प्रेम, यौवन र नजन्मिएको म

– प्रदीप गौतम “अंकित”-

“Hi! I’m Shaurav, Good to see You.”
“Me, Juna! Good to see You too.”
“जुना …..नेपाली हो?”
“हो नि! अनि आफू पनि नेपाली हो?”
“ओ, हो। ल नेपाली-नेपाली परेछ नि! फेस हेरेर त छुट्ट्याउनै नसकिने भो ….. ”
“त्यही त हेर न”

२ वर्षदेखि अमेरिकाको एउटा युनिभर्सिटीमा पढिराखेको २३ वर्षे सौरभले आफ्नो लाइब्रेरीमा नयाँ नेपाली साथी जुनालाई भेट्दा नेपालमै पुगेजस्तो अनुभव गर्‍यो। सौरभले कुरा अगाडि बढायो “अनि नेपालबाट कहिले आएको त?” “लास्ट सेमिस्टरमा आएको हो, मेरो अर्को युनिभर्सिटी अलि महँगो भएर यसमा ट्रान्स्फर गरेको” एकै वाक्यमा जुनाले प्रस्ट पारी ।

१९ बर्से जुना अध्ययनशील, सुन्दर, हाँसेर बोल्नुपर्ने, मिजासिली ‘बेच्लर्स इन बिज्नेस अड्मिनिस्ट्रेसन’ पढ्दै गरेकी केटी थिइ। सौरभ पनि सम्पन्न परिवारको एक्लो छोरो, आकर्षक पर्सानालिटी भएको जेहेन्दार विद्यार्थी थियो र अबको २ वर्षमा इन्जिनियर बन्ने क्रममा थियो। दुबैको पढाई शुरु भैसकेको थियो, नेपालीका नाममा त्यो कलेजमा सौरभ र जुना मात्रै थिए। विदेशी भूमि, एक्लो पट्ट्यारलाग्दो जिन्दगी, अनि एकोहोरो पढाइको दैनिकीबाट केही समय सुस्ताउन चाहन्थ्यो सौरभ। जुना पनि यो बिशाल शहरमा घरी-घरी एक्लो महसुस गर्थी अनि मनमनै समयरुपी पिजडाबाट छुटेर माछापुछ्रे र फेवातालमाथि पाराग्ल्याइडिङमा उन्मुक्त रम्न चाहन्थी, तर के गर्नु सोच्नु र वास्तविक हुनुमा निकै फरक थियो। जुना क्याम्पस नजिकै बस्थी भने सौरभ केही टाढा। सौरभसँग कार भएकोले जुनालाई बेला बेला बजार जान-आउन सहयोग गर्थ्यो, एकजना साथी अझ नेपाली भएको नाताले। जुना पनि एक्लो शहरमा सौरभको सहयोगलाई मनमनै धन्यवाद दिइरहेकी थियी। दुबैजना परिवारबाट टाढा, एउटै लक्ष्य ‘पढाइ’, महत्वाकान्क्षी स्वभाब, सेन्स अफ ह्युमर’ आदि मिल्दोजुल्दो बानी ब्यबाहारले एक अर्कामा अझ नजिक बनायो। खाली भएको समयमा दुबै जना नजिकैको पार्कमा जान्थे, धेरैबेर गफ गर्थे, जीवनका तिक्तता र अनुभबहरु बाड्थे, फर्किन्थे अनी पढ्न सुरु गर्थे। कहिले फिल्म हेर्न जान्थे, कहिले अबेरसम्म लाइब्रेरीमा पढेर बस्थे, कहिले सगै डिनर खान रेस्टुराँ जान्थे। दुबैजना एक किसिमको अनौठो न्यानोपना महशुस गर्न थालेका थिए, अझ सौरभ त दुई बर्षमै पहिलो पटक खुशी थियो त्यो शहरभित्र कारण उही थियो आफ्नो असल साथी जुनाको साथ।

समयले त्यो सेमिस्टरलाईपनि बिदा दिईसकेछ पत्तै नपाइ। सौरभ ईन्टरनेट सर्फ गरिरहेको थियो.. भाइब्रेसनमा राखेको मोबाइल फोनले टेक्स्टको आएको संकेत गर्‍यो, “सौरभ, एउटा गूड् न्युज छ नी आज, जस्ट गट अ मेल” “ओहो, कस्तो गुड न्युज हो सेयर गर न” सौरभले तुरुन्तै रिप्लाई गर्यो। “नाइ! इट्स सेक्रेट फर नावो, आइ विल टेल यू टुमोरो” जुनाले सौरभमा कौतुहल्ता जगाउन खोजी । सौरभले कुनै आकलन गर्न सकेन जुनाको ‘गूड् न्युजको’ टेक्स्ट बारे। सौरभ बेड त गयो तर अज्ञात बेचैनीले धेरै ढिलो निदायो। “सौरभ्, मैले स्कोलरशिप पाएँनी” रातभरको सौरभको कौतुहल्तालाई एकै बाक्यले मेट्न खोजी जुना। सौरभ आफ्नो खुशी ब्यक्त गर्न जुनालाई बेस्सरी उचाल्यो अनी २ पटक घुमायो। “यो त अतीनै खुशीको खबर हो नी जुना। ल बधाई छ।” उचालेको जुनाको कोमल शरीर बिस्तारै भुइमा राख्यो। अती उत्साहामा सौरभले जुनालाई एकैछिनसम्म लिदा दुबैले एकर्काको अनौठो बासना अनुभब गरे अनी केही समय लजाएर हेरे। सौरभको त्यो उन्मुक्ती क्षणभरमै बिलायो, एक थोपा कर्कलाको पानी तप्प माटोमा खसेर बिलय भए सरी किनकी जुनाले अर्कै ठाढाको युनिभर्सिटीमा स्कोलरशिप पाएकी रैछ जसका कारण उ त्यो ठाउँबाट सरेर जानुपर्ने भयो। जुना अब त्यो शहरमा मात्र केही दिनकी पाहुना भएर बस्ने भएकी थियि। सौरभ अवाक भयो, आफ्नो बर्सौपछी पाएको एउटा खुशी पनि केही महिनामा खोसियो। हुन त जुना सौरभको केवल राम्रो साथी मात्र थियी, तर मनमा भने जुनाको हसिलो मुहार धेरै गाढारुपमा गाढिसकेको थियो। जुना पनि आफ्नो एक्लो साथीबाट टाढा जानुपर्ने भएकोले केही दुखी त थियी तर आफ्नो पढाइमा पाएको स्कोलरशिपको कारण त्यति बेखुसी थियिन जति सौरभ अबको एक्लोपनालाई सम्झेर बिछिप्त थियो। सौरभले आफ्नै कारमा लगेजहरू राखिदियो अनी एअरपोर्ट पुर्याइदियो जुनालाइ। जम्मा चार महिना भएपनि चार बर्षको खुशी पाएको थियो सौरभले मानौ बिरानो देशमा मरुभुमीको एउटा फूलले एक थोपा पानीको आडमा तिर्खा मेट्ने अवसर पाएको छ। तर समयको चक्र थियो भेटिनु छुटिनु जीवनको रीत नै थियो। एअरपोर्टमा दुबैले अँगालो हाले अनी सौरभ आफ्ना जुनासंगका सुनौला दिनहरु र जुनाप्रतीको अगाध स्नेह आशु बनाइ छल्काइदियो, जुनापनि सौरभको सहयोग र आत्मियताले भावबिभोर भई। दुबैको दिन साह्रै खिन्नतामा बित्यो अनी तिनै केही महिनाका सुनौला पलहरु दुबैजानाका मानसपटलमा तछाडमछाड गर्दै आइरहे।

सौरभ र जुना दुबै टाढा भएको दिन देखिनै अझ नजिक हुन थाले। जुनालाई सौरभको माया निस्छल लाग्न थाल्यो भने सौरभ जुनाको हासोमा अड्किसकेको थियो। पढाइको फुर्सद हुने बित्तिकै फोनमा, टेक्स्टमा, भिडियोमा भेट भइहाल्थे अनी अगाध एवम निस्कपट माया दर्शाउथे। स्प्रिङ सेमेस्टेर बिताउन दुबैलाइ साह्रै नै गाह्रो भयो। आउँदै गरेको समर ब्रेकको लागि जुनाले सौरभलाई आफ्नो नयाँ ठाउँ घुम्न बोलाई। घण्टौ-घण्टा कुरा गरेर पनि नथाक्ने अजिबको ‘माया’ भन्ने चिजले दुबैलाइ पढाइमा केही बाधा भने पक्कै गरेको थियो तर दुबैले सेमेस्टर राम्रैसँग सकाए अनी आफूले चाहेको फूललाई भेट्न कुनै ढीलाई नगरी सौरभ एअरपोर्टतिर हानियो। दुनियाँ अमूक थियो सौरभ र जुनाको प्यार देखी। एकअर्कालाई देख्नेबित्तिकै एअरपोर्टमै बाधिएको न्यानो अँगालोहरू धेरैबेर सम्म फुक्न मानेनन्। दुबैले धेरै गफ गरे, मिठो खाना खाए,पहिलोपटक वाइन पिए, मात्तिए, मिलनको मिठो स्वाद चाखे, अङालोमा बाधिए, संसार बिर्सिए अनी मदहोस नयनका गहिराइमा यौबनका उन्मुक्त जोडी रङीन संसारमा लुट्पुटिए। निमेषभरमा नै बितेको एक हप्तापछी सौरभ गरुङ्गो मन लिएर आफ्नो गन्तब्यमा लाग्नुपर्ने भयो। जुना धेरै बेर सम्म सौरभको हात समातिरही अनी एक्नासले हेरिरही, एकपटक सौरभको गालामा म्वाइ खाइ अनी बिदाइको हात हल्ल्यइ भारी मनसित यस्तो लाग्थ्यो लासा जान हिंडेको मदनलाई मुनाले बिदा गरिरहेकी छ। दिनहरु बित्दै गए, ऊनीहरुको माया अझ झाङिदै गयो, पढाई पनि चल्दै गयो।

सौरभ नजिकै आउन लागेको मिड्टर्मको तयारी गर्दै थियो यत्तिकैमा मोबाइल बज्यो। अजङ्गको गुफाभित्र एक्लो यात्रीको एक्लो साहारा दीप निभेर चकमन्न अध्यारोमा मौन चित्कार गरेजस्तै जुना आफ्नो प्रेमी सौरभसँग आत्तिएर बोलिरहेकी थियी। “सौरभ हामीले ठुलो गल्ति गरेछौँ। मिलन, माया, प्रेम र यौवनको नशामा हामीले सबै संसार बिर्सिएछौँ” महिनावारी हुन रोकिएको असैह्य पिडा छताछुल्ल पोखी जुनाले। सौरभ अवाक भयो, आँखा तिर्मिर्याउन थाले, भित्तमा हाँसिरहेको मोनालिसाको तस्बिर महाभारतमा भीमकी राक्षस पत्नी हिडिम्बाको जस्तो लाग्न थाल्यो, वरिपरि अँध्यारो देख्यो, खल-खल पसिना आयो, मुहार एक्कासी कालो भयो, बोल्न सकेन तर सुनी रह्यो जुनाको रोदन। जीवन भनेको दु:ख र सुखको सँगम त हो तर यतिबेला आएको पीडा त्यो खुला नील आकाशमा एक्कासी मडारिएको कालो बादलरुपी बिस्मातले जीवनभर सताउने पक्का थियो। दुबैले आफ्नो परिवार सम्झे, भक्कानिए र भबिस्यमा आइपर्ने ठुला-ठुला बदनामका पहाड सम्झे अनी जुनाको पेटभित्र हुर्किरहेको बालक सम्झे, परिवार र समाजबाट कलन्कित हुने पुर्बनुमान गरे अनी आसुबनाएर रातभर बगाए। अब जुना र सौरभका चैनका दिन हराइसकेका थिए। केवल अनिद्रा, तनाब, छट्पटीले घाम र जुनका पूर्व पश्चिमहरु ढलिरहे अन्धकार अनी अशिम पिडाका सेकेण्ड, मिनेट र घण्टाहरु गन्ती गर्दै।

हो ऊनै जुना; अर्थात मेरी आमा अझ भनौ जसको पेटमा म दिन-दुगुना रात-चौगुना गर्दै हुर्किरहेको छु केवल त्यो सुन्दर दिनको पर्खाइमा। त्यही दिन जब म आमाको गर्भबाट च्याँ-च्याँ गर्दै धर्तीमा लुटुपुटु गर्नेछु, मेरी आमा मलाई काखमा राखेर चुम्बन गर्नेछिन अनी मेरा बाबा मलाइ देखेर बिछट्टै खुशी हुनेछन्….., मेरा खुट्टा छाम्नेछन अनी बिस्तारै मायालु स्पर्श गर्नेछन। सौरभ र जुना अर्थात मेरा प्यारा बाबा आमाले मलाइ हुर्क्याउने छन्, क-ख चिनाउने छन्, म स्कुल जादा टिफिन तयार गर्नेछन्, कलेज पढाउने छन्, मलाइ मेरै खुट्टामा उभ्याउने छन् अनी म पनि धेरै माया गर्नेछु, एड्गर एलान पोइ जस्तै राम्रो कबिता सुनाउने छु अनी मुहार हसाउने छु अथवा अल्बेर्ट आइन्स्टाइनले जस्तै बिज्ञानमा बिस्वक्रान्ति गर्नेछु अथवा मदर टेरेसाले जस्तै लाखौं अनाथलाई धेरै साहारा दिनेछु अनी मेरा बाबा आमाको सपना पूरा गर्नेछु। हो म यो अन्धकार गुफा भित्र छु, मैले बाहिरी संसार देख्न अझै पाँचमहिना जति बाँकी छ। तर बिडम्बना, मेरी आमा र मेरा बाबा खुशी छैनन किनकी म उनीहरुको मिलनको दिन वाइनले निम्ताएको रंगिन यौबनको परिणामको उपज थिएँ। मेरा आमा र बाबा सायदै मुस्काएका छन यी दिनहरुमा। उनीहरु खादैनन्, राती पनि कोल्टे फेर्दै अनिद्रामानै रात काट्छन् अनी पढाइपनि छिद्र-छिद्र पारिसकेका छन। म बल्ल भ्रुणबाट बच्चाको आकार लिदै छु। केही महिना भित्रै मेरो मुटु ढुकढुक गर्नेछ, मेरो कोकिल कण्ठबाट मिठो आवाज निस्किने छ, म मात्तिएर रुनेछु, मलाई फुल्याउन मेरी आमा मलाइ दुध पिलाउने छिन अनी म बाबाले दिएको गुडिया खेल्दै भुल्नेछु। मेरो शरीर को बृद्दीहुदै गर्दा मेरी आमाको पेट पनि बाहिरै देखिन थालेको छ, समाजको छड्के नजर पर्छकी भन्ने कुरामा साह्रै तनाब छ, मेरा बाबा र आमा मेरो अस्तित्वबारे अझसम्म कसैलाई भनेका छैनन उनीहरु फगत निरास देखीन्छन, एक अर्का लाई हेर्छन, रुन्छन अनी अँगालोको साहारा लिन्छन। हो! उनीहरुको पिडा म बुझ्छु, उनीहरु असल छन तर गलत समयमा आएको दुर्गती स्विकार्न गलेका छन्, मनभित्रै तिरस्क्रित भएका छन् तर म अबिछिन्न हुर्किदै छु उनीहरुको इच्छा बिपरीत।

समय अजीबको हुदो रहेछ। अस्तिसम्म ‘म’ मेरो सुन्दर भविस्यको कल्पनामा हराइरहेको थिए तर आज म अबका केही प्रहरहरुले ल्याउने ज्वारभाटाहरु गुनीरहेको छु। म अहिले हामी बसेभन्दा अर्कै स्टेट तर्फ हिड्दै छु, मेरा बाबा पनि साथमै छन, मेरी आमा मेरा बाबाको छातीमा हप्तौदेखीको अनिद्रा बिर्सिन खोजिरहेकी छिन्। हामी बादलमाथी छौं, अबको केही समयमा नै हामी गन्तब्यमा पुगिरहेका छौ। म यतिबेला मेरी आमाको पेटभित्र बर्बराइरहेको छु ….भयन्कर ज्वालामुखिमा जलिरहेको पत्थरझैं लाजवाफ छु। म निराश छु, थकित छु अनी मेरा सपनाहरु सबै पानीको फोका जस्तै फुटेका छन, हराएका छन्। धेरै बादबिबादपछी मेरा बाबा र आमा अत्यान्तै गम्भीर निर्णयमा पुगेका छन। मेरा बाबा र आमा हामी बसेको स्टेट्मा कानुनी नरहेको र जान गैरहेको स्टेटमा कानुनी रहेको “Abortion” अथवा ‘गर्भपतन’ गर्न गैरहेका छन् अथवा भनौ मेरो जीबित आत्मा निमोठिने छ र फेरि म कहिल्लै त्यो सुन्दर संसार चियाउन पाउने छैन।

हो, म बुझ्छु यो निर्णय नचाहाँदा नचाँहादै विवशतामा लिनुपरेको छ, तर ‘म’; अनी बन्दै गरेको म, अब फेरि ती सुन्दर सपनाहरु देखेको हुने छैन। अबको केही दिनमै म बसिराखेको ठाउमा बेहोस पार्ने सुइ दिईने छ, धारिला-धारिला फोर्सेप र सिजरहरुले पलाउदै गरेका मेरा हात्, खुट्टा अनी शरीर सबै टुक्रा-टुक्रा पारीने छन अनी भ्याकुमले तानिने छ। मरेका मेरा कोषहरुले पनि शायद मेरा बाबा आमाको मुहार देख्न पाउने छैनन। मेरा ‘एड्गर एलान पो’इ’, ‘अल्बर्ट आइन्स्टाइन’ अनी ‘मदर टेरेसा’ बनेर बाबा आमाको मुहार हंसिलो बनाउने सपना अब केवल सपना मात्रै हुनेछन, म फैसला भैसकेको मृत्‍युको बिस्मयकारी पलाहरुलाई अङाल्दै छट्पटिमा रोइरहेको छु। हुन त मेरो मृत्‍युको फैसला गर्ने मेरा बाबा आमालाई जीवनभर लाग्ने श्रापदिन सक्ने नैतिक र धार्मिक अधिकार मेरो छ तर असल स्वभाबका मेरा बाबा आमा अनी उनीहरुको यौबनको क्षणिक उन्मादले निम्त्याएको परिणाम अनि अविवाहित हुँदै जन्मेको ‘म’ मा लाग्न सक्ने कलन्कित उपमाको कारण म उनीहरुलाई श्रापदिन गइरहेको छैन। उनीहरु राम्रो पढुन्, राम्रो जागिर खाउन्, सधैं त्यस्तैगरी माया र स्नेह बाडुन अनी यस्तो गल्ति फेरि फेरि नगरुन। म जन्मिन नसके पनि मेरा बाबा आमाले अब जन्मिने भाइ अथवा बहिनीलाई मेरोजस्तै केही महिनाको जीवन नदिउन्, उनीहरुलाई बाँच्न दिउन्, धेरै माया गरुन्, पढाउन्, एलान पोइ, आइन्स्टाइन, मदर टेरेसा बनाउन् अनी मलाइ दिएको सजाएको प्रायस्चित नगरुन्। मेरा प्यारा आमा अनी बाबाको भाग्यमा मेरा परिपक्क हुँदै गरेका यी आँखाबाट तप्प खसेका आसुहरुले कहिल्लै नबिर्साउने दागहरु दिएर नजाउन् र मेरो अब्यक्त पीडाभित्र लुकेका आशुका झरीहरूले उनीहरुका आँखा कहिल्यै नभिजुन्।

38 Comments

  1. अरु त सामान्य नै हो तर भ्रुणको सम्वेदनशिल आवाजलाई जुन प्रस्तुतीबाट कथाको पाटो बनाइयो त्यो निकै मार्मिक लाग्यो ,धन्यबाद छ कथाकारलाई

  2. यो कथा राम्रै हो तर खै के खै के न मिले जस्तो नि लाग्छ . लेखक ले कथा मा प्रयोग गरेको सब्द हरु जटिल छ अझ सरल भासमा लेख्नु पर्ने थियो ..तर ठिक छ अझै राम्रो लेखुं लेखकले मेरो एई छ सुभकामना ..

  3. लेख धेरै मार्मिक लाग्यो म र मेरो पत्नी हामीले पनि जर्मनमा अबोर्सन गरेको थियौ तर मान्छेको भाग्यको कुरा हो यदि हामीले अबोर्सन नगरेको भए बच्चा जर्मन मा जन्मिन्थियो अनि जर्मन सरकारले हामीलाइ नेपाल दिपोर्ट गरिदिन्थियो हामी नर्वे गयौ अनि नर्वेमा इलिगल बसेउ फेरी अर्कोपल्ट बच्चा पेट्मा भयो तर त्यहाँ इलिगल भएको कारणले बच्चा अबोर्सन नगरि फेरी जर्मन फर्किएउ त्यहाँ रिकेस भएन भागेर स्पेन आइयो अहिले हाम्री छोरी कान्छी छोरी स्नेहा छिन अहिले उनि ६ बर्षकी छिन मम्मी र छोरी सँग ग्रीन कार्ड छ तर बाबासिता छैन यो भाग्यको कुरा हो सँगइ एकैचोटि आइयो तर उनिहरुसिता मात्र ग्रीन कार्ड छ,यो भाग्यको कुरा हो
    अलि अलि मेरो कथा सँग मिल्दोरहेछ

  4. कथाले अहिलेको युवा पिढिको जीवनलाई चित्रण गर्ने प्रयास गरेको छ …प्रस्तुति राम्रो लाग्यो…….

  5. कथा अति राम्रो छ,एउटा नया सैली बाट लेखेको मा धेरै धेरै धन्यबाद,सय जना मानिस संग सय थरि को सोचाई हुन्छ कसलाई के मन पर्छ कसलाई के मन पर्दैन ,सबै लै मन पर्ने हुन् गार्हो पर्छ होला,तर यो कथा ले धेरै को मन जित छ होला ,फेरी पनि नया सैली मा लेक्दै जानु होला

  6. कथाले यौटा सन्देश दिएको छ माथि कमेन्टहरु पदने मौका पाए तर कोहि कोहि शाथिहरुको कमेन्ट मा नै केहि पनि तुक नभयको देखादा चै हाशो पनि लग्यो,हामीले जहाँ बाट जेकुरा सिक्ने अवसर पाउछौ तेसैलाईनै बढ्ने हो आजकल युवा बर्गलाई यसले केहि हदसम्म भयपनी सजक हुन सिकाउछ कथा को लागि धेरै धनेबाद छ.

  7. कथा plot राम्रो छ | तर प्रस्तुति फितलो छ. कहिले third person narrator छ भने कहिले first person ले कथा भन्दै छ. जबर्जस्ति संबेदनशील बनाउन खोजे जस्तो देखिन्छ .

  8. प्रदिप, कथा निक्कै मार्मिक र यथार्थपरक छ. केहि साथीहरुको प्रतिक्रिया देख्दा कथा राम्रो संग नपढ़नु भएको जस्तो लाग्यो. बिसेस गरि सानु जिको कमेन्ट एउटा पाठकको प्रतिक्रिया भन्दा पनि प्रतिशोधले प्रेरित भएको जस्तो लाग्यो.

  9. कथामा उनीहरु भाद्य भएर अबोर्शन गर्नु पर्योउ किन भने हाम्रो नेपाली समाज ले एस्लाई ठहरौदैन. एदी नेपाल मा पनि एस्तो कुरा हरु लै नकाट्ने भए उनीहरुले अबोर्शन नै गर्नु पर्दैन थ्यो तर अबिस्मत हाम्रो समाज एस्तो छैन!!!

  10. ठूला सब्द राख्ने बितिकै साहित्य हुदैन सरल भाषामा पनी मिठास आउन सक्छ . बिषय राम्रो तर लिखाई धेरै गज्यांग मज्यांग लाग्यो .

  11. कथाको लागि धन्यवाद मलाई कथाको बिषय बस्तु भन्दा अनि प्रस्तुति राम्रो लग्यो. कथा संदेश मुलक छ बेलामा सानो हेलचेक्राई ले भबिस्यमा पर्ने ठुलो परिणाम लाई प्रस्तुत गरिएको छ
    बिष्णु अधिकारी

  12. यो बाध्यता हुन् pugeko cha अहिले यहाँ ………… हरेक दिन कुनै न कुनै bachha ले यहाँ मिर्तु भोगेको छ ……… रमाउने हरु wine संग रमाएका छन् तर ……… जिबन को मूल्य अरु कोइ चुकौदै छ …………..
    यो संसार येस्तई हो ……….

  13. सारै मन पर्यो मलाई यो कथा , सारै नै राम्रो लाग्यो….. धन्न्यबाद लेखक जी लाइ

  14. धेर्य राम्रो ….यहाँ अमेरिका को वास्तविक कहानी हो . फेरी फेरी तपाइको लेख पढ्न पैन्छा भन्ने सोचेको छु..

  15. “लेखाई झ्याउ लाग्दो छ ..कथामा कुनै तुक देखिएन ..बिषय धेरै हल्ली राख्यो..प्रयास राम्रै हो..नराम्रो तरिकाले नलिनु होला ..पाठकको रुपमा इमान्दार प्रतिक्रिया मात्रै दिएको हु ” भन्ने सानुको कमेन्ट लाई मैले अनर्थ लिएको छैन, सबैको आ-आफ्नो बुझाई हुन्छ नै / मेरो बुझाई अनुसार “कथाले चाहि अहिलेको परिबेसको यथार्थ चित्रण गरेको छ/ समाजमा आजकल यस्ता घटना धेरै घट्छन/ कथाको मर्म बुझ्नलाई सबै कथा एकैचोटी पढ्नुपर्छ/” सानु जी ले झ्याउ नलाग्ने, प्रसस्त तुक भएको, र बिषय अडिग रहिरहन सक्ने कथाको रचना गरिदुनु भए हामीजस्ता आफैले कथा लेख्न नसक्ने पाठकका लागि सौभाग्य मिल्ने थियो कि?

  16. लास्ट मा बुजनै गारो सुपाडी बिनाको पान ,जता मन लग्यो तेतई झटारो हान जस्तो कता हो कता छेउ न टुप्पो,अर्को पल्ट अलि सुधर्न्ने कोसिश गर्न्नु होला मित्र

  17. कथा निकै मार्मिक लाग्यो धन्यवाद कथाकारलाई आउने दिनहरुमा पनि येस्तई मार्मिक ह्र्ध्ये स्प्रसी कथाहरु पस्किदै जानुस भन्न चाहन्छु

  18. राम्रो लग्यो कथा- भावनात्मक साथै शिक्षाप्रद (didactic)! लेखकलाई धन्यवाद राम्रो प्रस्तुतिको लागि!

  19. लेखाई झ्याउ लाग्दो छ ..कथामा कुनै तुक देखिएन ..बिषय धेरै हल्ली राख्यो..प्रयास राम्रै हो..नराम्रो तरिकाले नलिनु होला ..पाठकको रुपमा इमान्दार प्रतिक्रिया मात्रै दिएको हु .

  20. कथा खाली अमेरिका मा बस्ने हरुकै हुन्छ किन होला माई संसार मा कथा राम्रो छ

  21. प्रदिप जी ,मुटु छोयो ,एस्तो घटना देश भित्र र धेरै देश बाहिर हुन सक्दछन / समय मा नै सचेत हुनु ,र भ्रुण को हत्या नगरौं./

  22. सानो भुल बाट कति दुख हुन्छ भन्ने कुरा सबैले बुझ्न पर्ने कुरा हो

  23. मलाई अति मन पर्यो | सच्चि कथाले आवेश मा आएर कुनै गलत काम नगरोस र गर्भपतन सम्वन्धि राम्रो लेख लेख्नु भएको छ धन्यवाद |

  24. भ्रुण हत्या सबै भन्दा ठुलो अपराध हो| जत्ति बुद्धि पुर्याउने पहिला नै हो|

  25. भ्रुणरुपी नाबालकको संवेदनशिल चित्कारले अतिनै मनै छोयो। आवेगमा गरिएको रोमान्समा एक जीवनको हुदैगरेको अन्त्य पीडादायी लाग्यो। लेखकले राम्रो तरिकाले चेतना दिलाएकाछन्।

  26. मन पर्यो / लेखकीय शैली, छिटै बिषय अन्तर गरेर पनि पाठक लाइ सम्हाली राख्न सक्ने / छोटो तर मिठो कथा…

  27. प्रदीप जी , कलम नबिसाउनु होला / धेरै सौरभ र जुनाहरुले सचेत भै रहनुछ , नेपाल भित्र र बाहिर /

  28. कथामा कुनै तुक छैन | प्रीस्ठभुमि अमेरिका न भएर नेपाल हुनु परथियो |

  29. कथा सुन्दर सान्दर्भिक छ ! सानो भुल बाट कति दुख हुन्छ भन्ने कुरा सबैले बुझ्न पर्ने कुरा हो..प्रदिप जी तपाइको लेखन यात्रा लाइ निरन्तरता दिनु होला..!

  30. अन्त्य तिर चाही केहि छाट् ल्यायो है केटो ले !

Comments are closed.