कथा यात्रा : भाग १

कथा यात्रा माइसंसारको एउटा नयाँ प्रयोग हो। तपाईँहरुको साथ पाए यसले यात्रा अघि बढाउनेछ, नपाए पहिलो यात्रामा नै पूर्णविराम लाग्नेछ। खासमा पाठकहरुको सहभागितामा कथा लेखनको प्रयोग हो यो। यसमा एउटा कथा राखिनेछ र जुन बिन्दुमा कथाकारले त्यसलाई टुङ्ग्याएका हुन्छन्, अर्को पाठकले त्यही बिन्दूबाट सुरु गरेर अर्को कथा लेख्‍नुपर्नेछ। उसले टुङ्ग्याएको बिन्दुबाट अर्को हप्‍ता फेरि अर्कै पाठकले कथालाई सुरु गर्नेछन्। एवंरितले धारावाहिक रुपमा हरेक हप्ता यो चल्दै जानेछ। के थाहा, सबैभन्दा धेरै लेखकले लेखेको कथाको कीर्तिमानै पो बन्ने हो कि यो 🙂 तर त्यसका लागि चाहिन्छ सिर्जनात्मक दिमाग भएका पाठकहरुको, जसले यो यात्रालाई हरेक हप्ता अघि बढाउनु पर्नेछ। यस पटकका लागि यहाँ एउटा कथा राखिएको छ सुषमा मानन्धरको। उनले कथा टुङ्ग्याएको ठाउँबाट उही पात्रका साथ नयाँ पात्रहरु समावेश गरी वा नगरी नयाँ कथा सुरु गर्नुपर्नेछ कमेन्टमार्फत्।

 

नियमहरु-
-एउटा हप्ता जसले कथा लेखेको छ, उसैले अर्को हप्ताका लागि कथा लेख्‍न पाउँदैन।
-धेरैले कथा लेखेमा पाठकको मतले कथा छानिनेछ। बिहीबार राति ८ बजेसम्म जसको कथाले बढी मत पाउँछ, उसको कथा अर्को हप्ताका लागि छानिनेछ।
-पाठकको मतमा नेगेटिभ भोटिङले पनि अर्थ राख्‍नेछ। कसैको कथामा ५० हरियो र २५ रातो मत भयो भने उसको कूल मत २५ मात्रै गनिनेछ। तसर्थ कसैले २६ हरियो र सून्य रातो मत पायो भने उसको कथा छानिनेछ। 
-कथा यति नै लामो हुनुपर्छ भन्ने छैन। तर सर्सर्ती पढ्दा त्यसले कथाको रुप लेओस्, लघुकथाको हैन।

यो हप्ताका लागि कथा
शुषमा मानन्धर

विदा शुरु भैसकेको थियो। परीक्षाअघि लाइब्रेरीवाट ल्याएको किताब बुझाउन कलेज जानु थियो। त्यसैले साथीको प्रतिक्षा गर्दै म घर बाहिर उसैलाई कुरिरहेकी थिएँ। विपरित दिशाबाट गाडीमा आउँदै गरेका उनी म उभिएको ठाउँनिर एकै छिन रोकिएका थिए। उनको खिरिलो व्यक्तित्व, नशालु आँखा र परफ्युमको कडा बास्नाको सम्मोहनमा बाँधिएर म पनि उनीतिर हेर्‍याहेर्‍यै भएँ। पछाडि आएको गाडीको हर्नले नबिथोलेको भए हामीवीचको त्यो हेराहेर निकै बेर लम्बिन्थ्यो। अगाडि बढुन्जेल पनि गाडीको साइड मिरर मिलाउँदै उनले मलाई हेर्न छाडेका थिएनन्। साथी आइपुगेपछि मैले उसलाई पनि यो घटना सुनाएँ। ऊ अलिकति ईर्ष्यालु देखिई। “भर्खरै गएको रातो कारवाला हो? मैले टाढैवाट देखेकी थिएँ। त्यो सम्राट हुनु पर्छ। तिमीलाई थाहा छ? ऊ त यहाँ बिहेकै लागि मात्र आएका रे नि।” ओहो,त्यसो भए उनको नाम सम्राट रहेछ। खासै चासो नराखेकीले होला,मलाई भने त्यति थाहा थिएन। “तिमीले ख्याल गरेकी छौ कि छैनौ,कस्तो ह्यान्डसम देखिन्छ ऊ! मलाई त साह्रै मनपर्यो। ” मानौं आफूले मन पराउने बित्तिकै आफूलाई पनि मन पराइने कुरामा उसलाई कुनै शंका नै थिएन। उनको बारेमा बयान गरिरहँदा साथीको आँखामा एउटा आशलाग्दो उत्सुकताका इन्द्रेणी झलमल्ल टल्केको देखेकी थिएँ। आखिर यिनको पनि त बिहे भएको छैन,अविवाहित केटीले यसरी कामना गर्नु कुनै अनुचित पनि थिएन।

हालै मात्र बिदेशबाट फर्किएका उनी टोल छिमेकतिर अहिले निकै चर्चाको विषय बनेका छन्। धनी परिवारको इन्जिनीयरीङ्ग गर्दै गरेका एक्लो सुदर्शन छोरोको बारेमा घरघरै प्रसङ्ग चल्नु स्वाभाविकै थियो। उसमाथि बिहे गर्नकै लागि मात्र भनी यहाँ आएका भन्ने गाइँगुइँ चल्न थालेपछि त हाम्रो टोलमा हरेक परिवारलाई आफ्नो घरमा जवान चेली छन् थाहा दिने होडै चलेको छ।

पहिले पनि उनलाई मैले नदेखेकी भने हैन। जहाँसम्म सम्झना छ, त्यो बेला उनको नाम सम्राट थिएन। हुनसक्छ उनले यो नाम पछि मात्र राखेका हुन् वा उनको वास्तविक नाम त्यो बेला मलाई थाहा नभएको पनि हुन सक्छ। सानैदेखि राजधानीको स्कूलमा बोडर्स गरी पढेका उनी बेलाबेलामा घर आइरहन्थे। हाम्रो टोलमा सम्पन्न परिवारका छोराछोरीहरुको छुट्टै जमात थियो जहाँसम्म पुग्ने सपना पनि हामी देख्दैनथ्यौं। विदामा केही दिन घर आउँदा उनी त्यही सीमित संसारमा रमाएर फर्कन्थे। हामी मध्यमवर्गीय परीवारका केटाकटीहरु उनको ठाँटिलो रवाफ देखेर ईर्ष्या गर्थ्यौं र हामीहरु पनि उनको मित्रमण्डलीभित्र समावेश हुन पाए हुन्थ्यो भन्ने हाम्रो भित्री चाहना चैं हुन्थ्यो। त्यो ताका टोलका केही साथीहरु बाहेक अन्यसँग उनको खासै हिमचिम थिएन। पछि सुनें,स्कूल सकेर उनी बाहिर पढ्न गए।

अहिले उनको कुरै अर्को छ। घर आएदेखि सानो ठूलो जो कोहीसँग पनि भेट्दा बोलिरहेका छन्। मान्छेहरु उनको वारेमा अनेक कुरा गर्छन्। चर्चा परिचर्चाका वीचमा उनको वारेमा कुनै कुनै अपत्यारिला कुराहरु नसुनिएका पनि हैनन्। राम्रो भन्दा नराम्रो कुरा खोतली हिँड्ने त मान्छेको बानी नै हो। बाटो हिँड्दा एकदुई पल्ट मैले पनि देखेकी छु उनलाई। अरुले कुरा गरे भन्दा उन्नाइस लाग्दैनन्। जेल हाली मास्तिर फर्काएर चिटिक्क कोरिएको कपालमा उनी झट्ट हेर्दा पुरानो हिन्दी सिनेमाको कुनै नायक जस्तो देखिन्छन्। अग्लो जिउ र चाक्लो छाती,वैभवशाली परिवार र अकुत सम्पति ,कुनै पनि युवतीलाई आकर्षित गर्न प्रशस्तै हुन्छ। यति आकर्षक व्यक्तित्व भएकोलाई बिहे गर्न केटीको के अभाव हुन्थ्यो र? उसमाथि अहिले त हाम्रै समाज पनि धेरै व्यँंुतिसकेको छ, बिदेशबाट पढाइको डिग्रीसँगै बिदेशी जीवनसाथी साथै ल्याउनेहरु पनि धेरै भैसके। केही समयअघि छिमेकतिर बद्रिदाइको छोरोले पढाइ सकाइ आफूसँग फिलीपिनो दुलही पनि ल्याएको थियो। यस्तो बेला, उनको भने बिहेकै लागि स्वदेश फिराइलाई, आफ्नो संस्कारप्रतिको अगाध माया भन्ने हो वा परिवारको करकाप वा अन्य कुनै कारण, बुझ्न सकेकी छैन।

त्यो दिनदेखि मेरा साथीहरु माझ गफको एउटा नयाँ विषय शुरु भयो। सम्राटको घर परिवार, इच्छा अनिच्छा, रुचि, उनका साथीहरुको बारेमा मानौं यिनीहरुले शोध गरेर अभिलेखै राख्न थालेका छन्। “चाहिने कुरामा पो समय फाल्ने,” म कत्ति सम्झाउँछु उनीहरुलाई। “किन तिमीलाई चैं विहे गर्न मन छैन जस्तो छ नि … त्यो पनि सम्राटसँग?” साथीहरु उडाउँदै उल्लीबिल्ली गर्न थालिहाल्थे। सम्राट! सम्राट! सम्राट! उनीहरुका दिनचर्या र उनीहरुले जप्ने नाम सुन्दा उनीहरुको दिमागमा सम्राट भन्दा अरु केही र कोही अटाउन सकेको जस्तो लाग्दैन। कतिपयले त सम्राटको दुलही बन्न पाए के के चढाउँछु भन्ने भाकल पनि गर्न थालिसके।

आफ्नै घरको परिस्थिति पनि बाहिरको भन्दा त्यति फरक थिएन। घरमा पनि हरेक दिन भने जस्तो सम्राटको प्रसङ्ग चल्थ्यो। उनको लवाइ, खवाइ,बोली व्यवहार र उनको रुपरङ्गको कुनै न कुनै बहानामा तारीफ नगरिएको दिनै हुँदैनथ्यो। “ सुन्नुस् न,विदुरजीका छोरा कस्तो लायकका हगी? सांँची! सम्राट विहे गर्न मात्र यता आएको भन्छन्,हो र? यता बाउआमा मात्र,अनि यत्तिका सम्पति के गर्छन हँ ं?” आमालाई साह्रै पीर परेछ कि कुन्नि,निकै चासो लिंदै बुवालाई सोध्नु भयो। “खै के गर्लान्? ”बुवा पत्रिका पढ्दै हुनु हुन्थ्यो। टार्ने हिसाबले वहाँले भन्नु भयो। “रेणुकी ममीले भन्दै थिई,अव आउने हप्ता लाउने पूजामा सम्राटको परिवारलाई पनि निम्त्याउने रे। म त भ्याउंँदिन सवै जिम्मा छोरीलाई दिएकी छु,भन्दै थिई। कम्ति चलाख छे! छोरीलाई अगाडि लाएर देखाउन खोजेकी न हो। हामीले पनि समय मिलाएर सम्राटको घर जानु पर्छ है। भेटघाट गर्न गए जस्तो पनि हुन्छ, कुरा बढाउन पनि सजिलो हुन्छ। अरुका मात्र हो र? हाम्री पनि छोरी ठूली भैसकी भन्ने कुरा तपाईलाई थाहा छ कि छैन? ” आमाले अलि सानो स्वरमा यसो भन्दा मतिर पुलुक्क हेर्नु भयो। मैले नसुने झैं झयालबाहिर हेरिबसें। “हेरौंला नि। ” बुवाले कुरा टुंग्याउनु भयो।

एउटै टोल भएको हुँदा बाहिर निस्कंदा सम्राटसंग कतै न कतै जम्काभेट भैरहन्थ्यो। कहिले बाइक, कहिले गाडी र कहिले हिंडेर उनी आफ्नो साथीहरुको माझ आफ्नो ऐश्वर्यको प्रदर्शन गरिरहेका हुन्थे। जब जब पनि उनीसँग सामना हुन्थ्यो,उनको व्यक्तित्वको आकर्षणबाट बच्न मलाई पनि हम्मे हम्मे पर्थ्यो। उनी जस्तो जीवनसाथी पाउनु कुनै पनि केटीको लागि अहोभाग्य हुन सक्छ तर यो कुरा अझसम्म पनि गर्भमै थियो कि सम्राटकी साम्राज्ञी हुने सौभाग्य हामीमध्ये कसैले पाउने हो वा उसले अरु कोही नै रोजिसकेको थियो।

सुन्थें, पारिवारिक स्तरवाट पनि उनको लागि बिहेका थुप्रै प्रस्तावहरु आएका छन्। आ–आफ्ना चीरपरिचितहरु मार्फत् कुरा पुर्‍याउनेहरुको पनि कमी नहोला। उनको दुलहीको कुनै टुंगो लागिनसकेको हुँदा हाम्रो टोलमा उम्मेदवारीमा बसेका परिवारले आशा मारीहाल्ने स्थिति कसैको थिएन। आमा चाहनु हुन्थ्यो कसै न कसै गरी सम्राटसँग मेरो कुरा मिलोस्। “ तेरो बिहेको कुरा मिलेको भए,भाइको पनि त्यति चिन्ता हुँदैनथ्यो। ” वहाँ अक्सर खुइ्यय सुस्केरा हाल्दै भन्नु हुन्थ्यो।

एक टन्टलापुर गर्मीको दिउँसो घर फर्कन बाटोमा टेम्पो कुर्दै थिएँ। हतारमा छातासम्म पनि नबोकेकी मेरो के हविगत भयो होला त्यो म मात्र जान्दछु। पानीको प्यास र धुँवा धुलोको असरले टाउको दुखाइ, व्यथै यतिबेला निस्केछु भन्ने लागेर आफूमाथि नै थकथक लाग्न थाल्यो। आमाले त “ आज नजा ” भन्दै हुनुहुन्थ्यो। कोही परिचित त्यही बाटो भएर आइहाल्छन् कि भन्ने आशाले म टाढा टाढासम्म पनि आँखा दौडाइरहेकी थिएँ। नभन्दै सम्राटको कार मेरो छेउबाटै गयो। उनले मलाई देखे या देखेनन् वा देखेर पनि बेवास्तामा अगाडि गएका हुन्,भन्न सकिँन। उनले मलाई देख्दा देख्दै पनि बेवास्ता गरेका हुन् भन्ने कुरा मेरो मनले स्वीकार्न सकिरहेकै थिएन। उनको यसरी मेरै सामुबाट जानु पनि यथार्थ नै थियो र यही कुराले मेरो नारी सुलभ स्वाभिमान्लाई ठेस पुर्‍याएको थियो। तर्कनै तर्कनामा अगाडि आएको अर्को टेम्पो पनि छुट्यो। हताश,तिरस्कार र थकानले रातोपिरो हुँदै आइन्दा त्यो सम्राटले जुनसुकै प्रस्ताव राखे पनि ठाडै अस्वीकार गर्छु भन्ने सोच्दै थिएँ, साइडमा हर्न बजेर झसङ्ग भएँ। सम्राट थियो,कारमा बस्न मलाई आमन्त्रण गर्दै। मेरो रीस गर्मीमा बाफ उडेसरी उड्यो। जाउँ या नजाउँको दोसाँधमा परेँ तर भर्खरै आफूले पाएको अपमानको अनुभूति हुने वित्तिकै ममा कठोरता देखापर्‍यो, “हैन,भै हाल्यो। ” सम्राट गैसकेको थियो। भीडभाड भरिएको गाडीमा कोचिएर घर ढिला पुगेँ। आमा ढोकैमा कुरिरहनु भएको थियो। भित्र पस्न पाएकी थिइनँ,वहाँले सुनाउनु भयो, “अघि रेणु आएकी थिई। भोलि पूजाको प्रसाद लिन बेलैमा आइपुग्नु भनेकी छ। ” मैले नबोलेपछि वहाँले थप्नु भयो। “सम्राटका परिवारलाई पनि चुल्है निम्ता छ रे। ” वहाँले मवाट कुनै प्रतिक्रियाको आशा गर्नु भएको थियो शायद। “होला। ” म वहाँबाट फुत्किन आफ्नो कोठामा छिरिहालें।

भोलिपल्ट रेणुको घर पुग्दा खुराफाती साथीहरुको मण्डली पहिले नै हाजिर भैसकेको थियो। एकभन्दा एक बनेर ,सबैको आकर्षणको केन्द्र बन्ने धूनमा साथीहरुले आफूलाई निकै पोतेका थिए। उनीहरु भन्दा फरक र केही फिका पनि महशुश गरें आफूलाई। पूजाको प्रसाद ग्रहण मात्र नभै अरु केही आयोजना गरिएको भए म आउँदिनथें। उपस्थित मध्ये धेरैलाई सम्राट र उनको परिवारको प्रतिक्षा थियो भन्ने बुझिन्थ्यो किनकी धेरैले उनीहरुकै सोधीखोजी गरिरहेका थिए। सम्राटका बुवाआमा पहिले आए। सम्राट निकै पछि आयो। त्यसपछि त रेणुको घरमा मानौं बिहे घर झैं चहलपहल भयो। पाहुनाहरुको रेखदेख गर्ने जिम्मा रेणुको भए पनि ऊ सिर्फ सम्राट र उनको परिवारको वरिपरि मात्र झुम्मिरहेकी थिई। अपेक्षाकृत उनीहरु धेरैवेर बसेनन्,अरु एक दुई ठाउँमा पनि जानु छ भन्दै थिए। जानेबेलामा सम्राट र मेरो आँखा जुधेको थियो। ती नशालु आँखाहरु ममा केही खोजिरहेका थिए। मलाई उनी साँची राम्रा लाग्छन् या लाग्दैनन्,खुद मसँग यसको इमान्दार जवाफ थिएन तर उनको सामु उनको व्यक्तित्वले मलाई मात्र हैन कसैलाई पनि सम्मोहित गर्ने कुरालाई नकार्न भने सक्दिन।

काम विशेषले एक्लै बाहिर निस्कँदा कैलेकाहीँ सम्राट भेटिए पनि हुँदो हो जस्तो लाग्छ। यसको अर्थ मेरो उनीसँग प्रेम बसिहालेको पनि हैन। पढाइ सकेर मात्र बिहे गर्छु भन्ने सोच बनाएकी मैले, अहिले आएर सोच्न थालेकी छु यदि राम्रो घरबर मिलेमा पढाइ र पाँच वर्ष नै किन कुर्नु पर्‍यो? जबदेखि यसरी सोच्न थालें, बाटामा कतै सम्राट भेटिए, निर्लिप्त बस्नुभन्दा मुस्काउन थालें। उनले बोल्न खोज्दा सहज हाँसेर बोल्थें। हरेक पटक उनले मसँग बोल्दा उनको हेराइमा गहिरो अभिरुचि हुन्थ्यो। कुरा गर्दा पनि उनका तीक्ष्ण काला आँखाहरु मलाई भेदिरहेका हुन्थे। कहिलेकाहीँ त उनका दृष्टिले आफूलाई विवस्त्र बनाएको झैं महशुश भएर जिउ सिरिङ्ग हुन्थ्यो। सम्राटको आँखामा नशा थियो वा नशाभित्र सम्राट डुबेका थिए,यति छोटो समयमा बुझिहाल्न नसकेको भए पनि उनको सामिप्यमा एक खाले मात चढ्थ्यो। यो मात सम्पति वा तडकभडक देखेर वा उमेरमा हुने आकर्षण थियो,यिनलाई विश्लेषण गर्नसक्ने उमेर मेरो भैसकेको थिएन।

दुईचार पटक उनले मसँग कतै घुम्न जाने प्रस्ताव राखि सके। यो जमानामा त्यसरी घुम्न जानु कुनै अस्वाभाविक र अनौठो कुरा थिएन झन् उसमाथि सम्राटले यसरी निकटता चाहनुमा बिहेको लागि अझ बढी बुझ्न पनि हुन सक्थ्यो। उनको दृष्टि र सामिप्यमा मलाई भने हमेशा एक किसिमको डर लागिरहन्थ्यो। त्यसैले उनको प्रस्तावलाई कुनै न कुनै बहानामा टारिरहेको थिएँ।

टोलका अनि एउटै कलेजमा सँगै पढ्ने मेरा केही साथीहरु म भन्दा फरक थिए। सम्राटको सामिप्य कसरी बढीभन्दा बढी प्राप्त गर्न सकिन्छ भन्ने मौकाको प्रतिक्षामा रहने उनीहरु,एक आपसमा कुरा गर्दा पनि सम्राटको प्रसङ्गवाट थाल्थे। “आज सम्राटले मलाई फोन गरेको थियो”, “मलाई ब्युटी पार्लरसम्म जान लिफ्ट दिएको थियो ” … … अनि लन्च,गिफ्ट जस्ता यी कुराहरु एक अर्कालाई सुनाएर आफू दोस्रोभन्दा विशेष नै रहेको देखाउने प्रयासमा आफ्नो महत्वलाई झारिरहेका कुरा यिनीहरुले कहिले बुझने हुन्? सम्राटले यिनीहरु सवैसँग पनि उत्तिकै मित्रता गाँसिसकेका थिए। केटीहरुसँग पनि हाँसेर धाप मार्दै कुरा गर्नु र सहज टाँसिनु उनको लागि केही थिएन। म सोच्थें शायद यो सम्पन्नहरुको अत्याधुनिकता हो। घरमा र हाम्रो परिवारमा कोही यसो गदैनन् , त्यसैले यस्ता दृश्य पचाउन मलाई अलि गाह्रै पर्थ्यो।

दुई दिन अघि लाइबे्ररीमा किताब लिन जाँदा त्यहाँ एक कुनामा गीता र रेणु आपसमा खासखुस गर्दै थिए। मलाई देख्ने वित्तिकै उनीहरुको गफ टुंगियो तर उनीहरुको अनुहारमा पोखिएको हाँसोका छिटाहरु अझै बाँकी थिए, सोधेँ,“के हो,नखरमाउलीहरु लाइब्रेरीमा के गफ गर्दै?” “हेर न,रेणुले भनेकी , सम्राट साह्रै छिल्लिन्छ रे। म चैं सवै कुरा बताउँछु तर ऊ बताउँदै बताउँदिन। ” गीताले हाँसो सकेसम्म दबाउँदै भनी। म केही नबोली किताब लिएर फर्कें। सम्राटको छिल्लिनुको हद,कसैलाई सामान्य लाग्न सक्ला,कसैको निम्ति पराकाष्ठा हुन सक्छ। मनभित्र विरोधी विचारहरुको युध्द,भावना र विवेकको द्वन्द्वमा निर्णय गर्न साहै्र गाह्रो हुँदोरैछ।

उदेक लागिरहेको थियो। कमला भाउजु आउनु भयो। घरमा आमा हुनु हुन्नथ्यो। “भाउजु, दाइ फर्किने कहिले त? ” मैले वहाँको हातमा चिया थमाएँ। कामको सिलसिलामा इन्डिया जानु भएको शंकरदाइ निकै वर्ष भयो क्यारे घर नफिर्नु भएको। “छिटै आउनु हुन्छ। सन्चो छैन भन्दै हुनुहुन्थ्यो। ” वहाँमा लोग्ने फर्किने खुशी पनि थियो र बिसन्चोको कुरा गर्दा चिन्तित पनि देखिनु हुन्थ्यो। “यतै बसेर राम्रो हेरचाह गर्नुस् अब,जाति भै हाल्नु हुन्छ नि,किन पीर गर्नु हुन्छ?” कमला भाउजु,केही वर्षदेखि दुखजिलो गरी बुढी सासु,बच्चाबच्ची,घरबारी धानी रहनु भएको छ। कति इच्छाहरु मार्नु भएको होला। मनमनै सोचें,जे होस्,अब दाइ आउनु भएपछि वहाँलाई धेरै सघाउ पुग्नेछ। कमला भाउजु पछि आउँछु भनी निस्कनु भयो।

राती आमा बुवा सम्राटकै वारेमा कुरा गर्दै हुनुहुन्थ्यो। बिदामा बिहेकै कुराको लागि मात्र भनी घर आएको छोरोको यसवारेमा कुनै सुरसार नै नदेखेर उनका आमाबुवालाई पनि निकै चिन्ता पर्नु स्वाभाविकै थियो। यसपालि जसरी भए पनि कुरा छिन्न पाए हुन्थ्यो भन्ने वहाँहरुको चाहना रहेछ। त्यसो त वहाँहरुलाई चित्त बुझेको परिवार र मन खाएका दुइचार केटीहरु पनि रहेछन्। आफैले त्यो निर्णय गर्न सक्ने भए पनि एक्लो पुल्पुल्याइएको छोरोको इच्छा र जिन्दगीभरिको कुरा भएकोले सम्राटमाथि निर्णय नलादिएको रहेछ। धेरै फोटो र देखाइएका केटीहरुमा खोट निकाली रहने सम्राटले आफूलाई कस्तो दुलही चाहेको रहेछ भन्ने कुरामा आमा अनुमान गर्दै आफ्नै तर्क दिँदै हुनु हुन्थ्यो। बुवाले भने कुनै बहस नगरी खाली सुनिरहनु भयो। “स्वर्गकी अप्सरा नै खोजेको रहेछ कि क्या हो,सम्राटले? ” आमा फत्फताउन थाल्नु भयो। “तपाईले हाम्रो पनि कुरा राख्नु भएको छैन? ” आमाको सोधाइमा बुवाले भन्नुभयो , “संकेत दिएको छु। सहदेवले पनि यसवारेमा कुरा गर्छु भनेका छन्। ” सहदेव अंकल,सम्राटका मामा पर्थे। वहाँहरु निकैबेरसम्म पनि कुरा गरिरहनु भयो। पछि पछि मधुरो स्वरमा कुरा गर्न थाल्नु भएकोले कोठावाट गुन्गुनाहट सिवाय केही आएन।
कलेजमा व्यस्त हुन थालेकीले अब सम्राटको जादु केही घट्न थालेकोथ्यो। पढाइको चिन्ता र खोज खबर नलिने आफ्नो बानीले उनको वारेमा त्यति जानकारी राख्न सकिँन। कलेज आउने जाने क्रममा यदाकदा उनलाई देख्थेँ तर उनको साथमा कारमा हमेशा कोही न कोही हुन्थ्यो नै। कुनैबेला आँखा जुध्दा उनी बोल्न खोज्थे,म हतार हतार पिछा छुडाइ भागीहाल्थें। कलेजवाट फर्किने क्रममा अस्ति कमला भाउजुलाई देख्दा चिन्नै मुश्किल पर्‍यो। अनिँदा आँखा र दुब्लाएर चाउरी परेका अनुहारमा अत्ाालिएर दौडँदै हुनु हुन्थ्यो। बाटोमा कुरा गर्न पनि भ्याउनु भएन।
त्यत्तिकै वहाँको हालखबर लिन वहाँको घर पुग्दा ढोकामा ताला मारिएको थियो। छरछिमेकीले शंकर दाइलाई अस्पताल लगिएको बताए। केही दिनपछि वहाँ बित्नु भयो। आमाले पनि कमला भाउजुको पीडामा साह्रै चित्त दुखाउनु भयो, “ बिचरी! के गर्नु भाग्य नै त्यस्तो। लोग्नेलाई पहिलेदेखि नै एडस् भएको आफैले थाहा नपाएका रहेछन्। साना केटाकेटीको पो बिल्लिबाठ, हरे शिव! ”

शंकर दाइको मृत्युले भन्दा पनि कमला भाउजुको असामयिक वैधव्यले निकै छोयो। त्यो रातभरी राम्रो निदाउन सकिँन। मनमा खेल्ने अनेक तर्कनाहरुले अनेक आशंका जन्माउँथे। त्यो आशंकाको जड सम्राटसम्म पनि पुग्थ्यो। साथीहरु पनि अचेल उनको बारेमा खासै कुरा गर्दैनन्। आफ्नो लागि नजुरेका भनेर आश मारेका हुन् वा आफ्ना कुराहरु मसँग शेयर नगरेका हुन्,त्यो उनीहरु नै जानुन्। एउटा कुरा चैं अप्रत्यासित भयो। सम्राटका आमाबुवालाई एक्कासी आफ्नो घरमा देख्दा आमा तीन छक्कै पर्नु भयो। मसँग पनि केही बेर कुरा गरेर वहाँहरु जानु भएपछि आमाबुवा आफ्नो कोठामा निकैबेर छलफल गरिरहनु भयो। त्यो रात आमालाई मैले निकै खुशी देखँ।

भोलिपल्ट साथीहरु भेला गरी यो कुरा सुनाएँ। उनीहरु खुशी भन्दा बढी ईर्ष्यालु देखिए। जलेरै भए पनि उनीहरुले बधाइ दिए। रेणुको त्यो बेला कुनै प्रतिक्रिया आएन तर त्यही दिन साँझ ऊ मलाई भेट्न आई। “ हैन,सम्राटले साँची तँसँग बिहेको कुरा चलाएको हो?” उसलाई यसमा विस्वासै लागिरहेको थिएन। मैले सवै कुरा दुरुस्त सुनाए पछि उसले कुरा फुत्काई, “सम्राटले मसँग बिहे गर्छु भन्थ्यो। त्यही भएर दुइचार पटक ऊसँग घुम्न पनि गैसकें। ” भाँचिएको मन लिएर ऊ फर्की। सम्राटको आफूसँग चल्न लागेको कुरामा मलाई हर्ष वा विस्मात् केही लागिरहेको थिएन। आमाले मुख फोर्नुभो, “सम्राटकी आमाले तेरो हात माग्नु भएको छ। अरु पनि राम्रा परिवारहरु थिए रे तर सम्राटले तँलाई नै रोजेछ। छोराको खुशीको लागि यसपालि टिकाटालो पक्का गरिराख्ने भनेका छन्। ” मैले कुनै जवाफ फर्काइनँ। सम्राटसँग सम्पर्क राखेँ र भेट्न खोजेँ। उनी उत्निखेरै आइपुगे। क्याफेको एउटा कुनामा बसी उनीसँग मनमा लागेका आशंकाहरु सवै सोधें। “ कम अन बेबी, साथीभाइसँग घुम्न जानु,मोज गर्नु उमेर मै त हो। बुढेसकाल लागेपछि पो घरको भएर बस्ने। तिमीले संसारै देखेकी रहेनछौ। ” उनको मादक आँखा बोलिरहेको थियो। हामीवीच कुरा हुन्जेल पनि उनलाई दुईचार कल आइसकेको थियो। यो उमेरमा नै उनले कुन फरक संसार देखे होलान्,म अनुमान गर्न सक्थें। घर फर्केर आमालाई आफ्नो निर्णय सुनाएँ, “सम्राटले यहाँ आउँदा आफ्नो मेडिकल सर्टिफिकेट पनि ल्याउनु पर्नेछ,त्यो पनि अनु दिदीवाट चेक गराएर। अनि मात्र बिहे गर्छु। ” आमाले नपत्याएर मलाई हेर्नुभयो,शायद यस्तो कुरा गर्न सक्छु भन्ने वहाँलाई लागेकै थिएन। “ बौलाइस् कि क्या हो तँ? ” यत्ति भन्नुभयो वहाँले।

मेडिकल सर्टिफिकेट एउटा बहाना मात्र थियो,यो बिहेलाई पन्छाउने। मेरो स्तर,मान्यता र विचारभन्दा पृथक सम्राटलाई म कसरी बिहे गर्न सक्थेँ,जसले रेणुसँग बिहेपछि राख्ने सम्बन्ध राखिसकेका थिए।

क्रमशः

[तपाईँले यही बिन्दुबाट नयाँ कथा सुरु गर्नुपर्नेछ, आफ्नै खालको]

14 Comments

  1. सम्राट र मेरो न पृष्ठभूमि मिल्छ न व्यवहार मिल्छ. तर पनि उसको अगाडी किन म सिधै नाई भन्न सकिरहेको छैन ? किन म आफ्नो जीवन संग खेलवाड गरिरहेको छु. के येसरी म मेरो जीवन रुपी रथ अनिश्चय को खाल्डोतिर जाँदै गर्दा पनि किन रोक्न कोशिस गरिरहेको छैन? अथवा के म संग सामर्थ्य नै नभएको हो कि नचाहेको हो मैले? भोलि उ संग भेटेर यो बारेमा अन्तिम निर्णयमा पुग्छु भनि तर्कना गर्दै निदाए छु.
    सम्राटलाई फोन गरेर बानेश्वोरको नांग्लो बेकरी क्याफेमा बोलाएँ. उ पनि समयमा नै आइपुगेको देखेर अचम्भ लाग्यो तर एस बारेमा उ संग चर्चा गरिन र उसले ठुलो काम पनि त गरेको होइन नि. जब कुराकानीको शिलशिला सुरु भयो उसको सोच बारेमा बुझ्ने अभिप्रायले मैले “विवाह किन गर्न लागेको र रेणुलाई नगरेर म संग नै किन गर्न खोजेको? र मेडिकल सर्टिफिकेट उपलभ्द मैले भनेको ठाउँ बाट गराउन सक्छौ?” भनेर सोध्दा, उसको अनुहारमा कुनै किसिमको भाव नै देख्न सकिन मैले. उसले पहिलो प्रश्नको उत्तरमा सजिलै उरन्ठेउलो पाराले भन्यो बिहे गर्ने उमेर पनि पुग्यो र घरमा बाबा-आमाले पनि सार्है कर गरेकोले भन्ने जवाफ दिंदा मलाई अप्रत्यसित पनि लागेन किनभने त्यो नै उसको बास्तबिकता हो. येदि उसले परिपक्व जवाफ दिएको भए मैले शंका गर्नु पर्ने हुन्थ्यो बनावटी हुन्थ्यो होला. अनि दोश्रो प्रस्न को जवाफ पनि तेसै गरि दिने क्रममा भन्यो “रेणु भनेको म्यारिज मेटेरियेल होइन उ केवल टाएम पास मात्र हो. मेरो वाइफ हुन लाएककी छैन.” येस उत्तर ले उ बिदेशमा बसेपनि पुरुष को चरित्र या भनौ प्राय पुरुष ले सोच्ने जस्तै विवाह गर्ने केटि चै शिलश्वोभाव भएकी घरेलु टाईपकि केटि खोज्ने र बाहिर चैं टाएम पास खोज्ने जस्तो नै पाएँ. त्येस्तै तेश्रो प्रस्न को जवाफमा उसले भन्यो “मलाई तिमिजस्तो केटीले पक्कापनि मेडिकल सर्टिफिकेट खोज्छौ नै भन्ने लागेको थियो तेसैले जब मैले तिमी संग बिहे गर्ने निर्णय गरेर बाबा-आमालाई सुनाउंदा नै मेन्टल्ली प्रिपेअर भएर नै सुनाएको थिएँ” भन्दा चैं छक्क परें. कस्तो आत्म-सम्मान पनि नभएको केटा जस्तो लाग्यो. र फेरी उ भन्दै गयो अब चैं धेरै प्रश्न नसोध है मलाई एस्तो ब्येबहार, संस्कार को कुरा गर्न आऊदैन तेसैले कुरा बिग्रियो भने बोर हुन्छ नि भन्दै टार्न खोज्दै थियो तर मलाई अरु धेरै सोध्न मन थियो त्येहिपनि भने अब दुइटा प्रश्न सोध्छु भन्दा उसले नराम्रो मुख लगायो. येत्तिकैमा उसले वेटरलाई बोलाएर रेड्बुल्ल अर्डर गर्यो र मलाई सोध्यो के लिने तिमि? मैले मिल्क कफी भने र फेरी हाम्रो कुरा सुरु भयो. मैले उसलाई सोधें बिहे पछी पनि यो टाइम पास चली रहन्छ कि ब्येबहार, संस्कारमा पनि ध्यान दिन्छौ? भन्दा उसले भन्यो समय ले बताउँछ. म सोच्न थालें कस्तो डीटर्मिनेसन, फ्युचर प्लानिंग नभएको मान्छे रहेछ जस्तो लाग्यो. अनि अर्को प्रश्नमा मैले सोधें, मैले पनि टाइम पास गर्न अरु केटा संग सम्बन्ध बढाएँ भने नि भाडा सहजै उसले “आइ डोन्ट माइन्ड” भने पछी मलाई लाग्यो यो मान्छे संग कुरा गरेर केहि फाइदा छैन जस्तो लागेर म कफी पर्खन थालें र सोचें, भबिश्य संधै एकैनासको हुँदैन भोलि कसरि आफ्नो जिवन जिउने? भोलि छोरा-छोरी होलान के संस्कार दिने? मान्छे भएर जन्मिएपछि तेसको सार्थक अभ्यास गर्नु पर्ने बारेमा सोच्ने कि नसोच्ने? बिहे गर्ने उमेर पुगेपछि पनि येस्तो उरन्ठेउलो पाराले जिएको मान्छेसंग मैले कसरि श्रीमती को हक कसरि आस गर्ने? यस्तै सोच्दै थिएँ यसै बीच उसले कुरा सुरु गर्यो र कफी पनि आयो र रेड्बुल्ल पनि आयो. हिजो पार्टी थियो, हल्का टाउको दुखेको थियो तिमी संग कुरा गरेर घट्छ भनेर खुसि हुँदै आएको त झन् ….. एनी वे अनि के विचार गर्यौत? भोलि बिहान निर्णय दिउँला भनेर अलि अलि गफ गाफ गरेर छुट्टियौं.
    घर आएर मम्मीलाई सम्राट संगको कुराकानी जुन मैले मोबाइल मा रेकर्ड गरेको थिएँ सुनाए पछी मम्मी छाँगा बाट खसे झैं हुनु भयो र मम्मीले भगवान ले तिमिलाई बचाए छोरी भन्दै रुन लाग्नु भयो. केहि बिग्रिएको छैन मम्मी नरुनु भन्दै सम्झाएँ मैले.
    केहि काम गर्न मन लाग्दैन, पढ्न पनि मन लाग्दैन खाली सम्राट, उसको परिवार, मेरो परिवार र मेरो बिहेको बारेमा मात्रै कुरा खेलाउँदै रातीको खान मन नलागेपनि अलिकति खाएर बिछौनामा पल्टन्छु . मेरो घरमा कोहि एक अर्का संग खासै औपचारिकताका कुरा बाहेक केहि पनि भएन. म पढ्न अव्वल बिद्यार्थी पनि होइन, आर्थिक अवस्था पनि ठिकै मात्रै छ, मान्छे भएर जन्मे पछी नाम राख्नको लागि केहि न केहि गर्न सक्ने खुबी पनि आफुमा देखेकी छैन, छ भने केवल एउटा शरीर छ र इमान्दार सुसंस्कार युक्त मेरो परिवार छ. सम्राट संग नभए पनि कोहि राम्रो केटा संग नै विवाह होला, मेरो आफ्नै सुखी परिवार होला, सबै खुसि होलान तर फेरी उही प्रश्न मेरो मनमा आउँछ. म मान्छे भएर के चैं तेस्तो काम गरें जसमा एक्साइटमेन्ट, रिस्क छ. तेस्तो एक्साइटमेन्ट, रिस्क जुन अरुले नसोचेको होस्, नचिताएको होस, नआँटेको होस. तेसैले म सम्राट संग विवाह गर्न तयार छु ताकी मेरा साथीहरुले नसोचेको, नचिताएको, नआँटेको एक्साइटमेन्ट, रिस्क लिएर सम्राट लाई एउटा सुसंस्कारी बाउ बनाएर छोड्ने छु. राम्रो मान्छे बन्न मैले जे सिकें आफ्नो परिवार बाट तेसैको बिश्वास मा तेसैको आड-भरोसाबाट मैले यो निर्णय गरें. भोलि बिहान मेरो परिवारलाई पो कसरि सम्झाउने भन्ने सोच्दा सोच्दै निदायेंछु.

  2. यो कथा यात्रा राम्रो लग्यो तर साथी हरुले कथा हरु लै राम्ररी पढेर प्रतिक्रिया दिनुभय उत्तम हुने थियो …..राम्रो प्रतिभा भयाकलाई सपोर्ट गरौ है ………

  3. अनि सम्राट को बाबा आमाले चाई किन म सितै बिहे गरौन को लागि मरीहत्ते गर्नु परेको साथै मेरो बाबा आमा नि किन सम्राट सितै मेरो बिहे गरिदिन खोज्दै हुनुहुन्छ ? जब कि सम्राट ले रेणुसँग बिहेपछि राख्ने सम्बन्ध राखिसकेका कुरा मलाई थाहा हुदा हुदै आखिर म जानी जानी किन सम्राट संग्गा बिहे गर्नु??? येस्तै नाना थरिका कुराहरु मनमा खेल्दा खेल्दै कति खेर म निदाएछु मलाई पत्तै भएन एकैचोटी मोबाइलमा अलार्म बजेपछी म झसंग्गा भएर बिउझीय अनि कलेज जानको लागि हतार हतार तयार भई आमाले तयार गरिदिनुभाको चिया नास्ता खाईवोरी म कलेज गय । म कलेज मा पुग्दा छिटपुट मात्रामा केहि मात्रै बिद्यार्थीहरु आएका थिय मेरा अरु साथीहरु पनि बिस्तारै आय तर मैले रेणुलाई देखिन अनि हामी सबै रेनुको पर्खाइमा गेट छेउमै पर्खेर बसिरहेका थियौ ठिक तेसै बेला मेन सडकको छेउमै निलो रंग्ग्को कार आएर रोकियो अनि त्यो कार बाट रेणु उत्री . त्यो कार कसको भनेर मलाई भन्दा मेरा साथीहरुलाई बादी चासोको बिसय भयो । रेणु आउन नपाई गीताले सोदी ” ओए त कस्तो कार म आकी ” प्रत्युतरमा रेणुले सहज भनि ” सम्राटले लिफ्ट दिएको ” यो कुरा सुन्ने बितिकै सबै साथी हरु हास्न लागे म भने नसुने झैँ गरेर वास्तै गरिन। पहिलो घन्टी लाग्यो सबै जना क्लास गयौ यसै क्रममा रेणुको मोबाइल मा SMS आको मैले सुने अनि त्यो SMS रेणुले तुरुन्तै हेरी र क्लास सकिने बितिकै कसैलाई केहि नभनी बाहिर लागि दोस्रो घन्टी लग्यो तर रेणु आइन । अनि मा पुरै क्लास सकेर घर फर्किय जब म घर आइपुगे अनि मलाई आमाले भन्नुभो ” आज सम्राट को बाबा आमाले बेलुकीको खाना खान बोलाऊनुभाको छ ” जानु पर्छ भनेर भन्नुभो। म नसुने झैँ गरि आफ्नो रुम मा गएर ड्रेस चेन्ज गरि खान खाय अनि दिनभरी घरमै बसिरहे दिमागमा हरेक कुराहरु खेलिरहे। जब साझमा आमाले मलाई “छोरि अब तयार होउ जानुपर्छ सम्राटको घरमा ” भन्नु भयो तब म निन्द्रा बाट बिउझिया झैँ भय अनि सहजै जवाफ दिय ” आमा मलाई आज अलि सन्चो छैन म जान्न हजुरहरु जानोस ” मैले एती मात्रै के भनेको थिया आमा मेरै रुम मा आएर मलाई सम्झाउन थाल्नुभयो अनि म नि आमाको चित्त दुख्ला भेन्ने सोचेर मन नलागी नलागी गय ।
    जब हामी सम्राट को घर पुग्येउ उहा सम्राटको बाबा आमा पनि हामी आउने बाटो हेरेर बसिराख्नु भाको थियो। हामी पुग्येउ धेरै खुसि हुदै हामीलाई स्वागत गर्दै भित्र कोठामा लिएर जानुभयो विभिन्न परिकारहरुको बास्ना आइरहेको थियो । सबै जना भेला भयेउ तर त्यहाँ सम्राटलाई देखिएन अनि मेरी आमाले भन्नुभयो ” खोइ त सम्राट बाबु हुनुहुन्न नि कता जानुभयो ? ” अनि सम्राट को बाबाले भन्नुभयो ” खै अगी दिउसो साथीको मा जान्छु भनेर गाडी लेर गको थियो आइले सम्म आउदैन त ” फेरी सम्राट को आमाले थप्नुभयो ” साथीकोमा गाको मान्छे धेरै समयपछि भेटभाको गफगाफ गर्दा ढिलो भो होला आउदै होला नि ? येसो एक कल गर्नुस न भनेर सम्राट को बाबालाई भनिन ” अनि सम्राटको बाबाले मोबाइल झिकेर कल गरिहेरे तर मोबाइल स्विच अफ भनेर जवाफ आयो।
    येसरी सम्राटको पर्खाइमा नै २ घण्टा जति बित्यो। केहि समयको अन्तरालमा घर बाहिर गाडीको हर्न बज्यो । सम्राट आयो भन्दै सम्राटको बाबा आमा बाहिर निस्किय त्यहाँ सम्राटको गाडी नभएर एउटा ट्याक्सी थियो अनि त्यहि ट्याक्सीबाट सम्राट मातेर झल्लु भएर लर्खारौदै निस्कियो उस्का बाबा आमा ट्वा परेर हेरेका हेरै भय । ट्याक्सी ड्राइभरले भाडा माग्दा उल्टै उसलाई नाना थरिको फोहोरी सब्द प्रयोग गर्दै खाउला झैँ गरि गाली गर्न थाल्यो यो ढेखेर उसकी आमा दौडेर गएर सम्राट लै सम्हालेर उसको रुम मा लागिन अनि सम्राट को बाबाले ट्याक्सी बडा तिरिदीय ………क्रमस …..

    ( हजुर हरुलाई यो कथा मन परे अर्को भाग आर्को हप्ता पस्कनेछु । कथालाई अगाडी बढाउने हौसला दिनु होला । )

  4. म किन यति घमण्डी ह ? सम्राट ले बोलाएको बेला ,कार मा जाउ भनेको बेला किन आनाकानी गरे किन मनाही गरे ? सम्पतिवाला , आकर्षक ,अमेरिका को ग्रिनकार्ड होल्डर उफ मैले गल्ति नै गरे ! बाबु आमा को सपनामा किन तातो पानी खानाउदै छु \ कयौ केटीहरु ,घर परिबार हरु सम्राट लाइ पाउन मरिहत्ते गरिराखेका छन् \ यस्तो सुनौलो अबसर जानी जानी म किन गुमाउदै छु ? छोरी ! म झसंग भए \आमाले ढोका ढक ढकाउदै सुत सुत भोलि फेरी कलेज जानु पर्छ भन्दा \ पढ्दै थिए आमा अब सुत्छु भनेर कुरा छले \ सोच्दा सोच्दै कहा पुगेछु \
    बिहान उठ्दा टाउको अलि दुखि रहेको थियो \ सन्चो छैन कि छोरी अनुहार मलिन देख्छु नि \आमा पिरमानि भनिरहनु भएको थियो \ ठिकै छ आमा ,जिउ भारि छ नुहाउछु ठिक भै हाल्छ नि \ आमा भनेको मान्दिन भन्दै फत फताउदै पुजा थालि बोकेर मन्दिर तिर जानु भयो \
    दुइ दिन भएको थियो धारामा पानि नआएको ,बिजुली आउने समय मा पानि नआउने ,पानि आउने समयमा बिजुली नआउने \ पानीको ट्यांकी मा हावा मात्रै ! दुइ दिन पछी नुहाउदै थिय \
    छोरी …छोरी ….कहा छे यो !
    म नुहाउदै छु आमा !
    ल नुहाए पछी टिका र प्रसाद लगाउनु \पुजा थाली भित्र टेबुलमा राखी दिउला \
    हुन्छ आमा ! म नुहाउदै कराए \
    ट्रीर ट्रीर मोबाइल को घन्टी बज्यो \म ऐना हेर्दै टिका लगाउदै थिए \ त्यहि रेणु को रहेछ \ उठाउकी नउठाउ सोच्दै थिए \ फोन किन नउठाएको बुबा माथि बाट कराउदै हुनु हुन्थ्यो \
    “हेलो रेणु ”
    “म रेणु गुडमर्निंग ”
    “चिने म भान्छामा छु ” कुरा गर्न मन थिएन त्यसैले कुरा अन्तै लगे \आमा कर्के नजर ले हेर्दै हुनुहुन्थो \
    “अ भन के छ “मैले भने
    ठिकै छ खै के भनु … उ अकमकाइ
    ” पछी कुरा गर्छु नि ” मैले कुरा टुंगाउन खोजे \
    ‘ल त ल फुर्सदमा फोन गर न त ,त भान्छामा रहेछिस”
    हुन्छ भन्दै मैले फोन राखे \
    “कसको फोन ” आमा सोध्यै हुनु हुन्थ्यो \
    “साथि को ” भन्दै म माथि कोठा तर्फ लागे \ चिया पाकी सक्यो आमा भन्दै हुनु हुन्थो \आइहाले भन्दै म कोठा भित्र पसे \ बुबा तल झर्नु भयो \ ल चिया आमाले चिया टेबुल मा राख्दै भन्नु भयो \ सनिबार टिकाटालो गर्न सम्राट र उसका परिबार आउदै छन् \
    आमा ! तपाइँ हरु के गर्दै हुनु हुन्छ \ जिन्दगीको फैसला गर्दा मेरो राय लिनु पर्दैन \
    पर्छ तर सबै कुरा राम्रो भएको घर र परिबार बाट कुरा आउदा र फेरी तैले पनि सम्राट लाइ देखेको छेस ,बोलेको छेस …..हेर्नुस आमा पछी पछुताउनु र रुनु भन्दा पहिले नै बुझ्नु राम्रो ! न हाम्रो स्तर मिल्छ न ब्यबहार …
    कस्तो स्तर कस्तो ब्यबहार आमा चिच्याउनु भयो \
    सुन्नुस आमा लौ आर्थिक स्तर त मानिस को बिचमा सदभाब ,समझारी ,सहयोग र माया भए फरक नपर्ला तर ….के तर …आमा बीच मै बोल्नु भयो \
    ‘विदेश गएको मान्छे ” म भन्दै थिए
    के विदेश गएको मान्छे भन्दैमा सबै मा एड्स लागेको हुन्छ ? सबै बिग्रिएका हुन्छन ?आमा सम्राट को पक्षमा बोल्दै हुनु हुन्थ्यो \
    मैले त्यसो भन्न खोजेको होइन आमा ! लौ एड्स लागेको कुरा त डाक्टर सर्टिफिकेट बाट थाहा हुन्छ\
    ” के विदेश मा गएको भन्दैमा सबै जना यौन सम्पर्कमा सहभागी हुन्छन र ?
    मैले त्यसो भन्न खोजेको पनि होइन …
    हेर छोरी यदि म बिदेशमा गएको हो भने के मलाइ तेरो बा र तैले नराम्रो दृस्टीकोण बाट हेर्ने ? म पढ्न र काम गर्न बिदेशमा गएको कि अर्काको ओछ्यान तताउन गएको ?
    आमा ! यसरि हेर्ने मानिस पनि छन् र यस्तो गर्ने मानिस पनि छन् तर …
    के तर ? आमा कड्किनु भयो \
    यस्तो सोच म मा छैन आमा विदेश गएको भन्दैमा सम्पूर्णता भएको ,पाएको भनेर सोच्ने मानिस म होइन त्यस्तै विदेश गएको भन्दैमा चारित्रिक रुपमा खत्तमै भएको भनेर पनि भन्ने वाला म होइन \
    हो यसो हो भने सम्राट को बारेमा त किन गलत सोच्छेस ?
    जवानी छ भन्दैमा यदि मैले धेरै केटा संग घुम्न जाने ,बिहे गर्छु ,सम्पत्ति दिन्छु भनि अनैतिक फाइदा लिने हो भने के मलाइ तपाइँ राम्रो ठान्नु हुन्छ ?
    उ उ कत्ति न सम्पतिवाला जस्तो गरि कुरा गर्छे !
    सम्पति नभएकै परिबार को सदस्य हु तर असल चरित्र,सोच भएको मानिस पनि हु आमा ! ल भन्नुस यदि म लामो समय सम्म बिदेशमा बसेर आइ ,याहाको ह्यान्डसम ,सोझो ,इमान्दार केटाहरु लाइ सम्पत्ति र विदेशको लोभ देखाएर फसाउछु भने राम्रो ठान्नु हुन्छ ?
    सपना को कुरा पो गर्दै छे त यो ! दिमाग बिग्रिएको त होइन त्यरो /
    आमा ! दिमाग मेरो होइन तपाइँ हरु को बिग्रिएको छ \ जानी नजानी किन आफ्नो सन्तान को भबिस्यमाथि खेलवाड गर्नु हुन्छ ?
    “वा रे वा यो त नेता पो हुनु पर्ने ” आमा व्यंग्य गर्दै हुनु हुन्थो \
    ल भन त टिकाटालो गर्न राजि छेस या छैनस ? किन लामो कुरा गर्छेस \
    टिकाटालो गर्नु भन्दा पहिले उसको बारेमा बुझ्नु पनि त पर्यो !
    ‘के बुझ्न बाकि छ ह अब ” यति ठुलो मौका …
    हो सफलताको लागि मौका को सदुपयोग गर्न जान्नु पर्छ तर बुज्दै नबुझी ,पछी को बाटो हेर्दै नहेरी हाम फाल्नु पनि त भएन नि आमा !
    अरु कुरा थाहा छैन खुरुक्क सम्राट संग बिहे गर \
    सत्र वर्ष रामायण पढायो सिता पोइ …..मेरो कुरा बीच मै काट्दै आमा भंन भनाउँन थाल्नु भयो \
    धेरै नबोल ,धेरै बोल्ने हाम्रा नेता जस्तो नबन ! राम्रा र धेरै बोल्ने हरु को पनि ताई देखियो \
    हेर्नुस आमा अब साचो कुरा भन्नु पर्छ मैले \सम्राटले रेणु संग बिहे गर्छु भनि शारीरिक सम्पर्क पनि गरिसक्यो \ स्वदेश आएको दिन देखि रेस्टुरा मा मदिरामा रमाउने ,लजमा धेरै केटि संग रात बिताउने \ अनि यता म संग बिहे गर्न सबै लाइ उचाल्ने ? उ के चाहन्छ ? उ के ठान्छ ?
    अरे अरे के कुरा गर्दै छे यो तेरो जिब्रो थुत्लान नि …आमा डराउदै यता उति हेर्दै हुनु हुन्थ्यो \
    “हैन यिनका आमा छोरी के गर्दै छन् कोठामा” बुबा तल बाट कराउदै हुनु हुन्थो \
    ल आए आए भन्दै आमा तल ओर्लिनु भयो \ म कलेज जान कपडा लगाउन थाले \

  5. आज दिन भरि को कुरा ले दिमाग दुखि रहेको थियो सबै को मुख मा त्यो एउटा घरको गाथा थियो ..सम्राट को घर परिवार को सम्पति र रवाफ नै यो समाजको लागि काफी थियो..सोच्दै गए समाज,इज्ज़त, श्रीमान बाबा आमाको खुसि तर यी सब कुरा का बिचमा मेरो खुसि खोइ त?? के म साछी बिहे को लागि रेडी छु ?? मथिंगल घुम्न थाल्यो न त म बिहे का निम्ति मरिहत्य भएकी छु न त इन्कार नै अन्तर्मन को द्वोंद चली रहेको थियो तर एउटा कुरा स्वस्त सत्य जस्तो मैले बुजेकी थिए कि यो समाज कि पुरुषको बल ले चलेको छ कि त सम्पतीले..होइन भनि सम्राट को लागि किन मरी मेटी रहेको छ यो समाज ?? उसको भड्किलो रवाफ नै मेरो उत्तर थियो..बेलुका को खान पान पछि म आफ्नो कोठा मा जादै थिए पल्लो कोठामा बाबा -आमाको उही खुसुर फुसुर थियो कति भाग्यमानी रचे हे हाम्री सपना त!! भन्या जस्तै कुल-घरन भेट्नी भई ..बाबा हो मा हो मिलाउदै हुनुहुन्थ्यो..किन -किन आज मलाई यी कुरा हरुमा बितृष्णा लागि रहेको थियो ..अभिभाबक को त्यो खुसि र उमङ्ग पहिलो पटक मलाई मन परेन ..सरासर कोठा मा गए बाहिर बिस्तारै एक तमासको सुनसान बढी रहेको थियो तर मेरो अन्तर्मन मा प्रस्न-उत्तरको लुकामारी चल्दै थियो…भो अब सम्झिन्न यी कुरा सुत्छु भन्छु तर पटक्क निन्द्रा लाग्दैन होइन, के हुदई छ मलाई ??? खुसीको जस्न मनाउ या निरासाको ??? सोचिरहे सम्जदै गए पुराना दिन +२को अन्तिम दिन हरु मानसपटलमा घुम्न थाले एक-एक मलाई साथी भावनाको याद आयो आहा!! कति रमैला थिए दिनहरु उ र म अत्ति मिल्ने साथी यसो कुरा बुज्दा हामी क्लासमा जान्नी र राम्री पनि हौ क्यार!! २/४ जनाको मुख बाट सुनिन्थ्यो यी कुराहरु कोहि जुम्ल्या हो पनि भन्थे..एक मास तेस्तै जाडो को महिना हो आज भाबना ढिलो आउनी वाला थि फस्ट क्लास नि थिएन आज तेसैले घाम तापेर कलेजको चौरमा बस्दै थिए अलि पर बाट हाय सपना भन्दै एउटा अपरिचित आवाज ले झस्कायो सपना होइन तिमि ?? सन्चै ?? ए बा-बा चिन्नु न जान्नु अज तिमी?? को हो यो ?? मन- मन मा सोच्दै थिए अलि -अलि रिस पनि उठ्यो तिमी भनेर सम्बोधन गरेको मा मेरो प्रति उत्तर बिना नै नाइस टू मिट यु !! बाई भन्दै गयो..अब चै भएन भाबना नि कता मरी यो बेला घडीमा १२ बज्दै थियो मलाई कता कता रिस र उत्सुकताले खुल्दुली पर्न थाल्यो..रिस पोख्नी गतिलो मान्छे भाबन नै थि मेरो लागि फोन गर्छु मोबइल अफ छ …
    एक छिन् पछि अलि पर बाट मान्छेको हुलमा भाबना हास्दै म भय तिर आउदै थि ..अहो !! मलाई कति आपत छ उ हास्दै आकी छ मेरो रिसको पारो बढ्न थाल्यो ..अलि नजिक हेर्छु त उही युबक साथमा छ..सपना,यो मेरो साथी प्रकास कत्ति छिटो तलाई भेटि सकेछ हई..हेर्न १ हप्ता भो यो लन्डन बाट आको अस्ति मोबाइल मा मेरो बेस्ट फ्रेन भनेर देखाको अनि पर बाट मलाई उछिनेर त निर आको नि ..बदमास..अब मलाई रिस पोखु कि न पोखु भै रहेको थियो उ भन्दै थि हामी त सानो देखिको साथी उ ९ क्लास मा हुदा बाबा,ममी संग लन्डन गा..वोई ४ वर्ष भयो काले?? हब्सी त जस्ताको तस्तई छ हिहिही ….भाबना घरि काने खुसि घरि चर्को आवाजले कुरा गर्दै थि ..म भनि मन-मन मा रिस ले भुतुक्क हुदै थिए.मेरो पालो जुरुक्क उठेर क्लासमा जान उठे बल्ल कुरा बुजी छ माफ गर दोस्त त रिसाछस??? होइन म खुसीले गदगद छु यो मेरो पहिलो बाक्य थियो ..आज तेती बोल्न मन लागेन कलेज सक्केर सरासर घर आए घर पुग्दा नपुग्दै भावनाको कल आउन थाल्यो तर आज फोन पिक गरिन एक मन भन्दै थियो देखिस त म नभई हुन्न तलाई म फोन पिक अप गर्दिन यो मेरो घमण्ड थियो….लगातारको घन्टी पछि कल लिन्छु त उही प्रकास सरि सपना आजको मजाकको लागि मैले तेस्तो नगर्नु पर्ने आदि…आदि…अनि भाबना संगको कुरा पछि भनि मन हलुङ्गो भयो,..भोलि पल्ट को भेटघाट पछि भनि हामी ३ जाना मा मिल्थी भो …प्रकास ३ महिने लामो बिदा मा आएको थियो उसको बोलीचाली, फेसन अरु भन्दा मान्छे नि राम्रो थियो तेस कारण नि हुनु पर्छ एक प्रकारको आकर्सन हुन थाल्यो मलाई घुमघाम,मस्ती ,फिल्म ले हिजो आज निक्कै आनन्द को अनुभूति हुन्थ्यो ….हामी ३ जाना को संसार अर्कै थियो एक दिन प्रकास लन्डन फर्किन्छ भन्दा नि हामी मा सुन्येता छाउथ्यो..खैर ति खुसीका दिन संगै मलाई कता-कता प्रकास प्रतिको अकर्सन प्रेम हो कि जस्तो पनि लाग्थ्यो तर यकिन थिएन ..उसलाई भेट्दा र फोन मा कुरा गर्दा एक प्रकारको खुसि हुन्थे म सायद म उसलाई मन परौना थालेकी थिए ..किन कि उ मलाई प्यारो र सुन्दर लाग्थ्यो तर भन्नि हिक्मत मेरो बस को कुरा थिएन..यसरि नै उ पर्तिको मेरो प्रेम गाडा हुदै थियो
    ….प्रकासको जानी दिन भन्दा १० दिन पहिला को कुरा हो म चहान्थे उसले मलाई प्रेम प्रस्ताब राखोस उसको र मेरो जोडी बनोस तर मेरो जित एकोहोरो कहाँ हुन्थ्यो र यो पाली यी सारा कुरा भगवानलाई नि मन्जुर थिएन सायद म हार्न पुगे..फागुन महिनाको पहिलो साता हुनु पर्छ भावनाको जन्मदिनको जमघटमा प्रकासले सबै का सामु भावनाको हात समातेर प्रेम प्रस्ताब मात्र होइन इन्गेग्मेंट समेत गर्यो..खुसीको ताली बज्दै थियो त्यो जमघटमा म भने सुन्य भएर ठिङ्ग उभिए तेस पछि को माहोल मेरा निम्ति कति दुखद थियो?? दुख लुकाएर कसरि हासेकी थिए म ….न म भाबना लाई चोट दिन सक्थे न त उसको खुसि मा सामेल हुन..एउटा गरुङ्गो पीडाको भारी लिएर घर आए म…यो मेरो नादनी थियो या समय को खेल ??? जसरि प्रकास आए को थियो तेसरी नै अध्यारो दिएर गएको थियो,..नादनी नै सहि मैले उसलाई एक तर्फी प्रेम गरेकी रैछु…त्यो पिडा मा जल्दा न मा मेरी आमाको काखमा रुन सक्थे न त भाबना नै थि म संग ..कैएन रात रोएकी थिए म……यस्तै बितेका कुरा सम्जी रहदा ल यति बेला पनि आसु आइ रहेको छ ..उफ्फ़ के हुदै छ मलाई उठ्न खोजे ..बितेका कुरा हरुले नै आज को रात कट्ला जस्तो छ ..त्यो बेला जान -अन्जन को प्रेम र अहिले कि सपना मा धेरै फरक पाउछु म..तर आज फेरी उही एउटा प्रदेसी,खान्दान र बिबाह ले म मा यो सोच मा पुर्याएको छ ..सोच्दै छु के मेरो भन्नु र एउटा बिबाह जस्तो पबित्र बन्धन मा मेरो खुसि को किन नजर अन्दाज हुदै छ ?? मेरो इच्छा ,पढाई ,बुजाई को कसी बिदेसी रवाफिलो पुरुष हो त ?? कि म तर्सिएकी छु भुतकाल बाट …जानाजान कि रेणु भाबना बन्दै छे या मै भाबना बन्दै छु ??? अलिकति पनि इच्छा नमिल्ने पुरुष मेरो भाबी पति हो त ??? यी यस्तै प्रस्न को उत्तर भोलि खोज्नी बहाना मा आखा चिम्लने प्रयास गर्दै छु ……………………..

  6. …… सम्राट खासै नराम्रो मान्छे पनि होइन,अनि मलाई मन नै नपरेको मान्छे पनि होइन तर पनि रेणुसंगको उसको शारीरिक सम्बन्ध मेरो एउटा अनुमान मात्र हो.दिनरात संगै बस्छन संगै हिड्छन्l रेणु अनि सम्राट बीचको केमेस्ट्री संका गर्ने खालको नै छ l जवानीका तरङ्गहरु म मा पनि नचढेको होइन l तर पनि पढाई र भबिस्य पनि हेर्नु छ.बाबु आमाकी एक्ली छोरी हु मlमेरो मन दोमन हुदै छ.यदि साचिकै मलाई चाहन्छ सम्राट भने सम्झौता नै संझौला मलाई पनि त मन परेकै हो.पढे लेखेका अनि ठुला परिवारका हुन् l हाम्ले सोचेका जस्ता त कहाँ हुन्छन.मेडिकल सर्टिफिकेट त एउटा बहाना मात्र थियो l
    सनिबारको दिन थियो बेलुकाको ५ बज्ने लागेको थियो ,मेरो मोबाइमा किरिरिरिन गर्दै घटी बज्यो l तेही बजिया सम्राटको रहेछ.उठाऊ कि नउठाऊ? मन दोधार भएनी उठाए ” के गर्दै छौ तिमि? मैले छोटो अनि सजिलो जवाफ दिए “येत्तिकै”l “बोरिंग भाको भए कतै घुम्न जाने हो? उसले प्रस्ताब राख्यो lमन लागि नलागी मैले हुन्छ भनिदिए l प़ी प़ी प़ी ….. एकैछिनमा उसको कारको हर्न आगनमा सुनिन थाल्यो.छिटो छिटो तयार भएर निस्किए .उसले हातले इसारा गरेर अगाडीको सिटमा बस्न इसारा गर्यो.मेरो आखा उ संग जुध्दा अनुहारमा हल्का मुस्कान देखिन्थियो उसको l घर बाट १२/१३ किलोमिटरको दुरीमा रहेको एउटा पार्क संगैको रेस्टुरेन्टमा लगेर उसले गाडी रोक्यो बीचमा हाम्रो कुनै कुरोकानी भएनlकेटि मान्छेको जन्मजात स्वभाब मैले छोप्न सकिन मेरो मतलब उसको नजर अनि इशाराको अगाडी म अनयासै भुतुक्क हुन्थेlतर पनि बडो साहस जुटाउदै सहजता कायम गर्ने प्रयास गर्दै थिए.बाहिरै राखिएको टेबल कुर्सीमा हामी बस्यौ lत्यो ठाउँ साचिकै शान्त अनि सुन्दर थियो lमैले झुकेको नजर बाट उसलाई हेर्दै थिएlउसले पनि बुझ्यो क्यारे.बाताबरण लाई सहज बनाउनको लागि उसले नम्र स्वरमा बोल्यो “के लिन्छौ?” मैले टाउको हल्लाएरै पर्दैन को जवाब दिए.उसले फेरी सोध्यो “कफी?” मैले मुस्कान बाटै हुन्छ को जवाब दिए.
    यो सम्राट संग को पहिलो भेट त होइन तर पनि केहि फरक महसुस हुदै थियो .लाग्दै थियो उसलाई पनि केहि त पक्का भाको छ .उ बेग्लै देखिएको थियो.उसको अनुहारमा एउटा बालक को जस्तै चंचलता झाल्किदै थियो.उ बडो होसियारी देखाउदै मेरो आत्मसंम्मानको ख्याल गर्दै थियो.दुवै बिचको मौनता केहि मिनेट नै रह्यो.कफी कती खेर आयो अनि हामीले पीयौ त्यो त सकिए पछी मात्र थाहा भो.
    उसले ठुलो सहास क साथ मेरो अनुहारमा हेर्दै लामो सास फेर्यो अनि आखा झुकाउदै कुरालाई सहज तरिकाले सुरुगर्यो .तिमीलाई म कस्तो लाग्छ? बिना हिच्किचाहट मैले तुरुन्त जवाफ दिए “राम्रो लाग्छ” उसले पुरा सहास लगाएरै भन्यो “तिमि म संग बिहे गर्छौ? उसको बोलीमा कुन जादु थियो,कुन अलौकिक शक्ति थियो या मोहनीको कुनै टुना मुना? मैले आफुलाई पुरै हारेको महसुस गरे या भनौ पुरा उसको सामू पग्लिए.एक तरिकाले म पुरा उसको लागि समर्पण नै भए.मौनता केहि बेर कायम नै रह्योlम जुरुक्क उठे केहि बोलि फुटेन स्थिति सामान्य पार्नैको लागि मैले भने जाने होइन? उसले मधुर मुस्कान का साथ सहर्स स्वीकार गर्यो.बाटोमा केहि कुरा कानी भएन.मैले चाहेर पनि मेरो अनुहारमा कुनै नकारात्मक भाव ल्याउन सकिन.भन्नाले मेरो मौनता एक प्रकारले सकारात्मक स्वीकारको अर्थ लागिसकेको थियो.आज मैले देखेको सम्राट साचिकैको माया लाग्दो छ.त्यो शालीनता अनि नम्र ब्यबहार मैले उसबाट कहिले अपेक्षा गरेकी थिइन.
    घर आइसकेछ, उसले आफै उत्रेर कारको ढोका खोलि दियोl म सरासर घरतिर लम्केl ढोका बाट छिर्नै लाग्दा फर्केर हेर्न मनलाग्यो l नभन्दै उसैले मैतिर हेरेर इशारा कुरेर बसेको रहेछ.उसले हात हल्लायो.मैले पनि हातैले जवाफ दिए.
    मनमा के के खेल्दैछ आज?,म नजानिदो पाराले सम्राटकै बारेमा सोच्न थालिसकेछु lखोइ के भयो कुन्नि? एस्तो त पहिले कहिले भएनlमाया प्रेम भन्ने कुरा मेरो सम्बन्धित कुरा होइनन झैँ लाग्छ मलाई .तै पनि केहि त पक्का भाको भन्ने मलाई पक्का भैसकेको थियो
    रात को ९ बजिसकेछ, कामहरु त टन्न थियो १० बजे सम्म त प्राय म सुतिसक्छुlआज खोइ कतै मन गएन.दिमागलाई कतै ब्यस्त गर्न पटक्कै मन छैन lयो त खाली कता कता उडिरहेको झैँ लाग्दैछ.मोबाइलको भैब्रेसनले झसङ्ग बनायो.सम्राटकै थियो फोन तर खोइ आफै कट्यो त्यो मिसकलले पनि मेरो मुटुको धड्कन तेज बनाउदै लग्यो.म उ संगै कुरा गर्न चाहन्थिये.तर म मा तेत्रो हिम्मत थिएन.म बिल्कुन परिबर्तन भैसकेकी थिए.उसको तेही मिसकल हेर्दै कतिखेर निदाएछु.
    उफ्फ़ बिहानको ७ बजिसकेछ,हतार हतार बाथरुम छिरे अनि फ्रेस भएर निस्किय आमाले चिया दिनु भो .आमाले आजकल मलाई अर्कै पाराले हेर्नु हुन्छ lत्यो नजरमा मैले मेरो लागि माया अनि हल्का रीश मिशिएको गुनासो देख्छु.आमा बुवा बेखबर छन् .मेरो हालत यहाँ अर्कै छ l
    चिया सकेर उठ्ने लागेकी थिए मोबाइलमा टिनिनी… घन्टी बज्यो.बा आमा पनि पुलुक्क मेरो अनुहारमै हेर्दा अलि असजिलो महसुस गरे तर पनि सामुन्ने नै उठाए फोन.नचिनेको नम्बरबाट आएको फोन बाट त ….. “बुहारी बधाई छ,मेरो छोरो साह्रै खुसि भाको छ .तिमीले हुन्छ भन्ने जवाफले हामी सबै जना पनि साह्रै खुसि छौ .छोरी भाग्येमानी भएस” मैले “हजुर हास ” भन्ने जवाफ कुन तरिकाले अनि किन दिए आफैलाई थाहा छैन.फोनमा बोल्ने सम्राटकि आमा थिइन.मलाई त के भो कुन्नि आत्तिन पो थाले छु … बा आमा मेरो तेस्तो पारा देखेर हैरान थिए ……l. मैले आफुलाई निचिनता पारे, हो ! मलाई त प्रेम भएछ ,फेरी एकचोटी मन मनै सोचे मैले यो बिहेको लागि हुन्छ भन्ने जवाफ त् कहिले दिएको थिइन मेरो मुटुले कति बेला दियो पत्तो पाइन.
    दिनभर अनेक कुरा मन मा कुदिरह्यो के कुद्यो मलाई याद छैन.बेलुका तिर खानपिन गरेर बेडरुममा जादा ८;३० जति भाको थियो .सम्राटको फोन आयो lखोइ किन हो मुटुको गति बढ्न थाल्यो l.अनुहार रातो हुदै गयो lमैले हल्का स्वरमा हेलो भने “नानु खाना खायौ ? उसको मायालु स्वर मेरो कान हुदै सिधै मुटुको धड्कन संगै संगीतको रुपमा गुन्गियो.मैले खाई सके तिमीले नि? सम्राट ले जवाफ दियो “हामीले त खाने बेला भाको छैन,नानु! अनि सुन ममीले तिमीलाई घरमा बोलाउनु भएको छ कहिले आउछौ? म एकछिन केहि बोलिन अनि मैले भने “सनिबार आउछु तर मलाई तिमि नै लिन आउनु पर्छ …… …………… ((धन्यबाद पढिदिनु भएको मा ))

    • शैलेन्द्र जी ,धेरै राम्रो लेख्नु भएछ.सम्राट र उनिविचको यो सम्बन्धले कथा लाई रहस्येमय बनाएको छ.

    • साथीले पहिलो भाग राम्रो संग पढ्नु भएनछ , बुबा आमाको एक्ली छोरी म लेख्नु भएको छ. जबकी कथामा पहिलेनै भाइको बारेमा कुरा उठेको छ .

  7. That is good idea. Use of new method for the first time is really appreciable .I am really elated to see this. Best of luck for success.

  8. आज सनिबार !!
    खासै कतै जानु थिएँन | एक्लै कोठामा बसेर चारैतिर नियालिरहेको थिए |सेतो भित्तामा एउटा झुसिल किरा माथि चढ्ने कोसिस गर्दै चढ़दै तल खस्दै थियो |उ अनबरत प्रयास मा थियो ,मानौ भित्ता चढेर दलिन मा पुगेपछि उसले महानिर्बाण प्राप्त गर्नेछ |ति अनियन्त्रित र असफल प्रयास हरु ,स्वप्न बन्धित चाहना हरु ,कहा कुन मोड मा पूर्ण बिराम लाग्ने हो अत्तोपत्तो छैन | फेरी पनि प्रयास मा निरन्तरता छ ,बनाबटी जोश र कृत्रिम जागर हरु छन् | पल्लो डाडा को हरियो घास ले सबै लुभियेका छन् |उफ !सायद येसैको नाम जिन्दगि हो |

    आमा बिहानै मन्दिर जानुभएको थियो |म देख्दै छु आमा को भक्तिभाव एता केहि दिन देखि निकै बढेको छ ,”छोरी तल आउ त् ” |
    अनायास आमा को आबाज ले म झसंग हुन्छु |”हबस आमा” भन्दै म तल पुग्छु |
    ”मुख धोयेउ तिमीले ?” भन्दै जबाफ को प्रतिक्ष्या बिना आमा निधार मा प्रसाद दलिदिनु हुन्छ |
    ”माता भद्रकाली ले तिमीलाई सदबुद्दी दिउन ”गह्रुङ्गो आशिर्बाद दिनुहुन्छ आमा |
    मातृ सुलभ चाहना ,सन्तति प्रतिको सम्बेदंसिलाता म के के मात्र भनु |
    ”छोरी फोन आयो उताबाट ?”
    ”कता बाट आमा ?”
    ” उही सम्राट को घरबाट क्या त् |”आमा भन्नु हुन्छ |

    आमा ले मेरो प्रस्ताब बिर्सी सक्नु भएको छ |उहा कल्पना सम्म पनि गर्न चाहनु हुन्न कि
    सम्राट मा कुनै खराब आदत पनि हुन् सक्छ ,उसको आधुनिकता र रबाफ को पर्दा ले
    सबै भित्रि आवरण ढाकिदिएको छ |उ चौधहबिको चाद झैँ निखारिएको छ ,म जुनकिरी झैँ उसैतर्फ़ तानिन बनेको छु |

    ”आमा म लाइ किन पढाउनु भएको ” मेरो प्रश्न आमालाई |
    ”किन भन्नु नि ,छोरी धेरै पढ्छे ,असल खराब ,सहि बेसही छुट्टाउन सक्छे ,ठुलो मान्छे हुन्छे भनेर नि ”
    ठुलो मान्छे बन्न त् भाग्य पनि चाहिन्छ आमा त्यो मेरो हात ,मा मात्र छैन तर ठिक बेठिक छुट्टाउन चै सक्ने भएको छु कि भन्ने लाग्छ |सबै चम्किने सुन हुदैनन् ,आमा |
    मन मनै भन्छु म |
    आमाको जबाफ आशु ले दिन्छु |
    ”हेर पगली आसु झारेकी !सम्राट जस्तो श्रीमान पाउने मान्छे ले पनि आशु झार्नु हुन्छ ?”
    क्रमसः

  9. मेडिकल सर्टिफिकेट एउटा बहाना मात्र थियो,यो बिहेलाई पन्छाउने। मेरो स्तर,मान्यता र विचारभन्दा पृथक सम्राटलाई म कसरी बिहे गर्न सक्थेँ,जसले रेणुसँग बिहेपछि राख्ने सम्बन्ध राखिसकेका थिए।

    …तर मैले सोचे जस्तो भएन। मैले सोचेको थिएँ मेडिकल सर्टिफिकेटको कुरा गर्दा उसको अहँमा चोट पुग्नेछ। आफूलाई अपमानित महसूस गर्नेछ। यसको ठीक विपरीत ऊ आफूलाई सहज महसूस गर्दै थियो।

    ‘बेबी, यु आर सो हेल्थ कन्सस। सो डु आइ। डन्ट वरी आइ अल्वेज युज प्रोटेक्सन,’ उसले भन्दैथियो। उसले मैले भने सरह नै मेडिकल रिपोर्ट लिएर आयो। अब म केही भन्न सक्ने अवस्थामा थिइनँ। परिवारको दबाब पनि इग्नोर गर्न सक्ने अवस्थामा थिइनँ म। उनीहरुका लागि त योभन्दा राम्रो प्रस्ताव अरु हुनै सक्दैन थियो। मैले नाइँ भन्नै नसक्ने अवस्था थियो। केही नभन्नुलाई नै मौनम् स्वीकृति लक्षनमका रुपमा लिएर उनीहरुले बिहेको साइत पनि जुराए- दुई हप्तापछि। जे होला राम्रै होला भन्दै मैले सबै कुरा भगवान कै हातमा छाडिदिएँ।

    धूमधामका साथ बिहे भयो। मैले आफूलाई समर्पण गरिदिएँ। बिहेअघिको उसको अराजकता बिहेपछि नहुने आशा थियो मेरो। तर त्यसो भएन। उसको राति अबेर आउने बानी कहिले पनि हटेन। राति अबेर आउने अनि आफूलाई इच्छा नहुँदा पनि जबर्जस्ती उसको अगाडि आफूलाई समर्पण गरिरहनु पर्ने। समर्पणपछि विजय भावमा ऊ निदाउँथ्यो। म भने आँसु बगाउँदै आफ्नो भाग्यलाई दोष दिइरहन्थेँ।

    एकदिन अचानक सम्राट खुसी हुँदै आयो। मलाई डीभी पर्‍यो नि ! बिहेअघि भरेको डीभी उसलाई परेको रहेछ। बिहेअघि उसले ख्यालख्यालमा डीभी भर्दा आफ्नी श्रीमतीको रुपमा रेणुको नाम भरेको रहेछ। यसको मतलब अब ऊ अमेरिका जान पाउने भए पनि म हैन, रेणु उसकी श्रीमती भएर जानेवाला थिइन्।

  10. Great idea. Really liked it. Have seen several usage of it elsewhere but first time in Nepali. This is really exciting. All the best. एउटा छुट पनि पाउनु पर्ने. सबैले पुरै कथा लेखना गारो होला तर यसो आइडिया मात्रै पनि दिन पायो भने मज्जा आउने थियो. कि कसो?

  11. प्रगतिशील लेखकहरुलाई शुभकामना !! हुन सक्छ यो संग्रहित भएर एउटा माइसंसार को लागि ऐतिहासिक पुस्तक को रुपमा पनि प्रकाशित हुन सक्छ | अझ आशा गरौ यसले बिस्वक्रितिमान पनि भंग गरोस…. एउटा लेखक ले एक भन्दा बढी भाग लेख्न नपाउने प्राबधान राम्रो हुने छ !! नया सोच को लागि उमेश / सालोक्य जी लाइ पनि बधाई छ !!

  12. आज सनिबार !!
    खासै कतै जानु थिएँन | एक्लै कोठामा बसेर घर को भित्ता मा नियालिरहेको थिए |एउटा झुसिल किरा भित्तामा चढ़दै तल खस्दै थियो |उ अनबरत प्रयास मा थियो ,मानौ भित्ता चढेर दलिन मा पुगेपछि उसले महानिर्बान प्राप्त गरोस |यी अनियन्त्रित र अगणित प्रयास हरु ,सपनामा बाधिएका अभिलासा हरु ,कहा कुन मोड मा टुंगिने हो पत्तो छैन | प्रयास मा निरन्तरता छ ,कृत्रिम जागर हरु छन् | पल्लो डाडा को हरियो घास ले सबै लुभियेका छन् |उफ !सायद येसैको नाम जिन्दगि हो |
    आमा बिहानै मन्दिर जानुभएको थियो |म देख्दै छु आमा को भक्तिभाव एता केहि दिन देखि निकै बढेको छ ,”छोरी तल आउ त् ” |
    अनायास आमा को आबाज ले म झसंग हुन्छु |”हबस आमा” भन्दै म तल पुग्छु |
    ”मुख धोयेउ तिमीले ?” भन्दै जबाफ को प्रतिक्ष्या बिना आमा निधार मा प्रसाद दलिदिनु हुन्छ |
    ”माता भद्रकाली ले तिमीलाई सदबुद्दी दिउन ”गह्रुङ्गो आशिर्बाद दिनुहुन्छ आमा |
    मातृ सुलभ चाहना ,सन्तति प्रतिको सम्बेदंसिलाता म के के मात्र भानु |
    ”छोरी फोन आयो उताबाट ?”
    ”कता बाट आमा ?”
    ” उही सम्राट को घरबाट क्या त् |”आमा भन्नु हुन्छ |

Comments are closed.