेको हो कि भन्ने लाग्छ। ऊ झ्यालबाट हट्छे। मोबाइलमा कुरा गर्दै गरेको युवक, मोबाइल बन्द गरेर जाँदाजाँदै पनि फेरि माथि हेर्छ। कत्ति राम्रो, कल्कलाउँदो देखिन्छ। कति बर्षको होला? ऊ युवकको उमेर अनुमान गर्दै आफूलाई ऐना अगाडि उभ्याउँछे। सोच्दासोच्दै ऊ आफूलाई पनि युवककै समवयस्क कल्पना गर्न थाल्छे। घरिघरि उसलाई युवकका हेराइले पछ्याउँछ। उसका आँखा अगाडि मोबाइल समाइ फर्की हेर्दै गएको युवकको मुखाकृति नाच्छ र ऊ रातभरि सुत्न सक्दिन, कोल्टे फेरिरहन्छे। लोग्नेको अँगालोमा समेत ऊ युवकलाई देख्छे। एकैछिन निदाउँदा पनि रँगिन र कति छिल्लिएका सपनाहरु… ऊ लजाउँछे।

…………………..।………………………।………………………..

शनिबार सम्भि्कयो कि उसलाई नियास्रो लाग्छ। बिदाको दिन त्यो युवक आउँदैन। उसलाई नदेखेको दिन तृष्णालाई खल्लोखल्लो लाग्छ। अफिसमा बिदा भन्ने नै नदिएको भए कत्ति हुन्थ्यो, अझ आफू पनि त्यो युवकसँगै काम गर्न पाएको भए…जिन्दगी कति रमाइलो हुन्थ्यो, उसका आँखा अगाडि झलमल्ल कामना बल्छन्।

“ममीलाई भर्खर बैँस लाग्या जस्तो छ। ” तृष्णाले कपाल कालै डाइ गरेको देखेर छोरी जिस्काउँछे।

“ओहो, मर्ने बेला हरियो काँक्रो। के हो? फेरि तरुनी हुन किन खोजिछौ?” आफ्ना सेतै फुलेका कपाल हेर्दै लोग्ने पनि भन्न बाँकी राख्दैनन्।

“आफ्नो खुशीको लागि यति पनि गर्न नपाउनु त।” ऊ त्यही दिन पार्लर गएर कपाल पनि छोट्याउँछे। चार दशक काटिसकेकी तृष्णा, खण्डखण्ड पारी काटिएको कपाल र आधुनिक परिधानमा, आधा उमेरकी देखिने मात्र हैन उसमा त्यस्तै उमङ्ग पनि छाउन थालेको छ।

गल्लीको झ्याल उसलाई औधि प्यारो लाग्छ, खासगरी बिहान, जब त्यो युवक त्यो बाटो आउँछ। साँझ भने उसलाई त्यो बाटो फर्केको तृष्णाले देखेकी छैन। ऊ युवकसँग बोल्न चाहन्छे, खै किन उसमा यो रहर पलाएको छ, ऊ आफै जान्दिन तर ऊसित बोल्न तृष्णासँग कुनै गतिलो बहाना पनि छैन। युवकले बोल्न पहल गरेको छैन। ऊ एक नजर हेर्छ र चुपचाप आफ्नो बाटो लाग्छ। तृष्णा पनि हरेक दिन गल्ली ढुक्छे, ऊ आएको र गएको हेरिरहन्छे।

हप्ता दिन भैसकेको छ, युवक त्यो गल्ली आएको छैन। बाटो कुर्दाकुर्दा उसका आँखा दुखेका छन्। कतै अन्तै सरुवा भयो कि, बिरामी पर्‍यो कि, वा कुनै दुर्घटनामा पर्‍यो, अनेकानेक आशँकाहरु उसको मनमा एकपछि अर्को पलाएका छन्। ऊ कसैसँग सोध्न सक्दिन, न त घरमा कसैसँग यस्तो कुरा शेयर गर्न सक्छे। घरमा गर्नुपर्ने सबै कुरा पूर्ववत् गरिरहेकै भए पनि ऊभित्रको उज्यालो ज्योति निभ्दै गैरहेको छ। छोरी आफ्ना कुराहरु सुनाउँछे, ऊ सुनेर पनि सुन्दिन। लोग्नेसँग गर्नुपर्ने दायित्वहरु औपचारिकता जस्तै पूरा गरिरहेकी छ। ऊ पहिला सम्पति भएर पनि दुखी थिई, अहिले झन दुखी भएकी छ।

………………..।……………………..।…………………….

आज पनि ऊ घरमा एक्ली छे। लोग्ने भर्खर निस्केका छन्। छोरीको आज कलेजमा कार्यक्रम भएकोले ढिलो फर्किन्छे। खान मन लागेको छैन उसलाई त्यसैले ऊ भान्छाको झ्यालनिर उभिएर तल गल्ली नियालिरहेकी छ। घाम नपर्ने गल्ली झन चिसो हुन थालेको छ। टाढा–टाढासम्म आज कोही हिँडेका देखिँदैनन्, कसैले बिर्सेर उपेक्षित बनाइएको जस्तो। त्यत्तिकै मन अमिलो हुन्छ, आँखा रसाउँछन् उसका। आँसु भरिएका धमिलो दृष्टिमा उसलाई माथि गल्लीबाट कोही आइरहे झैँ लाग्छ। त्यही युवक …,ऊ विस्वासै गर्न सक्दिन…हो, त्यही युवक आउँदै गरेको हुन्छ। उसको साथमा अरु पनि कोही हुन्छ। ऊ आँखै झिमिक्क नगरीकन उनीहरुलाई आइरहेको हेरिरहन्छे। हालै मात्र बिहे भएको जोडी झैँ देखिने, उनीहरुले एक अर्काको हात समातेका हुन्छन्। रातो फूलबुट्टे सारी लगाएकी युवती कहिले लजाउँदै, कहिले मस्किँदै युवकसँग टाँसिएर हिँडिरहेकी छ। उसलाई इर्ष्या लाग्छ। गलामा केही अड्किए जस्तो भएर उसलाई भक्कानिउँ झैँ हुन्छ। झ्यालबाट अलि पर ऊ उनीहरुका दृष्टिबाट छेलिएर उभिन्छे। तल युवक आफ्नी श्रीमतीलाई भन्दै हुन्छ, “तिमीलाई थाहा छ? खै किन हो, यो घरकी बुढीले म अफिस आउँदा सधैँ मलाई हेरिरहन्छे।” त्यसपछि दुवैको हाँसोको फोहरा माथि झ्यालसम्म आइपुगेर लावासरि उसका कानभित्र छिर्छन्। तातो पानीले खन्याए सरह ऊ फतक्क गल्छे। उभिरहने शक्ति पनि हुँदैन उसमा। आफ्ना हातहरु नियाल्छे, थर्थर कामिरहेका हातहरु, सुकेर झन् चाउरिए झैँ लाग्छन् उसलाई। ऊ धेरैबेरसम्म त्यसै टोलाइरहन्छे। झ्यालमा फर्किन सक्दिन ऊ, उसलाई मन पनि लाग्दैन।

भारी मनले ऊ गल्लीको झ्यालमाथि अपारदर्शी कागजका परतमाथि परत चढाउँछे। बाक्लो पर्दा ल्याएर टाँग्छे पनि। “किन र के भो?” लोग्ने सोध्छन्।

“गल्लीबाट साह्रै चिसो आउन थाल्यो, त्यही भएर।” तृष्णा बन्द झ्याल हेर्दै बन्द मनभित्रबाट बोल्छे। घडीमा आँखा जान्छ, साँढे नौ बज्दैछ। रहर गरेर कपालमा लाउँछु भनी अघिल्लो दिन नै कचौरामा भिजाइ राखेको मेहेन्दी, ऊ बेसिनमा लगेर घोप्टयाउँछे।

53 Comments

  1. यो कथा चाहि मलाइ चाहि त्यति घत लागेंन है ! कथामा न त त्यस्तो बेजोड बिषय बस्तु नै छ !

  2. कथा निकै राम्रो लाग्यो, लेखकको कलम निरन्तर चालोस धन्यवाध !

  3. सुष्मा जी का फ्यान मध्यमा मा पनि पर्छु .धेरै पछी यो कथा पढ्न पाउदा सार्है खुशी लाग्यो. तपाइको कथा मात्र होइन कमेन्ट हरु पनि सबै पढे. तपैका हरेक कथाहरु जिबन्त लाग्छा. निरन्तरताको आशा गर्दछु

  4. आधुनिक सहरी जीवन सैलीको पात्रलाई मुख्य पात्र बनाएर लेखिएको यो कथाले धन र आधुनिक सुखसयलमा मात्र मानवआत्मा संतुस्ती हुन्न भन्ने कुरालाइ छर्लंग परेको छ, कथा निकै राम्रो लाग्यो, लेखकको कलम निरन्तर चालोस i धन्यवाध i

  5. मेरो कस्तो नकारात्मक सोच ,कथा पड्दै गय अनि त्यो आइमाई पोइल जाने पो होकी भन्ने लागेको थियो पछि झ्याल बाट देखेको केटो को कुरा आय पछि कतै छोरि को प्रेमी पो होकी भन्ने लागेको थियो । कथा राम्रो सँग नै टुङ्यो कसैको घरबार बिग्रिएन कथा कार लाई कथा को लागि धन्यवाद ।

  6. पारिवारिक समालोचना र अनावश्यक व्यस्तता अनि नाबुझियेअको आधुनिकीकरण लाई सुष्मा मानन्धर ले राम्रोसंग उजागर गराउनुभएको ६ धन्यवाद

  7. अति फुर्सद
    तर
    व्यस्त मन

    ढल्कदो उमेर
    तर
    नसालु मन

    संतृप्त हेराइ
    तर
    अतृप्त मन

    चिसो छिड़ी
    तर
    न्यानो मन

    नियमित हिडाई
    तर
    अनियमित मन

    अधबैसे उमेर
    तर
    जवानीको मन

    रंगिन सोचाइ
    तर
    ब्यग्र मन

    घरकी साहुनी
    तर
    तरुनी मन

    बिबाहित नारी
    तर
    अबिबाहित मन

    परको मान्छे
    तर
    वरको मन

    युगल जोडी
    तर
    एक्लो मन !!!

  8. मेरो कस्तो नकारात्मक सोच ,कथा पड्दै गय अनि त्यो आइमाई पोइल जाने पो होकी भन्ने लागेको थियो पछि झ्याल बाट देखेको केटो को कुरा आय पछि कतै छोरि को प्रेमी पो होकी भन्ने लागेको थियो ,अनि बिस्तारै कपाल मा कालो लगाउने अनि ब्यूटीपार्लोर जान थाले पछि अब त केहि गर्ने पो हो कि भन्ने लागेको थियो तर कथाकार ले बचाई छाडे र अन्त मा झ्याल मा टासेका कागज र बाक्लो पर्दा ले उसको मन को लहर लाई बग्न रोके होला त ? रहर ले नै मानिस लाई जवानी बनाउदो रहिछ हगी लेखक ज्यु !!!रहर लहर लाई स ल ल ल ल बग्न दिनु पर्छ क्या !!

  9. यो कथा राम्रो लग्यो |आजका मानब,र पारिवारिक सैली लाई प्रस्न तेर्सायको जस्तो लग्यो |किनकि यो IT को युगले परिवार भित्रको मया ममता ,जिम्मेवारी र अ आफ्नो भूमिका हरु धेरै फितलो भएको | सुख दुखका र मनका व्यथा पोखाउने ठाउँ, र सुनी दिने कोहि नभएको | आत्मा कम्जोरले कसैको सहारा र मन् भित्र राजेको प्रेम,परिवार लाई खोजि रहेको पाइन्छ|
    कारण येही हो मोबाइल ,टिबी ,कप्यूटर आदिमा आफ्नो सम्पूर्ण समय खर्चिएको छ| एउटा परिवारको आकारलाई बिर्सी सकेछ| तेसैले हामी हरु परिवार सित राम्रो कम्युनिक्येइसन लिन जरुर देखिन्छ |

  10. कथाले राम्रो कथाकारको छनक देखाएको छ /

  11. तपाइँको कथा पहिलोपल्ट यो ब्लगमा पढ्दैछु । कोरियाको पिच सडकमा गुडेजस्तो सलल्ल वगेको यति गतिलो विश्लेषण पढ्न पाउँदा मनै दङ्ग भयो । धेरै धेरै धन्यवाद ।

    तपाइँमा भएको प्रतिभाको मैले हाम्रो सँगैको बसाइमै अनुमानचाहीँ लगाइसकेको थिएँ है, तर असली स्वादचाहीँ आजै पाको हो ।

    अनि हाम्रा धनी लोग्नेमान्छे साथीहरुलाई आफ्नी बुढीकोबारेमा पनि अलि ख्याल गर्न र उनका इच्छाहरुको पनि सम्मान गर्न आग्रह गर्न चाहन्छु ।

  12. मलाई मनपर्ने कथाकार हुन् शुषमा । उनलाई म कविका रुपमा पनि चिन्छु । मानिसका दैनिक जीवनमा घट्ने अभिव्यजनाहरुलाई कति मजाले कथामा उतार्छिन् उनी । यो कौशललाई मान्नै पर्छ । उपरोक्त कथाले महिलाभित्र रहेका अतृप्त चाहना, असीमित रहरलाई पाठक सामु पस्किएको छ । यद्यपि तृष्णा त्यो केटा प्रतिको आर्कषण मात्र हो । उत्तरआधुनिकताको परिप्रेक्षमा यस्ता प्रेममा पनि हामी एकाकार हुँदै गइरहेका छौँ । कथामा तृष्णाको दैनिक कर्तव्यहरुको विश्लेषण गरिएको छ, यसलाई घटाएर प्रमुख पात्रको मनोविश्लेषणमा अझ प्रयासका गरेको भए कथा ओजिलो हुने थियो । मैले यस कथालाई ३÷५ रेटिङ्ग गरेको छु । बधाई छ, कथाकार ।

  13. मलाई त यो कथा पल्लो घरको झ्याल उपन्यास जस्तो पो लाग्यो । फ्रायडवादी मनोविश्लेषणमा अधारित छ यो । धन सम्पत्ति मात्र प्रमुख समस्या हो जस्तो हामी अधिकांश नेपालीलाई लाग्छ, तर त्यस भन्दा पनि अरु समस्या हुन्छन् भन्ने यो कथाले देखाउँछ ।

  14. यो कथा मलाई पटक्कै मन परेना…. भनेर भनें भने मलाई सत्तेसराप लाग्छ, वाह कथा त यस्तो पो, कथालाई मेरो ख्वात्तै एक भोट कथाकारको कलम निरन्तर यसरी नै चलोस् यो शुभचन्द्र राईको शुभकामना ।

  15. यो त अहिले नेपालका भ्रष्टाचारी कर्मचारी, नेता र २ नम्बरी ब्यापारीहरुका घरका श्रीमतीहरुको चरित्रको कास्टिंग मात्र हो. वास्तविकता यो भन्दा अतिनै अस्लिलताले भरियाको छ. अलि अलि नमुना किट्टी पार्टीमा हेर्दा पनि हुन्छ.

    लोग्नेहरु देश र जनतालाई लुट्न ब्यस्त स्वास्निहरु अरु बाट लुटिनमा ब्यस्त ,
    कुमाले को चक्र जस्तै हो जिन्दगि….

  16. मेरो कस्तो नकारात्मक सोच ,कथा पड्दै गय अनि त्यो आइमाई पोइल जाने पो होकी भन्ने लागेको थियो पछि झ्याल बाट देखेको केटो को कुरा आय पछि कतै छोरि को प्रेमी पो होकी भन्ने लागेको थियो ,अनि बिस्तारै कपाल मा कालो लगाउने अनि ब्यूटीपार्लोर जान थाले पछि अब त केहि गर्ने पो हो कि भन्ने लागेको थियो तर कथाकार ले बचाई छाडे र अन्त मा झ्याल मा टासेका कागज र बाक्लो पर्दा ले उसको मन को लहर लाई बग्न रोके होला त ? रहर ले नै मानिस लाई जवानी बनाउदो रहिछ हगी लेखक ज्यु !!!रहर लहर लाई स ल ल ल ल बग्न दिनु पर्छ क्या !!

  17. मेरो कस्तो नकारात्मक सोच ,कथा पड्दै गय अनि त्यो आइमाई पोइल जाने पो होकी भन्ने लागेको थियो पछि झ्याल बाट देखेको केटो को कुरा आय पछि कतै छोरि को प्रेमी पो होकी भन्ने लागेको थियो ,अनि बिस्तारै कपाल मा कालो लगाउने अनि ब्यूटीपार्लोर जान थाले पछि अब त केहि गर्ने पो हो कि भन्ने लागेको थियो तर कथाकार ले बचाई छाडे र अन्त मा झ्याल मा टासेका कागज र बाक्लो पर्दा ले उसको मन को लहर लाई बग्न रोके होला त ? रहर ले नै मानिस लाई जवानी बनाउदो रहिछ हगी लेखक ज्यु !!!रहर लहर लाई स ल ल ल ल बग्न दिनु पर्छ क्या !!

  18. सुष्माका अन्य कथाका तुलनामा यो अलिक कमजोर छ ,कथालाई भन्ने तरिका ठीक छ तर टुङ्याउन हतार गरेजस्तो लाग्यो तापनि समाजको कुनै दृश्य देखिएको छ बधाई छ ।

  19. सुन्दर छ, कथाको भावना कतै पनि नअल्झी सरसर्ती बगेको छ ।
    जीवन गतिशिल हुन्छ तर सधैं एउटै कार्य तालिकामा जीवन बन्दी भएको एक नारिको भित्री अन्तरमनले खोजेको परिवर्तनको मनोभावलाई सुन्दर ढंगले प्रस्तुत गर्नु भा छ ।
    बधाई र धन्यवाद Shushma Jee यती राम्रो साहित्यिक खुराक पस्किनु भएकोमा…Keep it up….all the best.

  20. पारिजातको मैले नजन्माएको छोरो संग मेल खान्छ |

  21. पारिजातको मैले नजन्माएको छोरो बाट प्रभावित छ यो कथा . तर राम्रै छ

  22. आधुनीक समाज र परिवारका नाममा देखियको मनोबैज्ञानिक असर,जों सम्पत्तिलाई मात्र सुखसयल ठान्छ,परिवार सदस्य बीच मनका कुरा एकार्कामा बुझ्न नसक्नु बाट देखिने परिणाम माथिको कथाले मर्म स्पर्शी संदेश दियको छ,सबेइलाई चेतना भया………..

  23. लेखन शैली अति सुन्दर छ… कथा प्रसंगबस चलेको छ…. खोट लगाउने ठाउँ छैन….. अलिक छोटो भयो…

  24. धेरै पछी राम्रो कथा पढ्न पाइयो, कथाकारलाई धेरै धेरै धन्यबाद

  25. कथा राम्रो छ /आज का ब्यस्त पुरुष र फुर्सदिला नारी को कथा व्यथा को सहि चित्रण जस्तो लाग्छ /

  26. कथा साह्रै राम्रो छ| हृदयी स्पर्शी छ| सुन्दर रचानाको लागि कथाकारलाई धन्यबाद|

  27. कल्पना मा रमाउने का लागि सारै राम्रो हो यो कथा. ४ दसक काट्दै मा बुढी भनेको मलाई मन परेंन, यो मन कहाँ बुढो हुदो रहेछ र?

  28. यो कथा एक किसिमको मोनोलग हो । यस किसिमको भावना जो कोही महिलामा मात्र नभनुँ पुरुषमा पनि आउन सक्छ, जो त्यसरी बिना काम आफ्नो दिन गुजारिरहेको हुन्छ । भनिन्छ नि खाली दिमाग शैतानको घर । सुष्मा मानन्धरजी सफल हुनु भएको छ, पात्र तृष्णाको मनोदशालाई बडो मनोवैज्ञानीक एवम शुक्ष्म विश्लेषणात्मक ढङ्गले पस्किन ।
    यस अर्थमा बधाइ छ सुष्माजीलाई र साधुबाद हामिलाई यस्तो उच्च स्तरिय कथा उपहार दिनुभएकोमा ।
    काम नभएको बेलामा झ्यालमा बसिरहँदा कस्तो दशा भोग्नु पर्दो रहेछ भन्ने कुरो, पारिजातको “मैले नजन्माएको छोरो” पढ्दा आफुले समयमा बिहे गरेको भए आफ्नो छोरो पनि त्यत्रै हुन्थ्यो होला भनी जुन केटोलाई छोराको रुपमा हेरेर कल्पना गरिरहँदा उक्त केटोले आँखा झिम्काएर आफ्नो समकालीन केटीलाई जिस्काए जस्तै गर्दा परिजातजी झस्किए झैँ यहाँ सुष्माजीले ठिक उल्टो, गल्लिमा हिँड्ने केटोलाई झस्काई दिनु भएको छ । ‘यो घरको बुढी’ भन्दा आमाको उमेरको दर्जा दिएको जस्तो देखिन्छ ।
    जे होस अझै यस्तै यस्तै साहित्य अझ अझ पढ्न पाउ । मायामा उमेरको अर्थ रहँदैन भनी स्व.जगजित सिंहजीले गाउनुभएको गजल याद आयो;
    ना उम्रकी सीमा हो, ना जन्मका हो बन्धन्,
    जब प्यार करे कोइ, तो देखे केवल मन ।
    नई रित चलाकर मेरे प्रीत अमर कर दो ।
    केशव तौजले, हेटौंडा

  29. राम्रो कथा…मानिस को मनोदसा र त्यसको बास्तबिकता संग जीवन को एक सानो तर पाटो तर एकदमै गहन तथा सटिक बर्णन गर्नन सफल कथा को रुप मा रहे छ…लेखक लाइ साधुभाव ….जय होश !!!

  30. मान्छेलाई कामबिन भयो भने, मनमा ति बुढीआईमाई जस्तै अनेकौ कुराहरु खेल्न थाल्छ, धन्य शुषमा जीले यो कथामा बुढीलाई बचाएर न्यया गर्नुभएको छ, संसारमा ठुलो कुलत फस्ने र अपराध गर्नेहरुमत्ध्य यस्तै प्रकृतिका २५ प्रतिशत हुन्छन, राम्रो लाग्यो,

  31. लेखक ले पस्कन खोजेको सामग्री र बिसय बस्तु मिलेको छ, आगामी दिन मा पनि यस्तै लेख को उपेक्षा गर्छु , अन्तमा धन्य बाद , लेखक ज्यु ,

    दोहा कतार.
    सुनसरी ,इनरुवा

  32. कोहि माथि पनि विश्वास गर्न नसकिने भो…………सायद वास्तविकता नै यहि हो l कथा साह्रै राम्रो लाग्यो धन्यवाद लेखाकजी

  33. प्रतिस्पर्धीमय व्यस्त हरु को बथानमा एक बेग्लै तरिका ले आफ्नु संसार मा रमाउन पुगेकी पात्र का हेराइमा लागेको बादल र सुनाईमा खिन्नता ले छोपेको प्रस्ट देखिन्छ जुन कथाकार को बिसेसता भन्न रुचाउछु | समग्र मा कथा को स्वाद मिठो नै छ आगामी दिन मा अझ प्रगती को कामना राख्दै कथाकार लाई मेरो साहित्यिक जदौ | किशोर तिवारी [अन्जान]झापा-हाल, मलेसिया

  34. राम्रो लाग्यो / अझ यसैगरि लेख्दै जानु होला शुष्मा जी, अग्रिम शुभ कामना /

  35. यस्तो पनि हुन्छ र ? हुन्छ भने त बर्बादी सिबाय बिकल्प के बाकी ? सायद हुन्छ होला काठमाडौँ सहर बिग्रे भत्केका पात्रले भरिएको ठाउँ त हो र चिता खोज्ने बेला पति खोज्ने यो कथा मिठो छ र रमाइलो तर बुढी आइमाई हरुलाई जवान केटा तिर आकर्षण गर्ने खै के ,खै के, होला कि त ?

    • काठमाडौँ सहर भन्दैमा सबै बिग्रेको र भत्केका पात्र मात्र हुदैन बिष्णु जी/ बयेक्ति बिसेसमा भरपर्छ /

  36. मान्छेका मनमा सल्बलाउने अनगिन्ति भावनाहरुको रोचक प्रस्तुति /साच्चै कल्पना को संसार कति रमाइलो हुन्छ ..

  37. यो आइमाई को छोरा छोरी को बिहे गर्ने बेला मा किन मति बिग्रेको मैले ४ चोटी पढ्दा पनि थाहा पाऊन सकिन / अहिले टिभी मा यत्तिका सिरियलहरु आउछन / टिभी हेरेर समय kataudi हो / काम नगर्ने आइमाई आइमाई जम्मा भयर जुम्रा हेरेर घाम तापेर बितौदी हो // सिंग हुने र …………….हुने (नेपाली उखान) को विश्वास नगर्नु भन्थे बुढा पाकाले हो कि के हो /

Comments are closed.