यस्तो देखियो आजको चन्द्र ग्रहण


यो वर्षको अन्तिम खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण आज भयो। साँझ साढे ६ बजे सुरु भएको ग्रहण १० बजिसकेपछि बल्ल पूरै हट्यो। चन्द्रग्रहण सुरु हुँदा म जावलाखेलमा एउटा कन्सर्टमा थिएँ। कन्सर्टको स्टेजमा ध्यान नदिई आकाशतिर लेन्स तेर्स्याएर त्यहीँबाट खिचेका केही फोटोहरु।


यो ग्रहण नेपालका सबै ठाउँबाट अनि मध्यपूर्व एसिया, अफ्रिका, युरोप, अस्ट्रेलिया, उत्तरी अमेरिका र ग्रिनल्यान्डबाट समेत देखिएको छ।


चन्द्रमामा देखिएको कालो छायाँ वास्तवमा पृथ्वीको हो। सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा सूर्यको प्रकाश छेकिन गई चन्द्र ग्रहण देखिएको हो। सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा भने सूर्यमा चन्द्रमाको छायाँ लागेर सूर्य ग्रहण लाग्छ। चन्द्रमामा बसेर हेर्ने हो भने सूर्य र चन्द्रमा र सूर्यको बीचमा पृथ्वी आउँदा पृथ्वी ग्रहण पनि देखिन्छ होला।


चन्द्र ग्रहण पूर्णिमाको दिन मात्र लाग्छ। औँसीको दिन त चन्द्रमा नै देखिँदैन, कसरी लाग्नु 🙂 आज धान्य पूर्णिमा अर्थात् नेवारहरुको योमरी पुन्हि र किरातहरुको उधौली पर्व।


चन्द्र ग्रहणको अलि अर्कै किसिमको फोटो खिच्ने मन थियो तर कन्सर्टको मैदानबाट यति मात्रै खिच्न सकियो।


अब अर्को चन्द्रग्रहण २०६९ साल जेठ २२ गते लाग्नेछ। त्यतिबेला आकाश के हुने हो बरु। आज भने बादल नलागेकोले एकदम स्पष्टसँग चन्द्रमा देखिएको थियो।


11 Comments

  1. -यो चन्द्रमाको उज्यालो कम भए झैं गरेर अनेक थरि सुबिधाहरुको नाममा नेपालि जनतालाई चुस्ने परजीवी नेताहरुको जीवन र भबिष्य पनि निभ्दै गएर अन्तमा खरानी नै भएर उडोस—र नेपालीहरुले चैनको स्वाश फेर्न पाउन!!!!

  2. दिबेश प्रधान को कुरा ठिक छ |
    अनि राजेन्द्र अधिकारी ले पनि तेही follow गर्नु भाछ ,त्यो पनि ठिक छ |

    तर लेखक ले गलत लेख्नु भाछ ,सच्याउनु पर्यो |

    अब मेरो कुरा कस्तो लग्यो लेख्नु होला !

  3. पृथिवीमा बसेर हेर्दा चन्द्र ग्रहण लाग्नु भनेको सुर्यको प्रकाश पृथिवीले छेक्नु हो( किनकि चन्द्रमाले प्रकाश दिदैन त्योत सुर्यको प्रकाश चन्द्रमामा परेर हो) तेसैले पृथ्वीको छाया चन्द्रमामा परेपछि अनि चन्द्र अधेरो देखिन्छ तेसैलाई हामी चन्द्र ग्रहण भन्छौ . येस्मा सुर्य र चन्द्र को बिचमा पृथ्वी हुन्छ . अब हामी चन्द्रमामा बसेर हेर्दा पृथ्वी ग्रहण लाग्नु भनेको पृथ्वीमा लाग्ने सुर्यको प्रकाश चन्द्रमाले छेकेर हेने हो येस्मा सुर्य र पृथ्वी को बिचमा चन्द्रमा हुनु आबस्यक छ. धन्यबाद

  4. “चन्द्रमामा देखिएको कालो छायाँ वास्तवमा पृथ्वीको हो। सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा सूर्यको प्रकाश छेकिन गई चन्द्र ग्रहण देखिएको हो। सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा भने सूर्यमा चन्द्रमाको छायाँ लागेर सूर्य ग्रहण लाग्छ। चन्द्रमामा बसेर हेर्ने हो भने चन्द्रमा र सूर्यको बीचमा पृथ्वी आउँदा पृथ्वी ग्रहण पनि देखिन्छ होला।” – मेरा विद्वान साथी हरु सुर्य आफैमा दिप्त बस्तु हो र चन्द्रमा अरुको प्रकाश पाए पछी मात्र दिप्त हुन्छ भने पृथ्बी आदिप्त बस्तु हो त्यस कारण पृथ्बी ग्रहण हुनै सक्दैन अनि तपाई को माथि को लेख मा सुर्य र चन्द्रमा को बिचमा पृथ्बी आउँदा र चन्द्रमा र सुर्यको बिचमा पृथ्बी आउँदा भन्ने बाक्य एकै भएन र काले कामी र कामी काले भन्ने शब्द को अर्थ एकै हुन्छ तर यहाँ दुइ अर्थ भयो पहिला चन्द्र ग्रहण र पछी पृथ्बी ग्रहण कसरी हुन्छ होला लेख प्रकाशित गर्नु भन्दा पहिला बिषय को गहिराई मा पुग्दा राम्रो हुन्थ्यो कि

  5. चन्द्रमामा बसेर हेर्ने हो भने चन्द्रमा र सूर्यको बीचमा पृथ्वी आउँदा पृथ्वी ग्रहण पनि देखिन्छ होला।–> पृथ्वी ग्रहण होइन सुर्य ग्रहण देखिन्छ |

  6. धरानमा बिहान देखि हुस्सु लागेको राती सम्म त्येस्तै त्येसैले चन्द्र ग्रहण हेर्न पाईएन

  7. ” चन्द्रमामा बसेर हेर्ने हो भने चन्द्रमा र सूर्यको बीचमा पृथ्वी आउँदा पृथ्वी ग्रहण पनि देखिन्छ होला।” यो चाही गलत लाग्यो है… मेरो भिचारमा चन्द्रमामा बसेर हेर्दा पृथ्बी बिचमा आउदा सुर्य ग्रहणनै लाग्छ होला | हैन त साथी हरु ??? पृथ्बी ले प्रकाश छर्ने होइन त…पृथ्बीले सूर्य को प्रकाश बिचमा बसेर छेकिदा पृथ्बी ग्रहण होइन बरु सूर्य ग्रहण नै देखिन्छ होला चन्द्रमा बाट…बरु सूर्य ग्रहण भएको बेलामा अर्थात् पृथ्बी र सूर्यको बिचमा चन्द्रमा पर्ने बेलामा चाही चन्द्र मा बाट पृथ्बीमा हेर्यो भने चाही पृथ्बीमा दिउसै कालो भएर चाही पृथ्बी ग्रहण देखिन बेर छैन | बिज्ञान को विद्यार्थी त होइन तर पनि येसो विचार राखेको हो | साथी हरु कतिको सहमत र बिमत हुनु हुन्छ येसो कमेन्ट चाही गर्नु होला है |

  8. ” चन्द्रमामा बसेर हेर्ने हो भने चन्द्रमा र सूर्यको बीचमा पृथ्वी आउँदा पृथ्वी ग्रहण पनि देखिन्छ होला।”यो चै ठिक लाग्यो है……साच्चै चन्द्रमा मा बसेर हेर्दा पृथ्बी ग्रहण पनि देखिन्छा होला…….फोटो सबै राम्रो लाग्यो.अनि ९/१० कक्षा मा पढेको”चन्द्रमा ले पृथ्बी लाइ पृथ्बी ले सुर्य लाइ परिक्रमा गर्दै जादा कालान्तरमा सुर्य र चन्द्रमा को बीच मा पृथ्बी आइपुग्दा चन्द्र ग्रहण लाग्दछ” भन्ने घोकई याद आयो…..

    • “चन्द्रमामा बसेर हेर्ने हो भने चन्द्रमा र सूर्यको बीचमा पृथ्वी आउँदा पृथ्वी ग्रहण पनि देखिन्छ होला।”
      यो कुरो अल्ली मिल्दैन ।
      चन्द्रमा र सूर्यको बीचमा पृथ्वी आउँदा, पृथ्वीमा चन्द्र गृहण लाग्छ (हिजो भएको) र चन्द्रमा मा चाहिँ सूर्य ग्रहण लाग्छ (पृथ्वीले छेकेर) ।
      चन्द्रमा मा पृथ्वी ग्रहण लाग्न त, सुर्य र पृथ्विको बिचमा चन्द्रमा पर्नु पर्छ, जुन पृथ्वीमा सुर्य ग्रहण लागेको बेला हुने गर्छ ।

Comments are closed.