-शुषमा मानन्धर-
निमासँगको मेरो परिचय त्यति पुरानो थिएन र पनि हामी छोटो समयमै धेरै नजिक भएका थियौँ। उसको सौम्य व्यवहार र सबैसँग घुलमिल हुन सक्ने बानीदेखि म साह्रै प्रभावित थिएँ। घरमा आउँदा मसँग भन्दा पनि बढी आमासँग नै उसको कुरा मिल्थ्यो। आमा पनि निमालाई मन पराउनु हुन्थ्यो।

निकै दिनदेखि निमाले आफ्नो घरमा खानको लागि गरिरहेकी अनुरोध मैले आफ्नो व्यस्तताले गर्दा स्वीकार्न सकिरहेकी थिइनँ।

“भोलि त जसरी भए पनि मकहाँ खान आउनु पर्छ।” निमाले हिजो साँझै फोन गरेर भनेकी थिई। बिर्सिएँ कि भनी,अघि बिहान पनि फोन गरेर मलाई सम्झाई सकी।

“हुन्छ, म आउँछु। प्रमिस!” मैले बाचा गर्दा पनि उसलाई बिस्वास लागिरहेको थिएन।

“अस्ति जस्तै होश प्रसाद बन्ने चैँ हैन है?” ऊ ठुस्स परी। अस्ति त्यस्तै एउटा काम परेर उसले बोलाएकी बेला जान नसकेको टोकसो उसले फेरि गरी।

निमाकोमा जान, बाहिर निस्कँदै गर्दा आमा भन्दै हुनुहुन्थ्यो, “अनिलको लागि आज निमासँग कुरा गर्न नबिर्सनु है?” अनिल मेरो धर्म भाइ। सानैदेखिको टुहुरो ऊ, आमाले उसलाई आफ्नै सन्तान जस्तै गरि पाल्दै आउनु भएकोथ्यो। पढाइ सकाएर बैँकमा काम गर्न थालिसकेकोले पनि होला, आमा अब उसको घरजम होस् भन्ने चाहनु हुन्थ्यो। सँकोची र कम बोल्ने बानी भएको भाइको लागि सुसंस्कृत बुहारी भित्रिउन् भन्ने मेरो पनि चाहना थियो।

घरबाट निस्केको आधा घण्टा भैसकेको थियो,अझै बाटैमा थिएँ। अघि निस्कँदा, पानी परिहाल्ला जस्तो लागेको थिएन। आकाश धुम्मिएको थियो र केही हल्का काला बादलका टुक्रा तैरिएका त थिए तर अहिले नै यति गजबसँग पानी दर्किएला भन्ने कल्पनै गरेकी थिइँन। आधा बाटो छिचोल्दा नछिचोल्दै, ठूल्ठूला थोपाहरु झरे। अलिबेर त हो, छाताले धानीहाल्छ भन्ने सोचेर बेवास्ता गर्दै हिँड्दै थिएँ। छाताले नै धान्न गाहारो पर्ने मुसलेधार पानी पर्न थालेपछि भने सडक छेउको रेष्टुँरा अघि ओत लाग्न बाध्य भएँ।

एक्कासी परेको पानीले सडकमा बाफ झैँ उडेको थियो। बाटोका दुबै किनारमा खोला बगेका थिए। निमाले फेरि फोन गरी, “कहाँ पुग्यौ? मलाई त भोक लागिसक्यो।”

“म निस्किसकेँ। पानी परेकोले बाटोमा रोकिएकी छु।” मैले बताएँ।

“हो र? खै यहाँ त पानी परेको छैन। कतै बहाना त हैन तिम्रो?” मेरो भुलक्कड स्वभावमा उसले शंका व्यक्त गरी।

“कस्तो नपत्याएकी तिमीले।” मैले मोबाइललाई अलि माथि उठाएँ ताकि उसले झरीको आवाज स्पष्ट सुन्न सकोस्।

“ल ल ,छिटै आउनु।” उसले मोबाइल राखी।

पानी अझै तेर्सो पर्न थाल्यो। झरी कम हुने छाँट थिएन। छड्के परेको पानीले मेरो कुर्था भिजायो। म हातले पानी छेक्दै रेष्टुँराभित्र छिरेँ। ग्राहकहरु आउने बेला भैसकेको थिएन क्यार, अधिकाँश टेबुलहरु खाली थिए। एउटा टेबुलमा भने दुइजनाको निकै गहिरो भलाकुशारी चलिरहेको देखिन्थ्यो। अर्का दुइजना शायद वेटरहरु, कुर्सीलाई ठूलो शिशाको झ्याल अगाडि तानी सडकको रमिता हेर्दै गलल हाँस्दै थिए। म भित्र पस्ने बित्तिकै एउटाले फर्केर हेर्‍यो। मलाई हेरेकोथ्यो वा भिजेको लुगालाई, ठम्याउन सकिँन। छातालाई ढोकैनिरको बाल्टिनमा ठड्याएर मैले अलि भित्रपट्टिको टेबुल रोजेँ।

“एउटै बाटो सधैँ भेटघाट भइरहँदा, मुस्कानहरु साटिएछन्……..” मेरो मोबाइलमा राखिएको रिङ्गटोन बज्यो। अपरिचित नम्बर थियो,कसको हो कुनै अनुमान लाउन सकिनँ। “हेलो।” मैले मोबाइललाई कानमा टाँसें। उता कुनै पुरुष सोधिरहेको थियो, “को बोल्नु भएको?” पहिला त झोँक पनि उठ्यो उसको प्रश्नमा। मेरो मोबाइलमा फोन गरेर, मैसित यो प्रश्न गर्नुसँग पछि हाँसो उठ्यो तर मैले हाँसो दबाएँ। “म बोलेको।” म उसलाई उल्लु बनाउने दाउमा थिएँ। ऊ अलि अल्मलियो, “काँ पर्‍यो यो?” उसको प्रश्नले अघिदेखि दबाइराखेको हाँसो फुत्कियो। खित्का छाडी हाँसेको आवाजले शायद, उताबाट बर्बराउँदै मोबाइल डिस्कनेक्ट गरियो। मेरो ठूलो हाँसोले दुइजनाको कफिगफ समेत टुक्रिएको थियो। रेष्टुँरामा सबै मलाई नै ट्वाल्ल हेरिरहेका थिए। कस्तो कस्तो अप्ठ्यारो लाग्यो मलाई। “भाइ!” सहज बन्न, मैले मेनु लिएर उभिएको वेटरलाई बोलाएँ। “एउटा ब्ल्याक कफि।” छेउको कुर्सीमा बस्दै मैले अर्डर टिपाएँ।

दिन एक्कासी अँध्यारो र चिसो भयो। हाफ बाहुला, उसमाथि लुगा पनि भिज्यो। भिजेको लुगामा निकै सिकसिक लाग्छ, तर के गर्नु तत्कालै अर्को विकल्प पनि थिएन मसँग।

बाहिर झरी अलिकति कम भएको देखिए पनि रोकिएको भने थिएन। पेटीमा उभिएका मान्छेहरु हतार हतार निस्केर लम्कन थाले। एकैछिन अघिको सुनसान सडक थुप्रै रँगिन छाताहरुले भरिए। म पनि सडक हेर्दै थिएँ। सडकमा हेडलाइट बालेर कुद्डै गरेका गाडीहरु र लपक्कै भिजेर पानीको भेलमा खेल्दै गरेका खाते बच्चाहरु देख्दा, मलाई पनि केटाकेटीमा वर्षेभेलमा खेलेको सम्झना आयो।

मेरो कफि आइपुग्यो। तातो र मुस्लो बाफ छाड्दै गरेको कपबाट मीठो बास्ना आइरहेको थियो। बिहान एक कप चिया बाहेक केही खाएकी थिइँन। बास्नाले भोक अरु भड्कायो। आधा घण्टा सम्ममा त पक्कै पानी रहला, मैले भोको पेटलाई आश्वस्त पारेँ। यो भन्दा अघि बिना चिनीको ब्ल्याक कफि मैले कहिल्यै खाएकी थिइँन। सोचेँ, ट्राइ गर्दा के बिग्रिएला र? चिनी नहालिकनै सानो चुस्की लिएँ उफ्! व्यर्थै खाए झैँ लाग्यो। पटक्कै मीठो लागेन। तीतो न तीतो, निल्न पनि गाह्रो भयो। बिनासित्ति मुखको स्वाद मात्र बिर्ग्यो। त्यसपछि, दुइ चमच चिनी राख्दा पनि कफिको तीतोपना घट्न सकेन। “भाइ।” मैले अघि अर्डर दिएको वेटरलाई फेरि बोलाएँ, “साह्रै तीतो भयो,दुध मिसाउनु पर्‍यो।” उसले अनौठो पाराले मलाई हेर्‍यो, मानौँ मैले कुनै आश्चर्यको कुरा गरेको हुँ। ऊसका नजरबाट पिछा छुटाउन मैले टेबुलमाथिको मेनुतिर हेर्न थालेँ। ऊ केही बोलेन र किचेनतिर लाग्यो।

निमाको घर नजिकै भएको भए पनि झरीको बेवास्ता गर्दै हिँड्थे। सानेपासम्म, यतिको पानीले पनि निथ्रुक्कै भिजाउन सक्थ्यो। उसमाथि नजिकै कुनै ट्याक्सी पनि देखिएका थिएनन्।

कफिको लागि दुध कुर्दै निरुद्देश्य ढोकातिर हेर्दै थिएँ, ढोका बाहिर गमलाका बोट जाडोले लुग्लुगी कामेका झैँ देखिन्थे। त्यत्ति नै बेला, हेर्दा बीस बाइसका झैँ देखिने केटा र केटी रेष्टुँराभित्र पसे। झोला बोकेका, उनीहरु कलेज युनिफर्ममै थिए। केटाले कमिज पाइन्ट लगाएको थियो। छोटो स्कर्ट लाएकी केटीले कपाल पोनी टेल बाँधेकी थिई। उनीहरु टेबुलको छेउ भएर हिँड्दा पनि गफ गरिरहेका दुइजना भलादमीले भने उनीहरुको आगमनलाई खासै ध्यान दिएनन्। या त उनीहरु निकै गम्भिर कुरा गरिरहेका थिए या हुनसक्छ केटो साथमा भएकोले केटीप्रति दृष्टि नगएको हो। देख्नमा पनि केटो ज्याङ्गो नै देखिन्थ्यो।

“कस्तो चिसो। काँ बस्ने?” केटीले सि सि गर्दै चारैतिर आँखा घुमाई। म कपको बीँड समाई एकसूरले बाहिर हेरे झैँ गरिरहेकी थिएँ, मानौ उनीहरुतिर मेरो पनि कुनै ध्यानै थिएन। केटी हल्का काम्दै आफ्ना दुइ हत्केला रगडिरहेकी थिई। उसको शर्ट र कपालमा पानीका छिटा थिए।

“ऊ त्याँ बसौँ न, ऊ त्यो कुनामा, हावा लाग्दैन।” केटोले मेरो देब्रेतिरको भित्ताको आड भएको कुनाको सीट देखायो। उनीहरु बसेपछि वेटर अर्डरको लागि उनीहरु सामु उभियो तर ऊ अर्डर लिनुभन्दा बढी भिजेकी केटीलाई हेरिरहेको थियो। केटी चैँ आफ्नो झोला खोतलिरहेकी थिई।

“दुई कप चिया।” केटोले अर्डर गर्‍यो।

“मिल्क टि?” उसका आँखा अझै पनि केटीको अनुहारमै टाँसिएको थियो।

“हो।” केटाले टाउको हल्लायो। उसको कानमा खुसुक्क साउती गरी केटी रेष्टरुमतिर लागी। रेष्टरुमबाट बाहिर निस्कँदा मैले केटीलाई चिन्नै सकिँन। ऊ अघिभन्दा पुरै फरक देखिएकी थिई। बाँधिएको कपाललाई फुकाएर उसले छातीमाथि छरपष्ट छरेकी थिई। लुगाको नाममा उसले छातिमाथि स्कार्फ जस्तो बाँधेकी थिई वा त्यो पनि कुनै ड्रेस थियो, छुट्टयाउन सकिँन। मुन्तिर उसले ट्राउजर लगाएकी थिई। गाजल र हल्का लाली पनि पोतेकी उसले काँधमाथि भने निलो फूलबुट्टा भएको एउटा बाक्लो शल ओढेकी थिइ।

“क्या हट देखिएकी छौ।” केटाले प्रशँसा गर्‍यो।

उसको प्रशँसामा केटी मख्ख परी, “तिमी पनि चेन्ज होउ न।” केटा पनि रेष्टरुमतिर लाग्यो। केटीको तुलनामा ऊ चाँडै फर्क्यो। उसले पनि आफ्नो हुलिया पुरै फेरेको थियो। युनिफर्मको ठाउँमा टिशर्ट र जिन्स लगाएको केटो पहिलेभन्दा निकै स्मार्ट देखिन्थ्यो। यिनीहरुले के कस्तो चर्तिकला गर्ने हुन्, मलाई शँका लाग्न थाल्यो। म अप्ठ्यारो मान्दै पनि हेर्दै थिएँ, उनीहरु आमुन्ने सामुन्ने नबसी एउटै लहरमा बसे। मेरो उपस्थितिले उनीहरुलाई शायद अप्ठ्यारो लाग्ला भन्ने सोचेकी थिएँ तर उल्टै उनीहरुका गतिविधिले मलाई असहज बनायो। केटाले आफ्नो हात केटीको काँधमाथि राख्यो। उसले पनि आफ्नो काँधमाथि झुण्डिएको साथीको हात मुसारी र टाउको ऊतिर झुकाई। यसो हेर्दा उनीहरुको टाउको पनि जोडिएकै झैँ देखिन्थ्यो। उनीहरु बेलाबेलामा सानो स्वरमा खासखुस गर्थे। यी दुवै किन चुप छन् र के गर्दैछन् भन्ने खुल्दुली नलागेको थिएन तर पछिल्तिर फर्केर सिधै हेर्ने पनि आँट गर्न सकिँन।

“त्यै लाएकी हौ?” केटाको प्रश्नमा शायद केटीले टाउको हल्लाई।

“खै, देखाउ त हेरुँ।” उसले हेर्‍यो, हेरेन वा के हेर्‍यो, मैले अनुमान लगाउन चाहिँन। उनीहरुको कुराकानीले मेरो शरीर लाटो भो। खुट्टाहरु जमेर भुँइमा टाँसिए सरह भए। त्यहाँबाट उठेर अर्को टेबुलमा जान पनि सकिँन। वेटरले दुध ल्याइसकेको थिएन, उसलाई फेरि बोलाएर ताकेता गर्न पनि मन लागेन।

एकछिनपछि उनीहरुको टेबुलमा चिया र मेरो कफिको निम्ति तातो दुध आउनु सँगसँगै भयो। कफि सेलाउन थालेको थियो। तातो दुध थपेपछि भने खान हुने चैँ भयो। म हल्का चुस्कीहरुमा पानी पर्न कम हुने बित्तिकै भाग्ने प्रतिक्षा गरिरहेकी थिएँ।

“घरमा फोन गर्‍यौ, अबेला हुन्छ भनेर?” केटाले चियाको पहिलो चुस्की लिँदै प्रश्न गर्‍यो।

“अहँ छैन, गर्छु।” केटीले मोबाइल निकाली, “मामु आज कलेजबाट आउन अलि ढिला हुन्छ, उषाकहाँ जानु छ।” उताबाट कुनै प्रतिक्रिया नपर्खिकनै उसले फोन बन्द गरी। “फोन गरिदियो, आनन्द। नत्र त फोन गर्‍यागर्‍यै गरिसिन्छ मामुले।”

“सो क्युट।” केटाले आफ्नी साथीको अनुहार नजिकै आफ्नो मुख लग्यो। म शरमले गड्दै निहुरिएँ।

बाहिर पानी अझै उस्तै परिरहेको थियो। झ्यालतिर हेरे झैँ गरेर मैले आँखा घुमाएँ, एउटा वेटरको आँखा पनि त्यो जोडीतिरै थियो। यद्यपि त्यहाँ उभिनु पर्ने कुनै आवश्यकता थिएन तर दुइमध्ये अलि जेठो झैँ देखिने त्यो वेटर उनीहरुलाई देख्न सकिने ठाउँमै उभिरहेको थियो। फ्रीमा मनोरन्जन लिने मौका ऊ किन गुमाउँथ्यो र? बहसमा तल्लिन दुइ भलादमी भने कति बेला हिँडे, ख्यालै भएन।

चुरोटको गन्ध आएपछि मैले फर्केर युगल जोडीतिर हेरेँ। केटा आफूले तानेको चुरोट आफ्नी साथीलाई थमाउँदै थियो। आफूले मात्र खाएर नपुगेर, हरे ..साह्रै टीठ लाग्यो मलाई उनीहरुको बैँस देखी। केटीले एक सर्को तानेर ख्वाक्क खोकी।

“पहिलो चोटि यस्तै हुन्छ।” केटाले आफ्नी गर्लफ्रेन्डलाई हौस्यायो। दुइतीन पटक खोक्दै केटीले अरु दुइतीन सर्को लगाई। मैले अगाडि उभिरहेको वेटरलाई बोलाएँ, “के हो, जहाँ मन लाग्यो त्यहीँ, चुरोट पिउन लगाउने?”

“खै, के गर्नु हजुर, हामीले भनेर कहाँ हुन्छ र?” उसले सकेसम्म सानो स्वरमा स्पष्टिकरण दियो र ङिच्च हाँस्यो।

कफि सकाउन पनि मन लागेन। उठ्दाउठ्दै निमालाई फोन गरेँ “ अब केही मिनेटमा आइपुग्छु।” काउन्टरमा पैसा तिर्न उभिँदा, त्यो जोडी पनि एक अर्काको हात समाई उभिएको थियो। ओठ निचोरे दुध निस्कने उमेरका केटाकेटी, कठै! आमाबुवाले पढ्न भनेरै पठाएका होलान्, तर यिनीहरु…! मैले दुबैलाई तलदेखि माथिसम्म हेरेँ।

चिसोले गर्दा त्यहाँ उभिउन्जेलसम्ममा दुइतीन पटक हाछयुँ गरेँ मैले। केटीले पुलुक्क मतिर हेरी अनि झोलाबाट देखिँदै गरेको निलो शर्टको बाहुलालाई भित्रसम्म कोच्दै आफ्नो साथीलाई साउतीमा प्रश्न गरी, “ढिलो त हुँदैन?”

“हुँदैन। छिटै फर्कने हो।” केटाले काउन्टरमा पैसा तिर्‍यो।

बाह्र बजिसकेको थियो। मैले टयाक्सी समातेँ। निमाकहाँ पुग्दा उसले खाना पस्किन ठीक गरिसकेकी थिई। “कस्तो बेटाइममा पानी परेर हेर न।” मैले आफू ढिला हुनुको स्पष्टिकरण दिएँ।

“खै त तिम्री बहिनी, आउँदिन? आज चिनापर्ची गराइदिने भनेकी हैनौ र?” मैले कुर्सीमा बस्दै सोधेँ। “आउँदैछे।” निमाले खाना पस्काई। उसका छोराछोरीले खाइसकेका थिए। हामीले खान सकायौँ। बैठक कोठामा उसले टिभि खोली। “आमालाई कस्तो छ? अनि अनिल के गर्दैछ?”

“ठीकै छ। तिमीसँग अनिलको… …” मेरो वाक्यलाई रोक्दै निमाले भरेङ्गतिर कान थापी, “पर्ख है? प्रभा आएकी जस्तो छ।” उसले ढोकातिर हेर्दै ठूलो स्वरमा भनी “प्रभा, यतै कोठामा आइज है?” निमा आफ्नी बहिनीको निकै कुरा गरिरहन्थी। निमाबाट प्रभावित म, उसले गर्ने बहिनीको प्रशँसाको कारणले नै म प्रभालाई भेट्न इच्छुक थिएँ। अनिलको लागि प्रभाको जोडी निकै उपयुक्त हुनसक्थ्यो। आँखामा उत्सुकताका खात बोकेर मैले ढोकातिर हेरेँ। कोठाभित्र पसेको आकृतिमा भन्दा पनि पट्याएर उसले हातमा बोकेकी निलो फूलबुट्टे शलमा मेरा आँखा परे। “प्रभा, ऊ मेरी साथी अर्चना।” निमाले आफ्नी बहिनीलाई मसित परिचय गराई। प्रभासँग आँखा जुध्यो। म स्तब्ध भएँ। ऊ पनि छक्क परी। भएभरको रगत सोहरिएर उसको अनुहारमा देखा पर्‍यो। उसले दिदीलाई हेरी, केही बोल्न सकिन। मैले हेरिरहेँ, उसका झुकेका आँखा त्यसपछि फेरि उठेनन्।

“अत्ति लजाउँछे यो। साह्रै सोझी, त्यही भएर कसैको सामु पर्दिन। अँ, तिमी अनिलको के कुरा गर्छु भन्दै थियौ नि।” निमा सोध्दैथिइ।

“ए! त्यस्तो ठूलो कुरा हैन।” मैले कुरा अगाडि बढाइनँ। बिहान मैले देखेको कुरा एउटा सपना थियो वा मात्र उमेरको एउटा अल्हडपना भनी मैले आफूलाई भुलाउन सकिँन। मेरा आँखा अगाडि अनिलका उत्सुक हेराई घुमिरहे। त्यसपछि त्यहाँ धेरैबेर बस्न सकिँन म।

“सन्चो भएन कि तिमीलाई?” निमाले सोधेकी पनि थिई।

“भिजेकी छु, चिसो लाग्ला जस्तो भएको छ। अब निस्कनु पर्छ।” मैले बिदा मागेँ ऊसँग।

फर्कँदासम्ममा घाम नलागे पनि दिन खुलिसकेको थियो। घरमा पुग्ने बित्तिकै आमाले सोध्नु भयो, “कुरा भयो त निमासँग? भेटिस् उसकी बहिनीलाई? ” अनिल आमाको पछिल्तिरबाट मलाई हेर्दै थियो।

“छैन आमा। ” मैले आमालाई टड्कारो हेर्न सकिँन।

नदीले समेत आफ्नो छेउछाउ भत्काउँछ, यो त उमेर र बैँसको बाढी थियो। नसम्हालिए, कुन भुमरीमा लगेर जाक्छ कुन्नि, सोचेर मन एकतमासले नमीठो भयो। कोठाको पोष्टरमा नदी बगेको थियो। म बग्न सकिँन, थचक्क खाटमा बसेँ। आमा र भाइलाई पछि कुनैबेला सम्झाउँला तर निमालाई उसकी बहिनीको यथार्थ बताएर उसको बिस्वासमा कसरी ठेस पुर्‍याउने, सोच्न सकिरहेकी थिइनँ।

30 Comments

  1. बास्नाले भोक अरु भड्कायो। मलाई हेरेकोथ्यो वा भिजेको लुगालाई, कथा राम्रो छ

  2. सुस्माजी,
    तपाइको लेख पढे. सरो राम्रो लाग्यो .लेख र बाहिरको परिवेश हेर्दा लाग्छ यो समयको परिणाम हो जस्तो लाग्छा . हामी पनि यहि समएमा जन्मिएको भए के गर्थ्यौ थाहा छैन. लेख माथिदेखि तलसम्म पुरै पढे. समसामैयिक . लाग्यो. आजका युवाहरुले गरेको चर्तिकला देख्दा त म आफुलाई धिक्कार्छु र छिट्टो जन्मिएकोमा पश्चाताप लाग्छ
    तपाइको लेख आउन ढिला हुन थालेको महसुश गरेको छु.
    .

  3. यो १०+२ पढ्नेहरूको बास्तबिकता हो, मैले पनि भेटेको छु यस्ता नानी बाबुहरुलाई, जो पटक्कै अप्ठ्यारो मान्दैनन्, आफ्नो वरिपरी को को छन् भनेर पनि हेर्दैनन्/ आफैमा मस्त हुन्छन /

  4. कथा यथार्थपरक छ । आधुनिक प्रविधिले उच्छ्रिङ्खलता बढाउन सहयोग गरेको हो जस्तो लाग्छ ।
    जवानी पहिले पनि थयो, अहिले पनि होला, भगाउने र पोइल जाने चलन नयाँ होइन । अनी अहिले जस्तो आधा उमेर गइसकेपछि बिहे गर्ने समाजमा पक्कै पनि बाटो बिराउने सम्भावना निकै बढी हुन्छ । हामीले नयाँ पद्धती अपनाउनलाई हतार गर्यौ तर त्यसको खराब असरको बारेमा तयारी गर्नलाई चुक्यौं, जसको कारण आज यो गति भएको छ समाजमा ।

    कथामा देखाइएजस्तै, मानिसको अनुहार एउटा मुकुण्डो भैसक्यो, सबै मानिस कलाकार भइसके, विश्वास कसरी गर्न सकिएला, यै लाग्छ पिरलो…

    शुष्मा म्याम, धेरै धेरै धन्यवाद छ, एउटा तरङ्ग ल्याउन सफल हुनुभएको छ । यति धेरै बहस र छलफल, तँपाईको कथाकै कारणले भएको हो ।

  5. नदीले समेत आफ्नो छेउछाउ भत्काउँछ, यो त उमेर र बैँसको बाढी थियो। नसम्हालिए, कुन भुमरीमा लगेर जाक्छ कुन्नि, सोचेर मन एकतमासले नमीठो भयो। कोठाको पोष्टरमा नदी बगेको थियो। म बग्न सकिँन, थचक्क खाटमा बसेँ। आमा र भाइलाई पछि कुनैबेला सम्झाउँला तर निमालाई उसकी बहिनीको यथार्थ बताएर उसको बिस्वासमा कसरी ठेस पुर्‍याउने, सोच्न सकिरहेकी थिइनँ।
    कथा राम्रो लाग्यो, शुषमा जी का कथाहरु म my sansar मा पढ्दै आइरहेको छु, आगामी दिनहरुमा पनि पढ्न पाउने आशाका साथ् उहालाई अझ प्रगति को कामना छ

  6. सुष्माजी कथा राम्रो छ निरन्तर दिनु भएमा हामीलाई फेरी पनि पड़ने सौभाय्ग्य मिल्ने थियो…………!

  7. सुष्मा जी का हरेक कथा हरु पाए सम्म छुटाउन्न / अहिले केहि अंक हरु बाट उहालाई भेट्न पाउदा अति खुसि लागेको छ / यो कथा सामन्य छ यो / नत्र उहाका अरु कथाहरुले जति मनमा खुल्दुली औ उत्सुकता बढाएको पाउथे, यो कथामा अलि पाईन / आशा छ अर्को पटक मेरो खुल्दुल सहजै मेटिने छ /

  8. कथाको सुरुवातलाई हेर्दा सारै राम्रो लागेको थियो तर अन्त्यमा भने कथाले कम्जोर मोड लिएर टुंगिएको छ .

  9. कथाको मर्म मार्मिक छ / किशोरावस्थामा अभिभावकलाई भ्रममा राखेर आफ्नो जीत ठान्ने जमातको दर्पण हो; यो कथा !!
    लेखनशैली मनपर्यो /

  10. कथा सजीव र सलल बगेको छ| तातो र तितो कफी अनि चिसो तन अध्यारो रेस्टुराँ मुसल धारे वर्षा को वर्णन साच्चैको फिल्म हेरेको भान पर्यो| जे होस् मैले यो कथालाई चुप चाप मन पराएँ|

  11. ओह क्या गजबको सामाजिक परिबर्तन को झल्को प्रतिबिम्बित भय जस्तो लाग्यो

  12. धेरै राम्रो कथा छ म्याम . एकदम रियल घटना जस्तै.

  13. मान्छेको मन,चरित्र,आनीबानी जाच्ने मेसिन बन्या छैन | के गर्नु बिडम्बना |

  14. कथा सलललललललल बगेको छ ।तर खाते शब्दलाइ सडक बालक भन्दा हुन्थ्यो । भुमरीको शीर्षक कताकति नमिलेकोजस्तो लाग्यो । सामाजिक जीवनको एकांश दृश्य देखिएको छ । जेहोस कथालाइ राम्रो भन्नै पर्छ ।

  15. कथा अति संदर्बिक र नामकरण पनि सर्र्थक छ.धेरेई राम्रो उपयागी कथा वोयो राम्रो लागेको छ

  16. वर्तमान युवा जमातमा देखिएको एउटा बिकृतिको यथार्थ पाटो खोतल्नु भाको मा कथाकारलाई मेरो सलाम | अहिलेका मध्यम बर्गीय अभिभावकहरुले यो कथाको सन्देशलाई राम्ररी बुझ्नु पर्ने देख्छु म | थाहै नपाई धेरै युवाहरु बिकृतिको भुमरीमा परिरहेका छन्….

  17. कथा राम्रो मात्र होइन आहिले काठमाडौँ अनि ठुलो सहर हरु मा येस्तई त भई रहेको छ.. एउटा संग घुम्यो मोज गर्यो अनि बिहे आर्को संग. आहिले को सत्येता हो कति पयेलाई तितो लाग्ला . तर सोच्नुस यो कथा को पात्र जस्तै तपाइको जिन्दगि मा नि कहीं कतै येस्तई त भई रहेको त छैन … येहत आफुले देखेर अनि भोगेर साथी लाई खबर गरिदिदा पत्तायेनन र पत्याउन पनि कसरि …कथा को पात्र जस्तै घरमा सोझो भएर बस्ने अनि बाहिर मन लागेको गर्ने हरु आजकल अलि देखिदै छन्. तितो सत्य हो …मान्नुस या न मान्नुस.. मान्छे को आचरण बिग्रिदै छ…

  18. मन छुने लग्यो किशोर तिवारी झापा हाल मलेसिया

  19. राम्रो कथा शिल्पी हुनुहुन्छ सुषामा जी । कथा पढ्दै जाँदा आफू हराएर सुषमा जीले ओत लागेको रेस्टुरेन्टमा पुगेर तातो कफि पिउँदै ती अल्लारे ठिटा ठिटीहरुको चर्तिकला पो हेर्न पुगेछु म त । यो कथा नभएर समाजमा दैनिक घटी राखेका घटनाहरुको कथारुपी यथार्थ र सजिव चित्रण हो ।

  20. मेरो बिचारमा कथा ठिकै छ| अहिले समाजमा बिद्यार्थीहरुमा देखिएको एक किसिमको बिकृति प्रतिको प्रहार हो यो| बैंश त सबैलाई लाग्छ| तर बैंशको आबेगलाई आफ्नो भविष्य प्रतिको कर्तब्य, जिम्मेवारी अनि दायित्वबोधको बिबेकले नियन्त्रण गर्न सक्नु पर्छ| यसो गर्न सकेन स्टेरिंग तथा break बिनाको गाडी जस्तै तिनीहरुको जीवन अन्धकारको खाडल भित्र जाकिने छ| हतारमा गल्ति गर्ने अनि फुर्सदमा पछुताउने भनेको यहि हो| तिनीहरुले नत समाजको लागि नत आफ्नो लागि नै केहि गर्न सक्छन….. भन्ने हाम्लाई लागि रहेछ|

  21. कथा राम्रो छ, काल्पनिक , यथार्त र मार्मिक छ . साथै मित्र अबिनव जी ….कुनै कुरा को नराम्रो पाटो पछार्नु भन्दा पहिले आफ्नो राम्रो पाटो देखाउनु पर्यो नि …. मलाई लाग्छ बिचारालाई गाई को बारेमा लेख्नु भयो भने सिङ्ग र पुच्छर संगै हुन्छ भन्न बेर छैन ………. यहि हो हामि नेपाली हो बानि न आफु गर्ने अँ अरुलाई गर्न दिने ,,,,,,,,,,,,,,

  22. कथा यथार्थवादी र समय सापेक्ष छ ,हाम्रो नया पुस्ता बास्तवमा बर्बादितिर नजानिदो गरी जाकिदै छ …

  23. कथा राम्रै हो तर अलि फिल्मी लग्यो मलाई चै …एकदम राम्रो छ तर .. मजा आयो पढ्न भने …अरु पनि कथा लेख्नु होला…निमा को बहिनि को बारेमा …के के गर्दी रैछा हामी नि हेरम न ..

  24. सारै राम्रो कथा लग्यो ….तर निमा को बहिनि ले अर्को केटा संग मोज गरेझै यता अर्चना को भाई ले नि अर्को केटि संग रमाइलो गरेकै होला …..अब को जमाना मा सत्य सावित्री खोजेर कहाँ पैन्छा र ……येस्तई हो

  25. कथा मा खासै बिषय बस्तु केहि छैन…तिल लाइ पहाड मात्र बनाइएको छ….

  26. कथा त ठिकै हो तर उत्कृष्ट छैन, कथा को पुछर अलि मिलेन जस्तो लाग्यो..

Comments are closed.