बेपत्ताको सूचीमा संग्रौला

-बेनुप भट्टराई-

‘आफ्नो सम्पति जोगाउन नसक्ने हुतिहारा †’ लामो भनाभनपछि श्रीमति एकाबिहानै आँखा तर्दै कड्किइन्, ‘अबदेखि दराजका चाबी जनैमा भिरेर हिंड्नु।’

‘बिहे गर्‍या यत्रो भो, जनै लाएको देख्याछेउ?’ मैंले आफ्नो गल्तीको भागिदार उनैलाई बनाउन खोजें, ‘घर रुँघ्नेले पो जान्नुपर्छ त सम्पति जोगाउन।’

कोठा सफा गर्नेक्रममा सबै किताव एकैथलोमा थुपारेका थियौं। बिषय, सन्दर्भ, बिधा र महत्व अनुसार किताव छुट्याएर राख्ने दम्पतीको योजना थियो। त्यसक्रममा आफूलाई औधी मनपर्ने दर्जनौं किताव नभेट्दा म रिसले काम्दैथिएँ।

‘लौ भयो अब, सबै मैं मिलाउँला बरु चियासिया ल्याउ न’ हराएको सम्पतिको मात्रा ढाकछोप गर्न श्रीमतिलाई तर्काउने मनासयले भनें, ‘थाकमा पुरिएका होलान, त्यत्रा किताब कहाँ हराउँछन्।’

‘हुँदैन, आज खाने काम बन्द’ उनको चेष्टा छोड्ने थिएन, ‘पढौं पढौं लाग्ने किताबै छैनन् भने झारपातलाई किन मिलाउनुपर्‍यो बित्थामा।’

चिया खुवाउने बेला श्रीमति गाली बर्साइरहेकी थिइन्। भान्सामा छिरेर भात पकाउने कुरा त परै जाओस। म थाकिसकेको थिएँ। चर्चित र रोजाइका कितावलाई दराजमा सजाउने र मन छुन नसकेकालाई कार्टनमा हालेर पलङमुनि थन्क्याउने योजना थियो। तर, किनेकामध्ये थुप्रै किताब हराएको पाउँदा मन कुडिंदै गयो।

‘मलाई नभेटिएका सबै किताबको लिष्ट चाहिन्छ’ उनी पुस्तकालयकी कर्मचारी झैं खरो उत्रिन्, ‘हराएका एउटै पनि किताब लिष्टमा छुट्नुहुन्न, ओके?’

‘ओके बाबा ओके’ मैंले दायाँबायाँ नसोची भनें, ‘तर, मलाई बीच बीचमा च्याङच्याङ नगर्नु।’

त्यसपछि श्रीमति ढोका ढप्काइदिएर भान्सातिर छिरिन्। म चाहिं टाउकोमा हात राखेर भुईभरी असरल्ल छरिएका किताब हेर्दै घोत्लिइरहें। केहीबेरमा किताव मिलाउँदै, थन्क्याउँदै हराएकाको नाम उतार्नतिर लागें।

झण्डै तीन घण्टामा मेरो काम सकियो। हातका चक्र मेटिनेगरी किताब पुछ्दै, फरर्रर पल्टाउँदै, थुप्रो लाउँदै र थन्क्याउँदै गरेको थिएँ। चियासमेत नपरेको पेट भोकले कुईंकुईं गर्दैथियो। तर, परिणाम दुःखद निस्केकाले खानेकुरामा रुचि थिएन। सातो हराएको थियो। नभेटिएका किताबका नामको फेहरिस्त हातमा थियो। जसको सिरानमा लेखिएको थियो- ‘बेपत्ता पुस्तक र लेखकको सची-२०६८।’ सूचीको पहिलो नम्बरमा परे- खगेन्द्र संग्रौला जो मेरा प्रिय लेखक थिए।

संग्रौलाका ‘तमोर नदीको किनारै किनार’, ‘जुनकीरीको संगीत’, ‘घोडा, ईश्वर र मेरा बा’, ‘सम्झनाको ऐनाका तस्वीरहरु’, ‘आमा र यमदूतहरु’ देखि ‘संकटकालमा कुन्साङ काका’, ‘सम्झनाका कुइनेटाहरु’, ‘इतिहासमा कालो पोतिएको अनुहार’, ‘आफ्नै आँखाको लयमा’, ‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’ किताब हराएछन्। न्याय, स्वतन्त्रता र समानताको पक्षमा कलम चलाएर स्वतन्त्र लेखकको पहिचान बनाएका संग्रौला मेरो कोठाबाट बेपत्ता पारिएछन्। संग्रौलाद्धारा प्रकाशित सबै कृति किनेपनि एउटै भेटिएनन्।

‘सुम्निमा’, ‘दोषी चश्मा’, ‘तीन घुम्ती’, ‘आत्मवृतान्त’, ‘जेल जर्नल’, ‘हिटलर र यहुदी’ हराएर विश्वेश्वरप्रसाद कोइराला बेपत्ताको सूचीमा दोस्रो भए। पढेपिच्छे आँखा रसाउने ‘मुनामदन’ संगै ‘शाकुन्तल’, ‘दाडिमको रुखनेर’, ‘लक्ष्मी निवन्ध संग्रह’ नभेटेपछि महाकवि देवकोटा बेपत्ताको तेस्रो नम्बरमा परे। सरुभक्तका ‘पागल बस्ती’, ‘चुली’, ‘समय त्रासदी’, ‘तरुनी खेती’ नभेट्दा यी पोखरेली स्रष्टा बेपत्ताको चौथो नम्बरमा परे। चमत्कारिक भाषाले आङ जिरिङजिरिङ पार्ने निवन्ध संग्रह ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ संगै ‘गौंथलीको गुँड’ कथा संग्रह नभेट्दा शंकर लामिछाने बेपत्ताको पाँचौ नम्बरमा परे।

पढिरहुँलाग्ने ‘शिरीषको फूल’, ‘महत्ताहीन’, ‘बैंसको मान्छे’, ‘तोरीवारी, बाटा र सपना’ हराएको पाउँदा झण्डै होस गुम भयो। तैपनि, बेपत्ता पुस्तक र लेखकको सूची उतार्नैथ्यो। त्यसैले पारिजात छैठौं नम्बरमा परिन्। कोठाबाट बेपत्ता पारिएका सातौं लेखक थिए- कृष्ण धरावासी। उनका ‘राधा’, ‘बालक हराएको सूचना’, ‘उत्तमजंग सिजापतिको आलु’, ‘शरणार्थी’, ‘झोला’, ‘राधा’, ‘तपाईं’, ‘टुँडाल’जस्ता कृति बेपत्ता भइसकेका रहेछन्। ‘झोला’ कथा पढेर धेरै दिनसम्म बेचैन भएको मैंले अब धरावासीलाई किताबमार्फत कोठामा फर्काउन कति समय कुर्नुपर्ने हो थाहा छैन।

‘लौ सबै सकिइगएछ नि’ बेपत्ता किताब र लेखकको एघारौं नम्बर पढिसकेपछि श्रीमति अर्कै खालको रिसाइन्, ‘यो लिष्ट हेरेर के काम अब। तुरुन्त फर्काउनतिर लाग्नु।’

बेपत्ताको सूचीमा ४२ लेखकका एकसय २० किताव थिए। तीमध्ये टोनी हागनको ‘प्यारो नेपाल’, युग पाठकको ‘उर्गेनको घोडा’, बुद्धिसागरको ‘कर्णाली ब्लुज’, तारा राईको ‘छापामार युवतीको डायरी’, सञ्जीव उप्रेतीको ‘घनचक्कर’, ‘शरच्चन्द वस्तीको ‘हाम्रो भाषा’, युवराज नयाँघरेको ‘एक हातको ताली’, देवेन्द्र भट्टराईको ‘रेगिस्तान डायरी’, राजनारायण प्रधानको ‘एउटा आइतवार यसरी बित्यो’, आङछिरिङ शेर्पाको ‘डेडलाइन चोमोलोङ्मा’, गणेश रसिकको ‘दशगजामा उभिएर’, झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ माया मार्न नसक्ने थिए।

बेपत्ता लेखक र कृतिले डायरीका चार पन्ना भरियो। तैपनि, श्रीमति खुसी हुने छनकै थिएन। दुःखले जोडेको सम्पति गायब भएकामा हतास, उदास र निराश देखिंदै थिइन्। मेरो पनि मन पोलेको थियो। फेरि कोकोहोलो मच्चिनसक्ने भयले सामान्य देखिन खोज्दैथिएँ। यसबाहेक, अरु कति होलान्- कुनैबेला किनेर दराज, र्‍याक र पलङमुनि राखेका तर अहिले नभेटिएका कृति † मनमनै सोच्दै गर्दा बेपत्ता सूचीको पहिलो नम्बरमा परेका संग्रौलाको सम्झनाले औधी सतायो।

चौध बर्षअघि म १४ बर्षकै थिएँ, त्यतिबेलादेखि खगेन्द्र संग्रौलालाई पढ्दै आएको थिएँ। गृहथलो इलामको चमैंतामा म आठ कक्षा पढ्थें। त्यसअघि फोन, एफएम, पत्रिका उपलव्ध नभएको गाउँमा संग्रौलाको नामसम्म सुनेको थिइनु। काकाका छोराले संग्रौलाका ‘बालकथा संग्रह’ भाग १ देखि ८ सम्मै घरमा ल्याएका रहेछन्। ती सबै पढ्न थालें। मैंले थाहा पाइसकेको थिएँ- संग्रौला पाँचथरको सुभाङमा जन्मीहुर्की अहिले काठमाडौं बस्ने ‘ठूला’ लेखक रहेछन्। त्यसपछि उनीप्रतिको आशक्ति झन् बढ्यो किनकी, संग्रौलाको जन्मथलो सुभाङ र मेरो चमैंतावीच जम्माजम्मी ५० किलोमिटरको मात्रै दूरी थियो।

‘नवयुवा’मा संग्रौलाको ‘सम्झनाको ऐनाका तस्वीरहरु’ भन्ने स्तम्भ छापिंदो रहेछ। थाहा पाउनासाथ महिनैपिच्छे सदरमुकाम जाने मान्छेलाई ल्याइदिनु भन्थें। पत्रिका नआउन्जेल भात, पानी र स्कुलका कितावतिर मन जाँदैनथ्यो। कहिले त्यसैदिन आइपुग्थे, कहिले सात दिनपछि त कहिले ‘आइपुगेकै रहेनछ’ भन्दै खाली हात आइपुग्थे। त्यस्तो बेला नुन खाएको कुखुरो झैं झोक्राउँथे। जब ०५६ मा एसएलसी उत्तीर्ण भइयो तब संग्रौलालाई मनलाग्दो पढ्न पाइयो। इलाम क्याम्पस भर्ना भएपछि संग्रौलाका लेख जुन जुन पत्रिकामा छापिन्थे ती सबै मेरो कोठामा भित्रिन्थे। उनका पुराना कृति पनि फेला पारिसकेको थिएँ। त्यतिबेलै उनको ‘जुनकीरीको संगीत’ उपन्यास निस्कियो।

ज्ााडो छुट्टीमा आएको त्यो उपन्यास तुरुन्तै किनें र घरतिर उक्लिएँ। भुईंकुहिरो लागिरहने गाउँको घरमा डेरी थियो। अरुबेला आफैं डेरी मेसिन चलाएर दूधबाट क्रिम निकाल्न रमाउँथे। तर, संग्रौलाको किताब हात परेपछि म बार्दलीदेखि कतै ओर्लिनु। तीनसय ५८ पृष्ठको ‘जुनकीरीको संगीत’ एकै दिनमा सिध्याएको थिएँ। पर्वतको सिमरिङ गाउँका दलितको कथा रैथाने लवजमा पस्किइएको त्यो उपन्यासमा सिनो खानेको दुःख, प्रधानपञ्चको रवाफ, एनजिओको उपश्थिति र क्रान्तितर्फ उन्मुख गाउँलेको मनोदशा मार्मिक रुपले चित्रण गरिएको थियो।

फोटोमा सानो काँटका, पावरदार चश्मावाला र लामो नाक भएका संग्रौलाका नयाँ कृतिको प्रतीक्षा व्यग्र हुन्थ्यो। आइए दोस्रो बर्ष पढ्दै ‘स्पेसटाइम’मा इलामबाट संवाददाता भइसकेकाले संग्रौलालाई काठमाडौं जाँदा भेट्नेछु भन्ने सोच्थें। ०५८ जाडोयाममा काठमाडौं आएका बेला संग्रौलासंगै थुप्रै लेखकका किताब किनेर थन्क्याएँ। उनको घरको नम्बर पत्तो लाउन मुस्किल पर्‍यो। जसोतसो फेला परेपछि इलामको अर्थोडक्स चिया, एक पोका छुर्पीसहित लेन्सवाला भीभीटार क्यामेरा र डायरी बोकेर चावहिलस्थित उनको निवासतर्फ सोझिएँ। ‘तीन बजेभित्र आइपुग्नुहोला गाउँले भाई’ संग्रौलाले फोनमा भनेका थिए, ‘नत्र म निस्किइसकेको हुन्छु।’

रत्नपार्कदेखि म चढेको बस दुई घण्टामा पनि चावहिल पुगेन। अहिले बुझ्दा राजाको सवारी रहेछ। जामले म चावहिल पुग्दा चार बजिसकेको थियो। थुपै्रलाई सोध्दैखोज्दै बल्ल संग्रौलाको निलो जस्ताले छाएको घर भेटियो। हतार हतार गेटमा पुग्दा अग्लो कदकी मतवाली समुदायकी जस्ती देखिने महिला अलि होची मोटी युवतीसंग उभिएर मैतिर हेर्दैथिइन्। उनी संग्रौलाकी बन्दीपुरे गुरुङसेनी श्रीमति र होची चाहिं छोरी रहिछन्। हरियो दुवो र फूलले आँगन ढकमक थियो। पूर्वको हाम्रै गाउँतिरकै जस्तो घर बनाउन खोजेका रहेछन् भन्ने लाग्यो। ‘इलामबाट खगेन्द्र दाईलाई भेट्न आको’ मैंले आफ्नो परिचय दिंदै भनें, ‘गाडी ढिलो कुदेर आउनै अबेर भयो।’

‘तपाईंलाई यत्रो बेर पर्खेर भर्खरै निस्किनुभो’ आत्मिय आँखाले हेर्दै भाउजु बोलिन्, ‘अब भोलि आउनुस।’ मन खल्लो भइसकेको थियो। ‘ह्वस, फोन गरेर आउँछु’ भनेर अर्कोतर्फ फर्किएँ। राजधानीका रैथाने भइसकेका उनीहरुले चिया र छुर्पीको कोशेली सुदामाको तण्डुल ठान्लान भनेर नदिई फर्किएँ। त्यसलगत्तै मुलुकमा संकटकाल लाग्यो। संग्रौला अब- कुन्साङ काका भएर पत्रिकामा छापिन थाले। शाही सरकार मत्ता हात्तीजस्तो भएर नागरिकका अधिकार दोहन गरिरहेको त्यसबेला संग्रौला चाहिं लेखनीमा व्यङ्ग्य, परिहास, कटाक्ष र ठाडो प्रहार गरी तिनको हुर्मत लिंदैहुन्थे। पूर्वतिर बोलिने भाषामैं लेख्थे उनी।

‘घोडा, ईश्वर र मेरा बा’ भित्रको ‘एउटा शिक्षकको बकपत्र’ पढ्दा उनले चितवनमा शिक्षण गर्दा पाएको सास्ती सम्झेर रोएथें। ‘आमा र यमदूतहरु’ पढ्दा भद्दा हिन्दु संस्कार र उनको विद्रोहप्रति सलाम गर्न मन लागेको थियो। ‘सङकटकालमा कुन्साङ काका’ पढ्दा हामीले पार गरेको त्रासद समय सम्झुदै उनले शाही सरकारको दोहोलो काढेकोमा गर्व लाग्थ्यो। ‘जीवनका कुइनेटाहरु’ दार्जिलिङ बस्दा पढेको थिएँ भने पछिल्लो कृति ‘आफ्नै आँखाको लयमा’ चाहिं रियाभ सेन्टरमा रहुदा। सधैं पढ्दै आएका संग्रौला अब चाहिं पढ्न नपाइने भए। उनी कोठाबाट झट्टै नफर्किने गरी बेपत्ता पारिएका छन्।

‘किताब बेपत्ता पार्नेको लिष्ट चाहियो’ कोठा सफा गरेको साता बितिसक्दा पनि श्रीमतिको कचकच रोकिएन, ‘तिनीहरुलाई मैंले ठेगान लाउँछु।’

सम्पतिका नाममा किताव नैं महत्वपूर्ण थिए। देश, काल, परिश्थितिसंग साक्षात्कार हुन किताबको सहारा लिने म यस्ता अब्वल कृति बेपत्ता हुँदा पर्सेको बोको झैं भएको थिएँ। बेपत्ता किताब तत्काल किनौं भने ३० हजार रुपैयाँ जति चाहिने रहेछ। एकमुष्ठ त्यत्रो पैसा कताबाट जुटोस † नकिनौं घर झगडाले मनमा शान्ति छैन। एक बिहानै पशुपतिस्थित श्लेष्मान्तक वनतिर हान्निएँ। बाग्मतीमा शव जल्दैथिए। साधु सन्त भीख माग्दैथिए। प्रेमजोडी हात समाएर हिंड्दैथिए। मेरो मन भने एक तमासले विक्षिप्त थियो।

किताब बेपत्ता पार्नेहरुलाई नैं राम्ररी माग्ने नदिए थर्काउने सोचले उनीहरुलाई मज्जाले सम्भि्कनु खोजें। दिमागमा यस्ता पनि नाम आए तीेमध्ये कोही मरिसके, कोही अमेरिकामा भाँडा माझ्दैछन् त कोही सम्पर्कविहीन छन्। बेपत्ता लेखकको आठौं नम्बरमा नारायण ढकाल थिए। उनका ‘शोकमग्न यात्रीहरु’, दुर्भिक्ष’, ‘आत्महन्ता’ मात्रै होइन ‘प्रेतकल्प’समेत कोठाबाट प्रशन्न मुद्रामा लैजाने वामपन्थी राजनीतिमा चासो राख्ने एकजना युवा थिए। उनलाई कहिलेकाहिं पेरिसडांडामा देख्छु तर किताब फिर्ता ल्याइदिनु भन्न सक्दिनु।

ध्रुवचन्द गौतमका २२ उपन्यासमध्ये थुप्रै किनेको थिएँ। तर, ‘अलिखित’, ‘कट्टेलसरको चोटपटक’, ‘घडीहरुको देशमा समय खोज्दै’, ‘फूलको आतंक’, ‘तथाकथित’ नभेटिंदा उनी बेपत्ताको नवौं नम्बरमा थिए। ती किताब साहित्यमा चासो राख्ने पूर्वकै एकजना लेक्चररले बेपत्ता पारिदिएका हुन्। उनी कलेज पढाउँछन् तर भेट्दा किताबको कुरा उठ्नसक्ने भयले होला ‘आज व्यस्त छु’ भन्दै तर्किन्छन्। कोठा देखेको छैन, पुरानो नम्बरमा मरिगए फोन लाग्दैन। कुनैबेला अनलाइन देखेपनि ‘हाइ’ गर्नासाथ अफलाइन भइहाल्छन्।

‘पल्पसा क्याफे’ र ‘मयुर टाइम्स’ नभेटिंदा नारायण वाग्ले बेपत्ता पारिएका दशौं लेखक थिए। ती दुईटै कृति दुई बर्ष बितिसक्दा फिर्ता नगर्ने एकजना कलाकार आफैं बेपत्ता छन्। फिल्म बनाउने र आफैं खेल्ने गरेका उनी सम्पर्कमा छैनन्। ‘हिमालपारि पुगेपछि’, ‘सेती पनि काली पनि’, ‘सगरमाथाको आधार शिविरबाट’ नभेट्दा प्रतीक ढकाल बेपत्ताको एघारौं नम्बरमा समेटिएका थिए। तर, ती किताब लैजाने पर्यटन व्यवसायी साथी राजधानीमैं कतै छन्। एकपल्ट भेटिंदा ‘तपाईंको नासो सुरक्षित छ है’ सम्म भनेका थिए, त्यसपछि पुरै गायब।

ओशोको ‘सम्भोगदेखि समाधिसम्म’ देख्दा राल चुहाउँदै ‘यसमा कडा कुरो छ क्यार’ भन्दै हत्ते हालेर लैजाने साथी अझै रेष्टुरेण्ट चलाउँदैछन्। शीर्षकले लोभिएका उनले त्यसलाई पढे पढेनन् थाहा छैन तर फिर्ता चाहिं गरेनन्। किरण देसाईको ‘द इन्हेरिटेन्स अफ लस’ कीर्तिपुरमा एमफिल गर्ने ‘विद्धान’ मित्रले लगेका थिए। अहिले नामका अघि डा. झुण्ड्याउन थालेका उनले ‘अर्काको किताब पचाउनुहुन्न’ भन्ने चाहिं पढेनछन्। मञ्जुश्री थापा र सम्राट उपाध्यायका ‘फरगेट काठमाण्डु’, ‘द गुरु अफ लभ’ देखेपछि ‘यी त संग्रहणीय छन्’ भन्दै लैजाने म्यानपावरवाला साथीले तिनलाई आफ्नै घरमा संग्रह गरेका छन्।

कनकमणि दीक्षितको ‘मैंले देखेको मुलुक’, कुमार नगरकोटीको ‘मोक्षान्त : काठमाण्डु फिभर’, लियो टाल्सटोयको ‘वार एण्ड पिस’, नयनराज पाण्डेको ‘उलार’, लैनसिंह वाङ्देलको ‘रोमको एउटा फूल…’ नफर्काउने मित्रहरु दिनहुँ भेटिन्छन्। उनीहरु अफिसका सहकर्मी हुन्। सम्बन्ध बिग्रिएला भनेर ती किताबबारे उनीहरुसंग कुरै हुँदैनन्। बसाइ नजिकै भएपनि एकजना हिरोइनलाई दिएका चारथान पुस्तक त यो जुनीमा फर्किने आशै छैनन्। फोन, म्यासेज, इमेल र साथीमार्फत जतिपल्ट मागेपनि उनले ‘ल्याइदिइहाल्छु’ भन्छिन् तर कहिल्यै भेट्दिनन्।

रक्सीमा रमाउञ्जेल केही किताब आफैं पनि बाँडेर ठूलो गल्ती गरिएछ। एक साँझ कोटेश्वरस्थित खाजाघरमा डडेलधुरातिरका पूर्वपञ्चसंग छिनभरमैं दोस्ती जम्यो। त्यसबेला भर्खरै निस्केको शारदा शर्माको ‘भुईंफूलको देश’ किनेर झोलामा बोकेको थिएँ। त्यो त उनले जर्वजस्ती खोसेर कोटको खल्तीमा हाले। भोलिपल्ट बेलुका कोठामैं आएर ‘हामी राजनीति गर्नेलाई काम दिन्छन्’ भन्दै जितमान बस्नेतको ‘अँध्यारा २५८ दिनहरु’ र गंगा श्रेष्ठको ‘गढी दरबारदेखि सिंहदरवारसम्म’ कब्जा गर्न सफल भए। ट्याक्सी भाडासमेत लिएर त्यसदिन मबाट बिदा भएका उनी अहिले मरे कि बाँचे केही अत्तोपत्तो छैन।

प्ााहुनाका रुपमा आएपनि कोठाभित्र पसेर किताब चोर्न रगरगी मच्चाउनेहरु थोरै थिएनन्। एकाध व्यक्ति यस्ता पनि भेटिए जसले तेल, बेसार, चिया, दूध र रक्सीको थेग्लाथेग्लीले रङीचङी पारेरै भएपनि फिर्ता ल्याएका छन्। ‘नहुनु मामाभन्दा कानो मामा जाति’ भने झैं त्यस्तै भेष बदलेर भएपनि अम्बर गुरुङको ‘कहाँ गए ती दिनहरु’, मञ्जुश्री थापाको ‘सिक्लेसको ठिटो’, आनी छोइङको ‘फूलको आँखामा’, कर्ण शाक्यको ‘सोच’जस्ता सातसय जति किताव कोठाको शोभा बनेका छन्।

‘लौ यी किताबलाई मिलाएर राख’ पशुपतिबाट किताब गायब पार्नेको सूची तयार पारेर फर्केपछि श्रीमतिलाई झोला थमाउँदै भनें, ‘अब यसैगरी थप्दै जानुपर्छ, एकैचोटी फिर्ता मागेर साध्य हुँदैन।’
पत्रिकामा छापिएको एउटा लेखको पैसाले बानेश्वरको बुक्स प्लानेटमा छवटा किताव किनेको थिएँ। ती देखेपछि उनको मुहार हल्का उज्यालियो।
‘अब चाहिं दराजमा चावी नठोकी हुँदैन’ उनले नयाँ किताब समाउँदै भनिन्, ‘अब आफैं जनैजस्तै डोरी भिरेर चावी बोक्छु।’

कमाएको पैसाले महिनैपिच्छे केही नयाँ किताब किन्ने, बेपत्ता पार्नेलाई फिर्ता मागिरहने र आइन्दा इन्द्रेको बाउ चन्द्रे आएपनि किताब नदिने दुईपक्षीय सहमति भयो। त्यसपछि श्रीमतिलाई भनें, ‘अब चाहिं सम्पति नजोगाए तिमी हुतिहारा हुन्छ्यौ।’

[पाठकहरु, तपाईँको पनि किताब यसरी नै कसैले लगिदिने तर नफर्काउने गरेको छ कि ? आफ्नो अनुभव तल कमेन्टमा बाँड्ने कि ? कतै तपाईँको किताब फर्किएर आइ पो हाल्छ कि]

52 Comments

  1. एउटा काल्पनिक जस्तो लाग्ने लेख| बेनुप जि ले भने जति किताब पढेकै भए कम्तिमा पनि लेखमा अलिकति बुद्दिमानी ,सभ्यता अनि भलादमि पन देखिन्थ्यो होला. माथि प्रियंका शाही जि को प्रतिक्रिया मा जस्तै , यी मान्छे खासगरी विश्वास गर्न लाएक रहेनछन् जस्तो लाग्यो | लेखमा उल्लेख गरेका सब्द हेर्नुस त, ” कोहि अमेरिका तिर भाडा माझेर बसेका छन्….|” रे| मानिलिउ यिनले नै उता भाडा माज्ने कम्पनि खोलेर बसेका छन् अनि काम लगिदिएका होलान जस्तो| के भो त भाडानै माझेर बसेका भएपनि , कम्तिमा मेहेनत ले काम गरेर बसेका त होलान| फोकटिया कुरा गरेर , वाहियात कुरा लेखेर अरुको समय उडाउने काम त गरेका छैनन् होला नि| आफ्नो घरको कुरा लाइ संचार माध्यममा ल्याएर, दुनियालाई गाली गर्ने यिनको प्रवृति मलाई कुनै पनि पक्ष बाट उचित लागेन| जाड पनि “बिजुली पानि” भन्दै पिउने रैछन अनि बुडी ले जगल्टा नताने को एसोर्या राय आउछे त भारत बाट| किताब मात्रै हराएर होइन एस्तै लेख हरु लेख्दै जाने अनि पाठक को प्रतिक्रिया सहन नसक्ने गरि उर्लेर आयो भने, कुनै बेला ” दिमाग पनि हराएछ कसैले लागेका छन् कि भन्दै खोज्दै हिड्न बेर छैन|”

  2. एउटा काल्पनिक जस्तो लाग्ने लेख| बेनुप जि ले भने जति किताब पढेकै भए कम्तिमा पनि लेखमा अलिकति बुद्दिमानी ,सभ्यता अनि भलादमि पन देखिन्थ्यो होला. माथि प्रियंका शाही जि को प्रतिक्रिया मा जस्तै , यी मान्छे खासगरी विश्वास गर्न लाएक रहेनछन् जस्तो लाग्यो | लेखमा उल्लेख गरेका सब्द हेर्नुस त, ” कोहि अमेरिका तिर भाडा माझेर बसेका छन्….|” रे| मानिलिउ यिनले नै उता भाडा माज्ने कम्पनि खोलेर बसेका छन् अनि काम लगिदिएका होलान जस्तो| के भो त भाडानै माझेर बसेका भएपनि , कम्तिमा मेहेनत ले काम गरेर बसेका त होलान| फोकटिया कुरा गरेर , वाहियात कुरा लेखेर अरुको समय उडाउने काम त गरेका छैनन् होला नि| आफ्नो घरको कुरा लाइ संचार माध्यममा ल्याएर, दुनियालाई गाली गर्ने यिनको प्रवृति मलाई कुनै पनि पक्ष बाट उचित लागेन| जाड पनि “बिजुली पानि” भन्दै पिउने रैछन अनि बुडी ले जगल्टा नताने को एसोर्या राय आउछे त भारत बाट| किताब मात्रै हराएर होइन एस्तै लेख हरु लेख्दै जाने अनि पाठक को प्रतिक्रिया सहन नसक्ने गरि उर्लेर आयो भने, कुनै बेला ” दिमाग पनि हराएछ कसैले लागेका छन् कि भन्दै खोज्दै हिड्न बेर छैन.”|

  3. एक पटक पढेको किताब पुरानो दराज मा थन्क्याउने त हो नि…चाहने ले पढ्यो भने ज्ञान त बढ्छ …लगेर फिर्ता नगर्नु त पढन्ते हरु को अन्तर्राष्ट्रिय बानि नै हो …ति मध्ये म पनि एक हुँ..मैले मेरा किताब कसैलाई दिन्न ल्याएका किताब पनि हात हालाहाल को स्थीति नआउन्जेल मरी गए फिर्ता गर्दिन मलाई येसो गर्न मेरै बिगत ले सिकाएको हो /

  4. यो लेखले पुल्चोक क्याम्पस पढ्दाको को एक छट्टू दाजुले मेरो महत्वोपूर्ण किताब फकाई फकाई मागेर अस्ट्रेलियामा पढ्ने उनकै साथीलाई पठाएर मलाई उल्लु बनाई झुलाएको याद आयो | मेरो किताब र मेरो बिछोड गराएको ५ वर्ष भयो क्यार त्यसपछि त्यस दाजु संग भेट नि भएको छैन | भेट भयो भने म त्यो किताब बारे सोध्न बिर्सने छैन |

  5. यो लेख संगै मलाई भने किन्ने पर्ने र पढ्ने पर्ने कृतिहरुको सुची पनि उपलब्ध भएको छ . यसकालागी लेखकलाई धन्यवाद .
    यो समस्या त मेरो पनि हो . केहि वर्ष अघि आफ्नै गाउमा पुस्तकालय खोलौं भनेर किताब संकलन थालियो र यहि क्रममा सुकन्य वाइबा दिदी संग अनुरोध गरेर पारिजातका संकलित कृतिहरुका सबै ठेली लिएर गएकी थिएँ . आफू काठमाडौँ भासिइयो . पुस्तकालय बन्द भएछ . पछी खोजि मरी गर्दा पनि दुइटा भन्दा बढी संकलित पुस्तकहरु फर्कौना सकेको होइन .
    यसै गरी फाट्ट फुट्ट लैजाने र नफर्काएका पुस्तक र नफर्काउनेको नामावली चाहिं म पनि तयार पार्नु पर्ला जस्तो छ . लामै बन्छ सुची .

  6. देश दुनियां बुझ्ने उद्देश्यले थुपै्र पैसा तिरेर किनेका किताव लगिदिने र फिर्ता नगर्र्नैहरु नाजायज हुन् । उनीहरुलाई कै भन्नै र खौई । मैंले पनि जान अन्जानमा थुप्रै किताव यसरी गुमाउनु परेको थियो कुनैबेला । कतिसम्म भने, स्कुल र कलेजका पुराना कितावसमेत आफ्ना मान्छेले झ्याप हान्दै लगेका थिए । मागौं लाज हुने नमागौं आफूलाई बडौ दोधारमा थिएं । यतिकैमा पढ्दै काम गर्नलाई विदैशमा आइयौ । त्यसपछि मात्रै नेपाली कितावको स्वाद अर्थात महत्व नजिकबाट बुझियौ । परदेशमा भन्नेबित्तिकै नेपाली किताव पाउनै मुस्किल । नेपालबाट मगाउंदा भनेको बेला आफूले चाहेको किताव नपाइने । बडो समस्यामा गुज्रिनुपरिरहेको छ । आइन्दा कसैले पनि कसैलाई किताव नमागी आफैं किनेर पढिदिनुहोला भन्न चाहान्छु, ताकि अरु कसैले यस्तो मर्का लैख्न नपरोस ।
    कृतिका बानियां

  7. किताब सापटी दिदा धरौटी राखेर दिने गर्नुस तुरुन्तै फिर्ता हुन्छ, किताब को मूल्य ५०० छ भने १००० रुपैया धरौटी भनेर माग्नुस, फिर्ता जहिले गरे पनि गर्नुस भन्नुस, फिर्ता नगरुन्जेल उसको पैसा पनि चलाउन पाइने, पछी फिर्ता नगरे तेही पैसा ले अर्को किताब पनि किन्न सकिने, अलिकति लगाउनु पर्यो नि त हाउ आइडिया पनि!!

  8. किताब फिर्ता नहुने रोगले सबैलाई सताएको छ ./ किताब लगेर फिर्ता नगर्ने मनसाय भएका हरुले बेनुप जीको लेख पढेर के सोची रहेका होलान ? यो पटक नाम आएन भनेर मक्ख परेका हरुलाई अर्को लेखमा समेट्ने कोसिस चै गर्नु होला है / नभए तपाइको कमलो मनको फाइदा मनग्गे उठाउ छन् नि !

  9. म आफुले पढ्ने बिषयको अनेकौ लेखकहरुको किताव राख्ने गर्थे/ मलाई प्रोफेसरको लेक्चर सुन्नु भन्दा अनेकौ लेखकको यकै बिषयको किताव पढ्न बढि मन लाग्थ्यो/ मेरा ति कितावहरु आज कुनै पनि म सिट छैन/ जजसले लागेको थियो कसैले पनि फर्कायनन/

    मेरो हरायको कितावहरुमा एउटा किताव चन्द्र शमशेरले लेख्न लगायको नेपालको जडी बुटी र तेस्को उपयोगको बारेको किताव थियो/त्यो किताव “डाक्टर नभएको बेला” भनियको किताव जस्तै थियो/ सबै प्रकारको रोगहरु कुन जडी बुटी बा कुन आयुर्वेदिक औषधिले निको हुन्छ भनेर बनाउने पाउने विवरण समेत सरल भाषामा लेखियको कितावको याद मलाई आज पनि आउँछ तर कहिँ कतै पाउन सक्दिन/

    कितावको महत्वो बुझेरै २०२८ साल तिर रामहरी कृष्ण मानन्धरको छत्रपातिको घरमा साथीहरु मिलेर मुलत: गरिब र किताव किन्न नसक्ने बिद्यार्थीहरुको निमित घर दैलो गरेर पाठ्य पुस्तकहरु बटुलेर “छत्रपति युबा पुस्तकालय” खोलेको थिय/ त्यो पुस्तकालय बात पनि पाठ्य पुस्तक लाग्नेहरुले कमै मात्र फर्काय/

    त्यो पुस्तकालय नै पछी मकाखल स्थापना गराउने चाकला दवु परिबारमा परिणत गरेको थिए/ चकला दवु त् बन्द भयो तर पनि पुस्तकालय संचालनमै रहेको हुनु पर्छ/ रामहरिकृष्ण मानन्धरको मृत्यु पछी उहाँको सिकिस्त पत्नी हेर विचार गर्न लग्ने बलराम मानन्धरले रामहरी कृष्ण मनाधरज्युको पत्नीको देहान्त पछि उनको औलाको छाप भयको कागज देखायर रामहरिको घर उसको भयको दावी गर्दै पुस्तकालय बन्द गर्न भनेको थियो/ त्यो कुराको बिबाद कसरि टुंगियो आफु बिदेसमा भयकोले थाह पाउन सकेन/ त्यो पुस्तकालय खोलियको रामहरीज्युको ५ तल्ले घरको यक तल्ला एमालेलाई र अर्को ताला मनका खललाई रामहरीज्युले दियर गएको छ/ बाकि तल्लाहरुमा बलरामले कब्जा जमाउन खोजेको छ/

  10. विषय र सन्दर्भ छनौट राम्रो भएपनि सारमा लेख चुक (कागती) विनाको चटपटे जस्तो छ । हेर्दा मिठोजस्तो देखिएपनि खाएपछि झूर । उस्ताउस्तै दोहोरिइरहने शब्दहरुको फेहरिस्त । ठाउँठाउँमा आफ्नै कुरो आफैँसँग बाझिएको । सम्भवतः लेख भोटाहिटी वा भृकुटीमण्डव वा रत्नपार्कका पुस्तक पसलेसँग “नेपालमा चलेका पुस्तकहरुको लिष्ट” मागेर लेखिएको हुनुपर्छ ।
    बेनुपजी मेरो दाइको मिल्ने साथी हुन् । बेनुपजीलाई मैले करिव पाँच बर्ष अघि काठमाडौं तिनकुनेमा मेरै घरमा चिनेको हुँ । उसबेला बेनुपजी नेपालमा चलेका सञ्चारगृहका चलेका पत्रकार थिए । बेनुपजी र मेरा दाइ, अनुपको आहोरदोहोर चलिरहन्थ्यो । बेनुपजी र मेरो करिव दूई दर्जन भेटघाट भए । प्रायः खानपीन र चियाकपीको बन्दोबस्त गर्न मै हुन्थेँ । तर, बेनुपजीलाई मैले कहिल्यै होस वा सज्जन अवस्थामा देखिँन । रक्सीको मातमा । बोलचालमा थाहापाएर वा थाहा नपाएर कैयनपटक बेनुपजीले “अपशब्द” बोल्नुभएको छ । चियाकफी होइन बरु “दारु” छ भने खाउँ सम्म भन्नुभएको छ । एकपटक आमा र दाइको बीच बेनुपजीको शन्दर्भलाई लिएर झगडै भएको थियो ।
    प्रसङ्गलाई मैले अन्यथा मोड्न खोजेको होइन । यहाँ प्रसङ्गलाई दाँयाबाँया मोड्नुको औचित्य पनि छैन । तर, सार्वजनिक जीवन बाँचेर अरुको बारेमा लेख्ने मानिसहरुको पनि जीवन पद्धतिका बारेमा आम पाठकलाई जानकारी हुन आवश्यक छ ।
    जहाँसम्म प्रसङ्ग रह्यो पुस्तकको । हाम्रो घरमा विगत लामो समयदेखि बुवा र दाइहरुको घरेलु पुस्तकालय बनाउनुभएको छ । इष्टमित्र र छरछिमेकीहरु आउँछन् पुस्तक पढ्नका लागि । तर पुस्तक लान पाइने व्यवस्था थिएन ।
    एक दिन साँझ बेनुपजी आउनुभयो । साविकजस्तै उहाँको शब्दमा “बिजुली पानी”को मातमा । बेनुपजीले झोलाबाट नारायण वाग्लेको पहिलो “कृति पल्पसा क्याफे”, नविन वर्तमानका “सोह्र साँझहरु” र कृष्ण धारावासीको “झोला र राधा” झोलाबाट झिक्दै मलाई भन्नुभयो यी पुस्तकहरु तपाइँहरुका पुस्तकालका लागि । यहाँ त मानिसहरु आइरहन्छन् पढोस । मैले पढीसकेको छु । मेरो पढीसकेको पुस्तकहरु घरमा राख्ने बानी छैन । कि ! मिल्ने साथीहरुलाई दिन्छु वा सार्वजनिक पुस्तकालयहरुलाई । अझै कैयौ पढीसकेको पुस्तकहरु छन् म ल्याइदिउँला । त्यसपछि उहाँले The Autobiography of Alice B. Taklas (Gertrude Stein 1933 Biography), Silent Spring (Rachel Carson 1962-09), The Education of Henry Adams Edmund, The Varieties of Religious Experience (William James 1902), Up From Slavery लगायतका महत्वपूर्ण पुस्तकहरु माग्नुभयो । दाइले बेनुपजी त हाम्रै घरको सदस्यनै हुन् देउ भन्नुभयो । तर उहाँले ति पुस्तकहरु कहिल्यै फिर्ता गर्नु भएन । मूल्यको खासै लेखाजोखा नएपनि ति पुराना र अन्तरष्ट्रिय स्तरका महत्वपूर्ण पुस्तकहरु हुन् । मामाले दशकअघि अमेरिकाबाट बुबालाई पठाइदिनुभएको ।
    अहिले म लगायत मेरो दाइ अमेरिकामा अध्ययनका शिलशिलामा छौं, सायद लेखका क्रममा बेनुपजीले पुस्तक फिर्ता नगर्ने हरुको लिष्टमा हामीलाई “कोही अमेरिकामा भाँडा माझ्दैछन्” भनेर इङ्गित गर्नुभएको छ । यदि बेनुपजीले मन मष्तिष्कबाटै यो लेख लेख्नुभएको र यसलाई अक्षरस कार्यान्वन गराउन चाहनुहुन्छ भने कृपाया हाम्रो घरमा गएर तपाइँका केही पुस्तकहरु लानुहोस र हाम्रा ति पुस्तकहरु पनि फिर्ता गरिदिनुहोस ।

    • रमाइलो लाग्यो यहाँको जवाफ देखेर. यहाँ बोल्ने हरु बोलिदिन्छन, सुन्ने हरु वा वा भन्छन. बोल्ने ले कहाँ टेकेको छ कसैलाई हेर्ने फुर्सद छैन. बेनुप को बारेमा मलाई धेरै थाहा छैन तर यहाले भन्नु भए जस्तो चरित्र हरु मैले धेरै देखेको छु . थम्ब्स अप !

    • यो कुरो त मलाइ गम्भीर लाग्यो है .. हुन त यो कथा वा प्रशंग धेरै नेपाली मा लागु हुने कुरा हो. I sc. पढ्दा ताका हामीले अंग्रेजी मा “my lost dollar” भन्ने कथा पढ्थे .. मेरो पनि तेस्तै भएको थियो . मेरा एक अभिन्न मित्र नेपाल जाने भए, हामी कोठा साझेदारी गरि लगभग ३ वर्ष जति बसेका थियों / दशैँ तिहार को माहोल मा जना लागेका ले केहि पठाउने भए मैले लागि दिन्छु भने, मैले ५०० डलर पठाई दिए, २ बैनी हरुलाई दिनु भनेर .. साथी नेपाल गए, आए अनि फोन गरे र भने, साथि, मैले पैसा बैनी लाइ दिईन तर मैले खर्च गरे .. मलाई तेस्तै अफ्तेरो पर्यो .

      साथी पहिला पहिला पनि इमान्दारी साथ दिने गरेको ले मैले केहि भनिन मैले. बहिनि हरु कहिले खुसि भएर धन्य बाद भन्लान भनेको त केहि भन्दैनान . “ए प्रभु, यिनको दिमागमा मेरो ५०० डलर कहिले आउने होला र मलाइ दिने होलान भन्छु, कहिले भन्दैनन् ..
      अहिले ५ वर्ष भै सक्यो पैसाको कुरो गर्न छोडी सके. मैले पनि यसो सोचे, हामीले कैयोउ राम्रा, दुख का पल हरु बिताई सकेका थियोउ.

      अब मलाइ पनि लग्न थाल्यो, यो सम्बन्ध यतिकै रहिरहोस, यो पैसाको कुरा बन्द .. सयाद, मैले पनि पैसा लिएर न तिरेको हुन सक्छु नि त कति साथीहरुको .. हिसाब-किताब बराबर …

    • लेख को बारेमा कमेन्ट गर्नुस प्रियंका जी ,,,,लेखक को बारेमा हैन ,,,,,अर्काको निजि जिन्दगि को बारेमा नराम्रो लेखेर आफ्नो हैसियत पनि देखाउनु वायो तपाईं ले ,,,,,

  11. त्रिभुवन बिमानस्थलमा भ्रष्टाचार गरेर पुलिसले खोजिरहेको प्रतिक ढकाल उर्फ खडानन्द ढकाल जेलमा जाकिन्छु भनेर बेपत्ता भएको हो. त्यस्तो गन्हाएको मान्छे प्रति किन यत्रो मोह?

  12. भट्टराई जी लाई सत् सत् नमन !
    किताब पढेर दराजमा थनकाउन भन्दा त अरुले पढेकै जाति, यति चाही पक्का गर्नुस कि कसैबाट यो क्रम नतोडियोस, बरु किताब दिनु भन्दा अगाडी बाचा गराउनुस, पढीसके पछी अरु नपढेको लाई दिनु !
    रेफरेन्सको लागि लामो सुची पाए, नपढेको धेरै रहेछ, धन्यबाद !!

  13. बेनुप जी, पुस्तक फिर्ताको लागि नेपाल बन्दको कार्यक्रम राख्नु पर्ला जस्तो छ । कि बालिका जी संग यो बारेमा दर्ुइपक्षिय सम्झौता गर्ने हो कि ???

  14. लेख प्रस्ट नभए पनि व्यंगात्मक लग्यो मलाई अरुको महत्वपुर्ण किताब लगेर फिर्ता गर्न नजान्नेलाई दह्रो झापड हान्ने कम भाको छ यस लेखको मध्यमबाट लेखक लाई धन्यवाद !!!

    • ल प्रधान जी यस्तो छार्लान्गको लेखमा के प्रष्ट भएन र तपाईंलाई ?

  15. मेरा पनि किताब हरु हराएका छन् | यो लेख पढने हरुले बुझेर फरकाएर दिन्छंकी ?

  16. गज्जब…म पनि हराएको किताब वाट पिडित व्यक्ति हु..नेपाल वाट अमेरिया सम्म बोकेर ल्याएका कति किताब को-कसले झ्याप हान्यो कसरि भन्नु..अहिले पढ्न खोज्यो छैन !!
    ति सबैमा सब भन्दा दुख लाग्दो रवि शंकरको किताब हो..किताब त ठिकै थ्यो तर त्यसमा अमेरिकामा भेटिएका “जोनी लिभर ” को autograph लिएको थिए..एरपोर्टमा लिभरलाइ भेट्दा उनले प्रेम पुर्वक “सधै हासी रहनु” लेखेको पुस्तक एक डक्साबले झ्याप हाने..

  17. पडेर सकिसकेको पुस्तक लाई घर मा सजाउनु को कुनै अर्थ देखिन मैले त । ज्ञान त बँड्ने कुरो हो । म र मेरो साथी हरुले मेरैगाउँको सामुदयिक पुस्तकालय को लागि दिने गरेका छौ । हजुर हरु पनि कुनै पुरानो किताब दान दिन चाहनुहुन्छ भने यो ईमेल मा संपर्क गर्नु होला ।[email protected]

    धन्यवाद ।

  18. मेरा एकजना मित्रले भन्नु भएको मेरो दिमाग बाट हराएको शब्दहरु एक्कासी ताजा भएर फर्किए … “किताब माग्दा दिने मुर्ख हो र मागेर ल्याएर पढेर फिर्ता दिने मानिस महामुर्ख हो |”

  19. जुँगा चल्यो कुरो बुझियो!
    यो किताब खोजेर किनेर मागेर नभय चोरेरै भने पनि पढ्नुस भट्टराइ जी!
    यस्तो पढ्ने मान्छे रैछ तेत्राबिधि किताब हराय पछी त अब युधिर थापाको निलो चोली र जेम्स हेडली चेइज अनि बेद प्रकासको केके मात्रै बाकि होला भनेको त अझै सात सय वोटा किताब बाकि रहे छ!
    तेसैले तेत्र किताब त पढ्नु भयछ तर यो माथिको एउटा किताब नपडूनजेल मरे ज्ञान आउने छैन क्यारे! गीता भन्दा पनि उपल्लो र गहन यो किताब जसरि भयपनी पढ्नुस!

  20. मलाई त यो मुला को लेख कतिपनि मन परेन मित्र हरु……. कोहि मरिसके कोहि अमेरिका मा भाडा माज्दै छन् ……मतुवाली जस्ती दखिनी गुरुन्ग्सेनी भाउजु …..अमेरिका कति आनन्द र मस्ती को देस भनेर के भन्नु र येस्तालाई

  21. म अहिले नेपाल बाहिर बस्छु। मेरा वरपर धेरै डाक्टर साबहरू बस्नुहुन्छ। उहाँहरू नेपालबाट कसैले कुनै किताब ल्याएको चालपाए मागेर पढ्न खोज्नुहुन्छ। यतिसम्म त राम्रै हो। तर कुरा के भने फिर्ता चाहिँ ज्यान गए गर्नु हुन्न। एकजना विद्वानलाई मैले एकवर्ष अघि दिएको पुस्तक दुई पटक माँगेँ तर हुन्छ मात्र भनेर टारिदिनु भयो। मानिस पढेर डाक्टर उपाधि पाएर मात्र हुँदो रहेनछ। उनसमा विकाश हुनुपर्ने ज्ञानका तन्तुहरू विकाश भएका छैनन भने उसको ल्याकत सुध्रँदो रहेनछ। सायद यो विषयमा सार्वजनिक सन्चार माध्यमहरू लगायत समाचार पत्रहरूमा चर्चा हुनु जरूरी छ। नेपालमा किन अहिलेसम्म पुस्तकालयले व्यवसायिकता लिन नसकेको र पुस्तकालय साँच्चै ज्ञानको केन्द्र किन हुन नसकेको भन्ने कुरा स्वदेश भित्र चर्चा गरिएको माथिको लेखले छर्लाङ्ग पार्छ। अब हामीले चाहिए रगत दिन्छ तर किताब सापटी दिन्न भन्ने नारा लेखिएको गन्जी लगाएर हिँड्ने हो कि। अथवा किताव मागेर होइन किनेर पढौँ भन्ने अभियान चलाउनु पर्ने हो कि।

  22. किताब भन्ने बस्तु जुन सुकै प्रयोजनको लागि पनि सापटी दिने मान्छे मुर्ख हो, अनि पढेर फर्काउने झन् महामुर्ख ……… त्यसैले मा कसैलाई मेरो संग्रहित किताब दिन्न र कसै बाट लिए भने फिर्ता पौने आशा त्यागे हुन्छ मित्र हरु ………..अगे आफ्नो विचार

  23. आज सम्मको माइसंसारको लेखहरुमा सर्वोत्तम. थोरै भए पनि कमेन्ट न लेखि बस्न सकिन. अलि-अलि लेखकको बठ्याइले (शिर्षक त दामी राख्नुभो नि) र बाकी लेखको सान्दर्भिकता र प्रस्तुति ले, मेरो मन लाइ त घुप्लुक्क छोप्यो.

    बेनुपजी म पनी यो मामला मा तपाईं भन्दा धेरै पछी छैन. तपाइंको मर्म म राम्ररी बुझ्छु. यो लेख ले चाही थोरै भए पनि तपाईंको घाटा पूर्ति गरेको छ, किताबहरु नहराएको भए यति सुन्दर लेख आउने थिएन होला.

    साधुबाद, शुभकामना, र समबेदना.

  24. आउन्न . किताब गायब पार्नेहरु नेपालका नेताहरु जस्तै निर्लज्ज हुन्छन . यी लोभी पापी हरु बाट सत्कर्म को आशा कमै गर्दा राम्रो हुन्छ.

  25. मेरो म्याक्सिम गोर्की को आमा पुस्तक एक जना मित्रले लगेर फिर्ता गरेनन. किसोरवय मै पढेको त्यो किताबले मलाई मार्क्सवाद तिर धेरै आकर्सित गर्यो . ४ वर्ष अघि मार्क्सको द क्यापिटल एक जना कम्युनिस्ट भनौदा नातेदारले लगेर पचाई दिए. पुस्तक लगेर फिर्ता नगर्ने हरु लै आफै किन्ने बानि लागोस.

    • मेरो संसारको लेख पढ्दा बिचमा पर्ने गूगलका बिज्ञापनहरुमा click गर्ने बानी बसलौकी ????

  26. मेरो पनि यस्तै हालत छ हो ! लगभग २० जती पुस्तक मेरो पनि गायब छन् । र मेरोमा चै बी पी कोईरालाले प्रथम स्थान ओगटेका छन् । आफुले जुन ब्यक्तिलाई पुस्तक दिएको जस्तो लागेर सम्झेर सोध्यो, होईन्/छैन भन्छन् । केही राम्रा आईडिया छन् पुस्तक फिर्ता पाउने भने जानकारी पाम है । कस्ता सम्म छन् भने अर्काको पुस्तक लगेर मजाले आफ्नो दराज सजाएका हुन्छन् । अनि उल्टो शान झार्ने पनि गर्छन् ।

  27. किताबको लिष्ट देखेर त मेरो पनि हराएको किताब को लिष्ट त लामो पो हुने रहेछ | गोबिन्द भट्टराईको मुग्लान, सुकरातका पाइला, ध च गोतामेको घामका पाइला, आहुतिको नयाँ घर, म्याक्सिम गोर्कीको आमा, मेरा बाल्यकाल, मेरो बिश्वबिध्यालय र मान्छेहरुको माझमा, सरुभक्तको पागल बस्ति र तरुनी खेती, ध्रुब चन्द्र गौतमको अलिखित नारायण ढकालको प्रेत कल्प, डायमण्ड शमशेरको सेतो बाघ, शंकर लामिछानेको गौथलीको गुँड, पारिजातको शिरिषको फूल, कर्णाली ब्लुज, च्यात्न नसकेको चिट्ठी, अर्को जन्म, बादल पारीको देश, निलो चोली हाहाहा लामो पो हुने रैछ मेरो पनि हराएको किताब को लिष्ट

  28. आज २ ओटा श्रीसक हेरेर लेखको बारेमा गरेको अनुमान फेल खायो मेरो| यो लेखको श्रीसक देखेपछी मैले सोचे संग्रौला बुढाले पनि कतै बेपत्ता येस्तई केहि सुचिमा नाम लेखाएर खाएछन क्या हो सरकारी दानापानी भनेर| तर लेख त पुरै अर्कै पो रहेछा| लेख राम्रै छ तर, तर साहित्य भन्दापनि पढ्नुपर्ने पुस्तकहरु भनेर recommendation गरे जस्तो लाग्यो| लज्जा उपन्यासमा उपन्यास भनेर समाचारहरुको रिपोर्टिंग को कलेक्शन जस्तो| अनि अर्को समाचार “विश्वको नासो लुम्बिनी” श्रीसकमा कनकमणि दीक्षितजी नागरिकमा लेक्नु भएको| श्रीसक हेरेर सोचे, माओबादी वा प्रचण्डको बारेमा छुद्रकुरा नगरिकारी पनि इनको खाना पच्दो रहेछा त| लेख पढेको के हुन्थ्यो, उही कचकच, उही तुष पो रहेछ| नेपालमा कुनै निकाए छैन यी कथित मानबअधिकारबादीहरुलाई कन्ट्रोल गर्ने? हरेक कुरामा बखेडा झिकेको छ, हुदा हुदा अब बान कि मुन आउने कार्येक्रम पनि बिथोल्न खोजेछां, सालाहरु एउटा व्यक्तिको डाहाले राष्ट्रिय महत्वोको कुरो हरुमा बखेडा झिकी बस्छन|

  29. धेरै राम्रोलाग्यो बेनुपजी
    तपाइको किताब मोह मा सहभागी हुन चाहन्छु तपाई ले मैल गर्न सक्नुहुन्छ मलाई
    धन्य बाद
    अमृत
    हाल अमेरिका

  30. लेख सान्दर्भिक छ तर लेखक मित्रले गुरुङ लाई मतवाली भन्नु भएछ माफ गर्नोस गुरुङ, राई, लिम्बुहरु मतवाली हैनन् मंगोल हुन्, मतवाली जसलाई भनिन्छ जो धेरै मत मदिरा खान्छ, तर आजभोली त ब्राम्हण क्षेत्री भन्नेले पनि स्वाट्ट पार्दै हिडेकै छन्, तसर्थ यो मतवाली भन्ने सब्द कुनै जात बिशेषको नाम नभएर यो मान्छेको चरित्र र आदतको परिचय हो । पहिले मंगोलहरु बादी पिउथे र मतवाली भने पनि आज यो परिचय फेरिएको छ यो कुरा लेखक मित्रलाई हामीले भन्न नपर्ला कि, किनकि पुर्बी ईलाम जो मंगोलहरुकै बाहुल्य रहेको जिल्ला हो ।

  31. किताब किनेर पढ्ने बानी बसाल्नु पर्यो साथी हरु! कति त किताब मात्र हैन डी.भी.डी. ,सी.डी. पनि लगेर नफर्काउने साथीहरुको नाम लिस्ट लामै छ | बेनुप भट्टराईको लेखहरु थुप्रै पढें सबै समय सान्दर्भिक छन्! खगेन्द्र संग्रौला सरको त कुरा नै नगरौं! उहाँ मेरो नाता पनि पर्नु हुन्छ! उहाँको लेखमा दम छ, भाषामा चिप्लोपना छैन; निर्भिक लेखकको रुपमा म उहाँलाइ सधै सम्मान गर्दछु ! सायद चिप्लो दल्न जान्ने भए उहाँ धेरै ठुलो पोस्ट तिर पनि पुगी सक्नु हुन्थ्यो होला! तर मलाई लाग्छ, उहाँ जे हुनुहुन्छ यसैमा पूर्ण सन्तुष्ठ हुनुहुन्छ!

  32. लेख रमाइलो अनि यथार्थ परक छ, साच्चै भन्नु पर्दा मेरो पनि २ दर्जन जति पुस्तकहरु ऐलेसम्म फिर्ता आएका नै छैनन्, लेख पढे पछि माग्ने जाँगर नै मर्यो

  33. मेरो पनि एस्तै समस्याले गर्दा २ महिना अघि नेपाल जाँदा स्टाम्प बनाएर लेराएर अहिले track गर्ने गरेको छु कि किताबहरु नपाएपनि बेनुप जी ले जसरि पशुपतिको जंगलमा जान नपरोस लैजानेको नाम लिस्ट बनाउनको लागि भनेर।

  34. nice article that depicts the fact prevalent in our society…I am not a big reader as you, but I have faced the same problem many times….

  35. लेख मलाई चै मन पर्यो म पनि एक किताब प्रेमी नै हो|मेरो पनि एक हितैसी ले भोलि नै फिर्ता गर्छु भनि लागेको जगदिस घिमिरे को [अन्तर मन को यात्रा] आज सम्म बेप्प्ता छ | किशोर तिवारी [अन्जान] झापा हाल मलेसिया

  36. भाई, लिंक दिनु भएको मा धन्यबाद. सुरु सुरु मा पड्दै जादा अलि अलि अल्छि लाग्दै थियो तर जति पड्दै गए उति रस विज्दै गयो. अनि सकिने बेला सम्म त अझै लामै भै दिए हुन्थ्यो जस्तो पनि लग्यो. धेरै पटक आफै सम्झिन थाले कतै म आफै पात्र त भएको छुइन ? ढुक्क भए मैले त्यो अवसर नै पाएको रहेनछु, तर मैले पनि पद्द्दा पड्दै मेरो पुस्तक लैजाने र नफर्काउने धेरै मित्रहरु लै सम्झिए. अब म पनि ति सबै लाई यो लेख उपहार पठाईदिनु पर्यो कतै मेरो पनि पुस्तक फर्किन्छ कि ? सान्दर्विक लेख को लागि धन्यवाद .

  37. वाह, भट्टराई जी, धेरैले भोगेको तर तपाइले पोखेको…. लेख अति राम्रो लाग्यो. मेरो त text बुक सुद्ध हजम गरे साथि भनाउदाहरुले, cassette र cd हजम गर्ने हरु पनि कम छैनन. लेख राम्रो लाग्यो धन्यबाद.
    दुर्गा virginia

  38. धन्न तपाइको किताप पो हराएछ म त् लेखक खंगेंद्र संग्रौला नै पो हराएछ भन्ठानेको!!

  39. बेनुप जी धन्यबाद छ तपाइलाई कति किताबहरुको नाम थाहा भय पनि लेखकको नाम बिर्सियको थिए मैले सम्झाई दिनु भयकोमा…… म अर्को कुरामा पनि साह्रै खुसि भय तपाई र मेरो मन पर्ने एउटै लेखक “लय संग्रौला” रहेछन! तर म संग जो किताब छन् तिनीहरुको लिस्ट पनि छैन हरायका को त के कुरा गर्ने र………… जे होस् राम्रो कलम चलाउनेहुदो रहेछ शुभकामना छ तपाईलाई!!!!!!!

    • लय संग्रौला हैन खगेन्द्र संग्रौला. लय संग्रौला त नेपाली कलाकार हुन् .

    • [लय संग्रौला] होइन होला भट्टराई सर एक पल्ट पुन लेख पढेर प्रतिक्रिया लेख्ने कि ? मेरो विचार मा त बेनुप जी को लेख ले खगेन्द्र संग्रौला को बारे मा पो कलम चलाको जस्तो लग्यो त ? किशोर तिवारी [अन्जान]

  40. लेख राम्रो छ आफु पैसा खर्च नगर्ने अरु ले किनेको किताब पदन रुचाउने धेरै हुन्छन / तर मैले लेखेको कमेन्ट छापिन्दैन किन हो थाहा छैन ? कि सेन्सर वालालाई घुस खुवानु पर्ने हो कि ?

  41. मा संग छन् तिम्रा दुइटा किताब | ती त लेख्या रहेनछौ | अब ती पनि पाउन्नौ | खुच्चिंग

Comments are closed.