सरी, सरुमा!

-जगत नवोदित-

मलाई माफ गर, सरुमा। माफ गर ।

शायद यो कथा लेख्न मैले साह्रै ढिलो गरे। म धेरै कुराले जीवनमा अबेर हुँदै गएको छु । समयले मलाई छोड्दै लगेको छ। समय निक्कै अघी अघी छ र म निक्कै नै पछी छोडि सकेको छु। तैपनी म सक्दो आफ्नो पाइलालाई अघी सारिरहेछु।

अर्को कुरा यो कथा म तिम्रो स्विक्रिती बिनै लेखिरहेछु शायद मैले लेख्न मिल्ने हो या हैन? अरुको जीवनको कथा यसरी। यो थाहा भएपछी तिमी खुशी हुने हो कि दुखी? थाहा छैन । मेरो लेखन धर्म के छ भने कुनै घटनाले मलाई छोएमा लेखी दिन्छु कथा ।

+++

म युद्दमा थिए। ईराकको युद्दभुमीमा म लडिरहेको थिए। मार्ने या मर्ने बाटो म हिडिरहेको थिए । जीवनको कुनै भर थिएन । हामी बसिरहेको क्याम्प मै धेरै चोटि शक्तिशाली ग्रिनेड पड्किसकेको थियो । एकचोटी त झन्डै म आँफै शिकार भएको थिए। मैले अप्रेसनको मुख्यालय छोडेको ठीक १० मिनेट मै त्यो भवनमा ग्रिनेड पड्किएको थियो। म भाग्यले बचेँ पनि त्यहा काम गरिरहेको रेडियो अप्रेटर मेरो साथीले संसार छोडेको थियो। यही लडाईंको हालमा तिमीलाई मैले भेटेको थिए।

जीवनमा कती भेटघाटहरु जीवनभरीलाई हुन्छ जो कहिले बिर्सन नसकिने गरी रहन्छ मनमा। तिमी सँगको भेट पनि तेस्तै भयो मेरो लागि। के थाहा कि, तिमीलाई त्यसरी जीवनको गोरेटोमा भेट्छु भनेर? आखिर भेट्नु थिएछ, मैले तिमीलाई त्यस्दिन भेटे।

म त युद्द भुमिको हयाङ ओभरलाई कम गर्न कम्प्युटरको ढोका खोलेको थिए र पसेको थिए इनटरनेट्को जालोमा। त्यो जालो भित्र पनि म थिए कुराकानी गर्ने एउटा सन्जालभित्र। तिमी पनि ठीक्क रहिछौ त्यही च्याट रुममा। मैले ठयाक्क बिर्सिए कुराकानीको सुरुवात कस्ले गर्‍यो तर यो चाँही पक्का थाहा छ सुरुकै दिन हामीमा एउटा कुरामा गरमा गर्मी भएको थियो ।

कुराकानीको सिल्सिलामा तिमीले मेरो पेशा सोधेकी थियौ। मैले आफ्नो वास्तविकता लुकाएर भनेथे म विद्यार्थी हुँ । त्यतिबेला बेलायतमा नेपाली विद्यार्थीहरु आउने एउटा लहर नै चलेको थियो। सरकारले नियम खुकुलो गरेको मौका धेरैको लागि सपना पुरा गर्ने अवसर पनि बनेको थियो हो मैले पनि आफुलाई त्यो लहरकै एक पात्र बनाएर च्याट रुममा अभिनय गर्न सुरु गरे।

तिमी के गर्छौ? मेरो स्वाभाबिक जिज्ञासा थियो ।

म लोट्ररी पार्ने काममा लागेको छु- तिमीले जवाफ भनेकी थियौ ।

त्यो त भाग्यको कुरा हो तर काम चाँही के गर्छौ? मैले कसी हाल्न कोशीस गरेथे।

हैन, मेरो केही महिना देखी काम नै त्यही भाको छ- तिमीले सहजताका साथ भनेकी थियौ।

तिम्रो यो जवाफले मलाई अली खुल्दुली गराएको थियो अब भने म तिमी प्रती जिज्ञासु भएर गहिरिएको थिए। अनी हामी बिच लामो च्याटिङ भएको थियो ।

कस्तो लोट्री हो? मलाई नि भन्नु न।

हैन यो अली पर्सनल कुरा हो-

उसो त केही भन्नै हुन्न थियो।

ढाट्ने बानी छैन हजुर –

तेसो हो भने खुलस्त भन्नु पर्‍यो।

भन्दिन –

नयाँ साथीलाई विश्वाश नगरेको हो ?

हैन –

ल भन्नु न त कसरी लोट्री हात पर्छ?

पछी भनुला नि-

हुन्न, म अहिले सुन्न उत्सुक छु ।

पहिलो भेट्मै के सारो जिद्दी हो नि –

जिद्दी मान्नु हुन्छ भने ठिकै छ। मलाई कुरा अधुरो छोडेको मन पर्दैन।

—–

—–

मेरो कुरा सुनेर तिमी निकै बेर नाजवाफ बसेकी थियौ। मैले नै कुरालाई अघी बढाएको थिए I

भन्दा ज्यानै जाने छ भने ठिकै छ नि त – मैले कुरा बदल्न खोजेको थिए।

हैन, ठिकै छ I त्यस्तो ज्यानै जाने केही छैन I – तिमीले कुरा भन्ने जसरी बोलेकी थियौ।

लु उसो भए भन न त- मैले मौकालाई समातेको थिए।

कुरा के भने ———-

फेरी तिमी अड्किएकी थियौ।

खै त ?- म हतारिएको थिए।

ल वादा गरन त कसैलाई नभन्ने भनेर- तिमीले हिन्दी शब्दमा मलाई कसम खुवाउन लागेकी थियौ ।

ल मैले प्रोमिस गरे कसैलाई भन्दिन- तिमीलाई विश्वाश मैले दिएको थिए।

अब चाँही तिमी दिल खोलेर तिम्रो मनका कुराहरु मलाई भनेकी थियौ ।

लोट्रिको खास कुरा के भने मैले मैले ढडिया थापेको छु। एउटा माछा चाडै पर्नेवाला छ।

हैन कस्तो माछाको कुरा गरेको ? म अल्मलिदै प्रश्न गरेथे । पहाडमा म सानो छदा माछा मार्न खोलामा ढडिया थाप्ने चलन थियो। त्यस्कै याद पो बल्झियो । लाग्यो, फेरी एउटा माछा पर्ने बितिक्कै कसरी लोट्री मान्ने र यसलाई ?

यो बिशेष माछा हो- तिमीले भनेकी थियौ।

कस्तो बिशेष हो नि ?

डाइमन्ड हो त्यो माछा ।

बाफ्रे हो र? कहाँ पाउछ नि त्यस्तो माछा ?- यतिन्जेल म चकितमा थिए।

यु के मा- जहाँ तिमी छौ।

हैन, यस्तो माछा लु न कसरी पाईन्छ मलाई भन्नु पर्‍यो I

सुनेर नहास है त-

किन हास्ने नि? कि कुरै हसाउने छ ?

हैन, त्यस्तो त –

अनी के हो खास कुरा? भन न त ।

ल सुन- म एउटा लाहुरेलाई मुर्गा बनाउनेवाला छु।

लाहुरेलाई —– कसरी?

हो लाहुरेलाई । एउटा लाहुरे सँग प्रेमको नाटक गरिरहेछु। बिहे गरेजस्तो गरेर यु के आउने योजनामा छु। त्यहा बस्ने पुरा अधिकार मिले पछी म उस्लाई छोडिदिनेछु ।

त्यस्पछी नि त —

त्यस्पछी त मैले चाहेको मान्छे सित जीवन बिताउनेछु नि।

आफुले चाहेकोले पत्याउला र त्यो बेला?

म डाईमन्ड भई सक्छु नि त्यो बेलामा त, किन नपत्याउने नि?

तिम्रो कुरा र बिचारले म भित्र देखी नै अचम्मित बनेको थिए । मैले तुरुन्त केही नराम्रो भावना ब्यक्त गरिन। सक्दो सम्हालिएर कुरालाई निरन्तरता दिईरहे। तर मन भित्र भने एउटा नमिठो गुन्जायस भयो।

तिम्रो योजना सुनेर म आफु बसिरहेको धर्ती भासिरहे जस्तो लाग्यो। मैले धेरै लाहुरेहरुको पारिवारिक जीवन भताभुङ भएको देखेको थिए। म स्वयम लाहुरे भएकोले तिम्रो योजनाले मलाई दुखी बनायो । तिमी प्रती मैले सोचिरहेको दृष्‍टिकोण पनि तुरुन्त फरक भएर आयो। तिमी प्रती आक्रोसित हुन अघी मलाई कारण थाहा पाउन मन लाग्यो ।

आखिर किन तिमीले लाहुरेलाई नै फसाई रहेछौ? लाहुरेहरु त नेपाली दाजुभाइ पो हुन त।

यो कुरा मैले च्याट बक्समा पठाउन साथ क्याम्पमा इमर्जेन्सी घन्टी बजेको थियो। म हतार सब कुरा त्यतिकै छोडेर आफ्नो सेन्ट्री पोजिसन तिर हानिएको थिए। त्यो अध्यारो रातमा आँखाले टाढा टाढा सत्रुको गतिबिधी मैले हेर्न त हेरिरहेको थिए। तर मेरो मनमा भने तिम्रो कुराले गहिरो गरी खुल्दुली गराइरहेको थियो। आखिर किन तिमीले लाहुरेलाई लोट्री बनाउन खोजिरहेछौ?
+++

यसपछी धेरै दिन सम्म मैले च्याट रुममा तिमीलाई देखिन। अलिकती खाली समयमा पनि तिमीलाई कतै भेट्छु कि भनेर धेरै पटक च्याट रुममा पसे तर निरास हुनुपर्‍यो। नेपाल न्युजको त्यो च्याट रुम त्यतिबेला धेरैको लागि चौतारी भएको थियो। आज जस्तो फेसबूक थिएन त्यतिबेला । एकमनले सोचे तिमी अर्कै नाम बाट पनि त च्याट रुममा आएकी हुन सक्छौ । तिमीलाई एमएसएन मा जोड्नको लागि म सँग तिम्रो ईमेल नै थिएन। एक मनले सोचे शायद अब हाम्रो भेट्नै पो हुँदैन कि?

मनले भेटै नहोला भनेको समयमा एक्दिन तिमीलाई फेरी भेटे। मैले अघिल्लो प्रसंगलाई कोट्याउदा तिमीले कुरालाई अरु तिरै बङ्ग्याएकी थियौ ।

के तिमीले कहिले प्रेम गरेको छौ ? – तिम्रो प्रश्न थियो ।

हो, म जीवनभरी प्रेम मै छु । – मैले भनेको थिए ।

को सँगको प्रेममा हो नि ?-तिम्रो थप प्रश्न थियो।

परिवार, आफन्त र साथीभाईहरु- मैले आदर्शबादी जस्तो उतर बोलेथे । यसपछी हाम्रो लामो प्रेमको बारेमा कुरा भएको थियो ।

तिमीले पार्टिकुलर छोरीमान्छेलाई चाँही प्रेम गरेको छैन ?

छु नि , पहिले म रोजा मार्कोसलाई प्रेम गरे।

रोजा मार्कोस ?- तिमी बिदेशी केटीमा रुची राख्छौ हो ?

हैन हैन। उनी एक शसक्त अस्वेत महिला नेत्री हुन। अनी बाँकी सुन्ने हो मैले को कोस्लाई प्रेम गरे र गर्छु।

ओ के ।

मैले जीवन बुझ्दै जादा-मदर टेरेशालाई प्रेम गरे। अहिले आङ्सन सुकी र सोमली मोमलाई खुब माया गर्छु ।

सट अप – तिम्रो यो जवाफले मैले अन्दाज गरे तिम्रो कन्सिरी तातिएछ ।

कुनै न कुनै रुपमा तिम्रो वास्तविक मन बुझ्नै थियो त्यस्को लागि तिमीलाई तताउन केही जरुरी पनि थियो ।

त्यस्तो तिमीले भनेको जस्तो प्रेम हैन मैले भनेको चाँही लभ गरेको छ कि छैन भनेको के ?-तिमिले प्रस्ट्याएकी थियौ।

म सबै प्रेमलाई उस्तै लिन्छु-

यो पढेनेहरुको कुरै बेग्लो, माने तिमीलाई – तिमी हारे जस्ती बनेकी थियौ।

मान्ने नमान्ने कुरा त्यस्तै हो, बरु भन लाहुरे सँग के हुँदैछ तिम्रो प्रेम ?

के हुने र? लडाईंमा गएको छ।

लडाईंमा ? कुन लडाईंमा हो नि ?-म अस्वभाबिक हतारिए ।

अफगानिस्तानमा-

ए हो!- म अली स्वाभाबिक सन्तुलनमा आए।

लडाईंमा बचेँर फर्क्यो भने मात्र मेरो सपना पुरा हुनेछ। खोइ के भन्ने लाहुरे सँगको प्रेम पनि?

त्यस्तो सोच्ने हैन, उस्को सुरक्षाको लागि बरु कामना गर। – मैले भनेथे।

+++

मैले मरिहत्ते गरेर धेरै पटक प्रेमिको नाम सोद्दा पनि तिमीले कहिले उस्को नाम बताइनौ। मलाई चाहना थियो जान्नलाई कि उ कुन अभागी लाहुरे हो जस्को जीवन तिमीले खेलिरहेछौ। मेरो चिनजानको रहेछ भने केही सहयोग गरु। यो सब भएन बरु हाम्रो मित्रता नजिकियो। मित्रताको नाममा हामी नजिक भए पनि लाहुरे प्रतिको तिम्रो बिचार र व्यबहारलेले मलाई चोट पुगेको थियो त्यसैले म तिमीलाई कहिले पनि राम्रो सोच्न सकिन । लाहुरे पनि आखिर एउटा मान्छे हो। अरु मान्छे जस्तै उस्को पनि रहर हुन्छ, सपना हुन्छ र जिन्दगी हुन्छ। पराइ देशमा लड्नु उस्को बिबशता हो, बाध्यता हो। बिल्कुल इच्छा हैन। लाहुरेलाई आफ्नो देशको माया साह्रै हुन्छ-जो भावना म आँफैले अनुभुत गरेको थिए। तर यो सबै वास्तविकतामा तिमीलाई रतिभर विश्वाश थिएन I एक प्रसँगमा तिमीले भनेकी थियौ- लाहुरेलाई पनि दु:ख हुन्छ र? हो तिम्रो यस्तै गलत बुझाई थियो लाहुरेको बारेमा । मान्छेको आक्रिती ओढेको तर मान्छे भन्दा अली पर केबल रसरङ र मोजमस्तिमा रम्ने प्राणीमात्र तिमीले ठानेकी थियौ लाहुरेलाई। र म तिमी सँग खुशी थिएन।

मैले लडाईंको मैदान छोड्ने समयको ठीक हप्ता दिन अघी होला तिमीले आफ्नो लाहुरे प्रेमी नेपाल आईसकेको खुलाशा गरेकी थियौ। म पनि लडाईं सकेपछी मेरी आमाको काख र मातृभूमीको आगन टेक्न जाने योजनामा थिए ।

म पनि नेपाल आउँदै छु नि भन्दा तिमीले ल ल मेरो बिहे पार्टीमा तिमीलाई बोलाउछु भनेकी थियौ।

+++

म नेपाल पुगेको हप्तादिन पछी नै मैले तिम्रो बिहेको निम्तो पाए। पहिले त जाउ कि नजाउ भन्ने मनस्थितिले मलाई गाज्यो। किनभने मैले आफ्नो वास्तविक पेशा तिमीलाई भनेकी थिएन। तिम्रो नजरमा त म च्याट रुमको एउटा विद्यार्थी साथी थिए जो बेलायतमा दु:खले पढ्थ्यो। तर मेरो वास्तविकता त्यस्तो थिएन, म त एक गोर्खाली लाहुरे थिए। अनी तिमीले भनेकी थियौ कि तिमीले मुर्गा बनाईरहेको तिम्रो प्रेमी चाँही लाहुरे हो। यो परिस्थितीले म बिहे भोजमा जान खुब अंकनाई रहेको थिए। आखिर बिहेभोजको दिन आयो। जे पर्छ पर्छ मैले दुलहालाई चिन्नकै लागि पनि जाने निधो गरे।

+++

ओ माइ गड!

कहिले कहिले सोच्दै नसोचेको कुरा आँखाले देखिदोरहेछ। जब म बिहे स्थलमा पुगे मेरो लागि सोच भन्दा धेरै टाढाको द्रिश्य आँखामा देखा पर्‍यो। दुलहा बनेको बेहुला कुनै लाहुरे थिएन त्यस ठाउमा त एक ठग पो मुस्कुराइरहेको थियो।

खास कुरा के भने पोहोर साल म लगायत ९ जना लाहुरे साथीहरु नेपाल सँगै छुट्टी मनाउने बिचारले एउटा नेपालीकै ट्राभल एजेन्सी मार्फत टिकट काट्ने निधो गर्यौ । एजेन्सिले पनि हामीले चाहेको मितिमै टिकट उप्लब्ध गराउने सहमती गर्‍यो। तर नेपाल जाने अन्तिम दिन सम्म पनि टिकट हात परेन । नेपाल जाने हाम्रो सब योजना भातभुङ भयो। फोन संपर्क गर्द फोनै नउठ्ने भएपछी हामी तनाबमा त्यो एजेन्सिको कार्यालय पत्ता लगाउनलाई लन्डन नै पुगेका थियौ। त्यतिबेला थाहा भो-कम्पनी मालिक त १ नम्बरको ठग रहेछन।

नक्कली कलेज खोलेर थुप्रै बिदेशी विद्यार्थीलाई बिजोग बनाएका रहेछन । केही दिन पूर्व मात्र उनको अबैधानिक कामको पुरा खुलाशा भएछ तर यतिन्जेल उनले हङ्कङ तिर टाप कसिसकेछन । हामीले उनको सबै कर्तुत पत्रीकामा सचित्र पढेका थियौ । त्यस्तो धोकेवाजलाई कसरी बिर्सनु?

त्यही ठग बेहुला देखेर दिमागमा रिङ्गटा लागेर आयो। मैले केही क्षण सोच्न केही सकिन । पार्टीमा बस्न मनले मानेन । तुरुन्त म बाहिर निस्किए। एकमनले सब वास्तविकता खोलिदिउ र पुरै पार्टी नै भाडीदिउ कि जस्तो लाग्यो, अर्को मनले यो झमेलामा नफसु लाग्यो।

बाटोमा लाग्यो- ईस्वर कही पक्कै छ। ठगलाई महाठग सँग जुराइ दिनु भएछ – लागेर आयो। सरुमा ! त्यस्पछी तुरुन्त तिम्रो मोबाईल नम्बर हटाए र ईमेल पनि डिलिट गरिदिए। सरुमा ! त्यस्दिन बाट मेरो संपर्क टुटेको आज त बर्षौ भएछ। थाहा छैन तेस्पछी के भयो तिम्रो जीवन, आज कहाँ छौ? के गर्दै छौ ? केही थाहा छैन , सरुमा।

कहिले कहिले लाग्छ , मैले तिमीलाई केही त भन्न् पर्ने त्यो ठगको बारेमा फेरी अर्को मनले भन्छ हैन तिमी आँफै नै सोझो लाहुरेलाई ठग्ने दाउमा थियौ। जे गरे ठिकै गरे।

यो ठगहरुले भरिदै गएको संसारमा मेरो सानो भुल बाट तिमीले कतै सास्ती भोगिरहेकी छौ भने मलाई माफ गर। सरी,सरुमा !

17 Comments

  1. वास्ताबिक्ताको नजिक पुगेर सृजना गरिएको यो कथा भित्र अहिलेको युग बोलेको आभास पाए मैले । सानो तर गम्भीर कुरालाई टपक्कै टिपेर मिठो कथा सृजना गर्न सक्ने स्रस्टा जगत जी मा यहीबाट साधुबात टक्र्याए ।

  2. नेपाली समाजमा घटेको सत्य घटना एक ले आर्को लाइ ठग्ने परविर्ति मौलाउदो छ मिठो कथा

  3. अरु लाई पुर्ने खाल्टो मा आफै जाकिदा को अनुभव साएद अहिले बुझ्दै होलि | जे होस कथाकार बन्धु लाई साधुभाव मेरो तर्फ बाट अनि उत्तर उत्तर प्रगति को कामना |…………किशोर तिवारी [अन्जान]झापा हाल मलेसिया

  4. “चोर माथि चण्डाल !”
    अल्ली बढ्ता आदर्श र भाबुकतामा कथा प्रभाहित भएता जस्तो देखिएता पनि प्रस्तुति र turning point भने सुन्दर छ !

  5. अति राम्रो किन हाम्रा फ्लिम मकर हरु येस्ता आफ्नै मौलिक कथामा कुनै फ्लिम बनौदैनन

  6. घत लाग्दो कथा को लागि ध्न्येबाद..लेखक को लेखन सैली राम्रो लग्यो. गुड वोर्क.

  7. सम्भावित घटनाको दस्तावेज हो यो कथा.. कथा बगेको छ, कथाकारलाई बधाई !!

  8. Biochemistry को स्तुदेंत हुने भनेएको र US मा नै बसोबास भएको नाताले खै के रहेछ भनेर एसो research गर्दा त नाथे medical research authority of USA भन्ने कुनै संस्थान नै छैन रहेछ. जाबो तेती पनि नहेर्ने केको पत्रकार ?

  9. निकै राम्रो कथा फेरी फेरी पनि येस्तई कथा लेख्ने काम गर्नुहोला.dhanyabad

  10. मलाई यो कथाको प्रस्तुति राम्रो लाग्यो। लेखकलाई धन्यवाद!
    – शरद

  11. “ल सुन- म एउटा लाहुरेलाई मुर्गा बनाउनेवाला छु।

    लाहुरेलाई —– कसरी?

    हो लाहुरेलाई । एउटा लाहुरे सँग प्रेमको नाटक गरिरहेछु। बिहे गरेजस्तो गरेर यु के आउने योजनामा छु। त्यहा बस्ने पुरा अधिकार मिले पछी म उस्लाई छोडिदिनेछु ।”

    नक्कली कलेज खोलेर थुप्रै बिदेशी विद्यार्थीलाई बिजोग बनाएका रहेछन । केही दिन पूर्व मात्र उनको अबैधानिक कामको पुरा खुलाशा भएछ तर यतिन्जेल उनले हङ्कङ तिर टाप कसिसकेछन । हामीले उनको सबै कर्तुत पत्रीकामा सचित्र पढेका थियौ । त्यस्तो धोकेवाजलाई कसरी बिर्सनु?

    त्यही ठग बेहुला देखेर दिमागमा रिङ्गटा लागेर आयो। मैले केही क्षण सोच्न केही सकिन । पार्टीमा बस्न मनले मानेन । तुरुन्त म बाहिर निस्किए। एकमनले सब वास्तविकता खोलिदिउ र पुरै पार्टी नै भाडीदिउ कि जस्तो लाग्यो, अर्को मनले यो झमेलामा नफसु लाग्यो।

    यो दुइ जना ठग हरुमा कसले कसलाई ठग्न सफल भयो त्यो त कथा ले बतायन तर यो आजको समाज को यथार्थ हो ! कयौं सरुमा हरु बिदेशी कोठीमा छन् भने घर न घाट हुने लाउरे दाइ हरुपनि थुप्रै छन् ! सबैलाई चेतना भया ..

Comments are closed.