मृगौला र मुटु दाजुभाइ – एउटाको चोट अर्कालाई

आज ८ मार्च। यो दिनलाई विश्व मृगौला दिवसको रुपमा मनाइन्छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा.सञ्जीवकुमार शर्माले यही सन्दर्भमा एउटा चेतनामूलक ब्लग लेखेका छन्।

हामीले हाम्रो मृगौला जंचाउनै पर्ने ६ वटा मुख्य कारणहरु के के हुन्?
१ हाम्रो परिवारका कुनै सदस्यमा मृगौला रोग छ भने
२ हामीमा मधुमेह छ भने
३ हामीमा उच्च रक्तचाप, उच्च कोलेष्टरल र मुटुरोग छ भने
४ हामीमा मोटोपन छ भने
५ हाम्रो उमेर ६० वर्षमाथि छ भने
६ हामी धूमपान वा मद्यपान गर्छौं भने


मुटु र मृगौलाको अन्तरसम्बन्ध हुन्छ
हामीलाई हाम्रो मृगौला खराब भएका बेला हाम्रो मुटु पनि जचाउनु पर्छ कि, भन्ने कहिल्यै नलाग्न सक्छ। वा मुटुको रोग हामीमा छ भने हामीलाई मृगौला पनि जचाउनु पर्छ कि, भन्ने पनि कहिल्यै नलाग्न सक्छ। तर मृगौला वा मुटु कुनै एकको सिकायत हुने सबैले परीक्षण गराउंदा दुवैको परीक्षण गराएको राम्रो हो।

किन?

किनभने यी दुई मध्ये कुनै एकमा लाग्ने रोगले अर्कालाई पनि क्षति पुर्‍याउने गर्छ। वास्तवमा, धेरै चिकित्सकहरु मुटु र मृगौलालाई शरीरका दुई बेग्ला बेग्लै अङ्ग भन्दा पनि एक आपसमा अन्तरसम्बन्ध भएको एउटा शारीरिक प्रणाली मान्दछन्।

मुटु र मृगौला दुवै रोग हुनेहरुमा कुनै एक रोग हुनेको भन्दा २० गुणा बढी जोखिम मुटुको समस्याले मृत्युहुने खतरा हुन्छ। अनुसन्धानले के देखाएको छ भने मृगौलाले काम गर्न छाडेका बिमारीहरुको मुटुकै कारणले मृत्युहुने जोखिम ६२ प्रतिशत बढी हुन्छ। मृगौला रोगको सुरुवाती अवस्थामा नै मुटुरोग हुने खतरा भएकाले मृगौलाको क्षमतामा थोरैमात्र पनि कमी आयो भने मुटु बचाउने प्रयास गरिहाल्नु पर्दछ।

मुटु र मृगौला कहिल्यै सुत्दैनन्
हामी कडा परिश्रम गरेका दिन थकाई मार्छौ तर हाम्रो मुटुले कहिल्यै थकाई मार्न पाउदैन। मुटुको काम भनेको हरेक क्षण हरेक दिन अक्सिजनयुक्त रगतलाई फोक्सोबाट पम्प गरेर शरीरका प्रत्येक कोसिकासम्म पुर्‍याउनु हो। हाम्रो मुटु एक मिनेटमा औसत ७५ पटक धड्कियो भने वर्षमा झण्डै ३ करोड ९४ लाख पटक यो धड्किन्छ। मुटुले हरेक धडकनमा मृगौलामा रगत छान्नका लागि धकेल्छ। हामीसंग भएका हाम्रा मुठी जत्रा दुइटा मृगौलाले सिर्फ दुई लिटर पिसाब बनाउनका लागि हरेक दिन २०० (दुईसय) लिटर रगतको प्रशोधन गर्नुपर्छ। मृगौलालाई नियमित रुपमा चालु राख्न एक निश्चित चापमा रगतको निरन्तर प्रवाह आवश्यक हुन्छ। रगतको वा चापको अति न्यूनता भयो भने मृगौला अकस्मात फेल हुनसक्छ। र, अति नै उच्च रगत वा चाप भयो भने पनि त्यसले मृगौलाको दीर्घरोग वा स्थायी सिकायत गराउनसक्छ।

उच्च रक्तचापका खराब पक्षहरु
स्वस्थ मृगौलाले मुटुसंगै उच्च रक्तचाप नियन्त्रणमा काम गर्छन। कुनै पनि समय यदि हाम्रो रक्तचाप तल झर्‍यो भने मृगौलाले रेनिन (renin) नाम गरेको एउटा रसायन उत्पादन गर्छ र त्यसलाई रगतमा पठाउछ। रेनिनले अर्को एउटा एन्जियोटेन्सिन (angiotensin) नाम गरेको रसायन उत्पादन गर्न कलेजोलाई सूचना दिन्छ जसले रक्तकोसिका हरुलाई खुम्चिएर रक्तचाप बढाउन अह्राउदछ। यो रेनिन–एन्जियोटेन्सिन–प्रणाली (RAS) हाम्रो मुटु र मृगौलामा चलिरहेको हुन्छ। यो RAS अतिधेरै सक्रिय भयो भने हाम्रो मृगौलामा समस्या देखापर्छ। कोसिकाहरु कि त अति चाडो कि अति ढिलो बढ्न थाल्छन, पोल्न थाल्छ, धमनी कडाहुन थाल्छ र रगत जम्न सुरु गर्छ।

नेपालका सन्दर्भमा भन्ने हो भने उच्च रक्तचाप आम समस्या हो र जसले मुटु तथा मृगौला दुवैलाई क्षति पुर्‍याउन सक्छ। उच्च रक्तचापले हाम्रा रक्त नलिकाहरुमा साना साना दरार ल्याइदिन्छ। चिरिएका ती धर्काका दागहरुले रक्त नलिकाको पर्खाललाई कडा बनाइदिन्छन्। यसो भएपछि ती बिग्रिएका नलिकाहरुबाट रगत पम्प (प्रवाह) गर्न मुटुलाई बढी खट्नुपर्ने हुन्छ। साथसाथै बिग्रिएका नलिकाहरुबाट अरु अ¨हरुलाई पुग्नेगरी रगत प्रवाह नहुन पनि सक्छ जसले गर्दा मुटु र कृगौला दुवै फेल हुने खतरा बढ्छ।

मुटु र मृगौला समस्याका रगत सम्बन्धी अन्य जोखिमहरु
१. मधुमेह,

२. रगतमा उच्च कोलेष्टरल– एउटा लस्सायुक्त बोसो जसले धमनीलाई थुन्छ र रगत ढिक्का पार्छ अनि मुटु र मृगौलामा क्षति पुग्छ,

३. जलन– अन्य कारणबाट इन्फेक्सन हुंदा वा घाइते हुंदा पनि हाम्रो शरीर सुनिन्छ त्यसले रक्त नलिकाहरुमा नोक्सान पुर्‍याउंछ,

४. रक्त नलिकामा क्याल्सियम जम्नु– हाम्रो रगतमा जब मृगौलाले क्याल्सियम र फस्फरसको सन्तुलित प्रवाह गर्न सक्तैन त्यतिबेला क्याल्सियमको ढुङ्गा जस्तो स्फटिक बन्न पुग्छ,

मानव शरीर अति नै जटिल छ, र अहिले पनि चिकित्सकहरु मानिसको मृगौला र मुटुले किन एक अर्कालाई यसरी असर गर्छन् भनेर गहिरो अध्ययनमा जुटेका छन्।

हामी के गर्न सक्छौं?
हाम्रो मुटु र मृगौलालाई स्वस्थ राख्न जति सकिन्छ हामीले शारीरिक काम गर्नुपर्छ। हाम्रो शरीरको भित्री सन्तुलन कायम राख्न पनि आफूले जे सकिन्छ त्यो काम आफैं गरेको राम्रो हो।

मृगौलाको मुख्य कार्य भनेको नै हाम्रो शरीर भित्रको वातावरणलाई एकनास राख्न मद्दत गर्नु हो। मृगौला त संवेदन यन्त्र जस्तो हुन्छ। कुनै पनि बेला रगगतमा पानीको मात्रा कमबेसी भएको, नुन वा अरु रसायनहरु सन्तुलनमा भए नभएको बारे मृगौलाले सूचित गर्छ। र, स्वस्थ मृगौलाले त यी कुराको पूर्ण सन्तुलनको प्रत्याभूत नै गर्छ। जब मृगौलाले काम गर्न छोड्छ हाम्रो शरीरको यो प्रणाली पनि काम गर्न नसक्ने हुन्छ। हामीलाई कारण थाह नहुन सक्छ कि किन हाम्रो मुटुलाई यसले असर गर्‍यो? भनेर, तर हामी यो कुरा चैं थाह पाउंछौ कि मुटुमा असर परेको छ। हामीले गर्नसक्ने केही कुराहरु तल सुझाइएको छ।

केही सुझावहरु
१. मधुमेह नियन्त्रण गरौं– मधुमेहका औषधीहरुले मधुमेह नियन्त्रण गर्न सकिन्छ। नियन्त्रित मधुमेहबाट मुटु र मृगौला बचाउन सकिन्छ।

२. रक्तचाप नियन्त्रण गरौं– रक्तचापका दवाई, खाना र व्यायामबाट रक्त नलिका भित्रको तनाव वा रक्तचाप नियन्त्रण गर्न सकिन्छ। यसले हाम्रो मुटु र मृगौला स्वस्थ राख्न मद्दत पुग्छ। उच्च रक्तचापका विमारीहरुले कम नुन भएको खाना खाएमा, चिकित्सकले भनेको रक्तचाप कायम राख्न सघाउ पुग्छ।

३. मृगौलाको छान्ने दर (glomerular filtration rate-GFR) बारे समय समयमा जानकारी लिऔं– हाम्रो मृगौलाले कस्तो काम गर्दैछ भन्ने कुरा अनुमान गर्न हाम्रो उमेर, लिङ्ग, वर्ण र रगतमा बग्ने क्रिएटिनका आधारमा निकालिने जिएफआर हेर्दै गर्नुपर्छ। जीएफआरले मृगौलाको दीर्घरोगको ५ अवस्थामध्ये कुन अवस्थामा छ भनेर पत्ता लगाउंछ। र, समय मै यस्तो कुरा थाह पाइयो भने आफ्ना मृगौला र मुटु दुवै जोगाउने उपचार गर्न सकिन्छ। धेरै केसहरुमा सुरुवाती अवस्थामा नै मृगौला रोग पत्ता लाग्यो भने मृगौला फेल हुनबाट बचाउन वा रोकथाम गर्न सकिन्छ।

४. फस्फरसलाई नियन्त्रणमा राखौं– यदि हामीलाई मृगौला रोग छ भने चिकित्सकले पक्कै पनि कुनै औषधी खाना वा खाजासंग खानु भनेर दिएको हुनसक्छ। यस्ता औषधीले चुम्बकले फलाम टांसे जस्तै फस्फरसमा टांसिएर हाम्रो शरीरबाट फस्फरस बाहिर निकाल्छन् जस्ले गर्दा शरीरमा क्याल्सियम र फस्फरसको सन्तुलन कायम हुन जान्छ। किनभने फस्फरस बढी भयो भने शरीर भित्रका कमजोर रक्त नलिकाहरुमा क्याल्सियम जम्न थाल्छ। कवच लिएर यसता कुराबाट बच्न सकिन्छ।

५. रक्तअल्पता जचाऔं मुटु र मृगौला बचाऔं
अधिकांश मानिसहरु जसलाई मृगौलाको अलिकति पनि समस्या हुन्छ उनीहरुमा, रगतको सामान्य जांचबाट नै थाह पाउन सकिने, रक्तअल्पता भएको पाइएको छ। रक्तअल्पताका सामान्य लक्षणहरु यस्ता हुनेगर्छन्ः थकाई लाग्नु, कमजोरी महसुस गर्नु, जुनसुकै बेला जाडोलाग्नु, अनुहार, ओठ र नङ्गहरु फुङ्ग उडेको देखिनु आदि। यी लक्षणहरु हामीलाई महसुस नै नहुनेगरी एकदमै ढिलो देखापर्छन्। यदि हामीमा रक्तअल्पता छ र उपचार तुरुन्तै गरायौं भने त्यसले मुटु र मृगौला दुवैलाई तागत दिन्छ।

14 Comments

  1. र टायम मा पिसाब फाल्नु पनि सागर जी है…….आसद्दै राम्रो लेख

  2. this is very useful message posted here. Thanks a lot to mysansar!. I will mail this to many frends and suggest them to watch mysansar regularly. Thank mysansar! wish you all the best and hope for such materials.

  3. अस्पतालमा जंचाउना जाँदा डाक्टरले रोगको बारे शुरु मै राम्ररी बताई दिएको भए मृगौला रोग को कारण आज मैले मेरी आमालाई यति चांडै गुमाउनु पर्ने थिएन /

  4. यो पढेर मलाई धेरै खुशी लाग्यो, आशा राख्दछु कि भबिस्यमा
    पनि यसरीनै अझै धेरै स्वस्थ सम्बन्धि कुरा हरु पढ्न पाउनेछु !

  5. दलाइ लामाले भनेका छन् ‘- हामी स्वास्थ्यको ख्याल नै नगरी पैसाको पछी लाग्छौ, जब बिमारी पर्छौ तब कमाएको पैसा खर्च गरेर पुन: पहिले झैँ स्वस्थ बन्न खोज्छौ /”

    • पंचेंन लामा ले भनेका छन् ,”स्वस्थ रहन दिन मा एक घण्टा जति ध्यान आबश्यक छ ”

  6. प्रा.डा.सञ्जीवकुमार शर्मालाई मुरी मुरी साधुबाद यस्तो जिबनोपयोगी लेखको लागि | अनि मेरो आग्रह ती सम्पूर्ण छोरा छोरी नाती नातिनिहरुलाई जसका बा आमा बाजे बज्यै अझै यस संसारमा तपाईहरु संगै छन् | समय छदै, कृपया उहाहरुको Thorough Check Up अबश्य गराउनुस र पितृ रीनको केहि भाग भए पनि तिर्न सफल हुनुस…के थाहा जो आज तपाई संग हुनुहुन्छ तपाइको सानो लापरबाहीले तपाईलाई कुनै मोकै नदीई यो संसार बाट बिदा हुन सक्नु हुन्छ | यो अभागीलाई यस्तै परेको छ …अरु कसैलाई पनि नपरोस !!!!!

  7. युरिक एसिड र मृगौला सम्बन्ध छ कि छैन होला?

    • हामीलाई कुनै पनि स्वास्थ्य समस्या नहुदा पनि मृगौला मा समस्या हुनु सक्छ तेसैले कम्ति मा वर्ष को एक पटक मृगौला जांच गराउनै पर्दछ

  8. महतोपूर्ण, ज्ञानबर्दक लेख !!लेखक लै मुरी मुरी धन्यवाद !!!

  9. प्रा.डा.संजिबकुमार शर्मा ज्यु ,यहालाई मुरी मुरी धन्यबाद / यहाले मृगौला रोग र मुटु रोग बाट सुरक्षित हुने उपाय बताई सबै पाठक हरुलाई सचेत गराउने लेख पस्किनु भएकोमा / हिजो आज चाहे पहाडमा जन्मी पहाडमै जिबन यापन गरेका हुन् बा शहरी क्षेत्र मा / प्राय धेरै जसोमा ,जो दिनदिनै ओकली ओराली गर्नेहरु तथा कडा परिश्रमी हरुमा समेत उच्च रक्त चाप हुने गरेको पाएकोछु / साररिक परिश्रम गर्ने हरुमा उच्च रक्त चाप हुन् नपर्ने हैन र ? मुटु र मृगौला दाजु भाई हुन् भने ! , मधुमेह र उच्च रक्त चाप को सम्बन्ध के त ? अनि उच्च कोलेस्टोरल ,धुमपान ,मोटोपन हरु यिनै हुन् मुटुको रोग निम्त्याउने कारक तत्तो ? तपैले पस्कनु भएको रोग बाट निमिट्यान्न भई सुरक्षित हुने उपाय आजिबन औषदी सेबन र मृत्यु बाहेक अरु उपाय छैन ?

  10. अत्यन्त राम्रो लेख!!!! यस्ता अन्य सामग्री हरुको पनि अपेक्षा गर्दछु!

  11. धन्यबाद! प्रा.डा.सञ्जीवकुमार शर्मा ज्यु,
    निकै उपयोगी ब्लग लेखेर हामीलाई सुसुचित गर्नु भयकोमा !

  12. आहा लामो समय पछी कसैलाई गाली गर्ने नपर्ने दामी जानकारीमुलक सामग्री आयो . हो साथी हरु , सकेस्म्मन पानी धेरै खाने गर्नु राम्रो हुन्छ मृगौला को लागि .

Comments are closed.