-सुधीर ख्वबि-

यतिबेला रातको १० बज्न लागेको छ। मेरी छोरी मसँगै सुतेकी छे र म फेसबुक खाता पुन: संचालन गर्न गइरहेकी छु।

करिब छ महिना नै बित्यो होला मैले फेसबुक न चलाएको। किन किन पछिल्ला समयमा मलाई फेसबुक प्रति बितृष्णा नै जागेको जस्तो पनि भो। साथीहरुको अत्यधिक संख्याले पनि फेसबुकले समस्याको आकार लिदै थियो। दिनहुँ ट्याग भएर आउने लेख रचनाहरु , अभद्र खालको टिका टिप्पणीहरु। मेरो फोटो माथि गरिएका द्विअर्थी संवादहरु। यी कुराहरुले मलाई एउटा तनावको अवस्थामा पुर्याईदिएको जस्तो लाग्थ्यो। कतिपय ती नामहरु बिरुद्ध मैले धावा बोलें। उनीहरुलाई ब्लक गरें। दिनहुँ आईरहने फ्रेन्ड रिक्वेस्टहरु। अफ लाईनमा बसे पनि इनबक्स मार्फत आउने संदेशले वाक्क दिक्क जस्तै बनाई दिएको थियो।त्यसैले मैले आफुले आफैलाई नै फेसबुकबाट अलग राख्न फेसबुक नै बन्द गरें। चाहेको बेला फेरि खोलुंला भनेर।


फेसबुकमा साथी बनेकाहरु मध्ये मलाई मन पर्ने केहि नामहरु पनि छन्। जसलाई मैले फेसबुक खाता बन्द गरेपछि यदाकदा सम्झिने गरेकी छुँ। केहीको फोन नम्बर लिएकी पनि छुँ। तर कल गर्नु पर्ने त्यस्तो कुनै काम आई नै परेन।

आज दिउँसो प्रज्ञा भवनमा आयोजित एउटा गोष्ठीमा जाँदा खेरि एउटा सोच्दै न सोचेको कुरा भयो। त्यहाँ मैले पवनलाई भेटें। ऊ भर्यांगबाट तल झरिरहेको थियो र म माथि गईरहेकी थिएँ। सायद मलाई देखेर , चिनेर टक्क उभिएको थियो।एकछिन त मेरा पाईला त्यहीं टक्क अडिए। उसको मुहारमा एक धर्को मुस्कान देखा परे।
‘चिन्नु भो ?’- उसले मलाई गहिरो नजरले हेर्दै प्रश्न गरेको थियो ।

‘ किन न् चिन्नु , पवन जी ‘- मेरो जवाफले उसलाई आस्वस्त बनायो।

‘ तपाई यहाँ ?’ – उसलाई सायद विस्वास भैरहेको थिएन हाम्रो यो भेटघाट प्रति र मलाई पनि …!

‘एउटा गोष्ठीमा भाग लिन आएकी म , अपांगता सम्बन्धि बिषयमा ,’- ढीलो हुन लागेको थियो त्यसैले – ‘ म जान्छुं है ‘ –भन्दै म माथि उक्लिँदै गएँ। पवन सायद त्यहीं उभिएर मलाई हेर्दै बसे।

बेलुकी घर पुग्दा खेरि ९ बज्न लागिसकेको थियो। मेरी छोरी मलाई कुर्दा कुर्दै सुतिसकेकी थिई। मलाई यस्तो अवस्थामा मेरी छोरीको असाध्यै माया लागेर आउँछ। तर मेरो अनुपस्थितिमा मलाई सहयोग गर्ने छिमेकी आमा प्रति म अत्यन्त आभारी हुन्छुं संधैं।
मैले चाहेर पनि कुनै कुनै बेला आफ्नी छोरीलाई समय दिन गाह्रो हुन्छ मलाई। मलाई दुख पनि लाग्छ यस्तो बेला।

खाना खाइसकेपछी ल्यापटप खोलें। गोष्ठीको बारेमा केहि लेख्नु थियो मलाई। आफु कार्यरत संस्थाको लागि। तर आज पवनसितको अचानक भेटले मेरो मनको कुनै कुनामा केहि जिज्ञासाले ढकढक गर्न थाले। ऊ सितको मित्रताको भावनाले पनि म त्यति धेरै नजिक त छुईन। तर उसको जीवनको कथाको झझल्को बितेको समयमा मलाई न आएको पनि होइन।आखिर कुनै समय एक अर्काको दुख त बाँडेका पनि थियौं। आजको छोटो र आकस्मिक भेटले मनमा अनौठो किसिमको अनुभूति महशूस हुन थाल्यो । किन हो म आफै विश्मयमा छुँ। सायददिउँसो पवनलाई भेटेर पनि केहि कुरा गर्न भ्याएन त्यसैले हो कि ?

एक समय जब उसित च्याट हुन्थे तब मैले उसित बिहान मेरो निन्द्रा नखुल्ने , अनि बिहानको दैनिकी कस्तो हतारो हुने कुरा गरेकी थिएँ। त्यसबेला उसले म वेकअप रिंग पठाउँछु भनेर मोबाईल नम्बर मागेको थियो र मैले दिएँ पनि।
त्यसपछि हरेक दिन बिहान ठिक पांच बजे उसको मेसेज आउन थाल्यो। यो क्रम लगातार एक महिना सम्म चल्यो। हरेक बिहान मेसेजमा उसले कहिले मुक्तक , कहिले हाइकु , कहिले दार्शनिक संदेश पठाउने गर्थ्यो। पछी किन हो उसको संदेश आउन बन्द भो। म आफ्नै दुनिया व्यस्त , एउटी नारी। ऊ त्यसै हरायो। मैले उसलाई बिचमा धेरै पटक भेट्ने कोशिश गरेंतर मेरो प्रयाश सफल भएन । मैले फेसबुक खाता अस्थायी रूपमा बन्द गरेपछि उ संगको च्याटको क्रम पनि टुट्यो।

फेसबुक खुल्यो। एक किसिमले मलाई भित्रि मन देखि आनन्दको अनुभूति भयो। मानौ मैले गुमाईसकेको खुशी फेरि प्राप्त गरें। मेरो प्रोफाईल शून्य जस्तो लाग्यो। मेरो भित्ता पनि खाली खाली , धूलो जमेको जस्तो। मेरो आफ्नो प्रोफाईलको फोटो पनि रंग उडेको जस्तो , धूलो लुट्पुटिएको जस्तो। मेरा आँखा सरसर्ती फ्रेन्ड लिस्टमा डुल्न लागे। मन मनै नाम पढ्दै गएँ। एउटा नाममा पुगेर मेरा आँखा टक्क अडियो। पवन , पवन श्रेष्ठ। प्रोफाईल फोटो हेरें। उही पुरानै मुस्सुक्क हाँसेको फोटो। इनबक्समा गएर मेसेज टाईप गरें -‘ पवन जी , नमस्कार.!’र म मेसेजको प्रतिक्षामा बस्दै आफ्नो काम तिर लागें। तर मेसेजको उत्तर आएन। त्यसपछि ल्यापटप शत डाउन गरें।

xxxxxxxx —–xxxxxxxx——xxxxxxxx
पवनलाई आकस्मिक रूपमा भेटेको पनि आजले ३ महिना बितिसकेछ।र फेसबुकमा पनि देखा परेन। मेरो मेसेजको रेस्पोन्स पनि गरेन उसले अथवा भ्याएन भनुँ… ! बिचमा मैले मोबाइलमा सम्पर्क गर्न खोजेकी पनि हुँ तर सम्पर्क हुन सकेन। यदाकडा म उसको फेसबुक स्टाटस हेर्थें र कुनै अपडेट पाउँदिनथें ।

आज पनि उसको फेसबुकको भित्ता शून्य नै थियो। भएको स्टाटसले पुरानो मिति देखाई रहेको थियो । न नयाँ फोटो अपलोड न कुनै संदेश ।
अचानक म बेस्सरी चिच्याएँ । एक्कासी हृदयको स्पन्दनले अस्वाभाविक गति लियो किन कि मेरो इनबक्समा उसको संदेश सजिएर आएको थियो – ‘ सुनिता जी नमस्कार भनुँ है ! ‘ – उही अभिवादन गर्ने तरिका । मैले हत्तपत मेसेज टाईप गरें – ‘ नमस्कार , नमस्कार पवन जी ! के छ हाल खबर , कहाँ हराउनु भो नि ?’ – मैले एकै सासमा प्रस्नको वर्षा नै गरें ।

‘ठिक छुँ सुनिता जी , म एकदम व्यस्त थिएँ बिगत केहि समय यता ‘ – उसले लेख्यो ।

‘नयाँ नौलो के छ नि ?’- मैले फेरि सोधें । किन हो किन मलाई उ सित धेरै कुरा गर्न मन लागिरहेको थियो ।

‘नयाँ नौलो त केहि त्यस्तो छैन तर एउटा सरप्राईज छ …! ‘ – उसले सस्पेंसको भाषा प्रयोग गर्यो ।
‘के कुरा नि ? ‘ – मैले जिज्ञासा देखाएँ ।
‘तपाईलाई विस्वाश नलाग्न सक्छ मेरो कुरा -‘ उसले सस्पेन्स कायम नै राखेर भूमिका बाँध्यो ।

किन ? विस्वाश न लाग्ने त्यस्तो के कुरा छ र ?’- मैले सामान्य रूपमा प्रश्न गरें ।

‘ म अचेल अस्ट्रेलियामा छु श्रीमती संगै , ३ महिना भो ‘- उसले सस्पेन्स खोल्यो ।

म अवाक बने । मलाई विस्वाश नै लागेन किन कि मलाई उसको पीडा र दुख अनि समस्या राम्ररी थाहा थियो र समाधानको बाटो देखिरहेको थिएन । हठात् मैले सोधी हालें – अनि दिलिप जी ?’

‘उहाँको मिसेज र छोरी पनि अचेल यतै हुनु हुन्छ रे , सुनेको छुँ ‘ – पवनले जवाफ दियो – ‘तर मैले भेटेको छैन। साउथ पर्थ तिर बस्छन क्यारे ! पहिले दिलिप को नाम मुखमै झुण्डी रहन्थ्योअहिले उसको मुखबाट म यता आए देखिन नाम निस्केको छैन … सायद , तर सुनिता जी तपाईलाई धेरै धेरै धन्यवाद छ है ‘ – पवनले मलाई धन्यवाद दियो ।- ‘ तपाईको हौशलाले मैले फेरि आफ्नो जीवनको खुशियाली पाएँ ‘
‘किन मलाई धन्यवाद नि ‘ – मैले सोधें।

‘यसमा तपाईको शुभकामनाको पनि ठूलो हात छ … मेरो माया र विस्वाशले जितुन भनेर तपाईले कामना गर्नु भएको बिर्सनु भो ? ‘- उसले मलाई मेरो कुरा याद दिलायो ।

‘बधाई छ पवन जी , पुन : स्थापित सम्बन्धको सुखद कामना छ … समय वलवान छ। घर भनेको टुट्नु अगाडी नै बचाउनु पर्दछ , भत्किसकेपछी फेरि बनाउन गाह्रो हुन्छ यो मेरो भोगाई हो नि पवन जी ,हामी संयमित हुन सक्नु पर्छ सबै कुरा बिस्तारै व्यवस्थापन हुँदो रहेछ नि ‘ – किन हो मेरो लेखाइमा कुनै उत्साह थिएन । मेरो मन फूल सुकेसरि पात झरेसरि , ओंठ मुख सुकेसरि वसन्ती याममा हिंड्दा हिंड्दै अचानकै पतझडी बाटोमा पुगेसरि किन भयो । म चुप चाप बसें । केहि बोल्न मन लागेन।

उताबाट लेखियो -‘ सुनिता जी , आर यु डेयर ?

मैले फेसबुक अफ गरें । र पुलुक्क आफ्नी छोरीको मुख हेरें । उ निन्द्रामा मस्त थिई।

(दिलीपको बारेमा बुझ्नको लागि फेसबुक च्याट १ , २ , र ३ पढ्नु होला)

फेसबुक च्याट १
फेसबुक च्याट २
फेसबुक च्याट ३

5 Comments

  1. राम्रो लाग्यो यस्तो कथाहरु फरि पनि पढ्न पाइथोस।

  2. कथा मन पर्यो | सुधिर जी ,तपाई पुरुष भएर पनि नारी मनोविज्ञानलाइ मजाले छाम्नु भएको छ | यो अर्थमा पनि कथा अब्बल बनेको छ | हार्दिक बधाई |

  3. कथा राम्रो लाग्यो / सुनिता जी को बारेमा पनि केहि खुलाउनु भए हुन्थ्यो /

  4. कथा राम्रो छ l खास गरि फेस बुक को बयान धेरै छ यो कथाकार ले अहिले को नया युवा पुस्ता लै समेट्न को लागि फेसबुक को राम्रो प्रयोग गरेको मैले पाए चपली हाईट र लूट को जस्तै यो कथा पनि चर्चा पाउने निश्चित छ.

Comments are closed.