भ्यालेन्टाइन डे विशेष- अद्‍भुत सौन्दर्य : मधुबाला

–ध्रुव के. सापकोटा-

अद्‍भुत सौन्दर्य अनि अद्वितीय कलाकी धनी मधुबाला आज कै दिन १४ फरवरी, प्रणय दिवस (भ्यालेन्टाइन्स डे)मा जन्मिएकी थिइन्। आजको दिनमा अर्थात् १४ फरवरीमा जन्मने मानिसहरू प्रेमी हृदय लिएर जन्मिएका हुन्छन् भन्ने विश्वास छ। मधुबालाको जीवन पनि यस्तै रहयो। ई.सं. १९३३ को १४ फरवरीमा जन्मिएकी मधुबालाको असली नाम मुमताज जहान बेगम थियो। मधुबालाको शाब्दिक अर्थ हुन्छ – राम्रा आँखा भएकी।

आफ्नो अभिनय यात्रामा सफलताको चुली चढ्न सफल उनको जीवनमा धेरै ब्यक्तित्वसँग प्रेम प्रसंग चल्यो। केवल उनका सहकर्मी कलाकारहरूसँग मात्र होइन, पाकिस्तानका भु. पु. प्रधानमन्त्री जुल्फिकार अली भुट्टोसँग समेत उनको नाम जोडिएको थियो।

उनी सानी छँदाखेरीका उनका प्रेमी थिए – लतिफ। लतिफ पछि मधुबालाको जीवनमा थुप्रै प्रेमीहरू आए, गए तर आज मधुबाला यो धर्तीबाट विदा भएको ४३ वर्ष बितीसक्दा पनि हरेक वर्षको २३ फरवरी (मधुबालाको मृत्यु भएको दिन)मा उनको चिहानमा लतिफ फूल चढाउँछन्।

http://www.youtube.com/watch?v=urUpMevl_XQ

हुने विरुवाको चिल्लो पात भनेझैं उनी सानै हुँदा देखी नै कला र अभिनयमा निपुण थिइन्। रेडियोबाट गीत बज्नासाथ छम–छम नाच्न थाल्दथिइन्। जब उनी केवल ९ वर्षकी थिइन्, उनले ‘बसन्त’ (१९४२) नामक फिल्ममा बालकलाकारको भूमिकामा तहल्का मच्चाएकी थिइन्।

जब उनी केवल १३ वर्षकी थिइन् उनले नायिकाको भूमिकामा ँनील कमल” (१९४७) नामक चलचित्रमा नायक राज कपुरसँग काम गरिन्। त्यो चलचित्रले त्यति ठूलो सफलता हाँसिल नगरे पनि मधुबालाको अभिनयले धेरै ठूलो ख्याती कमायो। त्यस चलचित्रका निर्देशक किदार शर्मा मधुबालाको सौन्दर्यप्रति मोहित भए, र उनलाई प्रेमको प्रस्ताव राखे। उनी केवल १३ वर्षकी कलिलो उमेरकी किशोरीलाई प्रेम भनेको के हो सम्म थाहा थिएन। उनलाई कस्तो लाग्यो भने – मैले पर्खें भने यी निर्देशक भन्दा राम्रो जीवन साथी पाउने छु। त्यसैले उनको प्रेमलाई स्विकार गर्न सकिनन् तर उनलाई एउटा आफू भन्दा अग्रज व्यक्तिको सम्मान भने दिई नै रहिन्। उनको दोश्रो चलचित्र “महल” (१९४९) ले धेरै ठूलो सफलता पायो।

महलका निर्देशक कमाल अमरोहीसँग उनको प्रेम निकै प्रगाढ हुँदै गयो। प्रसँग बैबाहिक जिन्दगीमा बाँधिने सम्ममा पुग्यो। मधुबालाका पिता पनि राजी थिए। कमाल एक सफल निर्देशक र सम्पन्न ब्यक्ति थिए। तर उनी पहिले नै बिबाहित थिए। मधुबालालाई उनी दोश्रो श्रीमतीको रूपमा भित्र्याउन चाहन्थे। किनभने उनी मुस्लिम थिए र मुस्लिम धर्म अनुसार श्रीमतीको मन्जुरी भएमा चारवटी सम्म बिहे गर्न पाइन्थ्यो। तर मधुबाला भने कमालले आफ्नी पहिली श्रीमतीलाई पारपाचुके गरून् अनि मात्र उनीसँग विवाह गरुँ भन्ने चाहन्थिन्। कमालले – ‘प्रेम भन्ने कुरा बाँड्दा घट्दैन, बरू बद्छ, म मेरी श्रीमतीलाई नछाडीकन तिमीलाई बिहे गर्नसक्छु’ भने। आफ्नी पत्नीप्रति बफादार भए तर मधुबालालाई यो कुरा मन्जुर भएन, उनी कसैको सौता हुन चाहन्न थिइन्। यसरी उनको यो प्रेम सफल हुन सकेन।

मधुबाला आफ्नो अभिनय यात्रामा सफलताको चुली चढ्दै गइन् र एक पछि अर्को व्यक्तित्वसँग प्रेम चल्दै र टुट्दै पनि गयो। चलचित्र वादल (१९५१)को सुटिङको बेलाको कुरा हो। चलचित्रका नायक प्रेमनाथ थिए। मधुबालाले सुटिङको पहिलो दिन सुटिङ सुरू हुनु अघि प्रेमनाथलाई रातो गुलाफको फूल दिइन् जसमा एउटा सानो नोट पनि लेखेकी थिइन्– यदि मेरो प्रेम प्रस्तावलाई स्विकार्नु हुन्छ भने यो गुलाफलाई स्विकार्नु होला।’

http://www.youtube.com/watch?v=WZ-R2bn76bk

प्रेमनाथ पनि एक सफल अनि आकर्षक व्यक्तित्व नभएका कलाकार त होइनन् तर त्यति आकर्षक, सुन्दर व्यक्तित्व भएकी नव युवती अनि सफलताको शिखर चढ्दै गएकी नायिकाको प्रस्ताव पाउँदा खुशीले गदगद हुँदै भने– ‘ए भै हाल्छ नि, किन नहुनु † स्वागत छ, स्वागत छ।” यसरी यी दुई सहकर्मी कलाकारको बिचमा प्रेम–लीला चल्न थाल्यो। तर केही हफ्ता पनि बित्दा नबित्दै मधुबाला प्रेमनाथबाट टाढा हुन थालिन्। उनी अचम्ममा परे र चिन्तित भए। अनि प्रेमनाथ र अर्का ठूला कलाकार अशोक कुमारको एउटा सुटिङमा केही हफ्ता पछि भेट भयो र कुरा हुँदै थियो। प्रेमनाथले आफ्नो राम काहानी सुनाए। अशोक कुमारले हाँस्दै भने– ‘हा हा हा, ए हो र? उनले तिमीलाई पनि यसरी गुलाफको फूल दिँदै प्रेम प्रस्ताव राखिन्? मलाई पनि उनले केही हफ्ता अघि यसै गरेकी थिइन्।”

त्यसपछि प्रेमनाथ रिसले आगो भए र मधुबालालाई सदाको लागि बिर्सने निर्णय लिए।

अब यसरी जो राम्रो देख्यो त्यसलाई प्रेमको प्रस्ताव राखी हिंड्ने, एउटा छोडि अर्को छानी हिंड्ने मधुबालाको यो ताल देख्दा उनी एक खराब आचरण भएकी नारी हुन् कि जस्तो लाग्छ तर कुरा त्यस्तो होइन। उनी केवल १८ वर्ष मात्रै पुगेकी, जवानीको नयाँ नयाँ जोश बोकेकी एक निर्दोश युवती थिइन्। उनलाई प्रेम भन्ने कुरा के हो, कसैलाई प्रेमको प्रस्ताव राख्नु अनि तोडनु, अनि फेरि अर्को ब्यक्तिसँग सम्बन्ध जोड्नुको अर्थ के हो, यसको परिणाम के हुन्छ,– यो सबै केही थाहा थिएन। म यसलाई उनको निर्दोशपन र अज्ञानकै रूपमा लिन्छु, उनको चरित्र र नियत माथि औँला ठड्याउनु ठीक ठान्दिन।

http://www.youtube.com/watch?v=337btNN3S9g

त्यसपछि त्यस बखतका झन् ठूला कलाकार दिलिप कुमारसँग उनको प्रेम प्रसँगको चर्चा चल्न थाल्यो। दिलिप कुमारसँगको प्रेम उनको जिन्दगीको सबैभन्दा महत्वपूर्ण र गम्भीर प्रेम रह्यो।

यो प्रेम निकै लामो समयसम्म चल्यो तर यिनमा पनि धेरै उतार चढाव आए। यो प्रेम प्रसँगमै केन्द्रित रहेर कुनै राम्रो चलचित्रको कथा एबम् चलचित्र तयार हुन सक्छ। मधुबालाका पिता अतुल्लाह खान भने यो सम्बन्धको बिरोधमा थिए। मधुबाला उनकी दुहुनु गाई जस्ती थिइन्। नायिकाको भूमिकाले कमाएको मोटो रकम आफ्ना सम्पूर्ण परिवारको खर्चमा दिन्थिन्। उनको ठूलो परिवारमा उनी मात्र एक ब्यक्ति थिइन् आम्दानीको राम्रो श्रोत भएकी। अनि दिलिप कुमारसँग बिहे भयो भने आफ्नो आयश्रोत नै जाने डर थियो उनका पितालाई। अर्कोतिर दिलिप कुमार चाहन्थे कि मधुबाला यदि उनीसँग बिहे गर्न चाहन्छिन् भने उनले आफ्नो परिवारसँग नाता तोड्नु पर्छ। यसरी मधुबालाका पिता र दिलिप कुमारले एक अर्कालाई पटक्कै मन पराएनन्। यो दुबिधा पर्यन्त पनि उनीहरू बिचको प्रेम निकै लामो चल्यो। पिताकै कारण्ँ उनीहरूको सम्बन्ध आखिरमा १९५७ मा गएर टुट्यो।

यति मात्र होइन, यी दुई कलाकारले निर्देशक बि आर चोपडाको चलचित्र ‘नयाँ दौर” मा सँगै खेल्ने भनेर अनुबन्ध गरी सकेका थिए। एक त दुईको सम्बन्ध टुट्नु अनि अर्कोतिर त्यो चलचित्रको सुटिङ बम्बै बाहिर असुरक्षित स्थानमा हुने भएकाले उनका पिताले छोरीलाई जान दिन अस्विकार गर्नुले निर्देशक चोपडाले मधुबालालाई आफ्नो चलचित्रबाट हटाउने निर्णय लिए। अनि पिता खानले चोपडालाई मुद्दा हाले। चोपडाले आफूलाई बचाऊ गर्न खानलाई मुद्दा हाले। यसै क्रममा अदालतमा दिलिप कुमार र मधुबालाको प्रेम पर्दाफाश भयो। दिलिप कुमारले एकातिर निर्देशक चोपडाको साथ दिए भने अर्कोतिर अदालतमै– ‘मेरो मधुबालासँग प्रेम थियो, छ र म जिवित रहुन्जेल उनलाई प्रेम गर्छु” भने। तर यो सम्बन्धको अन्त भैसकेको थियो। यो सम्बन्धको अन्त हुनु अघि नै मधुबालाले दिलिप कुमारसँग चलचित्र ‘मुगल ए आजम” मा काम गर्न अनुबन्ध गरिसकेकी थिइन्। त्यसैले सम्बन्ध टुटे पनि यो चलचित्र पुरा गर्न उनी विवस भईन्। यो चलचित्र उनको क्यारियरको सबैभन्दा महत्वपूर्ण चलचित्र थियो र हिन्दी सिने जगतको आजसम्मकै एक महत्वपूर्ण चलचित्र मानिन्छ।

यो चलचित्रको सुटिङ सक्न १० वर्षको लामो अन्तराल सम्म काम गर्नुपर्‍यो। यस चलचित्रमा मधुबालाले अनारकलीको भूमिका निभाएकी थिइन्।

चलचित्रको कथाका पात्रहरू जस्तै, अनारकलीलाई नायक सलीम खानले माया नगरेको जस्तै मधुबालालाई दिलिप कुमारले पनि माया नगरेको, उनीहरूको बिचमा कुनै प्रेमको भाव नभैकन केवल चलचित्रको लागि मात्र काम गरेको अवस्था थियो यो। यसरी यी दुई व्यक्ति बिचको सम्बन्ध चलचित्रको कथा जस्तै भई दियो, त्यो चलचित्र जस्तै भयो यिनीहरूको जीवन त्यस बखत। दिलिप कुमार मधुबाला देखी रिसाउने भए। मधुबालाले पनि पिडामा काम गर्नु परेकोले गर्दा यस चलचित्रमा ससक्त अभिनय गरिन्। उनको यो अभिनय उनको जीवन भरिका सम्पूर्ण चलचित्रहरूमा गरेको अभिनय बिचमा सर्वश्रेष्ठ र परिष्कृत मानिन्छ। यो चलचित्रको एउटा दृश्यमा नायक सलीम खान (दिलिप कुमार) ले नायिका अनारकली (मधुबाला) लाई थप्पड हान्नु पर्ने हुन्छ। यथार्थ जिन्दगीमा मधुबालाप्रति रुष्ट भएका दिलिप कुमारले आफ्नो रिस पोख्दै साँचै नै यति जोडले थप्पड हान्छन् कि मधुबालालाई ज्यादै पिडा हुन्छ र दृश्य हेर्दा चलचित्र हेरेको होइन हाम्रो जीवनमा घट्ने साँच्चैको घटना आँखा सामु लाइभ देखे जस्तो लाग्छ। यसप्रकारले यो चलचित्र जीवन्त भएको छ।

उनको जीवनमा आएका पुरुÈहरूमा अर्का ब्यक्तित्व हुन् पाकिस्तान का भु.पु प्रधानमन्त्री जुल्फिकार अली भुट्टो। यो त्यस बखतको कुरा हो जब भुट्टो प्रधानमन्त्री भएका थिएनन् (१९५०–५७) र मधुबाला उनको यही बहुचर्चित चलचित्र ‘मुगल ए आजम”को सुटिङ चलिरहेको थियो। त्यस बखत उनी मधुबालालाई भेट्न स्टुडियोमा जाने गर्थे अनि उनीसँग कति पटक लन्च खाएको प्रसँग पाईन्छ। भुट्टो एक अति सम्पन्न परिवारका एक नव युवक र आकर्षक ब्यक्तित्व थिए। भुट्टो मधुबालाको सौन्दर्य र सफलताप्रति मोहित त थिए नै, मधुबाला पनि भुट्टोप्रति आकर्षित थिइन्। भुट्टो ईरानकी सुन्दरी नुसरत (बेनजिर भुट्टोकी आमा)सँग विवाहित थिए तर पनि मधुबालाको सौन्दर्य र ब्यक्तित्वले उनलाई मोहित पारेको थियो। उनी आफ्नी श्रीमतीको नजर बचाएर मधुबालालाई भेट्न पाकिस्तानबाट बम्बै आउने गर्थे। तर भुट्टोको राजनीतिप्रतिको लगाव र महत्वाकाञ्छाले उनी पाकिस्तानमै ब्यस्त भए र मधुबालालाई दोश्रो श्रीमती बनाउने उनको चाहना पुरा हुन सकेन।

यसरी थुप्रै ब्यक्तित्वहरूसँग एक पछि अर्को प्रेम सम्बन्ध चल्दै, टुट्दै उनी थकित भइन्। अब उनले आफ्नो जीवनमा स्थायित्व खोजी रहेकी थिइन्। उनी बैवाहिक जिन्दगीमा बाँधिन चाहन्थिन्, दाम्पत्य जीवनको अनुभव गर्न चाहन्थिन्। यस्तैमा ई.सं.१९५८ मा चलचित्र ‘चल्ती का नाम गाडी” मा उनले सुप्रसिद्ध गायक एवं अभिनेता किशोर कुमारसँग काम गर्ने मौका पाइन्।

मैले माथि सम्म खासगरी उनको प्रेम प्रसँगको मात्र कुरा गरें, अब केहीबेर उनको स्वास्थ र क्यारियरको कुरा गर्नु आवश्यक ठान्छु। अनि उनको बैवाहिक जीवनको प्रसँग लिएर आउने छु।

मधुबाला आफ्ना आमाबाबुकी ११ जना सन्तान मध्ये पाँचौं सन्तान थिइन्। उनी सानी छँदा त्यतिखेरका एक नामी ज्योतिषी– ‘कश्मिर वाले बाबा” ले उनका पितालाई भनेका थिए –’तिम्री छोरीले धेरै ठूलो नाम, इज्जत, र सम्पत्ति कमाउने छिन्, तर तिम्री छोरीको जीवन दुखी हुनेछ, उनको धेरै जनासँग असफल प्रेम सम्बन्ध हुनेछ, र उनको बैवाहिक जीवन पनि दुखी हुनेछ र अल्पायु मै मृत्यु हुनेछ।”

भनिन्छ, उनी सानी छँदाखेरी नै उनको मुटुमा प्वाल छ भन्ने कुरा चिकित्सकले पत्ता लगाएका थिए जुन कुरा उनका पितालाई थाहा थियो तर पिताले यो कुरा कहिले पनि भनेनन्। १९५० मा जब मधुबालालाई आफू बिरामी भएको महसुश भयो र चिकित्सकसँग संपर्क राखिन् अनि मात्र उनी स्वयंलाई थाहा भयो कि उनको मुटुमा प्वाल रहेछ। उनले यो कुरा कसैलाई भनिनन्। चलचित्र जगतमा पनि उनले यो कुरा रहस्य मै राखिन्। १९५४ मा मद्रासमा उनको ‘बहुत दिन हुए” नामक चलचित्रको सुटिङ भैरहेको बेला उनी मन्चमा नाचीरहेकी थिइन्। नाच्दा–नाच्दै उनको मुखबाट रगत निस्कियो, उनी सिथिल भइन् र ढलिन्। त्यसपछि मात्र उनको बिमारी सार्वजनिक भएको हो।

केही समय आराम गरी उनले फेरि आफ्नो अभिनय यात्रालाई निरन्तरता दिने प्रयत्न गरिन्। अब त उनीसँग सम्पत्तिको पनि कमी थिएन, उनले चाहेको भए आफ्नो अभिनय यात्रालाई किनारा दिन सक्थिन्। तर उनी अभिनय र कलाको Ôेत्रमा यति डुबेकी थिइन्, यति समर्पित थिइन्, उनले आफ्नो बिमारी र स्वास्थको परवाह नै गरिनन्। उनी जहिले पनि हाँसिरहन्थिन्। उनको मुहारमा उदासी कहिले पनि देखिएन। उनले आफ्नो पीडालाई दबाएर दुनियाँलाई मनोरन्जन दिइन्। उनका सहकर्मी र ठूला कलाकार देव आनन्दले एउटा अन्तर्वातामा भनेका थिए– हामीले कहिले पनि उनलाई दुखी र उदास देखेनौ। उनी जहिले पनि हाँसिरहेकी, नाचीरहेकी हुन्थिन्। उनमा शक्ति थियो, जोश थियो, जाँगर थियो। तर यति हुँदाहुँदै पनि अचानक एक दिन उनी सिथिल भइन्।


‘मुगल ए आजम” को सुटिङ हुँदा उनले फलामको सिक्रीमा जकडिनु परेको दृश्य दिनु परेको थियो त्यो पनि निकै लामो समय सम्म। उनको बिमारी झन्–झन् गम्भिर हुँदै गएको थियो।

तर पनि उनी रोकिइनन्, आफ्नो अभिनय यात्रामा लागि रहिन्। उनको थकित अनुहार र बिरामी जस्तो मुखडाले त्यो चलचित्रमा उनको अभिनयलाई झन् जीवन्त बनायो।

१९५० को प्रारम्भमा उनी यति प्रसिद्ध अभिनेत्री भइन् कि उनको नाम हलिउडमा समेत चर्चित भयो। उनलाई हलिउडकी प्रसिद्ध अभिनेत्री मार्लिन मुनर्रोसँग तुलना गर्न थालियो।

यसै बखत हलिउडका बिख्यात फिल्म निर्देशक Frank Capra aDa बम्बै आए। उनले मधुबालालाई भेटी आफ्नो फिल्मको लागि प्रस्ताव राख्ने योजना बनाए। तर दुःखको कुरा दुहुनो गाई आफ्नी छोरी मधुबालालाई गुमाउने डर उनका पिता अतुल्ला खानलाई भयो र Èड्यन्त्र गरी उनले छोरीलाई ती निर्देशकसँग भेट्न नै दिएनन्। यसरी नारीको प्रगतिमा पुरुÈ नै बाधक हुन सक्छन् भन्ने नराम्रो उदाहरण्ँ दिँदै मधुबालाको क्यारियरमा बाधक बने उनकै पिता।


१९५८ मा चलचित्र ‘चल्ती का नाम गाडी’ मा उनले सुप्रसिद्ध गायक एवं अभिनेता किशोर कुमारसँग काम गर्ने मौका पाए पश्चात उनीसँग बिहेको कुरा चल्न थाल्यो।

किशोर कुमार एक ठूला गायक र अभिनेता हुन्, उनी धेरै सफल कलाकार हुन्। तर त्यतिखेर उनका केही फिल्महरू त्यति चलेनन्, उनका गीतहरूले पनि त्यस बखत त्यति बजार लिन सकेनन्। उनलाई आर्थिक संकट आइपरेको थियो। यस्तो अवस्थामा थुप्रै धनराशी आर्जन गरेकी मधुबाला जस्ती सुन्दर र सफल ब्यक्तित्वलाई आफ्नी बनाउन पाउनु पनि उनको लागि एउटा ठूलो चिट्ठा पर्नु जत्तिकै थियो। मधुबालाले पनि आफ्नो जीवनमा स्थायित्व खोजीरहेकी थिइन्। किशोर कुमार जस्ता प्रसिद्ध कलाकार उनको नजरमा एक असल जीवन साथी हुन सक्थे। यसरी १९६० मा यी दुई कलाकार बिवाहको बन्धनमा बाँधिए। मधुबाला मुसलमान थिइन् भने किशोर कुमार हिन्दू। किशोरका आमाबाबु यो बिवाहको बिरोधमा थिए। त्यसैले यो कोर्ट म्यारिज थियो।

विवाहको तुµन्तै पछि मधुबालालाई मुटुको इलाज गर्न लण्डन लगियो। त्यतिखेर ओपन हर्ट सर्जरीको बिकास भैसकेको थिएन। चिकत्सकहरूले सल्यकृया गर्न अस्विकार गरे र उनलाई आफ्नो देश फर्कन अनि आराम गर्न सल्लाह दिए। ँतिमीले आराम गरेर बसेमा अझै एक बर्ष बाँच्नेदेऊ,” भने।

भारत फर्के पछि बम्बैको एउटा कुनामा किशोर कुमारले एउटा घर किनी दिए र मधुबालालाई त्यहीँ छाडिदिए। किशोर कुमारले आफ्नो स्वार्थको लागि उनीसँग बिहे गरे, ठिकै छ उनलाई पैसाको अभाव थियो र मधुबालालाई पनि एउटा जीवन साथी चाहिएको थियो। तर बिहे पछि उनले आफ्नी पत्नीलाई माया गरेनन्, एक्लै छाडि दिए, त्यो घरमा केवल एउटी नर्स र ड्राइभरको भरमा। उनी दुई महिनामा एक पटक श्रीमतीलाई भेट्न आउँथे। मलाई धेरै मन परेका गायक हुन् किशोर कुमार तर उनको यो निम्न स्तरको स्वार्थले के पुरुषहरू यस्तै हुन्छन् भन्ने नराम्रो प्रश्न खडा गरेको छ, उनीप्रतिको सम्मानमा ठेस पुर्‍याएको छ।

यसरी चिकित्सकले – ‘आराम गर्नु, आराम गर्‍यौ भने तिमी अझै एक बर्ष बाँच्नेछेऊ” भनेकी मधुबालाले कलाप्रतिको आफ्नो लगाव छाड्न सकिनन्। उनी १ बर्ष होइन चिकित्सकको भविष्यवाणीलाई असफल साबित गर्दै ९ बर्ष बाँचिन् । १९६६ मा उनको स्वास्थ्यमा अलिकति सुधार भएको देखिनासाथ उनले फेरि चलचित्रमा अभिनय गर्ने साहस गरिन्। राज कपुरसँगको चालक नामक चलचित्रमा अभिनय गर्ने निर्णय गरिन् तर दुःखको कुरा उनी पहिलो दिन नै सिथिल भएर ढलिन्।

भगवानले सबैलाई यस्तो अदम्य साहस र कलाप्रतिको अपूर्व लगाव देउन्– ‘अब अभिनय गर्न सकिन त के भयो? म चलचित्र निर्देशन गर्छु” भनेर उनी अझै पनि लागि परिन्। १९६९ मा ‘फर्ज और आशिक” नामक चलचित्रको निर्देशनमा लागिन्। तर दुःखको कुरा चलचित्र पुरा हुन सकेन, उनलाई बिमारीले झन्–झन् च्याप्दै ल्यायो। उनी सिथिल हुँदै गइन् र आफू यो धर्तीमा आएकै महिना फरवरी मै उनले २३ फरवरी १९६९ मा सदाका लागि आँखा चिम्लिन्। उनको मृत्यु हुनु एक दिन अघि उनले सन्देश पठाई उनका पूर्व र लामो समय सम्मका प्रेमी दिलिप कुमारसँग केवल एक पटक भेट्ने ईच्छा प्रकट गरेकी थिइन् तर कति ठूलो कठोरपन हो यो दिलिप कुमारको, उनले मृत्यु सैयामा छटपटाइरहेकी उनकी पुर्व प्रेमिकालाई एक दर्शन दिन समेत अस्विकार गरे।

उनको सुन्दर शरीरलाई माटोले खाएको युग भयो। उनको अस्थिपञ्जर मक्किएको कति दशक बिती सक्यो तर उनी कला र अभिनयको जगतमा आज पनि जिउँदै छिन्।

हिन्दी सिने जगतकी आज सम्मकी सबैभन्दा सुन्दरी मानिएकी अभिनेत्री हुन् उनी। पत्र–पत्रिकामा, ईन्टरनेटमा, रेडियो, टिभीमा सबैभन्दा चर्चा गरिएकी अभिनेत्री हुन उनी। जब सम्म यो धर्तीमा कला र अभिनयको अस्तित्व रहनेछ तब सम्म उनको नाम अमिट रहनेछ।

http://www.youtube.com/watch?v=MwhIW-K3QMA

स्रोतहरु
1. The Mystery and Mystique of Madhubala – Mohan Deep
2. Love Affairs of Actress Madhubala – Dr. Narasinha Kamath

27 Comments

  1. एकदमै रोचक अत्यन्तै राम्रो लेख! लेखकलाई धन्यवाद, मधुबाला मलाई पनि साहै मन पर्ने कलाकार हुन्, मधुबालालाइ सम्झिन पाए त्यसकोलागि धन्यबाद !

  2. अत्यन्त खोज पूर्ण लेख ! वास्तबमा मधुबाला अत्यन्त सुन्दर थिइन् , रुपवती . उनको सुन्दरताको तुलना हिन्दि सिने जगतमा अझै पनि कसैसित हुनसक्छ जस्तो मलाइ लाग्दैन . केटाकेटीमा नै पनि म उनको सुन्दरता देखि मोहित भएकै थिएँ . मुगल ए आजम को जब प्यार किया तो क्या डरना क्या…गीत सम्झिन्छु . वाह मधुबाला तिम्रो रुप क्या कहना . यस्ती अद्भुत सौन्दर्यकी बालालाई जन समक्ष ल्याउने तपाइंको काम पनि अद्भुत नै बनेको छ . हार्दिक बधाई !!

  3. बल्ल बल्ल पढेर सकियो तर जत्ति पढे नि अल्छी भने पटक्कै नलाग्ने यहाँ पढेको मध्य मलाई मानिस त्यत्ति मथिल्लो क्लासमा पुगेका लोग्ने मानिस बुझ्ने मानिसहरु पनि स्वार्थी भएको पाएँ, जे कुरामा पनि संघर्ष गर्दा नसोचेको अवसरहरु प्राप्त हुदो रहेछ, वास्तवमा उनि बिस्व स्तरकै ख्याती प्राप्त कलाकार हुन् सापकोटा जी रोचक कारी लेखको लागि धन्यबाद !

  4. राम्रो लेख! मधुबाला को प्रेमीहरु को बारेमा थाहा पाइयो, धेरै त मरिसके तर एउटा जियुँदो प्रेमी पनि अझै रहेछ- त्यो हो लेखक ध्रुव के. सापकोटा !!! तपाई मधुबाला लाई कति मन पराउनु हुन्छ भन्ने लेख बाटै थाहा पाइयो !

    • संजय जी, धन्यबाद तपाईं को प्रतिक्रिया को लागि.

      यो शब्द को अर्थ विभिन्न ठाउं मा फरक फरक भेटेको थिएँ, एउटा अर्थ संजय जी ले भन्नु भएको पनि हो. मैले चन्हीं केहि वर्ष अघि इन्टरनेट मै मधुबाला=सुलोचना=सुनयना = राम्रो आँखा भएकी भन्ने भेटेको हुँ . मधुबाला = राम्रो आँखा भएकी बालिका भन्ने भेटेको हुँ. मधुबाला का आँखा राम्रो भएको ले नै उनलाई यो नाम दियियो भन्ने पढेको थिएँ. मैले यो लेख धेरै लेख हरु पढी लेखेको हुँ. सबै सिटे हरु मलाई याद छैन.
      तर यो लेख को आसय तिर फोकस गरे कसो होला? मैले यो लेख मधुबाला को अर्थ के हुन्छ भनेर लेखेको हैन, त्यतातिर किन जाने?

  5. निकै राम्रो लेख लेख्नु भयो तर मधुबाला को अर्थ “राम्रा आँखा भएकी” हुँदैन होला ?

  6. खै के लेख्नु प्रसंशाका सबै सब्दहरु कम होलान जस्तो लग्यो मलाई त ! मधुवाला को सुन्दरता को के कुरा गर्नु र ? एती धेरै मेहनत गरि उनको बारेमा लेख तयार पारेर हामी लै पढ्ने मौका दिनु भयो तेस्को लागि धेरै धेरै धन्यवाद छ लेखकलाई. साचै नै सराहनिये छ तपाई को लेखन सैली ।

  7. प्रशान्त चालिसे जी, प्रतिक्रिया को लागि धन्यबाद. कुनै पनि व्यक्ति को जीवनी संग सम्बन्धित कुरा हरु त मैले लेखे पनि विकिपीडिया ले लेखे पनि एउटी हुन्छा नि, कसरि अलग हुन्छा त? मैले आफ्नो सैली मा लेखेको मात्र हुन्, घटना त कसरि मैले परिबर्तन गर्न मिल्छा र ?

  8. धेरै मेहेनत गर्नु भएको रहेछ मधुबालाको बारेमा लेख लेख्न, लामो तथा रोमान्चक लेखको लागि धन्यबाद |

  9. अबसर राम्रो प्रेम कथा पनि उनको राम्रै रहेछ | एक दुइ जना भनेको त धेरै पो पछी लाग्या रहेछन | जाल हाल्दै माछा हेरी पकड्ने छोड्ने कला पनि राम्रै रहेछ | अन्तिम घडी सम्म फिल्ममा अभिनय गर्न सक्नु उनको खुबी हो | अहिले सम्मका राम्री नायिकामा उनको नाम आउँछ | संकलन गरेर राम्ररी पेश भएको छ, धन्यबाद |

  10. http://en.wikipedia.org/wiki/Madhubala
    माथिको लिंकमा रहेको सामग्रीसंग कति कुराहरु हुबहु मिल्न गएकोले आशिष लुइँटेलको याद आयो ! 🙂
    एस्लाई अन्यथा पनि न लिनु होला ! मधुबालालाइ सम्झिन पाए त्यसकोलागि धन्यबाद !

  11. उनको जन्मदीन अनी भ्यालेन्टाईनडे को अवसर पारेर मधुवालाको सबै पहलुमा प्रकाश पार्नु भएको लेख पढदा खुशी लाग्यो ।यस्तै यस्तै लेख हरुको आशा गर्दछौ ।

  12. दुनियालाई प्रेम प्रस्ताब राख्दै हिड्ने नारीलाई असल चरित्रको देख्नु हुन्छा भने तपैन्को चरित्र चै पक्कै ठिक छैन /त्येसको ठाउमा तापैन्संगा सम्बन्धित नारि भएको भए क हुन्थ्यो ?निर्दोष हुन्थ्यो?

    • सुरेश जी, मैले लेखेको छु नि उनि त्यति खेर कलिली र ज्ञान नभएकी नारी थिन, भनेर. उनको चरित्र खराब होइन, उनले एकै पटक मा एक जना भन्दा बढी संग सम्बन्ध राखेको कहीं भेटिन्न
      उनका राम्रा कुरा हरु लाइ फोकस गरुन न

  13. लेखनशैली राम्रो छ / मधुबालाको बारेमा केहि थप जान्ने मौका मिल्यो /
    उनि कुनै प्रेरणा होइन, प्रेमको पुजारी पनि होइन रहिछिन / उनि त केवल सौन्दर्यको जाल आँखाले फ्याकेर कमसल शिकारहरू छेदन गर्ने प्रेमतिर पो रहेछिन !!
    जे होस् जति बांचेछिन; जीवनको भरपूर मज्जा लुटेरै बाचेछिन !!!

  14. भ्यालेन्टाइन को दिन मा एकदम राम्रो लेख पस्किनु भयो ध्रुब जी ले..जुन चिज को पनि टाइम हुन्छ. आज को दिन को लागि यो लेख ठिक्क मिल्यो..तपाइँ पनि मुमताज को रशिलो लट्ठ परेको आँखा को आशिक हुनु पर्छ. ध्न्येबाद राम्रो बायो ग्राफी पढ्ने मौका पाएकोमा.

  15. इन्डिया मा मधुबाला ,राजेन्द्र कुमार लाइ हेर्दा एस्तो लाग्थ्यो ,लब गर्न नै जन्मेका हुन् | पसिना आउने गरि लब गर्थे |
    हाम्रो तिर पनि लब गर्छन ,तर क्या नराम्रो सित भन्ने चलन छ ,फलानो सग सल्की |
    पोइला गइ |
    सिमाना पारि चै प्यार हुन्छ ,पाकिस्तानी हावा मिसिए पछी त्यो मोहब्बत हुन्छ ,फिल्म को मध्ये तिर मदिसे हिरो ,हिरोइन क्वा क्वा रुन थाल्छन अनि मोहब्बत बाट त्यो मोहब्बते हुन्छ |गरिब ,रिक्सावाला ,मध्यम बर्गीय नेपालि हरु चै पैसा पनि गुमाए दिन भरि दिमाग पनि खराब | तेसैले एस्तो फिल्म नेपाल मा ब्याण्ड नै गरिदिए कसो होला ?
    ३ घण्टा पुरा लामो समय लाग्ने ,बारी खन्ने ले १ कट्ठा खनी सक्छ त्यो ट्याम मा |
    देश ,परिस्थिति र जनता सुहाउदो ”चाइनिज कम्फु हेरौ ,इन्ग्लिश याक्सन ,लब स्टोरी ,
    हेरौ ‘ १ घन्टा हुन्छ ,ठिकै हुन्छ | लब स्टोरी हेर्ने बेला बरु केटा केटीलाई टफी दिएर ,कफी बनाएर ल्या भन्नु होला र ढोका येसो ढपकाउनु होला |आफ्नो आफ्नो च्वाइस |

  16. एदी उसको पिता दिलिप कुमार मुसलमान संग बिहे गर्न रोक्छा भने हिन्दु किशोरे कुमार संग बिहे गर्न नरोक्नु को कारण के हो? एसको कारण के हो

  17. Thank you dhruba ji,
    I heard about madhubala but didn’t know her real life love story(heart breaking story) though this article was long but i enjoy. she’s really strong & beautiful woman.
    THUMB UP !!!

  18. सारै राम्रो लेख … लेखक लाई धन्यवाद, मधुबाला मलाई पनि साहै मन पर्ने कलाकार हुन्. उनको बारे मा येति धेरै जान्न पाउदा रमाइलो लग्यो.

  19. मेरो आखाबाट आशु नै आयो. अति राम्रो लेखा छ. लेखकलाई धन्यबात!!
    साथै मानिस प्रेम जस्तो पवित्र चिजलाइ पनि आफ्नो स्वर्थ पुरा गर्न प्रायोग गर्छ भने कुरा यो लेखाबाट स्प्रष्ट हुन्छा.

  20. आज प्रेम दिवश को दिन यो जिबनी पढेर निकै दुख लाग्यो धेरै राम्रा मान्छेको जिबन मा पनि येस्ता येस्ता मोड आउदा रहेछन

  21. उत्कृष्ट कलाकार

    कलालाई कुनै देश वा क्षेत्रसंग मात्र सीमित राख्नु हुँदैन। प्रख्यात कला र कलाकार विश्वकै सम्पत्ति हुन। यो मान्यतामाथि विश्वास राख्दै के भन्न सकिन्छ भने मधुवाला विश्वस्तर की कलाकार हुन।
    धेरै रोचक सामाग्री राखी दिनु भएकोमा हार्दिक धन्यवाद।

    वि अधिकारी

  22. अत्यन्तै राम्रो लेख! मधुवाला सांचिकै नै सार्है राम्री थिएँ रे! तर प्राय सबै विख्यात रंगकर्मी को एकदमै असामयिक निधन हुने गरेको छ, किन हो कुन्नि ?

  23. उफ्फ़ बल्ल बल्ल पढेर सकियो..लामो तर एकदमै रोचक रहेछ …

Comments are closed.