कसैको पिछलग्गु भएर नहिडौं न

-उदास अनन्त-

हामी नेपाली साँच्चिकै अभागी रहेछौं। मैले यो वाक्य कुनै क्षणिक आक्रोशले या अर्थहीन वेदनाले प्रेरित भएर बोलेको होइन। इतिहासदेखि वर्तमानसम्मको अर्थपूर्ण अध्ययनले मलाई यो अभिव्यक्त गर्न बाध्य तुल्यायो।राष्ट्रिय अस्तित्वका निमित्त पूर्खाहरुले गरेका बलिदानी सम्झिँदा जति छाती फुल्दछ,त्योभन्दा धेरै,आजको यो गंजागोल परिस्थिति देख्दा र भोग्दा खुम्चिरहेको छ। भनिन्छ नि,विनाश नभई विकास हुँदैन,क्रान्ति नभई समुन्नति पाउन सकिन्न। यदि यो कथनलाई सत्य मान्ने हो भने सगरमाथाको चुचुरो जस्तै नेपालले पनि प्रगतिको शिखर चुम्ने थियो,किनकि हामीलाई लाग्दैन कि नेपालको इतिहासमा राता रङ्गले इंकित भएका वीरतापूर्ण कहानीको कमी छ। यदि त्यसो हो भने,हामी चुक्यौँ कहाँ त?प्रश्न झटारो बनी हामीअघि तेर्सिइरहेको छ।

हामी जनता भेडा भयौँ। गोठाला बनेका राजनीतिज्ञहरुले हाम्रो रौंहरु काटे,कठ्यांग्रियौं हामी,तर केही बोलेनौँ,केनकि हामी भेडा थियौँ।हामीलाई उनीहरुले गोरू बनाए,पिटीपिटी खेत जोताए,हलीहरु समयसमयमा फेरिए,तर लठ्ठीको बजारिँदो चोट उही यो,निर्मम,निर्दयी।हाम्रै जोताईबाट तिनीहरुले अन्न फलाए,भुँडी भरे, हामीलाई पराल दिए त्यो पनि आधा पेट।हामी गोरुहरु आफू-आफूमै जुध्यौं,बुद्दिले हैन बलले, त्यही भएर हामी पशु बनाईयौं,भयौँ।ज्यानले सबै समान भएपनि व्यवहारमा देखिएको यो अव्यवहारिक पशुत्व अनि मानवत्वको असमानता कहिलेसम्म?के हाम्रो मस्तिष्कको घैँटो जमिनमुनि गाडिएको छ र त्यही भएर नै त्यहाँ कहिल्यै घाम लाग्न सक्तैन।सम्पूर्ण विश्व प्रगतिको पथमा दौडिरहँदा,त्यत्तिकै रफ्तार बनाउन नसके तापनि हामी पाइला त राख्न सक्छौँ नि!कि अझै मानवरुपी पशु भएर बाँचिरहने?फैसला तपाइँकै हातमा छ।

यहाँ,म यो मान्दछु कि हामीलाई बारम्बार धोका भइरहेको छ। जनहितको खोल ओढेर व्यक्तिहितको भतेर लगाउनेहरुको कुनै कमी छैन नेपालमा। तर,धोकाप्राप्तिपश्चातको अविरल अश्रुवर्षा,चर्को छातीपिटाईको केही अर्थ छ र? मान्छे त्यो हो,जसले असल र खराब चीज छुट्याउँछ।बुद्दिमानी मान्छे त्यो हो जसले खराब चीज चटक्कै छाडेर असल चीजको प्राप्तिको लागि संघर्ष गर्छ।हामी के बन्ने?

नेपाली हामी आफ्ना हकहित र अधिकार प्राप्तिका निम्ति सचेत छैनौँ भनेर कोही कसैले भन्छ भने त्यो पक्का मूर्ख हो। सडकमा बसले कुखुराको चल्ला कुल्चेर मार्दा हजारौँ रुपियाँ क्षतिपूर्तिको रकम माग गरेर सडक जाम गर्ने हामी नेपाली नै हौँ।

हातहतियारसहित पक्राउ परेको अपराधीलाई मुक्त नगरेसम्म अनसन तोड्दिन भन्ने पनि हामी नेपाली नै हौँ। प्रेमिकाको निहुँमा क्याम्पसको एउटा विद्यार्थीले अर्कोको नाक पच्काइ दिँदा सडकैभरि टायर बालेर धुवाँ उडाउने अनि विद्यार्थी हकहितको भाषण ठोकिदिने विद्यार्थी र विद्यार्थी नेता पनि तपाईं हामीनै हो नि। अनि,यस्तो बेलामा,हामी नेपाली एकजुट भएर अगाडि बढौँ,राष्ट्रनिर्माण अनि विकासका पथमा लम्कौं,दलीय झण्डा फ्यालेर त्यसको सट्टा राष्ट्रिय झण्डा उचालौं भनेर कसैले भन्छ भने त्यसलाई कसले मूर्ख भन्दैन?व्यक्तिगत,जातिगत तथा सामाजिक र पार्टीगत स्वार्थबाट माथि उठेर राष्ट्रिय सम्वृद्धिको कामनासहित कसैले एकताको आह्वान गर्छ भने को मान्छे खित्का छोडेर हाँस्दैन,हाँसो उठ्छ पक्कै पनि,काखीको रौँ कन्याईरहन आवश्यक छैन।हाम्रा लक्ष्मीप्रसाद देवकोटालाई मान्छेले त्यसै पागल भनेका होइनन् रहेछ।

के सधैंभरि यसरी नै चल्छ त?जति नै वितृष्णाका वाणहरु छोडेपनि राष्ट्रप्रेम जीवितै हुन्छ किनकि परिवर्तन अकाट्य छ। नेपालमा एउटै कुराको खाँचो छ,त्यो हो राष्ट्रिय एकता। हामी कसैको पिछलग्गु भएर नहिडौं। अरुको मुख ताक्नुपर्दैन,जब हामी सबै नेपाली एक हुन्छौं,नेपाल बनाउन,अनि यसलाई सिंगार्नलाई संसारको कुनै तागतले रोक्न सक्दैन। हामी आफ्नो घर,आफ्नो समाज अनि हाम्रो राष्ट्रविकासका लागि सक्षम छौँ।यसका लागि हामीले आफ्नो क्षमता चिन्न सक्नुपर्दछ। योग्यताको सही मूल्यांकन र परिचालन सहित एकत्रित होऔं। इतिहासले हामीलाई नधिक्कारोस्। हामी नेपाली हाम्रो भाग्यरेखा कोर्न आफैं सक्षम छौँ। अत:परिवर्तनका लागि सम्पूर्ण नेपालीहरु एक होऔं।

25 Comments

  1. उदास अनन्तजीले राख्नु भएको समाज सपार्ने सैद्वान्तिक बाख्यामा सर्वकालिक सत्यता छ| यसमा बिमति जनाउने फाल्तु, फोस्सा र फटाह हुन्| स्थितिलाई generalize नगरी राष्ट्रिय एकताको लागि बुँदागत सुत्रहरु नै राख्नु पर्ने भैसक्यो| चार जात छतीस वर्णे आलाप त घांटीसम्मै आइसक्यो| प्रतिष्ठापित नेपाली भाषामै लेख लेखेर त्यही भाषालाई खस भाषा भनि बदख्वाइं गर्ने मंगोल नेपाली र त्यहि मंगोल नेपालीमा आएको सचेतनालाई मसान जागेको भन्ने नेपाली आर्यनहरुले आफ्ना पुराना मानसिकता नफेरुन्जेल राष्ट्रिय एकता टिका टालो वा खादा लगाएर आउने होइन क्यार! एकले अर्कोथरीलाई संधै लाटो ठान्ने र अर्कोले चैं एकलाई अनावश्यक रुपमा धुर्त देख्ने परिपाटीलाइ निमिट्यान्न पार्न सक्यौं भने रातारात खर्ल्याप खुर्लुपै एकता भैहाल्ने त होइन, तर एकताको जग बसाउँछ| पंचायतकालमा पनि देखावटी एकता थियो, जबर्जस्ति अंगाल्न लाएको थियो| अनि टोपी र दौरा-सुरुवाल एकताका प्रतिक हो भन्ने जस्ता हचुवा अभिव्यक्तिले एकतामा टेवा पुर्याउने नभई, एकता झन् भाँडिन्छ| टोपी र दौरा-सुरुवाल लगाउनेले लाउँदै गरुन, त्यसको महिमा किन पो गाउनु !!!! एकताको पर्यायवाची शब्द नै सह-अस्तित्व हो| एकल अस्तित्वमा एकता हुँदैन!

  2. सान्दर्भिक र मननिय छ तपाईंको लेख ।

  3. इ सबै समधान्कोलागी बलियो कानुन हुनपर्छाचाहे त्यो देशको सर्बसक्तिमान व्यक्ति होश या साधारण होश कानुनले बाध्न सक्नु पर्छ

  4. ईःसबै समस्याको समाधान गर्न बलियो कानुन चाहिन्छा
    कानुनसंग हरेक व्यक्ति डराउनु पर्छा

  5. -उदास अनन्त- जी याे समय सान्दर्भिक तपाईकाे लेखले मेराे बिचारकाे सतप्रतिशत प्रतिनीधित्व गर्याे । 
        मान्छे यथार्थलाई भन्दा जिउनुलाई आधार बनाएर साेच गर्छ ! यसले आफुलाई मात्रै हाेइन समाज र राष्ट्रलाईनै कातातिर लादैछ ? त्याे बुझाई भन्दा पक्षपाेषण गर्ने गलत बिचार अशल र कमशल नछुटाई अन्धाे भक्त भएर समर्थन मा लाग्ने, आफनाे साेच ठीक बेठीक के छ फर्केर नहर्ने चलन र नेताबाट धाेक्का हुने कुरा जिम्मेवार छ ।  
        राजनीति गर्ने, समाज सेवा गर्ने, आदि । तर उस्ले आफुलाई त्याग र बलिदानी सहित जीबन आहुती दिएरै लाग्छ, प्रयत्न गर्छ, कत्ति त सहिद पनि भएका छन ! यि सबै पक्षकाे जग सतही नै भएकाे कारण गलत ठाउमा बलिदानी पनि भएकाे छ । हामीले केही गर्नु भन्दा पहिले सामूहिक रूपमा कडा अध्ययन र तथ्यकाे धरातलबाट निष्कर्श लिएर काम गर्नु भन्दा, ब्यक्तिबादी सतही साेच र काँहा जादा आफनाे रक्षा र भबिष्य बन्छ । त्यसकाेलागि कस्काे पक्षपाेषण गर्दा आफनाे भबिष्य बन्छ । अलिकति चासाेले उचालेकै हुन्छ । मान्छेलाई । त्येसै कारण मान्छे भिडकाे पछाडी लाग्छ ! त्याँहा जसपाइन्छ । जीबन रक्षा हुन्छ । तर यथार्थ संग चै मेल खाँदैन । 
    जस्तै माआेबादी जनयुध्द यति ठूलाे भयाे १८१५८ जनाकाे ज्यान गयाे । शान्ति शुरक्षा र बिकास गरेर परिबर्तन हुनु पर्ने तर अहिले जातिय साम्प्रदायिक युध्द मैदान त हुदैन ? धार्मिक युध्द त हुदैन ? राष्ट्रियताकाे कुरा गर्ने ब्येकुफ साध्य गर्ने गलत माहाेल नेपाली जनताकाे टाऊकाेमा हाेमीयाे । अन्याेल सृजना भयाे । याे गलथ प्रबृर्ति काँहाबाट, कसरि छिर्याे ? त्याे शक्ति राष्ट्रिय भाबनामा माेड्न चाहान्छ कि चाहादैन ? त्यसलाई आमसचेत नेपाली जनताले चिर्न नसके नेपाली जनता मधेश र पहाड, जातकाे नाममा, धर्मकाे नाममा अनाहकमा गम्भीर दुर्घट्नाकाे डिलमा छाेडेकाे अबस्था छ । याे अबस्था ल्याउन वा कमजाेरी ल्याउन वा ठ्याक्कै चिनेर राेग पत्तालगाएर उपचार नगरे जातिय र क्षेत्रय संकिणताले र अन्धाे राष्ट्रबादले सचेत नेपाली जनतलाई समेत उडाउनेछ । बुझाइकाे अलग अलग धारतलले बैचारिक अनेक्ता र जड, आफनु भन्दा अरूकाे चिन्तनलाई नमान्ने ब्यबहारिक सत्य तथ्य संग बास्तबिक्तालाई आधार नबनाई हेर्ने र बुझ्ने अबैज्ञनिक आधारले समाज बिक्रितिकाे चरममा पुगेकाे छ । त्यसैले पेशेभर संगठन मन्त्रालयकाे सरूवा बडुवामा खुलेर मलिलाे र रूखाे भनेर नियमकाे पालना नगर्ने, अब बिधिकाे शासन कर्मचारि जस्ता बिभिन्न संगठनहरू स्वतह रूपमा चल्न खाेज्ने अराजक रूप देखिन थालिदै छ । समस्या चारैतिर छ । याे बेला सबैले राष्ट्रिय, सामाजिक र बिधिकाे शासन एकताकाेलागि नयाँ राष्ट्रनिर्माणमा लाग्न र प्रेरणा दिन लाग्नु पर्छ । तपाईकाे लेखजस्ता लेखहरू बिचारहरू अनेकरूपबाट समाजमा, जनतामा आईरहनु पर्छ ।जस्ले अहिलेकाे परिस्थितिमा आम मासलाई दिशाबाेध गर्न सक्ने छ । आशाछ यसबारे तपाईकाे कलम चलाई रहनु हुनेछ ।

    धन्यबाद !   

  6. कर्ण शाक्य जी को शोच किताब पढेको छैन ? यो जुन शोच र विचार यहाँ लेखिएको छ त्यो आजको नेपालको सन्दर्भमा १०० प्रतिसत सहि हो सबैको सोचाई त यस्तै थियो होला तर मजबुरीका नाम इन्दिरा गान्धी भनेको यहि हो.. आजको नेपालीले म नेपाली हु भन्न छोडिसक्यो दुक्ख को कुरा . श्री पशुपतिनाथले सब को कल्याण गरुन /.

  7. उदास अनन्त जी, तपाई को लेख एकदम नै येथार्थ परक छ तर बिडम्बना देस अनि जनता तपाइको संसार भन्दा धेरै पर धकेलिएको छ ,देस मा बाच्न को लागि मात्र भए पनि कांग्रेस,एमाले अनि मावोबादी हुनु परेको छ किन कि हामी सबै भन्दा बेसी पार्टी बाटै असुरखचित छौ/तपाई हामी पहिले नेपाली भएर बाचेका थियेउ तर समय ले हाम्रो पहिचान मा प्रश्न लगाइदियो अब हामी पार्टी भएर बाच्नु परेको छ/ आज संसार ले गरेको उन्नति हाम्रो गर्ब को बिसये भएको छ किन कि संसार ले गरेको बिकाश मा तल्ला घरे कान्छा को पसिना परस्त बगेको छ /हामी ले देस मा विकास पनि मागेनौ,हामी ले पाराल को बदला अन्न पनि मागेनौ किन?किन कि हामी मान्छे नै होइनौ/ तपाई ले अगाडी नै भन्नु भयो “हामी गोरु हौ,” नेता को लौरो मात्र खाएर अनि पाराल मै चित्त बुजाएर बाच्न हामी सिपालु छौ/हामी लाई सडक चाहिदैन,किन कि भिर बाटै हिड्न सकेकै छौ ,.बिजुली पनि चाहिदैन किन कि दियालो बालेर बस्न सकेकै छौ /अब भन्नुस संसार मा कोहि पनि एस्ता जनता बिरलै होलान जो सरकार साग केहि पनि नमागी बसेका होलान ति पकै पनि “बिर गोर्खाली” बाहेक को होला त?समय छ हामी सग,सिप साधन छ हामी सग आउनु होस् अब हाते मालो गरौ किन अरब को भुमि मा पसिना खर्चेर हामी सेतो हात्ती लाई मात्र पोस्ने अब पनि?

  8. |लेख सारै राम्रो लग्यो| साचै नै हामी अरुको पछी लग्गु भएर हिड़ना ले नै यस्तो भएको हो| अब सबै नेपाली एक भएर राष्ट्रिया एकता तिर लग्नु पर्छ|

  9. पकै पनी अनन्त को कुरा सन्दर्वीक छ् हामी जनता नै हो जस्ले जे वन्यो उसै को पछी लग्ने कुरा बुझ्नु न सुझ्नु होइेन….. हामी जनता भेडा भयौँ। गोठाला बनेका राजनीतिज्ञहरुले हाम्रो रौंहरु काटे,कठ्यांग्रियौं हामी,तर केही बोलेनौँ,केनकि हामी भेडा थियौँ।हामीलाई उनीहरुले गोरू बनाए,पिटीपिटी खेत जोताए,हलीहरु समयसमयमा फेरिए,तर लठ्ठीको बजारिँदो चोट उही यो,निर्मम,निर्दयी।हाम्रै जोताईबाट तिनीहरुले अन्न फलाए,भुँडी भरे, हामीलाई पराल दिए त्यो पनि आधा पेट।हामी गोरुहरु आफू-आफूमै जुध्यौं,बुद्दिले हैन बलले, त्यही भएर हामी पशु बनाईयौं,भयौँ।

  10. अरु के गर्छन थाहा छैन म आजैबाट सहीबाटोमा हिद्नेछु ,,,,

  11. हामी नेपाली मा मैले देखेको एउटा सारै ठुलो समस्या छ, “मैले मात्र गरेर के नै हुन्छा र मैले टाउको दुखाउने?” हामी धेरै जना लाइ समस्या र समाधान थाहा छ तर समाधान को लागि कसैले केहि गरेको छैन भने मैले मात्र गरेर क हुन्छ र भन्नु नै ठुलो गल्ति हो. मैले आफुलाई त्यो बानि बाट बिस्तारै सुधार्दै आफुले सके सम्म जति नै सानो काम भए पनि सहि काम मात्र गर्ने प्रण गरेको छु आशा छ हजुर हरु पनि गर्नु होला.

  12. उदासजीले ‘आजको नेपालको’ नमिठो बास्तबिकतालाई सारै राम्रो सैलिमा भन्नुभएको ,मेरो त् मुटुनै चरक्य चिरियो . र krish को व्यंग ठिक लग्यो. म,मलाई,मेरो को मनस्थिति भए सम्म राष्ट्र र जनताले दुख पाउछ.

  13. अनन्तजीको रोषयुक्त लेख राष्ट्रप्रेमी जनताको प्रतिनिधि लेख हो !

  14. माथी का सबै कमेन्ट र लेख नेपाली संधर्व सामगेरी संग मेल खानी छन् कुनै लै पनी नकार्न मिल्दैन ,

  15. एकदम ठिक कुरा गर्नु भयो मित्र ! आज यो स्वोतन्त्र देश का स्वोतन्त्र जनता भनौदा हरु आफ्नो अलिकति स्वार्थ पुरा गरेर स्वास्नी हरु लाइ सुन र हिरा को गहना किन्न को लागी र एक पिलेट मासु र भात को लागी राजनीतिक देशद्रोही दलाल गदार भ्रस्टचारी पार्टी को झन्डा बोक्ने र नेता र मन्त्रि हरु को पालुवा कुकुर बनेर नै देश को एस्तो दुर्द्सा भएको ! म त भन्छु यो देश को सबै भन्दा ठुलो देशद्रोही गदार भनेको नै यो देश को स्वार्थी नपुसक हिजड़े पशु जनता भनौदा हरु नै हुन् ! इनिहरु लाइ बेक्तिगत १ लाख फाइदा भयो भने देश को १० अर्ब डुबाउन पनि पछी हट्दैनन् ! भोलि कुनै अरबी सेख ले कुनै दैनिक पत्रिका मा नेपाल का नेता मन्त्रि र जनता हरु ले आफ्नो छोरी स्वास्नी एक रात को लागी हामी कहाँ पठाए मा भनेको जति रकम पाउनेछ भनेर छापोस त मात्र ! नेपाल का नेता मन्त्रि र पालुवा कुकुर स्वार्थी जनता हरु मा पहिला म पठाऊ छु भनेर त् छाड मछाड भएर मारामार हुन्छ ! किन कि इनिहरु को लागी पैसा भन्दा ठुलो केहि छैन ! देश बेच्ने हरु लाइ स्वास्नी र छोरी बेच्ने ठुलो कुरा होइन ! आफ्नो इमान आफ्नो धर्म आफ्नो स्वाभिमान आफ्नो रास्ट्र बेच्ने हरु लाइ यो कुनै ठुलो कुरा होइन ! यो देश लाइ साचैनै राम्रो बनाउने हो भने ४,५ जना महान नेता हरु लाइ र ४,५ भ्रस्ट निजामती कार्मचारी हरु लाइ ठोक्नु पर्छ ! अनि मात्रै नेपाली हरु को पैसा को मोह छुट छ ! र देश विकास को बाटो तिर दौडन्छ ! देश ले मागेको पनि अहिले यही नै हो !!! जय मात्रेभुमी !!!

  16. लेख को निचोडमा छ, हामी आफ्नो घर आफ्नो समाज अनि राष्ट्र बिकाशमा एक हों/ मलाई लाग्छा सबै पार्टीका नेताहरुले येही आदर्श त अनुशरण गरेकाछन नि ,पहिले आफ्नै घर बनौनछान अनि आफ्नै समाज का आफन्त कुल कुटुम्ब, इस्टमित्र ,छिमेकि र गाउँले बनाउन कोशिश गरिरहेका हुन्छन,सबैलाई बनाउन भ्याई नसकी अर्काको पालो आउँछ र उसले पनि येही बाटो पछ्यौछ /बिगतमा राजालाई मात्रै पालोको चिन्ता हुदैन थ्यो, पंचहरुले त्यसै गरे, कांग्रेस एमाले ले त्यसै गरे र अझै गर्नेछन नया माओबादी र मधेस बादी हरुले पनि त्यहि बाटो अघि बढी रहेकाछन/ अनि हामीहरु भ्याए जति एक भएर उनीहरुको भाषण सुन्न भेला भैरहेका छौं / अनि तलिबजौदै भाषण का आधारमा नेताको मुल्यांकन गरछौ /तर हामी मद्धे धेरैलाई राष्ट्र निर्माण ,देश बिकाश,आर्थिक संमृद्धि को परिभाषा थाहा हुदैन, अनि हामीले बनाउने नेता आफ्नो घर बनाउन जान्ने हुन्छन, तर राष्ट्र निर्माण गर्न जान्ने हुदैनन् / कल्पना ले यथार्थ निर्माण गर्न सकिदैन / निर्माण गर्न त उपयुक्त सिस्टम चाहिन्छा / सिस्टम बसाऊँन अघि बढौं / थान्क्स /

  17. एकदमै सहि हो.
    नेपालीहरुको कमजोरी भनेको आफू र आफ्नो स्वार्थको लागि जस्तो सुकै अनैतिक कामगर्न पनि पछी नपर्नु हो.अहिलेत नेपालीहरुलाई आफ्नो अधिकारको बारेमा सबै थाहा छ तर आफ्नो गाउँ समाज र देश प्रतिको कर्तब्य कसैलाई मतलब छैन.
    तेही भएर अहिले को भद्रगोल र अराजकता भाको हो.

  18. लेख सारै राम्रो लग्यो तर लेख को अन्त मा लेखेको बाक्य ” अत:परिवर्तनका लागि सम्पूर्ण नेपालीहरु एक होऔं। ” यो बाक्य कहिलै पनि समाधान बन्न सकेन । बरु येसो भन्ने कि – ” अत:देश लाई राम्रो बनाउन को लागि प्रतेक जनताले आआफ्नो कमजोरी महसुस गरेर समाज सुधार्न कम्ति मा एउटा योगदान गरौँ । “

  19. गल्ति कमजोरी आफ्नोको पनि हुन्छ ढाकछोप नगरौ \ असल पक्ष र गुण अरुमा पनि हुन्छ समर्थन गरौ \ नियम मा बसौ,नियम तोड्नेलाई कार्यबाही हुने बाताबरण र दबाब सिर्जना गरौ \ शक्ति र सम्पति को अगाडी नझुकौ \शक्ति र शम्पति प्राप्तिको लागि दानब नबनौ\ आफनै ले अपराध गरेको छ र गैर सम्पति जोडेको छ भने कार्यबाही गर्न सहयोग गरौ \ बिचार सबैलाई आफ्नो ठुलो र प्यारो हुन्छ सम्मान गरौ \ब्यबहार बाट आफु र आफ्नो बिचार सही हो भन्ने देखाउ .धम्क्की ,हत्या ,गाउ निकाला जस्ता कार्य नगरौ \ नेता र पार्टी लाइ सम्मान गरौ तर चाकडी र अन्धो नबनौ \ धेरै पार्टी र नेता बाट देशलाइ मुक्त बनाऊ\ सिस्टम बनाउ .सिस्टम मा बसौ जो सत्तामा आए पनि जनाधिकार र आधार बनाउ ,बचाउ जो सबै पक्ष लाइ चाहिन्छ \

  20. लु अरु त कुरै छोडौ, हाम्रा समाजमा अलिकति पढेलेखेका भनौदाहरुको रोल हेरौ न एक पटक/ कांग्रेसका बुद्धिजिबीहरु – “कांग्रेस ले जे गरे नि राम्रो अरु पार्टीले गरेका सबै नराम्रो”..माओबादीका बुद्धिजीविहरु – “माओबादीले जे गरे नि राम्रो अरु त मान्छे नै हैनन्”…एमालेको पनि पारा त्यस्तै… लु अर्को चोटी को चुनाव मा हेर्नु त (यदि भैहालेछ भने!! ) अहिले जो जो भ्रस्टचारी छन् उनैले बहुमत का साथ बिजयी हुन्छन…हैन हामि नेपाली जनता नै भेडो भयको हो कि जस्तो पो लाग्छ त हौ मलाई..

    (लु माथि मैले जे भने पनि मैले नेपालमा जागिर पाउन (या कुनै अरु त्यस्तै पाउन) कुनै पार्टीको पिछलग्गु भएरै हिड्नु पर्छ, चाहे मसंग योग्यता होस् या नहोस .. , त्यो भन्दा यहि बहराईन ठिक छ, सोच्नेले जे सोचेनी)

    • धिरज ब्रो तिम्लाई मेरो समर्थन छ, तेसैले मैले पनि साउदी अरब जंगल तिर भेडा चराउने निधो गरि येतई बसेको छु

      • लु लु ब्रो …. “कान्छीको कपाल के सारै राम्रो भेडाको उन जस्तो हो हो भेडाको उनजस्तो” …भन्दै गाना पनि गाउनु नि हे हे हे

Comments are closed.