सम्झौता

-विश्वम्भर चन्चल-

एकदिन उनले मलाई भेटेर सुनाइन् “मलाई छोरो पाउने इच्छा छ, तिमी पूरा गराइदिन्छौ ?” अप्रत्याशित उनको यस कुराले म अवाक् भएँ र ट्वाल्ट्वाल्ती उनको अनुहारलाई हेरिरहेँ।

के हेरिरहेको ? उनले अनुहारको हाँसो लुकाउँदै सोधिन्, ममा छोरो पाउने गराइदिन तिमीमा सामर्थ्य छ भने म तिमीसँग सुत्न राजी छु।

उनको यस भनाईमा मेरो पौरुषमाथि एउटा हाँक झल्कन्थ्यो। उनलाई छोरो पाउने गराइदिन मलाई कुनै गाह्रो त थिएन तर उनले मसँग यस्ता कुरा त्यतिको आँट गर्नुमा मेरो मनमा शंका उत्पन्न हुनु पनि स्वाभाविकै नै थियो। मैले सोधेँ, तिमीमा किन यो चाहना भयो ? फेरि……तिम्रो र मेरो बीचमा यस्तो काम हुनु समाजमा के मान्य होला ?

मेरो कुराले उनी झन् हाँसिन्। भनिन्, तिमी काँतर भयौ। समाजको मान्यतालाई आड दिएर आफ्नो काँतरपना लुकाउन खोज्छौ। कि तिम्रो पौरुष पनि मरिसकेको छ ? अथवा तिम्रो वीर्य नै क्षीण बनिसकेको छ ? तिमी आफूलाई नै ममा छोरो पाउने गराइदिने विश्वास छैन भने भैगो तिमी पनि नपुंसक बनिसकेछौ। होइन भने सुत मसँग र मेरो छोराको बाबु बन।

मलाई बाबु बन्नुमा कुनै रहर थिएन। किनभने मेरा आफ्नै बगाल छोराहरु जन्मिसकेका थिए। मेरी स्वास्नीको भर्खरको यौवन पनि बूढ्यौतिमा खुम्चिसकेको थियो। प्रत्येक पल्ट छोरो जन्मँदा स्वास्नी भन्थी, परिवार नियोजन गर्नोस्। म भन्थेँ, हामीलाई एउटा छोरीको खाँचो छ। पख तिमीले एउटी छोरी पाएपछि या तिमीले या त मैले नै नियोजन गरुँला। तर हामी दुई केवल छोराकै प्रयोजनका लागि मात्र भयौँ। हाम्रो बीचमा छोरीको आशाले नियोजन भने कहिल्यै हुन सकेन।

यही कुरा मैले उनलाई सुनाउँदा उनले भनिन्, तिमीलाई जसरी एउटी छोरी पाउने इच्छा छ उसरी नै मलाई एउटा छोरो पाउने इच्छा छ। छोरी, तिमी केवल व्यक्तिगत इच्छास्वरुप पाउने चाहन्छौ, छोरीको बालसुलभ क्रिडाको अनुभव गर्न खोज्छौ। म सामाजिक मान्यता र करले एउटा छोरा पाउन चाहन्छु।

किन, आजको जमानामा छोरी र छोरामा के भिन्नता ? छोरी पनि त छोरा जस्तै शिक्षित, बुद्धिजीवी र ठूला ओहोदामा पुग्न सक्छन् भने तिमीमा किन सामाजिक मान्यता नहुनु ? किन छोरो नै पाउने रहर हुनु ? मैले भनेँ।

यो भाषण नगर तिमी, उनले सहज प्रवृत्तिमा सुनाइन्, हो ! मलाई छोरो पाउने पक्कै रहर छ। यो मेरो आफ्नै रहरले होस् वा कसैको करले होस्। तर मलाई छोरो पाउने गराइदिने सामर्थ्य मेरो लोग्नेमा भएन। त्यसैले तिमीसँग सुत्न चाहन्छु धक मारेर।

उनको यस कुराले मलाई आश्चर्यसाथै हाँसो उठ्यो र भनेँ, त्यतिका छोरीहरु कसले पाइदिने गराइदियो त ? भन त कतिवटी छोरीहरु भए ? कि ती सबै छोरीहरुका बाबु अरु हुन् ?

आफ्नो यस अन्तिम भनाईमा उनी रिसाइन् कि भन्ने डर लाग्यो र झटपट माफी माग्दै थिएँ, उनले सहजभावमै भनिन्, यसमा तिमीले शंका गर्ने ठाउँ छैन। ती सब पाँचै वटी छोरीहरु आफ्नै लोग्नेका हुन्। अरुका भए सायद तीमध्ये कुनै पनि एक दुई वटा छोरा जन्मिने थिए होलान् !

**** ************** *********************

छोरा नजन्माउनुमा तिम्रो लोग्नेको के दोष छ त ? मैले सोधेँ।

छोरा नपाउनुमा मेरो के दोष त ? उल्टो उनले मलाई सोधिन्। उनको यस सोधाईमा मलाई फेरि हाँसो नउठी रहन सकेन। हाँस्दै भनेँ, दोष न तिम्रो हो, न तिम्रो लोग्नेको। यो त संयोगको कुरा हो छोरा वा छोरी हुनुमा। या त हुनसक्छ- भाग्यको पनि खेल हो।

सम्झ दोष न मेरो हो, न मेरो लोग्नेको। हामी दुवै ठीक छौँ- बच्चा जन्माउन। नत्र यी पाँच पाँचवटी छोरी कसरी जन्मिन्थे ! उनले सुनाइन्, र म समाजका लागि बाँझी भएँ। घरमा अरु परिवारका लागि मैले सन्तानको बाटो मेटिदिएँ। माइतीका लागि उपेक्षित भएँ।
किनभने मैले छोरो जन्माउन सकिनँ। त्यसकारण यी सबबाट मान्य हुन मैले एउटा छोरा जन्माउनै पर्छ। एउटा बलियो वीर्य मैले ग्रहण गर्नैपर्छ।

मैले भनेँ, यसमा सम्झ- म राजी भएँ र यो पनि सम्झ तिमीले छोरो नै जन्मायौ। तर के……मबाट जन्मिएको छोराले तिमीलाई शान्ति मिल्ला ? फेरि….तिम्रो घर या समाजले यो कुरा थाहा पायो भने…………………..?

त्यसमा तिमी फिक्री नगर। तिम्रा यी सब तर्कहरु पूर्वाग्रही हुन्। मेरो घर, समाज, लोग्ने सब पूर्वाग्रही हुन्। होइन भने म यसरी सबैबाट परित्यक्ता हुने थिइनँ। मेरो खुद लोग्ने जो एक शिक्षित र समाजमा प्रतिष्ठित व्यक्ति छ, उसले पनि यो कुरा कर्मको खेल हो वा स‍ंयोग हो भनी भनेन र ममाथि सँधै अवहेलनाको दृष्टिले व्यवहार गर्‍यो। त्यो ममा अब सह्य हुन सकेन। सुन्दछु- ऊ अब अरु कोहीसँग लागिरहेको छ रे। उसले त आफूलाई नै दोष दिनुपर्थ्यो जसले एउटा बलियो वीर्य ममाथि खसाल्न सकेन। म त केवल एउटा थैली हुँ। उसको सामर्थ्यले मभित्र जे हालिदिन्छ त्यसलाई मैले बोक्नु नै पर्छ।

मैले हाँसोमा कुरा थपेँ, यदि मबाट पनि छोरी नै जन्मिई भने के गर्छ्यौ ?

तिमीलाई छोरीको रहर छ, होइन र ? तत्कालै उनले कुरा काटिन्।

यसपालि म चुप लागेँ। हामीमा सम्झौता भयो- छोरो उनलाई, छोरी मलाई। (रुपरेखा, पूर्णाङ्क २१८, २०३६ असारबाट)

[तपाईँ आफ्नो कथा, लघुकथा शनिबार साहित्यमार्फत् बाँड्न चाहनुहुन्छ भने पठाउनुस् [email protected] मा। साहित्यबाहेक अरु सामाग्री पठाउनलाई [email protected]]

23 Comments

  1. यो कथा छोरा र छोरी बारे होइन जस्तो लाग्यो…एउटा स्त्रीमा परपुरुसप्रती हुन सक्ने यौन मोहलाई बोलिचालिमा प्रयोग हुने खालको भासामा ब्यक्त गरिएको जस्तो लाग्छ …

  2. कथा बहुत राम्रो लाग्यो | २०३६ साल मा लेखेको कथा? वा वाह .. मान्ने पर्छ | सुरुमा त कस्तो कस्तो लागेको थिए तर अन्त्य चाँही राम्रो लाग्यो ??

  3. पुरुस प्रधान देश भनेर पुरुष लै मात्रै दोस दिन मिल्दैन ,यो त इच्छा को कुरा हो , जसरि पुरुस पर स्त्री संग संसर्ग गर्ने इच्छा रख्छा उस्तै स्त्री लै पनि पर पुरुस संग संसर्ग गर्ने चाहना हुन्छा .एउटी तिहुन खै राखे मुख लाटो हुन्छा कहिले कहिँ फेर्ने पर्छा.

  4. २०३६ साल को कथा पनि अहिले को जस्तै रहेछ

    • २०३६ सालको कथा अहिलेको जस्तै होइन, अहिलेको कथा चाही २०३६ सालकै संग मिल्छ यसको मतलब हामी अहिले सम्म उस्तै सोचाई राख्छौं, पुरानै, कि कसो हो ?

  5. छोरा छोरि बराबर कसैलाई छोराको रहर कसैलाई छोरीको .

  6. छोरा वा छोरी जन्मनुमा श्रीमतीको कुनै भूमिका हुदैन अनि श्रीमान को चाही भूमिका हुन्छ अरे !!!! कस्तो हास उठ्ने कुरो !!! श्रीमान्ले चाही छोरी वा छोरा बन्ने बिर्य छानेर श्रीमती को पाठेघरमा पठाउन मिल्ने जस्तो छ कथा पढ्दा ????

    • एउटीलै चाहिएको छोरो अर्कोलै चाहिएको छोरी, छोरो भए आइमैले राख्ने छोरी भए लोग्ने मान्छेले लाने सम्झौता भैसकेको छ नि

  7. के को राम्रो कथा नि? बिस्वोम्बर ले आफ्नु श्रीमती को स्वीकृति न लिईकन एक तर्फी सम्झौता गर्ने आधिकार कसले दियो?

  8. छोठो मिठो कथा खुल्दुली मा नै कथा सकिओ जे होस एउटा सम्झौता मा हस्ताक्षर ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,.

  9. राम्रो कथा…
    मैले केहि महिना अगाडी सोइव मन्सुर द्वारा लिखित तथा निर्देशित ‘बोल’ नामक पाकिस्थानी चलचित्र हेरेको थिए | त्यस चलचित्रमा लगभग यहि प्लटको कथा एक अंशमा छ | फरक यत्ति हो कि त्यसमा पुरुष पत्रलाइ छोरा चाइएको हुन्छ..
    के यो संयोग मात्र हो त ?

  10. कथा अति राम्रो छ, नेपाली जति बुद्दी जीवि भयपनी उसलाई कता कता भित्र छोराको खाचो भैराखेको हुन्छा ,

  11. १० मिनेट टाएम पास भयो कथा पढेर .

  12. मपनि एक छोरी को बाबु हुँ.छोरा अथवा छोरी जनमनामा श्रीमती को होइन श्रीमान को भूमिका हुन्छ भन्ने सत्यता लाई स्वीकार न गर्ने पुरुष प्रधान समाज लाई राम्रो झापड हो यो कथा.

  13. यो यौता, सम्जौता हो जसको लागि यो समाजले निधारन गरेको छ यही निर्धारन ब्यङ गरेको छ .

  14. जसरी पनि छोरानै चाहियो भनेर स्वास्निलाई कच कच् गर्नुको सोझो अर्थ यस्तै सम्झौता गर भन्नु नै हो। कथा श्रीजनात्मक छ, २०१२को शुभकामना।

  15. कथाको रुपमा अन्तिम को दोस्रो हरफ मन पर्यो!

  16. समाजमा छोरा र छोरी बिचमा तेती धेरै खाडल छ जस्तो लाग्दैनथ्यो मलाई तर जब मा मेरो श्रीमती सुत्केरीका लागि गण्डकी होस्पितल पोखरामा भर्ना भएकी थिइन्, मा उनको सहयोगमा जुटेको थिए / तेह थाहा पाए छोरा छोरी को बिबेद मान्छेको दिमाग बाट गएको छैन भन्ने कुरो / एक बुढी आमा देलिवरी रूम बाट बाहिर निस्केकी थिइन् , अर्की अधबैसे महिलाले सोधिन के भयो तपाइको ? छोरी भईन – बुद्धिको उत्तर / भ भो मुख सानो नाबनौनुहोस अधबैसे बोलिन / ति बुढीलाई न मुख सानो बनाउने समय थियो न उनको मुख हिजो भन्दा सानो नै थियो ति त आफ्नै धुन मा सुत्केरी क लैग सामान खोज्दै मात्र
    / अधबैसे ले भने पछी बरु उनको मुख सानो भयो / उनि हतास देखीन / उनि कतै गल्ति भयो जस्तो भईन / अनि म बोले अध्बैसेलाई – तपैले उहालाई तेसो भनेर आफ्नो परिचय दिनुभयो /

  17. साहित्यकारहरूको सोचाइको सीमाको पनि कुनै हदबन्दी छैन !! जता पनि मसि चुहाउन भ्याईहाल्ने !
    पढुन्जेल रमाइलै रहेछ आख्यान…

  18. छोरा र छोरीको चाहनामा भएको अप्राकृतिक सम्झौतालाई आधार मानेर आफ्ना यौन प्यास मेट्ने जोडीको कथामा सामाजिक व्यंग्य पनि छ छोरो नै चाहिन्छ नत्र भने आइमाईको बर्तमान भबिस्य केहि छैन | अझै यो मान्यताका आधारमा मात्र मन परेको संग सुत्ने कति होलान तर छैन भन्न पनि सकिन्न | परापुर्बकाल देखि चलेको पनि हो | कहिले सन्तानको लागि त कहिले छोरा वा छोरीको लागि, तर मूल कुरो त आफ्नो यौन तुस्टी मेट्ने नै हो | यो कथा छोरी मात्र जन्मे भनेर स्वास्नीलाई दुखः दिनेलाई नारीत्वको स्वाभाविक जवाफ पनि हो |

  19. कथा नराम्रो हैन,चाख लाग्दो छ फेरी फेरी पनि पढने सौभाय्ग्य मिलोस २०१२ को हजुरलाई सुभकामना!!!!!!!!!!!!!!!!!!!!!

Comments are closed.