लोग्ने विदेशमा, स्वास्नी यता…..

देशको स्थिति उही हो, हातमुख जोर्न विदेशमा भए पनि काम गर्न जानै पर्‍यो। तर परिवारका एक सदस्य विदेशमा जाँदा त्यसले निकै सामाजिक समस्या ल्याउँदो रहेछ। लोग्ने विदेशमा रहेका स्वास्नीहरु बिग्रिएको भन्ने आरोप र उदाहरण निकै दिइन्छ। तर यसको अर्को पाटो पनि छ, जसको कमै चर्चा हुन्छ। लोग्ने विदेशमा भएका महिलाले आफन्त र समाजबाट भोग्नुपरेका मानसिक तनावका घटनाहरू कमै मात्र सार्वजनिक हुने गरेका छन्। घरपरिवारदेखि समाजसम्मले नकारात्मक रूपमा हेर्छन्। काभ्रेका पत्रकार भीम गौतमले तयार पारेको रिपोर्ट-
• ‘श्रीमान् विदेश गएको भनेपछि परिवारबाहिरका पुरुषले साह्रै नराम्रो दृष्टिकोणले हेर्दारहेछन्, घरभित्रका आफन्त पनि साह्रै शङ्कालु हुने रहेछन्’
• ‘कसैसँग बोल्यो भने पनि घर–परिवारले साह्रै तनाव दिन्छन्, परिवारबाटै तनाव दिएपछि कहिले त मन बुझाउन र आफ्नो बह पोख्न बाहिरको मान्छेको सहारा लिँदा झनै फस्ने अवस्था आउने रहेछ।’
• ‘बाहिरका केटाहरू पनि फकाउने, धम्क्याउनेसमेत काम गर्छन्।’
• ‘छोराले विदेशबाट कमाएको पैसा आफैंले राख्नका लागि पनि कतिपय सासू–ससुराले नियतवश गलत व्यवहार गरेर हतोत्साहित बनाउन खोज्ने रहेछन्।’


-भीम गौतम-

काभ्रेको होक्से गाविसका एक पुरुष हालै रोजगारीका लागि इराक गए। उनकी श्रीमतीको पाँचखालको जिरो किलोमा पसल थियो। श्रीमान् वैदेशिक रोजगारमा गएको थाहा पाएपछि केही आवारा केटाले उनलाई मानसिक तनाव दिन थाले। ५० हजार रुपैयाँ नदिए अन्य केटासँग लागेको भनेर सामाजिक रूपमा बेइज्जत गरिदिन्छौँ, इज्जत लुटिदिन्छौँ भन्दै राति पसलमा आएर धम्क्याउन थालेपछि उनी अहिले पसलै बेचेर माइतीमा बसिरहेकी छिन्।

यस्तै, काभ्रेकै फूलबारी गाविसकी एक महिलाका श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा छन्। हालै उनी आफ्नै नाता पर्ने फुपूको घरमा गइन् र फर्कंदा साँझ परेपछि फुपूका छोरालाई साथ लिएर घर फर्किन्। रात परेकोले फुपूका छोरा पनि भिन्न बसेकी
उनकै घरमा बसे। भोलिपल्ट उनका ससुरालगायत आफ्नै परिवारका व्यक्तिले फुपूको छोरासँग लागेको भन्दै जबर्जस्ती उनैलाई जिम्मा लगाइदिए। ती महिला र फुपूका छोराले त्यसको प्रतिवाद गरे तर लोग्ने वैदेशिक रोजगारमा भएकाले पक्कै यो महिलाको नियत ठीक छैन भन्दै जबर्जस्ती भिडाएका थिए। आफ्नै परिवारका मान्छेले जबर्जस्ती गरे पनि दुवैले स्वीकार गरेनन्। पछि महिलाका क्षेत्रमा कार्यरत अभियानकर्ताहरू गाउँ पुगेर बल्लबल्ल ती महिलालाई घरमै बस्ने वातावरण बनाइदिए।

काभ्रे साँगा गाविसको एक महिलाको अवस्था पनि उस्तै छ। उनका श्रीमान् अमेरिकामा छन्। एकपटक गाउँकै कसैसँग बोलेको आरोपमा उनकै परिवारले त्यही पुरुषसँग सम्बन्ध भएको आरोप लगायो। यस विषयमा प्रहरीमा उजुरी नै पर्‍यो, जसले आरोप लगाएकी थिइन् उनले जिल्ला प्रहरी कार्यालय काभ्रेको महिला सेलमा आफूले लगाएको आरोपको पुष्टि गर्न सकिनन्। तर, परिवारले आरोप लगाउन भने छोडेन। अहिले उनी बल्लबल्ल प्रहरीको रोहवरमा भएको छलफलपछि घरमा बसेकी छिन्, तर व्यवहार राम्रो पाउन सकेकी छैनन्।

काभ्रेको डाँडापारिस्थित गोकुलेकी एक महिलाका श्रीमान् पनि रोजगारको सिलसिलामा विदेशमा थिए। गाउँकै सेतीदेवी प्राविका शिक्षक नारायण पुलामीले छुट्टै बस्ने उनलाई दैनिक रूपमा रक्सी सेवन गरेर मानसिक तनाव दिन थाले। अन्ततः उनी ती शिक्षकसँग अवैध सम्बन्ध राख्न बाध्य भइन्। उनका श्रीमान् वैदेशिक रोजगारमा गएर फर्केको ११औँ दिनको दिन उनले बच्चा जन्माइन्। यो मुद्दा जिल्ला प्रहरी कार्यालयसम्म आइपुग्यो। उनका श्रीमान्ले छोडिहाले, उनीसँग अवैध सम्बन्ध राख्ने पुलामी पनि गत वैशाखदेखि फरार छन्। २० दिन धुलिखेलस्थित सेफ हाउसमा बसेकी उनलाई अहिले साथी संस्थाले सहारा दिइरहेको छ।

यस्तै, बैतडीकी एक महिलाका श्रीमान् रोजगारको सिलसिलामा विदेशमा रहँदा ती महिलालाई ससुरा र देवरले पटक–पटक बलात्कार गरे। आफ्ना श्रीमान् र माइतीलाई बलात्कार गरेको बताउने भनेपछि ससुरा र देवर मिलेर उनको हत्या गरे र भैंसीगोठमुनि पुरे। पछि माइतीको उजुरीको आधारमा ससुरा र देवर जेल परे। ससुरा त जेलबाट देवरलाई मात्र दोष देखाउँदै छुटेका छन् तर देवर भने अझै जेलमै छन्।

यी माथिका केही प्रतिनिधि उदाहरण मात्रै हुन्। श्रीमान् वैदेशिक रोजगारमा गएका केही
महिलामा आएको विचलनको जोडतोडका साथ प्रचार भए पनि वैदेशिक रोजगारीका लागि
श्रीमान् विदेश जाँदा तिनका श्रीमतीले आफन्त र समाजबाट भोग्नुपरेका मानसिक तनावका
घटनाहरू भने बाहिर आउन सकेका छैनन्। यस्ता घटना कमै मात्र सार्वजनिक हुने गरेका
छन्। समाजमा पछिल्लो समयमा रोजगारीको सिलसिलामा श्रीमान् वैदेशिक रोजगारीमा रहेका महिलाले चौतर्फी मानसिक तनाव झेल्नुपर्ने बाध्यता छ। घरपरिवारदेखि समाजसम्मले नकारात्मक रूपमा हेर्ने गरेका छन्। विशेषगरी यस्ता महिलाले आफन्तजनबाट घर निकालादेखि बलात्कारसम्मको पीडा खप्नुपरेका उदाहरण छन्।

‘श्रीमान् विदेश गएको भनेपछि परिवारबाहिरका पुरुषले साह्रै नराम्रो दृष्टिकोणले हेर्दारहेछन्,
घरभित्रका आफन्त पनि साह्रै शङ्कालु हुने रहेछन्, श्रीमान् नभएपछि एक्लो महसुस हुने
रहेछ,’ एक पीडित महिलाले गुनासो पोखिन्, ‘कसैसँग बोल्यो भने पनि घर–परिवारले साह्रै
तनाव दिन्छन्, बाहिरका केटाहरू पनि फकाउने, धम्क्याउनेसमेत काम गर्छन्।’ उनका अनुसार, परिवारबाटै तनाव दिएपछि कहिले त मन बुझाउन र आफ्नो बह पोख्न बाहिरको मान्छेको सहारा लिँदा झनै फस्ने अवस्था आउने रहेछ।

उनी भन्छिन्, ‘बिनाकारण हरेक कुरामा बिनाप्रमाण, बिनाआधार आरोप लगाएपछि साह्रै
पीडा हुने रहेछ, कतिपयको त हामीजस्तै वैदेशिक रोजगारमा जानेका श्रीमती बाध्य भई अरूसँग जानुपर्ने परिस्थिति पनि परिवारकै सदस्यले बनाइदिने रहेछन्।’ अर्की एक पीडित महिला (उनकै अनुरोधमा नाम उल्लेख नगरिएको) ले भनिन्, ‘छोराले विदेशबाट कमाएको पैसा आफैंले राख्नका लागि पनि कतिपय सासू–ससुराले नियतवश गलत व्यवहार गरेर हतोत्साहित बनाउन खोज्ने रहेछन्।’

पछिल्लो समयमा श्रीमान् वैदेशिक रोजगारीमा भएका कारण महिला समस्यामा
परेका घटना प्रहरीसम्म पनि पुग्ने गरेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेकी महिला सेल प्रमुख कल्पना सापकोटाका अनुसार, गत वर्ष प्रहरीमा दर्ता भएका ७२ घरेलु हिंसाका घटनामध्ये ३० वटा वैदेशिक रोजगारीसँग सम्बन्धित छन्।

हालसम्म जिल्ला प्रहरी कार्यालय काभ्रेमा आएका ३३ मुद्दामध्ये ५० प्रतिशतजति त रोजगारीको कारण आएका समस्या छन्। ‘कतिपय मुद्दा महिलाका कारण उब्जिएका समस्यामा केन्द्रित छन्, कतिचाहिँ श्रीमान् विदेशिएपछि घर– परिवारबाट हुने अपहेलना, गाउँका र घरकै पुरुषले गर्ने दुर्व्यवहारलगायतका छन्,’ सापकोटा भन्छिन्।

अशिक्षा, जनचेतनाको कमी, महिलाप्रति पुरुषको गलत दृष्टिकोण आदिको कारण पछिल्लो
समयमा महिलामाथि हुने हिंसाका घटना बढेको यस क्षेत्रमा सक्रिय अभियानकर्ता बताउँछन्।

तामाङ महिला घेदुङले काभ्रेमा सञ्चालन गरेको
मानव बेचविखनविरुद्धको कार्यक्रमकी सहजकर्ता
गंगा दोङ भन्छिन्, ‘अशिक्षा, अज्ञानता, परिवारको
दबाब र समाजको डरको कारण धेरै महिलाले
समस्या भोगिरहेका छन्। महिला बोल्न डराउँछन्,
कुनै आरोप लगाएपछि रोईमात्र रहन्छन्, समाजमा
जान्ने–बुझ्नेहरू पनि कसैलाई नचिढ्याउने
नाममा मौन बसिदिन्छन्।’ प्रहरीको अनुसन्धान
केवल डाक्टरको एकपछि अर्को बिरामीको जाँच
परीक्षण गरिएकोजस्तो मात्र भएको उनको आरोप
छ। ‘प्रहरीका अनुसन्धान पनि महिलामैत्री हुनुपर्छ,
मनोवैज्ञानिक तरिकाले गहिराइसम्म पुगेर
अनुसन्धान गरे पो न्याय दिन सकिन्छ, खालि
मिलाउने र सहमतिको प्रयास मात्र प्रहरीले गर्छ,’
उनी भन्छिन्।

उनको तर्कसँग काभ्रे बार इकाइकै पूर्वअध्यक्ष
एवम् जनअधिकार संरक्षण मञ्चद्वारा काभ्रेमा
सञ्चालित जनचेतना अभिमुखीकरण कार्यक्रम
संयोजक कृष्णप्यारी नकर्मी पनि सहमत छिन्।
अञ्चल प्रहरी प्रमुख पशुपति उपाध्यायले भने
पीडितले तुरुन्तै न्याय र सेवा पाउनेगरी
पीडितमैत्री वातावरणमा काम गर्न प्रहरीका सबै
निकायलाई निर्देशन दिइएको बताए। ‘कुनै पनि
पीडितले तुरुन्तै र साँच्चै न्याय पाउन् भनेर
पीडितमैत्री सेवा दिनका लागि निर्देशन दिएको
छु,’ उनले भने। नकर्मी भन्छिन्, ‘प्रहरीले
सकेसम्म मिलाउने, नत्र अदालत पठाउने काम
मात्र गरिरहेको छ, सरकारले मनोसामाजिक
परामर्श तालिम अनिवार्य रूपमा प्रहरीलाई दिएर
उनीहरूलाई मनोसामाजिक परामर्शको आधारमा
अनुसन्धान गर्न सहयोग पुर्‍याउनुपर्छ।’ वैदेशिक
रोजगारीका कारण पछिल्लो समयमा जिल्ला
अदालतमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको
पनि उनले बताइन्।

विदेश जानुअघि श्रीमान्–श्रीमती र परिवारका
सदस्यबीच कुनै छलफल नै नगर्ने प्रवृत्ति पनि
महिला पीडित हुनुको एउटा कारण हो। विदेश
जानुअघि श्रीमान्, श्रीमती, परिवारका सदस्य
राखेर छलफल गर्ने र सबै कुरामा स्पष्ट हुने हो
भने यस्ता समस्या कम आउन सक्छन्। वैदेशिक
रोजगारमा जाने श्रीमतीहरूले तनाव भोग्नु
नपरोस् र विदेशिएकाहरूले घरपरिवारलाई
राम्रोसँग हेर्ने वातावरण बनोस् भनेर आफूहरूले
जनचेतनामूलक कार्यक्रम काभ्रेका गाउँहरूमा गर्न
लागेको कुरा तामाङ घेदुङकी सहजकर्ता गंगा
दोङले बताइन्। जिम्मेवार परिवार, बुहारीमाथि
राम्रो व्यवहार र श्रीमान्को अनुपस्थितिमा
परिवारले राम्रो व्यवहार दिन सके कोही महिलाले
तनाव भोग्नु नपर्ने र महिला ‘बिग्रिएको’ देख्नुपर्ने
अवस्थाको अन्त्य हुने उनको भनाइ छ।

साभार : संचारिका फिचर सेवा

24 Comments

  1. बिबाह अघि हामीले बिबाह गरिने श्रीमतीको बारेमा कति ध्यान दिन सक्छौ, त्यसको सत्यताको परिक्षण कसरि गर्ने बिचार्निया कुरा हुन्छ. बिबाह गरे पछी मात्र यो र त्यो भनेर घमण्ड जथाभाबी बोल्नु ठिक हुदैन.हामीले आखिर विदेश त घुमेका छौं त्यहाको सिस्टम सिकेर त्यसलाई व्यवहारमा लागु गर्नु पर्छ .सानो कुरामा बढी ध्यान दिंदा त्यसले ठुलो रुपलिंछ.

  2. समस्या जताततै छन् त्यसको समाधान पनि हुन्छ .सबै समस्यालाई नराम्रो रुपमा मात्र हेरिनु हुदैन . सानातिना कुराहरुलाई ठुलोरुपमा हेरिनु हुदैन. हामि अरुको श्रीमतीलाई नजर लागौन्छ भने अरुले हाम्रा श्रीमतीलाई नजर लगाउनुलाई नराम्रो मान्नु ठिक हुदैन जस्तो लाग्छ.

  3. श्रीमान र श्रीमती दुवै बीच बिश्वाश, समझदारी र इमान्दारिता हुने हो भने येस्ता घटनाहरु स्वतः कम हुने छ. आफु महिला हुदैमा म कम्जोर छु भन्ने र नकारात्मक कुरा को प्रतिकार गर्न सकिएन भने त येस्ता घटना कहिले कम हुदैन येस्ता बिकृति प्रति पहिले नै सचेत भएर अफ्फैले आवाज उठाउनु पर्छ घटना घटी सके पछि पछुताउनु र बेजती सहनु भन्दा घटना घट्न नदिनु समझदारी हो/

  4. खै के गर्नेत साथीहो नेपाली हुनुको अभिसाप भनौ भने पुर्ख ले बनाएको गौरबको गाथा र कथा अनि आफ्नो देशको परिस्थिति पनि ख्याल गर्नु पर्यो / यी र येस्तई बाध्यताहरुनैत हो बर्त- मान जिन्दगीहरु बेथामा परिणत गराउने/ अरु के भनौ खै /

  5. कुरा समय सपेच्छा हो एसमा दुबैको गल्ति छन् तर महिलाको दोस बढी देख्छु मा त . आफ्नो थैलीको मुख बलियो पर्नु अरुलाई चोर नलाग्नु भन्ने उखान छ नि त

  6. महिला भनेका इज्जत हुन् … सबै भन्दिन तर जस्तो पायो तेस्तो महिला लाई तेस्तो आरोप लागेको कमै देख्छु मैले त आफ्नो कुल घरन को ख्याल गर्नु समाज मा आफ्नो मर्यादा राख्ने हो भने महिला ले एस्तो भोग्नु पर्दैन होला … हावा नचली पात झर्दैन भन्छन कति जसो त समाज ले महिला को आनी बानि चरित्र हेरेर नै मुल्यांकन गर्छ होला नि… सबै भन्दा ठुलो त महिला को चरित्र नै हो … मैले भनेको नै ठिक हो चै भन्दिन म ..

  7. म पनि विदेशमा बसेको ६ वर्ष भै सकेको छ/ मेरो परिवार पनि नेपालमै छ/ यो अत्यन्तै सान्दर्भिक लेख लेख्नु भएको छ/ लेखकलाई धन्यवाद/ श्रीमान श्रीमती भनेको जीवन साथी हो/ यसमा एक अर्कामा बिश्वास हुनु पर्छा . शंकाले लंका जiलऊछ / हामी नेपालीको एउटा नराम्रो बानि के छ भने अफ्फ्नो भन्दा अर्काको कुरा सुने. अर्काको कुरामा काति सत्य छ त्यो बुज्नु जुरुरी छ/

  8. महिला हरु को वोकालत गर्दा गर्दै पुरुष हरु अन्याय मा परेका धेरै घटना हरु पनी छन श्रीमान रोजगारी को लागी बिदेश जादा उनका श्रीमती को भूमिका कस्तो हुनु पर्ने हो ? बिशेष मध्य पहाड़ी भाग का महिला हरु मा देखिने समस्या श्रीमान बिदेसिदा बित्तिकै उसको मासिक आमदनी,काम कुनै निश्चित नहुदै छोरा छोरी पढाउने नाम मा घर मा भएका बुढ़ा बूढी सासु ससुरा लाई छोडेर शहरमा कोठा भाडा मा बस्ने आफु खुसी स्वतंत्रता को नाम मा श्रीमान ले हड्डी घोटे को पैसा ले मोज गर्ने ! आधुनिक बन्ने सुर मा बियर सिनेमा परपुरुष संग को यौन संवंध जस्ता गलत क्रियाकलाप ले धरै पुरुष हरु को घर न घाट बुढ़ा बाबु आमा को बिच्ल्ली हुने को संख्या पनी कम छैन !

  9. हम्रो समाजमा अरुको रिस गर्ने आरिस गर्ने र अरुको सम्बन्ध भत्काउने र रमिता हेर्ने हरुको कमि छैन, श्रीमती हुन् वा श्रीमान संगै वा बिछोडिएर बस्नु परे पनि माया, बिश्वास अनि एक अर्का प्रतिको समान इज्जत हुदा सम्म समाज, परिवार र गिद्दे दृष्टि राख्ने हरुको नकारात्मक सोच ले एक अर्का प्रतिको सम्बन्धमा कुनै असर गर्दैन l तर यही समाज मा तेस्ता श्रीमान-श्रीमतीहरुपनि छन् जो संगै हुदा पनि Extramarital affairs मा रुमल्लि रहेका छन् l ……. एक अर्का प्रतिको माया,बिश्वास, त्याग नै सुखी दाम्पत्य जिबनको कडी हो l

  10. यो साह्रै गम्भीर तथा नज़र अन्दाज गनै नहुने बिसय हो / अहिले यो सतह बाहिर देखियको बरफ को धिक्का ” आइस बर्ग ” हो जसको ९०% भन्दा बढी भाग सतह भित्र लुकेर बसेको छ / यस प्रकारको घटना हरुले नेपाली समाज मा नकारात्मक प्रभाब त दिर्घ रुप मा छोड्छ नै साथ साथै हाम्रो सभ्यता, संस्कृती लाइ पनि समय संगै छ्यात्बिछ्यत पर्दै जान्छ / आफु वा आफ्नो नातेदार लाइ पर्दा मात्र होस खुल्ने नेत्रित्वो वर्ग लाइ यस बिसयमा बेलै मा ध्यान पुगे मा यस्ता घटना कम हुन्थ्यो कि?

  11. मानिस लाइ सबै कुराले पुगे पनि यौन ले कहिले पुग्दैन यो तितो सत्य सबैले बुझ्नु जरुरि छ \ पैसा ,भबिस्य ,मौका भन्दैमा आफ्नो जिबन साथी बाट धेरै लामो समय सम्म छुट्टिएर बस्दा श्रीमान होस् या श्रीमती मा बिचलन आउँन सक्छ \पुरुष प्रधान समाज भएकोले श्रीमान ले जे गरे पनि श्रीमतीले सहनु पर्ने अनि परिबार ,समाज ले पुरुष लाइ बचाउन खोज्ने जुन प्रबिती छ यो पक्षपाति सोच र ब्यबहार हो \ अब उमेर पुगेका ,जिबन साथि बाट लामो समय सम्म छुट्टिएका छोरा होस् वा छोरी ,श्रीमान होस् या श्रीमती यौन पार्टनर तिर आकर्षण हनु कुनै दुर्घटना होइन आबस्यकता पुरा गर्नु पो हो कि ? अलि अप्ठ्यारो बिषय तर आबस्यक ! कसरि सभ्य र जिबन नबिग्रने गरि हासिल गर्ने सम्बन्धित व्यक्ति कै जिम्म्बेबारी ! जिबन सप्रन भन्दा बिग्रन सक्ने बिषय पर्यो है हजुर यौन \

  12. यो झट्ट हेर्दा एकदम सतही लागे पनि कालान्तरमा यो समाज को लागि बिकराल समस्या हो…हुन त यो लेखले महिला लै मात्रै वकालत गरे पनि महिला पुरुष दुवै पक्ष्य एस्तो समस्या बाट पिडित छन्….र येस्ता कुरीति हरुले सामाजिक संरचनालाइ सारै नै नराम्रो गरि भताभुंग गरिदिन्छ…..sexuality भनेको मानब मा अन्तरनिहित चाहना यो र सबै मानब ले कोहि पराइ संग एस्तो चाहना राखी रहेको हुन्छा… र कुरा एती मात्रै हो कि एदी कुनै controlling factor छ भने त्यो सिमा भित्र रहन्छा र पति पत्नी बीच सिमित हुन्छ …एदी छैन भने छाडा हुन्छा…नेपाल को सामाजिक संरचनामा हाम्रो समाज को डर ले पनि सबै मान्छे छाडा रुप मा sexuality प्रदर्शन गर्दैनन्…तर त्यो भन्दा पनि मुख्य कुरा एदी पति पत्नी संगै छैनन् भने अर्को पराइ संग यौन क्रिडा गर्ने किर्यकलाप बढ्छ…सबै देस मा येस्तई हो.. तेसैले मुख्य कुरा भनेको हामी आर्थिक कारण ले बिदेशिन बाध्य छोउ..र आफ्नो पति अथवा पत्नी बाट टाढा हुन..तेसैले यो समस्या को समाधान भनेको केवल आर्थिक मात्रै छ…र हामी धनि भएपछी बाध्यताबस बिदेसिनु परेन र पति पत्नी संगै बस्ने अवस्था सिर्जना भयो भने यो समस्या धेरै सम्म समाधान हुन्छ..

  13. हाम्रो समाज परिबर्तित छ तापनि अझै बाँकि छ चेतनाको स्तरमा आफुलाई उभ्यौना, त्यसैले गाउँ समाजमा बस्ने अगुवाहरुका साथै सबैले एकता बद्द भएर बाँच्न सिक्नु पर्छ

  14. जब सम्म समाजमा चेतनाको कमी र कुसन्स्कार र बेरोजगारी हुन्छ तब सम्म यि समस्याहरु समाधान हुँदैन ।

  15. समाजमा हुने गरेका वास्तविक घटनालाई प्रस्तुत गर्नु भयकोमा पंक्तिकार लै धन्यवाद ,

  16. यो समाज को देरै नराम्रो र सत्य रुप हो यस्ता लेख हरु समय समय मा लेखि जन चेतना गर्न को लागि म्य्संसर लै धन्यवाद .

  17. पर्दा अगाडी छाँयाको रूपमा देखिने तर बास्तविकतामा डरलाग्दो भै समाजमा बिकराल रुप लिएको समस्या हो यो !!
    – सिक्काको दुवै पाटो नहेरी त्यस बारे पूर्ण जानकारी पाउन सकिदैन / बिदेशमा हड्डी धसिने गरि मेहेनत गरेर देश फर्किदा आफुले कमाएको धन पनि; आफ्नो ठानेको मन पनि अर्कैको अंगालोमा देखेपछी आत्महत्या गरेको उदाहरण पनि कम्ति छैन /
    – हो; लेखले राम्रो विषयवस्तुमा जुहारी छेडेको छ तर अनुसन्धानकर्ताले पूर्वाग्रह राखी महिलाको पक्षमा मात्र वकालत गरेकोले कता-कता ति बिदेशमा मरिमेट्नेको पसिना माथि असिना परेको जस्तो पनि लाग्यो /
    – लोग्ने बिदेशमा गएपछि छुट्टिन खोज्ने, पारिवारिक मर्यादालाई खुकुलो पार्न खोज्ने, पारिवारिक माहोलबाट टाढिन खोज्ने, माइती बढी बस्न जाने, अन्य परिवारको सदस्यलाई गर्नु पर्ने इज्जत र सम्मानमा कमि गर्ने, शारीरिक आवश्यकता अरूबाट पूर्ति गर्न खोज्ने, लोग्ने पनि त म प्रति के इमान्दार होला र भनि प्रतिशोध राखी आफ्नो मर्यादा गुमाउने, बेलुकी बेलुकी मदिरामा झुमेर बालबच्चा समेत झर्को मान्ने महिलाहरूको बारेमा चाँही कसले लेख्ने हो कुन्नि !!??

  18. सिक्काको अर्को पाटो पनि पाठक सामु पस्किएकोमा माइ संसारलाई मुरी मुरी धन्यबाद !

  19. हो त नि यो त् सारै अन्याय भयो महिला माथि / महिलाहरु एकजुट भएर यसको बिरुद्धमा लड्नु र जन चेतना जगाउने कम गर्नु पर्छ /

  20. अत्यन्त सान्दर्भिक, सम-सामयिक र अहम बिषय बस्तु ! नेपालको कुनै पनि भू-भागको कुना काप्चामा रहेका अशिक्षित्, अन्धबिश्वाशी र रुढिबादी समाजमा गंगा दोंग र उनको संस्था जस्ता समाजसेवी र जनमुखी संस्थाको सामाजिक चेतना वा शिक्षाको जागरण जगाउने कार्यको लागि टडकारो आबश्यकता रहेको छ !

  21. अ ति नै राम्रो विश्लेषण गर्नु भो/ एउटा कुरा को एकदम भिन्न ब्याख्या र भोगाई पनि हुन्सक्छा भन्ने कुरा धेरै ले बुझ्दैनन् / खाली स्वास्नी मान्छे लाई दोष दिन्छन/ भिम जी को लेख ले अर्को पाटो पनि स्पष्ट पार्छ/

  22. सत्य तथ्य मा आधारित र धेरैलाई ज्ञान दिने खालको लेख |

  23. राम्रो खोजि हो तर इटहरी मा भएका घटना जुन मेडिया मा पदना पाइयो केहि पहिला /// श्रीमान विदेश गएको अनि श्रीमती परपुरुष संग होटेल मा भेटिएको .महिला हरुले पनि आफुलाई दरो बनाउने हो भने कुनै पनि पुरुस ले नराम्रो काम गर्न सक्छ जस्तो लाग्दैन मलाई …………..

Comments are closed.