-भोजराज दाहाल @nepaldiary-
फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालका साइटले ‘समाजमा द्वेष र आतङ्क फैलाउने गरेको’ भन्दै प्रधानमन्त्रीले चिन्ता व्यक्त गरेको भोलिपल्ट नेपालको सर्बाधिक बिक्री हुने भनिएको राष्ट्रिय दैनिक कान्तिपुरले आफ्ना पाठकहरुसँग माफी माग्यो। जस्तै ठूलो गल्ती गर्दा पनि गल्ती गरेँ भनी माफी माग्न हिच्किचाउने नेपाली पत्रकारिताको ‘गौरवशाली’ परम्परालाई कान्तिपुरले तोडी सही पत्रकारिताको ‘ट्रेन्ड’ बसाउने यात्रामा पाइला अघि सारेकोमा बधाई ! उनै फेसबुक र ट्विटर प्रयोगकर्ताले पहरेदार (वाचडग) को भूमिका निर्वाह गरी सचेत र सजग नबनाएको भए यो संभव हुने थिएन। सोसल मिडियाको प्रभावकारिताको एउटा उदाहरण हो यो। नेपाली पत्रकारिताको इतिहासमा सोसल मिडियाको वाचडगको भूमिका र आलु (आशिष लुइँटेल) प्रकरण अब कहिल्यै कसैले बिर्सन नसक्ने गरी दर्ता भएको छ।
कान्तिपुरको शुक्रबारे अंक “हेल्लो शुक्रबार” को विकी टेक स्तम्भमा न्युयोर्क टाइम्स, टेलीग्राफ लगायत अन्य पत्रिकामा प्रकाशित “टेक्नो न्युज” हुबहु नेपाली भाषामा अनुवाद गरेको बिषयमा सामाजिक संजाल फेसबुक र टुइटरमा ब्यापक आलोचना भयो। त्यसपछि कान्तिपुरले आफ्ना पाठकहरु, न्युयोर्क टाइम्स, टेलिग्राफसँग सम्पादकीय टिप्पणी मार्फत माफी मागेको हो। स्तम्भ लेखकले पनि माफी माग्दै आफ्नो गल्ती स्वीकार गरेका छन्।
भएको के थियो ?
कान्तिपुर दैनिकले केही अघिदेखि युवाप्रति लक्षित शुक्रबारे सप्लिमेन्ट हेलो शुक्रबार प्रकाशन गर्दै आएको छ। त्यसमा “विकी टेक” नामको स्तम्भ हुन्थ्यो जसमा प्रविधि सम्बन्धी लेख हुन्थ्यो। विश्वका पछिल्ला प्रविधिसम्बन्धी समाचार र जानकारी हुने भएकोले युवामाझ यो स्तम्भ लोकप्रिय थियो। तर सामाजिक सन्जालमा रहेका नेपाली पाठकहरु त्यति बेला निरास भए जब उक्त लेख स्तम्भकारले आफूले लेखेको नभै अरु पत्रिकाहरु (न्युयोर्क टाइम्स, टेलिग्राफ) बाट हुबहु नेपाली अनुवाद गरेर आफ्नो नाममा छाप्दै आएको पत्ता लगाए। श्रोत उल्लेखसम्म नगरी न्युयोर्क टाइम्सका David Pouge ले लेखेका लेखहरुलाई रिठ्ठो नबिराई नेपाली भाषामा अनुवाद गरेर आफ्नो नाममा उक्त लेख प्रकासित गर्ने सो सप्लिमेन्टका संयोजक आशिष लुइँटेलको पर्दाफास भएपछि सामाजिक सन्जालमा अनेकौ प्रतिकृया आए।
कसरी अनुवाद गरेका थिए उनले। तल केही स्क्रिनसटहरु छन्।
सामाजिक सन्जालमा ब्यापक विरोध भएपछि कान्तिपुरका सम्पादकले ट्विटरमार्फत् सो विषयमा स्पष्टिकरण दिने जवाफ दिएर विरोधको स्वरलाई मत्थर पार्ने कोशिस गरे । तर गएको हप्ता (फेब्रुअरी ३) कान्तिपुरले गल्ती महसुस गर्नु त कता हो कता , एक लाइनको प्राविधिक कारणले स्रोत छुटन गएको भन्दै ‘प्राबिधिक त्रुटी’ मा त्यसलाई सीमित राखेर आम पाठकलाई भ्रममा राख्ने कोशिस गर्यो।
सोसल मिडियामा प्रमाणसहित आफ्ना स्तम्भकारले अर्काको लेख चोरी गरेर आफ्नो नाममा छपाएको थाहा पाउँदापाउँदै पनि अत्यन्त हल्का र गैरजिम्मेवार जवाफ दिएपछि सामाजिक सन्जालमा त्यसको ब्यापक आलोचना भयो।
दर्जनौँ फेसबुक स्टायटस र ट्विट, केही ब्लगले यस विषयमा लेखे। केही सामाजिक संजाल प्रयोगकर्ताले न्युयोर्क टाइम्स र David pouge लाई इमेल र ट्विट् गरेपछि अन्ततः कान्तिपुरका सम्पादकको अर्को ट्विट आयो जसमा हेलो शुक्रबारका उक्त लेखबारे छानबिन भइरहेको र संयोजकलाई जिम्मेवारीबाट हटाइएको उल्लेख थियो।
न्युयोर्क टाइम्सका David ले आफूले कान्तिपुरको चोरीबारे जानकारी पाएको र उक्त बिषयलाई पत्रिकाको कानुन शाखामा बोधार्थ पठाएको र उचित कारबाही गर्ने उत्तर सामाजिक सञ्जालका प्रयोगकर्ताहरुलाई ट्विटर र इमेलबाट दिए।
अन्ततः यो शुक्रबार (फेब्रुअरी १० मा) कान्तिपुरले यस्तो स्पष्टिकरण दियो-
सोही अङ्कमा स्तम्भकारको टिप्पणी यस्तो थियो-
नेपालमा सामाजिक सन्जालको प्रभाव
विश्वमै सामाजिक सन्जालहरु कतिपय अवस्थामा मूलधारका पत्रपत्रिकाभन्दा सशक्त र प्रभावकारी हुँदै गैरहेका छन्। सामाजिक संजाल ले सत्ता परिवर्तन गरेको ताजा उदाहरण इजिप्ट र लिवियालाई हेरे हुन्छ। लिबियाका पूर्व शासक मोअम्मर गद्दाफी मारिएको र इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेनलाई फाँसी दिएको भिडियो सामाजिक सन्जालबाटै सार्वजनिक भएको थियो। किम जोङ इलको मृत्यु भएको खबर मै हुँ भन्ने विश्वभर सञ्जाल बिछ्याएको भनिने अमेरिकी गुप्तचर एजेन्सीलाई समेत थाहा थिएन। उत्तर कोरियाका कतिपय नागरिकले बीबीसी वर्ल्ड सर्भिसलाई इमेलमार्फत् जानकारी गराएपछि बल्ल यसबारे थाहा भएको थियो। २००९ मा इरानमा भएको निर्वाचनका बेला विदेशी पत्रकारहरुलाई रिपोटिङ गर्न बन्देज लगाइएको थियो । त्यतिबेला व्यावसायिक पत्रकारले सूचना र जानकारी प्राप्त गर्न ट्वीटरको सहारा लिएका थिए । छिमेकी देश भारतमा भ्रस्टाचार बिरुद्धको अन्ना हजारेको आन्दोलनलाई ब्यापक बनाउने काम समेत सामाजिक सन्जाल फेसबुक र ट्विटरले गरेका गरिरहेका छन । मिडिल इष्टमा एक वर्षअघिदेखि चलेको आन्दोलनले व्यापकता बनाउने होस् वा अमेरिकामा सुरु भएको ‘अकुपाई वालस्ट्रिट (वालस्ट्रिट कब्जा गरौं)’ अभियानलाई सामाजिक सन्जालले नै व्यापकता दिलाएको हो। जियाद अली हानीले जनवरी २०११ मा आफ्नो ब्लगमा ट्युनिसियाको आन्दोलनलाई जस्मिन रिभोलुसन नामकरण गरेपछि यो शब्द (चमेली क्रान्ति) ले विश्वब्यापी चर्चा पाएको थियो।
नेपालको हकमा आजसम्म त्यति प्रभावकारी नदेखिएपनि सामाजिक सन्जाल बिस्तारै सशक्त हुँदै गएको छ। ज्याला पूरै लियो अब संविधान देऊ भन्ने फेसबुक अभियानले सुरुमा चर्चा बटुले पनि त्यसले पछिल्ला दिनमा खासै केही गर्न सकेन। केही पटक यो अभियानले सडकमा प्रयोगकर्तालाई भने पक्कै उतारेको थियो। केही सकारात्मक काम जस्तै पुल र मन्दिर सफा गर्ने तथा बन्द अवज्ञा गर्ने जस्ता काममा पनि यो प्रयोग भएको थियो। अहिले भने संगठित रुपमा यसको प्रयोग भएको देख्न पाइएको छैन।
‘मूलधार’ लाई निगरानी
मूलधारका पत्रपत्रिकाले सामाजिक संजालको क्षमतालाई नजरअन्दाज गरिरहेको अवस्थामा यो ‘आलु’ प्रकरण नेपाली सामाजिक संजाल र यसका प्रयोगकर्ताहरुको लागि एउटा सुखद समाचार हो। मूलधारका मिडियामा काम गरिरहेकाहरुबीच अघोषित कार्यगत एकता भएकोले कुनै मूलधारका मिडियामा पनि यसबारे खबर आउन सकेन। त्यसबाहेक मूलधारका मिडियामा नै काम गर्ने पत्रकारहरुका सामाजिक सञ्जाल (ब्लग, फेसबुक र ट्विटर) यो प्रकरणमा निस्क्रिय रहेको तीतो सत्य हो।
पाठकहरु असल “वाचडग” पनि बन्न सक्छन् र परेको बेला सही र आबश्यक कुरालाई उठान गर्न पनि सक्छन भन्ने सन्देश पनि गएको छ यो प्रकरणले। ‘मूलधार’ लाई अझै निगरानी आवश्यक छ। र, यसका लागि पाठक सँधै तयार रहनु पर्छ।
सकारात्मक कुरा
कान्तिपुरबाहेक अन्य मूलधारका पत्रिका र नाम चलेका विचार पृष्ठका लेखकहरुले पनि यदाकदा यस्ता हुबहु लेख छाप्ने गरेको आरोप छ। तसर्थ कान्तिपुरको यो प्रकरणले अरु मिडियालाई पनि सचेत बनाएको छ।
एक वर्षअगाडि राइजिङ नेपालमा समेत अरु पत्रपत्रिकाबाट हुबहु सारेर लेख प्रकाशित भएको सार्बजनिक भएपछि राइजिङ नेपालले उक्त स्तम्भ नै बन्द गरेको थियो। तर अरु पनि थुप्रै गल्ती कमजोरी सार्वजनिक भए पनि नेपाली मिडियाले आफ्नो गल्ती स्वीकार गर्दैनन्। अनुजा प्रकरण पछि अहिले आएर कान्तिपुरले यो प्रकरणमा पाठकहरुसँग क्षमा मागेर आफ्नो कमजोरी ढाकछोप गर्ने नेपाली मिडियाको परम्परालाई तोडेको छ। हैसियत भन्दा धेरै गुणा बढाइचढाइ गरेर रसेन्द्र भट्टराईलाई धनाढ्य भनेर लेख्ने कान्तिपुरले त्यतिबेला माफी माग्न आवश्यक ठानेन। स्रोतहरुलाई उल्लेख गर्दै डा भक्तमानको अपहरण माओवादीले नै गरेको भनेर लेख्ने नागरिकले पछि आपराधिक समूहबाट यस्तो भएको पुष्टि प्रहरीले गरिसक्दासमेत माफी माग्ने नैतिक साहस अहिलेसम्म गर्न सकेको छैन। गल्ती स्वीकारेर कान्तिपुरको स्तर खस्केको हैन, झन् बढेको छ। कान्तिपुरको यो कदमबाट अरु नेपाली संचार माध्यमले पनि पाठ सिक्ने आशा गर्न सकिन्छ।
यो ब्लग तयार गर्न सहयोग गर्ने @prawesk , @anupdgn लाई धेरै-धेरै धन्यवाद!
यो पनि हेर्नुस्-
मिडियामा प्लेजरिजम रोक्न भइरहेको अनलाइन हस्ताक्षर संकलन
कान्तिपुर PLAGIARISM बारे सोसल मिडियामा आएका प्रतिकृयाहरु
ट्विटरले गराएको टेन्सन
हाम्रा युबा चेतनामा केहि हुदैछ…सकारात्मक कुरो|
यो एउटा राम्रो सुरुवात हो. यो चलन हाम्रा campus का Text र Reference book का नेपाली संस्करणका writer हरुले कहिले देखि अंगाल्ने हो हेर्दै जाम.
कान्तिपूरको कदम सह्रानिय छ । बधाई छ सामाजिक सञ्जालका प्रयोगकर्ताहरु । अबका दिनमा अरु ‘आलु’हरुलाइ पनी सचेत गराउनु पर्छ है ।
ल्ल ,नेपालमा येही त चित्त नबुझ्ने कुरा छ भन्या ,गल्ति गर्यो अनि माफी मागे पछी त्येस्लाई माफी माग्यो भनेर ठुलो sympathy रे / Fine हान्नु पर्छ Fine ,दरो fine त्यो गल्ति गर्नेको ढाड खुस्किने गरि,बरु एकै पटक तिर्न सक्दैन भने installment मा बर्सौ सम्म तिरिरहनु पर्ने बनाउनु पर्छ,एदी fine तिर्दैन भने बदमाशी अनुसार त्येसको character history मा Demerit पोइन्ट दिएर निश्चित समयको लागि कुनै सस्था,सरकारी जागिर, बैंक loan etc गर्न नपाउने बनाउनु पर्छ बिदेशमा जस्तै अनि मात्र जे पायो तेही गर्न छोड्छ फटाहाहरु /
नेपालमा पनि मुलधारे मिडियालाई सोसल मिडियाले माफी मगाएको कुरा र सोसल मिडियाका कुरा पनि सुनुवाई हुन थालेको कुराले म जस्ता ब्लगरलाई मात्र होइन सबैलाई गौरव र खुसी पक्कै दिलाउँने छ । सोसल मिडियाको साहस र सजगताको कारण नै यो सम्भव भएको हो । यस बिषयमा भएको माइसंसारको यो लेख निकै अर्थपुर्ण छ । तर यसमा पनि सोसल मिडिया भनेर फेसबुक र ट्विटरलाई मात्र देखाइएको हो कि जस्तो लाग्यो । कुन कुन ब्लगमा कस्ता कभरेज भए भन्ने पनि देखाइदिएको भए थप ओजपुर्ण हुन्थ्यो कि !
नेपाल मा जागिरखान कति गाह्रो छ, बिचरा साथि लाइ बेरोजगार नै बनैदिए यार. मेरो सनोभुती छ आसिश जी लाइ…………………………………….
बौद्धिक व्यक्तिको बौद्धिक बेइमानी !!
– समय बचाउ, पैसा कमाउ..पाठक छकाउ, पत्रिका बिकाउ… !!!
आशिष भाई, गल्ती गरें भनेर स्विकारेकोमा धन्यबाद साथै बधाई। चाँडै पाएको सफलतामा धेरै घमण्ड गरियो कि के हो? जे होस, गल्ती स्विकार गरियो, अब भविष्यमा यस्ता गल्ती नदोहर्याउने प्रतिवद्धता सहित आफ्नो करिअर बनाउ, शुभकामना छ।
बाँकी रह्यो plagiarism को कुरा। यो आशिषको मात्र गल्ती होईन, लगभग हामी सबै नेपाली यो Practice मा अभ्यस्त छौं। निमा फोटोकपीको गाईड घोकेर युनिभर्सिटीको जाँच दिइन्छ र त्यसलाई जाँच दिने सबैभन्दा असल तरिका सोचिन्छ। अझ अगाडिको कुरा, एक कक्षा पढ्दादेखि नै बाउ आमाले कुनै स्तरिय लेख, किताब, रचना पढ्न दिँदैनन् : बरू Course का किताबका Line by Line घोक्न लगाउँछन्। शिक्षकहरु पनि किताबका Definition Word by Word घोकेर आयो भने त्यो बिद्यार्थीलाई राम्रो बिद्यार्थी मान्छन्। जाँचमा प्रश्नहरु पनि यसरी बनाइन्छ कि जसले पुरा घोकेर जाँच दिन आयो, त्यसलाई राम्रो मानिन्छ। मौलिकता (originality) को नेपाली शिक्षा प्रणालीमा स्थान छैन। जब सम्म बर्षमा एक चोटी जाँच लिने, त्यो जाँचमा पनि Pattern Follow गरेर प्रश्न बनाई गाईड घोक्नेको बढी नम्बर आउने गरी प्रश्न बनाउने प्रथा रहन्छ, हाम्लाई अरुको लेख चोर्न नराम्रो लाग्ने छैन। संसारमा जति पनि देशले विकास गरेका छन्, त्यहाँ मौलिकतालाई प्रशय दिइन्छ। नेपाल जस्तो होईन, यहाँको Master’s Degree को हैसियत विदेशको High School Degree जति पनि छैन। कहिलेकाहिं दु:ख लाग्छ, कस्तो हरिविजोग देशमा जन्म लिइएछ, जहाँ मेरो क्षमता र मौलिकतालाई मेरै बाउआमा र समाजले घाँटी निमोठेर मार्यो। तर के गर्नु, आफुले त सकिएन सकिएन, अबको पुस्ताले यो अवस्था भोग्न नपरोस।
धन्यवाद।
David को उक्त ट्वीट कस्तो थियो? उनको टाइमलाइनमा त त्यस्तो केही देखिएको थिएन त! त्यो पनि हेर्न पाए हुन्थ्यो – कि आफ्नो तर्कलाई बलियो बनाउन यसो भनिएको हो? नत्र अरुको ट्वीटको स्क्रिनसट राख्ने, तर David को चाहिं नराख्नुले अलि शंकास्पद बनाएको छl
“न्युयोर्क टाइम्सका David ले आफूले कान्तिपुरको चोरीबारे जानकारी पाएको र उक्त बिषयलाई पत्रिकाको कानुन शाखामा बोधार्थ पठाएको र उचित कारबाही गर्ने उत्तर सामाजिक सञ्जालका प्रयोगकर्ताहरुलाई ट्विटर र इमेलबाट दिए।”
यद्दपी सामाजिक संजाल प्रयोगकर्ताको यो कदम सराहनीय नै छl आशा गरौँ यो घटनाले सबैलाई सिर्जनशील बनाउन प्रेरित गर्ने छl
“David को उक्त ट्वीट कस्तो थियो? उनको टाइमलाइनमा त त्यस्तो केही देखिएको थिएन त! त्यो पनि हेर्न पाए हुन्थ्यो – कि आफ्नो तर्कलाई बलियो बनाउन यसो भनिएको हो? नत्र अरुको ट्वीटको स्क्रिनसट राख्ने, तर David को चाहिं नराख्नुले अलि शंकास्पद बनाएको छ”
_______________________________________
कृष्णराज जि ,डेविड ले Twitter मा DM (direct message) गरेको हुनाले ethics अनुसार सार्वजनिक गर्न नमिल्ने भएकोले नराखेको हो । उन्ले गरेको मेल र म्यासेज हामी सँग सुरक्षित छ । तर कसैको म्यासेज र मेल सार्वजनिक गर्नु भन्दा पनि त्यसमा के लेखिएको थियो सबैलाई जानकारी होस भन्ने आसयले त्यो प्रसङग उठाइएको हो । तपाईंको चासोको लागि धन्यवाद ।
यो लेख मा छुटेको कुरा चाहि यो सब को सुरुवात कसरि भयो भन्ने हो. काठमाडौँ बिश्वबिध्यालय कै आशिष लुइँटेल कै batch का एक साथी ले उनको चोरी समातेर उनको फेसबुक मा लेख्दा..उल्टो सबै delete हानि लुकौना खोजेको थियो. अनि उसैले आफ्नो facebook मार्फत यो घटना को जानकारी गराएपछि KU कै अरु बिद्यार्थी हरु ले खोज-तलास गरेर अझै चोरी भेट्टाए अनि सामाजिक संजाल मार्फत फैलाउन थाले र अहिले यहाँ आएर टुंगियो.
पहिला को काण्ड मा जस्तै आफ्नो खोक्रो लोकप्रियता र fan base प्रयोग गरेर यो कुरा नि दबौचु अनि त्यसै हराएर जाने छ भन्ने लुइँटेल को सोच थियो…..तर यसपाली KU का केहि सचेत युवा हरुले “अब अत्ति नै भयो” भनेर लागि परे र अरु हरु ले नि सहयोग गरेर सबै तिर फैलाउन सहयोग गरे. बादर बढी बाठो भयो भने ……. च्यापेर मर्छ!
सचेत पाठक हरु जागरुक भयो भने यस्ता लुइँटेल जस्ता ठग हरु आफै पाखा लाग्छन!
यो त भयो अखबारी नक्कल र छापा माध्यममा छापिएको सामग्रीको पर्दाफास। नेपाली आकाश र इन्टर नेट मार्फत पनि सुनिने रेडियो बीबीसी नेपाली सेवामा पहिला पहिला बज्ने गरेको वातावरण र उर्जा सम्वन्धि कार्यक्रमलाई एकफेर नियालेर सुन्ने र अन्य प्रशारकहरू रेडियो नेदरल्याण्ड्स र जर्मन रेडियो डच भेलले अङ्ग्रेजीमा बजाउने गरेका सामग्रीलाई सुन्नेहो भने बीबीसी नेपाली सेवाले पनि त्यस्तो नक्कल गर्ने गरेको तथ्य ठम्याउन सकिन्छ। खड्का थरका एकजना पत्रकारले रेडियो नेदरल्याण्ड र जर्मन रेडियो डचेभेलको अङ्ग्रेजी प्रशारणमा सुनेका वातावरणसित सम्वन्धित कार्यक्रम र फाइनान्सियल टाइम्स गार्जियन लगायत केहि वातावरणसित सम्वन्धित प्रकाशनहरू पढेर त्यहीँ उल्लेखित सामग्रीहरूलाई नेपाली भाषामा अनुवाद गरेर ३।४ मिनेटको श्रव्य सामग्री बनाउँने गरेको कुरा कमै मानिसहरूलाई थाह छ । केहि वर्ष पहिला बीबीसी नेपाली सेवाले रविन्द्र मिश्रका पिठ्ठु मानिने ति पत्रकारको नक्कली उत्पादनलाई नयाँ सृजना मानेर बजाउँथ्यो। त्यसबेला इन्टरनेटमा पाइने ति कार्यक्रम पुन सुनेर तुलना गर्दा अधिकाँश सामग्री हु बहु नेपालीमा अनुवाद गरेर बजाएको तथ्य फेला पर्थ्यो। यहाँ कुरा के भने कान्तिपुरले गरेको कपिराइट उलङ्घनको त चर्चा भयो तर बीबीसी नेपाली सेवामा कामगर्ने पत्रकारले गर्ने गरेको प्लेजरिजम अर्थात बौद्धिक चोरी कसले समात्ने र दण्डित गर्ने ।
पाठक, दर्शक र स्रोता कुनै पनि पत्रपत्रिकाका आधारशीला हुन् र उनीहरू पत्रकारहरूभन्दा कैयन् गुणा धेरै विद्वत छन् भन्ने कुरालाई अहिलेका ‘टुप्पाबाट पलाउने’ पत्रकारहरू स्वीकार्दैनन् । अहिलेको ‘आलु’ प्रकरण यसको जल्दोबल्दो उदाहरण हो । कान्तिपुरले माफी मागेर आफूलाई पुनः ‘जस्टिफाई’ गरेको छ ।